प्राधिकरणको नयाँ व्यवस्था: सात दिनभित्रै नयाँ मिटर
काठमाडौँ । तपाइँले नयाँ आवास तथा घरका लागि नेपाल विद्युत् प्राधिकरणसँग नयाँ मिटरको लागि आवेदन दिनुभएको छ भने अब तपाईंले लामो समय कुर्नुपर्ने छैन । प्राधिकरणले आफ्ना ग्राहकलाई सहजरूपमा सेवा दिने लक्ष्यका साथ प्रक्रिया पुगेकालाई सात दिनभित्र नयाँ मिटर दिने व्यवस्था गर्न मातहतका सबै कार्यालयलाई निर्देशन दिएको छ । प्राधिकरणले ‘सिङ्गल फेज’को नयाँ मिटर सात दिनभित्रमा जडान गरिदिन र उपभोक्तालाई कुनै पनि प्रकारको दुःख नदिन निर्देशन दिएको छ । प्राधिकरणले प्रवाह गर्ने सेवालाई अझ प्रभावकारी बनाउन सिङ्गल फेजको मिटरका लागि निवेदन दिने ग्राहकको मिटर सात दिनभित्रमा जडान गरिदिने प्रतिबद्धतासमेत जनाएको छ । कहीँ कतै त्यस्तो व्यवस्था लागू नभएको पाइए कार्यकारी निर्देशक तथा क्षेत्रीय कार्यालयका प्रमुखलाई सम्पर्क गर्नसमेत प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको छ । प्राधिकरणका अधिकांश घरायसी ग्राहकले सिङ्गल फेज मिटर प्रयोग गर्छन् । यसैगरी, थ्रि फेज र उद्योग तथा प्रतिष्ठानमा प्रयोग हुने ‘टिओडी’ नयाँ मिटर क्रमशः १५ र ३० दिनभित्र उपलब्ध मात्रै गर्नेछैन, जडान नै गरिदिनुपर्ने व्यवस्था गरिएको कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । ग्राहकलाई प्रवाह गर्ने सेवालाई अझै प्रभावकारी बनाउन र कार्यालय प्रमुख तथा कर्मचारीलाई अझै जिम्मेवार बनाउन यस्तो व्यवस्था गरिएको उनको भनाइ छ । मुलुकभर विद्युत्भार कटौतीको अन्त्यपछि प्राधिकरण विद्युत् चुहावट घटाउने, प्रशासनिक खर्च घटाउने, बाँकी बक्यौता असुल गर्ने, स्तरीय, भरपर्दो तथा सुरक्षित विद्युत् सेवा प्रदान गर्ने, ग्राहक सेवाको स्तरवृद्धि गर्ने, निर्माणाधीन जलविद्युत् तथा प्रसारण लाइनको निर्माणलाई तीव्रता दिनेलगायतका काममा केन्द्रित भएको छ । चुहावट नियन्त्रणका लागि प्राधिकरणले चोरी नियन्त्रण गर्ने र महसुल बक्यौता असुलीमा कडाइ गर्दै आएको छ । यस्तै प्राविधिक चुहावट नियन्त्रण गर्न काठमाडौँ उपत्यका र प्रमुख शहरी क्षेत्रमा पाँच हजार नयाँ ट्रान्सफर्मर जडान गर्ने कार्यलाई प्रमुख प्राथमिकतामा राखिएको छ । यस्तै वितरण लाइन तथा सबस्टेसनको सुदृढीकरणको काम पनि अगाडि बढाइएको छ । सेवा सुधारका लागि ग्राहक सेवासम्बन्धी प्रतिबद्धता हरेक कार्यालयमा टाँसी सोहीअनुसारको काम गर्ने व्यवस्थासमेत मिलाइएको छ । नयाँ मिटर जडानमा समस्या रहेको र कर्मचारीले अनावश्यक दुःख दिने गरेको तथा घुस मागेको र घुस माग्दामाग्दै प्राधिकरणका कर्मचारी समेत