लोडसेडि अन्त्यपछि १६ अर्ब रुपैयाँ बराबरको डिजेल बचत, व्यवसायी भए उत्साहित
काठमाडौँ, ६ मंसिर । तिहारयता काठमाडौँ उपत्यका लगायत आसपासका क्षेत्रमा विद्युत्भार कटौती अन्त्य भएपछि रु १६ अर्ब बराबरको इन्धन बचेको अन्मान गरिएको छ । ऊर्जामन्त्री जनार्दन शर्माले आइतबार मन्त्रालयमा आयोजना गरेको ‘ऊर्जा खपत तथा व्यवस्थापन’ विषयको छलफलका सहभागी व्यसायीहरुले उक्त अनुमान प्रस्तुत गरेका हुन् । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले विद्युत्भार कटौती अन्त्य गरिएपछि राजधानीमा मात्र रु १४ देखि १६ अर्ब बराबरको डिजेल बचत भएको अनुमानित तथ्याङ्क सुनाए। उनले उद्योगमा विद्युत्भार कटौती घटेकाले राहत पुगेको र यो अभियानलाई जारी राख्न महासङ्घले पूर्ण सहयोग गर्ने बताए । उनले विद्युतको उच्च माग सम्बोधन गर्न चिनी मिलबाट विद्युत् उत्पादन गर्न सकिने जानकारी पनि दिए । अर्का सहभागी ज्ञानेन्द्रलाल प्रधानले समाजमा विद्युत्भार कटौती मानसिक रुपमा समेत हटेको छ भन्दै तत्कालका लागि ऊर्जा व्यवस्थापनमा सुधार गर्ने हो भने हालको मागलाई सम्बोधन गर्न सहयोग पुग्ने तर्क गरे । होटल सोल्टी क्राउन प्लाजा, हिमालय होटेल, एअरपोर्ट होटेल लगायतका प्रतिनिधिले विद्युत्भार कटौती अन्त्यसँगै डिजेल खर्चमा कमी आई होटललाई ठूलो राहत पुगेको बताउँदै आवश्यक परेका बेलामा होटेलसँग भएको डिजेल जेनेरेटर मार्फत सरकारलाई विद्युत् उपलब्ध गराउन आफूहरु तयार रहेको प्रतिबद्धता व्यक्त गरे । हाउजिङ एसोसिएसनका प्रतिनिधिले नेपाल सरकारलाई आवश्यक परेमा २५÷३० मेगावाट सौर्य विद्युत् उत्पादन गर्न सकिने भएकाले अपार्टमेन्टका छत उपलब्ध गराउन आफूहरु तयार रहेको बताए । नेपाल प्रहरीका प्रतिनिधिले विद्युत् चोरीलाई पनि अन्य चोरी सरह सजायको कानुन बनाएमा प्रहरीले विद्युत् चोरी नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने वचन दिए । सशस्त्र प्रहरी बल तथा नेपाली सेनाका प्रतिनिधिले नयाँ ब्यारेक बनाउँदा अनिवार्य रुपमा सौर्य विद्युत् राख्नाका साथै ऊर्जा बचतमा ध्यान पु¥याएको बताए । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जाको माग व्यवस्थापनमा सहयोग गर्न सबैमा आग्रह गरे । छलफल कार्यक्रमको निष्कर्ष पेस गर्दै ऊर्जामन्त्री शर्माले विद्युत्भार कटौती अन्त्य भएपछि मुलकमा पैसाको बचत हुनाको साथै शान्ति सुरक्षामा उल्लेख्य सुधार आएको बताए । जनताका निराशाको अभियानलाई आशामा बदल्ने कार्यमा मन्त्रालय अहोरात्र लागिपरेको उनको भनाइ थियो । “विद्युत्भार कटौती अन्त्यको अभियानलाई सकारात्मक भावनाका साथ सहयोग गर्नुहोस्”, उनले भने, “तपाईंहरुको सहयोग र सद्भावबाट उत्साहित भएर नै हामीले विद्युत्भार कटौती अन्त्यको योजना अघि बढाइरहेका छौँ ।” रासस
