अमेरिकी सरकारले जारी गर्यो सन् २००८ को मन्दीपछिकै सबैभन्दा बढी ऋण
एजेन्सी । अमेरिकी संघीय सरकारले सन् २०१० मा मन्दीको चरम अवस्थामा जारी गरिएको ऋणपछि सबैभन्दा बढी ऋण जारी गर्ने भएको छ । अमेरिकी ट्रेजरी विभागले सोमबार दिएको जानकारी अनुसार संघीय सरकारले १.३ ट्रिलियन अमेरिकी डलर बराबरको ऋण जारी गर्न लागेको हो । सन् २०१० मा यो रकम १.५९ ट्रिलियन डलर पुगेको थियो । यो ऋण रकम अघिल्लो वर्षको तुलनामा १४६ प्रतिशत बढी हो । सन् २०१७ मा सरकारले ५४६ ट्रिलियन डलर मात्र ऋण जारी गरेको थियो । यो ऋणसँगै अमेरिकी संघीय सरकारको बजेट घाटा ७७९ विलियन डलर पुग्ने अनुमान गरिएको छ जुन सन् २०१२ पछिकै सबैभन्दा बढी हुनेछ । सन् २०१९ मा बजेट घाटा बढेर १ ट्रिलियन डलर पुग्नसक्ने र सो मात्रा आगामी ४ बर्षसम्म त्यही वरपर हुनसक्ने पनि विभागले अनुमान गरेको छ । ट्रेजरी विभागले जीओपी कर कानून र द्धिदलीय राजनीतिक सम्झौतालाई उक्त ऋण जारी गर्ने मुख्य कारण मानेको छ । बजेट पारित नहुँदा संघीय सरकार बन्द हुने अवस्था आएपछि ट्रम्प प्रशासनले उक्त ऋण जारी गर्ने राजनीतिक सहमति गरेको र सोहीअनुरुपको बजेट अमेरिकी संसदले पारित गरेकाले उक्त ऋण जारी गर्नुपरेको विभागको दाबी छ । ट्रम्प प्रशासनले सरकारी खर्च घटाउन भन्दै स्वास्थ्य बीमा र सामाजिक सुरक्षामा गरिँदै आएको खर्च कटौती गर्न लागेको थियो । तर सिनेटले उक्त व्यवस्थासहितको बजेट पारित नगरिदिएपछि ट्रम्प प्रशासन सहमतिमा आउन बाध्य भएको थियो ।
बूढीगण्डकी डुबान क्षेत्र वरपर १०० किमीको चक्रपथ निर्माण शुरु
काठमाडौं । गोरखा र धादिङको सिमानामा बन्न लागेको राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्र वरिपरि चक्रपथ निर्माणको प्रक्रिया शुरु भएको छ । आयोजनाका मुअब्जा वितरण तथा पुर्नवास तथा पुनःस्थापना एकाइका प्रमुख कृष्णबहादुर कार्कीले आयोजना बाहिर रिङरोड निर्माण गर्ने योजनाअन्तर्गत १०० किलोमिटर सडक निर्माण प्रक्रिया शुरु गर्न लागेको हो । आयोजनाको वरपर चक्रपथ निर्माणका लागि आयोजनाले विस्तृत आयोजना प्रतिवेदन डिपिआर तयार पारिसकेको आयोजना प्रमुख कार्कीले जानकारी दिए । उनले आउँदो पुसदेखि सडक निर्माणका लागि ठेक्का प्रक्रिया शुरु हुने बताए । “डिपिआर तयार भइसकेको छ, केही प्रक्रिया मिलाउन बाँकी रहेकाले ढिलाइ भएको हो, आउँदो पुसदेखि ठेक्का प्रक्रिया शुरु हुन्छ”, उनले बताए । प्रमुख कार्कीले गोरखातर्फ घ्याल्चोकको सिउरेनीटारबाट बोर्लाङको महादेवटारसम्मको १०० किलोमिटर सडकको डिपिआर बनाइएको जानकारी दिए । त्यस्तै धादिङतर्फ पनि चालु आवमा १०० किलोमिटर सडकको ट्र्याक खोल्ने तयारी रहेको उनले बताए । उनका अनुसार अब गोरखातर्फ ६० र धादिङतर्फ २५ किमी सडकको डिपिआर बनाउन बाँकी छ । सडक निर्माणका लागि यो आर्थिक वर्ष सरकारले रु १२ करोड छुट्याएको छ । दुवै जिल्लामा रु ६÷६ करोड खर्चेर ट्र्याक निर्माण अघि बढाउन लागिएको हो । बूढीगण्डकी आयोजनाको जलाशय करीब ५४ किमी फराकिलो हुनेछ । आयोजनाले चक्रपथ वरपर ३०० किलोमटिर रिङरोड बनाउने गरी डिपिआर तयार पारेको छ । रासस
हानकुक टायर अब नेपाली बजारमा, सवारीसँगै स्पेयर पार्ट व्यापारमा जम्दै लक्ष्मी ग्रुप
काठमाडौँ । काेरियाली उत्पादन हानकुक टायर नेपाली बजारमा अाएकाे छ । लक्ष्मी ग्रुपकाे भगिनी संस्था एलएच सर्भिसेस र स्पेयर पार्टस् (एलएचएस्एस्) ले उक्त टायर नेपालमा ल्याएकाे हाे । एलएच एस् एस् कम्पनी २०१८ मा स्थापित भएको हो । हानकुक दक्षिण कोरियाबाट विश्वव्यापी विस्तार भएकाे प्रमुख टायर निर्माण ब्राण्ड हो । उक्त टायर साेमबार लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठ, कम्पनीकाे उच्च पदाधिकारी र हानकुकका प्रतिनिधिहरूले संयुक्त रूपमा अनावरणा गरेका हुन् । हानकुक टायरले उच्च इन्धन क्षमता, आवाज, राम्रो आकर्षण र उच्च टायर जीवनको आश्वासन दिने कम्पनीले जनाएकाे छ । एलएचएस्एस्ले हाल इन्डोनेसिया र कोरियामा आधारित दुई कारखानाबाट हानकुक टायर आयत गरिरहेको छ । २०१८ मा हानकुक टायरले लक्ष्मी समूहसँग मिलेर नेपाली बजारमा गुणस्तरीय सेवाप्रदान गर्ने योजना लिएर नेपाली बजारमा आएको जनाएकाे छ । कम्पनीको भिजन “उपभोक्ताको गतिशीलताका लागि एक मात्र समाधान” भन्ने लक्ष्यका साथ अगाडी बढेको छ ।लक्ष्मी समूह एक स्थापित व्यवसायिक कम्पनीहरुको समूह हो । लक्ष्मी ग्रुप अन्तरगतका भगिनी कम्पनीहरूले विश्वव्यापी रुपमा प्रख्यात आटोमोटिभस् तथा सहायक बस्तुहरु आयत गरी बिक्री वितरण गर्दै अाएका छन् । यस ग्रुपले हुण्डाइ माेटरकाे व्यापारमा सफलता चुमेपछि ब्याट्री, लुब्रिकेन्टस् र टायर व्यवसायमा हात हालेकाे छ । पाेखराबाट चकलेट र डेरी उद्याेगबाट उदाएकाे लक्ष्मी ग्रुपले पछिल्लाे दशक व्यापार, सेवा र उद्याेगका क्षेत्रमा लगानी विस्तार गरेकाे छ ।
२५ लाख रुख काटेर टर्कीले बनायो संसारकै ठूलो एयरपोर्ट, निजगढ कहिले ?
