निक इलेक्ट्रो टेक पुस ५ देखि, विद्युतीय सामाग्री एकै ठाँउमा पाइने
काठमाडौं । निक इलेक्ट्रो टेक २०१८ पुस ६ गतेदेखि शुरु हुने भएको छ । नेपालमै विद्युतीय सामाग्री उत्पादन गर्दै आएका विभिन्न कम्पनीहरुले अत्याधुनिक विद्युतीय सामाग्री प्रर्दशन गर्ने भएका हुन् । मेलामा सबै प्रकारका विद्युतीय सामाग्री पाइने टेकका उपाध्यक्ष सुदर्शनप्रसाद पौडेलले बताए । मेलामा करिब १ लाख भन्दा बढी व्यक्तिहरुले अवलोकन गर्ने आयोजकले दाबी गरेको छ । मेला पुस १० गतेसम्म चल्नेछ । “आर्थिक समृद्धिको संवाहक—उर्जा” को नाराका आयोजना हुने निक इलेक्ट्रो टेकले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रीक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रबिधि तथा विद्युतीय एवं वैकल्पिक उर्जा उद्यमीहरूलाई एकै स्थानमा जमघट गराई व्यवसाय प्रबद्र्धन गर्ने छ । साथै, यी उद्योगमा भएका नविनतम उपलब्धीहरू बारे सूचना आदान–प्रदान गर्ने तथा उपभोक्तालाई यस सम्बन्धी जानकारी अद्यावधिक गराउन सहयोग पुर्याउने लक्ष्य नवौं संस्करणको रहेको छ । निक इलेक्ट्रो टेक २०१८ मा हल भित्र ५१ वटा ब्लकहरु र हल बाहीर २६ वटा स्टलहरु गरि जम्मा ७७ वटा प्याभिलियन तथा स्टलहरु रहेका छन् जसमा नेपाली उत्पादन लगायत बहुराष्ट्रिय कम्पनीहरुको उत्पादनहरु, ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामाग्री, उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामाग्री, वायर, केबुल एवं कण्डक्टर, हाउसहोल्ड उपकरण, लाइटिङ्ग, फिक्चर्स, इलेक्ट्रोनिक उपकरण, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक उर्जा तथा अन्य विद्युतीय सामग्रीको प्रदर्शन गरिनेछ । प्रदर्शनीमा अधिकांश सहभागी संस्थाहरूले उपभोक्ताहरूसंग प्रत्यक्ष अन्तक्रिया गरी आफ्ना उत्पादनहरू बारे जानकारी दिनेछन् । त्यस्तै, अवलोकनकर्ताको सहजता तथा खरिद गर्न रुचाउने आगन्तुकहरुका लागि छुट्टै सेल्स एरियाको व्यवस्था गरिएको आयोजकले बताएका छन् ।
राष्ट्र बैंकको रिजर्भेसनले मार्जिन ट्रेडिङ रोकियो-अध्यक्ष कार्की; कुनै रिजर्भेसन छैन-गभर्नर नेपाल
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले नेपाल राष्ट्र बैंकको रिजर्भेसनका कारण ब्रोकरहरुलाई मार्जिन ट्रेडिङ सेवा उपलब्ध गराउने व्यवस्था गर्न नसकेको आरोप लगाएका छन् । अर्थ समितिले नेपालको पुँजीबजारको समस्या र समाधानका उपायको बारेमा आयोजना गरेको छलफलका क्रममा अध्यक्ष कार्कीले मार्जिन ट्रेडिङ संसारभर रहेको तर कुनै पनि देशमा केन्द्रीय बैंकले हस्तक्षेप नगर्ने भन्दै नेपालमा पनि धितोपत्र बोर्डले स्वतन्त्र रुपमा त्यस्तो व्यवस्था गर्न पाउनुपर्ने बताएका हुन् । मार्जिन ट्रेडिङका लागि धितोपत्र बोर्डले अघिल्लो वर्ष नै कार्यविधि बनाएको भन्दै कार्कीले राष्ट्र बैंकले रिजर्भेसन नदेखाए तुरुन्त मार्जिन ट्रेडिङको व्यवस्था मिलाउन सक्ने दाबी गरे । हाल बैंकहरुको ऋणपत्रमा ब्याजदर निर्धारण समेत आफूहरुले गर्ने गरेको भन्दै मार्जिन ट्रेडिङका क्रममा ब्याजदरको