विकासन्युज

नेप्से परिसूचक १६०० माथि, एक अर्ब ३६ करोड रुपैयाँको सेयर कारोबार

काठमाडौं, १५ मंसिर । लगातार ओरालो लागेको नेप्से परिसुचक पछिल्लो ३ दिनमा उत्तरचढाव हुँदै उकालो लागेको छ । घटेर १४ सय अंक मुनि झरेको  परिसचक ३ दिनमै उच्च अंक (१३७) ले बढेर बुधबार १६०० अंक माथि पुगेको छ ।  परिसुचक सोमबार ४०, मंगलबार ४३ र बुधबार ५४ अंकभन्दा बढीले बढेको हो । बुधबार ५४ दशमलब ६५ अंकले बढेर १६०८ दशमलब ३३ अंकमा पुगेको छ । सो दिन १३५ कम्पनीको १५ लाख २५ हजार कित्ता सेयर एक अर्ब ३६ करोड रुपैयाँमा किनबेच भएको छ । बजारमा सबैभन्दा बढी एभरेष्ट बैंकको २० करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । बैंकको प्रतिकित्ता सेयर ३ हजार २९८ रुपैयाँमा किनबेच भएको छ । त्यस्तै, बैंक अफ काठमाडौं लुम्बिनी, शिखर इन्स्योरेन्स र सिद्धार्थ बैंकको ५ करोड भन्दा बढी रुपैयाँको सेयर कारोबार गरेको छ । लाइफ इन्स्योरेन्स कम्पनी नेपाल र मेगा बैंकको ४ करोड रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन बजारमा कारोबार भएका सबै परिसूचकहरु उकालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ३२६ अंकले उक्लिएको छ । होटल समूह सामान्य रहेको छ भने बाकी समूहको सूचकहरु दोहोरो अंकले उकालो लागेका छन् । बुधबार नेपाल इन्स्योरेन्स कम्पनी, मितेरी डेभलपमेन्ट बैंक र वोमी माइक्रोफाइनान्स वित्तिय संस्थाका लागानीकर्ताले १० प्रतिशत नाफा कमाएका छन् । राष्ट्रिय बीमा कम्पनी र लक्ष्मी लघुवित्तको सेयर मूल्य बराबर ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै, ९ प्रतिशत भन्दा बढी कमाउनेमा अन्य ११ कम्पनीका लगानीकर्ताहरु रहेका छन् । सो दिन सबैभन्दा बढी मिर्मिरे माइक्रोफाइनान्सको सेयर मूल्य करिब ४ प्रतिशतले घटेको छ ।

सेयर बजारमा आएको उतारचढाव सामान्य हो: गभर्नर डा.नेपाल

काठमाडौं, १५ मंसिर । नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरन्जीवी नेपालले सेयर बजारको उचारचढाव सामान्य भएको बताएका छन् । नेपाल धितोपत्र बोर्डका पूर्व अध्यक्ष समेत रहेका गभर्नर नेपालले बजार घट्नु र बढ्नु सामान्य रहेको बताउँदै त्यसलाई ठूलो रुपमा नलिन आग्रह गरे । नेपाल आर्थिक पत्रकार समाजको १९ औ स्थापना दिवसको अवसरमा बोल्दै गभर्नर नेपालले सेयर बजार विश्वव्यापी रुपमा घटबढ हुने भन्दै यसलाई दीर्घकालिन लगानीको रुपमा हेरिनुपर्ने बताए । उनले सेयर बजारमा सवैभन्दा बढी हिस्सा बैंक तथा वित्तिय संस्थाको रहेकोले राष्ट्र बैंकले नजिकबाट नियाली रहेको पनि दावी गरे । ‘पुँजी बजार भनेको छरिएर रहेको पैसा एकीकृत गर्ने हो । सेयरबजारमा जम्मा भएको पैसा पनि कुनै न कुनै संस्थाले कुनै स्थानमा लगानी गरिहेको हुन्छ गभर्नर,’ नेपालले भने । ‘बाणिज्य बैंकहरुको पुँजी आठ अर्व बनाउँदा ठूलो हाउगुजी थियो अहिले तिनै मानिसहरु पुँजी १६ अर्व पुर्याउनुपर्ने, १२ अर्व पुर्याउनुपर्ने भन्दै हिडेका छन्’ उनले भने । बाणिज्य बैंकहरुको पुँजी आठ अर्व बनाउँदा पनि नेपाली जनताले नै आफ्नो पैसा हालेको उनले स्पष्ट पारे । सोही अवसरमा गभर्नर डा.नेपालले भारतीय ५०० र एक हजार रुपैयाँको विषयमा दैनिकजसो रिजर्भ बैंक अफ इन्डिया र भारतीय राजदुतसँग आफ्नो कुराकानी भइरहेको बताए । उनले भने –‘ हाम्रो प्रधानमन्त्री र अर्थमन्त्रीले भारतीय समकक्षीसँग दुईपटक कुराकानी गरिसक्नु भएको छ यसबारे भारत सकारात्मक रहेको छ । त्यसैले ५०० र एक हजार दरका नोट साटिने व्यवस्था अव छिट्टै हुन्छ ।’ त्यस्तै उनले रेमिट्यान्सको बृद्धिदर घट्दो रहेको जनाउँदै आयातमा निर्भर राजस्व र रेमिट्यान्सको भरमा राज्य सञ्चालन हुदा ठूलो दुर्घटना हुन सक्ने पनि बताए । उनले आन्तरिक रुपमा उत्पादन बढाउनका लागि राष्ट्र बैंकले व्यवसायीलाई कर्जा सहजीकरण गरिएको पनि दावी गरे । त्यस्तै कार्यक्रममा उपराष्ट्रपति नन्द बहादुर पुनले देशको व्यापार घाटा चुलिदो रहेको बताए । उनले भने –‘हामीले गतवर्ष ८ अर्बको तरकारी र २३ अर्बको चामल छिमेकी मुलूकबाट आयात गरेछौँ । कृषिको लागि उर्बर भूमीमा बसिरहेका हामी नेपालीले यति ठूलो मात्रामा कृषिजन्य वस्तु आयात गर्नु हाम्रो लागि लज्जाको विषय नै हो । आयात वृद्धि भएर व्यापार घाटा उच्च हुनु द्रुत आर्थिक विकास खोजीरहेका हाम्रो लागि चुनौतीको विषय पक्कै हो । तर, हामी आत्तिनुपर्ने अवस्था मैले देखेको छैन । ’ सोही कार्यक्रममा उर्जामन्त्री जनार्दन शर्माले अव देश आर्थिक विकासमा लाग्नु पर्ने बताए । सो कार्यक्रममा सेजनद्धारा प्रकाशित गरिएको अर्थनीति पनि सार्वजनिक गरिएको थियो ।

एसिया कप क्रिकेट- नेपालले थाइल्यान्डसंग सामना गर्ने, खेल बिहीबार हुँदै

काठमाडौं, १५ मंसिर । थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत चौथो खेलमा नेपालले आयोजक थाइल्यान्डसंग सामना गर्ने भएको छ । बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीको खेल मैदानमा भोलि बिहीबार हुने खेलमा नेपाल थाइल्यान्डसंग प्रतिस्पर्धा गर्ने भएको हो । नेपालले थाइल्यान्डलाई पराजित गरेपनि यसअघिको लगातारको हारले गर्दा अन्तिम प्रतिस्पर्धामा पुग्ने सम्भावना भने समाप्त भएको छ । जारी प्रतियोगितामा यसअघि तीन खेल खेलेको नेपाल तीनै खेलमा पराजय भोग्दै अङ्क विहीन छ । नेपालले पहिलो खेलमा पाकिस्तानसँग नौ विकेटले पराजित भयो भने दोस्रो खेलमा श्रीलङ्कासँग आठ विकेटको लज्जास्पद हार बेहारेको थियो । त्यतिबेला नेपालले जम्मा २३ रन मात्र जोडेको थियो, जुन नेपाली महिला क्रिकेट इतिहासकै अत्यन्त न्यून स्कोर हो । यसअघि सन् २०१४ को इन्चोन एसियाली खेलकुद प्रतियोगितामा नेपालले बङ्गलादेशविरुद्ध खेलमा २६ रन बनाएको थियो । त्यसैगरी मङ्गलबार भएको खेलमा नेपाल बङ्गलादेशसँग ९२ रनले पराजित हुन पुग्यो । लामो समयदेखि देशभित्र खेल्ने वातावरण पाउन नसकेको महिला टोलीले थाइल्यान्डमा पनि सन्तोषजनक नतिजा हात पार्न सकेन । प्रतियोगितामा आयोजक थाइल्यान्डबाहेक नेपालको सबै प्रतिद्वन्द्वी पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र भारत टेस्ट राष्ट्र टोली हुन् । रासस

