नेपाल एसबिआई बैंकको एफपिओ आजबाट खुला, पुस १३ गतेसम्म आवदेन दिन पाइने
काठमाडौं, १० पुस । नेपाल एसबिआई बैंकको थप नयाँ साधारण सेयर (एफपीओ) आजबाट बिक्री खुला भएको छ । बैंकले एक सय रुपैयाँ अंकित मूल्यको ६७ हजार ७ सय ६७ कित्ता सेयरको बिक्री खुला गरेको हो । यस कम्पनीले सर्वसाधारणको लागि ६ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर निश्काशन गरेको छ । प्रिमियम मूल्य सहित बैंकको एफपीओको मूल्य प्रतिकित्ता १७१ रुपैयाँ तोकिएको छ । उक्त सेयर पुस १० गतेदेखि छिटोमा १३ गतेसम्म र ढिलोमा पुस २४ गतेसम्म आवदेन दिन पाइने सो संस्थाले जनाएको छ । काठमाडौंको केशरमहलमा कार्यालय रहेको यस कम्पनीको सेयर निश्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । सो मात्राको एफपीओको लागि इच्छुक लगानीकर्ताले एनएमबी बैंकिङ् लिमिटेड, नेपाल एसबिआई मर्चेन्ट बैंकिङ् लिमिटेड तथा नेपाल एसबिआई बैंकका शाखाहरु मार्फत तोकिएको मितिमा आवदेन दिन सक्नेछन् ।
तोसिबाको नयाँ एलइडी टिभी सार्वजनिक, मूल्य २४ हजारदेखि एक लाख १० हजार रुपैयाँ
काठमाडौं, १० पुस । चौधरी समूहको ईओएल प्रालीद्धारा तोसिबाको एलईडी टिभी र रेफ्रिजेरेटर नेपाली बजारमा सार्वजनिक भएको छ । तोसिबाको एल ५६ सिरिज, एल ३६ सिरिज र एल २६ सिरिज गरि तीन नयाँ एलईडी टिभी बजारमा सार्वजनिक भएको हो । कम्पनीका अनुसार एल ५६ सिरिजको टिभीमा इन्टर्नल मेमोरी प्रयोग बिनै सबै एप्सहरु कोल्ड सर्भरमा स्टोर हुनेछन् । त्यस्तै, एल ३६ र एल २६ सिरिजमा फाईभ स्टार सुरक्षा, २० वाट साउण्ड आउटपुट रहेको छ । साथै, मोबाईललाई टिभीमा कनेक्ट गरेर मोबाईलको फङ्सनहरु टिभीमा चलाउन सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यी टिभीहरु वातावरण सुहाउँदो रहेको छ । साथै, यी तीनै एलईडी टिभी तोसिबाको फाईभस्टार सुरक्षा, उच्च गुणस्तरको पिक्चर र साउण्ड प्रविधि रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार बजारमा टिभी २४ ईन्च देखि ५५ ईन्च सम्मका रहेका छन् । नेपाली बजारमा उक्त टिभीको मूल्य २४ हजार रुपैयाँ देखि एक लाख १० हजार रुपैयाँ सम्म पर्ने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । कम्पनीले एलइडी टिभीका साथै वाशिङमेसिन र रेफ्रिजेरेटर पनि बजारमा भित्र्याएको छ । कम्पनीका अनुसार तोसिबाको घरायसी सामानले थोरै बिजुलीको खपत गर्दछ । साथै, तोसिबाका सबै सामानमा एक वर्षको वारेन्टी समेत रहेको कम्पनीले जनाएको छ ।
टोयोटाको नयाँ शोरुम अब कुपण्डोलमा, विभिन्न मोडलका गाडिहरु खरिद गर्न सकिने