यामाहाले १० जना विजेतालाई जापान भ्रमणमा लैजाने
काठमाडौं, ६ मंसिर । यामाहा मोटरसाइकल तथा स्कुटरका लागि नेपालको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले दसैं अफर ‘टेक्नो ट्रिप टु टोकियो’का १० जना साप्ताहिक विजेतालाई जापान लग्ने भएको छ । आइतबार गरिएको लकी ड्रबाट शशीराम विक दसौं तथा यो योजनाका अन्तिम विजेता घोषित भएका हुन् । उनले सुर्खेतस्थित डेनिस अटो सप एन्ड सप्लायरबाट १५० सीसीको एजजीआरआर खरिद गरेका थिए । यसअघि पुकार शर्मा, रवि भोमी, आशिष भुजेल, अरुण फुँयाल, धु्रव प्रसाद बेल्बासे, रतिराम चौधरी, चित्रबहादुर श्रेष्ठ, मनोजकुमार शर्मा र मीनादेवी पौडेलले यामाहाको जापान भ्रमणमा जाने अफर जितेका थिए । एमएडब्लुले दसैं र तिहारको अवसरमा आफ्ना ग्राहकहरुका लागि ‘टेक्नो ट्रिप टु टोकियो’ अफर ल्याएको थियो । यो योजनाअन्तर्गत यामाहा मोटरसाइकल तथा स्कुटर खरिद गर्ने हरेक ग्राहकले आठ हजार रुपैयाँ नगद छुट पाएका छन् । साथै, हरेक साता एक जना भाग्यशाली ग्राहकले प्रविधिको पर्याय मानिने देश जापान भ्रमणको अवसर पाएका छन् । भाग्यशाली विजेताले टोकियोस्थित यामाहाको कम्युनिकेसन प्लाजा, प्लान्ट र अन्य पर्यटकीय क्षेत्रको अवलोकन गर्ने कम्पनीले जनाएको छ ।
मध्यमस्र्याङदी जलविद्युत् आयोजनामा समस्या आउँदा ४५ मिनेट विद्युत् आपूर्ति बन्द
काठमाडौँ, ६ मङ्सिर । नेपाल विद्युत् प्राधिकरणको मध्यमस्र्याङदी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन प्रणालीमा समस्या आएपछि मुलुकभर करिब ४५ मिनेट विद्युत् आपूर्ति बन्द भएको छ । सो आयोजनाको पहिलो युनिटमा समस्या आएपछि केन्द्रीय प्रणालीमा नै समस्या आएको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए । प्रवक्ता अधिकारीका अनुसार सो आयोजनाबाट ७० मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ । त्यसमध्ये पहिलो युनिटबाट उत्पादन हुने ३५ मेगावाटमा समस्या आएको हो । “आयोजनाको पहिलो युनिटमा समस्या आएपछि मुलुकभरकै विद्युत् आपूति बन्द भयो, तर प्राधिकरणले समयमै समस्या समाधान गर्न सफल भएपछि केहि समयमा पुनः विद्युत् आपूति सूचारु भयो । किन समस्या आयो भन्ने बारेमा हामी थप अध्ययन गछौैँ”–प्रवक्ता अधिकारीले भने । साँझ ५ः४५ देखि प्राधिकरणको प्रणालीमा समस्या आएपछि मुलकुभर नै विद्युत् आपूर्ति बन्द भएको थियो । यस्तै प्राधिकरणको केन्द्रीय भारप्रेषण केन्द्रले पनि प्रणालीमा सामान्य समस्या आएको जानकारी दिएको छ । विद्युत् मागको दुईतिहाई भन्दा बढी भार काठमाडौँ उपत्यकामा नै भएकाले राजधानी बढी प्रभावित भएको प्राधिकरणले जनाएको छ । साँझको समयमा अत्याधिक विद्युत् माग हुने भएकाले प्रणालीमा समस्या आएको हुन सक्ने बताइएको छ । रासस