रमेश र किरणले पाए सेजन अवार्ड, चार पत्रकारलाई एचबीएल फेलोसिप

काठमाडौं, १५ मंसिर । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आफ्नो १९ औ  स्थापना दिवसको अवसर पारेर दुईजना पत्रकारलाई सेजन अवार्ड प्रदान गरेको छ ।  सेजन अवार्ड पाउनेहरुमा छापा माध्यमबाट हिमाल मिडियाका रमेश कुमार र विद्युतीय सञ्चार माध्यमबाट रेडियो कान्तिपुरका किरण अधिकारी रहेका छन् । वर्षभरी उत्कृष्ट आर्थिक समाचार संम्प्रेषण गर्ने दुई पत्रकारहरुलाई सेजनले आफ्नो स्थापनाको अवसर पारेर सेजन अवार्ड दिने गरेको छ । वर्षभरी उत्कृष्ट आर्थिक समाचार संम्प्रेषण गर्ने दुई पत्रकारहरुलाई सेजनले आफ्नो स्थापनाको अवसर पारेर सेजन अवार्ड दिने गरेको छ । त्यस्तै सेजन डेको अवसर पारेर एचवीएल–सेजन आर्थिक पत्रकारिता फेलोशिपको लागि चारजना छनौट भएका छन् । अनलाइनबाट उद्धव थापा, अंग्रेजी दैनिकबाट सागर घिमिरे, टेलिभिजनबाट सुनिता कार्की र नेपाली पत्रिकाबाट विनय बञ्जरा छनौट भएका हुन् ।

मिस्त्रीखोला जलविद्युत् आयोजना निर्माण शुरु, लगानीका लागि ७ कम्पनीसँग ऋण सम्झौता

म्याग्दी, १५ मंसिर । नारच्याङमा ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजना निर्माण कार्य सुरु भएको छ । पाँच अर्ब ६४ करोड रुपैयाँको लागतमा रोवस्ट इनर्जी कम्पनीले निर्माण सुरु गरेको उक्त आयोजना आगामी सन् २०१८ को डिसेम्बरसम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको छ । एक सय ८० मिटर पहुँच मार्ग निर्माण सकेर मुख्य सुरुङको काम सुरु गरेको आयोजनाका प्रमुख इन्जिनियर दामोदर श्रेष्ठले जानकारी दिए । “छिट्टै बाँध र विद्युत्गृहको पूर्वाधार निर्माणको काम सुरु गर्ने तयारी भएको छ,” उनले भने । नारच्याङ बेँसीदेखि निलगिरि र घलेम्दी खोलाको दोभानमा रहने बाँधसम्म नौ किलोमिटर सडक र तीन वटा बेलीब्रिज निर्माण भइसकेको छ । दुई हजार ३०० मिटर सुरुङबाट ल्याइने पानी तीन सय चार मिटरको हेडबाट नारच्याङ बेँसीमा निर्माण हुने विद्युत् गृहमा खसालेर बिजुली निकालिनेछ । आयोजनाको लागि लगानी जुटिसकेको प्रबन्ध निर्देशक डोलराज शर्माले बताए । नेपाल इन्भेस्टमेन्ट बैंकसँग ७० करोड रुपैयाँ, जलविद्युत् विकास कम्पनीसँग एक अर्ब रुपैयाँ र नेपाल बैंकसँग ५० करोड रुपैयाँ ऋण सम्झौता भइसकेको छ । यसैगरी नविल बैंकबाट एक अर्ब रुपैयाँ, लक्ष्मी बैंकबाट ४० करोड रुपैयाँ, सिद्धार्थ बैंकबाट ३० करोड रुपैयाँ र एस डेभलभमेन्ट बैंकबाट ३० करोड रुपैयाँ ऋण लगानीका लागि सम्झौता भएको बताइएको छ । मिस्त्रीखोलाले विसं २०६४ मा निर्माणका लागि अनुमति पाएको थियो । नेपाल विद्युत् प्राधिकरणले २२० केभी कालीगण्डकी करिडोर प्रसारण लाइन र दाना सव स्टेसन निर्माणमा ढिलाइ गर्दा सो आयोजना नौ वर्षपछि धकेलिएको हो । रासस

