निर्वाण चौधरी नबिल बैंकको सञ्चालकमा पुन: मनाेनित
काठमाडौं । नबिल बैंक लिमिटेडको सञ्चालकमा निर्वाण चौधरी पुनः मनोनित भएका छन् । एनबी इन्टरनेशनल लिमिटेडको तर्फबाट चौधरीलाई सञ्चालक मनोनित गरिएको नबिल बैंकले जनाएको छ । मनोनित सञ्चालक चौधरीको नयाँ कार्यकाल सोमबार बसेको बैंकको सञ्चालक समितिको ५०२ औं बैठकबाट सुरु भएको बैंकले जनाएको छ । नबिल बैंकमा एनबी इन्टरनेशनलको ५० प्रतिशत स्वामित्व छ । बैंकमा इन्टनेशनलले सिफारिस गरेको एकजना सञ्चालक नियुक्त हुने व्यवस्था छ ।
अमरसिंह थापाले दिए कवर्डहलका लागि १ करोड ५० लाखको जग्गा
काठमाडौं । नेपाल प्रहरीका पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक एआईजी अमरसिंह शाहले आफ्ना दिवङ्गत पितृको स्मृतिमा दमक नगरपालिकालाई बहुउद्देश्यीय कभर्डहल निर्माणका लागि १० कठ्ठा जमीन निःशुल्क दान दिएका छन्। दिवङ्गत पिता नारायणसिंंह र माता ज्योतिकुमारी सिंहको स्मृतिमा उनले करिब १ करोड ५० लाखको दमक नगरपालिका–९ स्थित १० कठ्ठा जमीन दान गरेका हुन् । खेलकूदमा रुचि राख्ने उनी दमक–९ का स्थायी बासिन्दा हुन्। नगरप्रमुख रोमनाथ ओलीका अनुसार दाता शाहले दिएको जग्गामा ‘नारायण–ज्योति मल्टिपल कभर्डहल’ नामाकरण गरिने र यसै आर्थिक वर्षबाट काम शुरु गरिनेछ । सुविधासम्पन्न हुने उक्त कर्भडहल आगामी पाँच वर्षभित्रमा पूरा गरिने लक्ष्य लिइएको र जग्गादान, नामाकरण तथा निर्माणसम्बन्धी व्यवस्थापकीय विषयमा समेत दाता परिवारसँग सहमति भई हस्ताक्षार भइसकेको उनले जानकारी दिए । यसैबीच नगरपालिकाको बोर्ड बैठकले यहाँ कभर्डहल निर्माणका लागि नगर खेलकूद विकास समितिका अध्यक्ष केन्द्र प्रसाईंको संयोजकत्वमा निर्माण समिति र जग्गादाता शाहको संयोजकत्वमा अनुगमन तथा सल्लाहकार समितिसमेत गठन गरेको छ ।
आकाश छुने ब्याजदर, धर्तीमा धसिएको सेयर बजार, के यो समृद्धिको संकेत हो ?
