विकासन्युज

अब एनआईसी एशिया बैंकबाटै आईएमई लाईफको इन्स्योरेन्स सेवा पाइने

काठमाडौं । अब एनआईसी एशिया बैंकबाटै आईएमई लाईफ इन्स्योरेन्सको जीवन बीमा सेवाहरु पाइने भएको छ । उक्त सेवा दिने सम्बन्धी मंगलबार दुई कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । यस सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले बैंकको जुनसुकै शाखाबाट सजिलै आईएमई लाईफ इन्स्योरेन्सको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले हस्ताक्षर गरेका छन् ।

कालिका लघुवित्तका अध्यक्ष बासुदेव पौडेलद्धारा सपथ ग्रहण

काठमाडौं । स्याङ्जाको वालिङ स्थित कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडका नवनियुक्त अध्यक्ष बासुदेव पौडेलले मंगलबार शपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंक पोखरा निर्देशक पोमनाथ गौतम समक्ष अध्यक्ष पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । सञ्चालक समितिमा निवर्तमान अध्यक्ष विष्णु प्रसाद पौडयालले राजिनामा दिएपछि रिक्त रहेको अध्यक्ष पदमा सञ्चालक समिति सदस्य बासुदेव पौडेल सर्वसम्मत चयन भएका हुन् । आगामी साधारण सभा सम्मको लागि पौडेल अध्यक्षको रुपमा चयन भएका हुन् । कार्यक्रममा सञ्चालक समितिका पदाधिकारीहरुको उपस्थितिमा सपथ ग्रहण भएको प्रमुख कार्यकारी अधिकृत मिन बाहोराले बताए ।

नेपाल बंगलादेश बैंक र आइएमई डिजिटलबीच वित्तीय सेवा सम्बन्धी सम्झौता

काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवद्र्धित ‘आइएमई डिजिटल’ र नेपाल बंगलादेश बैंकबीच ‘ आइएमई पे’ मोबाइल मनी मार्फत विविध मोबाइल वित्तीय सेवा सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । आइएमई डिजिटलका तर्फबाट प्रमुख संचालन अधिकृत डेनियल डी श्रेष्ठ र नेपाल बंगलादेश बैंककोे तर्फबाट प्रमुख संचालन अधिकृत सुरेश देवकोटाले सोमवार सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार नेपाल बंगलादेश बैंक लिमिटेड ‘आइएमई डिजिटल’ को बैंकिङ्ग साझेदार संस्था हुनेछ र बैंकका सेवाग्राहीहरूले चाडै नै आइएमई पे वालेटमा आफ्नो बैंक खाता लिङ्क गर्ने लगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्न सक्ने भएका छन् । साथसाथै नेपाल बंगलादेश बैंकका सेवाग्राहीहरुले ‘आइएमई पे’ मा उपलब्ध रिचार्ज, मनी ट्रान्सफर र क्यु आर मार्फत गरिने भुक्तानी सेवा पनि प्राप्त गर्न सक्ने भएका छन् ।

माछापुच्छ्रे बैंकले १४ जिल्लाका उद्यमीलाई बिना धितो कर्जा दिने, ‘किसान क्रेडिट कार्ड’ सञ्चालनमा ल्याउँदै

