विकासन्युज

६४ अंकले घटेको बजारमा यी हुन् कमाउने पाँच कम्पनी

काठमाडौं, १२ मंसिर । आइतबार नेपाल स्टक एक्चेन्जले सर्किट ब्रेक लगाएको बजारमा नेप्से परिसूचक ६७ दशमलब ५५ अंकले ओरालो लागेको छ । बजार बन्द हुँदा परिसूचक घटेर १४६९ दशमलब ४८ अंकमा झरेको छ । सो दिन १२८ कम्पनीको १४ लाख ५९ हजार कित्ता सेयर ९२ करोड ६० लाख रुपैयाँ बराबरको किनबेच भएको छ । बजार भारी अंकले ओरालो लाग्दा जम्मा ५ कम्पनीले केही मात्रामा कमाएका छन् । ग्रीन डेभलपमेन्ट बैंकका लागानीकर्ताले १० प्रतिशत कमाएका छन् । सो दिन बैंकको प्रतिकित्ता सेयर २५२ रुपैयाँमा किनबेच भएको छ । त्यस्तै, एनबी इन्स्योरेन्स, ओरियन्टल होटल, रिद्धि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र तिनाउँ डेभलपमेन्ट बैंकका लगानीकर्ताले क्रमशः ३.८८, १.८४, ०.४२ र ०.२५ प्रतिशत कमाएका छन् । कारोबार सुरु हुने बित्तिकै घट्न थालेको नेप्से परिसूचक एक हजार पाँच सय ३४ बाट ५६ अङ्कले घटेर एक हजार चार सय ७८ बिन्दुमा कायम रहेको छ । साताको पहिलो दिन कारोबार सुरु हुने बित्तिकै प्रत्येक मिनेटमा एक अङ्कभन्दा बढीको दरले नप्से घटेपछि सर्किट बे्रक लगाउनु परेको स्टकले जनाएको छ । नेप्सेले १५ मिनेट कारोबार रोकेर पुनः कारोबार सुरु गरेको छ । नेप्सेका सबै समूहको सेयर कारोबार घटेको हो । होटल समूह ७।०२ प्रतिशतले ओरालो लागेको छ भने अन्य समूह पनि दुई प्रतिशतभन्दा बढीले ओरालो लागेको छ ।

कामना विकास बैंकले ३० प्रतिशत हकप्रद जारी गर्ने, चुक्ता पूँजी ८६ करोड रुपैयाँ पुग्ने

काठमाडौं, १२ मंसिर । कामना विकास बैंकले सेयरधनीलाई ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । उक्त निर्णय कम्पनीको मंसिर १० गते बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको छ । बैठकको निर्णयलाई राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ । हाल बैंकको चुक्ता पूँजी ६६ करोड १६ लाख रुपैयाँ रहेको छ । हकप्रद वितरण पश्चात बैंकको चुक्ता पूँजी ८६ करोड रुपैयाँ पुग्ने छ । हाल बजारमा बैंकको प्रतिकित्ता सेयर ३५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

