कंसाकारमाथी तत्काल कारवाही हुन्नः सरकार
काठमाडौ । सरकारले नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई निलम्बन नगर्ने स्पष्ट पारेको छ । मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न आयोजीत पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सञ्चार मन्त्री गोकुल बास्कोटाले लेखा समितिकै प्रतिवेदनका आधारमा कसैलाई निलम्बन र कारवाही गर्न नसकिने स्पष्ट पारेका हुन् । लेखा समितिको प्रतिवेदनमा देखिएको, बुझिएको, अनुमान गरिएको जस्ता शब्दहरु प्रयोग गरेर दोषी करार गरिएकाले कार्यान्वयन नगर्न नसकिएको स्पष्ट पारे । सरकारले गठन गरेको जाँच बुझ आयोगको प्रतिवेदन आएपछि सोही अनुसार कारवाही प्रक्रिया अघि बढाउने पनि उनले स्पष्ट पारे । सरकारले जाँचबुझ ऐन, २०२६ अनुसार वाइडबडी जहाज खरिद प्रक्रिायबारे भएको भनिएको अनियमितता छानविन गर्न आयोग गरेको छ । सो आयोगले ४५ दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने कार्यादेश पाएको छ । लेखा समितिले गठन गरेको उप समितिले वाइड वडी जहाज खरिद प्रक्रियामा ४ अर्ब ३५ करोड ५६ लाख रुपैंयाँ अनियमितता गरेको प्रतिवेदन तयार पारेको थियो । सो प्रतिवेदन पारित गर्दै लेखा समितिले निगमका महाप्रबन्धक कंसाकार र पर्यटन सचिव कृष देवकोटालाई तत्काल निलम्बन गरि कारवाही गर्न सरकारलाई निर्देशन दिएको थियो ।
माछापुच्छ्रे बैंकले पायो आईएसओ ९००१ः २०१५ प्रमाणपत्र
काठमाडौं । माछापुच्छ्रे बैंकले ‘अन्तर्रा्ष्ट्रिय गुणस्तर प्रमाणपत्र आईएसओ ९००१ː२०१५’ अवार्ड पाएको छ । बैंकलाई उक्त अवार्ड यूनाईटेड रजिष्टार अफ स्टिम(युआरएस)रयूकेएएस-यूकेले प्रदान गरेको हो । बैंकको ग्राहक केन्द्रित योजना, सेवा तथा वस्तुहरुको गुणस्तर, प्रभावकारी व्यवस्थापन शैली, ग्राहक सन्तुष्टी तथा संस्थागत सुशासन जस्ता कार्यक्षेत्रको सफल अभ्यास र सबल प्रयासले गर्दा कम्पनीले उक्त प्रमाणपत्र पाएको हो । आईएसओ ९००१ः २०१५ स्टान्डर्ड ग्राहक केन्द्रितकार्यशैली, उच्चतहको व्यस्थापनको प्रोत्साहनएवं प्रभावकारीता, प्रक्रियागत शैली र निरन्तर सुधार लगायत विविध गुणस्तरीय व्यवस्थापन सिद्धान्तहरुमा आधारित हुन्छ । उक्त आईएसओ ९००१ः २०१५ ले ग्राहकलाई निरन्तर गुणस्तरीय वस्तु तथा सेवाहरु प्रदान गराउनमा सहयोगी भुमिका निर्वाह गर्ने कम्पनीले जनाएको छ ।
तराईका चार विद्यालयमा डिसहोमले गर्याे शैक्षिक सामाग्रीसहितको झोला वितरण