जलविद्युत्मा नागरिक लगानीको ढोका खुल्यो, उत्पादन कम्पनी दर्ता
काठमाडौँ, ६ मङ्सिर । सरकारले नेपाली नागरिकलाई जलविद्युत् आयोजनामा लगानी गर्न दिने व्यवस्थासहित विधिवत् रुपमा जलविद्युत् उत्पादन कम्पनी स्थापना गरेको छ । ‘नेपालको पानी जनताको लगानी’ भन्ने नाराका साथ ऊर्जा मन्त्री जनार्दन शर्माले सार्वजनिक गरेको ३७ बुँदे कार्ययोजनाका आधारमा ऊर्जा मन्त्रालयले आइतबार कम्पनी रजिष्टारको कार्यालयमा उक्त कम्पनी दर्ता गरेको हो । कम्पनी दर्ता भएसँगै नेपाली जनतालाई आफ्नो क्षमताअनुसार तोकिएका जलविद्युत् आयोजनामा लगानीका लागि मार्ग प्रशस्त भएको छ । ऊर्जा मन्त्रालयका सहायक प्रवक्ता गोकर्णराज पन्थले पनि जनतालाई सक्रिय रुपमा जलविद्युत् आयोजनामा लगानी गर्ने अवसर प्रदान गर्न कम्पनी स्थापना गरिएको जानकारी दिए । निजी क्षेत्रका आयोजनाले सामान्यरुपमा साधारण सेयर खोल्दासमेत अर्बौंको लगानी गर्न तम्सने नेपाली नागरिकलाई कम्पनी स्थापनाले खुसी तुल्याउने र आन्तरिक लगानी जलविद्युत्मा ओइरिने मन्त्रालयको विश्वास छ । “मन्त्रालयले ६१ लाख ६० हजार ?पैयाँ दर्ता शुल्क तिरेर कम्पनी दर्ता ग¥यो, अब ऊर्जा सचिव अनुपकुमार उपाध्यायको अध्यक्षतामा सञ्चालक समिति गठन हुन्छ र त्यो समितिले प्रमुख कार्यकारी अधिकृत छनोटलगायतको प्रक्रिया सुरु गर्छ” – सहायक प्रवक्ता पन्थले रासससंगको कुराकानीमा भने । जलविद्युत् उत्पादन कम्पनीमा नेपाली नागरिकले २७ प्रतिशतसम्म लगानी गर्न पाउनेछन् । आयोजना प्रभावित क्षेत्रका नागरिकले १० प्रतिशत लगानी गर्न पाउने भएका छन् । कम्पनीको अधिकृत पुँजी रु २० अर्ब र चुक्ता पुँजी रु दुई अर्ब रहेको छ । आयोजनामा कर्मचारी सञ्चय कोषले १० प्रतिशत, नागरिक लगानी कोषले पाँच, जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले चार, नेपाल टेलिकमले १०, राष्ट्रिय बिमा संस्थानले दुई प्रतिशत सेयरका रुपमा लगानी गर्न पाउने भएका छन् । यस्तै कम्पनीमा ऊर्जा मन्त्रालयको २०, अर्थ मन्त्रालयको पाँच, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको पाँच, नेपाल विद्युत् प्राधिकरणको १० प्रतिशत सेयर रहनेछ । कम्पनीको सञ्चालक समितिमा तत्काल ऊर्जा मन्त्रालयका सचिव, अर्थ, कानुन मन्त्रालय र अन्य संस्थापक सेयर सदस्य रहने निकायका उच्च अधिकारी सम्मिलित अधिकारी रहनेछन् । सो समितिले केही दिनभित्रै प्रमुख कार्यकारी अधिकृत छनोटका लागि सार्वजनिक विज्ञापन गर्नेछ । कम्पनीले बूढीगण्डकी, नौमुरे, नलसिंहगाड, उत्तरगङ्गाजस्ता