विकासन्युज

नझुक्किनुस् ! अबदेखि स्टिकर हेरेर मात्र किन्नोस् मनकामनाको सुन्तला

गोरखा, १२ मंसिर। तपाईं मनकामनामा उत्पादन भएको रसिलो सुन्तला खान चाहिरहनु भएको छ तर व्यापारीले अन्यत्रकै सुन्तला दिएर मनकामनाको हो भन्दै ढाँटेका छन् भने अब चिन्ता लिनु पर्दैन । तपाईंले चाहेअनुसार नै मनकामनामा उत्पादित स्वादिलो सुन्तला स्टिकर टाँसेर बजारमा झारिएको छ । सुन्तलाको दानामा टाँसेको ‘मनकामनाको सुन्तला’ स्टिकर हेरी घरछेउको बजारबाट मनकामनाको सुन्तला सजिलै किन्न सकिनेछ । मनकामनामा उत्पादित सुन्तलाको ‘ब्रान्ड चोरेर अन्यत्रको सुन्तलाको बिक्री बढेपछि’ जिल्ला कृषि विकास कार्यालय गोरखाको प्राविधिक सहयोगमा साना किसान कृषि सहकारी संस्थाले मनकामनाको सुन्तलामा स्टिकर (लोगो) टाँस्न सुरु गरेको हो । कृषि राज्यमन्त्री राधिका तामाङले शनिबार मनकामनाको ढाँडबारीमा आयोजित एक कार्यक्रममा सुन्तलामा स्टिकर टाँस गरिएको हो । यस अभियानले मनकामनाको सुन्तला बजारीकरणमा सहयोग गर्ने उनको भनाइ छ । राज्यमन्त्री तामाङले भने, “मनकामनाको सुन्तला हो भन्दै व्यापारीले अन्यत्रकै सुन्तला महँगोमा बेचेका थिए । म पनि कयौँ पटक झुक्किएकी छु । अबदेखि उपभोक्ता झुक्किनु पर्दैन ।”सुन्तलामा स्टिकर टाँसेपछि आम उपभोक्तालाई मनकामनाको सुन्तला चाख्ने अवसर मिलेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख यामकुमार श्रेष्ठले बताए। साना किसान कृषि सहकारीको ६ लाख रुपैयाँ लगानी र जिल्ला कृषि विकास कार्यालयमार्फत प्याक्ट कार्यक्रममार्फत १० लाख रुपैयाँले मनकामनाको ढाँडबारी क्षेत्रको सुन्तलाको बगैँचा व्यवस्थापन तथा सुन्तलामा स्टिकर टाँसी बजारीकरण गरिएको हो । स्थानीय कृषक टङ्कप्रसाद दुवाडीका अनुसार आँबुखैरेनी, बनौती, मनकामना कच्ची सडकको स्तरोन्नति नहुँदा सुन्तलाको ढुवानीमा समस्या भएको छ । केही कृषकले मनकामनास्थित केवुलकारबाट सुन्तलाको ढुवानी गरे पनि अधिकांश कृषकले साना ट्रक, जिपमार्फत सुन्तला ढुवानी गर्दै आएका छन् । उनले भने, “बिभिन्न रोगले सुन्तलाको पुराना बगैँचा सखाप बनायो । फलेका सुन्तला पनि बाटो राम्रो नहुँदा समयमै बजारसम्म ढुवानी गर्न सकिएन ।” मनकामनाको सुन्तला मुग्लिन, नारायणगढ, पोखरा, आँबुखैरेनी, गोरखाबजार, काठमाडौँलगायत सहरमा बिक्री हुँदै आएको छ । “बजारमा मनकामनाको सुन्तला भन्दै अन्यत्रको सुन्तला बिक्री हुँदा उपभोक्तालाई मार परेको छ,” साना किसान सहकारीका अध्यक्ष कृष्णबाबु श्रेष्ठले भने, “मनकामनाको सुन्तला खाने हो भने स्टिकर टाँसेको सुन्तला किन्नुस् ।” सुन्तलाको पकेट क्षेत्र मनकामना, ताङ्लीचोक, मकैसिङ, घैरुङ, देउरालीलगायत गाविसमा सुन्तला उत्पादन वृद्धि गर्न बगैँचा सुधार कार्यक्रम लागू गरिएको छ । सुन्तला प्रवद्र्धन गर्न महोत्सव गोरखामा उत्पादित सुन्तलाको प्रवद्र्धनका गर्न ताङ्लीचोक याङ्दीको सुन्तला उत्पादक कृषि सहकारी संस्था लिमिटेड र जिल्ला कृषि विकास कार्यालयले सुन्तला महोत्सव गरेका छन् । शनिबारदेखि याङ्दीमा सुरु भएको महोत्सव आइतबार सकिएको छ । सुन्तला महोत्सवको शनिबार कृषि राज्यमन्त्री राधिका तामाङले अवलोकन गरेका थिए । महोत्सवमा सुन्तला प्रदर्शनीका साथै तरकारीबालीको प्रदर्शनी गरिएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख यामकुमार श्रेष्ठले जानकारी दिए। याङ्दीका कृषक डिलबहादुर थापाका अनुसार गत वर्षको तुलनामा सुन्तलाको दाना साना छ भने उत्पादनमा वृद्धि भएको छ । थापाले भने, “सुन्तलाको फूल खिलेर दाना लाग्ने बेलामा पानीको अभाव भयो जसले गर्दा साना दाना लागेको छ । खडेरीले गर्दा सुन्तला रसिलो पनि छैन ।” किसानले सुन्तला बिक्री गरी लाखौँ आम्दानी लिने गरेका छन् । सुन्तलाले बर्सेनि आम्दानी दिए पनि बगैँचाको सुधार, मलखादको व्यवस्थापन र पुराना रूख काँटछाँट नगर्दा सुन्तला उत्पादनमा ह्रास आएको छ । रासस

