विकासन्युज

जञ्जिरले बाँधेकाे उमाकान्त चाैधरीको जवानी

सप्तरी । पूरै जवानी फलामे साङ्लो (जञ्जिर) मा बाँधिएरै बित्यो । उनकै अगाडि बाँधिएका पशुचौपायालाई चर्न दिन बेला–बेलामा खोलिन्छ तर, १२ वर्षअघि बाँधिएका सप्तरीको अग्नीसाइर कृष्णसवरण–१, घोघींदाहा भवानीपुरका ४७ वर्षीय उमाकान्त चौधरीले त्यस्तो अवसर पाएका छैनन् । घोंघीदाहाकी ४१ वर्षीया सुशीलादेवी चौधरीले नै आफ्ना श्रीमान्लाई १२ वर्षदेखि फलामे साङ्लोको हतकडी लगाएर राखेकी हुन् । क्षणभरमै रिसाउने, कराउने, मान्छेलाई देख्नासाथ छोप्ने, कुट्ने, मान्छेमाथि ढुङ्गा फ्याक्ने, जे भेट्यो त्यसैले हिर्काउने गर्न थालेपछि आजित भएर श्रीमतीको आग्रहमा गाउँलेहरुले नै हतकडी लगाएको र त्यो नखोलिएको सुशीलाले बताइन् । मानसिक रोगबाट पीडित बनेका उमाकान्तले एकपटक आफ्नी आमाको हात नै भाँचिदिए । एकपटक घाँस काट्ने हँसियाले खसीको गर्दन रेटे र कान काटेर पोलेर खाए । बाटो हिँड्नेलाई लाठी, ढुङ्गाले हिर्काउने, छरछिमेक र परिवारमै पनि दुःख दिने गर्न थालेपछि परिवारले नै उनलाई २०६३ सालमा बन्धक बनाएको भतिजी ललिता चौधरीले जानकारी दिइन् । उमाकान्तलाई राख्न घर अगाडि फोहर बग्ने नालामाथि टिनको पाताले छाएको सामान्य टाँटीले बेरेको खुला कटेरो बनाइएको छ । हतकडीमा बाँधिएका उमाकान्तको शरीरमा जुनसुकै मौसममा पनि एउटा कट्टु बाहेक केही हुँदैन । जाडो मौसममा पनि नाङ्गै शरीरमा रहनुपर्ने उनलाई ओढ्नका लागि एउटा मैलो सिरक छ । घरबाहिर एउटा खाट अट्ने खुला सानो कटेरोमा रहेको चिसो खाली खाटमा उनी बस्छन्, सुत्छन् । हथकडीले गर्दा उभिन भने सक्दैनन् । त्यही छाप्रो नै उनको संसार हो । दिसापिसाब पनि छाप्रोभित्रै गर्छन् । तल बग्ने गरेको फोहर नाली छिमेकीले बन्द गरिदिएका छन् । कपाल, दाह्री, नङ्ग १२ वर्षदेखि काटिएका छैनन् । हातमा लगाइएको हतकडी पनि १२ वर्षदेखि खोलिएको छैन जसले गर्दा उनको बायाँ हातमा गहिरो घाउको दाग नै बनेको छ । कसैले भनेको नमान्ने, बाटोमा हिँड्ने, छरछिमेकी देख्नासाथ पिट्ने, ढुङ्गामुढा गर्ने, परिवारका सदस्यलाई देख्नै नहुने, जे भेट्यो त्यसैले आक्रमण गर्ने भएपछि १२ वर्ष अघिदेखि उनलाई घरअगाडि कटेरोमा बाँधेर राखिएको हो । उनकै अगाडि बाँधिएका खसीबाख्रा बेलाबेलामा खोलिए पनि उनको हातमा लागेको हतकडी १२ वर्षदेखि खुलेको छैन । छाप्रो नजीक रहेको उनको घरमा श्रीमती र तीन छोरी बस्छन् । घोघींदाहाका टुरन र पल्टीदेवी चौधरीका दुई छोरामा उमाकान्त जेठा हुन् । बुबाआमा छुट्टै घरमा कान्छा रमाकान्तसँग बस्छन् । ठिक हुँदासम्म सगोलमै रहेका उनको मानसिक सन्तुलन गुमेपछि उमाकान्तकै ढिपीले अलग भएका हुन् । खेत रुग्न बस्दा रातभरी आँखा नझिम्काई जाग्राम बस्ने गरेका उनी विस्तारै बिरामी पर्दै गएको आमा पल्टीदेवीले बताइन् । शुरुका दिन साङ्लो चुँडालेर भाग्ने प्रयत्न असफल भएपछि उनी श्रीमतीलाई बेलाबेला हतकडी खोली दिन आग्रह गर्छन् । कुनै बेला त खोलिदिउँ झै पनि लाग्छ रे सुशीलालाई तर, खोल्नासाथ कुनै अप्रिय