पक्राउ पर्न थालेपछि प्राधिकरणले नयाँ व्यवस्था गरेको हो । प्राधिकरणले ग्राहक तथा वितरण केन्द्रले कार्यसम्पादन अवधिसहितको प्रतिबद्धता पत्र फ्लेक्समा प्रिन्ट गरी सबैले देख्ने ठाउँमा राख्ने व्यवस्थासमेत मिलाएको छ । हरेक वितरण केन्द्रले आफूले प्रदान गर्ने सेवा, कार्यसम्पादन अवधि र सम्पर्क व्यक्तिको नाम तथा सम्पर्क मोबाइल नम्बर समेटिएको विवरण कार्यालय परिसरमा ग्राहकले देख्ने ठाउँमा राख्नुपर्ने नयाँ व्यवस्था गरिएको छ । नयाँ व्यवस्थाअनुसार सिङ्गल फेजको मिटर जलेमा वा बिग्रेमा एक दिनभित्र मर्मत गरिनेछ । यस्तै थ्रि फेजको तीन दिन र टिओडी १० दिनभित्रमा जडान÷मर्मत गर्ने व्यवस्था समेत मिलाइएको छ । प्राधिकरणले प्रवाह गर्ने सेवामा कुनै गुनासो भएमा सम्बन्धित केन्द्र प्रमुखको मोबाइल नम्बरमा वा प्राधिकरणको जनगुनासो व्यवस्थापनको फोन नम्बर ११५० मा पनि उजुरी गर्न सकिने व्यवस्था गरिएको कार्यकारी निर्देशक घिसिङको भनाइ छ । प्राधिकरणले विद्युत् चुहावट नियन्त्रण र सेवा प्रवाह सुधारमा केन्द्रीत भई क्षेत्रीय कार्यालय र त्यसअन्तर्गतका केन्द्र प्रमुखसँग धमाधम कार्यसम्पादन करार सम्झौतासमेत गर्दै आएको छ । रासस
आयल निगमको बार्षिकोत्सवमा मन्त्री यादवको चेतावनी-अनियमितता गर्नेको स्वास्थ्य ठीक हुँदैन
काठमाडौँ । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले नेपाल आयल निगममा अनियमितता गर्ने कसैको स्वास्थ्य ठीक नहुने चेतावनी दिएका छन् । निगमको ४९ औं वर्षमा प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा मन्त्री यादवले यस्तो आरोप लगाएका हुन् । सो अवसरमा मन्त्री यादवले भने–’चिनी उद्योगी र आयल निगमले मेरो ज्यान खाइसक्यो ।’ सोही अवसरमा मन्त्री यादवले आयल निगमको ४ अर्ब घाटा मेकअप भइरहेको बताए । उनले भने–’अब तेलको मूल्य घट्छ ।’ यता, सोही कार्यक्रममा आयल निगमका नवनियुक्त कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडलले आफू निगमको उत्थानमा खरो भएर लाग्ने बताए । उनले आफुले निगमका लागि धेरै योजना बनाएको र भाबी दिनमा लागू गर्दै जाने बताए । उनले भने–’निगमका कर्मचारीको सेवा सुबिधा बढाउने र निगममा रहेको कोषको समुचित प्रयोग गर्नेछु ।’ कार्यक्रममा पेट्रोलियम ढुवानी महासंघका सचिव विश्वप्रसाद अर्यालले ६६ प्रतिशत निजी लगानी रहेको निगमले वितरण गर्ने पेट्रोलियम पदार्थको शुद्धताका बारेमा बोलेका थिए ।
१० प्रतिशत बोनस पछि डिप्रोक्स लघुवित्तकाे सेयर मूल्य समायाेजन