काठमाडौं । सेयर बजारका लगानीकर्ताहरुले अस्थिर ब्याजदरकाबीच सरकारको मौनता प्रति आपक्ति जनाएका छन् । बैंकहरुले ब्याजदर बढाएकोमा उद्योगहरुले आपक्ति जनाईसकेका छन् । सेयर बजारका लगानीकर्ताले पनि ब्याजदरमा बैंकहरुको मनोमानी प्रति सरकार उदासिन रहनु दुःखद पक्ष भएको बताए । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिका प्रसाद पौडलले ‘बढ्दो ब्याजदर, घट्दो सेयर बजार, कहाली लाग्दो मार्जिन कल अनि मौन सरकार’, भनेर टिप्पणी गरेका छन् । फोरमकै उपाध्यक्ष छोटेलाल रौनियारले पनि ब्याजदरमा देखिएको अस्थिरता प्रति सरकारको मौनता गम्भीर बिषय भएको बताए । ‘अर्थतन्त्रका अन्तरकुन्तर सबैको बुझेका अर्थमन्त्रीले ब्याजदरमा बैंकहरुले देखाएका दादागिरी कसरी सहनु भएको हो ? नेपाल राष्ट्र बैंक के हेरेर बसिहरको छ ? ८ प्रतिशतको आर्थिक वृद्धिदर यसैगरि ल्याउने हो त ?’ रौनियारले प्रतिप्रश्न गरे । अर्का लगानीकर्ता कमल भारतीले पनि ब्याजदरबारे सरकारी मौनताले देशलाई गलत बाटोमा लगिरहेको आरोप लगाए । ‘सीमित मान्छेहरुको चलखेलका आधारमा बैंकहरुले ब्याजदर परिमार्जनको निर्णय गर्दै आएका छन्, यसमा सरकारले कठोर कदम चाल्नु आवश्यक छ’, भारतीले भने । उनले ब्याजदरलाई देखाएर ठूला लगानीकर्ताहरुले बजार घटाएर सेयर खरिद गर्ने षड्यन्त्र रचेको आरोप पनि लगाए । बजारमा ३२ अर्ब रुपैंयाँ लगानी योग्य पुँजी थपिएकै दिन ब्याजदर बढाउने निर्णय गरेर सरकारलाई बैंकहरुले चुनौती दिएको आरोप पनि लगाए ।
निर्वाचन आयोग विरुद्ध सर्वाेच्च अदालतमा मुद्धा हाल्दै नेकपा
काठमाडौं । निर्वाचन आयोग विरुद्ध नेपाल कम्युनिष्ट पार्टी सर्वाेच्च अदालतमा मुद्धा हाल्ने भएको छ । नेपाल कम्युनिष्ट पार्टी छोटकरीमा नेकपा नाममा विधिवत् रुपमा हाम्रो दल निर्वाचन आयोगमा दर्ता रहेको अवस्थामा अन्य दललाई नेपाल कम्युनिष्ट पार्टी (ने क पा) भन्ने नाममा दर्ता दिने निर्वाचन आयोगको कदमका विरुद्ध सर्वाेच्चमा मुद्धा हाल्न लागेको हो । नेकपाका कार्यालय सचिव रत्नप्रसाद जोशीले बिहिबार सर्वाेच्च अदालतमा मुद्धा हाल्न लागेको जानकारी दिए ।
अमेरिकी अाकाशमा चार लाख ५० हजार ड्रोन उड्दै तर अमेजनका ग्राहककाे प्रश्न- ड्रोन खोई ?
सान फ्रान्सिस्को । जेफ बेजोसले पाँच वर्षअघि पूर्वानुमान गर्नुभएको थियो-अमेजनका सामग्रीहरु ड्रोनले आजसम्ममा मानिसका घरदैलोमा पुर्याउन थाल्नेछन् । अमेजनका ग्राहकहरु अझै पनि त्यो दिनको पर्खाइमा छन् । तर, कम्पनीका प्रमुख कार्यकारी अधिकृत बेजोसको त्यो पूर्वानुमान पूरा हुने लक्षण देखिएको छैन । बेजोसले खुद्रा व्यापार (रिटेल) क्षेत्रलाई रुपान्तरण