काठमाडौं, १० पुस । टोयोटा गाडीका नेपालका लागि एक मात्र आधिकारिक वितरक युनाइटेड टेडर्स सिण्डिकेटले नयाँ शोरुम ललितपुरको कुपण्डोलमा संचालन गरेको छ । टोयोटा गाडि बिक्री गर्दै आएको इष्टलिंक मोर्टस प्रालिले टोयोटाको गाडिहरुको नयाँ शोरुम शनिबारदेखि संचालनमा ल्याएको हो । शोरुमको उद्घाटन भ्वइथका प्रेसिडेन्ट शुरज बैद्य र प्रबन्ध निर्देशक रितु सिंह बैद्यले संयुक्त रुपमा गरेका हुन् । नयाँ शाखामा टोयोटाका विभिन्न मोडलहरुका गाडिहरु खरिद गर्न सकिनेछ । कम्पनीले नयाँ शाखा स्थापना गरेको उपलक्ष्यमा टोयोटा गाडि खरिदकर्ताहरुका लागि विशेष सुविधा तथा अफरहरु पनि दिने बताएको छ । साथै, उक्त अवसरमा नयाँ गाडी खरिद गर्ने ७ जना ग्राहकलाई साँचो हस्तान्त्रण गरेको कम्पनीले जनाएको छ । कम्पनीले ग्राहकको चाहनालाई मध्येनजर गर्दै शोरुम विस्तार गरेको हो । कम्पनीका अनुसार यस शोरुमबाट ग्राहकले प्राडो, र्याफो, हाइलक्स लगायतसबै किसिमका टोयोटा उत्पादनहरु खरिद गर्न सक्ने छन् ।
चन्द्रागिरि आर्थिक विकासको कोशेढुङ्गा- टाङ्गलियाङ्ग ची
काठमाडौं, १० पुस । चिनियाँ कम्यूनिष्ट पार्टी ‘चेन्दु’ का सचिव टाङ्गलियाङ्ग चीले चन्द्रागिरि केबलकारको अनौपचारिक भ्रमण गरेका छन् । चीको नेतृत्वमा आएको चिनियाँ टोलीलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्र प्रसाद ढकाल र महाप्रवन्धक अभिषेक विक्रम शाहले स्वागत गरेका हुन् । उक्त टोलीमा चीनको स्वशासित क्षेत्र तिब्बत पिपुल्स कंग्रेस (संसद्) का अध्यक्ष बाई माचिलिन र सिनो हाइड्रोका इन्जिनियर फागजुन लगायत दूई दर्जन चिनियाँ व्यक्तित्वहरुको सहभागिता रहेको थियो । अनौपचारिक भ्रमणमा आएको चिनियाँ टोलीलाई अध्यक्ष ढकालले चन्द्रागिरिमा निर्माण भएको पुर्वाधारहरुको वारेमा जानकारी दिँदै ‘चीन नेपालको नजिकको छिमेकी मित्र राष्ट्र भएको र पछिल्लो समयमा चीनले हासिल गरेको आर्थिक सम्वृद्धि र त्यसबाट सिर्जित अवसरहरुको सदुपयोग नेपालको नीजि क्षेत्रले गर्न सक्ने विश्वास व्यक्त गरेका छन् ।’ चिनियाँ कम्युनिष्ट पार्टी ‘चेन्दु’ का सचिव चीले ‘चन्द्रागिरिमा निर्माण भएको एकीकृत पर्यटकीय गन्तब्यबाट आफु अत्यन्तै प्रभावित भएको र यस्तै अन्य परियोजनाहरुको निर्माण हुने हो भने नेपालको आर्थिक विकासले छोटै समयमा तीब्रता पाउने विश्वास व्यक्त गरेका छन् । ’ यसअघि चेन्दुका मेयर समेत रहेका टाङ्गलियाङ्ग ची काठमाडौं महानगरपालिका र चीनको सिचुवान प्रान्तको सदरमुकाम चेन्दुबीच भगिनी सहरको सम्बन्ध स्थापनाका लागि सम्झौता पत्रमा हस्ताक्षर गर्न गत शुक्रबार नेपाल भ्रमणमा आएका थिए ।
पाँच वटा रेल सञ्जाल विस्तार गर्दै नेपाल, बर्दिबासमा यसरी बन्दैछ मेची-महाकाली विद्युतीय रेल