निर्धारण गर्न समेत बोर्ड सक्षम रहेको दोहोर्याएका थिए । बैठकमा अध्यक्ष कार्कीले हाल कुल जारी शेयरमध्ये ९८ प्रतिशत डिम्याट मएको तथ्याङ्क समेत प्रस्तुत गरे । कार्कीपछि बोलेका नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवि नेपालले आफू पनि १२ बर्षअघि धितोपत्र बोर्डको अध्यक्ष रहेको र नेपाली पुँजीबजारको विकासक्रमलाई आफूले सुक्ष्म ढंगले नियालिरहेको बताउँदै राष्ट्र बैंकले बोर्डको काममा कुनै पनि रिजर्भेसन नगरेको बताएका छन् । आफू बोर्डमा रहँदा एकै व्यक्तिले ४८ हजारओटा सम्म नागरिकता बोकेर शेयर भरेको उदाहरण दिँदै त्यतिबेला बैंक खाता नभई शेयर भर्न नपाउने व्यवस्था गर्दा आफूविरुद्ध सडकमा मुर्दावादको नारा घन्किएको स्मरण गरे । ‘शेयर बजार बढ्दा वा घट्दा नेपाल राष्ट्र बैंकलाई कुनै फाइदा र घाटा छैन, त्यसैले हामीले हामीले बजारमा किन हस्तक्षेप गर्छौ र ?’– गभर्नर नेपालको प्रश्न थियो । गभर्नर नेपालले आधारभूत पुँजीको २५ प्रतिशतसम्म मार्जिन लेन्डिङ गर्न पाउने व्यवस्थाले बजारमा ९३ अर्ब रुपैंयासम्म शेयर कर्जामा लगानी गर्न सकिने तर अहिले ३४ अर्ब मात्र लगानी भएको भन्दै आफूले लिएको नीतिका विषयमा कुरै नबुझी आलोचना गर्ने गरेकोमा दुखेसो समेत पोखे ।
दुई दिन लगातार दोहोरो अंकले बढेको सेयर बजार फेरि किन घट्यो ?
काठमाडौं । यस साताको शुरुदेखि लगातार दुई दिन दोहोरो अंकले बढेको सेयर बजार मंगलबार पुन ओरालो लागेको छ । मंगलबार नेप्से परिसूचक ३.०८ अंकले घटेर ११४१.१० अंकमा झरेको छ । पूर्ण अनलाइन प्रणाली कार्यान्वयनमा आएपछि उकालो लागिरहेको बजारमा मंगलबार भने नेप्से परिसूचक र कारोबार रकम दुबैमा गिरावट आएको छ । सो दिन १६४ कम्पनीको सेयर ३८ करोड ३२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सबैभन्दा बढी नेपाल बैंककाे सेयर काराेबार भएकाे छ । जसकाे एकैदिन १३ कराेड ४८ लाख रूपैयाँ बराबरकाे सेयर किनबेच भएकाे छ । बजारमा अधिकांश समूहको सूचक राताम्मे भएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूह २८ अंकले घटेको छ । त्यस्तै, जीवन बीमा २५, होटल १४, माइक्रोफाइनान्स १० अंकले ओरालो लागेका छन् । उत्पादनमूलक, फाइनान्स र अन्य समूह क्रमशः १३, ०.१७ र ०.६२ अंकले राताम्मे भएका छन् । सबैभन्दा बढी मन्जुश्री फाइनान्सका लगानीकर्ताले ७.२५ प्रतिशत गुमाएका छन् । फाइनान्सले प्रस्तावित ९ प्रतिशत नगद लाभांश घटाएर २.१ प्रतिशतमा पुर्याएपछि संस्थाको सेयर मूल्य घटेको छ । जसबाट सेयरधनीहरु निराश भएका सेयर मूल्यले संकेत गरेको छ । मंगलबार यस संस्थाको सेयर मूल्य ७.२५ प्रतिशतले घटेर प्रतिकित्ता ११५ रुपैयाँमा झरेको छ ।
नेपालकाे जलविद्युत क्षेत्रमा अविछिन्न रुपले लाग्न प्रतिवद्ध : एण्ड्रीजका प्रमुख उम्मर