गरी अर्बौं डलर कमाइसकेका छन् । तर ड्रोनमाथि नियामक निकायबाट निम्तिने अड्चन र सुरक्षा सवालले विश्वकै सबैभन्दा धनाढ्य व्यक्ति बेजोसलाई समेत ठूलो चुनौती खडा गरेको छ । उनले डिसेम्बर २०१३ मा अमेरिकी टेलिभिजन च्यानल सीबीएसमा पाँच वर्षभित्र ड्रोनले ग्राहकका घरदैलोमा सामानहरु पुर्याउँछ भनेर तोकेको समयसीमा गुज्रनै लागेको छ । बेजोसले तोकेको त्यो दिन आउन धेरै दिन बाँकी छैन । तर ड्रोनले ग्रामीण वा दुर्गम क्षेत्रमा औषधि लैजान भने सक्ने स्थिति उत्पन्न भएको छ । दैनिक उपभोग्य बस्तुको ड्रोनबाट तत्कालै आपूर्ति गर्ने कुरा प्रचारमै सीमित हुँदैछ । किनभने ड्रोनको ब्याट्री त्यति टिक्दैन र गोपनीयताको विषय पनि प्रमुखताका साथ अगाडि आएको छ । “मलाई लाग्दैन शहरका कुनाकाप्चामा ड्रोनले खाजा वा डायपर बोकेर उड्नेछन्,” ड्रोन विश्लेषक कोलिन स्नोले बताए । ड्रोनको प्रयोग केही उद्योगहरुमा निकै तिब्रताका साथ अघि बढेको छ । व्यापारिक क्षेत्र र उपभोक्तासँग सोझै जोडिएका क्षेत्रमा ड्रोनहरुको प्रयोग प्रायः हुन सकेको छैन । सरकारको अनुमानमा अमेरिकी आकाशमा करिब एक लाख १० हजार व्यापारिक ड्रोन उडिरहेका छन् र सन् २०२२ सम्ममा यो संख्या करिब चार लाख ५० हजार पुग्नेछ । यी ड्रोनहरु ग्रामीण क्षेत्रमा खानी उत्खनन् र कृषिमा प्रयोग भइरहेका छन् । साथै, विद्युत प्रसारणका लाइन र पाइपलाइनहरुको निरीक्षण गर्न तथा सर्भेक्षणका काममा ड्रोनको प्रयोग हुन थालेको छ । अमेजनले तत्काल सामानको आपूर्ति गर्न ड्रोन प्रयोग गर्नेतर्फ विचार गरिरहेको जनाएको छ, तर अहिले अमेजनले यस्तो कार्य कहिलेबाट आरम्भ गर्ने भनी निश्चित मितिबारे जानकारी गराएको छैन । “हामी ३० मिनेट वा सोभन्दा कम समयमा ड्रोन मार्फत सामान ढुवानी गर्ने कुरालाई यथार्थमै रुपान्तरण गर्न चाहिरहेका छौं,” अमेजनका प्रवक्ता क्रिस्टेन किसले बताए । सियाटलमा प्रधान कार्यालय रहेको यस कम्पनीले आफ्ना ड्रोन विकास केन्द्रहरु संयुक्तराज्य अमेरिका, अस्ट्रिया, फ्रान्स, इजरायल र बेलायतमा रहेको जनाएको छ । आपूर्तिकर्ता कम्पनीहरुले आपतकालीन बस्तुहरुको आपूर्ति गर्न ड्रोनको प्रयोग गर्नेतर्फ परीक्षणहरु गरिरहेका छन् । उनीहरुले कम जनघनत्व भएका क्षेत्रमा यसको परीक्षण गरिरहेका छन् । तर, सामान आपूर्तिहरु मुख्यतः कार्यालयका पार्क क्षेत्र र मानिसका घर वरिपरि केन्द्रित भएकाले त्यहाँ सुरक्षा र गोपनीयताको चासो बढी हुने गरेको छ । गत मे महिनामा ट्रम्प प्रशासनले आपूर्ति, परीक्षण र अन्य कार्यहरुका लागि ड्रोनको परीक्षण गर्न निजी कम्पनीहरु र स्थानीय सरकारी निकायहरुका निम्ति तीन वर्षे योजनालाई