पोखराको ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै, साँघुरा सडकमा बढ्दो सवारी साधनको चाप नै मुख्य कारण

पोखरा, १५ मंसिर । बढ्दो सवारीसाधनको चापसँगै पर्यटकीय नगरी पोखराको ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । सवारीसाधनको बढ्दो चापसँगै विगत लामो समययता फराकिलो बन्न नसकेका सडक तथा पुलका कारण समस्या बढेको हो । गण्डकी तथा धौलागिरि क्षेत्रमा चल्ने लगभग ७० प्रतिशत सवारीसाधन पोखरा हुँदै आवागमन गर्ने भएका कारण पनि पोखरामा सवारीसाधनको चाप अत्याधिक बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक विश्वराज अधिकारीले बताए । उनका अनुसार पछिल्लो समयमा पोखरामा नयाँ सवारीसाधन थपिने क्रम पनि बढेको छ । “गण्डकी यातायात व्यवस्था कार्यालयमा नयाँ दर्ता गरिएका भाडा, निजी, सरकारी सवारीसाधनको सङ्ख्या पछिल्लो चार महिनामा मात्रै ११ हजार ४६३ पुगेको छ,” उनले भने, “लामो समययता स्तरोन्नति नगरिएका साँघुरा सडकमा बढ्दो सवारीसाधनको चापले ट्राफिक व्यवस्थापन प्रतिदिन जटिल बन्दै गएको छ ।” गण्डकी यातायात व्यवस्था कार्यालयमा यही असार मसान्तसम्म दर्ता भएका सवारीसाधनको सङ्ख्या एक लाख ४४ हजार २१४ रहेकामा यही मङ्सिर ६ गतेसम्म उक्त सङ्ख्या एक लाख ५५ हजार ६७७ पुगिसकेको छ । पोखरा प्रवेश गर्ने अमरसिंह चोकबाट उत्तमचोक, बुद्धचोक, सेती नदी माथिको चाइनापुल हुँदै पृथ्वीचोकसम्मको सडक साँघुरो हुनुका साथै ठाउँठाउँमा पस्ने चोकका कारण पनि यो मार्गमा ट्राफिक जामको समस्या बढी हुने गरेको छ । “विशेष गरी चारतिर चोक भएको पृथ्वीचोक र सिर्जना चोककका साथै तीनतर्फ चोक भएको सभागृहचोक, चिप्लेढुङ्गाका साँघुरो बाटोका कारण यहाँ गाडीको निकै चाप देखिने गरेको छ,”– प्रहरी निरीक्षक अधिकारीले भने। पृथ्वीचोकमा हाल लखन थापाको सालिक रहेको आइल्यान्ड धेरै फराकिलो भएका कारण पनि यो चोकमा गाडीको जाम बढ्ने गरेको पृथ्वी राजमार्ग बस सञ्चालक समितिका अध्यक्ष अइनकुमार साहीले बताए । धेरै सवारीसाधन आवतजावत गर्ने पृथ्वीचोकमा फराकिलो आइल्यान्डका कारण सवारीसाधनको चापका साथै दुर्घटनालगायतका समस्या बढेकाले पटकपटक सम्बन्धित निकायमा जानकारी गराइए पनि त्यसतर्फ चासो नदिइएको उनले बताए । “फराकिलो आइल्यान्डका कारण सवारीसाधनको चाप एवम् दुर्घटनाको खतरा पनि बढेको छ,” उनले भने, “आइल्यान्डको व्यवस्थापन गर्न पृथ्वीराजमार्ग बस सञ्चालक समितिलाई जिम्मा दिए पनि हामी त्यसका लागि तयार छौँ ।” पृथ्वी राजमार्गका मात्र एक हजार ३०० सवारीसाधन पृथ्वीचोक भएर आवतजावत गर्ने बताउँदै उनले फराकिलो आइल्यान्डका कारण सबै यातायात व्यवसायी एवम् सर्वसाधारणलाई समस्या परिरहेको बताए । लखन थापाको सालिक भएका कारण आइल्यान्डको व्यवस्थापन कसरी गर्ने सम्बन्धमा सम्बन्धित निकायसँग छलफल भइरहेको प्रहरी निरीक्षक अधिकारीको भनाइ छ । आइल्यान्डका कारण वल्लो भागबाट पल्लो भाग देख्न नसकिने हुँदा एक जना ट्राफिक प्रहरीले गर्ने कामका लागि चार जना खटाउनुपर्ने बाध्यता रहेको उनले बताए । पोखरामा ट्राफिक व्यवस्थापनका लागि जिल्ला ट्राफिक कार्यालयअन्तर्गत गगनगौडा, डाँडाको नाक, औद्योगिक क्षेत्र, छोरेपाटन, बैदाम र बगरमा ट्राफिक पोस्ट राखिएका छन् । पोखरामा बढिरहेको ट्राफिक जामले यहाँको पर्यटनलाई प्रत्यक्ष असर पार्नेतर्फ गम्भीर बन्नुपर्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापा बताउछन् ।  यहाँको पर्यटकीय आकर्षणलाई जोगाउन सडक एवम् सवारीसाधन, पार्किङ व्यवस्थापनका साथै पोखरा भएर जाने लामो दूरीका बसका लागि छुट्टै वाइपासको व्यवस्था हुनु आवश्यक रहेको उनले बताएका छन् । रासस

