खानी क्षेत्रबाट ढुंगा–माटो लैजान प्रतिबन्ध, स्वदेशी र विदेशी कम्पनीको मनोमानी बढेपछि प्रतिबन्ध
काठमाडौं २४, कात्तिक । सरकारले सम्भाव्यता अध्ययन गरिएका खानी क्षेत्रका ढुंगामाटो लगायत कुनै पनि वस्तु परिक्षण तथा कच्चा पदार्थको रुपमा विदेश लैजान प्रतिबन्ध लगाएको छ । खानी क्षेत्रमा स्वदेशी र विदेशी कम्पनीको मनोमानी बढेपछि सरकारले आनुमतिवेगर कुनै पनि वस्तु निकासीमा रोक लगाएको हो । नेपालमा सक्रिय अन्तर्राष्ट्रिय संघसंस्थाहरुले मुलुकभित्रैका निजी क्षेत्रलाई प्रयोग गरी खानी क्षेत्रबाट बहुमूल्य बस्तु बाहिल लगिरहेको सूचनाका आधारमा सरकारले यसको संरक्षणमा सतर्कता देखाएको छ । माथिल्लो मुस्ताङको लोमान्थाङमा युरेनियम सुरक्षालाई लक्षित गरी गत साउन ७ गते बसेको मन्त्रिपरिषद बैठकले सुरक्षा क्याम्प राख्न नेपाली सेनालाई अनुमति दिइसकेको छ । कारोबार दैनिकबाट ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको हल्ला धेरै, १० प्रतिशत काम पनि भएको छैन
काठमाडौं २४, कात्तिक । जब जब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समस्या देखिन्छ, तबतब बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल (एसआइए)को चर्चा हुन्छ । चर्चा हुन थालेको दुई दशक बित्न थाले पनि विमानस्थल निर्माण योजना भने अझै पनि अन्योलमा छ । ०५५ देखि निजगढमा विमानस्थल बनाउने चर्चा सुरु भएको हो । निजगढ विमानस्लको स्केच २३ फागुन ०६६मा पर्यटन मन्त्रालय र कोरियाली कम्पनी ल्यान्डमार्क वल्र्डवाइडबीच आयोजनाको विस्तृत परियोजना अध्ययन ९डिपिआर० गर्ने सम्बन्धमा सम्झौता भएको थियो । ल्यान्डमार्कले १७ साउन ०६८ मा सम्भाव्यता अध्ययनको अन्तिम प्रतिवेदन पेस गर्यो । जसमा ३५ लाख ५१ हजार डलर खर्च भयो । डिपिआर बनाउने कम्पनीले निर्माण गर्न चाहेमा सोही कम्पनीलाई प्राथमिकता दिने र निर्माण–स्वामित्व–सञ्चालन–हस्तान्तरण ९बुट० मोडलमा बनाउने सहमति रहेको छ । ल्यान्डमार्कको डिपिआरअनुसार विमानस्थल निर्माण गर्न पहिलो चरणमा करिब ६४ अर्ब रुपैयाँ लगानी गर्नुपर्नेछ । दोस्रो र तेस्रो चरणमा तीन खर्ब ५८ अर्ब लाग्ने अनुमान गरिएको छ । नयाँ पत्रिका दैनिकबाट ।
टेलिकमको नाममा झुटो ‘लोटरी’ फैलियो, टेलिकमले भन्यो ‘सावधान’!
