धादिङ अष्ट्रेलिया समाजको अध्यक्षमा सविन थपलिया, १५ सदस्यीय कार्य समिति गठन
सिड्नी । धादिङ अष्ट्रेलिया समाजको अध्यक्षमा सविन थपलिया चयन भएका छन् । समाजको शनिबार सिड्नीमा सम्पन्न साधारणसभाले थपलियाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा सुरेन्द्र नेपाल, सचिवमा राधिका बानिया र कोषाध्यक्षमा विश्व थपलिया चयन भएका छन् । त्यसैगरि, सदस्यहरुमा दिनेश कार्की, दीपा अधिकारी, सुनिता त्रिपाठी, इभा अधिकारी, प्रभातकिरण नेपाल, दीपक खनाल, रामचन्द्र शर्मा, कपिल सिंखडा, शरद दाहाल, सुमन परियार र अनुपजङ्ग बानिया रहेका छन् । समाजको सल्लाहकारहरुमा मुरारी लम्साल, सन्तोष पाण्डे, जनक पाण्डे, प्रतिक्षा पाण्डे, दयाराम सिँखडा, उदय लोहनी, अर्जुन केसी र हरि अधिकारी रहेका छन् । नयाँ कार्यसमिति घोषणापछि अध्यक्ष थपलियाले समाजले आगामी दिनमा धादिङ जिल्ला र जिल्लावासीका लागि यहाँका नेपालीलाई एकीकृत गरेर सामाजिक काममा अघि बढ्ने बताएका छन् । उनले अन्य राज्य संयोजकहरु पनि छिटै चयन गरिने जानकारी दिए । साथै, नयाँ नेतृत्वले समाजलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
अल्फा बिटा इन्स्टिच्युटकाे बाह्रौं सेन्टर लाजिम्पाटमा, ५० प्रतिशत छुटको व्यवस्था
काठमाडौं । २८ औं वर्षमा प्रवेशसँगै अल्फा बिटा इन्स्टिच्युटले काठमाडौँको लाजिम्पाटमा बाह्रौं सेन्टरको उद्घाटन गरेको छ । आयोजित उक्त कार्यक्रमबीच नेपालका लागि अस्ट्रेलियाका महामहिम राजदुत पिटर बडको कर वाहुलीबाट उद्घाटन गरिएको हो । अल्फा बिटा इन्स्टिच्युट लाजिम्पाट सेन्टरमा ५० प्रतिशत सम्मको आकर्षक छुट प्रदान गरिने पनि जानकारी दिएका छन् । कार्यक्रममा न्यु साउथ वालेस्का लागि नेपालका महा वाणिज्यदुत दिपककुमार खड्का तथा आईडिपी आईएलटीएस्का कविर खड्गी लगायतका वरिष्ठ पाहुनाहरुको उपस्थिति रहेको थियो । उद्घाटन पूर्वको औपचारिक कार्यक्रम अल्फा बिटा बाह्रौं सेन्टर नजिकै रहेको होटेल अम्बासडरमा भएको हो । कार्यक्रममा बोल्दै महामहिम राजदुत पिटर बडले नेपाल र अष्ट्रेलिया बीचको मित्रता आउने दिनमा अझै प्रगाढ हुने आशा व्यक्त गर्दै नेपाली विद्यार्थीहरुका लागि अष्ट्रेलिया प्रमुख रोजाई भएकोमा बताएका छन् । कार्यक्रममा अल्फा बिटा इन्स्टिच्युटका कार्यकारी अध्यक्ष्य द्विराज शर्माले अल्फा बिटा इन्स्टिच्युट ले प्रदान गर्दै आएको गुणस्तरीय सेवालाई अझ विस्तार गरिदै लैजाने र थप सुविधा मुखी बनाइने बताएका छन् । विशिष्ट अतिथिहरुको समुपस्थितिमा भएको उक्त अल्फा बिटा लाजिम्पाट सेन्टरमा इन्टरनेशनल एजुकेशन फेयरको पनि आयोजना गरिएको छ । उक्त फेयरमा अष्ट्रेलिया लगायत अन्य देशका विभिन्न विश्व विद्यालयका प्रतिनिधिहरुले आफ्नो शैक्षिक कार्यक्रमका बारेमा विद्यार्थीहरुलाई परामर्श दिएका थिए ।
१६ उद्योगका १९ वस्तुलाई गुणस्तर चिन्ह प्रदान, यी उद्योगले पूरा गरे गुणस्तर मापदण्ड
काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागले चालु आर्थिक वर्षमा १६ उद्योगबाट उत्पादित १९ वस्तुलाई नेपाल गुणस्तर चिन्ह प्रदान गरेको छ । विभागले गुणस्तर मापदण्ड पुरा गरी उत्पादन गरेका १६ उद्योगबाट उत्पादित १९ वस्तुलाई उक्त चिन्ह प्रदान गरेको हो । विभागले अन्नपूर्ण भेजिटेबल प्रालि बाराबाट उत्पादित सोय तेल, सूर्यमुखी तेल र भेजिटेबल घीलाई गुणस्तर चिह्न प्रदान गरेको छ । वर्षा रिसाइक्लिङ प्रालि बाँकेबाट उत्पादित प्रेसर कुकर, जिटिएच उद्योग प्रालि भक्तपुरबाट उत्पादित प्रेसर कुकर, हरि उद्योग प्रालि भारतबाट उत्पादित एलपीजी रेगुलेटर, होङ्सी सिमेन्ट उद्योग नवलपरासीबाट उत्पादित पिपिसी सिमेन्ट, इन्टरनेशनल सिमेन्ट पर्साबाट उत्पादित पिएससी सिमेन्ट, इन्टरटेक पाइप एण्ड फिटिङ रुपन्देहीबाट उत्पादित पिभिसी पाइपलाई पनि विभागले गुणस्तर चिह्न प्रदान गरेको हो । यस्तै, जानकी माटा उद्योग सर्लाहीबाट उत्पादित एलपीजी रेगुलेटर, जया वागेश्वरी रोटामोडलिङ रुपन्देहीबाट उत्पादित पीभिसी पाइप, जेएसएस उद्योग प्रालि काठमाडौँबाट उत्पादित एलपीजी रेगुलेटर, कोहीनुर प्लाइउड प्रालि मोरङबाट उत्पादित प्लाइउड, नारायणी उद्योग बाराबाट उत्पादित आइरनलाई समेत गुणस्तर चिह्न प्रदान गरेको छ । विभागले नेपाल सेन्टेक्स उद्योग चितवनबाट उत्पादित वाटर स्टोरेज ट्याङ्की, राजस्थान सिलिण्डर उद्योग भारतबाट उत्पादित एलपीजी सिलिण्डर र एलपीजी भल्व फिटिङ, साउथ एशिया पोलीपाइप उद्योग लिमिटेड मकवानपुरबाट उत्पादित एचडिपीइ पाइप र सनराइज सिमेन्ट प्रालि झापाबाट उत्पादित पिपिसी सिमेन्टलाई समेत गुणस्तर चिह्न प्रदान गरेको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले गुणस्तर मापदण्ड पूरा गरी सामान उत्पादन गर्ने सबै उद्योगलाई आवेदनका आधारमा गुणस्तर चिह्न प्रदान गरिएको जानकारी दिए । “गुणस्तर जाँचका क्रममा गुणस्तर विपरित सञ्चालन भएको भेटिए इजाजतपत्र समेत रद्द गर्दछौँ,”-उनले भने । गुणस्तर ठिक हुनु भनेको प्रयोग गर्न योग्य हुनु हो । विभागले हालसम्म देशभरका ६० वस्तुमा २५० उद्योगबाट उत्पादित ३६९ प्रकारका सामाग्रीलाई गुणस्तर चिह्नको इजाजत पत्र प्रदान गरिसकेको छ । रासस
रक्सी खाने पैसा बीमा गर्न धुर्मुस-सुन्तलीको सल्लाह
डोटी । सामाजिक अभियन्त्ता तथा हास्य कलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) डोटीको पुरानो क्षेत्रीय सदरमुकाम दिपायलमा आउने भनेपछि दिपायल पिपल्ला र कार्यक्रम स्थल उद्योग वाणिज्य सङ्घको चौरमा मानिसको बाक्लो भीडभाड थियो । एकाएक चौरको मञ्चमा हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले हास्यव्यङ्ग्य गर्दै आफ्नो कला प्रस्तुत गरेपछि दिपायल पिपल्लाका दर्शकको तालीको गड्गडाहट सुनियो । दिपायल प्रवेश हुने डाक्टर केआई सिंह राजमार्ग साधुरो तथा खाल्डाखुल्डी भएको अवस्था झल्काउँदै नेताले सडक फराकिलो र सुधार नगरेको भन्दै कलाकारले व्यङ्ग्य गरे । ‘सन नेपाल लाइफ इन्स्योरेन्स’ कम्पनीले आयोजना