हस्तकला व्यापार मेलामा १० करोडको कारोबार, करिब २ लाखद्धारा अवलोकन

काठमाडौं, १५ मंसिर । काठमाडौंको भृकुटीमण्डपमा आयोजना भईरहेको १४ औं हस्तकला व्यापार मेला तथा १२ औं हस्तकला प्रतियोगिता सम्पन्न भएको छ । मंसिर १० गते देखि ५ दिन सम्म लागेको उक्त मेलामा प्रत्यक्ष र परोक्ष गरी १० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार भएको छ । साथै, करिब २ लाख अवलोकनकर्ताले मेलाको अवलोकन गरेका छन् । नेपाल सरकार बाणिज्य मन्त्रालय तथा व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रको सहयोगमा नेपाल हस्तकला महासंघले १४ औं हस्तकला व्यापार मेला तथा १२ औं हस्तकला प्रतियोगिताको विधिवत रुपमा समापन गरेको छ । समापन समारोहमा महासंघका अध्यक्ष धर्मराज शाक्यले हस्तकला क्षेत्रले आर्थिक विकासको क्रममा निर्यात व्यापारमा अग्रणी भूमिकाको साथै रोजगारी सिर्जनाद्वारा गरिबी निवारणको क्षेत्रमा खेलेको बताए । सो क्रममा उनले नेपाल हस्तकला महासंघको अभिलेख अनुसार गत आर्थिक बर्षमा हस्तकला निकासी करीव ५ अर्ब बराबरको रहेको जानकारी गराएका छन् । चालू आर्थिक बर्षको प्रथम चौमासिक तथ्यांकले यस बर्ष हस्तकलाका वस्तुहरुको निर्यात बृद्धि हुने संकेत प्राप्त भईरहेको छ । साथ साथै आन्तरिक बजारमा हुने विक्री र अभिलेख नराखिएको निकासी अंक समेत जोड्दा बार्षिक कारोबार करीब १२/१३ अर्ब भन्दा बढि रहेको बताए । हस्तकला क्षेत्रले करीब ११÷१२ लाख व्यक्तिलाई प्रत्यक्ष र परोक्ष रुपबाट उपयुक्त पूर्वाधार, विकास, निर्यात व्यापार लक्षित प्रभावकारी कार्यक्रमहरु र सुविधाहरुको व्यवस्था गर्न सकेमा हस्तकला व्यवसायलाई गाउँ गाउँ सम्म विस्तार गर्न सकिने रहेको बताएका छन् ।