काठमाडाैं । माछापुच्छ्रे बैंक लिमिटेड, यूकेएड सक्षम र हेफर इन्टरनेशसनल नेपालबीच सरलीकृत लघुकर्जा सेवा सम्बन्धी संयुक्त सम्झौता भएको छ । उक्त सम्झौता अनुसार तीनै संस्थाले संयुक्त रुपमाका ग्रामीण क्षेत्रमा रहेका महिला उद्दमी तथा कृषकहरुकाे जीवनस्तरमा आर्थिक सुधारका लागी सरलीकृत लघुकर्जा दिने छन् । उक्त सम्झौतापत्रमा बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत(सीईओ) सुमन शर्मा, यूकेएड सक्षमको तर्फबाट टिम लिडर निर्मल दाहाल र हेफर इन्टरनेशनल नेपालको तर्फबाट राष्ट्रिय निर्देशक डा. शुभ नारायण महतोेले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् । कार्यक्रममा सीईओ शर्माले यस सहकार्यबाट देशभरका १४ वटा जिल्लाबाट महिला उद्यमी, कृषक तथा साना उद्यमीलाई बिना धितो सरलीकृत कर्जा दिने बताएका छन् । साथै, बैंकले कुल ४,३०० कृषक एवं महिला उद्यमीलाई ऋण प्रवाह गर्ने, ३,०००को संख्यामा खाता खोल्ने, देशभरका विभिन्न क्षेत्रबाट वित्तीय साक्षरता प्रदान गर्ने छ । त्यस्तै, बैंकले नेपालमै पहिलो पटक नौलो कर्जा सेवा “किसान क्रेडिट कार्ड”को सेवा प्रदान गर्ने उद्देश्य राखेको सीईओ शर्माले बताए । सक्षम यूकेएडको वित्तीय सहयोग प्राप्त एक्सेस टु फाइनान्स कार्यक्रम हो । यसलाई नेपालमा डिफिड नेपालका लागि लुइस बर्जरले विभिन्न स्थानीय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँगको साझेदारीमा कार्यान्वयन गर्दै आएको छ । हेफर ईन्टरनेशनल नेपाल साना किसानहरुको दिगो बिकासमा अग्रणी भुमिका खेल्ने अन्तराष्ट्रिय गैर सरकारी संस्थाको रुपमा परिचित छ । हाल हेफरले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुसँगको सहकार्यमा २२६ वटा महिला उद्यमी सहकारीहरुलाई कर्जा तथा वित्तमा पहुँच बढाउने उद्देश्यका साथ कार्यक्रमहरु गर्दै आएको छ ।

सिभिल बैंक र सूर्या लाईफ इन्स्योरेन्सबीच बैंकास्याेरेन्स सम्झौता

काठमाडौं । सिभिल बैंकले जीवनवीमा सेवालाई विस्तार गर्ने उद्देश्यले सुर्या लाईफ इन्स्योरेन्ससंग बैंकास्याेरेन्स सम्झौता भएकाे छ । उक्त सम्झौता पत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र सुर्या लाईफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरेका छन्र । सुर्या लाईफ इन्स्योरेन्सका जीवन बीमा सेवालाई विना झन्झट सिभिल बैंकका देशभर छरिएका७० शाखाहरु मार्फत उपलब्ध गरी ग्राहक वर्गलाई प्रत्यक्ष रुपमा लाभान्वित हुने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताएका छन्र । सिभिल बैंकले यस अघि जीवन बीमा कम्पनीहरु मेटलाइफ, एल.आई.सी. नेपाल, रिलायबल नेपाललाईफ इन्स्योरेन्स र यूनियनलाईफ इन्स्योरेन्स तथा थुप्रै निर्जीवन वीमा कम्पनिहरुसंग सम्झौता गरी जीवन बीमा तथा निर्जीव नवीमा सेवा उपलब्ध गराउने भएकाे छ ।

