बजार निर्माता प्रवेश गराउन धितोपत्र बोर्डको चासो, नेप्सेलाई सोध्यो– ‘प्रगति के छ ?’
काठमाडौं । धितोपत्र बजारमा बजार निर्मातालाई प्रवेश गराउन नेपाल धितोपत्र बोर्डले चासो देखाएको छ । बजारमा शेयर डिलरसिपको रुपमा काम गर्ने त्यस्ता संस्थाहरुलाई प्रवेश गराउने तयारीका बारेमा धितोपत्र बोर्डले नेप्सेसँग प्रगति विवरण माग गरेको छ । त्यस्ता बजार निर्माताहरुले आफ्नै नामबाट अंकित मूल्यमा शेयर खरिदबिक्री गर्न र धितोपत्रको अन्डराइटिङ समेत गर्न सक्नेछन् । धितोपत्र बजारमा त्यस्ता बजार निर्मातारडिलरको प्रवेशले धितोपत्रको दोस्रो बजारको दायरा फराकिलो भई पूँजी बजारको गतिशील विकासमा सहयोग हुने विश्वास समेत बोर्डले गरेको छ ।
सेञ्चुरी बैंक र सिटिजन लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौता अनुसार ग्राहकहरुले सेञ्चुरी कमर्सियल बैंकबाट उक्त कम्पनीको बिमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानी लगायत सम्पूर्ण बिमा सेवा प्राप्त गर्न सकिने छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले हस्ताक्षर गरेका छन् ।
कालिका लघुवित्तले १६ प्रतिशत लाभांश दिने, सेयर मूल्यमा ७.४३ प्रतिशत गिरावट
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई १६.४२ प्रतिशत लाभांश दिने भएको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ८ प्रतिशत बोनस र कर प्रयोजनको लागि ८.४२ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको छ । हालै सम्पन्न संस्थाको संचालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । समितिको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । हाल संस्थाको चुक्ता पुँजी ९ करोड ९९ लाख रुपैयाँ रहेको छ । ८ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी १० करोड ७९ लाख रुपैयाँ नाघ्ने छ । बोनस घोषणा गरेको दिन बिहीबार संस्थाको सेयर किन्ने भन्दा बेच्नेको चाप देखिएको थियाे । सो दिन दिउँसाे २ बजेसम्म ७९४ कित्ता सेयर बिक्रीमा रहेको थियाे तर किन्ने कोही पनि देखिएका थिएनन् । यसको मतलब संस्थाले घोषणा गरेको लाभांशमा सेयरधनी उत्साहित छैनन् भन्ने बुझिन्छ । अन्तत: बिहीबारको बजार बन्द हुँदा संस्थाको सेयर मूल्य प्रतिकित्ता ६१ रुपैयाँले घटेर प्रतिकित्ता ७६० रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा संस्थाको सेयर मूल्यमा ७.४३ प्रतिशत गिरावट आएको छ ।
छापियो १ लाख स्मार्ट लाइसेन्स, तपाईको बन्यो कि बनेन एसएमएस गर्नुस्