ठूला र मझौला आयोजना अगाडि बढाउनेछ । त्यसमध्ये बूढीगण्डकी आयोजना निर्माण गर्न सक्ने अवस्थामा पनि आयोजना रहेको छ । कुल एक हजार २०० मेगावाट क्षमताको सो आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) समेत भइसकेको छ भने सरकारले सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरेर मुआब्जा वितरणका लागि आवश्यक तयारीसमेत गरिसकेको छ । नौमुरे अध्ययनमा रहेको आयोजना हो भने नलसिंहगाडको डिपिआरको काम पनि भइरहेको छ । जनतालाई सहज रुपमा जलविद्युत्मा लगानी गराउने लक्ष्यअनुसार नै कम्पनी स्थापना गरिएको र कम्पनीमा टेलिफोन कलमार्फत उठ्ने रकमलाई समेत लगानीका लागि मार्ग प्रशस्त गरिने छ । सरकारले यसअघि ग्रिड कम्पनी स्थापना गरिसकेको छ । सो कम्पनीका लागि प्रमुख कार्यकारी अधिकृत छनोटको प्रक्रियासमेत सुरु गरिसकेको छ । रासस
बैंक सञ्चालक बन्न योग्यता तोकियो, सांसदहरुलाई सञ्चालक बन्न रोक
काठमाडौं, ६ मंसिर । व्यवस्थापिका संसदको अर्थ समितिले बैंक तथा वित्तिय संस्था सम्बन्धि ऐन(बाफिया) संसोधन गर्न बनेको बिधेयक पारित गरेको छ । अर्थमन्त्री कृष्ण बहादुर महराको उपस्थितीमा सोमबार बसेको समिति बैठकले लगातार तीन घण्टाको चर्काचर्कीपछि बाफिया टुंगो लगाएर संसदमा पेश गर्ने निर्णय गरेको हो । समितिले ऐन लागु भएपछि सांसदहरु बैंक तथा वित्तिय संस्थाको सञ्चालक समितिमा बस्न नपाउने व्यवस्था पाारित गरेको छ । समितिले बैंक तथा वित्तिय संस्थाका सञ्चालकहरुको योग्यता तथा कार्यकाल समेत किटान गरेको छ । जस अनुसार बैंक तथा वित्तिय संस्थाको सञ्चालक बन्नका लागि सम्बन्धित क्षेत्रका बिषयमा स्नातकोत्तर उतिर्ण भएको वा स्नातक उतिर्ण गरेर स्वदेशी, विदेशी वित्तिय संस्था, सम्बिन्धित क्षेत्रको संगठित संस्था वा नेपाल सरकारको सेवामा सञ्चालक वा पदाधिकारी तह तीन बर्ष काम गरेको र स्वदेशी तथा विदेशी वित्तिय संस्था अथवा सरकारी सेवामा सञ्चालक वा पदाधिकारीस्तरमा पाँच बर्ष काम गरेको अनुभव भएकाहरुले मात्रै सञ्चालक बन्न पाउनेछन् । समितिले सञ्चालक, अध्यक्ष र प्रबन्ध सञ्चालकको कार्यकाल समेत तोक्ने व्यवस्था पारित गरिदिएको छ । जस अनुसार सञ्चालकको कार्यकाल चार बर्षको हुनेछ भने निज पुन नियुक्त वा मनोनित हुन पाउनेछ । तर स्वतन्त्र सञ्चालक भने एक कार्यकाल मात्रै नियुक्त हुन पाउनेछ । ऐन लागु भएपछि नियुक्त हुने अध्यक्ष वा प्रबन्ध सञ्चालक भने बढिमा दुई कार्यकालसम्म मात्रै लगातार नियुक्त हुन पाउनेछन् । त्यस्तै, बैंक तथा वित्तिय संस्था स्थापना भएको १० बर्षपछि नेपाल राष्ट्र बैंकको स्विकृतिमा क्रमशः संस्थापक सेयरलाई साधारण सेयरमा रुपान्तरण गर्न सकिने निर्णयसहितको