नेपाली राजदूत अमृतबहादुर राई गैरआवासीय राजदूतमा नियुक्ति

काठमाडौं, १२ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत अमृतबहादुर राईलाई लेसोथो अधिराज्य, तान्जानिया र मौरिससका लागिसमेत गैरआवासीय राजदूतमा आइतबार नियुक्ति गरेका छन् । नेपालको संविधानअनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले राजदूत राईलाई ती मुलुकहरुको गैरआवासीय राजदूतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । रासस

५४७ अर्बमा काठमाडौंको आकाश र जमिन मुनी मेट्रो रेल, चिनियाँ कम्पनीले देखाए इच्छा

काठमाडौं, १२ मंसिर । सन २०१२/१३ मा चुङसुङ इञ्जिनियरिङ नामक कोरियाली कम्पनीले काठमाडौंको आकाश र जमिनमुनी मेट्रो रेल सञ्चालन गर्न सकिने निष्कर्षसहितको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार पारेर रेल विभागलाई बुझाएको थियो । तर त्यो सम्भाव्यता अध्ययनको फाइल अझै रेल विभागका महानिर्देशको कार्यकक्षको दराजमा थन्किरहेको छ । विभागका महानिर्देशकको दराजमा थन्किएको त्यो फाइलमा यतिबेला आधा दर्जन भन्दा बढि चिनियाँ कम्पनीको आँखा गडेको छ । ‘थुप्रै चिनियाँ कम्पनीले काठमाडौंमा मेट्रो रेल बनाउन इच्छा देखाएका छन, हामीसँग छलफल भैरहेको छ, म भर्खरै मात्र चिनमा पुगेर पनि केहि कम्पनीसँग यसैबारे छलफल गरेर फर्केको छु’, रेल विभागका महानिर्देशक अनन्त आचार्यले विकासन्युजसँग भने । निर्माण आरम्भ भएको १० बर्षभित्र निर्माण सम्पन्न गर्न सकिने मेट्रो रेलको लम्बाई ७७ दशमलब २८ किलोमिटर रहेको छ भने निर्माण, मर्मत तथा डब्बा खरिद लागत जम्मा ५४७ अर्ब अनुमान गरिएको छ । त्यसरी निर्माण हुने रेलको २५ दशमलब ५० किलोमिटर खण्ड जमिन मुनी अर्थात राजधानीका सडक मुनी अण्डर ग्राउण्डमा निर्माण हुनेछ । बाँकी ५१ दशमलब ७८ किलोमिटर रेल राजधानीको आकाशमा अर्थात सडक माथी फ्लाईओभर(फलामे पुलमा) निर्माण हुनेछ । सडकमाथी फ्लाईओभर बनाएर गुड्ने रेलको निर्माण, मर्मत तथा डब्बा खरिदको लागत प्रति किलोमिटर साढे ६ अर्ब लाग्ने प्रक्षेपण गरिएको छ । त्यस्तै, जमिन मुनी निर्माण हुने अण्डरग्राउण्ड रेलको लागत भने प्रति किलोमिटर १० अर्ब नाघ्ने देखिन्छ । पाँच वटा मेट्रो रेलको लाइनले राजधानीको सार्वजनिक सवारी साधनको अस्तव्यस्ततालाई हटाउने विभागका महानिर्देशक आचार्यले बताए । ‘चिनियाँलाई दिने हो भने पाँच वटै लाइन बनाइदिन्छौं भनेका छन् । यस्तो रेल मार्ग एक सय बर्षसम्म टिक्छ ।’ आचार्यले भने । अनन्त आचार्य, महानिर्देशक-रेल विभाग कहाँ कहाँ गुड्छ आकाशमा रेल ? सो अध्ययनले तीनवटा मेट्रो रेलको लाइन राजधानीका सडक माथी फलामका पुल बिछ्याएर निर्माण गर्ने उल्लेख गरेको छ । जस अनुसार पहिलो रेल वे लाइन १२ दशमलब १० किलोमिटरको हुनेछ । यो लाइन सातदोबाटोबाट, जावलाखेल, पुल्चोक, त्रिपुरेश्वर, शहिदगेट, रत्नपार्क, लैनचौर, लाजिम्पाट, महाराजगञ्ज हुँदै नारायणगोपाल चौकसम्म पुग्नेछ । दोश्रो मेट्रो रेल लाइन कलंकीबाट सुरु भएर कालिमाटी, त्रिपुरेश्वर, माइतीघर, तिनकुने हुँदै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलसम्म पुग्नेछ र यसको लम्बाई ११ दशमलब १५ किलोमिटरको हुनेछ । तेश्रो रेलवे लाइनले भने चक्रपथ परिक्रम गर्नेछ । जुन २८ दशमलब ५३ किलोमिटरको हुनेछ । यसरी निर्माण हुने तीन वट रेलवे लाइनको कुल लम्बाई ५१ दशमलब ७८ किलोमिटरको हुनेछ । जमिनमुनी अण्डरग्राउण्ड रेल राजधानीका सडक मुनी निर्माण हुने अण्डरग्राउण्ड रेलवे लाइन भने कुल २५ दशमलब ५० किलोमिटरको हुनेछन् । यो रेल लाइन स्वयम्भु, छाउनी, रत्नपार्क, बागबजार, डिल्लीबजार, पुरानो बानेश्वर, गौशाला, चावहिल, हुँदै बौद्धसम्म पुग्नेछ । चौथो रेल लाइनका रुपमा अघि सारिएको यो खण्डको लम्बाई ११ दशमलब ७० किलोमिटरको हुनेछ । त्यस्तै पाँचौै तथा अन्तिम लाइन भने धोबीघाटबाट सुरु भएर पुल्चोक, पाटन दरबार, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, डिल्लीबजार, टंगाल, नारायणहिटी दरबार, नयाँ बजार, हुँदै गोंगम्बु पुगेर टुंगिनेछ । यसको लम्बाई भने १३ दशमलब ८० किलोमिटरको हुनेछ । चिनियाँ कम्पनीले एकै पटक पाच वटै लाइन अथवा पाइलट प्रोजेक्टका रुपमा एक दुई लाइनबाट समेत निर्माण आरम्भ गर्न सकिने मनासाय व्यक्त गरिरहेको महानिर्देशक आचार्यले बताए । त्यसका लागि नेपाल सरकारले मन्त्रिस्तरिय निर्णयद्धारा डिपिआर निर्माणका लागि बाटो खुल्ला गर्नुपर्नेमा उनले जोड दिए ।

