डा केसीका माग सम्बोधन गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं, १६ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिकित्सक डा गोविन्द केसीका माग सम्बोधन गर्न बिहीबार शिक्षा र स्वास्थ्यमन्त्रीलाई निर्देशन दिएका छन्। शिक्षामन्त्री धनीराम पौडेल र स्वास्थ्यमन्त्री गगन थापालाई आज प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइ उनले सो निर्देशन दिएका हुन् । चिकित्सा शिक्षा सुधारको माग गर्दै १९ दिनदेखि आमरण अनशनमा रहेएका डा केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि प्रधानमन्त्री दाहालले त्यसमा चासो दिएका हुन् । सो अबसरमा शिक्षामन्त्री पौडेलले चाँडोभन्दा चाँडो केसीका माग सम्बोधन गरेर अनशन तोड्ने वातावरण निर्माण गर्न लगाउने बताए । यसैबीच चिकित्सा शिक्षा सुधारका लागि रमेशकान्त अधिकारीको संयोजकत्वमा बनेको कार्यदलले आज सरकारलाई प्रतिवेदन बुझाउने भएको छ । रासस
नेप्से परिसूचक ७ दशमलब ८४ अंकले ओरालो, १ अर्ब २० करोडको कारोबार
काठमाडौं, १६ मंसिर । साताको अन्तिम दिन सेयर बजार ओरालो लागेको छ । बिहीबार परिसूचक ७ दशमलब ८४ अंकले ओरालो लागेर १६०० अंकमा झरेको छ । परिसूचक ओरालो लागे पनि कारोबार रकममा भने सुधार भएको छ । सो दिन १३८ कम्पनीको १६ हजार ४३ लाख कित्ता सेयर १ अर्ब २० करोड रुपैयाँमा कारोबार भएको छ । सो दिन सबैभन्दा बढी शिखर इन्स्योरेन्सको सेयर कारोबार भएको छ । इन्स्योरेन्सको १० करोड बढी रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै, एभरेष्ट बैंकको ९ करोड रुपैयाँको सेयर किनबेच भएको छ । बिहीबार विकास बैंक, उत्पादनमूलक र अन्य समूह बाहेक कारोबार भएका बाँकी समूहको परिसूचक ओरालो लागेका छन् । विकास बैंक, उत्पादनमूलक र अन्य समूहको परिसूचक क्रमशः ९, ३ र २ अंकले उकालो लागेका छन् । हाइड्रोपावर, होटल, बीमा र बैंकिङ् समूहको परिसूचक क्रमशः ४२, ३७, ३६ र ११ अंकले ओरालो लागेका छन् । फाइनान्स समूहको परिसूचक सामान्य ५.०३ अंकले झरेको छ । बजारमा सबैभन्दा बढी मितेरी डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ । विजया लघुवित्त वित्तीय संस्था, वोमी माइक्रोफाइनान्स वित्तीय संस्था, लक्ष्मी लघुवित्त वित्तीय संस्था र नेपाल ग्रामीण विकास बैंकको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।
अरुण सेक्युरिटिज र ओपल सेक्युरिटिजलाई कारबाही गर्यो नेप्सेले
काठमाडौं, १६ मंसिर । नेपाल स्टक एक्सचेन्जले दुई वटा ब्रोकर कम्पनीहरुलाई अनिश्चितकालको लागि निलम्वन गरेको छ । नेप्सेले धितोपत्र बोर्डको निर्देशन भन्दै ब्रोकर नम्वर ३ अरुण सेक्युरिटिज र ब्रोकर नम्बर ४ ओपल सेक्युरिटिजलाई निलम्वन गरेको हो । उनीहरुलाई के कारणले निलम्वन गरिएको हो भन्नेबारेमा नेप्सेले विस्तृत विवरण दिएको छैन । अरुण सेक्युरिटिजलाई नेप्सेले बारम्बार कारबाही गर्दै आइरहेको छ भने ओपल सवेक्युरिटीजले पनि केहीसमययता कारबाही भोगिरहेको छ ।
साउदीमा कामदारको बिजोग, कुटनीतिक पहलमा सरकार कमजोर रहेको सरोकारवालाको भनाइ