स्वीकृति दिएको छ । तर प्रमुख आपूर्तिकर्ता कम्पनीहरुका नमूना कार्यक्रमहरुले केही सानो संख्याका अमेरिकीहरुले ड्रोनबाट सामान प्राप्त गर्ने सङ्केत दिइसकेका छन् । युनाइटेड पार्सल सर्भिसले फ्लोरिडाका ग्रामीण सडकमा दौडिने ट्रकबाट ड्रोन परीक्षण गरेको छ । जर्मनीको डिएचएल एक्सप्रेसले तान्जानीयाबाट लेक भिक्टोरियासम्म औषधि आपूर्ति गर्न परीक्षणका रुपमा ड्रोनको प्रयोग गरेको छ । डिएचएलको मुख्य कम्पनी डच पोस्टका प्रमुख कार्यकारी अधिकृत फ्रान्क एप्पेलले आगामी एक दुई वर्षभित्रै ड्रोनहरु केही खास कामका लागि निकै उपयुक्त साधन हुने बताउँदै तर यिनीहरुको व्यापक प्रयोग हुन नसक्ने जानकारी दिए । उनकाे विचारमा यसको सबैभन्दा ठूलो समस्या भनेकै ब्याट्री हो । “हरेक एक दुई घण्टामा ब्याट्री चार्ज गर्नुपर्ने हो भने तपाईंसँग धेरैवटा ड्रोन चाहिन्छ ।” उनले भने । एप्पेलले ड्रोनको भन्दा मानिसबाटै हुने ढुवानीको अर्को फाइदा रहेको बताए – ग्राहकहरु कहाँ बस्छन् र ढोकाको कुन घन्टी बजाउने भन्ने कुरा उनीहरुलाई थाहा हुन्छ । “सूचना प्रविधिबाट यी यस्ता कुरा सुल्झाउन त्यति सजिलो छैन र सस्तो पनि हुँदैन ।” विज्ञहरुका अनुसार ड्रोन मार्फत व्यापक ढुवानी गर्न सरकारी स्वीकृति प्राप्त गर्न वर्षौं लाग्नेछ । स्काइलजिक रिसर्चका प्रमुख कार्यकारी अधिकृत स्नोले ड्रोनमार्फत यथार्थपरक ढङ्गबाट सामान आपूर्ति गर्न र सबै प्रकारका कानुनी तथा अन्य जटिलता टुङ्ग्याउन अझै १० वर्ष लाग्ने बताउनुभयो । तपाईंको आकाशमाथि उडेको प्रत्येक ड्रोनका बारेमा कानुन कार्यान्वयन गर्ने निकायहरुलाई जानकारी हुनु पर्दछ । सरकारी अधिकारीहरु यी ड्रोनलाई आतङ्ककारीले प्रयोग गर्ने हुन् कि भनी भयग्रस्त छन् । नियमहरुको मस्यौदा भइरहे पनि कम्पनीहरु भने सानो स्तरकै पाइलट कार्यक्रम सञ्चालन गरी ड्रोनहरु बारे अध्ययन र परीक्षण गर्न चाहन्छन् । अमेरिकी कानुनमा ड्रोन उडानका बारेमा लामो सूची छ । यी ड्रोनहरु ४०० फिटभन्दा माथि, सरकारी कार्यालयको माथि र विमानस्थलको पाँच माइल वरिपरि ड्रोन उडाउन पाइन्न । राति ड्रोन उडाउन प्रतिबन्ध लगाइएको छ । एजेन्सी
‘वी वान्ट जस्टिस’ भन्दै पुल्चोक इन्जिनियरिङ क्याम्पसका विधार्थीहरुको प्रदर्शन [फोटोफिचर]
काठमाडौं। बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको न्यायको लागि पोस्टर ठाउँठाउँमा टाल्ने अभियान चलिरहँदा बुधबार पुल्चोक इन्जिनियरिङ क्याम्पसका विधार्थीहरुले विरोध याली आयोजना गरेका छन्। र्याली बिहान ९ बजे पुल्चोक क्याम्पसको गेटबाट सुरु भएर माईतीघर मण्डलामा गएर समापन भएको थियो। युवाहरुको जमात जम्मा भएको माईतीघरमा ठुलो संख्यामा प्रहरीको पनि उपस्थिती थियो। ‘वी वान्ट जस्टिस’ भन्दै विद्यार्थीहरुले माइतीघर मण्डलामा कान थुनेर,अनुहारमा कालोपट्टि बाँधेर सरकारको विरोध गरेका थिए। र्यालीको मुख्य अभियानता युरेका बान रहेकी थिईन्