दोहोरो कर असुली–ट्याक्टर व्यवसायी आन्दोलित

इटहरी, १२ मंसिर । मोरङ जिविसले खोलाजन्यवस्तु उत्खनन तथा निकासीमा दोहोरो मूल्य अभिवृद्धि कर असुल गरिरहेका भन्दै सुनसरी र मोरङका ट्याक्टर व्यवसायी आन्दोलनमा उत्रिएका छन् । जिविसले दुई स्थानमा जाँच चौकी राखेर ट्याक्टर, ट्रकलगायत ठूला सवारीसाधनसँग एउटै वस्तुको मूल्य अभिवृद्धि कर दुईपटक लिएको बिरोधमा ती व्यवसायी आन्दोलित भएका हुन् । उत्खनन गर्दा र निकासी गर्दा पनि दुईपटक मूल्य अभिवृद्धि कर लिएको कोसी ट्याक्टर सङ्घका अध्यक्ष शिवराज दाहालले गुनासो गर्दै ढाट क्षेत्रमा सयौँ ट्याक्टर रोकेर साङ्क्ेतिक आन्दोलन थालिएको बताए । मोरङको सुन्दरदुलारी नगरपालिकाको बलियामा ढाँट राखेर खोलाबाट ढुङ्गागिट्टी र बालुवा निकासी तथा उत्खननमा ८४ घनमिटरको हिसावले कर लिनुपर्नेमा ट्याक्टर वा ट्रकको बाहिरी भाग नापेर एक सय पाँच घनमिटरको हिसावले बढी कर लिने गरेको पनि उनको आरोप छ । अर्का ट्याक्टर व्यवसायी नवराज पौडेलले जाँच चौकीमा बस्ने कर्मचारीले रु एक सय ७७ को रसिद काटेर दुई सय रुपैयाँ असुल गर्ने र रसिद चाहिँ एक सय ७७ रुपैयााको मात्र दिने दिएर आफूहरुलाई हैरान पार्ने गरेको छ भने । एउटा ट्याक्टरबाट रु ८४ एक स्थानमा मूल्य अभिवृद्धि कर लिनुपर्नेमा रु एकसय पाँच लिइ अर्को स्थानमा निकासी करमा पनि मूल्य अभिवृद्धि करको नाममा एक सय पाँच रुपैयाँ लिएर एक सय २७ बढी कर असुल गरिरहेकोतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्ने अध्यक्ष दाहालले जोड दिए । मोरङ जिविसले खोलाजन्य वस्तु उत्खनन र निकासीको ठेक्का लगाइसकेको तर सुनसरी जिविसले भने ठेक्का नलगाएका कारण निर्माण कार्यमा प्रतिकूल असर परिरहेको छ भन्दै अर्का व्यवसायी गणेश गौतमले निकासी कर अवैध भएको बताए । सुनसरीको बूढी, बगुवा र बाघ, सेउती सर्दू, पटनाली खोला लगायतबाट खोलाजन्य वस्तुको उत्खनन र ओसारपसार हुँदै छ भने मोरङको गछिया, लोहान्द्रा, चिसाङ खोला लगायतत्यसता वस्तु उत्खनन र निकासी हुने हुँदै आएको छ । यी दुवै जिल्लाका खोलामध्ये सुनसरी जिल्लाको खोलाबाट असोजदेखि नै उत्खनन र निकासीको ठेक्का लगाई सक्नुपर्नेमा वन कार्यालय र जिल्ला विकास समितिबीचको रस्साकस्सीका कारण ठेक्का लगाउन ढिलाइ भएको सुनसरी जिविसले जनाएको छ ।रासस