काठमाडौं, १६ मंसिर । नेपाल सरकारले कुटनीतिक पहल नगर्दा साउदी अरेबीयामा कार्यरत नेपालीहरु पिडित भएका छन् । रोजगारीका लागि साउदी जानुपूर्व कामदारसँग भएका कुनै पनि सम्झौता रोजगारदाता कम्पनीले लागू नगर्दा त्यहाँ कार्यरत नेपाली कमदारहरु पीडित भएका हुन् । बुधबार आयोजित ‘वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा देखिएका समस्या र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रमका बक्ताहरुले सरकारको कुटनीति कमजोर भएकोले साउदीमा नेपाली कामदार पीडित हुनुपरेको बताए । पूर्व श्रम तथा रोजगारमन्त्री कमल चौँलागाईले पछिल्लो समय साउदीमा नेपालीहरुले सेवा सुविधा नपाएर पिडा खेपीरहनु परेको बताए । ‘त्यसै पनि अहिले युद्धको भयले साउदी जाने नेपाली कामदारको संख्या घटिरहेको छ, उनले भने, तर भएका नेपाली कामदारहरु समेत पिडित भइरहेका छन्, यसबारे सरकारले चाँडो कुट्नीतिक पहल चाल्नुपर्छ,’ चौलागाईले भने । बैदेशिक रोजगार विभागका माहानिर्देशक विश्वराज पाण्डेले साउदी अरेबियाको समस्याबारे आफूहरु जानकार रहेकोले त्यसको समाधानका लागि पहल भईरहेको बताए । ‘सरकारी स्तरबाट पहल भईरहेको छ ।’ उनले भने, ‘विगतमा भन्दा हामीले समस्या केही समाधान गरिसकेका छौँ ।’ नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालयका सहसचिब भरत भुर्तेलले पनि साउदीमा नेपालीहरुले दुख पाइरहेको भन्ने कुरा स्वीकार गरे । उनले भने, ‘साउदीको समस्यालाई सरकारले गम्भीर रुपमा लिएको छ ।’ कार्यक्रममा नेपाली साझा मंचका उपाध्यक्ष भक्त बहादुर (हमाल) मल्लले कार्यपत्र पेश गरेका थिए । कार्यपत्रमा साउदीमा बैदेशिक रोजगारका क्रममा भए÷गरेका सम्झौता, तलब ज्याला, बीमा, भीसाको समस्या, रेसिडेन्ट परमीट, काममा देखिएका समस्याहरु, कामदारका गुनासो, लेवर कोर्टका समस्या, नेपाली महिला कामदारको समस्या, जेलको कठिनाई, दुतावासको सहयोगमा अभावलगायतका समस्या उल्लेख गरिएको थियो ।
सुनको मूल्य ६ सयले घट्यो, बिहीबार प्रतितोला सुन ५४ हजारमा कारोबार
काठमाडौं, १६ मंसिर । सुनको मूल्यमा गिरावट आएको छ । बिहीबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर ५४ हजार प्रतितोला कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार भारत सरकारले चलनचल्तीका ठूला दरका नोटमा प्रतिबन्द लगाएसँगै सुनको मूल्यमा गिरावट आएको हो । सवैभन्दा बढी सुन खपत हुने भारतमा ठूला दरका नोटम प्रतिबन्ध लगाएपछि यसको प्रभाव सुनको मुल्यमा परेको सुनचादी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्य बताउँछन् । बिहीबार चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ । यसदिन चाँदी तोलाको ७ सय ८० रुपैयाँमा किनबेच भइरहेको महासंघले जानकारी दिएको छ ।
शिखर इन्स्योरेन्सले १० प्रतिशत एफपीओ जारी गर्ने, सर्वसाधारणको सेयर हिस्सा ४० प्रतिशत पुर्याउने