वाणिज्य बैंकहरुकाे मुद्दति खातामा १३ प्रतिशत व्याज, सेयर बजार थप जाेखिममा
काठमाडौं । वाणिज्य बैंकहरुले १३ प्रतिशत व्याजदरमा मुद्दति निक्षेप संकलन गर्न थालेका छन् । कुमारी बैंकले १३ प्रतिशत व्याजमा ३ वर्षसम्मको मुद्दति खातामा निक्षेप आह्वान गरेको छ । बैंकले कम्तिमा १० हजार रुपैयाँ निक्षेप रहेको मुद्दति खातामा पनि १३ प्रतिशत व्याज दिने भएको छ । व्यक्तिगत निक्षेपकर्तालाई मात्र यो सुविधा हुने बैंकले जनाएको छ । विशेष मुद्दति नाम दिएकाे उक्त बचतकाे व्याज मासिक रूपमा भुक्तानी गरिने बैंकले जनाएकाे छ । अरु बैंकहरुले पनि विहीबारदेखि १३ प्रतिशत व्याजमा निक्षेप आह्रवान गर्ने सम्भावना रहेको छ । सार्वजनिक सूचनामा तोकिएको भन्दा शुन्य दशमलव ५ प्रतिशतसम्म व्याज थपेर निक्षेप लिन पाउने व्यवस्था रहेकोले निक्षेपकर्ताले १३.५ प्रतिशतसम्म व्याज पाउन सक्नेछन् । मंगलबार जनता बैंक नेपालले १२ प्रतिशत व्याजमा निक्षेप संकलन गर्ने विज्ञापन सार्वजनिक गरेको थियो । बुधबार माछापुच्छ्रे बैंकले १२.५ प्रतिशत व्याजमा निक्षेप लिने योजना सार्वजनिक गरेको छ । माछापुच्छ्रेले १२.५ प्रतिशत व्याज मासिक रुपमा भुक्तानी गर्ने र ५ वर्ष अवधि सम्मको लागि निक्षेप लिने जनाएको छ । यसरी नै प्रतिस्पर्धा बढ्दै जाँदा निक्षेपकाे व्याज १५ प्रतिशतसम्म पुग्ने अडकलबाजी भइरहेकाे छ । ‘कर्जाकाे माग बढेकाे छ । सरकारले हस्तक्षेप गरेन भने निक्षेपकाे व्याज १४/१५ प्रतिशतसम्म पुग्न सक्छ’ एक बैंकका प्रमुख कार्यकारी अधिकृतले भने । सोमबारसम्म बैंकहरुले निक्षेपकर्तालाई बचतमा ७ प्रतिशत र मुद्दतिमा १० प्रतिशत मात्र व्याज दिने गरेका थिए । तीन दिनमा बैंकहरुले निक्षेपको व्याज ३० प्रतिशतले वृद्धि गरेका छन् । बैंकहरुको व्याजदर वृद्धिको प्रत्यक्ष असर पुँजी बजारमा परेको छ । बुधबार बैंकहरुले १२.५ प्रतिशत व्याजमा ५ वर्षसम्मको निक्षेप लिने सूचना प्रकाशित गरेपछि सेयर बजार २२ अंकले घटेको छ । बैंकहरुले १३ प्रतिशत व्याज दिएपछि सेयर बजारमा थप गिरावट आउन सक्ने अनुमान गरिएको छ । थप समाचार पखाला लागेर बैंकहरु सिकिस्त भए, अर्थमन्त्री दाँतकाे कुरार्इमा बस्लान् वा उपचार पनि खोज्लान् ? निक्षेपमा अधिकतम १२ प्रतिशत व्याज दिने वित्त कम्पनी संघको निर्णय, वाणिज्य बैंकहरुको लागि चुनौति