गरेको बीमा जागरण कार्यक्रममा कलाकार सुन्तलीले पुरुषलाई लक्षित गर्दै भनिन्, “रक्सी–जाँड खाने पैसाले अब बीमा गर्नुहोस् र आफ्नो परिवार खुशी बनाउनुहोस् ।” महिलालाई भने कलाकार सुन्तलीले बिँडी–तमाखु खाने पैसाले बीमा गर्न आग्रह गरिन् । दोस्रोे पटक डोटीमा आएका घुर्मुस र सुन्तलीले कार्यक्रममा सहभागी हजारौं दर्शकलाई जाँड, रक्सी बिँडी–चुरोट खाने पैसा बचत गर्न अनुरोध गरेका थिए । धुर्मुस र सुन्तलीका कुरा सुनेर हजारौँ दर्शकले आफ्नो जीवन बीमा समेत गराएका छन् ।
प्रभु बैंकले १० प्रतिशत लाभांश दिने, सेयर मूल्य घट्यो
काठमाडौं । प्रभु बैंकले सेयरधनीलाई चुक्ता पुँजीको १०.२६३ प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ५ प्रतिशत बोनस र ५.२६३ प्रतिशत नगद(बोनस सेयर र नगद लाभांशमा लाग्ने कर समेत) गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव बैंकको १३५औँ सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । लाभांश घोषणासँगै कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । बिहीबार प्रतिकित्ता २४६ रुपैयाँमा कारोबार बन्द भएको बैंकको सेयर मूल्य आइतबार घटेर २३७ रुपैयाँसम्म झरेको छ । आइतबार दिउँसो १ः३० बजेसम्म कम्पनीको सेयर मूल्य ७ रुपैयाँले घटेर प्रतिकित्ता २३९ रुपैयाँमा कारोबार भइरहेको छ ।
पाँचथरको सुख्खाग्रस्त क्षेत्रमा खानेपानी उपलब्ध गराउन सरकारद्धारा एक अर्ब लगानी
काठमाडौं । नेपाल सरकारले करीब रु एक अर्ब लगानी गरेर पाँचथरको सुख्खाग्रस्त क्षेत्रका २२ हजार स्थानीयवासीलाई खानेपानीको सुविधा उपलब्ध गराउन लागेको छ । पाँचथरको कुम्मायक र तुम्बेवा गाउँपालिकाका सात वटा वडाका २२ हजार ७० जना स्थानीयवासीलाई खानेपानीको सुविधा उपलब्ध गराउन सरकारले ९६ करोड ५० लाख २२ हजार रुपैयाँ बजेट छुट्याएको छ । बजेटबाट अहिले लिफ्टिङ तथा पम्पिङ प्रणालीका दुई खानेपानी आयोजनाहरु निर्माण भइरहेका छन् । पानीका मुहानहरु सुक्दै गएपछि खानेपानीको चर्को अभाव झेल्दै आएका स्थानीय बासिन्दाको समस्या समाधानका लागि यासोक क्षेत्र खानेपानी आयोजना र आङ्ना मौवा क्षेत्र खानेपानी आयोजना निर्माणाधीन अवस्थामा रहेका खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पाँचथरका प्रमुख सुरतलाल चौधरीले बताएका छन्र । खानेपानीको सङ्कट भोगिरहेका सात वडाका स्थानीय बासिन्दाको जनसङ्ख्या जिल्लाको कुल जनसङ्ख्याको १० प्रतिशतभन्दा बढी हो । यासोक आयोजनाको निर्माण कार्य २०७२ पुस १६ गतेदेखि शुरु भएको उक्त आयोजनालाई प्रसारण लाइन र वितरण लाइन गरी दुई खण्डमा विभाजन गरेर काम अघि बढाइएको छ । सम्झौता मुताबिक प्रसारण लाइन निर्माणको कार्य २०७४ पुस १५ गतेभित्र सम्पन्न गर्नुपर्ने तर, परामर्शदाताको कमजोरीका कारण योजनाको लागत अनुमानमा पहुँच सडक निर्माणको योजना समावेश नहुँदा र मुहान यकिन हुन नसक्दा उत्पन्न विवादले निर्माण कार्यमा विलम्ब भएको हो । प्रसारण लाइन निर्माणको कार्य