काठमाडौं। काठमाडौँ महानगरपालिकाले तत्कालीन बाघदरबार हालको (हरिभवन) को पुनः निर्माण गर्न कुनै समस्या नहुने बताएको छ ।
हरिभवन सय वर्ष नपुगेकाले भत्काउँदा समस्या नहुने कामपाका प्रमुख विद्यासुन्दर शाक्यले बताउनुभयो । “यो बाघदरबार होइन, हरिभवन हो, सय वर्ष नपुगेकोले यो पुरातात्तित्क होइन , त्यही भएर यसलाई नभत्काउनु पर्ने कुनै कारण छैन”, कामपाका प्रमुख शाक्यले भने। महानगरले पुरातत्व संरक्षण ऐनमा सय वर्ष पुरानो भवन एवं सम्पदा जगेर्ना गर्नुपर्ने नियम रहेको जनाएको छ ।
पुरातत्व विभागले गत जेठ १५ गते महानगरलाई ‘दरबारको मौलिक स्वरुप परिवर्तन नगरी परम्परागत शैलीमा पुनः निर्माण गर्नू’ भनेकाले अब भत्काउन कुनै अप्ठेरो नपर्ने महानगरको दाबी छ । कामपाका जनप्रतिनिधिका लागि आयोजना गरेको दुईदिने सार्वजनिक सेवा प्रवाहमा क्षमता विकास र अभिवृद्धि सम्बन्धी शनिबार सम्पन्न दुईदिने अभिमुखीकरण तालीममा प्रमुख शाक्यले सो धारणा राखेका हुन्।
सर्वोच्चका न्यायाधीश दीपकराज जोशीको एकल इजलासले गत बुधबार बागदबार नभत्काउनू भनी अन्तरिम आदेश दिएको थियो । कामपाले हरिभवन भत्काउने तयारी गरेको उल्लेख गर्दै वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले ऐतिहासिक दरबार भएकाले नभत्काउन आदेशको माग गर्दै सर्वोच्च अदालतमा गत सोमबार रिट निवेदन दायर गराएका थिए। केही दिनअघि कामपाका सहप्रवक्ता नमराज ढकालले हरिभवन भत्काउन पाँच वटा आशयपत्र पेश गरिएको बताएका थिए । करीब १८ रोपनी क्षेत्रफलमा निर्माण भएको हरिभवन तीन तलाको छ । परम्परागत, मध्यकाल र आधुनिक गरी तीन काल खण्डको ढाँचा उपयोग हुने गरी निर्माण गर्ने कामपाको योजना थियो ।