विकासन्युज

नेपाल इन्स्योरेन्स कम्पनीले चितवन टाइगर्सका खेलाडीको बीमा गर्ने

काठमाडौं । नेपालको सबैभन्दा पुरानो बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले एभ्रेष्ट प्रिमियर लिग २०१८ मा चितवन टाइगर्सका खेलाडीको बीमा गरेको छ । मंसिर २२ गते देखि पुष ७ गते सम्म हुन गइरहेको टुर्नामेन्टमा चितवन टाइगर्सका खेलाडीहरुको स्वास्थ्य र दुर्घटना बीमा कम्पनीले प्रयोयजन स्वरुप गर्ने समझदारी भएको छ । यस सम्बन्धि सम्झौतामा नेपाल इन्स्योरेन्स कम्पनीका डेपुटी सीईओ विक्रान्त पाण्डे र चितवन टाईगर्सको प्रतिनिधिबीच भएको हो । आगामी तेस्रो एभ्रेष्ट प्रिमियर लिग टि–२० टुर्नामेन्टमा त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । नेपालमा क्रिकेट खेलको लोकप्रियता बढ्दै आइरहेको कारण खेलको प्रगतिको लागि चितवन टाइगर्सका खेलाडीको बीमा गरिएको पाण्डेले बताए । यस कार्यले खेलकुद प्रतियोगिता आयोजना गर्न सहयोग पनि पुग्ने र खेलाडीको जोखिम हस्तान्तरणको लागि बीमा पनि हुने उनले बताए । चितवन टाइगर्स पृथु बास्कोटाको कप्तानीसँगै दिपेन्द्र सिंह अ‍ैरी, आईरलाण्डको पल स्टर्लिङ्ग र बेलायतको जोन सिम्पसन, जर्ज स्कट र अन्य उत्कृष्ट खेलाडीहरुको साथ “रोर रोर चितवन टाइगर्स” को नारा लिई यो टुर्नामेन्टमा सहभागी हुन गइरहेको छ ।

बैंकहरुको ब्याजदर बढेपछि उद्योग वाणिज्य महासंघको आपत्ति

काठमाडौं । वाणिज्य बैंकहरुले ब्याजदरमा नबढाउने भद्र सहमतिलाई तोडेर प्रतिस्पर्धामा उत्रिएसँगै बैंकहरुले मुद्दति निक्षेपमा १३ प्रतिशतसम्म ब्याज दिने निर्णय गरेपछि उद्योगीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले आपत्ति जनाएको छ । एफएनसीसीआईले बिहीबार विज्ञप्ती जारी गर्दै यसरी बैंक तथा वित्तीय संस्थाहरुले उद्योग व्यवसाय धरासायी बन्ने र यसले सरकारले तोकेको आड प्रतिशत आर्थिक वृद्धि र वार्षिक ५ लाख रोजगारी वृद्धि गर्ने लक्ष्य पूरा गर्न सम्भव नहुने दाबी समेत गरेको छ । महासंघले यस्तो अवस्थाले प्रतिस्पर्धात्मक क्षमता ह्रास हुन गई उद्योग व्यवसाय क्षेत्रमा नकारात्मक प्रभाव परी उद्योग क्षेत्रमा लगानी समेत निरुत्साहित हुन गएको भन्दै नेपाल सरकार, अर्थ मन्त्रालय र राष्ट्र बैंकलाई गम्भीर हुन आग्रह गरेको छ ।

एनएमबि बैंकको सहकार्यमा एफएनसीएसआईले वित्तीय साक्षरता कार्यक्रम गर्ने, महिलासहित ४५ हजार उद्यमी सहभागी