घटना हुने डर छ । साङ्लोको डाम देब्रे हातमा मज्जैले गढेर घाउ नै भएको छ  । सुशीलाले बिहान–बेलुका पाकेको भात लगिदिन्छन् । खान मन नलागे झिङ्गा भन्किरहेका हेर्छन्, भोक लागे खान्छन् । सामाजिक परम्पराअनुसार २०५४ सालमा विवाह हुनु अगावै उमाकान्तमा मानसिक समस्या देखिइसकेको रहेछ । एकहोरो टोलाएर बस्ने, भांैतारिएर हिँड्ने, एक्लै कुरा गर्ने, रिसाउने, कराउने गर्थे । आमाबुबाले थाहा पाएर ‘माइतमै बस, घर जानुु पर्दैन, अर्को विवाह गरिदिउँला’ पनि भनेका थिए तर, सुशीलाले ‘एकपटक जोसँग विवाह भयो उसैसँग जीवन बिताउने’ भन्दै आँट गरिन् । सुशीला भन्छिन् – “बुबा बनेर कमाएर ल्याउँछु, आमा बनेर पकाएर खुवाउँछु ।” ज्याला मजदुरी गरेर नै सुशीलाले तीन छोरी हुर्काइन् । तीनै छोरी घरनजीकैको विद्यालयमा पढ्छन् । कक्षा १० मा अध्ययनरत कान्छी छोरी १३ वर्षीया दिपीकालाई त उनका बुबाले बोक्न पनि पाएका छैनन् । दिपीका जन्मेलगत्तै जञ्जिरमा बाँधिएकाले दिपीकाले बुबाको माया अनुभव गर्न पाइनन् । कक्षा ३ मा पढ्दादेखि नै उनी पनि आमासँगै जङ्गलबाट दाउरा बोकेर ल्याई बेच्ने गर्थिन् । तीन छोरी हुर्काएकी सुशीलाको घरपरिवारमा पुरुष मान्छे अभिभावक नहुँदा घरपरिवार र व्यवहार धान्न उनलाई समस्यै समस्या छ । “छोरीहरुको आमा पनि मै, बुबा पनि मै,” सुशिला भन्छिन् – “मजदुरीका सबै काम पुरुषले झै गरे पनि ज्याला भने कम पाइन्छ ।” सङ्घर्षपूर्ण जीवनले सुशीलालाई सबै काम गर्न सिकाएको छ । उनी खेतीको कामदेखि निर्माण मजदुरको कामसमेत गर्छिन् । सबै काम पुरुषले झै गरेपनि ज्याला भने कमै पाउँछिन् । धान रोप्ने, काट्ने गर्दा दैनिक तीन सय र निर्माण मजदुरी गर्दा चार सय रुपैयाँ मात्र पाइने गरेको उनी सुनाउँछिन् । बाँदरले हैरान गरेपछि आफ्नो तीन कठ्ठा खेतमा यसै वर्ष आँपको बिरुवा लगाएकी सुशीलाले शम्भु साहको चार कठ्ठा खेत बटिया (अँधिया) गर्छिन् । घरपरिवारले उपचार गराए, धामीझाँक्री पनि देखाए । उपचार गर्न लगेको अस्पतालबाटै भाग्ने, डाक्टरको सल्लाहबमोजिम औषधि नखाने र रातभरी सुत्न छाडेपछि उनको मानसिक अवस्था गम्भीर बन्दै गयो । युवावस्थामा बलिया र सुन्दर रहेका उमाकान्त मानसिक रोगबाट पीडित भएपछि पशु झै जीवन बिताउँछन् । “युवा उमेरमा घरखेतको सबै काम गर्ने बलिया र गाउँकै सुन्दर युवक थिए,” उनका ठूलो बुबा ढोढन दास सम्झनुहुन्छ – “उपचार हुन नसकेपछि उमाकान्तको पूरै जवानी बन्धनमै बित्यो ।” “लामो समय भएकाले उपचारमा निकै खर्च हुन्छ होला,” वडाध्यक्ष सुशीलकुमार चौधरीले भने – “उपचार गराउन आर्थिक समस्याका साथै कहाँ लैजाने, कसले लैजाने भन्ने विषयमा पनि समस्या छ ।” चार कठ्ठा खेत अँधियामा गरी बाँकी समय ज्याला मजदुरी गरिरहेकी सुशीलालाई घरखर्च चलाउनै हम्मे छ । उपचारका लागि आफ्नो सामथ्र्य नभएको सुशीलाको भनाइ छ । “आफ्नो त जीवित भएर पनि बुबा नभए झै छ,” जेठी छोरी अस्मिताले अनुरोध गरिन् – “पशुभन्दा नारकीय जीवन बिताइरहेका बुबाको उपचारका लागि कुनै उपाय भए सहयोग गरी दिनुहोस् ।”

