नेपाल र उत्तरप्रदेशबीच आर्थिक व्यापारिक तथा पर्यटन विस्तारमा जोड
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको एफएनसीसीआईको १९ सदस्यीय व्यवसायिक प्रतिनिधिमण्डलले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथस“ग भारतको लखनउमा भेटवार्ता गरेको छ । नेपाल र उत्तरप्रदेशबीच आर्थिक व्यापारिक सम्बन्ध विस्तार, लगानी आकर्षण, पर्यटन प्रवद्र्धनमा सहकार्यका क्षेत्रहरूका सम्भाव्यता पहिल्याउन एफएनसीसीआई प्रतिनिधिमण्डल यतिखेर उत्तर प्रदेशको भ्रमणमा रहेको छ । महासंघसँगको भेटवार्तामा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालको सीमा जोड्ने रणनीतिक सडकको स्तरोन्नती र भन्सार नाकामा भइरहेको ढिलाई कम गर्न कामको सुरुवात गरेको बताएका छन् । भैरहवा, नेपालगञ्जदेखि पश्चिम गौरीफन्टासम्म पुगेर विकास तथा व्यापार सहजीकरणको काम अनुगमन गर्ने जानकारी दिएका छन् । नेपाल भारत बीच हालसम्मको साँस्कृतिक तथा सामाजिक सम्बन्धलाई व्यापारिक सम्बन्धमा विस्तार गर्नु आवश्यक रहेको बताउँदै नेपाली प्रतिनिधिमण्डलले राखेका समस्याको जवाफ दिंदै मुख्यमन्त्री योगीले भनेका हुन् । भारतबाट नेपाल प्रवेश गर्ने मालबाहक गाडी १० मिनेट भन्दा बढी रोकिन नहुने साथै, गौरीफण्टा र अलिगढवा सीमानाकाको स्तरोन्नतिमा पनि उत्तर प्रदेश सरकारले तत्कालै काम थाल्ने मुख्यमन्त्री योगीले बताएका छन् । एफएनसीसीआईका अध्यक्ष राणाले दुई मुुलुक बीच भन्सार तथा सडकको विकासमा उत्तर प्रदेश सरकारले दिएको प्राथमिकताको स्वागत गर्दै नेपालको धार्मिक पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धनमा उत्तर प्रदेशको सहयोग महत्वपूर्ण हुने बताएका छन् । दुई मुलुक बीचमा व्यापार मात्र नभई पर्यटनका क्षेत्रमा पनि सहयोग आदान प्रदान हुन आवश्यक रहेको बताउँदै नेपालको मध्य तथा सुदूर पश्चिम क्षेत्र, विकासमा पछि परेको हुँदा त्यहाँको विकासमा उत्तर प्रदेश सरकारको सहयोगको अपेक्षा गरेको अध्यक्ष राणाले बताएका छन् । एफएनसीसीआईका अध्यक्ष राणाको नेतृत्वमा १९ सदस्यीय प्रतिनिधिमण्डलले मुख्यमन्त्री योगीसँग भेटवार्ता गरेको थियो ।
नेपाल जेसीज वर्ष २०१९ को अध्यक्षमा महेश पौडेल निर्वाचित, बाँकी पदमा कस्ले जिते ?