मस्यौदा पारित भएको छ । नेपाल राष्ट्र बैंकले वित्तिय संस्था स्थापना भएको १० बर्ष पुगेपछि मुलुकको पुँजी बजार, बैंकिङ क्षेत्र, समग्र वित्तिय क्षेत्रमा पर्ने प्रभावलाई समेत विचार गरि संस्थापक सेयरलाई साधारण सेयरमा रुपान्तरण गर्नका लागि क्रमशः अनुमति दिन सक्ने व्यवस्था पारित भएको हो । अबदेखि लघुवित्त कम्पनीहरुलाई बैंकको मान्यता दिईने छैन र तिनको नाम परिवर्तन गरेर लघुवित्त संस्था नामाकरण गरिनेछ । बैंक तथा वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुको कार्यकाल चार बर्षको हुने र एक व्यक्तिले लगातार दुई कार्यकाल मात्रै एउटा संस्थामा प्रमुख कार्यकारी अधिकृतका रुपमा काम गर्न पाउनेछन् । यो व्यवस्था बाफियाको संसोधन बिधेयक पारित भएपछि लागु हुनेछ ।
एक कलको शुल्क तीन सय १ रुपैयाँ
म्याग्दी, ६ मङ्सिर । एक मिनेट फोन गरेको शुल्क कति लाग्ला रु दुई रुपैयाँ, पाँच रुपैयाँ, १० रुपैयाँ । सुन्दा अचम्म लाग्न सक्छ, म्याग्दीकै एक ठाउँबाट अर्को ठाउँमा फोन गरेको प्रतिमिनेट रु तीन सय शुल्क लाग्छ भन्दा । तर यो वास्तविकता हो । मुदी गाविसमा रहेको धौलागिरि आधार शिविरको भ्रमणमा जाने पदयात्री तथा पर्यटकले फोनमा कुराकानी गर्दा अहिले प्रतिमिनेट रु तीन सय शुल्क तिर्दै आएका छन् । तैपनि पदमार्गअन्तर्गत इटाली बेसक्याम्पमा लामो समयदेखि होटल व्यवसाय गर्दै आएका हरिप्रसाद तिलिजाले स्याटलाइट फोन जडान गरेपछि मात्रै यो सेवा उपलब्ध भएको हो । त्यहाँ उनले फोनमा कुरा गर्ने विदेशीलाई प्रतिमिनेट तीन सय रुपैयाँ र नेपालीलाई दुई सय रुपैयाँ शुल्क लिने गरेका छन् । स्याटलाइट टेलिफोनमार्फत देशभित्रका जुनसुकै ठाउँमा फोन गर्दा प्रतिमिनेट एक सय ५६ शुल्क काट्ने हुँदा आफूले प्रतिमिनेट तीन सयसम्म शुल्क लिने गरेको तिलिजाले बताए । तीन वर्षअगाडि एक लाख ४५ हजारमा स्याटलाइट प्रविधिको फोन र १२ हजार रुपैयाँमा पाँच सयमा विदेशी नंको सिमकार्ड खरिद गरी इटाली बेसक्याम्पमा सञ्चारको पहुँच जोडेको तिलिजाले जानकारी दिए । “यसअगाडि यस क्षेत्रमा कुनै पनि सञ्चार सुविधा थिएन, पदयात्राका क्रममा पर्यटक बिरामी भएमा र लडेर घाइते भएमा समेत सूचना आदानप्रदानमा निकै कठिन थियो, अहिले स्याटलाइट फोन जडान भएपछि महँगो भए पनि आकस्मिक सेवाका रुपमा पर्यटक र पदयात्रीले प्रयोग गर्ने गरेका छन्,” तिलिजाले भने । उक्त स्याटलाइट फोनबाट आकाश खुलेको समयमा धौलागिरि हिमालको आधार शिविर क्षेत्रबाट समेत फोन गर्न सकिन्छ । धौलागिरि पदयात्राअन्तर्गत मुदीको बगरसम्म स्काई र सिडिएमए प्रविधिको फोनको सामान्य पहुँच भए पनि त्यहाँदेखि माथि भने सञ्चार सम्पर्क विच्छेद हुने गर्छ । बगरदेखि