शिक्षा नियमावली मस्यौदा संसोधन अनिवार्य, बेवास्ता गरिए आन्दोलन गर्ने

काठमाडौं, १५ मंसिर । विद्यालय शिक्षालाई नयाँ संरचनामा ढाल्ने र सोही अनुरुप कार्यान्वयनमा जाने गरी शिक्षा मन्त्रालयले तयार पारेको शिक्षा नियमावलीको मस्यौदामा निजी क्षेत्रको असहमती र विरोध बढ्दै गएको छ । शिक्षा ऐन (आठौँ संशोधन)मा उल्लेख भएअनुसार प्रारम्भिक कक्षा देखि कक्षा ८ सम्म आधारभूत र कक्षा ९ देखि १२ सम्म माध्यमिक विद्यालय संरचना बनाइनेबारे निजी संसोधनको माग गर्दै विद्यालय सञ्चालकहरुको दवाव र विरोध बढ्दै गएको हो । समान शिक्षाको अवधारण लागू गर्नुपर्नेमा मन्त्रालयले नै दोहोरो शिक्षा निति लिएको भन्दै निजी विद्यालयका छाता संगठनहरुले आफ्ना अवधारणाअनुसारको नियमावली संसोधन गर्नुपर्ने माग राख्दै राजनीतिक रुपमै दवाव सिर्जना गर्ने तयारी गरिहेका छन् । जसका कारण शिक्षा मन्त्री धनीराम पौडेलले चाहेर मात्रै पनि अगाडी बढ्न सक्ने अवस्था नरहेको शिक्षा मन्त्रालय स्रोतले बतायो । अझ प्लस टू मात्रै संचालन गरिरहेका उच्च माध्यमिक विद्यालयका संचालकहरुले दिएको दवाव पनि कम छैन । उनिहरुले उच्च माध्यमिक विद्यालय संघ नेपाल (हिसान)मार्फत जिरो प्लस टूलाई यथास्थितिमा चल्न दिनुपर्ने माग राख्दै कक्षा ९ देखि १२ सम्मको संरचना अब्यवहारीक भएको भन्दै नियमावली संसोधनलाई अनिवार्य शर्त बनाएका छन् । मन्त्रालयले विद्यालय क्षेत्र सुधार कार्यक्रमलाई लागु गर्ने उदेश्यले प्रारम्भिक शिक्षा नियमावलीको मस्यौदा तयार पारेपनि निजी क्षेत्रको चर्को दवाव र विरोधले यतिखेर कार्यान्वयनमा आइसक्नुपर्ने नियमावलीले पूर्णरुप लिन सकेको छैन । निजी क्षेत्रबाट नियमावलीमा केहि संसोधनको कुरा आइरहेको शिक्षा मन्त्रालयका प्रवक्ता एवं मस्यौदा निर्माण कार्यदलका संयोजक डा. हरि लम्सालले जानकारी दिए । उनले भने– ‘निजि क्षेत्रको विद्यालय संचालकहरुले खासै विरोध जनाएका छैनन् तर प्लस टू संचालकहरुलाई कक्षा ९ सम्म आउन कठिन भएको देखियो ।’ कक्षा १२ सम्म पनि विद्यालय शिक्षा नै भएकाले यसमा ९ र १० कक्षा थपिदिंदा विद्यालय संरचना थप वलियो हुने लम्सालले बताए । शिक्षा मन्त्रालयले तयार गरेको नियमावलीको मस्यौदामा जिरो प्लस टू विद्यालयले माध्यमिक हुन चाहने हो भने कम्तीमा ९ र १० कक्षा पनि अनिवार्य सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ । हिसानका अध्यक्ष रमेश सिलवालले कक्षा १ देखि १२ सम्मको शिक्षालाई नियमावलीमार्फत सरकारले एउटै टोकरी हाल्न लागेको आरोप लगाए । उनले कक्ष ११ र १२ को शिक्षालाई उच्च शिक्षाको हैसियत कायम राख्नुपर्ने बताए । सिलवालले उच्च मावि तहको शिक्षालाई नै सिध्याउने षड्यन्त्र भइरहेको दावी गर्दै कडा आन्दोलन गर्ने चेतावनी दिए । उनले भने– ‘हाम्रो आन्दोलन बन्द हड्ताल, टायर बाल्ने जस्तो नभई उच्च तहबाट दवावमूलक संघर्ष हुनेछ र यसबाट नियमावली संसोधन गराउन बाध्य पर्नेछौं ।’ उता प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले आफूहरु प्ररम्भिक कक्षादेखि १२ सम्मको विद्यालय तहको संरचनामा खासै विरोध गर्नुपर्ने नदेखिएपनि नियमावलीका केहि बुँदाहरुमा भने संसोधनको आवश्यकता रहेको बताए । यसैविच मन्त्रालयले भने आवश्यक तयारी पुरा गरी कानुन मन्त्रालय र अर्थ मन्त्रालयमा नियमावली मस्यौदा पठाउने तयारी गरिहेको छ ।