काठमाण्डौ । जनकपुरमा सम्पन्न ४५ औं राष्ट्रिय महाधिवेशनबाट नेपाल जेसीज वर्ष २०१९ को अध्यक्षमा महेश पौडेल निर्वाचित भएका छन् । प्रतिद्वन्दी सुदीपराज भण्डारीलाई पराजित गर्दै पौडेल विजयी भएका हुन् । पौडेलले इटहरी जेसीजका तर्फबाट उम्मेदारी दिएका थिए । त्यसैगरी कार्यकारिणी उपाध्यक्षमा रविन पोखरेल, श्यामसुन्दर पौडेल, रमेशचन्द्र भुसाल, र अमेश ढकाल विजयी भएको निर्वाचन समितिले जनाएको छ । यता, राष्ट्रिय उपाध्यक्ष पदमा मोहनलाल डाँगी, रूक्मणी सिग्देल, लालमणि भण्डारी, भोजराज चापागाई, इनु थापा, सुमन कृष्ण श्रेष्ठ, हरिकुमार शर्मा, कमल भण्डारी, गोकुल सापकोटा, कृष्णप्रसाद अर्याल र दिनेश बोहरा विजयी भए ।
पोखरादेखि सिमरा सिधा हवाई सेवा, प्रदेश सरकारको पहलमा होटल व्यवसायीले गरे स्वागत
पोखरा । पर्यटकीय नगरी पोखराबाट बाराको सिमरा र मनाङको हुम्दे विमानस्थलसम्म सिधा हवाई सेवा प्रदानका लागि गण्डकी प्रदेश सरकारले गरेको पहलकदमीको पश्चिमाञ्चल होटल सङ्घ पोखराले स्वागत गरेको छ । बाराबाट आएका व्यवसायी तथा सरकारी अधिकारीसँग प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले गरेको छलफलमा पोखरालाई ती दुई क्षेत्रसँग जोड्ने निर्णय गरिनु यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि स्वागतयोग्य भएको सङ्घका अध्यक्ष विकल तुलाचनले बताए । उनका अनुसार आगामी पुस २४ देखि हुम्दे विमानस्थल र माघ १५ बाट सिमरा विमानस्थलसँग पोखराबाट सिधा हवाई सेवा जोडिन लागेको हो । प्रदेश सरकारले चालू आवकोे नीति तथा कार्यक्रममा पर्यटकीय नगरी पोखरालाई सात वटै प्रदेशसँग हवाई सेवामार्फत जोड्ने विषय उल्लेख गरेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अधिकारी र गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीले जनप्रतिनिधिसँग बसेर गरेको छलफलमा उल्लिखित दुई विमानस्थलसम्म हवाई सेवा पोखराबाट सञ्चालन गर्ने निर्णय गरेका थिए । अध्यक्ष तुलाचनले झापाको भद्रपुर र नेपालगञ्जबाट समेत पोखरालाई सिधा हवाई सेवामार्फत जोड्न सरकारसँग माग गरे । आन्तरिक उडान विस्तारका साथै भारतका केही मुख्य शहरसम्म हवाई सेवामार्फत पोखरालाई जोड्न सके सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यमा टेवा पुग्ने उनले विश्वास व्यक्त गरे ।
आन्तरिक राजश्व कार्यालयमा लक्ष्यभन्दा १० प्रतिशत कम राजश्व संकलन
काठमाडौं । नेपालगञ्जस्थित आन्तरिक राजश्व कार्यालयले पाँच महीनामा लक्ष्यभन्दा कम राजश्व सङ्कलन भएको छ । कार्यालयले चालू आर्थिक वर्ष २०७५/०७६ को पाँच महीनाको अवधिमा रु एक अर्ब ३४ करोड एक लाख ५५ हजार सङ्कलन गर्ने लक्ष्य लिएकोमा रु एक अर्ब २१ करोड ६७ लाख ५७ हजार सङ्कलन गरेको कार्यालय प्रमुख प्रकाश पौडेलले जानकारी दिएका छन् । लक्ष्यभन्दा करीब १० प्रतिशत अर्थात् रु १२ करोड ३३ लाख ९८ हजार कम राजश्व सङ्कलन भएको छ । आन्तरिक राजश्व विभागले चालू आर्थिक वर्षमा कार्यालयले कूल रु तीन अर्ब ५१ करोड राजश्व उठाउने लक्ष्य लिएकाे थियाे । कार्यालयले यस अघि साविक भेरी र कर्णाली अञ्चलका १० जिल्लाबाट राजश्व सङ्कलन गर्दै आएको थियो । गत वर्ष कार्यालयले रु चार अर्ब राजश्व सङ्कलन गरेको बताइएको छ । राज्य पुनःसंरचना पश्चात् कर्णाली