काठमाडौं, २३ कात्तिक। नेपाल टेलिकमले कुनै पनि प्रकारको लोटरी कार्यक्रम सञ्चालन नगरेको भन्दै उपभोक्तालाई सचेत रहन आग्रह गरेको छ । +९२३००५३५८६६४ जस्ता नम्वरबाट कल करी नेपाल टेलिकमको सहकार्यमा सञ्चालन गरिएको लोटरी कार्यक्रममा ठूलो रकम परेको भन्दै बैंक खाता नम्वर माग्ने गरेको भन्दै त्यसबाट बच्न आग्रह गरेको हो । ‘रकम ट्रान्सफर गर्न भन्दै बैंक खाता,एटिएम पिन मागेर बैंकको रकम ठगि गरिएको पाइएको छ’ टेलिकमद्धारा जारी सूचनामा उल्लेख छ । टेलिकमले कुनै पनि व्यक्ति वा संस्थासँग मिलेर यस्तो कार्यक्रम सञ्चालन नगरेकोले यस्ता ठगीबाट बेलैमा बच्न सतर्क गराएको हो ।
माइक्रोसफ्टद्वारा ‘विन्डोज ७’ र ‘विन्डोज ८’ को उत्पादन र विक्रि बन्द
काठमाडौं, २३ कात्तिक। अमेरिकन टेक जाइन्ट माइक्रोसफ्टले उसको अघिल्लो भर्सनको विन्डोज ७ र विन्डोज ८ को विक्रि बन्द गरेको घोषणा गरेको छ। अब यी अपरेटिङ सिस्टमहरु नयाँ कम्प्युटर र ल्यापटपमा इन्स्टल गरेर विक्रि नगर्ने कम्पनीले जनाएको छ। विश्वचर्चित म्यागेजिन फोब्सले बताएअनुसार कम्पनीले अब ओरिजिनल विन्डोज ७ र विन्डोज ८ को विक्रि वितरण र विश्वका कुनैपनि देशमा सिपमेन्ट नगर्ने जनाएको छ। उत्पादन र विक्रिवितरण बन्द गरेपनि कम्पनीले विन्डोज ७ अपरेटिङ सिस्टमको अपडेट सन् २०२० सम्म उपलब्ध गराउने र विन्डोज ८ को भने सन् २०२३ सम्म उपलब्ध गराउने जनाएको छ। उसले विन्डोज १० को विक्रि बढाउनका लागि पुरानो भर्सनको विन्डोज अपरेटिङ सिस्टमलाई वन्द गरेको जनाएको छ। इलेक्ट्रोनिक्स कम्पनी डेल र तोसिवामा विन्डोजको अपरेटिङ सिस्टम सुरुमा नै राखिएर आउनेगर्थ्यो तर अब उनीहरुले पनि राख्नेछैनन् र यसको ठाउँमा ‘विन्डोज १०’ हुने जनाइएको छ। कम्पनीले यस बर्षको सुरुवातमा विन्डोज १० का लागि महत्वपूर्ण दुईवटा अपडेट गर्ने जनाएको थियो। माइक्रोसफ्टले विन्डोज ७ लाई सन् २००९ मा सार्वजनिक गरेको थियो भने विन्डोज ८ र ८.१ लाई सन् २०१२ मा सार्वजनिक गरेको थियो।
Breaking: भारतले ५०० र १००० का नोट बन्द गर्यो, भोलि भारतका सवै बैङ्क बन्द, दुई दिन एटिएम नचल्ने
काठमाडौं, २३ कात्तिक । भारतले ५०० र एक हजारको नोटको कारोबार बन्द गरेको छ। मंगलबार राती १२ बजेदेखि भारतमा यी नोट चल्ने छैनन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार राती देशबासीका नाममा संबोधन गर्दै नोट नचल्ने घोषणा गरेका हुन्। मोदीले कालोधन, नक्कली नोटका विरुद्ध यो निर्णय लिएको बताउँदै यसबाट हुने केही कठिनाईलाई झेल्न सबै भारतीय तयार रहेको बताए। यदि तपाईँसँग भारु ५ सय र हजारको नोट छ भने आज मध्यरातदेखि त्यो कागजमात्र बन्नेछ। मोदीले मंगलवार टेलिभिजनमा सम्बोधन गर्दै राति १२ बजेदेखि भारतमा यी दुई दरका नोट नचल्ने घोषणा गरेका हुन्। भारतमा बैँक र हुलाक कार्यालयमार्फत् ५ सय र हजारका नोट साट्न ५० दिनको समय दिइएको छ। नोट साट्न परिचय