काठमाडौं, १० पुस । नेपालले दिर्घकालिन रणनीति अन्तर्गत पाँच वटा रेल वे सञ्जाल विस्तारको काम अघि बढाइरहेको छ । यसरी निर्माण हुने रेल वे सञ्जालहरुमा क्रस बोर्डर रेल वे कनेक्टीभीटीदेखि मेची–महाकाली विद्युतिय रेल मार्ग र उपत्यकामा मेट्रो रेल सञ्जाल समेत पर्छन् । मेची महाकाली रेल मार्गको बर्दिबास-लालबन्दी खण्डमा धमाधम निर्माण भैरहेको रेल मार्ग फोटोः रेल विभागका महानिर्देशक अनन्त आचार्यको फेसबुकबाट भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत रहेको रेल विभागले उपत्यकामा मेट्रो रेल, तराई मेची महाकाली विद्युतिय रेल वे, भारतसँग जोडिने बिभिन्न ५ नाकामा क्रस बोर्डर कनेक्टीभीटी रेल वे प्रोजेक्ट, काठमाडौं–पोखारा–लुम्बिनी विद्युतिय रेल मार्ग र रसुवागढी–काठमाडौं रेल मार्ग पर्छन् । ‘हामीले नेपालमा आधुनिक रेल सञ्जाल विस्तारको योजनासहित बिभिन्न पाँच वटा रेल वे नेटवर्क निर्माणमा जुटेका छौं, मेची–महाकाली रेल मार्ग निर्माणको काम थालिसकिएको छ भने अन्य नेटवर्कका लागि विभिन्न चरणमा अध्ययनहरु भैरहेका छन्’, रेल विभागका महानिर्देशक अनन्त आचार्यले भने । फोटोः रेल विभागका महानिर्देशक अनन्त आचार्यको फेसबुकबाट उनका अनुसार मेची महाकाली रेल वे नेटवर्क अनुमानित ९४५ किलोमिटरको हुनेछ । जसको बर्दिबास–लालबन्दी खण्डको ३० किलोमिरटमा अहिले धमाधम निर्माण कार्य भैरहेको छ । त्यस बाहेक भारतसँग जोडिने पाँच वटा क्रस बोर्डर रेल वेको काम भैरहेको पनि जानकारी दिए । जस अनुसार मध्यपश्चिमको नेपालगञ्जदेखि भारतको नेपालगञ्ज रोडसम्मको १५ किलोमिटर रेल मार्ग, भैरहवादेखि नौतन्वासम्मको १२ किलोमिटर, जयनगरदेखि जनकपुरहुँदै बर्दिबाससम्मको ६९ किलोमिटर, जोगबनीदेखि बिराटनगरसम्मके १३ किलोमिटर र न्यु जलपाइगुडीदेखि काकडभिट्टासम्मको रेल वे नेटवर्क रहेको छ । फोटोः रेल विभागका महानिर्देशक अनन्त आचार्यको फेसबुकबाट यस बाहेक काठमाडौं उपत्यकामा मेट्रो रेल निर्माणको सम्भाव्यता अध्ययन सम्पन्न भएर केहि बर्ष पहिले नै रिपोर्ट आइसकेको छ । काठमाडौं–पोखरा रेल मार्गको पनि सम्भाव्यता अध्ययनको रिपोर्ट ६ महिना पहिले नै तयार भैसकेको छ । त्यस्तै, विभागले काठमाडौं–बिरगञ्ज रेल रेल मार्गको सम्भाव्यता अध्ययनका लागि ३१ दिने समय सिमा तोकेर ग्लोबल टेण्डर आव्हान गरेको छ । काठमाडौं–रसुवागढी रेल मार्ग निर्माणका लागि सम्भाव्यता अध्ययनको लागि विभागले १० करोड बजेट छुट्याएको छ । सोही बजेटबाट सम्भाव्यता अध्ययनका लागि टेण्डर आव्हान गर्ने सोँचमा विभाग पुगेको आचार्यले बताए । फोटोः रेल विभागका महानिर्देशक अनन्त आचार्यको फेसबुकबाट विभागका सिनियर डिभिजनल इञ्जिनियर प्रकाश उपाध्यायका अनुसार नेपालले निर्माण गर्न लागेको रेल वे नेटवर्कले युरोप र चिनियाँ रेल वे नेटवर्कसम्म पहुँच पुर्याउँछ ।‘हामीले बनाउन लागेको रेल वे नेटवर्कले ट्रान्स एसियन रेल नेटवर्क हुँदै युरोप र चीन जोड्नेदेखि लिएर रसियाले बनाएको साइबेरियन रेल वेसम्म पुग्न सकिन्छ ।’ नेपालले आफ्ना सम्पुर्ण रेललाई आधुनिक प्रबिधीको स्ट्याण्डर्ड गेजमा निर्माण गर्न लागेको छ ।