लगानी कोषको २२ प्रतिशत बोनस पारित, चुक्ता पुँजी एक अर्ब नाघ्याे
काठमाडौं । नागरिक लगानी कोषकोे प्रस्तावित २२.६ प्रतिशत बोनस सेयर पारित भएको छ । शुक्रबार सम्पन्न कोषको २३औँ वार्षिक साधारण सभाले उक्त प्रस्तावलाई पारित गरेको हो । साथै, सभाले पारित गरे बमाेजिम कोषले कर प्रयोजनको लागि १.१६ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्तावलाई पारित गरको छ । कोषले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट सो मात्राको बोनस सेयर वितरण गर्न लागेको छ । आर्थिक वर्ष २०७२/७३ मा कोषको नाफा २३ करोड ७२ लाख रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०७३/७४ मा २९ करोड २४ लाख रुपैया पुगेको छ । ९० करोड ३१ लाख रुपैयाँ रहेको काेषकाे चुक्ता पुँजी २२.६ प्रतिशत बोनसपछि एक अर्ब १० करोड रुपैयाँ नाघेकाे छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कोषको फण्ड १ खर्ब ११ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । सो अवधिमा कोषले १ खर्ब १० अर्ब ८९ करोड रुपैयाँ लगानी गरेको बताएको छ । साधारण सभाको अवसरमा कोष संचालक समितिका अध्यक्ष प्रा.डा रामचन्द्र भट्टराईले आगामी दिनमा सातै प्रदेशमा शाखा विस्तार गर्ने बताएका छन् । कोषको सेयर चुक्ता पुँजी कम भएकाले कोषका अध्यक्ष भट्टराईले कोष ऐनमा परिवर्तन गरी पुँजी बढाउने बताएका छन् ।
नेपाल बैकको शाखा अब रुपन्देहीको ठुटेपिपलमा
काठमाडौं । नेपाल बैकले प्रदेश नम्वर ५ रुपन्देहीमा नयाँ शाखा विस्तार गरेको छ । जिल्लाको ओम सतिया गाउंपालिका वडा नं १ ठुटेपिपलमा शाखामा पुनस्र्थापना गरेको छ । नेपाल बैकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाह र नेपाल राष्ट्र बैक सिध्दार्थनगर रुपन्देहीका निर्देशक अशोक पौडेलले एक विशेष समारोहका बीच संयुक्त रुपमा समुद्घाटन गरेका छन् । सो अवसरमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले पुनस्थापित शाखाले स्थानीय जनतालाई वचत,आय आर्जन तथा उद्यमशीलता विकासमा सहयोग पुर्याउने अपेक्षा प्रकट गरेका छन् । कार्यक्रममा स्थानीय अधिकांश वक्ताहरुले झण्डै दुई दशकपछि बैक फर्केकोमा अपार खुशी प्रकट गरेका थिए । १९९४ सालमा नेपालको अगुवा बैकको रुपमा स्थापित भई आठ दशक दुई वर्षयता नेपालको वित्तिय बजारमा गतिशील, सक्षम, दिगो वित्तिय संस्थाको रुपमा नेपालको बैकिंग विकासमा अहम भूमिका निर्वाह गर्दै आएको यस बैकले देशका ५९ जिल्लामा १५४ शाखा ८१ वटा एटिएम सेवा विन्दु मार्फत १५ लाख बढी ग्राहकलाई प्रत्यक्ष बैंकिङ्ग सेवा प्रदान गरेको छ ।
मुक्तिनाथ विकास बैंकको शाखा मोरङ्गको उर्लाबारीमा
काठमाडौं । मुक्तिनाथ विकास बैंकले मोरङ्गको उर्लाबारीमा नयाँ शाखा विस्तार गरेको छ । उर्लाबारी नगरपालिकाका मेयर खड्ग बहादुर फागुले उक्त शाखा कार्यालयको समुद्घाटन गरेका छन् । शाखा कार्यालय समुद्घाटन गर्दै प्रमुख अतिथि फागुले बैंकको बैंकिङ्ग व्यवसाय प्रबद्र्धनको जाँदै जान आग्रह गरेका छन् । मुक्तिनाथ विकास बैंकले देशैभरी आफ्ना करिब छ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग, लघुवित्त बैंकिङ्ग र ग्रामीण बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स,आस्वा, एटिएम.कार्ड सेवा, एबिबिएस जस्ता सुविधाहरु उपलब्ध गराउँदै आएको छ । शाखा कार्यालयहरुको समुद्घाटन समारोहमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत गोबिन्दबहादुर राउत, स्थानीय जन प्रतिनिधीहरु, व्यापारी, कर्मचारी, समाजसेवीको उपस्थिति रहेको थियो ।
नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको अध्यक्षमा केशवप्रसाद आचार्य
काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको अध्यक्षमा केशवप्रसाद आचार्य चयन भएका छन् । बिहीबार बसेको संस्थाको ७८औँ सञ्चालक समितिको बैठकले सञ्चालक आचार्यलाई अध्यक्षको पदमा चयन गरेको हो ।
प्राइम कमर्सियल बैंकले १६ प्रतिशत बोनस दिने, चुक्ता पुँजी ९ अर्ब नाघ्ने