काठमाडौं । टर्कीले संसारकै सबै भन्दा ठूलो बिमानस्थल निर्माण गरेको छ । यो बिमानस्थल निर्माणका क्रममा २५ लाख रुख काटिएका छन भने ७ हजार ६ सय हेक्टर समुन्द्रको जमिन उपयोग गरिएको छ । टर्कीको राजधानी स्तानबुलमा निर्माण गरिएको विमानस्थलको लागत ५१ बिलियन अमेरीकी डलर रहेको छ । विमानस्थलको पहिलो खण्डको टर्कीका राष्ट्रपति रिसेप तैयप इर्दाेगानले उद्घाटन गरेका हुन् । बिमानस्थलको पुरै खण्ड भने एक बर्षभित्रै निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याईसक्ने योजना रहेको छ । विमानस्थलमा ६ वटा रन वे छन जसले बार्षिक २० करोड यात्रुलाई सेवा दिन सक्छ । यो विमानस्थलको एयर कन्ट्रोल टावरले सन २०१६ को उत्कृष्ठ आर्किटेक्चर अवार्ड समेत प्राप्त गरिसकेको छ । सन २०१३ मा टर्कीका पाँच वटा निर्माण कम्पनीहरुको कन्सोर्टीयमले २९ बिलियन अमेरिकी डलरमा निर्माणको ठेक्का पाएको थियो । निर्माण, सञ्चालन र हस्तान्तरण मोडलमा यो बिमानस्थल तयार पारिएको हो । निर्माण कर्ता कम्पनीहरुले २५ बर्षसम्म सञ्चालन गरेर विमानस्थल सरकारलाई हस्तान्तरण गर्नेछन् । ३६ हजार कामदारले काम गरिरहेको यो विमानस्थल निर्माण गर्दा हालसम्म ४ सय जनाले ज्यान गुमाईसकेको आरोप छ । एसिया र युरोपलाई जोड्ने महत्वपूर्ण पूर्वाधारका रुपमा स्तानबुल बिमानस्थल निर्माण गरिएको हो । हालसम्म युरोप र एसियालाई जोड्ने विमानस्थलका रुपमा युएई र कतारका विमानस्थलहरु उपयोग हुँदै आएका थिए । निजगढ कहिले ? नेपालमा भने विगत २३ बर्षदेखि दोश्रो अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्ने भनेपनि अझै काम सुरु गरेको छैन् । निजगढमा बनाउने निर्णय गरिएको भए पनि वन र वातावरणका नाममा अवरोध सृजना भएको छ । निजगढमा एयरपोर्ट सीटीसहित २५ हजार हेक्टरमा विमानस्थल निर्माण गर्ने सरकारको योजना छ । पहिलो चरणमा अहिले ८ हजार हेक्टरमा निर्माण गर्न लागिएको हो । जसमा ७ लाख रुख काटिनेछन् । तीममध्ये १ लाख ९४ हजार ठुला र बाँकी साना रुख हुनेछन् ।
सेयर बजार घट्दा म्युचुअल फण्डमा प्रभाव, अधिकांशको खुद सम्पत्तिमा गिरावट, सिटिजन्सको मात्र सुधार
काठमाडौं । सेयर बजार निरन्तर गिरावटको प्रत्यक्ष प्रभाव म्युचुअल फण्डहरुमा परेको छ । हाल सञ्चालनमा रहेका अधिकाँश फण्डको खुद सम्पत्ति र प्रतिएकाई खुद मूल्य (एनएभी) घटेको छ । गत असोज महिनाको अन्त्यमा सेयर बजार परिसूचकमा अघिल्लो मसान्तको तुलनामा करिब १० पैसाको सामान्य गिरावट देखिँदा अधिकांश म्युचुअल फण्डहरुको एनएभी सोही अनुपातमा गिरावट आएको छ । फण्डहरुले अधिकाँश रकम सेयरमा लगानी गर्दै आएका छन् । सेयर बजार बढ्दा फण्डको खुद सम्पत्तिमा पनि वृद्धि हुने गरेको छ । उक्त समयावधिमा सिटिजन्स म्युचुअल फण्डले एनएभीमा सामान्य सुधार गर्दा नबिल इक्विटी फण्ड, एनआईसी एशिया ग्रोथ फण्ड, लक्ष्मी भ्यालु फण्ड तथा एनएमबी हाइब्रिड फण्ड—१ मा सामान्य गिरावट देखिएको छ । यसबीचमा एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–१ को मूल्य भने निराशाजनक रुपमा घटेको छ । नबिल इक्विटी फण्डले सञ्चालन गरेको नबिल इक्विटी फण्डले पनि खुद सम्पत्ति करिब डेढ करोडले गुमाउँदा एनएभीमा १२ पैसाको गिरावट आई प्रतिएकाई ८ रुपैंया ५९ पैसामा सीमित भएको छ । सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड–१ ले भने अघिल्लो महिनामा आफ्नो खुद सम्पत्तिमा सामान्य सुधार गरेको छ । फण्डले खुद सम्पत्ति ८५ करोड ३१ लाखबाट बढेर ८६ करोड २२ लाख रुपैयाँ पुर्याउँदा प्रतिएकाई खुद मुल्यमा १२ पैसा सुधार गरी १० रुपैंया ५२ पैसा पुर्याएको छ । एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईसी एशिया ग्रोथ फण्डको सम्पत्ति घटेर ८६ करोड ६४ लाखबाट घटेर ८६ करोडमा सीमित हुँदा यसको पनि प्रतिएकाई मूल्यमा सामान्य गिरावट आएको छ । उक्त फण्डको एनएभी ४ पैसा घटेर १० रुपैंया ३१ पैसामा सीमित भएको छ । लक्ष्मी म्युचुअल फण्डको लक्ष्मी भ्यालु फण्ड–१ ले पनि ३३ लाख खुद सम्पत्ति गुमाउँदा १० रुपैंया ८९ पैसा प्रतिएकाई खुद मूल्यमा सीमित भएको छ जुन अघिल्लो महिनाको तुलनामा ६ पैसाले कम हो । एनआईबिएल म्युचुअल फण्डको एनआईबिएल समृद्धि फण्ड–१ को खुद सम्पत्तिमा पनि १ करोड ३० लाख रुपैंयाको गिरावट आउँदा प्रतिइकाई सम्पत्तिमा १४ पैसाको गिरावट आएको छ । एनएमबी म्युचुअल फण्डले सञ्चालन गरेको दुई फण्डहरुमध्ये एनएमबी हाइब्रिड फण्ड एल–१ को मूल्य स्थिर रहे पनि अर्को फण्ड एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–१ ले भने गत महिना खुद सम्पत्तिमा ठूलो क्षति व्यहोरेको छ । उक्त फण्डको खुद सम्पत्ति १ अर्ब १ करोडबाट घटेर ८४ करोडमा झर्दा प्रतिएकाई खुद सम्पत्ति मूल्यमा २ रुपैंया २४ पैसाको गिरावट आएको छ । यो अघिल्लो महिनाको सुरुको खुद सम्पत्तिको आधारमा १६.५४ प्रतिशतको गिरावट हो । हालसम्म प्रकाशित भएका विभिन्न म्युचुअल फण्डका विभिन्न योजनाहरुमध्ये असोज महिनामा सिटिजन्स म्युचुअल फण्डको मात्र प्रतिइकाई खुद सम्पत्ति मूल्यका सुधार देखिएको छ भने अन्य सबै फण्डहरुको मूल्य घटेका छन् ।
भारतमा पेट्रोलियमको भाउ घट्यो, नेपालमा कहिले ?
एजेन्सी । भारतमा पेट्रोलियम पदार्थको भाउ घटेको छ । भारतका आयल मार्केटिङ कम्पनीहरुले मंगलबार पेट्रोलियम पदार्थको भाउ घटाएका हुन् । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा कमी आएपछि पेट्रोलियमको भाउमा कमी आएको फाइनान्सियल एक्सप्रेसले जनाएको छ । भारतका राज्यहरुमा पेट्रोलियम पदार्थको भाउ २१ पैसासम्म कमी आएको छ । राजधानी नयाँदिल्लीमा पेट्रोल लिटरको ७९.५५, डिजेलको भाउ ७३.७८ भारु पुगेको छ । यस्तै वित्तीय राजधानी मुम्बईमा पेट्रोल लिटरको ८५ र डिजेल ७७.३२ पैसामा बिक्री भइरहेको छ । यस्तै कोलकतामा पेट्रोल लिटरको ८१.३ र डिजेल ७५.६३ भारुमा किनबेच भएको छ । नेपालमा पनि तिहारसम्म पेट्रोलिमको भाउ नबढ्ने भएको छ । उद्योगमन्त्री मातृका यादवले तिहारसम्म भाउ नबढाउन नेपाल आयल निगम लिमिटेडलाई निर्देशन दिएका छन् । भारतमा भाउ घटेपछि यसको असर नेपालमा पनि पर्नेछ । तिहारपछि निगमले के गर्ला ? मासिक २ अर्ब रुपैयाँ बढी नोक्सान भएको निगमले दावी गरेको छ ।