‘हामीले बनाउने रेल स्ट्याण्र्ड गेजको हुनेछ, जुन भारतको भन्दा आधुनिक हो ।’, महानिर्देशक आचार्यले भने । यी हुन सम्भाव्यता अध्ययन सम्पन्न भएका रेल वे मेची–महाकाली ९४५ किलोमिटर काठमाडौं–पोखारा १८७ किलोमिटर मेची–महाकाली(आँबु खैरेनी लिंक) ७२ किलोमिटर मेची–महाकाली(उत्तर दक्षिण लिंक) ११३ किलोमिटर निजगढ–हेटौँडा–भरतपुर १३५ किलोमिटर डिपिआर तयार भएको रेल वे बर्दिबास–सिमरा–बिरगञ्ज १३६ किलोमिटर सिमरा–तम्सरिया १२७ किलोमिटर तम्सरिया–बुटवल–लुम्बिनी लिंक १०९ किलोमिटर
समस्याग्रस्त नौ वटा वित्तीय संस्थामा नयाँ लगानीकर्ता प्रवेश, क्रिष्टलबाहेक सबै संस्था सञ्चालनमा आउने
काठमाडौं, १० पुस । नेपाल राष्ट्र बैंकले नयाँ वित्तीय संस्थालाई २०६३ सालबाट इजाजत दिन रोकिएपछि समस्याग्रस्त अवस्थामा सचालनमा भएकामा नयाँ लगानीकर्ता प्रवेश गर्न थालेका छन् । समस्याग्रस्त वित्तीय संस्थालाई किनेर राम्रो व्यवस्थापन बनाएर संचालन गर्न नयाँ लगानीकर्ता हौसिएका छन् । हाल नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको विभिन्न ११ वटा वित्तीय संस्थामध्ये नौ वटामा नयाँ लगानीकर्ताको प्रवेश सुरू भैसकेको नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिए । उनका अनुसार बाँकी दुईवटामा क्रिष्टल फाइनान्स खारेजी प्रक्रियामा गैसकेको छ भने नेपाल सेयर मार्केट एण्ड फाइनान्सलाई भने अदालतले अहिलेकै अवस्थामा संचालन गर्नु भनेर निर्देशन दिएको छ । नयाँ वित्तीय संस्थाको इजाजत बन्द भएपछि खारेजीमा गएको संस्थाको समेत स्वामित्व लिने काम विस्तारै सुरु भएको हो । यस अघि खारेजीमा गएको नेपाल विकास बैंकलाई प्रभु बैैंकले ६ कित्ता शेयर बारबार एक कित्ता प्रभु बैंकको शेयर दिनेगरी किनेको थियो । नेपाल राष्ट्र बैंकका अनुसार समस्याग्रस्त अवस्थामा रहेकको वित्तीय संस्थालाई नयाँ लगानीकर्ताले संचालन गर्ने गरी प्रक्रिया अगाडि बढिसकेको अहिले सकारात्मक सन्देश प्रवाह पनि भएको छ । समस्याग्रस्त रहेको संस्था संचालन गर्न आएका नयाँ लगानीकर्तामध्ये नौ वटामा अनुमति दिएको पनि पौडेलले बताए । नयाँ लगानीकर्ताले संचालन गर्ने भनिए पनि सबै संस्था कसले कति रुपैयाँमा किनेको हो भनेर सबैको नाम तथा खरिदको पैसा सार्वजनिक गरिहाल्ने अवस्था अहिले नरहेको पौडेल बताए । राष्ट्र बैैंकले दिएको जानकारी अनुसार पाँच वर्षदेखि वित्तीय अवस्था कमजोर भएका तथा समस्यामा परेको संस्थामा नयाँ लगानीकर्ता देखिन थालेका छन् । राष्ट्र बैंकका अनुसार २०७१ साल चैतदेखि समस्याग्रस्त भएको ललिपुर फाइनान्समा काठमाडौंकै व्यापारिक समूहले लगानी गरेको छ । हाल नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको विभिन्न ११ वटा वित्तीय संस्थामध्ये नौ वटामा नयाँ लगानीकर्ताको