अस्ट्रेलियामा आयोजित ‘नेपाल फेस्टिभल सिड्नी’ सम्पन्न

काठमाडौं, १२ मंसिर । अस्ट्रेलियाको सिड्नीमा नेपाल फेस्टिभल सिड्नी शनिबार सम्पन्न भएको छ । सन् २००६ देखि प्रत्येक २/२ बर्षमा सम्पन्न हुदै आइरहेको नेपाल फेस्टिभलको यो छैठौ संस्करण हो । फेस्टिभलको उद्घाटन परराष्ट्रमन्त्रि महतले सबै अतिथिहरुको उपस्थितिमा पनाशमा बत्ति बालेर गरेका थिए । नेपाल सरकारका माननिय परराष्ट्र मन्त्री प्रकाश शरण महतको प्रमुख अतित्थता, एनआरएनएका केन्द्रिय अध्यक्ष शेष घले बिशेष अतिथि, उपाध्यक्ष कुमार पन्त, संरक्षक इन्द्रा बन, आइसिसि सदस्यहरु, क्षेत्रीय संयोजकहरु, केन्द्रिय सल्लाहकारको उपस्थितिमा सम्पन्न यस महोत्सबमा अस्ट्रेलियन सरकार र राजनीतिक पार्टीका उच्च तहका प्रतिनिधिहरुको उपस्थिति थियो । पर्यटकीय दृष्टिकोणले समेत अति महत्वपूर्ण मानिने सिड्नीको डार्लिङ हर्बरमा प्रभात फेरिबाट सुरु भएको कार्यक्रम तोम्बोलन पार्कमा पुगी नेपाल फेस्टिभलमा परिणत भएको थियो । अस्ट्रेलियन सिनेटर श्याम डयस्ट्रि, मल्टि कल्चर छायाँ मन्त्रि सोफी कोट्सिस, संसद डेभिड कोल्मायन लगायतका अस्ट्रेलियन सरकार र राजनीतिक पार्टीका प्रतिनिधिहरु, स्थानीय काउन्सिलका काउन्सिलरहरु उपस्थित उक्त कार्यक्रममा अस्ट्रेलियन अतिथिहरुले आजको यो सबैको उपस्थिति नेपाली काला संस्कृति झल्कने विविध प्रस्तुतिहरु र खान पिनले अस्ट्रेलियाको बहुसांस्कृतिक समुदायमा अर्को एउटा महत्व पूर्ण आयाम थपेको र यो नै अस्ट्रेलियाको बहु संस्कृतिक समुदायको गहना भएको बताएका थिए । एनआरएनएका केन्द्रिय अध्यक्ष शेष घलेले अस्ट्रेलियाको उक्त कार्यक्रममा नेपाल समुदाय पनि अस्ट्रेलियाको एउटा महत्व पूर्ण समुदाय रहेको संदेश सबैमा जाने विश्वास राखेका छन् । यसै गरी मातृभुमी प्रती पनि अझै बढी कर्तब्य निस्ठ हुनु पर्ने भन्दै भुम्कम्पीडित हरुको नियती २ बर्ष सम्म पनि उस्तै रहेकाले एन आर एन तदारुकताका साथ पुनर्निर्माण मा जुट्नु पर्ने बताए । एन आर एनले प्रतिबधध्ता गरेको १००० घर निर्माण का लागी निर्माण को क्षेत्र मा अनुभव भएका गैर आबाशिय नेपाली हरु लाई सहयोग को लागी अनुरोध गरेका छन् । आफु ले भर्खेर लाप्राक को भ्रमण गरेको अनुभव सुनाउदै पीडित हरु को मुहार मा खुशी ल्याउन एन आर एन ले कुनै कसर बाकी नराख्ने बताएका छन् । नेपाल फेस्टिबलको प्रमुख आकर्षण बनेको नेपाल हाउसको अबलोकनको क्रममा उनले एन आर एन ए वोमन फोरम नारी निकुन्ज अष्ट्रेलियाको काम को प्रशंशा गर्दै आफ्ना कार्यहरुलाई निरन्तरता दिनको लागी निकुञ्जलाई अझै सकृय हुन आग्रह गरेका छन् । प्रमुख अतिथि माननिय मन्त्रि महतले नेपालीहरुले यहाँ सिकेको शिप, ज्ञान र अर्थलाई आफुलाई पायक पर्ने सुबिधा हुने किसिमले जुन सुकै माध्यमबाट भए पनि देशमा लगानी गर्न अनुरोध गरेका छन् । मन्तब्यका क्रममा महतले देशले राजनीतिक उतार चडाव बाट पार गरि बिकाश निर्माणमा अगाडी बढ्दै गरेकोले पनि विदेशमा बसेका नेपालीहरु को ठुलो योगदान रहने बताएका छन् । एक पटकको नेपाली सधैको नेपाली भन्ने गैर आवासीय नेपालीहरुको चाहानालाई आन्तरिम संबिधान देखि संबिधान मस्यौदा हुदै हालको नेपालको संबिधानमा समेत समेट्न सफल भएको, यसमा आफु आबद्द पार्टी र सरकार सधै सकारात्मक रहेको बताउदै कानुन बनि सके पश्चात रहेका सबै अन्यौल समाप्त हुने बताए ।