धुलिखेल अस्पतालमा सौर्य प्रणाली सञ्चालन

काठमाडौँ। वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रु नौ करोड अनुदान सहयोगमा धुलिखेल अस्पतालले ३३५ किलोवाट क्षमताको सौर्य प्रणाली सञ्चालनमा ल्याएको छ । सो प्रणालीको आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले उद्घाटन गरेका छन्। अस्पतालमा नवीकरणीय ऊर्जाको प्रयोगलाई बढावा दिने लक्ष्यका साथ अस्पतालले सौर्य प्रणाली जडान गरेको हो । अस्पतालले सो प्रणालीको क्षमता बढाएर एक मेगावाट पु¥याउने लक्ष्यसमेत राखेको छ । कूल लागतमध्ये केन्द्रले ८० प्रतिशत अनुदान उपलब्ध गराएको हो भने बाँकी २० प्रतिशत काठमाडौँ विश्वविद्यालय र अस्पतालले नै जुटाएको हो । सो परियोजनामा हालसम्म करीब रु १२ करोड खर्च भएको छ । अस्पतालले दुई चरणमा गरेर सौर्य प्रणाली जडान गरेको हो । पहिलो चरणमा १७५ किलोवाट र दोस्रो चरणमा १६० किलोवाट क्षमताको सौर्य ऊर्जा उत्पादन गरिएको छ । निकट भविश्यमा सौर्य प्रणालीलाई नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा जडान गर्ने तयारीसमेत गरिएको काठमाडौँ विश्वविद्यालयका स्कूल अफ मेडिकल साइन्सका डिन प्रा डा राजेन्द्र कोजूले जानकारी दिए। सो अवसरमा मन्त्री पुनले सरकारले जलविद्युत् आयोजनाको विकास र प्रवद्र्धनसँगै नवीकरणीय ऊर्जालाईसमेत अगाडि बढाइएको बताए। सरकारले हरेक घरलाई ऊर्जा घरको नारासमेत अगाडि सारेको सन्दर्भमा अस्पतालले उदाहरणीय काम गरेको उल्लेख गर्दै उहाँले अन्य क्षेत्रमा समेत सौर्य प्रणालीको जडानमा विशेष सक्रियता देखाउनुपनमा जोड दिए। मन्त्री पुनले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेत सो विषय समावेश गरिएको उल्लेख गर्दै नेपालले विकास र समृद्धिका लागि यस क्षेत्रमा नमूनायोग्य काम गरिरहेको बताए। ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि सबै नेपालीलाई यसमा जोड्ने कार्ययोजनाका साथ सरकार लागिपरेको पनि उनले बताए। काठमाडौँ विश्वविद्यालयका उपकूलपति डा रामकण्ठ मकाजूले आफूहरुले वैकल्पिक ऊर्जालाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाएको र सरकारबाट यसमा थप सहयोग रहने विश्वास व्यक्त गरेका छन्। सौर्य प्रणालीलाई थप विस्तार गरेर एक मेगावाट बनाइदिन आग्रह गर्दै उनले त्यसबाट अस्पतालको आवश्यकता परिपूर्ति हुने धारणा व्यक्त गरेका छन्। विश्वविद्यालयले प्राधिकरणको विद्युत्गृहका रुपमा परिचित पनौतीमा रहेको विद्युत् केन्द्रलाई संरक्षण गर्दै अध्ययन केन्द्र बनाउन यसअघि नै समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका निमित्त कार्यकारी निर्देशक नवराज ढकालले वैकल्पिक ऊर्जाका विषयमा अध्ययन गर्ने विद्यार्थीका लागिसमेत परियोजना महत्वपूर्ण अध्ययन सामग्री भएको बताए। उनले विश्वविद्यालय र अस्पतालले शिक्षा र स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्दै आगामी दिनमा प्राधिकरणको प्रसारण प्रणालीमा समेत जोड्ने भन्ने कार्ययोजनाले विद्यार्थीलाई थप अध्ययन सामग्री बन्ने स्पष्ट पारेका छन्। केन्द्रले यसअघि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत सौर्य प्रणालीको जडानमा आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराएको छ । त्यस्तै नवलपरासीमा एक मेगावाट क्षमताको सौर्य प्रणाली जडानका लागि पनि केन्द्रले सहयोग उपलब्ध गराएको छ । रासस