एक दिनको पैदलयात्रामा पुगिने दोभानमा होटल व्यवसाय गर्दै आएका बोमबहादुर पुनले त्यहाँ सिडिएमए प्रविधिको फोन जडान गरेपनि त्यो भरपर्दो छैन । मौसममा आउने फेरबदलले उक्त प्रविधिको टेलिफोनमा बारम्बार समस्या आउने गरेको छ । धौलागिरि आधार शिविर जाने प्रमुख पदमार्ग क्षेत्रमा सञ्चारको पहुँच नहुँदा वर्षौ पहिलेदेखि पदमार्ग सञ्चालनमा आए पनि अहिलेसम्म पनि अपेक्षाकृत रुपमा पर्यटकको आगमन बढ्न नसकेको स्थानीयवासीको भनाइ छ । सञ्चारको पहुँच नहुँदा आधार शिविर पुगेर बिरामी परेका र पदयात्राका क्रममा हराएका कतिपय पर्यटकको उपचार र उद्धारमा समेत कठिनाइ हुँदै आएको छ । रासस
अन्ततः बढेरै बन्द भयो बजार, कारोबार रकममा भने गिरावट
काठमाडौैं, ६ मंसिर । सोमबार सेयर बजार अत्यन्तै अस्थिर भएको छ । कारोबारको सुरुमा एक अंकले बढेको सेयर बजार परिसुचक (नेप्से) साढे १२ बजेसम्ममा २७ अंकले ओरालो लाग्यो । त्यसपछि फेरी बढ्न सुरु गरेको नेप्से ४२ अंकसम्म उकालो लागेको थियो । कारोबार सुरु भएको अढाइ घण्टामा नै नेप्से फेरी ओरालो लाग्न सुरु गर्यो र ३० अंकसम्म ओर्लियो । दुई बजेपछि बढ्न सुरु गरेको नेप्से कारोबार बन्द हुदा सम्ममा ६.६७ अंकले बढेर १६०६.२९ अंकमा अडिएको छ । आइतबार बजार १५९९ अंकमा अडिएको थियो । “बजारमा यस्तो उतारचढाव आएर बढेरै बन्द हुनु भनेको सामान्य करेक्सन मात्र होे भन्छन्—” सुमेरु सेक्युरिटिजका सञ्चालक प्रेम अग्रवाल । ठूलो दुर्घटना हुने अवस्थामा मात्र बजार घट्दो क्रममा जाने बताउँदै उनले भने —“दुईदिन मात्र घटेको बजार स्टेवल हुनु त थियो नै र भयो पनि ।” नेपाल इन्भेटर्स फोरमा अध्यक्ष आत्मराम घिमिरेका अनुसार लगानीकर्ताको खस्कदो मनोवलका कारण सोमबार बजारमा उतार चढाव आएको हो । उनले लगानीकर्ताहरु अझै पर्ख र हेरको अवस्थामा रहेको उनले बताए । यसदिन बैकिङ समूह पनि ७.६४ अंकले बढेको छ भने होटल २२.४१ अंकले बढेको छ । त्यस्तै ट्रेडिङ १.१२ अंकले, फाइनान्स १२.१७ अंकले र अन्य समूह २०.२५ अंकले बढेको छ । त्यस्तै विकास बैंक १३.६४ अंकले, जलविद्युत ०.६५ अंकले र विमा १०.७३ अंकले घटेको छ । सोमबार सवैभन्दा बढी एभरेष्ट बैंकको नै कारोबार भएको छ । सो बैंकले सोमबार पनि १२ करोड ८० लाख बराबरको कारोबार गरेको छ । त्यस्तै धेरै कारोबार हुने कम्पनीहरुमा नेसनल लाइफ इन्सुरेन्स ५ करोड ४७ लाख, बैंक अफ काठमाडौ लुम्बिनी ४ करोड ४० लाख, प्रुडेन्सियल इन्सुरेन्स ३ करोड ९१ लाख र स्टयान्डर्ड चार्टड बैंकको ३ करोड ४० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सोमबार सवैभन्दा बढी कमाउनेमा सिर्जना फाइनान्स,अल्पाइन डेभलपमेन्ट बैंक, सिनर्जी फाइनान्स,साल्ट ट्रेडिङ कर्पोरेसन लगायतका लगानीकर्ताहरु रहेका छन् । त्यस्तै धेरै गुमाउनेहरुमा लक्ष्मी लघुवित्त वित्तिय संस्था, राष्ट्रिय विमा कम्पनी, सेती फाइनान्स, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका लगानीकर्ताहरु रहेका छन् । दिनभर १२७ कम्पनीको ९२ करोड ८७ लाख बराबरको सेयर किनवेच भएको छ ।