प्रदेशमा परेका आठ जिल्लालाई सुर्खेतमा हालै स्थापना भएको कार्यालयले हेर्दैै आएको छ । कार्यालयले यसअघि भेरी र कर्णालीका गरी १० जिल्लालाई हेर्दै आएको थियो, अहिले बाँके र बर्दियालाई मात्र हेर्दै अाएकाे छ । चालू वर्षको साउन महीनादेखि शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा शुल्क पनि हटिसक्यो, घरबहाल कर स्थानीय तहमा गइसक्यो, यसले पनि लक्ष्य पूरा हुन नसकेको जानकारी दिएका छन्र । तत्कालीन समयमा साविक भेरी र कर्णालीका १० जिल्लामा ६५ हजार करदाता थिए । त्यसमध्येका ३४ हजार करदाता सुर्खेतस्थित कार्यालयमा सरेका छन् । नेपालगञ्जस्थित कार्यालयमा बाँके र बर्दियाका पुराना ३१ हजार र नयाँ थपिएका समेत गरेर ३५ हजार ५०० करदाता पुगेका छन् । रासस
पत्रपत्रिकाको बिक्री घट्दो, आवश्यक जानकारी स्मार्ट मोबाइलबाटै लिन्छन् युवा पुस्ता
काठमाण्डौ । सूचना प्रबिधिको विकाससँगै विश्वमा हाल पत्रपत्रिका बिक्री वितरणमा कमि आएको छ । सञ्चारको सबैभन्दा पहिलो माध्यमको आजभोलि लोकप्रियतामा कमि आएको हो । पत्रपत्रिका बिक्री वितरणको केन्द्र बिन्दु मानिने काठमाडौंको धर्मपथ स्थित भूगोल पार्कमा विगत ७ वर्षदेखि पत्रपत्रिका तथा पुस्तक बिक्री गर्दै आएका राम पौडेल भन्छन्–नेपालमा प्रिन्ट मिडियाको लोकप्रियतामा कमि आएको छ, प्रबिधिको विकाससँगै पत्रपत्रिका किनेर पढ्ने क्रम घट्दो छ । उनका अनुसार आजभोलि दैनिक पत्रिकाको तुलनामा साप्ताहिक पत्रिकाको बिक्री ज्यादै न्यून छ । कान्तिपुर, राजधानी, नागरिक, अन्नपूर्ण, कारोबार, अभियान आदि पत्रिका दैनिक ५० प्रति बिक्री हुने गर्थ्याे, अहिले १५ प्रति पनि बिक्री हुदैन–उनले भने । उपत्यकाको उत्तरी भेगमा स्थित तारकेश्वर नगरपालिका , शेस्मति, सानोपुल स्थित कालीका बुक्स एण्ड स्टेशनरीका संचालक रामकृष्ण न्यौपानेले पनि पहिलाको तुलनामा पत्रिका बिक्री वितरणमा कमि आएको बताए । उनले भने–अरु दिनको तुलनामा शनिबार पत्रिकाको माग बढ्ने गरेको छ । त्यस्तै, काठमाडौंको केन्द्रविन्दु बागबजार स्थित लोकप्रिय स्टेशनरीका संचालक सरोज घिमिरेका अनुसार पहिलाको तुलनामा हाल पत्रपत्रिका बिक्री वितरणमा कमि आएको छ । पाका पुस्तामा पत्रपत्रिकाप्रति केही चाख छ, तर सामाजिक सञ्जालको विस्तारसँगै पत्रपत्रिकाको महत्व युवाहरुमा हराउँदै गएको छ–घिमिरेले भने । नेपाली समाजमा कुनै बेला पत्रपत्रिका लोकप्रिय माध्यमका रुपमा स्थापित भएको थियो । १०६ वर्षको राणा शासन चल्दै गर्दा पनि नेपालीले नै समाज र राष्ट्र प्रतिको भावनालाई व्यक्त गर्दै विभिन्न साहित्यिक पत्रपत्रिका भारतबाट प्रकाशन गरेको इतिहासमा उल्लेख छ । स्वतन्त्र रुपमा प्रकाशन एवम् वितरण गर्न प्रतिबन्ध लागेको त्यस समयमा पाठकको रुचिका कारण भारतबाट प्रकाशन भई नेपालमा बिक्री वितरण गर्ने गरिन्थ्यो । तर, अहिले समय फेरिएको छ । नेपालमा पछिल्लो १० वर्ष यता इन्टरनेटको तीब्र गतिमा विकास भएसँग युवा युवतिहरुले आफूलाई चाहिने सूचना -जानकारी हातहातमा भएको स्मार्ट मोबाइल मार्फत नै लिने गरेका छन् । यसकारण पत्रपत्रिका किनेर पढ्ने क्रम घट्दै गएको पत्रपत्रिका बिक्री बितरण गर्ने व्यवसायीहरुको धारणा रहेको छ ।
कुखुराको खुट्टा भाँचेको अभियोगमा ४ दिनदेखि प्रहरी हिरासतमा !