प्रवेश सुरू भैसकेको नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिए । २०७१ माघदेखि समसयामा रहेको अरुण फाइनान्समा हाथवे इन्भेष्टमेन्ट तथा आइएमई समूहमा आवद्ध विभिन्न व्यक्तिले लगानी गरेका छन् । २०६९ देखि समस्याग्रस्त भएको क्यापिटल मर्चेन्ड एन्ड फाइनान्स गैरआवसीय नेपालीको समूह तथा टीबीआई सूहले खरिद गरेको छ । २०७० देखि समस्या ग्रस्त भएको संस्था जनरल फाइनान्सलाई गैरआवासीय नेपाली समूहले संचालन गर्ने भएको छ । २०६८ देखि समस्यामा रहेको कुबेर मर्चेन्ड एन्ड फाइनान्स बुटवलका व्यापारिक समूहले खरिद गरेका छन् भने पाँच वर्ष अगाडिबाट समस्याग्रस्त भएको नेपाल फाइनान्समा त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरुको समूहले पुँजी लगानी गरेको छ । दुई वर्षदेखि समस्याग्रस्त भएको कर्पोरेट डेभलपमेन्ट बैंक विरगन्जका माडबारी समूहको लगानी रहेको पनि उल्लेख छ । २०७० बैशाखबाट समस्याग्रस्त भएको वल्र्ड मर्चेन्ट बैैंकको भने शेयर विक्री उल्लेख्य छ । संमस्याग्रस्त संस्थामा नयाँ लगानीकर्ताको प्रवेशले नेपालको वित्तीय क्षेत्र सुधारको संकेत गरेको राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बताए । ११ वटा वित्तीय संस्था समस्याग्रस्त अवस्थामा रहेकोमा जनरल फाइनान्स सामान्य अवस्थामा फर्किएको बताउँदै नेपालले बाँकी बैंक तथा वित्तीय संस्थाहरु पनि आगामी चैत मसान्तसम्ममा सञ्चालनमा आउने बताए ।
७० भूकम्प पीडितलाई २१ करोड रुपैयाँ सहुलियतपूर्ण ब्याजदरमा ऋण प्रवाह
काठमाडौं १०, पुस । भूकम्पपीडितहरूले घर निर्माणका लागि सहुलियतपूर्ण ब्याजदरमा २१ करोड रुपैयाँ कर्जा सुविधा लिएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार हालसम्म यो शीर्षकमा २० करोड रुपैयाँ ९७ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । राष्ट्र बैंकले भूकम्पको एक सातापछि ल्याएको यो योजनाअन्तर्गत गत कात्तिक महिनासम्ममा ७० पीडितले ऋण सुविधा लिएका हुन् । योजना सार्वजनिक भएको एक वर्षसम्म भूकम्पपीडितहरू घर निर्माणका लागि सहुलियतपूर्ण कर्जामा आकर्षित नदेखिए पनि अहिले भने कर्जा प्रवाह हुन थालेको देखिएको छ । राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेल भने भूकम्पपीडितका लागि २५ करोड रुपैयाँ कर्जा प्रवाह भएको बताउँछन् । “एक सयजना पीडितले घर निर्माणका लागि ऋण लगिसकेका छन्,” उनी भन्छन्, “मंसिर महिनादेखि ऋण प्रवाह अझै बढेको छ ।” राष्ट्र बैंकका अनुसार हालसम्म २८ वाणिज्य बैंक, ६४ विकास बैंक, ३९ फाइनान्स कम्पनी भए पनि भूकम्पपीडितका लागि जम्मा १२ बैंक तथा वित्तीय संस्थाले मात्र कर्जा प्रवाह गरेका छन् । अहिलेसम्म प्रवाह भएको ऋण बैंक तथा वित्तीय संस्थामार्फत मात्र भएको छ । लघुवित्त संस्थाबाट भने ऋण प्रवाह