बैंक अफ काठमाण्डौं लुम्बिनी र बुम रेमिटबीच रेमिट्यान्स सम्झौता

काठमाडौं, १२ मंसिर । बैंक अफ काठमाण्डौं लुम्बिनी र बुम रेमिट्यान्सबीच रेमिट्यान्स सम्झौता भएको छ । बुम रेमिट मार्फत नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम बैंक अफ काठमाण्डौं लुम्बिनीका सबै शाखाहरु मार्फत भुक्तानी गर्नुको साथै बुम रेमीट सफ्टवेयर मार्फत आन्तरिक विप्रेषण (पठाउने तथा भुक्तानी गर्ने) कार्य गर्नका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंक अफ काठमाण्डौं लुम्बिनीका तर्फबाट प्रमुख रिसर्च, प्रोडक्ट डेभलपमेन्ट तथा मार्केटिङ रीतेस लामिक्षाने र बुम रेमिट्यान्सका तर्फबाट प्रवन्ध निर्देशक धिरेन्द्र पन्तले हस्ताक्षर गरेका छन् । हाल बुम रेमिट्यान्सले माल्दिभ्स र खाडि मुलूकबाट रेमिट्यान्सको कारोवार गर्दै आएको छ र चाँडै नै मलेसिया, कोरीया, जापान, क्यानडा, अस्टे«लिया, युरोप, ईजरायल, भारत र अमेरिकाबाट समेत कारोवार सुरु गर्ने जनाएको छ । बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा ३३०० वटा भन्दा बढि प्रतिनीधीहरु छन् । आन्तरिक संञ्जाललाई तिब्र रूपले विस्तार गर्दै आएको बुम रेमिटले विदेशमा पनि आफनो संञ्जाललाई तिब्र रूपले विस्तार गर्दै जाने रणनिति रहेको कुराको जानकारी प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले दिएका छन् । पन्तका अनुसार बुम रेमिटले विभिन्न बैंकहरूस‘ग सहर्काय गरि विदेशमा समेत बजार प्रर्वद्धन गरि नेपाली कामदारहरूको विदेशबाट नै खाता खोल्ने प्रवन्ध मिलाएको छ । बुम रेमटले हुन्डी कारोबारलाई निरूस्साहित गर्न नेपाल र विदेशमा वैकिङ साक्षरता कार्यक्रम गर्दै आएको कुराको जानकारी प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले दिएका छन् । धिरेन्द्र पन्त “नेपाल श्रमिक विप्रेषण बोर्ड” गठन गरि विपे्रषणको रकमलाई राष्ट्र विकासमा लगाई समृद्ध नेपाल सृजना गर्नुपर्ने बताउछन् ।

कन्ट्री डेभलपमेन्ट बैंकको ९ प्रतिशत लाभांश राष्ट्र बैंकद्धारा स्वीकृत

काठमाडौं, १२ मंसिर । कन्ट्री डेभलपमेन्ट बैंकको ८ दशमलब ८९५ प्रतिशत प्रश्तावित लाभांशलाई राष्ट्र बैंकले स्वीकृति दिएको छ । राष्ट्र बैंकले ८ दशमलब ४५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ० दशमलब ४४५ प्रतिशत लाभांश दिने कम्पनीको निर्णयलाई स्वीकृति दिएको छ । उक्त राष्ट्र बैंकको स्वीकृतिलाई कम्पनीको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । हाल बैंकको चुक्ता पूँजी ३३ करोड २८ लाख रुपैयाँ रहेको छ । बोनस पश्चात बैंकको नयाँ पूँजी ३६ करोड रुपैयाँ पुग्ने छ । आइतबार बैंकको प्रतिकित्ता सेयर २३५ रुपैयाँमा किनबेच भएको छ ।