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले संस्थाको १० प्रतिशत बोनस पछिको मूल्य समायोजन गरेको हो । समायोजन पश्चात संस्थाको सेयर कारोबार प्रतिकित्ता ५८२.७३ रुपैयाँ बाट शुरु भएको छ । जसको आधार मूल्य प्रतिकित्ता ४६१.८६ रुपैयाँ रहेकाे छ ।
नेपालगञ्जमा सानिमा जनरल इन्स्योरेन्सको नयाँ शाखा
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको नयाँ शाखा नेपालगञ्ज उद्घाटन भएको छ । कम्पनीका संचालक खेमराज लामिछाने तथा विशेष अतिथी नेपालगञ्ज उद्योग वाणिज्य संघका महासचिव अजय टण्डनको उपस्थितिमा उक्त शाखाको उद्घाटन गरिएको हो । नेपालगञ्ज उप महानगरपालिकाका मेयर डा. धवल शम्शेर राणाबाट उक्त उद्घाटन कार्यक्रम सम्पन्न गरेका थिए । उक्त कार्यक्रमको सभापतित्व कम्पनीका संचालक खेमराज लामिछानेले गरेका थियो भने स्वागत मन्तब्य तथा कम्पनीको वारेमा कम्पनीका सहायक महा प्रबन्धक राजु पौडेलले गरेका हुन् । कम्पनीले सबै प्रकारका निर्जिवन बीमाहरु जस्तैः मोटर, घर, कलकारखाना, जलविधुत, कृषि तथा पशुबीमा, दुर्घटना, सामुद्रिक, हवाई र लघुबीमा मार्फत देशभर बीमाको पहुँच नपुगेका क्षेत्रहरुमा समेत बीमाको सर्वसुलभ पहुँच पुराउने उद्देश्यका साथ यस शाखा कार्यालयको स्थापना गरेको छ । कम्पनीको अधिकृत पूँजी रु.१ अर्ब ५० करोड, जारी पूँजी १ अर्ब र चुक्ता पूँजी रु. ७० करोड रहेको छ । आगामी आर्थिक बर्ष भित्र रु.३० करोड बराबरको शेयर सर्वसाधारणका लागि जारी गरि चुक्ता रु.१ अर्ब पु¥याउने लक्ष्य राखेको छ ।
स्वास्थ्य संस्थामा जन्मिएका छोरीको नाममा बैंक खाता !
काठमाडौं । चितवन जिल्लाको इच्छाकामना गाउँपालिकाले स्वास्थ्य संस्थामा जन्मिएका छोरीको नाममा रकमसहितको बैंक खाता खोल्ने भएको छ । गाउँपालिकाले एक जना बालिकाको खातामा पाँच हजार जम्मा गरी अभिभावकलाई समेत कम्तिमा रु पाँच हजार जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ । भ्रुण हत्या बढ्न थालेपछि सो अभियान शुरु गरिएको गाँउपालिकाले जनाएको छ । अभिभावकको अवस्था कमजोर रहेमा दातासमेत खोजी रकम जम्मा गराउने गाउँपालिकाले जनाएको छ । गाउँपालिका प्रमुख गीता गुरुङकाअनुसार गाउँपालिका भित्रका बच्चा जन्माउने चार वटा केन्द्रमा जन्मिएका छोरीका नाममा खाता खोल्न लागिएको हो । इच्छाकामना–१ को हात्तिवाङ–४ को कुरीनटार, ६ को चण्डीभञ्ज्याङ र ७ को माथिल्लो दाहाखानीमा बर्थिङ सेन्टर रहेको छ । त्यस गाउँपालिकाको चार वटा बर्थिङ सेन्टरमा गत वर्ष जन्मिएका शिशुमध्ये २७ छोरी र १०० छोरा भएपछि आफूले बाल बचत कार्यक्रम शुरु गरेको बताएका छन् । २५ हजार १२ जनसङ्ख्या रहेको उक्त गाउँपालिकामा १३ हजारभन्दा