काठमाडौं । अन्तराष्ट्रिय टेक्नोलोजी समुह एण्ड्रीजले तेस्रो सेवाग्राही दिवस काठमाडौं स्थित होटल हयात रिजेन्सीमा मनाएको छ । कार्यक्रममा उर्जा, जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुन र नेपाल भारतका लागि आँस्ट्रियाको राजदुत महामान्यबिगेट ओपिगर ,वोल्चशोफरबाट संयुक्त रुपमा उद्घाटन गरेका थिए । उक्त कार्यक्रममा बोल्दै मन्त्री पुनले नेपालको जलविद्युत क्षेत्रमा पुर्याएको योगदान र देखाएको प्रतिबद्धताकाे खुलेर प्रशंसा गरेका थिए । उक्त संस्थाका भारत, दक्षिण पूर्वी एसिया, आँस्ट्रेलिया तथा न्यूजिलेँड प्रान्तीय प्रमुख जोसेफ उम्मरले नेपालको जलविद्युत क्षेत्रको विकासमा अविछिन्न रुपले योगदान पुराउन पाएकोमा गौरवान्वित भएको बताउँदै आगामी दिनमा सोही बमोजिम निरन्तरता दिने बताएका थिए । सन् २०१७ देखि बिक्रि सेवामा योग्य समुह रहेको उक्त एण्ड्रीजले निर्माण गरेको मध्य मस्यौदी, कुलेखानी, चिलिमे जलविद्युत आयोजनाहरु एक दसक भन्दा लामो समय देखि निरन्तर रुपमा संचालन भईरहेका छन् । हाल संस्थाद्धारा जडान १४४ मेगावाट जलविद्युत यस अगाडी नै उत्पादन गरेको थियाे । हाल निर्माणाधिन २०० मेगावाट जलविद्युत मध्ये ७५ मेगावाटको आयोजना रहेको जानकारी दिएका छन् । गौरवका आयोजना माथिल्लो तामाकोशी ४५६ मेगावाट क्षमता, मध्य भोटेकोशी १०२ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ ।
मञ्जुश्री फाइनान्सले नगद लाभांश दर घटायो, अब कति दिन्छ ?
काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले प्रस्तावित नगद लाभांश दर ६.१ प्रतिशतले घटाएको छ । दर घटाएपछि फाइनान्सले सेयरधनीलाई कर समेत २.९ प्रतिशत मात्र नगद लाभाश दिने भएको छ । यस अघि संस्थाले सेयरधनीलाई ९ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको थियो । उक्त प्रस्तावलाई घटाएर संस्थाले हाल कायम चुक्ता पुँजीको २.९ प्रतिशत नगद लाभांश दिने नयाँ प्रस्ताव राखेको छ । हाल संस्थाको चुक्ता पुँजी ८० करोड ४० लाख रुपैयाँ रहेको छ । संचालक समितिको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा संस्थाको आगामी साधारणसभाले पारित गर्नु पर्ने हुन्छ । संस्थाको आगामी साधारणसभा आगामी पुस १६ गते बस्दै छ । सो प्रयोजनको लागि पुस ३ गते संस्थाको बुक क्लोज हुने छ ।
माथिल्लो तामाकोशीका ५२ हजार आवेदकले पैसा फिर्ता पाएनन्, यस्ताे छ कारण
काठमाडौं । माथिल्लो तामाकोशीको साधारण सेयरमा आवेदन गरेका दोलखावासीले रकम फिर्ता नपाएको भन्दै गुनासो बढेपछि त्यसलाई सम्बोधन गर्न कम्पनीले आफ्नो दावीसहित आवेदन दिन आग्रह गरेको छ । कम्पनीले मंगलबार एक सूचनामार्फत रकम रकमान्तर हुन नसकेका ५२ हजार आवेदकलाई आगामी पुस १ गतेदेखि आवेदन दिन आग्रह गरेको छ । सेयर आवेदकको नाम नमिलेको, बैंक खाता नम्बर नमिलेको, खाता रोक्का रहेका तथा ग्राहक परिचयपत्र नम्बर नबुझाएका र छ महीनाभन्दा बढी समयसम्म कारोवार नभएको खाताले गर्दा आवेदकले रकम प्राप्त गर्न सकेका थिएनन् । रकम खातामा फिर्ता नभएका आवेदकको हकमा पुनःतथ्याङ्क रुजु गरी सम्बन्धित व्यक्तिलाई खातालगायत अन्य विवरण सच्याउन कम्पनीले आग्रह गरेको छ । कम्पनीले रकम प्राप्त गर्न नसकेका आवेदकलाई दरखास्त बुझाएकै दोलखाका सङ्कलन केन्द्र तथा काठमाडौं उपत्यकामा सनराइज क्यापिटल