काठमाडौं । डिसहोमले विपन्न परिवार तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक समाग्री वितरण गरेको छ । कम्पनीले रौतहट, बारा र पर्साको चार विद्यालयका विपन्न परिवार तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहितका झोला र न्यानो टोपी वितरण गरेको हो । नेपालको कुनाकाप्चा सम्म टेलिभिजन सिग्नल पुर्याएर संचारको क्षेत्रमा क्रान्ति नै ल्याएको डिसहोमले विद्यार्थीहरुको गुणस्तरीय शिक्षाका लागि सहयोग पुर्याउने उदेश्यले “डिसहोम उज्वल भविष्य”कार्यक्रम अन्तर्गत उक्त सामाग्री वितरण गरेको कम्पनीका ब्राण्ड म्यानेजर मनोज न्यौपानेको भनाई रहेको छ । कार्यक्रम रौतहट जिल्लाको गौरमा रहेका आधारभुत विद्यालय बालमन्दिरका विपन्न परिवार तथा जेहेन्दार ६० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहितका झोला र न्यानो टोपीवितरण गरिएको छ । डिसहोमले बारा जिल्लाको महागढिमाई नगरपालिका स्थित, श्री गढिमाई महेन्द्र उच्च माध्यमिक विद्यालयका विपन्न परिवारका तथा जेहेन्दार विद्यार्थीहरुलाई पनि शैक्षिक सामाग्री सहितका झोला तथा न्यानो टोपीवितरण गरेको छ । डिसहोमले यसै कार्यक्रम पर्सा जिल्लाको पोखरिया स्थित श्री जिल्ला उचांगल रामदेव माविकाविपन्न परिवार तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । पोखरियाका नगर प्रमुखदिप नारायण रौनियारको उपस्थितिमा शिक्षक महासंघ पर्साका अध्यक्ष पर्वत ठाकुर, वडा नं. ४ पोखरीयाका वडा अध्यक्ष लक्ष्मण शाहालगाएत नागरिक समाजका अगुवा, समाजसेवी, पत्रकार, सुरक्षानिकायका प्रतिनिधित्वमा उक्त सामान वितरण गरिएको हो । यसका अलावा शिक्षामा सवैको समान पहुँच पुगोस् भन्ने उद्धेश्यले विभिन्न विद्यालयहरुसंगको सहकार्यमा विभिन्न योजनाहरु संचालन गर्ने गरेको छ । ग्राहकलाई निरन्तर उत्कृष्ट सेवा र गुणस्तरिय दृष्य पुर्यारहेको डिसहोमले पछिल्लो समय सामाजिक उत्तरदायित्वका कामहरूलाई समेत तिब्र रूपमा अगाडी बढाइरहेको छ ।
नेपाल बैंकको अध्यक्षमा वासुदेव अधिकारी
काठमाडौं । नेपाल बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा वासुदेव अधिकारी चयन भएका छन् । कम्पनीको पुस २५ गते सम्पन्न बैंक सञ्चालक समितिको बैठकले अधिकारीलाई बैंकको अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको हो । यसअघि बैंकको अध्यक्ष पदको कार्यभार जनार्दन शर्माले सम्हालेका थिए । उनको ४ वर्षे कार्यकाल सकिएपछि बैंकले कम्पनीको नयाँ अध्यक्ष पदमा अधिकारीलाई चयन गरेको हो । नेपाल सरकार, अर्थ मन्त्रालयबाट सञ्चालक समिति सदस्यमा नियुक्त भई आएका नवनिर्वाचित अध्यक्ष अधिकारीले बैंकको आगामी चार वर्षे कार्यकाल सम्हाल्नेछन् । साथै, बैंक सञ्चालक समितिको सदस्य पदमा रहेका डम्बरबहादुर भण्डारीको पनि ४ वर्षे कार्यकाल सकिएको कम्पनीले जनाएको छ ।
राष्ट्रिय बीमा कम्पनीमा नयाँ सीईओ, डिल्लीराज अर्याललाई अर्थले काजमा पठायो
काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतमा डिल्लीराज अर्याल आएका छन् । अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखाका वरिष्ठ उपसचिव अर्याललाई मन्त्रालयले अर्को निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी दिएर पठाएको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ । तात्कालिन सीईओ बीरविक्रम रायामाझीले सरकारसँगको असन्तुष्टिपछि गत कात्तिकमा नै राजीनामा दिएपछि सो पद रिक्त थियो । यद्यपि त्यसबारे राजीनामा दिएकोबारे केही दिन अघिमात्र समाचार सार्वजनिक भएको थियो । सोलगत्तै अर्थले अर्याललार्इ कायम मुकायमको जिम्मेवारी दिएर पठाएको हो ।
गण्डकी प्रदेशमा पाँच वर्षभित्रै वैदेशिक रोजगारीको बाध्यता अन्त्य हुने : मन्त्री विष्ट
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले गण्डकी प्रदेशको पोखरामा श्रम तथा रोजगार कार्यालयको शुरुवात गरेका छन् । आगामी दिनमा यस कार्यालयबाट नै वैदेशिक रोजगारमा जाने हुनेलाई श्रम स्वीकृति प्रदान गरिने उद्देश्यका साथ यो कार्यालयको स्थापना भएको हो । मन्त्री विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत लाखौँ युवालाई रोजगार दिने लक्ष्यका साथ कार्यक्रम ल्याउन ल्याएको बताउँदै अबको पाँच वर्षभित्र वैदेशिक रोजगारमा जानुपर्ने बाध्यताको अन्त्य हुने बताएका छन् । नेपालको जनशक्तिलाई सदुपयोग गर्न सरकार दत्तचित रहेको भन्दै कृषिजन्य उद्योगको विकासका लागि मात्रै लाखौँ जनशक्ति चाहिएकाले विभिन्न क्षेत्रमा रोजगार सिर्जना गर्न सरकार प्रतिबद्ध भएर कार्य गर्ने जानकारी दिएका छन् । सङ्घीय सरकारले वैदेशिक रोजगारमा जानेको सुलभताका लागि सातवटै प्रदेशमा श्रम तथा रोजगार कार्यालय स्थापना गर्न लागेको भन्नुहुँदै ७५३ वटै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गर्न लागेको जानकारी गराएका छन् । आर्थिक, सामाजिक र सांस्कृतिक पक्षका साथै शिक्षण, आवास र रोजगारलाई संविधानको मौलिक हकमा राखिएकाले यस विषयमा सरकार सजग रहेको र मुलुकको विकास निर्माणमा जनताको मेहनत आवश्यक रहेको स्पष्ट पारेका छन् । रासस
सबैभन्दा बढी सेयरधनी भएको कम्पनीको सेयर कारोबार आइतबारदेखि खुल्दै
काठमाडौं । नेपालमा रहेका कम्पनीहरुमै सबैभन्दा धेरै शेयरधनी संख्या भएकाे अपर तामाकाेशी हाइड्राेपावर लिमिटेडकाे शेयर नेप्सेमा सूचिकृत भएकाे छ । सूचिकृत भएसँगै ७ लाख भन्दा बढी शेयरधनीमध्ये ३ लाख ३४ हजार शेयरधनीसँग रहेकाे १ कराेड ५८ लाख कित्ता शेयरकाे काराेबार आइतबारदेखि शुरु हुने निश्चित भएकाे छ । कम्पनीको १० करोड ५९ लाख कित्ता आईपीओ नेप्सेमा सूचिकृत भएको छ । कुनै पनि सूचिकृत कम्पनीको सेयर नेप्सेमा सूचिकृत भएको भोलिपल्टदेखि कारोबार शुरु गर्ने व्यवस्था रहेको छ । सोही अनुसार यस कम्पनीको पनि आगामी आइतबार