काठमाडौं । स्मार्ट लाइसेन्स छपाई गरिरहेको मालिका इन्कर्पोरेट लिमिटेडले १ लाख कार्ड छापेको छ । छापिएको कार्डमध्ये ६० हजार यातायात व्यवस्था बुझाइसकेको छ । ४५ दिनमै ६ लाख कार्ड छाप्ने विभाग र लिमिटेडबीच सम्झौता भएपनि प्रविधिक समस्याले गर्दा कार्ड छपाइमा ढिलाई हुन गएको हो । मालिकाले हाल दैनिक १० हजार कार्ड छपाई गरिरहेको बताएको छ । पुर्ण क्षमतामा छाप्न डाटा नै उपलब्ध नभएको लिमिटेडका निर्देशक तिलकराम जोशीले बताए । ‘हामी एक पटकमा १० वटा कार्ड निकाल्ने प्रयास गर्छौ, तर ४/५ वटा खाली नै निस्कन्छ, जोशीले विकासन्युजसँग भने प्रविधि समस्या हल भए हामीबाट केही समस्या छैन ।’ मालिकाले ६० हजार कार्ड दिइसकेको विभागका निर्देशक गोकर्णप्रसाद उपाध्ययले बताए । उनका अनुसार छापिएको कार्ड अब सम्बन्धित कार्यलयमा पठाउने तयारी भैरहेको छ । बनिसकेको कार्ड सेवाग्राहीले मोबाइलबाटै हेर्न सक्नेछन् । लाइसेन्स बने/नबनेको थाहा पाउनका लागि अंग्रेजी अक्षर एलसी टाइप गरि स्पेस दिई आइडी नम्बर डायल गरी ३१००३ मा एसएमएस गर्नुपर्नेछ । विभागले छरितो रुपमा लाइसेन्स छाप्न नसकेपछि मालिका इन्कर्पोरेट लिमिटेडलाई जिम्मा दिएको हो । ५ लाख बढी सेवाग्राहीले हाल परीक्षा उत्तीर्ण गरी अनुमति पत्र लिन प्रतीक्षा सूचीमा बसेको विभागका प्रवक्ता उपाध्यायले जानकारी दिए । कार्ड छापेवापत कम्पनीले एउटा बराबर रु १५ पाउँछ । कार्ड, विद्युत लगायत भौतिक साधन भने विभागले नै उपलब्ध गराउनेछ ।
अल्फा बिटा ईन्टर कलेज कुइज हुँदै
काठमाडाैं । अल्फा बिटाले “अल्फा बिटा ईन्टर कलेज कुइज कम्पिटिसन” आयोजना गर्ने भएको छ । मंसिर २६ र २७ गते हुने उक्त कार्यक्रममा काठमाण्डौं, भक्तपुर तथा ललितपुरका १६ वटा ए लेवल तथा पल्स टु कलेजहरुले सहभागिता जनाउँने भएका छन् । प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने कलेजले नगद पचास हजार, ट्रफि तथा मेडल प्राप्त गर्ने तथा द्वितिय स्थान हासिल गर्ने कलेजले नगद पच्चिस हजार तथा मेडल प्राप्त गर्ने, अल्फा बिटाका प्रेसिडेन्ट तथा सि.ई.ओ. द्विराजशर्माले जानकारी दिएका छन् । प्रतियोगिताको होस्ट मिडियाकर्मी जि.पी. तिमल्सिनाले गर्दैछन् ।
मितेरी पुलको निर्माण चिनिँया सरकारी कम्पनीले शुरु गर्दै, अगामी जेष्ठमा सम्पन्न गर्ने लक्ष्य
काठमाडौं । सिन्धुपाल्चोकको तातोपानीस्थित भोटेकोशी नदीको मितेरी पुलको निर्माणकार्य शुरु भएको छ । चीनको सरकारी निर्माण कम्पनी टाइन सुन रोड एण्ड ब्रिज कम्पनीले निर्माणकार्य थालनी गरेको छ । पुल २०७६ जेठको दोस्रो सातामा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा पुल निर्माणको काम शुरु भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले जानकारी दिएका छन् । भूकम्पले क्षति पुर्याएको पुलमाथि राखिएको बेलिब्रिजको सामान हटाउने काम भइरहेको छ । बाह्रविसे–तातोपानी २९ किमी सडकखण्ड र लार्चास्थित सुख्खा बन्दरगाहको काम चिनियाँ रेलवे कन्स्ट्रक्सन कम्पनी फोर्टिन ब्यूरोले गरिरहेको छ । दुवै काम पनि आगामी जेठको दोस्रो सातामा सम्पन्न गर्ने लक्ष्य