पत्रकार प्रतिपक्षी दल होइन, सरकारलाई आलोचनात्मक सहयोग गर्नुस् : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले पत्रकारहरु प्रतिपक्षी दल नभएको भन्दै उनीहरुलाई सरकारले गर्ने हरेक काम कारबाहीको निगरानी गर्दै राम्रो र नराम्रा दुवै पक्षलाई उत्तिकै पश्रय दिएर समाचार लेख्न आग्रह गरेका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को चौथो महासभालाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले पत्रकारहरुमा विज्ञापनदाता बाहेक अरुलार्इ विरोधमात्र गर्ने प्रवृत्ति रहेको भन्दै आलोचनात्मक सहयोग गर्नुपर्ने टिप्पणी गरे । नेपाल आर्थिक पत्रकार संघको चौथो महासभा राजधानीको नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्यान्डमा चलिरहेको छ । महासभाले यसअघिको समितिलाई विस्थापन गर्दै नयाँ कार्यसमिति गठन गर्नेछ । आर्थिक क्षेत्रका पत्रकारहरुको हित र उनीहरुको क्षमता तथा वृत्ति विकासमा सहयोग पुर्याउने उद्देश्यले करिब १० वर्षअघि उत्त संस्था स्थापना भएको थियो । उद्घाटन सत्रलाई अर्थमन्त्री खतिवडाले सम्बोधन गरेसँगै नाफिजको बन्दसत्र सुरु भएको छ । उक्त सत्रले पलाधिकारीहरु चयन गरेसँगै समापन समारोह आयोजना गर्ने र उक्त समारोहमा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटा प्रमुख अतिथिका रुपमा सहभागी हुने कार्यक्रम छ ।

‘भारतले मापदण्ड पुरा नभएको औषधी निर्यात गरिरहेको छ’, उपचार गराउँदा झनै राेगी बन्दै नेपाली