काठमाडौं । एनएमबि बैंक र नेपाल घरेलु तथा साना उद्योग(एफएनसीएसआई) संगठनबीच वित्तीय साक्षरता कार्यक्रम संचालन गर्ने सहमति भएको छ । बिहीबार एनएमबि बैंक र एफएनसीएसआई संगठनबीच वित्तीय साक्षरता कार्यक्रम संचालन गर्ने सम्बन्धमा आशय पत्र हस्ताक्षर भएको छ । उक्त सम्झौता अनुसार एनएमबि बैंक सँगको सहकार्यमा एफएनसिएसआईले सो वित्तीय साक्षरता कार्यक्रम आफ्ना ४५ हजार सदस्यहरुमाझ संचालन गर्नेछ । जसमध्ये ९ हजार सदस्यहरु महिला उद्यमी रहेका छन् । वित्तीय साक्षरता कार्यक्रम लघु, साना तथा मझौला उद्यमहरुको पक्षमा केन्द्रित हुनेछ जहाँ यस कार्यक्रमले सहभागी प्रशिक्षार्थीहरुलाई आर्थिक श्रोत सुनिश्चित गर्ने र श्रोतको अधिकतम उपयोग गर्ने विषयमा प्रशिक्षण प्रदान गरिने छ । उक्त वित्तीय साक्षरता कार्यक्रमबाट सहभागीहरुले प्रभावकारी आर्थिक निर्णयहरु लिन सक्षम हुने बैंकका विश्वाश छ । आशय पत्रमा एनएमबि बैंकको तर्फबाट प्रमुख व्यापार अधिकृत गोविन्द घिमिरे र एफएनसिएसआईको तर्फबाट महासचिव डम्बरप्रसाद रेग्मीले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

सिटिजन्स बैंकद्धारा गैर सरकारी संस्था ‘प्रारम्भ’ले पायाे एक लाखकाे आर्थिक सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले प्रारम्भ नामक गैर सरकारी संस्थालाई एक लाख रुपैयाँ बराबरकाे आर्थिक सहयोग गरेको छ । बिहीबार आयोजित एक कार्यक्रममा बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले उक्त रुपैयाँको चेक संस्थाका संचालक कल्पना क्षेत्रीलाई हस्तान्तरण गरेका छन् । उक्त रकमबाट संस्थाले काभ्रेको भकुन्डेबेसीमा स्वास्थ्य शिविर संचालन गरेको छ । उक्त स्वास्थ्य शिविरमा करिव १००० जनाको निःशुल्क स्वास्थ्य परिक्षण गर्नुका साथसाथै आवश्यक औषधीहरु समेत निःशुल्क वितरण गरिएको छ । गाउँगाउँमा शिविरको आयोजना गरी रोगको उपचार मात्र नभएर रोगको रोकथाम गर्ने उद्देश्य अनुरुप शिविरको आयोजना गरिएको हो । अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालनगर्ने कुरा बैंकले जानकारी दिएको छ ।

वित्त र पुँजी बजारको अध्ययन गर्न उच्चस्तरीय समिति, एक हप्तामा समस्या पत्ता लगाइने

काठमाडौं । अर्थमन्त्रालयले वित्तिय क्षेत्र र पुँजी बजारमा देखिएको अस्थिरताको अध्ययन गर्न समिति गठन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा अध्ययन समिति गठन गरेका हुन् । समितिले एक हप्ताभित्र बैंकिङ क्षेत्रमा देखिएको ब्याजदर अस्थिरता र पुँजी बजारको उतार चढावको अध्ययन गर्नेछ । डेपुटी गभर्नर श्रेष्ठ नेतृत्वको समितिमा वित्तीय क्षेत्र व्यवस्थापनका सहसचिव, धितोपत्र बोर्डका अध्यक्ष, बैंकर्स संघका अध्यक्ष, लगानीकर्ताकाे  प्रतिनिधित्व रहनेछ । समितिले एक हप्ताभित्र बैंकिङ क्षेत्र र पुँजी बजारमा देखिएको समस्याको अध्ययन गरेर समाधानका उपाय समेत सुझाउनेछ । सरकारले स्थानीय तहको बैंक खातामा रहेको रकमको ५० प्रतिशत बैंक तथा वित्तिय संस्थाहरुलाई निक्षेपका रुपमा उपयोग गर्न दिएको थियो । त्यसले तत्कालै ३२ अर्ब लगानीयोग्य पुँजी उपलब्ध गराएको थियो । तर सोही दिन बैंकर्स संघले ब्याजदरमा यस अघि कायम गरिएको सिमा सम्बन्धी भद्र सहमति हटाएसँगै बैंकहरुले १३ प्रतिशत ब्याजदरमा निक्षेप आव्हान गरेका छन् । त्यसँगै पुँजी बजारका लगानीकर्ता पनि त्रसित बनेका छन् ।

सान्जेन जलविद्युतको बिक्री प्रबन्धकमा सनराईज र एनएमबि क्यापिटल नियुक्त, ९१ लाख २५ हजार कित्ता सेयर जारी गर्दै