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंक संचालक समितिको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ३ करोड रुपैयाँ रहेको छ । बोनस पछि बैंकको चुक्ता पुँजी ९ अर्ब ३१ करोड रुपैयाँ नाघ्ने छ । पछिल्लो समय बैंकको सेयर मूल्य प्रतिकित्ता ३३१ रुपैयाँमा कारोबार भएको थियो ।
महालक्ष्मी विकास बैंकको डलर कार्ड संचालनमा, विदेश भ्रमणमा जानेले पनि प्रयोग गर्न सक्ने
काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहक वर्गका लागि चीप प्रणालीमा आधारित महालक्ष्मी डलर कार्ड संचालनमा ल्याएकाे छ । बैंकले कार्डबाट हुने बैकिङ्ग कारोबारलाई थप सुरक्षित, विश्वसनीय तथा सहज बनाउँदै कार्डबाट हुने कारोबारको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले उक्त सेवा संचालनमा ल्याएको हो । ग्राहकले यस कार्डबाट सजिलै आवश्यक विदेशी मुद्रामा रकम झिकी प्रयोग गर्न सक्नेछन् । साथै, विदेश भ्रमणका लागि तयारी गरिरहेका ग्राहकहरुले उक्त कार्डको प्रयोग गर्न सक्ने भएका छन् । बैंकले आगामी दिनहरुमा पनि नवीन उपकरणहरु मार्फत ग्राहकहरुलाई अझ प्रभावकारी बैकिङ्ग सेवा-सुविधा प्रदान गर्ने भएको छ ।
छापियो २ लाख स्मार्ट लाइसेन्स, अब प्रदेशबाटै लाइसेन्स छपाइको काम हुने
काठमाडौं । स्मार्ट लाइसेन्स छपाइको जिम्मा पाएको मालिका इन्कर्पोरेटले २ लाख लाइसेन्स छपाई गरेको छ । ६ लाख लाइसेन्स छाप्ने जिम्मा लिएकोमा कर्पोरेटले २ लाख कार्ड छपाई गरी यातायात व्यवस्था विभागलाई हस्तान्तरण गरेको हो । विभागलाई प्राप्त लाइसेन्स वितरण प्रक्रिया सुरु भैसकेको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्ययले बताए । उनका अनुसार हाल विभागले कार्पोरेटलाई २ लाख ५० हजार डाटा उपलब्ध गराइसकेको छ । केही प्रविधिक समस्या देखिएकोले छपाई प्रक्रियामा ढिलाई भएको विभागले जनाएको छ । इन्कर्पोरेटले दैनिक २० हजार लाइसेन्स छाप्ने दाबी गरे पनि आवश्यक डाटा विभागले उपलब्ध गराउन नसकेको भन्दै थोरै संख्यामा मात्र कार्ड छपाई गरिरहेको छ । प्राविधिक समस्या हल भएपछि लाइसेन्स छपाइको संख्या बढ्ने इन्कार्पोरेटका प्रबन्ध निर्देशक सुरेद्र ढकालले बताए । इन्कर्पोरेटले अझै ४ लाख लाइसेन्स छपाई गर्न बाँकी छ । विभागले कार्पोरेटलाई पुस २८ सम्म समय थप गरेको छ । विभागले छरितो रुपमा लाइसेन्स छाप्न नसकेपछि मालिका इन्कर्पोरेट लिमिटेडलाई लाइसेन्स छाप्ने जिम्मेवारी दिएको थियाे । मालिकाले ४५ दिनमा ६ लाख स्मार्ट कार्ड लाइसेन्स छापी सक्ने गरी विभागसँग सम्झौता गरेको थियो । कार्ड छापेबापत कम्पनीले प्रतिकार्ड १५ रुपैंयाका दरले ९० लाख रुपैंया प्राप्त गर्नेछ । लाइसेन्स छापिने कार्ड, बिजुली लगायत भौतिक साधन भने विभागले नै उपलब्ध गराउने सम्झौता भएको छ । कार्ड विभागको मीनभवन स्थित कार्यालयमा इन्कर्पोरेटले कार्ड छापिरहेको छ । अब प्रदेशले नै स्मार्ट कार्ड छपाई गर्ने विभागले ७ वटै प्रदेशलाई सम्पुर्ण अधिकार प्रदान गरेको छ । प्रवक्ता उपाध्ययका अनुसार विभागले मंसिर २८ गते नै सबै प्रदेशलाई अधिकार प्रदान गरेको हो । अब सातै प्रदेशले आफैं मेसिन किनेर स्मार्ट लाइसेन्स छपाई गर्न सक्नेछ । विभागले संघीय संरचना अनुसार मोटरसाइकल लगायत सवारी साधनको स्मार्ट लाइसेन्स प्रदेशबाटै वितरण गर्न लागेको हो । साविकको १४ अञ्चल कार्यालयमा रहेका कार्यालयहरुलाई व्यवस्थापन गरेर विभागले लाइसेन्स वितरण गर्न लागेको हो । संघीय संरचना अनुसार प्रदेशका यातायात कार्यालयले लाइसेन्स छापिने स्मार्ट कार्ड देखि छाप्ने मेसिनसम्म सबै पुर्वाधारको विकास गर्नुपर्ने हुन्छ । यसको सबै व्यवस्था प्रदेश सरकारमा निहीत हुने प्रवक्ता उपाध्ययले बताए ।
सेञ्चुरी बैंकबाट सन नेपाल लाइफको इन्स्योरेन्स सेवा पाइने
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्सको सम्झौता भएको छ । सम्झौता अनुसार ग्राहकहरुले सेञ्चुरी कमर्सियल बैंकबाट उक्त कम्पनीको बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा पाउने छन् । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले हस्ताक्षर गरेका छन् ।