बन्ने भयो लप्राकमा नमुना बस्ती, पुनःनिर्माण प्राधिकरणले दियो अनुमति
काठमाडौं ६ मंसिर । गैरआवासीय नेपाली संघले गोर्खाको लाप्राकमा बनाउन लागेको नमूना वस्ती निर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बाटो खोलिदिएको छ । यसअघि सरकारले दिएको अनुमतिमा एनआरएनले कार्यबिधिअनुसारु वस्ती निर्माण गर्नुपर्ने सर्त थियो । जसको अर्थ लाभाग्राहीकै हातमा सरकारले तोकेको तीन लाख रुपैयाँ हस्तान्तरण गर्नुपर्ने थियो । तर, लाप्राकका स्थानीय वासिन्दाले गैरआवासीय नेपाली संघले नै वस्ती बनाइदियोस् भन्दै प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएपछि सरकारले ुपाइलट प्रोजेक्टुका रुपमा गैरआवासीय नेपाली संघले नै घर बनाइदिन पाउनेगरी नयाँ निर्णय गरेको हो । प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाका अनुसार अब लाप्राकको नमुना बस्ती निर्माणमा कार्यविधिमा रहेको ३ लाखको सिलिङ लागू हुने छैन । साथै पीडितको खातामा पैसा जम्मा गर्नु पर्ने र घर पीडितले बनाउनु पर्ने व्यवस्था पनि लागू हुने छैन् । कार्यबिधिअनुसार बनाउनुपर्ने सरकारी सर्तका कारण राष्ट्रपतिको उपस्थीतिमा सरकारसँग सम्झौता भएको ८ महिनासम्म पनि काम सुरु हुन सकेको थिएन । वस्ती निर्माणमा सहज हुनेगरी निर्णय गराउन गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले एक हप्तादेखि काठमाण्डौमा बसेर पहल गरिरहेका थिए । लाप्राकबासी र गैरआवासीय नेपालीहरुको चाहना बमोजिम सरकारले नमुना वस्ती बनाउन भइरहेका बाधा फुकुवा गर्दै नयाँ निर्णय गरेको छु अध्यक्ष घलेले भने हामी आजैदेखि गाउँ पुगेर काम थाल्छौं । गैरआवासीय नेपाली संघले लाप्राकमा करिव ६ सय घर बनाउन यसअघि नै गुरुयोजना निर्माण गरिसकेको छ । जसलाई केही समयपहिले प्रधानमन्त्री पुष्पकमल दाहालले लाप्राक पुगेर अनावरण गरेका थिए । उच्च हिमाली क्षेत्र भएको हुँदा सरकारले तोकेको सिलिङ अनुसार घर बनाउन कठिनाई उत्पन्न भएपछि गैरआवासीय नेपाली संघले वाधा फुकाई नमुना वस्ती निर्माणको बाटो खुला गरिदिन पहल गरिरहेको थियो । अध्यक्ष घलेले राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र गैरआवासीय नेपाली संघ मिलेर नमुना वस्ती निर्माणका लागि देखिएका कठिनाई अन्त्य गर्दै छिटोभन्दा छिटो वस्ती निर्माण गरी हस्तान्तरण गरिने बताए ।