बढी महिला रहेका छन् । सहकारी र ठूला संस्थासँग समेत छोरीको खातामा रकम राखी सहयोग अध्यक्ष गुरुङले आग्रह गरेका छन् । रु १० हजार र त्यो भन्दामाथि निक्षेप राखी उच्च शिक्षा अध्ययनका बेला उपयोग गर्ने योजना बनाइएको छ । हालका लागि गाउँपालिका भित्रका बर्थिङ सेन्टरमा मात्रै जन्मिएका छोरीको नाममा खाता खोलेपछि सो गाउँपालिकाबाट अन्यत्र गएर छोरी जन्मिएमा पनि खाता खोलिदिने योजना रहेको उजनाएका छन् । गाउँपालिकाले चालू आर्थिक वर्षका लागि रु ३० लाख बजेट महिला र बालबालिकाका लागि विनियोजन गरी महिलाको चेतना अभिवृद्धिसँगै सीपमुलक तालिमसमेत दिँदै आएको छ । रासस
हिमालयन हाइड्रो एक्स्पोको तयारी अन्तिम चरणमा, माघ ४ गते उपराष्ट्रपति पुनले उद्घाटन गर्ने
काठमाडौँ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल(इप्पान) र एक्स्पो एण्ड इभेण्ट मेनेजमेन्ट सर्भिसेज प्रालिले संयुक्त रुपमा आयोजना गर्न लागेको दोश्रो हिमालयन हाइड्रो एक्स्पो २०१९ को तयारी अन्तिम चरणमा पुगेको छ । एक्स्पोको तयारीबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा इप्पानका अध्यक्ष शैलेन्द्र गुरागाईँले तयारी अन्तिम चरणमा रहेको बताए । राजधानीको भृकुटी मण्डपमा आगामी माघ ४ गतेदेखि एक्स्पो शुरु हुनेछ । कार्यक्रमको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने तय भएको पत्रकार सम्मेलनमा बताइयो । एक्स्पोमा सहभागी हुन अहिलेसम्म ८५ भन्दा बढी प्रदर्शकहरुले १०० भन्दा बढी स्टल बुकिङ गरिसकेका छन् । जलविद्युतको क्षेत्रमा महत्वपूर्ण तथा ठूलो मानिएको यो एक्स्पो १ लाख बढीले अवलोकन गर्ने आयोजक संस्थाले अनुमान गरेका छन् । यस एक्स्पोमा चीन, भारत, अष्ट्रिया, कोरिया, स्वीडेन, जर्मनी, बुल्गेरिया र बेलायतका जलबिद्युत क्षेत्रसँग सम्बन्धित कम्पनीहरु एक्स्पोमा सहभागी हुने पत्रकार सम्मेलनमा जानकारी गराइयो । यसैगरी एक्स्पोमा सहभागी भएर जलविद्यत् आयोजनाको अवलोकन गर्न चाहनेहरुलाई हेलिकप्टर मार्फत दोर्दी करिडोर, माथिल्लो मस्र्याङ्दी, सोलु करिडोर लगायत स्थानमा निर्माणाधीन जलविद्युत आयोजनाहरुको स्थलगत अवलोकन गर्ने व्यवस्था मिलाइएको आयोजकले पत्रकार सम्मेलनमा बताए ।
२०७९ सालमा द्रुतमार्गमा गाडी गुड्छन् सरर…,सेनाले काम यसरी गर्दैछ(भिडियो हेर्नुहोस्)