काठमाडाैं । सान्जेन जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारण र आयोजना प्रभावित रसुवा जिल्लाका स्थानीय बासिन्दाका लागि बिक्री प्रबन्धकमा दुई क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले बिहीबार एक कार्यक्रम गरी सेयरको सह-निष्काशनमा सनराईज क्यापिटल र बिक्री प्रबन्धकको रुपमा एनएमबि क्यापिटललाई नियुक्त गर्ने सम्झौता गरेको छ । सो सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल तथा सनराईज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठ र एनएमबि क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले हस्ताक्षर गरेका छन् । कम्पनीले सर्वसाधारण र आयोजना प्रभावित रसुवा जिल्लाका स्थानीय बासिन्दाका लागि कुल ९१ लाख २५ हजार कित्ता सेयर निष्कासन गर्दै छ । सान्जेनले दोश्रो चरण अन्तर्गत सर्वसाधारणहरुको लागि ५४ लाख ७५ हजार कित्ता सेयर र आयोजना प्रभावित रसुवा जिल्लाका बासिन्दाहरुको लागि ३६ लाख ५० हजार कित्ता सेयर जारी गर्न लागेको हो ।

१ महिना देखी फोन गर्न एक दिन हिँड्नुपर्ने बाध्यता

हुम्ला। हुम्लाको उत्तरी गाउँपालिकामा मोवाइल फोनको टावर बिग्रदा एक महीनादेखि सेवाग्राही मर्कामा परेका छन् । सो टावर बिग्रँदा नाम्खा गाउँपालिका, वडाकर्मी, यालवाङ, याङ्गार, मुचु, गारीलगायतका गाउँका सेवाग्राही मर्कामा परेको नाम्खा माहामाया आधारभूत विद्यालयका शिक्षक दत्तबहादुर शाहीले बताए। नमस्ते नेपालको टावरले काम नगर्दा नाम्खाका स्थानीयवासीले सञ्चो, बिसञ्चो खबरसँगै अन्य अति आवश्यक कुराकानी गर्न नपाएको त्यस क्षेत्रका स्थानीयवासीले गुनासो गरेका छन् । घरबाट धेरै टाढा भएकाले घर परिवारको खबर आदानप्रदानका लागि एक दिनको बाटो हिँडेर सिमकोट गाउँपालिकाको डाँडाफया आउनुपर्ने बाध्यता रहेको शिक्षक शाहीले गुनासो गरेका छन्। यसको मर्मतको लागि पटकपटक नेपाल टेलिकम शाखा हुम्लालाई हारगुहार गर्दा कुनै सुनुवाइ नभएको उक्त गाउँपालिका अध्यक्ष विष्णु लामाले बताए। मोबाइलमा कहिलेकाहीँ टावर देखाए पनि नेटवर्कले काम नगर्दा ब्यालेन्समात्र सकिने गरेको शिक्षक शाहीको भनाइ रहेको छ । त्यस क्षेत्रका स्थानीयवासीले फोनमा कुरा गर्नका लागि एक दिनको पैदल यात्रा डाँडाफया पुग्नुपर्ने बाध्यता रहेको छ । हिउँद लागेसँगै चिसो बढेका कारण पावर नपुगेर त्यति काम नगरेको नेपाल टेलिकम शाखा हुम्लाका प्रमुख रामबहादुर खातीले बताए। रासस

स्वास्थ्य बीमा बोर्डमा रमेश पोखरेल

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रमेशकुमार पोखरेल नियुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयले अन्तिम सूचिमा सिफारिस गरेका ३ जनामध्येबाट मन्त्रिपरिषद बैठकले पोखरेललाई नियुक्त गरेको हो । पोखरेलले केहि समय अघि मात्रै नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशककाे जिम्मेवारीबाट अवकास प्राप्त गरेका थिए । उनले स्वास्थ्य बीमा बोर्डको कामलाई थप प्रभावकारी बनाउँदै लैजाने, स्वास्थ्य बीमा प्रति नागरिकमा विश्वा अभिवृद्धि गराउने प्रतिवद्धता व्यक्त गरे । ‘केहि दिनपछि आधिकारीक पत्र लिएर कार्यभार सम्हाल्छु, स्वास्थ्य बीमाको दायरा विस्तार र विश्वसनियता अभिवृद्धिका लागि म आफुलाई समर्पित गराउनेछु’, नवनियुक्त कार्यकारी निर्देशक पोखरेलले विकासन्युजसँग भने ।