विभिन्न तहका पाठ्यक्रममा धितोपत्र बजार सम्बन्धी विषय वस्तु राख्न बोर्डको आग्रह
काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपालको विभिन्न तहका पाठ्यक्रममा धितोपत्र बजार सम्बन्धी विषय वस्तु समावेश गराउन आग्रह गरेको छ । बोर्डले आ.व.२०७५/७६ को धितोपत्र तथा वस्तु विनियम बजार सम्बन्धी नीति तथा कार्यक्रम (बुँदा नं ६८) अनुसार विभिन्न विश्वविद्यालय तथा उच्च माध्यमिक विद्यालयका सम्बन्धित विषयको पाठ्यक्रममा उक्त विषयवस्तुहरु राख्न माग गरेको हो । बोर्डले धितोपत्र सम्बन्धी विषय वस्तु समावेश गर्ने/गराउने पहल तथा कार्यका लागि आवश्यक समन्वय तथा सहकार्यका लागि पाठयक्रम विकास केन्द्र, त्रिभुवन विश्व विद्यालयअन्तर्गत रहेका मानविकी तथा समाज शास्त्र संकाय, व्यवस्थापन संकाय, कानून संकायका डीनको कार्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, मध्य पश्चिमाञ्चल विश्वविद्यालय र काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका साथै अनामनगरको लोक सेवा आयोगलाई अनुरोध गरेको छ । उक्त नियम लागू गर्दा माध्यमिक विद्यालय र विश्वविद्यालयका स्नातक तथा स्नातकोत्तर स्तरका पाठ्यक्रमहरु समसामयिक तथा व्यवहार उपयोगी हुने छ । साथै, यसबाट लगानीकर्ताको हित संरक्षण तथा सशक्तिकरणमा सहयोग पुग्ने छ । त्यस्तै, सीमित स्रोत साधनबाट समेत बचत गरी उत्पादनशील क्षेत्रमा लगानी परिचालन हुने वातावरण तयार हुने बोर्डले जनाएको छ । जसले गर्दा देशको अर्थतन्त्रको विकास, विस्तार तथा वृद्धि हुनुका साथै वित्तीय साक्षरताको स्तर अभिवृद्धि भई धितोपत्र बजारको दिगो विकासमा सहयोग पुग्ने बोर्डको विश्वास छ । हालैका दिनहरुमा देशका ७७ जिल्ला र करिब ७०० स्थानीय निकाय अन्तर्गतका क्षेत्रहरुमा धितोपत्रको प्राथमिक बजारको पहुँच पुगिसकेको छ । धितोपत्रको दोस्रो बजार सेवामा नयाँ स्वचालित कारोबार प्रणाली संचालनमा आएपछि पूँजीबजार मार्फत विशेषतः वित्त शास्त्र तथा अर्थशास्त्रको समेत सैद्धान्तिक ज्ञानको व्यवहारिक उपयोग हुने देखिन्छ । बजारको विकास तथा विस्तारमा जोड दिँदै उक्त व्यवस्था लागू भएपछि नेपाल विकसितका साथै तथा देशको सुदृढ अर्थतन्त्र हुने छ । यस चालु आर्थिक वर्षदेखि पाक्षिक लगानीकर्ता प्रशिक्षण तथा रेडियो कार्यक्रमको संचालन शुरुवात गर्नुका साथै बोर्डबाट यससँग सम्बन्धित सामाग्री प्रकाशन तथा वितरणलाई निरन्तरता दिइएको छ । यस सन्दर्भमा बोर्डले धितोपत्र बजार सम्बन्धी अध्ययन अनुसन्धान तथा प्रशिक्षण कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि धितोपत्र बजार प्रशिक्षण प्रतिष्ठानको स्थापना गर्ने लक्ष्य समेत राखेको छ ।