सुरेन्द्र पाण्डेले भनेः सरकारले सेयर बजारका लगानीकर्ताको संरक्षण गर्नुपर्छ

काठमाडौं । ‘सन २००८ को महामन्दी ताका जर्मनीमा बैंकहरुमा सर्वसाधारण पैसा लिन लाइन लागेका थिए, सरकारले संकट निम्तिने देखेपछि बैंकहरुले पैसा नदिए आफुले दिने घोेषणा गरिदियो, त्यो घोषणाकै कारण संकट समाधान भयो, अहिले नेपाली सेयर बजारमा संकट आएको छ, सरकारले पनि त्यस्तै केहि उपाय ल्याउनु पर्छ’, यो भनाई कुनै लगानीकर्ताको नभएर पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको हो । संसदको अर्थ समिति बैठकमा पूर्व अर्थमन्त्री पाण्डेले सेयर कर्जा हाउजिङ कर्जा जस्तो असुरक्षित नहुने भएकाले त्यसको सिमा ६० प्रतिशत पुर्याउँदा पनि फरक नपर्ने बताइँरहदा राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले टाउको हल्लाएका थिए । हाल केन्द्रिय बैंकले सेयर कर्जाको मार्जिन लेण्डिङ ५० प्रतिशतमा सिमित गरेको छ ।  सेयर बजारमा सरकारले सकारात्मक हस्तक्षेप गर्नुपर्ने धारणा पाण्डेले राखेका थिए । छलफलमा अर्थमन्त्री डा. युवराज खतिवडाले ब्याजदर वृद्धि हुँदा सेयर बजार ओरालो लागेको बताएका थिए । उनले नागरिकले बैंकमा निक्षेप राख्ने र सेयरमा लगानी गर्ने विकल्पमध्ये एउटा छान्नुपर्ने अवस्था रहेकाले अहिलेका लागि सेयर होल्ड गर्नुपर्ने सुझाव समेत दिए । पुर्व अर्थमन्त्री डा. बाबुराम भट््टराईले भैँसी देखि जोगी तर्सने र जोगीदेखि भैँसी तर्सने अवस्था सृजना भएको धारणा राखे । उनले त्यस्तो अवस्थाको तत्काल अन्त्य आवश्यक रहेको पनि बताए ।

२० प्रतिशत लाभांश दिने भएपछि नेरुडे लघुवित्तको सेयर मूल्य बढ्यो

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई २०.७९ प्रतिशत लाभांश दिने भएको छ । संस्थाले सेयरधनीलाई १५ प्रतिशत बोनस र कर सहित ५.७९ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव हालै बसेको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ । लाभांश घोषणा गरेसँगै मंगलबार संस्थाको सेयर मूल्य बढेको छ । सोमबार प्रतिकित्ता ४९० रुपैयाँ रहेको संस्थाको सेयर मूल्य मंगलबार बढेर प्रतिकित्ता ४९४ रुपैयाँ पुगेको छ । संस्थाको आगामी वार्षिक साधारणसभा पुस २० गते बस्दै छ । सो प्रयोजनको लागि पुस ५ गतेदेखि २० गतेसम्म संस्थाको बुक क्लोज हुने छ । हाल संस्थाको चुक्ता पुँजी ३४ करोड ५७ लाख रुपैयाँ रहेको छ । १५ प्रतिशत बोनस सेयर पछि संस्थाको चुक्ता पुँजी ३९ करोड ७६ लाख रुपैयाँ पुग्ने छ ।

गण्डकी विकास बैंकको शाखा अब विरेन्द्रनगरमा

काठमाडौं । गण्डकी विकास बैंकले सुर्खेतको विरेन्द्रनगरमा आफ्नो शाखाको औपचारीक उद्घाटन गरेको छ । प्रमुख अतिथि विरेन्द्रनगर नगरपालिकाका मेयर देव कुमार सुवेदीले उक्त कार्यक्रममा शाखा सञ्चालन गरेकोमा खुसी व्यक्त गर्दै आफ्नो तथा नगरपालिकाको तर्फबाट सुर्खेतमा बैंकलाई पूर्ण सहयोग उपलब्ध गराउने बताएका छन् । बैंकका संचालक कृष्णबहादुर थापा क्षेत्रीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेश कञ्चन भारती, विरेन्द्रनगर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष मोतीप्रसाद कँडेल, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य तथा सुर्खेत उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष टेक बहादुर भण्डारीले मन्तव्य राखेका थिए । बैंकले आर्थिक वर्ष २०७५/७६ को प्रथम त्रैमासमा संचालन मुनाफा रु. १५ करोड ३० लाख आर्जन गर्न सफल भएको थियो भने सोही अवधीसम्म निक्षेप रु. २३ अर्ब ७२ करोड र कर्जा तर्फ रु.२१ अर्ब २४ करोड पुर्याएको छ । बैंकले केन्द्रीय कार्यालयका साथै देशका विभिन्न ठाउँहरुमा गरी ७७ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना, सहज र सरल रुपमा कर्जा योजनाको साथमा एविविएस, एटिएम, सि एसवि, आइपिएस, मोवाईल बैकिङ्ग सेवा, लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, प्रधान कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिने बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा पनि प्रदान गर्दै आइरहेको छ ।