रहेको छ । साविक आठ मिटर चौडाइलाई बढाएर सडक तथा पुललाई अब १२ मिटर चौडाइमा विस्तार गरिने भएको छ । सडक र पुलको काम शुरु भएसँगै साढे तीन वर्षदेखि बन्द तातोपानी नाका चाँडै खुल्ने सङ्केत मिलेको छ । तातोपानी र रसुवागढीको सीमा पुल बनाइ दिने चीन सरकारको प्रस्तावलाई मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको थियो । चीन सरकारले सन् १९६० मा कोदारी–काठमाडौँ ११४ किमी सडक बनाइदिने सम्झौताअनुसार निर्मित मितेरी पुललाई २०३८ सालको बाढीले बगाएपछि चीनकै सहयोगमा सो पुलको साथै झिर्पू पुलसमेत पुनःनिर्माण गरेको थियो । रासस
पुरानो कार दिएर नयाँ कार लिन पाइने, हुन्डाइको एक्सचेन्ज अफर देशभरी सुरु
काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीले एक्सचेन्ज् अफर देशभरी सुरु गरेको छ । हुण्डाई एक्सचेन्ज् क्याप नामको कार्यक्रम बिहिबारबाट सुरु भएको हो । ४ बर्षको फ्रि सर्भिस ३ बर्षको वारेन्टी र हरेक टेस्ट डाइभमा आकर्षक उपहारहरु प्रदान गरिने छ । इजी फाइनास र इनसुरेन्स तथा कस्ट डिस्कान्ट सँगसगै लोयस्ली बोनस १५ हजार बरावरको र एक्सचेन्ज् बोनस १ लाख ५० हजार सम्म प्रदान गर्ने भएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीका महाप्रवन्धक रुपेश शर्मा भट्टले ग्राहकहरुलाई सधै उत्कृष्ट सुविधा प्रदान गर्न लक्ष्मी हुण्डाई तल्लीन रहेका बताएका छन् । देशव्यापी कार्यक्रमले पनि ग्राहकहरुलाई उत्कृष्ट एक्सचेन्ज् योजना र आफ्नो सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्ने कम्पनीले दाबी गरेको छ । हुण्डाई एक्सचेन्ज् क्याप नेपालको सम्पुर्ण डिलर नेटवर्कमा उप्लब्ध छ । बर्षभरि नै आफ्नो ग्राहकको सुविधाको लागि यस्ता योजनाहरु र एक्सचेन्ज् क्यापमा निरन्तरता दिएको छ । क्याम्प बिहान १० बजेदेखि ६ बजेसम्म एक्सचेन्ज् अफर साथै स्टक एक्सचेन्ज् र मूल्याङ्ग हुनेछ ।
रू. १२ अर्ब ७५ करोडका ऋणपत्रकाे विजोग, ५ वटा वाणिज्य बैंकहरु तनावमा
काठमाडौं । मुद्दती बचतको व्याज १३ प्रतिशत पुगेपछि १० देखि ११ प्रतिशत व्याजदरमा निष्काशन हुँदै गरेको ऋणपत्र बिक्न छोडेको छ । सामान्यतया बचतको व्याजभन्दा ऋणपत्रको व्याज २ प्रतिशत बढी हुँदा मात्र ऋणपत्र बिक्री हुन्छ । तर हाल बजारमा ऋणपत्रको भन्दा बचतको व्याजदर तीन प्रतिशत बढी भएपछि ऋणपत्रको विजोग भएको हो । हाल पाँच वटा बैंकले १२ अर्ब ७५ करोड रुपैयाँ ऋणपत्र निष्काशन प्रक्रिया अगाडि बढाएका छन् । ती मध्ये केही ऋणपत्र सार्वजनिक रुपमा निष्काशन भईसकेका छन् भने केही प्रक्रियामा रहेका छन् । तर निक्षेप व्याजदर वृद्धिले उनीहरु तनावमा परेको छन् । सानिमा बैंकले २ अर्बको ऋणपत्र निष्काशन गर्न धितोपत्रबोर्डबाट स्वीकृति लिएको थियो । पहिलो चरणमा बैंकले ४० करोड रुपैयाँको मात्र ऋणपत्र निष्काशन