काठमाडौं। भारतबाट निर्यात हुने अाैषधिहरु मापदण्ड पूरा नहुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएकाे छ । डब्लुएचअाेले केही दिनअघि प्रकाशित गरेकाे तथ्याङ्कका अनुसार भारत सबैभन्दा धेरै गुणस्तरहीन अाैषधि निर्यात गर्ने देश रहेकाे समेत उल्लेख गरेकाे छ । रिपाेर्टले भनेको छ, भारत विश्वकै सबैभन्दा ठूलाे अाैषधि निर्यातकर्ता हाे तर उसले निर्यात गर्ने कम्तिमा १० प्रतिशत अाैषधिले न्यूनतम अन्तराष्ट्रिय मापदण्ड समेत पूरा गरेकाे हुँदैन । त्यस्ताे अाैषधिहररु कति नक्कली हुन्छन् भने कतिकाे म्याद सिद्धिएको, बिग्रिएको, अावश्यकताभन्दा बढी वा कम मात्रा भएकाे र नक्कली प्याकेजिङ र लेबलिङ गरिएकाे समेत भएको पाइएकाे छ । विशेषगरी एन्टिबायोटिक्स, गर्भनिराेधक अाैषधि, खाेकी र दुखार्इसम्बन्धी अाैषधिमा अत्यधिक मात्रामा त्यस्ताे कैफियत भेटिएकाे समेत  डब्लुएचअाेले जनाएकाे छ । त्यस्ता अाैषाधिहरु विशेषगरी मध्यम र कम अाय भएका मुलुकहरुमा निर्यात गर्छ । भारतले निर्यात गर्ने यस्ता नक्कलीहरुकाे औषधीको बजार हिस्सेदारी एशिया, अफ्रिका र दक्षिण अमेरिकी मुलुकहरुमा बढी पठाइने गरेकाे समेत रिपाेर्टमा उल्लेख छ ।   यी क्षाेत्रहरुमा भारतले कुल निर्यातकाे ३० प्रतिशत अाैषधि पठाउँछ। नक्कली र मापदण्ड पुरा नभएका भएका औषधिहरु कमजोर सरकार,कमजोर टेक्नोलोजीको र गुणस्तरीय औषधिको बारेमा अनविज्ञताका कारण अल्पविकसित र विकासाेन्मुख राष्ट्रहरूमा विक्री गर्न सजिलाे हुने भएकाेले त्यस्ताे देशमा पठाइने दाबी समेत गरेकाे छ ।  खोकीको लागि प्रयोग हुने भारतले पठाएकाे सिरप नामक अाैषधि खाएर पाराग्वे र पाकिस्तानमा हजाराैं मानिस बिरामी भएको  तथ्य समेत रिपोर्टले प्रस्तुत गरेको छ। अनुसन्धान पछि उक्त सिरपमा प्रयोग भएको डक्स्रोम्रोथोरफन भारतबाट आयात भएको भनेर पत्ता लागेको थियो। त्यस्ताे अाैषधिमा प्रयाेग भएकाे मार्फिन अावश्यकताभन्दा पाँच गुणा बढी थियाे । अाैषधिकाे ढुवानी र भण्डारणका सन्दर्भमा समेत डब्लुएचअाेले भारतकाे रवैयामा असहमति जनाएकाे छ । अाैषधि अायात तथा निर्यात गर्दा समेत त्यसमा उपयुक्त प्रकाश र तापक्रम मिलाउनुपर्नेमा त्यसाे हुन नसकेकाे बताएकाे छ । त्यस्ता औषधीभण्डारण गर्ने डिलरहरु न त कानूनी रुपमा अनुमतिप्राप्त हुन्छन्, न त गुणस्तरीय । र, यसलाई रोक्न कुनै प्रकारको कानुन पनि छैन। उपचार गर्दा झन् राेगी बन्दै नेपाल नेपालले बार्षिक रुपमा बीसाैं अर्बकाे अाैषधि अायात गर्दै अाएकाे छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रकाे तथ्याङ्क अनुसार चालु अार्थिक वर्षकाे पहिलाे चाैमासमा कुल १० अर्ब २८ कराेडकाे अाैषधि अायात गरेकाे छ, याे हिस्सा गत अार्थिक वर्षकाे साेही समयभन्दा १४ प्रतिशत बढी हो । अघिल्लाे अार्थिक वर्षमा कुल २७ अर्ब २८ कराेड बराबरकाे अाैषधि अायात भएकाे थियाे । नेपालमा अायात हुने अाैषधिकाे अधिकांश हिस्सा भारतकाे रहने गरेकाे छ । मध्य अाय भएकाे गरिब राष्ट्रमा पर्ने नेपाल विश्व स्वास्थ्य संगठनकाे रिपाेर्टअनुसार गुणस्तरहीन अाैषधि निर्यात हुने प्रमुख देशहरुमध्ये एक हो । अझ सामरिक रुपमा नजिक रहेकाे नेपालमा यस्ताे सम्भावना अत्यन्त बढी छ । नक्कली अाैषधिकाे प्रयाेगले तत्काल राेग निको हुने भए पनि दीर्घकालमा यसले ठूला र जटिल राेगकाे कारक बन्ने गरेकाे विज्ञहरु बताउँछन् ।

ओरेन्टलपीडितको रकम फिर्ता गर्न २ लाख ३३ हजार कित्ता शेयर लिलामी गरिँदै

काठमाडौं । समस्याग्रस्त ओरेन्टल कोअपरेटिभ लिमिटेडका तात्कालिन दुई कर्मचारीले खरिद गरेको शेयर लिलामी गरी बचतकर्ताहरुको रकम फिर्ता गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले प्रक्रिया अघि बढाएको छ । संस्थाका कर्मचारीहरु नितु थापा बस्नेत र राजेश श्रेष्ठले खरिद गरेको ग्लोबल आईएमई बैंकको क्रमशः ४७ हजार ५९ कित्ता र १ लाख ८६ हजार ६११ कित्ता गरी कुल २ लाख ३३ हजार ६७० कित्ता शेयर लिलामी बढाबढमा बिक्री गरी आएको रकम फिर्ता गर्ने तयारी गरिएको हो । उक्त शेयरमध्ये ६३ हजार ३८८ कित्ता शेयर साधारण शेयर हो भने बाँकी संस्थापक समूहको शेयर हो । समितिले उक्त शेयर जफत नगर्नुपर्ने कारण भए सात दिनभित्र प्रमाण पेश गर्न आग्रह गरेको छ । यद्यपि, लिलामी गर्न लागिएकाे उक्त शेयर कुल बचतकाे नगन्य हिस्सा मात्र हाे । बचतकर्ताहरुको बचत फिर्ता समेत गर्न नसकेपछि अघिल्लो वर्षको कात्तिकमा सहकारी तथा गरिबी निवारण मन्त्रालयले ओरेन्टल सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो । त्यसको दुई महिनापछि मन्त्रीपरिषद्ले समस्याग्रस्त सहकारीहरुको व्यवस्थापन गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन गरी समितिलाई नै त्यस्तो व्यवस्थापन गर्न जिम्मा दिएको थियो । उक्त सहकारीमा ११ हजार भन्दा बढी बचतकर्ताका साढे ५ अर्ब भन्दा बढी बचत फसेको थियो । उक्त संस्थामा सुधीर बस्नेत अध्यक्ष थिए । उनले हाउजिङ व्यवसायमा असाधारण लगानी गरेका थिए । हाउजिङ क्षेत्रमा आएको मन्दीसँगै उनी बचतकर्ताको रकम समेत फिर्ता गर्न नसक्ने अबस्थामा पुगेपछि सहकारी बन्द गरेका थिए ।