पत्र अनिवार्य गरिएको छ। कालो धनसँग संघर्ष गर्न भारतीय प्रधानमन्त्रीले यस्तो उपाय अपनाएको बताएका हुन्। भारतले अब ५ सय दरको नयाँ र २ हजार रुपैयाँको अर्को नोट पनि चलनचल्तीमा ल्याउने घोषणा उनले गरे। पूरानो नोट अस्पताल र पेट्रोल पम्पमा ११ नोभेम्बरसम्म चल्नेछ। यी नोटमा प्रतिबन्ध लगाएर भारतमा सरकारले दुई हजार रुपैयाँको नयाँ नोट संचालनमा ल्याउने भएको छ। मोदीले भारतीय रिर्जभ बैंकले पाँच हजारको नोट ल्याउन प्रस्ताव गरेपनि दुई हजारको नोट ल्याउन सहमति दिएको जानकारी दिए। उनले दुई हजार सहित नयाँ डिजाईनमा ५०० को नोट समेत प्रचलनमा ल्याउने बताए। भारत सरकारले बुधवार देशैभरी बैङ्कहरु बन्द गर्ने र बुधवार र विहिवार एटिएम नचल्ने जनाएको छ। माेदिले अातंकवाद र कालो बजारी तथा भ्रष्टाचारसंग लड्नका लागि यो कदम उठाएको बताएका छन्।
चिनीया पर्यटकको आवगमन बढाउन र बढ्दो व्यापार घाटालाई न्यून गर्न राजदुत पौड्यालको आग्रह
नेपाल उद्योग परिसंघमा कात्तिक २३ गते मंगलबार भारत र चीनका लागि नवनियुक्त राजदुत क्रमशः दीपकुमार उपाध्याय र लीलामणि पौड्यालसँग शिष्टाचार भेटवार्ता एवं छलफल भयो । सो भेटवार्ता मुलुकको दीगो आर्थिक विकासका लागि उदयमान छिमेकीहरु चीन र भारतसँग व्यवस्थित ढंगले आर्थिक कूटनीति सञ्चालन गर्ने विषयमा केन्द्रीत थियो । करीव एक घण्टा भएको सो भेटवार्तामा नवनियुक्त राजदूतहरुले आफ्नो क्षमताले भ्याएसम्म मुलुकको विकासका लागि कूटनीतिक तवरबाट आफूहरु कक्रिय रहने अठोट व्यक्त गरेका थिए । ‘म सरकारको नुन तेल खाएर निजी क्षेत्रको काम र उद्यम व्यवसाय विस्तारमा सहयोग गर्ने कार्यादेश लिएर जान लागेकाले तपाईहरुले आफ्नो व्यवसायिक प्रतिनिधि सरह काम लगाउन सक्नु हुन्छ,’ पौड्यालले भने । अहिले संसारमा सबैभन्दा सस्तो पूँजी र उन्नत प्रविधि चिनमा भएकाले त्यसबाट नेपाली व्यवसायीले पनि आपसी साझेदारीमार्फत लाभ लिनु पर्ने उनको भनाई थियो । व्यवसायीहरुले आफ्नो नाफा घाटा र बजारका आधारमा मात्रै अवसर र चुनौतीको विश्लेषण गरेर उचित निर्णय लिने भएकाले आफु र देशलाई नाफा हुने विषयमा सधै राजदुतावास, सरकारी अधिकारी वा नेतालाई सचेत गराई रहनु पर्ने भारतका लागि नेपाली राजदुत दिपकुमार उपाध्यायको भनाई थियो । ‘आफ्नो व्यवसाय विस्तार क्षेत्रमा व्यवसायी आफै अग्रसर लाग्नु पर्छ,’ उपाध्यायले भने, ‘हामीले त समन्वयकर्ताको भुमिका मात्र निर्वाह गर्ने हो ।’ सो अवसरमा नवनियुक्त राजदूत लीलामणि पोड्याल र दिप कुमार उपाध्यायलाई परिसंघका अध्यक्ष हरिभक्त शर्मा तथा अध्यक्ष एमिरेटस विनोद चौधरीलगायतका पदाधिकारी तथा सदस्यहरुले बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभयो । उक्त अवसरमा परिसंघका गभर्निङ काउन्सिल, पादधिकारी तथा राष्ट्रिय परिषदका सदस्य र परिसंघ आवद्ध उद्यमीहरु प्नि सहभागिता रहेको थियो । भेटवार्ताको अवसरमा अध्यक्ष