गरेको थियो । ‘१०५ सानिमा डिवेञ्चर–२०८५’ नाम दिइएको उक्त ऋणपत्र १० वर्ष अवधि छ भने वार्षिक व्याज १० प्रतिशत तोकिएको छ । सानिमा बैंकको उक्त ऋणपत्रका लागि पर्याप्त आवेदन परेन । कात्तिक ३० गतेदेखि खुला गरिएको ऋणपत्रको आवेदन छिटोमा मंसिर ४ गते बन्द गर्ने भनिएको थियो । तोकिएको न्यूनतम समयभित्र आवेदन नपरेपछि अधिकतम सीमा अर्थात पुस १ गतेसम्म निष्कासन अवधि लम्ब्याएको छ । ४० करोड ऋणपत्र बेच्न नसकेको सानिमा बैंकले धितोपत्र बोर्डबाट स्वीकृत लिएको १ अर्ब ६० करोड रुपैयाँको ऋणपत्र निष्काशन तत्काल हुने सम्भावना टरेको छ । सिद्धार्थ बैंक लिमिटेडले यही मंसिर २३ गतेदेखि २ अर्ब २५ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्दैछ । बैंकले १०.५ प्रतिशत ब्याजदरको ७ वर्षे ऋणपत्र “१०.५५ एसबिएल डिबेन्चर २०८२” प्रतिकित्ता रु १००० का दरले बिक्री गर्न लागेको हो । बैंकले ऋणपत्र आवेदन छिटोमा मंसिर २६ गते र ढिलोमा पुस २३ गते बन्द हुने जनाएको छ । निक्षेपमा व्याजदर बढे पनि ऋणपत्रमा आवेदन आउने विश्वास सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतमको छ । ‘पछिल्लो समय बैंकहरुले व्यक्तिगत निक्षेपकर्तालाई मात्र व्याज बढाएका छन् । संस्थागत निक्षेपकर्ताले अहिले पनि १० प्रतिशत व्याज पाएका छन् । हामीले १०.५ प्रतिशत व्याजमा लामो अवधिको ऋणपत्र जारी गरेको संस्थागत लगानीकर्ताले लिन्छन्’ गौतमले विश्लेषण छ । अरु धेरै पाइपलाइनमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले २ अर्ब ५० करोड रुपैयाँ बराबरको “सिटिजन्स बैंक बण्ड २०८५” निष्कासन गर्दैछ । सो मात्राको ऋणपत्र निष्कासन गर्नको लागि बैंकले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्ति गरेको छ । त्यस्तै, सनराइज बैंक लिमिटेडले १ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्न लागेको जनाएको छ । “सनराइज डिबेञ्चर २०८०” नाम दिएको ऋणपत्र ५ वर्ष अवधिको हुने र त्यसको व्याज वार्षिक १० प्रतिशत हुने बैंकले जनाएको छ । बढी व्याजदरमा निक्षेप संकलन गरेको भन्दै अन्य बैंकबाट आलोचना खेप्दै आएको एनआइसी एशिया बैंकले अरू बैंकको भन्दा बढी व्याजदरमा बढी रकमको ऋणपत्र निष्काशन गर्दैछ । एनआईसी एशियाले “११ प्रतिशत एनआईसी एशिया ऋणपत्र २०८५/८६” निष्कासन गर्न लागेको छ । बैंकले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने तयारी गरेको छ । ऋणपत्र निष्काशन गर्न बैंकले नेपाल एसबीआई मर्चेन्ट बैकिङ्गलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । ऋणपत्रलाई न्यून जोखिमयुक्त दीर्घकालीन लगानीको माध्यमको रुपमा लिइन्छ । दोस्रो बजारमा समेत कारोबार हुने उक्त ऋणपत्रको बजार मूल्यलाई कुपन ब्याजदर र प्रचलित ब्याजदरले प्रत्यक्ष रुपमा प्रभावित पार्छ ।