बाँके । कुखुराको खुट्टा भाँचेको अभियोगमा नेपालगञ्ज उपमहानगरपालिका–२१ बिर्ताका अकबाल खाँ चार दिनदेखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् । गत मङ्सिर २४ गते ढुङ्गाले हानेर कुखुराको खुट्टा भाँचिदिएको भन्दै कुखुरा लिएर जिल्ला प्रहरी कार्यालय बाँके पुगेर उनकै छिमेकी मोहम्मद रफिकले उजुरी दर्ता गराएका थिए । पटक–पटकको छलफलपछि पनि उनीहरूबीच कुरा मिल्न सकेको थिएन । प्रहरी कार्यालयमा भएको छलफलअनुसार मुद्दा दिने रफिकलाई कुखुराको मूल्य लिएर मिल्न र अकबाललाई कुखुराको मूल्य तिरेर लैजान सुझाव दिए पनि दुवैजनाले सुझाव अस्वीकार गरेपछि अकबालमाथि मुद्दा चलाइएको थियो । घटनाको दुई सातापछि अकबाल शनिबारदेखि जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा छन् । तर जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले कुखुराको खुट्टा भाँचेको आरोपमा नभई अभद्र व्यवहार गरेको उजुरीका आधारमा पक्राउ गरी मुद्दा चलाइएको बताए । प्रहरीले दुवै पक्षलाई पटक÷पटक राखेर मिलाउने प्रयास गरे पनि सहमति हुन सकेको थिएन । नागरिक अगुवाहरूले स्थानीय तहको न्यायिक समितिले हेर्नुपर्ने विषयमा प्रहरी अनावश्यक रूपमा फँसेको टिप्पणी गरेका छन् । रासस
बेलायतमा उद्योगीले कटौति गरे एक लाख ५० हजारको रोजगारी, किन बन्द भए २० हजार पसल तथा रेष्टुरेण्ट ?
लण्डन, बेलायत । संयुक्त अधिराज्य (यूके) मा समस्याग्रस्त अवस्थामा रहेका फुटकर व्यवसायीद्वारा सन् २०१८ मा एक लाख ५० हजार रोजगारका अबसरको कटौति गरेका छन् । व्यवसायिक सम्पत्तिमाथि लगाइएको उच्च कर, फुटपाथ व्यवसायको विकास र बढ्दो अनलाइन कारोबारका कारण रोजगारीका अबसरलाई कटौति गर्नुपरेको सोमबार सार्वजनिक एक अध्ययनले देखाएको छ । बेलायतमा करिब २० हजार पसल तथा रेष्टुरेण्ट बन्द भएपछि एक लाख ४८ हजार १३२ जनाको जागिरमा कटौति गरिएको बेलायतको प्रेस एसोसिएसन न्यूज एजेन्सीले सेन्टर फर रिटेल रिसर्च (सिसिअनर)जनाएको छ । बेलायतको यूरोपेली यूनियनबाट हुन लागेको बहिर्गमनले पार्ने प्रभाबबारे विभिन्न प्रक्षेपणहरू भइरहँदा फुटकर व्यवसायको भविष्य थप अन्धकारतर्फ धकेलिइरहेको बताइएको छ । “बेलायती संसदमा बहिर्गमनका प्रभावबारे छलफलहरू चलिरहेका समय व्यापार दर र निम्न वृद्धिदरका कारण फुटकर र महङ्गा पसलहरूमा निकै नकारात्मक प्रभाव परिरहेको छ,” सीआरआरका निर्देशक प्राध्यापक जोसुवा बामफिल्डले बताए । “हामीलाई के कुराको महशुस भएको छ भने यदि सरकारबाट अनलाइन व्यापारी र ‘आइ स्ट्रिट’ कुनै प्रभावकारी कदम चालिएन भने सन् २०१९ मा पनि व्यापकरूपमा रोजगारका अवसर कटौति हुने खतरा देखिएको छ ।” यो बर्ष व्यवसायिक करमा गरिएको वृद्धि तथा घरभाडामा बजेट विस्तारका कारण बेलायती फुटकर व्यापारीहरूले अनलाइन व्यापारीसँगको प्रतिस्पर्धामा पीडित बन्नुपरेको छ र यी सबै घटना ब्रेक्जिटबारे अन्यौल देखिइरहेका समय भएका छन् । रासस\एएफपी