ग्रिन टि खाने कि ब्ल्याक टि?

काठमाडौं। ‘ग्रिन टी’ र ‘ब्ल्याक टी’ एउटै चियाको बोटका पातबाट बनाइन्छन् तर यी दुई बिचमा निकै भिन्नता हुन्छ। बिभिन्न अनुसन्धानले धेरैजस्तो चियाको फाइदाहरु उस्तै हुने बताउँछ। तापनी ग्रिन टी र ब्ल्याक टीका केही मुख्य फाइदाहरु भने केही फरक छन्। ग्रिन टीः एउटै पातबाट बन्ने भएतापनि ‘ग्रिन टी’, ‘ब्ल्याक टी’ जस्तो ‘फर्मेन्टेसन’ प्रक्रियाबाट गुज्रदैन, अर्थात ‘ब्ल्याक टी’ झै ‘ग्रिन टी’ बनाउँदा ‘अक्सिडेसन’ प्रक्रिया भएको हुदैन। त्यसैले ग्रिन टीमा ‘इजीसीजी’ नामक एक ‘एन्टीअक्सिडेन्ट’ पाइने हुन्छ जसले क्यान्सर र कार्डियोभास्कुलर (मुटु र रक्तवाहिनी नली) सम्बन्धि रोग प्रतिरोधमा सहयोग पुर्याउँछ। अक्सिडेसन नहुनाले ग्रिन टीमा धेरै ‘पोलीफिनोल्स’ सुरक्षित हुने विश्वास गरिन्छ। जसले तौल घटाउन गरिने कसरत अनि ‘डाएट’ संगैसंगै काम गर्छ। दिउँसोको आरामको समय र बेलुकाको ध्यानको समयमा ग्रिन टीलाई निकै लाभदायक मानिन्छ। यो कम ‘एसिडिक’ हुने हुनाले पेटका अम्ल (एसिड) हरुलाई सफा गर्ने काम पनि गर्छ। शुद्ध अर्गानिक ग्रि टीको ‘डिटोक्सीफाइङ इफेक्ट’ ले छाला चम्काउनुको साथै रोग प्रतिरोध गर्ने क्षमतालाई बढाउँछ। ब्ल्याक टीः यो चिया बनाउँदा फर्मेन्टेसन हुने भएकाले यसमा ग्रिन टीको जस्तो ‘एन्टीअक्सिडेन्ट’ पाइदैन। कफिमा पाइने क्याफिन ब्ल्याक टीमा पनि पाइन्छ, तर केही थोरै मात्रामा। क्याफिनले शरिरमा पानीको मात्रा कायम गर्न मद्धत गर्छ। साथै मष्तिष्कमा रगतको बहाव बढाउन मद्धत गर्छ अनि ब्याक्टेरियासंग ‘फाइट’ गर्ने एन्टीअक्सिडेन्टको कारणले प्रतिरक्षा प्रणालीलाई पनि मजबुत बनाउँछ। ब्ल्याक टीले ध्यान अनि दिमाग केन्द्रित गर्न मद्धत पुर्याउँछ। ब्ल्याक टी र कफि बढी एसिडिक हुन्छ। तर मनतातो ब्ल्याक टीमा कागती राख्नाले शरिरलाई हानिकारक ती एसिड घुलाइदिन्छ। चिया बनाउँदा फरक फरक चियापत्ती एकै ठाँउमा प्रयोग गर्न हुदैन। पानीलाई अत्याधिक उमाल्न हुदैन। ग्रिन टीलाई अत्याधिक उमाल्दा त्यसबाट पाइने फाइदा लिन सकिदैन