भएको छैन । राष्ट्र बैंकको तथ्यांकले भूकम्पपीडितलाई कर्जा दिन बैंक तथा वित्तीय संस्था आकर्षित नभएको देखिन्छ । नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष उपेन्द्र पौडेल तुलनात्मक रूपमा भूकम्पपीडित कर्जामा बैंक तथा वित्तीय संस्थाको आकर्षण कम भएको स्वीकार गर्छन् । “सरकारले अनुदान उपलब्ध नगराएको अवस्थामा २० करोडभन्दा बढी ऋण जानु पनि राम्रो हो,” पौडेल भन्छन्, “पीडितहरूलाई पहिलो प्राथमिकता अनुदान हो । त्यहीअनुसार पीडितले ऋणमा चासो नदिएको हुनसक्छ ।” एक महिनाको अवधीमा भूकम्पपीडितलाई जाने कर्जा ५ करोडले बढेको देखिएको छ । असोज मसान्तसम्ममा १५ करोड ३८ लाख रुपैयाँ कर्जा गएकोमा कात्तिक महिनामा २० करोड ९७ लाख कर्जा प्रवाह भएको हो । भूकम्पपीडितको भने राष्ट्र बैंकले बनाएको कार्यविधि ऋण लिन झन्झिटिलो भएकोले ऋण लिन नपाएको गुनासो गर्दै आएका छन् । बैंकरहरू पनि प्रक्रियागत झन्झटको कारण पीडितहरूले ऋणमा चासो नदिएको स्वीकार्छन् । “पीडितहरूले चासो देखाएर ऋणको लागि निवेदन दिएको देखिएको छैन,” पौडेल भन्छन्, “प्रक्रिया पु¥याएर आएको निवेदनका लागि हामीले ऋण दिन प्राथमिकता दिएका छौ । अर्बौ रुपैयाँको ऋणमा पीडितलाई घर निर्माणमा जाने हिस्सा कम नै हो ।” राष्ट्र बैंकले शून्य प्रतिशत ब्याजदरमा बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराउने यस्तो सुविधा अन्तर्गत भूकम्पपीडितले दुई प्रतिशत ब्याजदरमा ऋण पाउँछन् । राष्ट्र बैंकले सहुलियत दिनको लागि निकै प्रचार गरे पनि भूकम्पबाट अति प्रभावित १४ जिल्लाका पीडितहरू ऋणका लागि खासै आकर्षित देखिएका भने छैनन् । “राष्ट्र बैंकले सहुलियतपूर्ण ब्याजदरमा ऋण प्रवाह गर्ने निर्णय गरेको हो,” प्रवक्ता पौडेलले भने, “ऋण तिर्न सक्नेले ऋण लिएर घर बनाउनका लागि सुविधा दिएको हो । सरकारले दिनेजस्तो अनुदान सोच्नु भएन ।” कारोबार दैनिकबाट ।
महंगो भएकोले १० हजार इन्डक्सन चुल्हो विकेन, सरकारले ७० प्रतिशत मूल्य घटायो
काठमाडौं १०, पुस । चीन सरकारले अनुदानमा उपलब्ध गराएको इन्डक्सन चुल्हो महँगो मुल्यका कारण बिक्री नभएपछि सरकारले मूल्य घटाएर बेच्ने भएको छ । गत बर्ष भारतले नाकाबन्दी लगाएको बेला चीन सरकारले १० हजार थान इन्डक्सन चुल्हो सरकारलाइ अनुदान दिएको थियो । बजार मूल्यभन्दा चार गुणा बढी मूल्य निर्धारण गरिएका कारण इन्डक्सन चुल्हो बिक्री भएको थिएन । करिब एक बर्षसम्म त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको गोदाममै थन्किएका यी इन्डक्सन चुल्हो सरकारले मूल्य घटाएर बेच्ने तयारी गरेको छ । प्रतिचुल्हो ११ हजार रुपैयाँ मूल्य निर्धारण गरेका कारण एउटा पनि नबिकेपछि सरकारले मूल्य घटाएर ३ हजार ५ सय रुपैयाँमा बिक्रिी गर्ने गरी तयारी गरेको हो । कारोबार दैनिकबाट ।