काठमाडौं । राष्ट्रिय गौरवको आयोजना काठमाण्डौ-तराई/मधेस द्रुतमार्गको काम नेपाली सेनाले द्रुतगतिमा गरिरहेको छ । सेनाले पूर्ण शक्ति लगाएर आर्थिक वर्ष २०७८/०७९ मा सरकारलाई हस्तान्तरण गर्ने गरी काम गरिरहेको छ । सडक निर्माणलाई उच्च गति दिनको लागि डीपीआर बिना नै काम गरिरहेको सेनाले बताएको छ । पहिले भएको अध्ययनको आधारमा काम भैरहेको र आगामी माघसम्म डीपीआर बनिसक्ने सेनाका प्रवक्ता गोकुल भण्डारीले बताए । आर्थिक वर्ष २०७४/०७५ मा सेनाले सत प्रतिशत भौतिक र ९५ प्रतिशत वित्तीय प्रगति गरेको छ । गत आर्थिक वर्षमा सेनाले साढे १९ हजार रुख कटान गरेको छ भने लक्ष्य अनुरुप क्याम्प, सडक, जग्गा अधिग्रहण, डीपीआर निर्माणमा सत प्रतिशत नतिजा निकालेको छ । चालू आर्थिक वर्षमा सेनाले ५४ किलोमिटर सडकतर्फ ३३ प्रतिशत प्रगति भैसकेको छ । हाल सडकलाई विभिन्न खण्डमा विभाजन गरी कटिङ, फिलिङ र सब ग्रेड फर्मेशनको काम भैरहेको छ । यस्तै, हाइजवे स्ट्रक्चर, ड्रइविङ डिजाइन निर्माण गरि बिडिङको काम अन्तिम चरणमा पुगेको छ । यस्तो छ आयोजनामा सेनाको भावी लक्ष्य चालू आर्थिक वर्षमा सेनाले बहुवार्षिक ठेक्का प्याकेजहरु र कटिङ र फिलिङको काम सक्ने लक्ष्य राखेको छ । पुल र सुरुङमार्गको काम यसै वर्षमा शुरु हनेछ । सडक निर्माणको क्रममा आवश्यक पूर्वाधारको विकास गरी आगामी माघसम्म डीपीआर निर्माण सम्पन्न हुनेछ । यसैगरी विभिन्न प्रकारको संरचनाहरु कल्भर्ट, ड्रेनेज, क्रस ड्रेनेज, रिईन्फोर्स अर्थ वाल, रिटेनिङ वाल, अण्डरपास लगायत पूर्वाधारको काम हुनेछ । आर्थिक वर्ष ७७ देखि ७९ सम्म हुने काम सडक, पुल, सुरुङ, स्लोप प्रोटेक्शन, इन्टरचार्ज, टोल प्लाजा, हाइवेज सेफ्टी फर्निचर लगायत पूर्वाधारको निर्माण सकेर आर्थिक वर्ष २०७८/०७९ मा सरकारलाई बुझाउने छ । नेपाली सेनाको टोलीले तराई र पहाड जोड्ने फास्ट ट्रयाक निर्माणका लागि धमाधम पहाड फोरिरहेको छ । महाभारत, शिवालिग र चुरे पर्वत फोेरेर सेनाले देश भित्रको दुरी मेट्दैछ । प्रतिकिलोमिटर १२० घण्टाको स्पीडमा यहाँ सवारी साधनहरु गुड्नेछन् । एसियाली मापदण्डको यो सडक देशको समृद्धिमा कोशे ढुंगा सावित हुनेछ । सेनाले १० ठाउँमा क्याम्प खडा गरेर युद्धस्तरमा काम गरिरहेको जनाएको छ । याे पनि पढ्नुहाेस् पहाड फोडेर काठमाडौं र तराईरमधेश जोड्दै फास्ट ट्रयाक, युद्धस्तरमा काम गर्दै नेपाली सेना यस्तो बन्दैछ काठमाडौं निजगढ फास्ट ट्रयाक (भिडियोसहित)
लक्ष्मी बैंकद्वारा ८.५ % बोनश शेयर दिने घोषणा
काठमाडौँ । लक्ष्मी बैंकले आर्थिक वर्ष २०७४/०७५ को नाफाबाट ८.५ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको संचालक समितिको पुस २५ गते बसेको बैठकले चुक्ता पूँजीको ८.५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृति पछि साधारण सभाले पारित गरेपछि बोनश शेयर वितरण हुने बैंकले जनाएको छ ।