अहिले अन्तिम चरणमा पुगेको डिभिजन कार्यालयका प्रमुख चौधरीको भनाइ रहेको छ । यासोक आयोजनाबाट कुम्मायक गाउँपालिकाका वडा नं १, ३, ४ र ५ का ३ हजार ४३ परिवारका १३ हजार ८४० जना लाभान्वित हुनेछन् । यहाँ सन् २०३० सम्ममा १७ हजार १३२ जनसङ्ख्या पुर्याउने लक्ष्य आयोजनाले लिएको छ । तमोर नदीको लोरिपा दोभानमा इनार जस्तो मूल ट्याङ्की बनाई विद्युतीय पम्पिङ प्रविधिबाट सात वटा लिफ्ट ट्याङ्कीको सहायताले एक हजार ६८७ मिटर उचाइमा पानी वितरण गर्ने महत्वाकाङ्क्षी लक्ष्यका साथ कार्य भइरहेको इन्जिनीयर रवीन्द्र रायकाे भनाइ रहेकाे छ। कुल १७ किलोमिटर ४८ मिटर लामो प्रसारण लाइनबाट तमोर नदीको पानी यासोक बजार छेउको थापागाउँसम्म ल्याई वितरण गरिनेछ । नदीको सतहदेखि सात वटै लिफ्टसम्म सडक र विद्युत्को पहुँच पुर्याइएको छ भने यहाँ चौकीदार र भवनको समेत व्यवस्था हुनेछ । प्रेरा स्वामी नारायण जे.भी. ललितपुरले रु १७ करोड ३० लाख ६५ हजार ६०८ रुपैयाँको लागतमा प्रसारण लाइन निर्माणको जिम्मा लिएको हो । वितरण लाइनको ६ हजार ५४५ मिटरमा डी।आइ। पाइप प्रयोग हुनेछ भने १७ हजार ३०४ मिटर वितरण लाइनमा जीआइ पाइप प्रयोग हुनेछ । यस्तै, १ लाख ८६ हजार ६६७ मिटरमा एच.डी.पी.इ. पाइपको प्रयोग हुने आयोजनाले जनाएको छ । वितरण लाइन निर्माणको जिम्मा कन्काई–महादेव खिम्ती–स्वामी नारायण जे.भी.सुनसरीले लिएको छ । वितरण लाइनको ठेक्का सम्झौता रकम रु २२ करोड १० लाख ८ हजार रहेको छ । वितरण लाइन यसै वर्षको फागुन ५ गतेभित्र सम्पन्न गर्नुपर्ने भएपनि निर्धारित समयमा काम सम्पन्न हुने अवस्था नरहेको उपभोक्ता समितिका महासचिव अमरसिंह थापाले जानकारी दिएका छन्र । करीब २० प्रतिशत निर्माण कार्य बाँकी रहेको र आगामी वैशाखसम्ममा निर्माण कार्य सम्पन्न हुने अपेक्षा गरिएको छ । पाँचथरको साविकका यासोक, स्याबरुम्बा र रानीगाउँ गाविसलाई सरकारले २०६८ सालमा सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो । पाँचथरको साविकका आङ्ना र मौवा गाविसमा खानेपानीको समस्या हल गर्न आङ्ना मौवा क्षेत्र खानेपानी आयोजनाको निर्माण थालिएको हो । यस आयोजनाबाट तुम्बेवा गाँउपालिकाको वडा नं १, २ र ३ का १ हजार ६०४ घरधुरीका ८ हजार २३० स्थानीय बासिन्दा लाभान्वित हुनेछन् । आयोजना निर्माणपछि सन् २०३० मा यस क्षेत्रको जनसङ्ख्या १० हजार १७६ पुग्ने अनुमान गरिएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पाँचथरले आयोजना निर्माणका लागि कन्काई–प्रेरा जे.भी. काठमाडौँसँग २०७३ असार २५ गते निर्माण सम्झौता गरेको थियो । सम्झौताअनुसार २०७६ पुस २५ गतेसम्ममा निर्माण कार्य सम्पन्न गर्नुपर्ने यो आयोजनाका लागि रु ४५ करोड २० लाखमा ठेक्का सम्झौता भएको डिभिजन कार्यालयका प्रमुख चौधरीले जानकारी दिएका छ। यो आयोजनाको प्रसारण लाइनमा सात वटा लिफ्ट ट्याङ्कीहरु रहनेछन् । विद्युतीय पम्पिङ प्रविधिबाट एक ट्याङ्कीबाट अर्को ट्याङ्कीसम्म पानी पुर्याइनेछ । तमोर नदीबाट मौवा बजार छेउसम्मको प्रसारण लाइन ७ हजार २९५ मिटर लामो छ । यसमा १५० मिलिमिटरको स्टिल पाइप प्रयोग हुनेछ । यस आयोजना अन्तर्गत एक लाख २१ हजार ८९१ मिटर लामो वितरण पाइप लाइन निर्माण हुनेछ जसमा एच.