हरिभक्त शर्माले भारतसँगको व्यापार घाटा कम गर्न, भारततर्फ भइरहेको निकासी वृद्धि गर्न र भारतीय उद्यमीहरुबाट नेपालमा पनि लगानी विस्तार गर्ने योजनाबद्ध ढंगले काम थाल्नु पर्ने कुरामा जोड दिनु भयो । पछिल्लो समय कोलकाता बन्दरगाहबाट नेपाली आयातकर्ताको सामान छुटाउन बढी समय लाग्ने गरेकाले यसबाट नेपाली उद्योगमा परेको प्रतिकुल प्रभावप्रति परिसंघबाट नवनियुक्त राजदुत उपाध्यायको ध्यानाकर्षण गराइएको थियो । सयौंको संख्यामा कन्टेनर रोकिदा नेपाली उद्यमीको अनुत्पादक खर्च बढ्ने, औद्योगिक उत्पादनको लागत बढ्ने र नेपालीउद्योगको प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आउने निश्चित भइकाले कोलकाता बन्दरगाहबाट छिटोछरितो नेपाली मालसमानको क्लियरेन्स गराउने र विशाखापटनम् बन्दरगाहको व्यवहारिक ढंगले प्रयोग गर्ने सन्दर्भमा भारतका लागि नेपाली राजदुतले पहल गर्न पर्नेमा अध्यक्ष शर्माले जोड दिए । अध्यक्ष शर्माले चिनीया लगानीकर्तालाई नेपालमा आकर्षित गर्न, चिनीया पर्यटकको आवगमन बढाउन र बढ्दो व्यापार घाटालाई न्यून गर्न दुतावासको तर्फबाट थप प्रयास गर्न नवनियुक्त राजदुत पौड्याललाई आग्रह गरेका छन् । सोही अवसरमा परिसंघका अध्यक्ष एमिरेट्स विनोद चौधरीले भारत र चिनसँगको सन्तुलित र दिगो आर्थिक संवन्ध बिना नेपालले अपेक्षित गतिमा आर्थिक उन्नती हाँसिल गर्न नसक्ने भन्दै एकलाई अर्कोको विकल्पका रुपमा नहेरी विगतमा चीन र भारतसँग भएका संधी सम्झौताको सफल कार्यान्वयन गर्न राजदुतहरुबाट ठोस पहल हुने अपेक्षा गरेका छन् ।
काठमाडौं उपत्यका विकास प्राधिकरणले १३६ जनालाई जागिर खुलाउँदै, लोकसेवा आयोगले दियो स्विकृति
काठमाडौं, २३ कात्तिक । काठमाडौं उपत्यकाको व्यवस्थित विकासका लागि भन्दै गठन गरिएको काठमाडौं उपत्यका विकास प्राधिकरणले १३६ जनालाई तत्कालै रोजगार दिने भएको छ । प्राधिकरणको कर्मचारी विनियमावलीलाई लोकसेवा आयोगले समेत स्विकृति दिइसकेको विकास आयुक्त भाइकाजी तिवारीले विकासन्युजलाई जानकारी दिए । ‘प्राधिकरणको कर्मचारी सम्बन्धी विनियमावलीलाई लोकसेवा आयोगले स्विकृति दिईसकेको छ, प्राधिकरणको भौतिक विकास समितिको आगामी बैठकबाट पारित गरेर आवेदन खुल्ला गर्छाै’, तिवारीले भने । उनले नयाँ कर्मचारी नियुक्तीसँगै प्राधिकरणले पुनर्जिवन प्राप्त गर्ने दावी गरे । ‘अहिले प्राधिकरणको कर्मचारी म एक्लै छु, बाँकी सबै कोहि काजका छन भने कोहि करारमा नियुक्त गरिएका छन्’, तिवारीले गुनासो पोखे । काज र करारका सिमित कर्मचारीका भरमा प्राधिकरणले सोचे जस्तो काम गर्न नसकेको पनि उनले बताए । ‘काज र करारका सिमित कर्मचारीका साथमा काम गरिरहेका थियौं, आफ्नै दरबन्दीमा कर्मचारी नियुक्त गरिएपछि कामको रफ्तार बढ्नेछ, उपत्यकाको विकास निर्माणले तिब्र गति पाउने छ’, तिवारीले भने । उनले कार्यालय सहयोगीदेखि सहसचिवसम्मका कर्मचारी नियुक्त गरिने बताए ।