कमलपोखरीमा चेकमार्फत फिर्ता लिन अनुरोध गरिएको छ । चेकमार्फत रकम फिर्ता गर्दासमेत रकम फिर्ता भुक्तानी प्राप्त गर्न नसके सनराइज क्यापिटलमा सम्पर्क राख्न सूचनामा आग्रह गरिएको छ । माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले गत साउन १६ गतेदेखि भदौ २१ गतेसम्म आयोजना प्रभावित दोलखावासीका लागि साधारण शेयर बिक्री गरेको थियो । कम्पनीले दोलखावासीलाई एक अर्ब पाँच करोड ९० लाख रुपैयाँ बराबरको सेयर बिक्री गरेको थियो । उक्त सेयरमा दुई लाख ७६ हजार १९४ ले आवेदन दिएका थिए । रकम फिर्ता नपाएपछि दोलखावासीले गुनासो गर्दै आएका थिए । प्राप्त भएको गुनासो सम्बोधन गर्न कम्पनीले आफूले आवेदन गरेको कागजातसहित सम्बन्धित स्थानमा सम्पर्क राख्न अनुरोध गरेको हो । कम्पनीले दोलखावासीलाई बिक्री गरेको शेयरको बाँडफाँट गत कात्तिक १४ गते नै गरिसकेको छ । कम्पनीले गत कात्तिक १५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणलाई बिक्री गरेको साधारण सेयरमा नपरेको रकम फिर्ता गरिसकेको छ । रासस
नेशनल लाइफ इन्स्योरेन्स र स्वरोजगार लघुवित्तको हकप्रद सेयर सूचिकृत
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा नेशनल लाइफ इन्स्योरेन्स र स्वरोजगार लघुवित्त विकास बैंकको हकप्रद सेयर सूचिकृत भएको छ । मंगलबार मात्रै यी दुई कम्पनीको कुल एक करोड ११ लाख ६१ हजार ४५४ कित्ता सेयर नेप्सेमा थपिएको हो । सो मध्ये नेशनल लाइफ इन्स्योरेन्सको ९९ लाख ३६ हजार ४७७ कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ । त्यस्तै, स्वरोजगार लघुवित्तको पनि १२ लाख २८ हजार ९७७ कित्ता हकप्रद थपिएको छ ।
सरकारबीच समन्वय नहुँदा निर्माण व्यवसायी मारमा
काठमाडौँ । सङ्घीय, प्रदेश र स्थानीय सरकारबीच उचित समन्वय नहुँदा देशभरका निर्माण व्यवसाय मारमा परेको नेपाल निर्माण व्यवसायी महासङ्घले जनाएको छ । सरकारबीच समन्वय नहुँदा सङ्घीय सरकारले सम्झौता गरी सञ्चालनमा रहेका विभिन्न सडक, भवन, पुललगायतका परियोजनाको भुक्तानीमा अन्योल देखिएको महासङ्घले बताएको छ । भुक्तानीको समयमा सङ्घीय सरकारले प्रदेश तथा प्रदेश सरकारले सङ्घीय सरकारलाई देखाउँदा अलमलको अवस्था सिर्जना भएको महासङ्घका महासचिव रोशन दाहालले जारी गरेका छन् । परियोजनाको निर्माणमा ढिलाइ हुँदा दोषीको भागिदार निर्माण व्यवसायीलाई मात्र बनाइने गरिएको आपत्ति व्यक्त गरेको छ । निर्माण व्यवसायीले जारी गरेको बैंक ग्यारेण्टी समेत केन्द्र वा प्रदेश कुन सरकारको नाममा हुने भन्ने द्विविधा उत्पन्न भएको महासचिव दाहालले जानकारी दिएका छन् । प्रदेश सरकार सवल नभएको अवस्थामा समस्या समाधान गर्न र भुक्तानी नभएसम्म सम्झौता भएको निकाय केन्द्रीय सरकारबाटै व्यवस्थापन गर्न महासङ्घले माग गरेको छ । देशभरका करीब १५ हजारभन्दा बढी सदस्य रहेको महासङ्घ विकास निर्माणको जिम्मा लिएका व्यवसायीको छाता सङ्गठन हो । पूँजीगत बजेटको ६५ प्रतिशत खर्च गर्ने यस क्षेत्रलाई व्यवस्थित नबनाइँदासम्म विकास सम्भव नभएको बताएका छन् । रासस