डी.पी.इ. पाइपको प्रयोग हुनेछ ।यस आयोजनाका निर्माण कार्य करीब २५ प्रतिशत पूरा भएको उपभोक्ता समितिका नवनिर्वाचित अध्यक्ष देवेन्द्र खत्रीकाे भनाइ रहेकाे छ । उनकाे पाँच वटा लिफ्टिङ रिजर्भ ट्याङ्कीहरुको निर्माण कार्य सकिएको तथा सबै ट्याङ्कीहरुसम्म पहुँच मार्ग पुर्याइ सकिएको छ । आगामी फागुनसम्ममा विद्युतीकरणको कार्यसमेत सम्पन्न हुने बताइएको छ । यस आयोजनामा उपभोक्ता समिति गठन हुन नसक्दा लामो समयसम्म निर्माण कार्य प्रभावित भएको थियो । उपभोक्ता समितिलाई वैधानिकता दिएर केही महिनामै आयोजना निर्माणलाई गति दिने लक्ष्य लिइएको अध्यक्ष खत्रीले जानकारी दिएका छन् । यी दुई आयोजनाको निर्माणमा स्थानीय बासिन्दाका भने आ–आफ्नै स्वार्थ छन् । स्वार्थकै कारण यासोक आयोजनाको मुहान झण्डै एक वर्षसम्म यकिन हुन सकेन । मुहान पर्ने क्षेत्रमा पहुँच मार्गको रुपमा ग्राभेल सडक विस्तार हुने भएका कारण स्थानीय बासिन्दाले आफ्नो क्षेत्रबाट पानी ल्याउनुपर्ने माग गरेका थिए । कसलाई अध्यक्ष बनाउने भन्ने विषयमा निर्णय लिन नसक्दा आयोजना निर्माणको कार्य करीब २५ प्रतिशत सम्पन्न भएपछि मात्रै उपभोक्ता समितिले पूर्णता पायो । रासस
सुजाता जोशी आरएमडीसी लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा चयन
काठमाडौँ । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा सुजाता जोशी चयन भएकी छन् । यही पुस २२ गते बसेको सञ्चालक समितिको बैठकले जोशीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । संस्थाको यही पुस २० गते सम्पन्न २० औँ वार्षिक साधारण सभाबाट संस्थापक समूहको तर्फबाट प्रतिनिधित्व गर्ने सदस्य निर्वाचित गरेको थियो । नबिल बैंकको तर्फबाट नमिता दीक्षित, हिमालयन बैंकको तर्फबाट जयन्द्रबिक्रम शाह, नेपाल इन्भेष्टमेण्ट बैंकको तर्फबाट सुजाता जोशी र नेपाल बैंक लिमिटेडको तर्फबाट समता पन्त भट्ट सदस्यमा आगामी ४ वर्षको लागि निर्विरोध निर्वाचित भएका थिए ।
भार्गव विकास बैंकले घोषणा गर्यो ६ प्रतिशत नगद लाभांश
काठमाण्डौ । भार्गव विकास बैंकले ६ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । यही पुस २० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/०७५ को नाफाबाट वितरण गर्ने गरी नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । चुक्तापूँजी ५० करोड १६ लाखको ६ प्रतिशत बराबर हुन आउने रकम ३ करोड छयानब्बे हजार रुपैयाँ नगद लाभांशका लागि घोषणा गरिएको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई साधारण सभाबाट पारित भएपछि नगद लाभांश बितरण गरिने कम्पनीका प्र्रमुख कार्यकारी अधिकृत पुष्करराज जोशीले नेपाल स्टक एक्सचेञ्जलाई पठाएको पत्रमा उल्लेख छ ।