‘कार्यालय सहयोगीदेखि इञ्जिनियर, आर्किटेक्ट, लेखापाल हुँदै सहसचिवसम्मको दरबन्दी पाएका छौं, सोही अनुसार नियुक्ती प्रक्रिया अघि बढ्छ’, तिवारीले सुनाए । हाल प्राधिकरणको विकास आयुक्तको कार्यालयका अवला काठमाडौं, भक्तपुर र ललितपुरमा जिल्ला आयुक्तको कार्यालय रहेको छ । प्राधिकरणले उपत्यकाका तीन जिल्लाको सडक विस्तार तथा व्यवस्थित शहरीकरण र हरियाली प्रवद्र्धनमा काम गरिरहेको छ ।
६ महिनाभित्रमा आयोजना सम्पन्न गरे सरकारले पुरस्कृत गर्छः प्रधानमन्त्री दाहाल
दोलखा, २३ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालाई आगामी ६ महिनाभित्र सम्पन्न गरे सरकारले कर्मचारीलाई पुरस्कृत गर्ने बताएका छन् । मंगलबार आयोजनाको स्थलगत अनुगमन तथा निरीक्षण गरी कर्मचारीहरुसँगको कुराकानीमा उनले देशकै मोडेलका रुपमा रहेको यो आयोजनाको काम निश्चित अवधिभन्दा अगावै सकेर देशकै अन्य आयोजनालाई समेत उदाहरण दिई छिटो निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिनुभयो । उनले आयोजनाले कुनै आर्थिक समस्या व्यहोर्नु नपर्ने बताउँदै आयोजनालाई सरकारले छिटो सम्पन्न गर्न जस्तोसुकै सहयोग गर्ने पनि बताए । प्रधानमन्त्री दाहालले आयोजना पारदर्शी तरिकाले सम्पन्न गर्न र रोल्वालिङ डाइभर्सन तथा तामाकोसी ५ को समेत काम दु्रत गतिमा अगाडि बढाउन निर्देशन दिए । उनले भूकम्पले भत्काएको सडकलगायत संरचनाको पुनः निर्माण गरी आयोजनाको कामलाई तीव्रता दिन आग्रह गरे । राष्ट्रिय गौरवको स्वदेशी पुँजीमा दोलखाको लामाबगर गाविसमा निर्माणाधीन चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण कार्य ८२ प्रतिशत सम्पन्न भएको आयोजनाका प्रवक्ता डाक्टर गणेश न्यौपानेले बताए । विसं २०६८ बाट निर्माण सुरु भएको आयोजना २०७४ साल असारसम्म निर्माण सम्पन्न हुनुपर्नेमा २०७२ सालको भूकम्प, निरन्तरको पराकम्प र नाकाबन्दीले प्रतिकूल असर गरेकोले कार्य प्रगति प्रतिवेदनअनुसार ८१।९० प्रतिशत निर्माण कार्य सम्पन्न भएको हो । विभिन्न चार लट गरी निर्माण सुरु गरेको आयोजनाको ८२ प्रतिशत लक्ष्य हासिल गर्दा कुल रु ३१ अर्ब ८४ करोड खर्च भएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका वातावरण विभाग प्रमुख एवम् प्रवक्ता डा गणेश न्यौपानेले जानकारी दिए । आयोजना निर्माणका लागि ३५ अर्ब २९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको भए पनि विभिन्न कारणले लागत बढेर ४१ अर्ब ७२ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ । लट–एकको ठेकेदारले भूकम्पले क्षतिग्रस्त भएको प्रवेशमार्गअन्तर्गत काभ्रे भिरमा तीन सय ३० मिटर लम्बाइ हुने सुरुङमार्गको गत असारदेखि सुरु गरी सोमबारसम्म दुई सय ७२ मिटर खन्ने कार्य सम्पन्न गरेको छ । सुरुङमार्गको निर्माण सम्पन्न भएपछि बाँधस्थलको विभिन्न थप कार्य गर्न सकिने आयोजनाले जनाएको छ । रासस