“लगानीकर्ता आत्तिनुपर्दैन, म्यानुपुलेसन पनि भएको छैन”-निरज गिरी

काठमाडौं, १२ मंसिर । असोज २० गते कारोबार बन्द हुँदा सेयर बजार परिसूचक (नेप्से) १८२० अंकमा अडिएको थियो । त्यसपछि दशैँ विदा भयो र असोज ३० गते बजार खुल्यो । यसदिन भने लगानीकर्ताहरु केही निरास भए । नेप्से एकैपटक १६.१४ अंकले ओरालो लाग्यो र १८०४ अंकमा झर्यो । त्यसपछि नेप्से निरन्तर रुपमा ओरालो लागिरहेको छ । मंसिर १२ गतेसम्म आएइपुग्दा बजार ३३४.५२  अंकले ओरालो लागिसकेको छ । यसदिन बजार १५ सय भन्दा तल झरेको छ  । बजार यसरी ओरालो लाग्दा पनि धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड भने मौन बसिरहेको छ । यदाकदा समाचारमा उनीहरुको भनाई आएपनि आधिकारिक धारणा बाहिर आएको छैन । बजार उकालो लाग्दा लगानीकर्ताहरुलाई सम्हालिएर लगानी गर्न पटक पटक आग्रह गर्ने बोर्ड बजार ओरालो लागेर लगानीकर्ता आत्तिदा भने मौन छ । बजार ओरालो लागेर लगानीकर्ताहरु आत्तिदा पनि तपाईहरु किन मौन ? भनेर विकासन्युजले बोर्डलाई सोधेको थियो । धितोपत्र बोर्डका प्रबक्ता निरज गिरी भन्छन् – “अहिले बोर्ड बोल्ने समय आएको छैन । हामीले बजारलाई सुक्ष्म रुपमा अध्ययन गरिरहेका छौ, आत्तिनुपर्ने अवस्था छैन । बजारमा म्यानुपुलेसन पनि भएको छैन । उनका अनुसार नेपालको धितोपत्र बजार उकालो र ओरालो लाग्नुमा कुनै कारण हुदैन ।” गत वर्षको भन्दा अर्थतन्त्रका परिसुचक पनि उकालो लागेको छ । “कम्पनीहरुले पनि राम्रो प्रतिफल दिइरहेका छन् । पछिल्लो समय बैंकहरुले प्रकाशित गरेको पहिलो त्रैमासिक वित्तिय विवरण हेर्दा पनि उनीहरुको नाफा राम्रो देखिन्छ । तर किन बजार ओरालो लागेको छ भन्ने विषयमा भने अहिले केही भन्न नसक्ने गिरीको भनाइ छ । सेयरको आपुर्ति बढेकाले बजार घटेको उनको तर्क छ । “बजारमा विभिन्न कम्पनीहले हकप्रद सेयर जारी गरिरहेका छन् । हकप्रद सेयर खरिदका लागि रकम जोहो गर्न लगानीकर्ताहरुले आफूसँग भएको सेयर बेचे जसको परिणाम सेयरको आपुर्तिमा बृद्धि भयो र बजार ओरालो लाग्यो” उनले भने । पहिले पनि ३९२ अंकसम्ममा बजार झरेको थियो र १९०० अंकसम्म उकालो लागेको थियो त्यतिबेला पनि बजार घट्नु र बढ्नुमा ठोस कारण नरहेको  प्रबक्ता गिरीले दावी गरे । उनले म्युचुअल फन्डहरुलाई अहिले बजारमा लगानी गर्नको लागि दवाव दिन नसक्ने पनि बताए । “साना लगानीकर्ताहरुले जोखिम मोल्न डराउने भएका कारण नै म्युचुअल फन्डमा लगानी गरेका हुन्छन् । उनीहरुको रकममाथि हामीले दवाव दिनु उचित हुदैन” गिरीले भने  । सेयर लगानीकर्ता संघका महासचिव नवराज सुवेदीका अनुसार समय समयमा बजारमा देखिएको कृत्रिम र शंकाष्पद गिरावटको कारकहरुलाई पहिचान गर्न बारम्वार संघले नेपाल धितोपत्र बोर्डलाई घच्घच्याइ रहेको छ । संघले लगानीकर्ताहरुलाई आश्वास्त पार्ने र मनोवल बढाउने कार्यहरु पनि गरिरहेको छ सुवेदीले भने हामी नियमनकारी निकायहरुबाट चालिने परिणाममुखी कदमहरुको प्रतिक्षामा रहेका छौ । उनले लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेको पनि स्पष्ट पारे । १५ सय भन्दा मुनि नेप्से, सबैभन्दा बढी बीमा समूह ओरालो लागे साताको पहिलो दिन सेयर बजार परिसुचक (नेप्से) ६४.५५ अंकले ओरालो लागेर १४६९.४८ अंकमा अडिएको छ । यसदिन बैकिङ ५२.५४ अंकले, होटल १४६.४ अंकले, विकास बैंक ६५.७७ अंकले जलविद्युत १०४.२९ अंकले फाइनान्स २६.७ अंकले विमा ५६२.९४ अंकले र अन्य १९.०८ अंकले ओरालो लागेको छ । आइतबार सबैभन्दा बढी कारोबार हुनेमा एभरेष्ट बैंक रहेको छ । यसदिन सो बैंकको ११ करोड १२ लाख बराबरको कारोबार भएको छ । त्यस्तै शिखर इन्स्योरेन्स, बैंक अफ काठमाडौं लुम्बिनी, मिसन डेभलपमेन्ट बैंक लिमिटेडको प्रमोटर सेयर रहेको छ । त्यस्तै सबैभन्दा बढी गुमाउनेहरुमा हिमालयन जनरल इन्स्योरेन्स, साना किसान विकास बैंक, लक्ष्मी लघुवित्त वित्तिय संस्था र प्रिमियर इन्स्योरेन्सका लगानीकर्ताहरु रहेका छन् । दिनभर एकसय २८ कम्पनीको ९५ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ ।