बालबालिकाको मुद्दा सम्बोद्धन गर्न माग
काठमाडौं। अब बन्ने बालबालिकासम्बन्धी नियमावलीमा बालबालिकाका केही मुद्दा समेट्न माग गर्दै मंगलबार नागरिक सङ्गठन तथा सञ्जालले महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापामगरलाई ज्ञापनपत्र बुझाएका छन् । बालअधिकार समिति, मानवअधिकार सन्धि अनुगमन समन्वय केन्द्रका कृष्ण सुवेदीको संयोजकत्वमा गएको टोलीले बालबालिका ऐन २०७५ कार्यान्वयनका लागि बन्न लागेको नियमावलीमा बालबालिका सम्बन्धी मुद्दा समेट्न १० बुँदे सुझावपत्रसहित नागरिकमन्त्री मगरलाई ज्ञापनपत्र बुझाइएको हो । ज्ञापनपत्र बुझ्दै महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थापामगरले बालबालिकासम्बन्धी ऐनमा बालश्रम निषेध र नियमन गर्ने सम्बन्धमा हुन गएको त्रुटी सच्याउने प्रतिवद्धता व्यक्त गरे। उनले ऐनको प्रभावकारी कार्यान्वयनका लागि ल्याउन लागेको नियमावली पारित गर्नुपूर्व बालबालिकाका क्षेत्रसँग काम गर्ने सबै सरोकारवालासँग छलफल गर्ने समेत बताए। रासस
कर्मचारी समायोजन अध्यादेशबारे ध्यानाकर्षण
काठमाडौं। निजामती सेवाअन्तर्गत प्राविधिक सेवातर्फका कर्मचारीले कर्मचारी समायोजन गर्न बनेको अध्यादेशबारे सरकारलाई ध्यानाकर्षण बुझाएका छन् । नेपाल पाराभेटेरिनरी एन्ड लाइफ स्टक एसोसियसन, डिप्लोमा इन्जिनियर्स एसोसियसन नेपाल, नेपाल फोरेस्ट टेक्निसियन एसोसियसन, निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन पशुपन्छी विभागीय समिति, नेपाल कृषि प्राविधिक एसोसियसन, नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघले प्रधानमन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, मुख्य सचिव र सामान्य प्रशासन सचिवलाई ध्यानाकर्षण बुझाएका छन् । ध्यानाकर्षण पत्रमा अध्यादेशमार्फत् निजामती सेवामा कार्यरत रहेका जनशक्तिहरूलाई प्रदेश र स्थानीय तहमा समायोजन गर्दा सेवा अवधि र शैक्षिक योग्यताको आधारमा तह मिलान गर्ने व्यवस्थाले माथिल्लो शैक्षिक योग्यता नभएको वा विभिन्न कारणले अध्ययन गर्न नसकेको तर अहोरात्र सेवा प्रवाह गरिरहेका कर्मचारीहरूको वृद्धि विकासमा असर पर्ने भएकोले स्वतः एक श्रेणी वृद्धि गरी तह मिलान हुने व्यवस्था गरिनुपर्ने माग गरिएको छ । यस्तै, निजामती सेवा ऐनले गरेको बढुवा व्यवस्था अनुसार वा हाल सेवा प्रवेश गरिसकेकाको हकमा सेवा प्रवेश गर्दाको शैक्षिक योग्यतालाई नै एक श्रेणी माथिल्लो पदमा बढुवाको लागि योग्य हुने किसिमले एक श्रेणी बढुवा हुने र सोही अनुसार तह हिलान हुने प्रावधान राखिनुपर्ने र प्राविधिक सेवाअन्तर्गत निजामती सेवामा कार्यरत प्राविधिक कर्मचारीहरूको हकमा एउटै सेवाभित्रको शैक्षिक योग्यता मिल्ने समूहमा समायोजन हुने व्यवस्था भएमा निजको बढुवाको बाटो खुल्ने भएकाले उक्त प्रावधान राखिनुपर्ने माग गरिएको छ ।