काठमाडौं, १६ मंसिर । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रिमियम मूल्यमा थप नयाँ सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणको सेयर हिस्सा ४० प्रतिशत र प्रवद्र्धकको सेयर हिस्सा ६० प्रतिशत बनाउने गरी नयाँ सेयर निष्काशन गर्न लागेको जनाएको छ । हाल कम्पनीको सेयर पुँजी ५० करोड ९९ लाख रुपैयाँ छ । त्यसमा सर्वसाधारण समूहको सेयर ३० प्रतिशत र प्रवद्र्धकको सेयर ७० प्रतिशत रहेको छ । बीमा समितिको चाहाना, पुँजी बढाउदै कम्पनीलाई बलियो बनाउने उदेश्य र सर्वसाधारण समूहको सहभागिता बढाउने उदेश्यले सर्वसाधारण समूहको सेयर हिस्सा १० प्रतिशतले वृद्धि गर्ने निर्णय गरिएको कम्पनीका अध्यक्ष विकास राणाले विकासन्युजलाई बताए । मंसिर १५ गते बसेको कम्पनीको सञ्चालक समितिले उक्त निर्णय गरेको हो । नयाँ सेयर निश्काशन गर्दा प्रतिकित्ता १४०० देखि १५०० रुपैयाँसम्म प्रिमियम मूल्य निर्धारण हुन सक्ने उनले बताए । ‘मूल्य निर्धारण गर्दा ३/४ वटा प्राविधिक पक्ष पनि हेर्नुपर्छ, नेपाल धितोपत्र बोर्डको पनि सहमति लिनु पर्छ । हाम्रो मूल्याङकनमा प्रतिकित्ता १४०० देखि १५०० रुपैयाँसम्म प्रिमियम मूल्य निर्धारण हुनसक्छ’ राणाले भने । कम्पनीको १२ औ वार्षिक साधारणसभा पुस ८ गते गर्ने निर्णय गरेको छ । कम्पनीले सेयरधनीलाई ६० प्रतिशत बोनस सेयर दिने निर्णय गरिसकेको छ । बाेनस सेयर जारी गरेपछि एफपीअाे जारी गरिने अध्यक्ष राणाले बताए ।
भार्गव विकास बैंकको सञ्चालकमा जगन्नाथ गोतामे नियुक्त
काठमाडौं, १६ मंसिर । भार्गव विकास बैंकको सञ्चालकमा जगन्नाथ गोतामे नियुक्त भएका छन् । मंसिर ११ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गोतामेलाई आगामी एक कार्यकालका लागि सञ्चालकमा नियुक्त गरेको हो । गोतामेको कार्यकाल मंसिर ११ गतेदेखि नै शुरु भएको छ । नियुक्त भएको दिन देखि नै गोतामेले बैंकको सञ्चालकको जिम्मेवारी सम्हाली सकेका छन् ।
भारतीय सर्वोच्च अदालतद्वारा सिनेमा अगाडि राष्ट्रिय गान बजाउन आदेश
नयाँ दिल्ली, १६ मंसिर । भारतको सर्वोच्च अदालतले बुधबार सबै सिनेमा देखाउनुअगाडि राष्ट्रिय गान बजाउनै पर्ने र दर्शक पनि उक्त समयमा उभिनै पर्ने निर्णय गरेको छ र यसले नागरिक स्वतन्त्रतामाथि प्रहार भएको भनि आरोप निम्त्याएको छ । सर्वोच्च अदालतको समूहले राष्ट्रिय गान बजाउँदा पर्दामा राष्ट्रिय झण्डा देखाइनुपर्ने र दर्शकलाई उभिन लगाइँदा उनीहरूमा राष्ट्रिय भावना जगाउन सकिने उल्लेख गरेको छ । उक्त जानकारी यस मुद्दाका निवेदकतर्फका वकिल अभिनव श्रीवास्तवले दिएका हुन् । धेरै स्थानमा सिनेमा प्रदर्शन हुनुअगाडि राष्ट्रिय गान बजाइन्छ र महाराष्ट्र राज्यले मात्र यसलाई बाध्यकारी बनाएको छ । राष्ट्रिय गान बज्दा उभिनुपर्ने कुरा लामो समयसम्म विवादको विषय बनेको छ । लाइभल न्युज वेबसाइटमा निर्णयमा न्यायाधीशहरूले राष्ट्रिय गान बज्दा सबैले त्यसलाई सम्मान गर्नु उचित हुने उल्लेख गरेको बताइएको छ । भारतीय आमसञ्चारले त्यसको अर्थ उक्त समयमा दर्शक उभिनुपर्छ भन्ने लाग्ने जनाएका छन् । यस निर्णयले कडा आलोचना निम्त्याएको छ र धेरैले यसले नागरिक स्वतन्त्रता उल्लङ्घन गर्ने बताएका छन् । भारतमा सिनेमाअगाडि राष्ट्रिय गान बजाउनुपर्ने वा नपर्ने भन्ने कुरा विवादको विषय बनेको छ र केही उदारवादीले वर्तमान शासनमा रहेको दक्षिणपन्थी सरकारले जनताको स्वतन्त्रता कुल्चन चाहेको भन्ने आरोप लगाएका छन् । रासस/एएफपी