तत्काल साधारणसभा गर्न माग गर्दै टान सदस्यहरुको विरोध

काठमाण्डौ, १२ मंसिर । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान)मा समयमै सधारण सभा नभएको भन्दै सदस्यहरुले विरोध जनाएका छन् । विधानतः टानमा आर्थिक बर्ष सकिएको २ महिनाभित्रै साधारणसभा गर्ने उल्लेख गरिए पनि अझै साधारणसभा हुन नसक्नुले आशंका पैदा भएको र तत्कालै साधारण सभा गर्नुपर्ने माग राख्दै सदस्यहरुले विरोध गरेका हुन् । समयमै साधारण सभा नगरी समय थप गर्दै जानुले संस्थाको पारदर्शिता र व्यवस्थपनमा शंका लागि विरोध गर्नुपरेको टान आवद्ध सदस्य एवं पूर्वसचिव पासाङ शेर्पाले बताए । त्यस्तै टानका पूर्वसदस्य राजेन्द्र सापकोटाले पनि टानमा गैरकानुनी र अपारदर्शी गतिविधि बढ्दै गएको र यसको ढाकछोप गर्न साधारण सभाको मिति सार्ने काम भइरहेको बताए । साधारणसभा बिधानबमोजिम सम्पन्न गर्न नसक्ने र लापरबाही तवरले आफुखुशी टानलाई चलाउनु दुखद भएको पूर्व अध्यक्ष दिपक महतले बताए । उनले भने– ‘यसवाट टान नेतृत्वको असक्षमता प्रष्ट भएको छ ।’ यसले टानको आयस्रोत दुरुपयोग हुनेदेखि लिएर आन्तरी ब्यवस्थापनसमेत फितलो पारेको महतले दावी गरे । करिब १२ सय व्यवसायीहरुको छाता संगठन टानले समयमानै साधारणसभा गर्न नसक्नु सवै सदस्यहरुलाई गुमराहमा राखेजस्तै भएको पर्यटन व्यवसायी बोधराज भण्डारीको तर्क छ । उता टानका अध्यक्ष चन्द्र सिजालले केहि हदसम्म समयमै साधारण सभा गर्न नसकेको स्विकार गर्दै आन्तरीक तयारी र व्यवस्थापन भइरहेको जानकारी दिए । उनले यो साधारणसभा कुनै नेतृत्व चयन गर्नका लागि नभई कार्य प्रगति र आन्तरीक स्रोत ब्यवस्थापनबारे सदस्यहरुलाई जानकारी दिने भएकाले विरोधको अर्थ नरहेको बताए । रिजालले भने– ‘विगतको कार्यसमितीको पुर्ण लेखापरिक्षण नभएको कारण ढिला भएको हो ।’ सदस्यहरुलाई भ्रम नहोस भनेर आगामी डिसेम्वर २३ मा साधारण सभा गर्ने गरी जिल्ला प्रशासन कार्यलय काठमाडौंबाट स्वीकृती प्राप्त भएको रिजालले बताए ।

प्यासिफिकले २२ प्रतिशत बोनस दिने, मंसिर २८ गते वार्षिक साधारणसभा

काठमाडौं, १२ मंसिर । प्यासिफिक डेभलपमेन्ट बैंकले सेयरधनीलाई २२ दशमलब १ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । उक्त निर्णय बैंकको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । बैंकको आगामी वार्षिक साधारणसभा यहि आउँदो मंसिर २८ गते हुने भएको छ । हाल बैंकको चुक्ता पूँजी १० करोड ८९ लाख रुपैयाँ रहेको छ । बोनस पश्चात बैंकको पूँजी १३ करोड २९ लाख रुपैयाँ पुग्ने छ । आइतबार बैंकको प्रतिकित्ता सेयर ४६८ रुपैयाँमा कारोबार भएको छ ।