सिजि ब्राण्डका हिटरहरुको माग बढ्दो

काठमाडौं, १२ मंसिर । सिजि ब्राण्डका विभिन्न किसिमका हिटरहरु बजारमा उपलब्ध भइसकेका छन्। नजिकिदो जाडो र जाडोमा न्यानोपनको आभाष दिन सक्ने हिटरहरु भएकाले यसको माग बढ्दै गएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार जाडो बढ्दै जाँदा सिजि ब्राण्डका विभिन्न मोडलका ग्याँस हिटर, हालोगन हिटर र इलेक्ट्रीक फ्यान हिटरहरुको माग बढ्दै गएको छ ।

अल्पाइनको १४ प्रतिशत बोनस दिने निर्णय, बुटवल पावरको ७ प्रतिशत बोनस स्वीकृत

काठमाडौं, १२ मंसिर । अल्पाइन डेभलपमेन्ट बैंकले सेयरधनीलाई १४ दशमलब ५ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, बैंकले कर प्रयोजनको लागि १७ लाख ३३ हजार ४३७ रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय कम्पनीको सञ्चालक समितिको बैठकले गरेको छ । बैठकको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । बुटवल पावर कम्पनीले ७ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । उक्त निर्णय राष्ट्र बैंकद्धारा स्वीकृत भइसकेको छ । बैंकद्धारा स्वीकृत निर्णय कम्पनीको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । कम्पनीको आगामी साधारणसभा यहि आउँदो पुस ८ गते हुने भएको छ । सो प्रयोजनकोलागि यहि मंसिर २० गतेदेखि पुस ८ गतेसम्म कम्पनीको बुक क्लोज हुने भएको छ ।

गुह्वेश्वरी मर्चेन्टको १२ प्रतिशत बोनस सेयर राष्ट्र बैंकद्धारा स्वीकृत

काठमाडौं, १२ मंसिर । गुह्वेश्वरी मर्चेन्ट बैकिङ एण्ड फाइनान्स लिमिटेडले प्रस्ताव गरेको १२ प्रतिशत बोनस सेयर वितरणका लागि सेयर नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ । त्यसका साथै, कम्पनीले लगानीकर्ताहरुलाई कर प्रयोजनका लागि शून्य दशमलब ७४ प्रतिशत नगद लाभांस पनि दिने भएको छ । कम्पनीले आफ्ना लगानीकर्ताहरुलाई हकप्रद सेयर पछिको १२ प्रतिशत बोनस सेयर दिन लागेको हो । राष्ट्र बैंकद्धारा स्वीकृत बोनस सेयर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीलाई वितरण गरिने छ ।