राष्ट्रिय वाणिज्य बैंकले प्रमाणपत्र धितोमा कर्जा लिन बोलायो, सीसीडीमा गणना नगर्न राष्ट्र बै‌ंककाे छुट

काठमाडौं । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले नेपाल सरकारले बजेट वक्तव्यमार्फत् घोषणा गरेको  प्रमाणपत्र धितोमा शैक्षिक कर्जा लगायतका सात प्रकारका सहुलियतपूर्ण कर्जा लिन सर्वसाधारणलाई बोलाएको छ । बैंकले त्यस्तो कर्जा लिनका लागि आफ्नो पायक पर्ने शाखाहरुमा सम्पर्क गर्न अनुरोध गरेको हो । सरकारले ब्याज सहुलियत प्रदान गर्ने सरकारले बजेटमार्फत् भुकम्पपीडितहरुको निजी आवास निर्माण, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा परिचालन कर्जा, दलित समुदाय विकास कर्जा, महिला उद्यमशील कर्जा र व्यवसायिक कृषि तथा पशुपन्छी कर्जामा बिनाधितो ऋण दिने व्यवस्था गरेको थियो । बैंकले सोही शीर्षकअन्तर्गतका कर्जाहरु उपलब्ध गराउने बताएको छ । आर्थिक ऐनको उक्त व्यवस्थाअनुरुप अर्थ मन्त्रालयले गत भदौ महिनामै ब्याज अनुदानसहितको कर्जासम्बन्धी कार्यविधि तयार गरेको थियो । कार्यविधिमार्फत् मन्त्रालयले भुकम्पपीडितहरुको निजी आवास निर्माण कर्जाका लागि अधिकतम ३ लाख, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जाका लागि ५ लाख, शिक्षित युवा स्वरोजगार कर्जाका लागि अधिकतम ७ लाख, विदेशबाट फर्केका युवा परिचालनका कर्जाका लागि अधिकतम १० लाख, दलित समुदाय विकास कर्जाका लागि अधिकतम १० लाख, महिला उद्यमशील कर्जाका लागि १५ लाख र व्यवसायिक कृषि तथा पशुपन्छी कर्जाका लागि अधिकतम ५ करोड रुपैंयासम्मको कर्जा दिने व्यवस्था गरेके थियो । मन्त्रालयको कार्यविधिअन्तर्गत कर्जा दिन बैंकहरु उदासिन देखिएपछि एक महिनाअघि नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाहरुको नाममा परिपत्र जारी गरी त्यस्तो कर्जा उपलब्ध गराउन निर्देशन दिएको थियो । केन्द्रीय बैंकको निर्देशनको भोलिपल्टै नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन र नेपाल वित्तीय संस्था संघले समेत आफुअन्तर्गतका बैंक तथा वित्तीय संस्थाहरुमा त्यस्तो कर्जा लिन जान सर्वसाधारणलाई अनुरोध गरेको थियो । यद्यपि बैंक तथा वित्तीय संस्थाले विभिन्न बहानामा उक्त कर्जा उपलब्ध गराउन ढिलाई गर्दै आएका थियो । ऋणको रकम सीसीडीमा गणना गर्न नपर्ने उता नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरु सर्वसाधारणलाई प्रदान गरेको ब्याज सहुलियतको कर्जालाई कर्जा निक्षेप अनुपातमा गणना गर्न नपर्ने व्यवस्था गरेको छ ।  नेपाल राष्ट्र बैंकले परिपत्र जारी गर्दै त्यस्तो व्यवस्था गरेको हो । योसँगै सीसीडी अनुपात सीमान्त अवस्थामा पुगेका बैंकहरुलाई पनि त्यस्तो कर्जा उपलब्ध गराउने छुट हुनेछ ।

अर्थमन्त्री र गभर्नरद्वारा व्याजदर बढाउने बैकर्सकाे अालाेचना, बैंकर्स संघ पनि अालाेचित