धान उत्पादन बढेपछि किसान उत्साहित, ३३ हजार पाँच सय ७२ मेट्रिक धान उत्पादन

मेलम्ची, १२ मंसिर । धान उत्पादन राम्रो भएपछि यहाँका किसान उत्साहित भएका छन् । भूकम्प पछिकोे पुनः निर्माण भन्दा पाकेको धान धान भित्र्याउन लागेका कृषक सोचेजस्तो धान उत्पादन भएपछि खुसी भएका हुन् । खेतमै पोकेको धानमा मुसा, चराले झारेर सखाप हुने डरले पुनः निर्माणका कामलाई समेत बेवास्था गरेर धान भित्र्याउन लागिपरेको फटकशिलाका कृषक गणेश घोरासैनी बताउछन् । त्यस्तै मेलम्ची नगरपालिका–१२ बस्ने टोमशङ्खर दुलाल पनि घर बनाउन अलपत्र छोडेर बाली भित्र्याउन नै तल्लिन छन् । भूकम्प आएका वर्ष उनले रोपाइँ गर्न सकेनन् । अहिले बिटा लगाएर धान झार्न पाउँदा उहाँका परिवार आनन्दित छन् । पहिरोले जोखिम रहेको दुलालको टहरो मै धानको भकारी कसिँदैछ । उनी मात्र होइन, चीनसँगको सीमावर्ती गाउँ घुम्थाङ, मानेश्वरा, पिस्कर, राम्चे, कर्थलीदेखि फुल्पिङकट्टी, चाकु, गाती, मार्मिङसम्मका सीमा क्षेत्रका सबै किसान धान भित्र्याउने हतारोमा छन् । सदरमुकाम चौतारासँग जोडिएका ग्रामीण सेलाङ, सिम्पालकाभ्रे, नवलपुरदेखि इर्खु गाविसका किसान पनि धान भित्र्याउने कार्यमै जुटिरहेका छन् । जिल्लाको अत्यधिक धान उत्पादन हुने मेलम्ची क्षेत्रमा पनि धान भित्र्याउन उस्तै चटारो छ । तीन बालीसम्म धान उत्पादन गर्ने गरेका मेलम्चीका बासिन्दा धान उत्पादन जीवन निर्वाहको राम्रो स्रोत रहेको बताउँछन् । मेलम्ची नगरपालिका फट्केश्वरका किसान नकुलेश भट्टराइले भने, “अहिले धान दुई बाली भित्र्याइसकेका छौँ ।” अघिल्लो वर्षको तुलनामा धान राम्रै भएको छ । उनी प्रत्येक मंसिरमा तीनबाली धान भित्र्याउने गर्छन । धानखेतीका लागि मेलम्ची उर्वर भूमि मानिन्छ । भूकम्पलगत्तै डेढ वर्ष टहरामा बिताएका भूकम्पपीडितलाई विगत झैँ अहिले पनि धान राख्न समस्या भएको छ । ग्रामीण भेगका पीडितलाई धान भित्र्याउने उचित स्थान नभएपछि कहाँ राख्ने अन्यौल भएको छ । जिल्लाभर ३३ हजार पाँच सय ७२ मेट्रिक धान उत्पादन भएको छ । गत सालको तुलनामा यस वर्ष सात हजार पाँच सय मेट्रिक टनभन्दा बढी धान उत्पादन भएको कृषि विकास कार्यालयका बाली विज्ञ हेमराज शर्मा तिवारी बताउछन् । यस वर्ष कृषि कार्यालय र अन्य विभिन्न सङ्घसंस्थाले ७० मेट्रिक बीउ कृषकलाई वितरण गरेको थियो । कृषकलाई उन्नत जातको बीउ र समयमा नै मल उपलब्ध गराउँदा यस वर्ष धान उत्पादन बढेको कृषि विकास कार्यालयको अनुमान छ । कृषि विकास अधिकृत हिक्मतबहादुर श्रेष्ठले बीउ र मल समयमै उपलब्ध गराएको उत्पादनका पूर्वाधारमा समेत सहज पहुँच भएकाले पनि उत्पादन वृद्धि भएको हो । जिल्लाभर ६० प्रतिशत मकावनपुर–१ त्यसपछि खुमलटार, राधा–४, हर्दिनाथलगायतका हाइब्रिड जातका धानखेती हुने गरेको छ । कृषि विकास कार्यालयका अनुसार गत वर्ष नौ हजार नौ सय ११ हेक्टर जमिनमा धान खेती भएकामा आहिले ११ हजार नौ सय ९० हेक्टरमा धान खेती गरिएको छ । भूकम्पपछि दुई हजार रेक्टर जमिन बाँझै थियो । गत वर्ष २६ हजार चार सय मेट्रिक टन मात्रधान उत्पादन भएको थियो भने यो वर्ष ३३ हजार पाँच सय ७२ मेट्रिक धान उत्पादन भएको छ । रासस