अर्थात पुस २९ गतेदेखि नेप्सेमा सेयर कारोबार हुने छ । अब इच्छुक लगानीकर्ताले उक्त दिनदेखि दोश्रो बजारमा सेयर किनबेच गर्न पाउने छन् । सर्वसाधारणकाे काराेबार खुलेसँगै कर्मचारी सञ्चयकाेषका सञ्चयकर्ताहरुकाे काराेबार पनि शुरु हुने बाटाे खुलेकाे छ । अपर तामाकाेशीमा १ लाख ७६ हजार कर्मचारीकाे शेयर छ जुन जारी भएङ्काे ३ वर्ष पुरा भइसकेकाे छ । त्यस्तै २ लाख २२ हजार स्थानीयवासीकाे शेयर भने भर्खरै मात्र जारी गरिएकाेले त्याे काराेबार हुन अझै तीन वर्ष कुर्नुपर्नेछ ।
कृषिमा दिने व्यक्तिगत अनुदान रोक्दै सरकार, अर्को वर्षदेखि सहकारीलाई मात्र दिइने
काठमाडौं । सरकारद्धारा व्यवसायिक कृषिमा पेसामा व्यक्तिलाई दिने सहुलियत एवं अनुदानहरुको व्यापक दुरुपयोग भएको भन्दै सरकारले त्यस्ता अनुदानहरुलाई रोक्ने तयारी गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले त्यस्तो अनुदान प्राप्त गरेका उद्यमीहरुबाट उपभोक्ताले राहत पाएको अवस्था नदेखिएकोले त्यस्तो अनुदान नीति अर्काे वर्षदेखि खारेज गर्ने तयारी गरेको बताएका हुन् । काठमाडौंमा बिहीबारदेखि सुरु भएको सहकारी उद्यम प्रवर्द्धनसम्बन्धी राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै त्यस्ता अनुदान कार्यक्रमहरु सहकारीमार्फत् उपलब्ध गराउने र त्यस्ता सहकारीहरुले नै कति उपभोक्ताहरु कसरी लाभान्वित भए भन्ने रिपोर्ट सम्बन्धित सरकारलाई बुझाउनुपर्ने भन्दै आगामी बजेटदेखि त्यस्तो अनुदानमा व्यापक सुधार ल्याउने तयारी गरिएको बताएका हुन् । ‘ठूला र आधुनिकीकरणसहितको उद्यममा सररकारले सीधै सहयोग गर्नसक्छ तर रासायनिक मल, कृषि यन्त्र तथा शीतभण्डारलगायतमा दिइने अनुदान अब व्यक्तिलाई दिइँदैन, दुरुपयोग भयो ।’ उनले तरकारी, फलफुल, दुध, जडिबुटी लगायतका कृषिजन्य सामाग्रीको प्रशोधनका लागि २५ प्रतिशतको अनुदान दिने व्यवस्था बवेटले गरेको भन्दै त्यस्तो अनुदान लिन मन्त्रालयमा आउन आग्रह समेत गरे । कहिले दुधको अभाव हुने तर कहिले दुध नै नबिक्ने अहिलेको जस्तो अवस्था हटाउन सरकारले पाउडर दुध उत्पादन गर्न चाहेको भन्दै उनले त्यस्तो उद्योग चलाउन पनि २५ प्रतिशत पुँजीगत अनुदान दिने व्यवस्था गरिएको भन्दै सम्बन्धित कृषि सहकारीहरुलाई अग्रसर हुन आग्रह गरे । मन्त्री खतिवडाले भने । अर्थमन्त्रीले सहकारीलाई निजीभन्दा भिन्न छौं भनेर देखाउन र सामाजिक हितमा समर्पित हुन आग्रह समेत गरे । हाल सरकारले साना तथा मझौला व्यवसायले उत्पादन गरेको वस्तुहरु अन्य वस्तुहरुभन्दा १५ प्रतिशतसम्म महँगो भए पनि सरकारी निकायले सोही वस्तुको प्रयोग गर्नपर्ने नीतिगत व्यवस्था गरिएको छ । यस्तो व्यवस्थाले साना व्यवसायको संरक्षण गर्न सहयोग पुगेको दाबी खतिवडाले गरे ।