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडा र गभर्नर डा चिरञ्जीवि नेपालले व्याजदर निर्धारणको क्रममा गलत अभ्यास भईरहेको भन्दै बैंकर्सहरुले कडा आलोचना गरेका छन् । बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको ३२ साधारणसभामालाई सम्बोधन गर्दै उनीहरुले बैंकर्सहरुको आलोचनासहित सुधारको लागि केहि सुझाव दिए । अर्थमन्त्री खतिवडाले व्याजदर निर्धारण नगर्न बैंकर्स संघलाई सुझाव दिए । ‘बैंकर्स संघले कहिले निक्षेपको, कहिले कर्जाको व्याज तोक्ने गरेको सुनिन्छ । कहिले सहमति भयो भन्ने सुनिन्छ कहिले बन्दन टुट्यो रे भयो भन्ने समाचार आउँछ । संघले यस्तो काम नगरोस्, यो राम्रो काम होइन’ अर्थमन्त्री खतिवडाले भने–‘प्रतिस्पर्धा कानुन पनि छ हाम्रो मुलुकमा । मूल्य कार्टेलिङ हुँदा प्रचलित कानुन र प्रतिस्पर्धाको सिद्धान्तलाई चुनौति दिए जस्तो हुन्छ ।’ उनले बैकर्सहरुलाई छाडा नहुन पनि आग्रह गरे । ‘जीऊमा कपडा कोचेर अग्लो पनि होइदैन, मोटो पनि होइदैन । प्राकृतिक ग्रोथ पनि चाहिन्छ’ मन्त्रीले खतिवडाले भने–‘अस्वभाविक रुपमा ठूलो हुने कोसिस बैंकिङ क्षेत्रका साथीहरुले नगरिदिए हुन्थ्यो ।’ बैकिङ क्षेत्रको प्राकृतिक ग्रोथलाई सरकारले सहयोग गर्ने उनले बताए । अर्थतन्त्रको जुन क्षेत्रमा पोषण पुगेको छैन, कुपोषण भएको छ, त्यस क्षेत्रमा लगानी बढाउने उनले बैकर्सहरुलाई निर्देशन दिए । कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवि नेपाल पनि निक्षेपको व्याज अस्वभाविक रुपमा वृद्धि नगर्न बैंकर्सहरुलाई सुझाव दिए । ‘व्याजदरमा प्रतिस्पर्धा गरेर तपाईहरुले गलत गरिरहनु भएको छ । राष्ट्र बैंकलाई जिस्क्याएको हो कि ?’ आक्रामक शैलीमा भने–‘जसले बढी व्याज दिएर निक्षेप लिएको छ, उसले बैंकलाई जोखिममा चलाएको हुन्छ । उसले पब्लिकको पैसा दुरुपयोग गर्न खोजेको मानिन्छ ।’ राष्ट्र बैंकले तुरुन्तै एक्सन लिन लगेको उनले बताए । ‘तपाईहरुले आश्चर्य नमाने हुन्छ, राष्ट्र बैंकले तुरुन्तै एक्सन लिन्छ’ गभर्नरले भने–म यो भन्दा बढी बोल्दिन । सीओसासावहरुले कुरा बुझिहाल्नुहुन्छ ।’ मनोवल नगिरेको दावी लगानीकर्ताको मनोबल गिरेको रिपोर्टहरु सार्वजनिक भईरहेको बेला अर्थमन्त्रीले त्यसको प्रतिवाद गरेका छन् । ‘मुलुकले लगातार तेस्रो वर्ष ६ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धि हासिल गर्न लागेको छ । यस वर्ष कृषि क्षेत्रको उत्पादन ५ प्रतिशत हुँदैछ । औद्योगिक क्षेत्रको उत्पादन १० प्रतिशतले वृद्धि हुँदैछ । सेवा क्षेत्रको उत्पादन त्यसको वरिपरि छ । बैकिङ क्षेत्रको नाफा गतवर्ष भन्दा यस वर्ष बढी हुँदैछ । विदेशी पर्यटकले होटलहरु भरिभराउ भएका छन् । यस वर्ष १० लाख भन्दा बढी पर्यटक आउँदैछन् । दुई वर्षभित्र वार्षिक २० लाख पर्यटक ल्याउने योजना छ’ उनले भने–‘यस्तो बेलामा लगानीकर्ताको मनोवल कसरी घट्न सक्छ ? किन तल लैजाने हामीले’ अर्थतन्त्रमा दुई वटा मात्र समस्या रहेको बताए । ‘बैदेशिक व्यापार घाटा बढेको छ । हामीले उपभोग्य बस्तुको आयात नियन्त्रण गर्न जरुरी छ । यो एउटा समस्या भयो । अर्को हाम्रो बचत क्षमता कम छ, लगानी बढाउने सरकारी नीति नै हो । बचत भन्दा लगानी बढी हुँदा बैंकिङ क्षेत्रमा लगानी योग्य पुँजीको कमी भएको छ । त्यसलाई पूर्ति गर्न विदेशबाट पुँजी ल्याउने प्रयास भईरहेको छ’ उनले भने ।