अमेरिकाका केही सरकारी कार्यालय तीन दिन देखि बन्द, कर्मचारीले तलब पाएनन्
वासिङ्टन । इसाई धर्माबलम्बीहरुको महान पर्व क्रिश्मस मनाउन अमेरिकी सांसदहरु घर तर्फ लागेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले पेश गरेको बजेट पारित नभएपछि विवाद चर्किरहेका बेला सांसदहरु विदामा गएका हुन् । अमेरिकी संसद् र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच मेक्सिको सीमानामा पर्खाल निर्माणका लागि बजेटमा देखिएको गतिरोध समाधान नभएपछि अमेरिकाका केही सरकारी कार्यालय तीन दिन देखि बन्द रहेका छन् । बजेटमा रहेको असहमति अन्त्य गर्न अमेरिकी सिनेटरहरूबीच भएको छलफल निष्कर्ष बिहीन भएपछि सरकारी काम आंशिक रुपमा प्रभावित भएको हो । सोमबार तेस्रो दिन पनि कर्मचारीले तलब नपाएपछि कार्यालय बन्द भएको अधिकारीहरुले जनाएका छन् । संघीय सरकार अन्तर्गतका झण्डै चार लाख कर्मचारीहरु यसबाट मर्कामा परेको बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारी कामकाज सञ्चालनका लागि विभिन्न कार्यालयलाई दिइने कोषबाट सीमा क्षेत्रमा बनाउने भनिएको पर्खालका लागि छुट्याइनु पर्नेमा जोड दिएपछि समस्या भएको हो । ट्रम्पले चुनावी अभियानका बेला मेक्सिकोसँगको सीमा क्षेत्रमा गैरकानूनी रुपमा आप्रवासीको प्रवेश रोक्नका लागि पर्खाल बनाउने बाचा गर्नु भएको थियो । तर त्यो काम अहिलेसम्म शुरु हुन सकेको छैन । ट्रम्पले आफ्नो चुनावी वाचा पूरा गर्नका लागि सरकारी खर्चको कोषबाट रकम जुटाउन खोज्नुभएको हो । ट्रम्पले पर्खालका लागि पाँच अर्ब ७० करोड अमेरिकी डलर छुट्याउनु पर्ने बताउँदै आउनुभएको छ । तर यसमा सिनेट तथा हाउसका सदस्य खुशी भएका छैनन् । नयाँ सहमति नभएसम्म अमेरिका सरकारका एक चौथाई सङ्घीय कार्यालयको दैनिक कार्यसञ्चालका लागि चाहिने रकम अभाव भएको छ । यसका कारण डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी, यातायात, कृषि, विदेश र न्याय विभागअन्तर्गतका कार्यालयको काम बन्द भएको छ । खर्च अभावमा राष्ट्रिय निकुञ्ज तथा जङ्गलसँग सम्बन्धित कार्यालयका काम पनि रोकिनेछन् । सन् २०१८ मा सरकारी कार्यालयमा बजेट अभावका कारण आंशिक रुपमा काम रोकिएको घटना यो पहिलो भने होइन । यसै वर्षमा अमेरिकी सरकारी कार्यालयमा कामकाज ठप्प भएको यो तेस्रो पटक हो । रासस\एएफपी