नानो कारको उत्पादन बन्द गर्ने घोषणा, ‘एउटा सपनाको अन्त्य’
मुम्बई । विश्वकै सबैभन्दा सस्तो कार मानिएको टाटा नानो कारको उत्पादन यसै वर्षदेखि बन्द हुने भएको छ । भारतकै ठूलो कार उत्पादक टाटा मोटर्सले विगत १० वर्षदेखि सानो आकारको नानो कारको उत्पादन गरिआएको थियो । भारतीय उपभोक्ताले त्यति नरुचाएको यस कारको उत्पादन लागत बढी रहेको बताइन्छ । “हामी नानो कारमा थप सुधार गर्न लगानी थप्ने स्थितिमा छैनौं,” टाटा मोटर्सका अध्यक्ष मयङ्क पारीकले हैदराबादमा बताए । टाटाले सन् २००९ मा निकै तामझामका साथ नानो कार बजारमा ल्याएको थियो । बजारमा शुरुका दिनमा यसको बजार मूल्य २ हजार २०० अमेरिकी डलर थियो । भारतीय प्रसिद्ध उद्योगी एवं टाटा समूहका पूर्व अध्यक्ष रतन टाटाको योजनामा उक्त कारको उत्पादन थालिएको थियो । ठूलो संख्याका भारतीयलाई सस्तोमा कार दिने सपना उनमा थियो । अहिले ८१ वर्ष पुगिसकेका रतनमा मोटरसाइकल, स्कुटर जस्ता दुई पाङ्ग्रे सवारी चढ्ने ठूलो संख्याका भारतीयलाई कार चढाउने तीव्र इच्छा थियो । विश्लेषकहरु पनि रतनको योजनामा सहमत देखिन्थे, किनभने लाखौं भारतीयलाई यो कार बरदान सावित हुने अपेक्षा थियो । त्यसलगत्तै, विश्वभर यो कारले “विश्वकै सस्तो कार” को उपनाम पाएको थियो । तर, यो कारको बिक्रीमा मन्दी आयो । “यो मार्केटिङमा भएको असफलता हो,” अटोकार इन्डिया म्यागजिनका सम्पादक होरमाज्द सोब्रब्जीले बताए । “यो कारलाई गरिबको कार भनियो र भारतीयहरु आफ्नो इज्जत, प्रतिष्ठाप्रति ज्यादै सचेत छन् । मोटरसाइकलको विकल्पमा यो कारले बजार लिन सक्थ्यो, तर बजार प्रबद्र्धन त्यस किसिमबाट भएन ।” यो कारमा सुरक्षा पनि अर्को चासोको विषय थियो । कारको इन्जिनमा आगलागीका कैयौं घटना भएका थिए । शुरुका दिनहरुमा यो कार प्रति महिना २५ हजार थान बिक्री गर्ने योजना थियो, तर एक दुई वर्षभित्रै यसको प्रति महिना बिक्री सयमा झरेको थियो । सन् २०१३ मा टाटा मोटर्सले बिक्री बढाउन यो कारमा स्तरोन्नति गरेको थियो । भारतमा नानो समेतका सानो मोडेलका अरु कारहरुको पनि बिक्री बढ्न सकेन । “एउटा सपनाको अन्त्य,” दैनिक पत्रिका मिन्टको मुख्य समाचारको शीर्षकमा भनिएको छ । रासस/एएफपी
नेशनल माइक्रो फाइनान्सद्धारा नयाँ कर्मचारीलाई अभिमुखिकरण
काठमाडौं । नेशनल माइक्रो फाइनान्स वित्तिय संस्थाले नयाँ कर्मचारीहरुको अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । २ दिनसम्म धादिङबेसीमा भएको उक्त कार्यक्रमको उदघाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले गरेका थिए । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले नव प्रवेशी ४४ जना कर्मचारीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । अभिमुखिकरण कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादव, जनशक्ति विभाग प्रमुख विजय घिमिरे, आन्तरिक लेखापरिक्षण विभाग प्रमुखका श्रीराम भट्टराई, संचालन विभाग प्रमुख सिताराम पंडित र लेखा विभाग प्रमुख रोशन बुर्लाकोटी विभिन्न शिर्षकहरु संस्थाको निती नियम, समुह निमार्ण तथा कर्जा लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरु, उत्प्रेरणा गर्ने तरिका, संस्थाबाट प्रवाह गरिने सेवा तथा सुविधाहरुको साथै अन्य विषयहरुमा प्रशिक्षण प्रदान गरेका थिए । चालु आर्थिक वर्षको २०७५ पुष मसान्तसम्ममा हिमाल, पहाड र तराईका गरी ५० वटा शाखा कार्यालयहरु मार्फत सातै वटा प्रदेशका ३७ वटा जिल्लाका ७० हजार भन्दा वढी विपन्न परिवारमा पहुँच पुगेको छ । हाल संस्थाको लगानीमा रहेको कर्जा २ अर्व ९१ करोड र बचत रु. ९८ करोड भन्दा वढी सदस्यहरुवाट संकलन गर्दै आएको छ ।
साधना लघुवित्तले दोश्रो त्रैमासमा कमायो ५६ लाख नाफा
काठमाण्डौ । गोरखा नगरपालिकामा केन्द्रीय कार्यालय रहेको र २०७४ मंसिर ३ गतेबाट आर्थिक कारोबार संचालन गरेको साधना लघुवित्त वित्तीय संस्थाले दोश्रो त्रैमासिक प्रगति विवरण शुक्रबार सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा ५६ लाख ८३ हजार खुद मुनाफा अर्जान गरेको छ । अघिल्लो वर्षको यही अवधिमा १५ लाख २१ हजार खुद घाटामा रहेको संस्थाले यसपटक प्रगति गरेको हो । चालु आवको प्रथम त्रैमासिकमा २३ लाख ४६ हजार संचालन मुनाफामा रहेको लघुवित्त ३ महिनामा ६५ लाख ८४ हजार रुपैयाले संचालन मुनाफा बढाई ८९ लाख ३१ हजार पुर्याएको छ । कुल ४ करोड ९० लाख चुक्ता पूँजी रहेको यो कम्पनीको खराब कर्जा शुन्य रहेको छ । त्यस्तै समीक्षा अवधिमा कस्ट अफ फण्ड १०.५१ प्रतिशत रहेको छ भने तरलता अनुपात ९.०२ प्रतिशत, इक्वीटीमा प्रतिफल २०.७७(बार्षिक) र सम्पत्तिमा प्रतिफल १.५८ प्रतिशत रहेको कम्पनीले जनाएको छ ।
डा. भेषबहादुर थापाको प्रश्नः ईपीजी प्रतिवेदन कहिले कार्यान्वयन हुन्छ ?
काठमाडौँ । पूर्व परराष्ट्रमन्त्री, भारतका लागि नेपालका पूर्व राजदूत एवम् नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी) का नेपाल तर्फका संयोजक डा. भेषबहादुर थापाले नेपाल-भारत प्रवुद्ध समुहले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्न दुवै देशलाई ध्यानाकर्षण गराएका छन् शुक्रबार रिपोर्टर्स क्लब नेपालले भारतको ७० औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको विशेष अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । डा. थापाले नेपाल र भारतबीचको सम्बन्ध थप प्रगाढ र अर्थपूर्ण बनाउनका लागि इपीजी प्रतिवेदन महत्वपूर्ण हुने दावी पनि गरे । थापाले आफूहरु इपिजी प्रतिवेदन कसरी अगाडि बढाइन्छ भन्ने प्रतिक्षामा रहेको बताए । नेपाल र भारतबाट प्रवुद्ध समुहमा आवद्ध सबैबीच समझदारी भएर प्रतिवेदन तयार पारिएको दावी गर्दै संयोजक थापाले उक्त प्रतिवेदनलाई महत्व दिन आग्रह पनि गरे । कार्यक्रममा नेपालका लागि भारतीय राजदुत मञ्जिभ सिंह पुरीले नेपाल–भारतबीचमा रहेको जनस्तरको सम्बन्ध विश्वको अरु कुनैपनि दुई देशबीच नभएको स्पष्ट पारेका छन् । उनले भने,‘भारत र नेपालबीचको सम्बन्ध बुवा, हजुरबुवादेखि लिएर भगवानसम्मको हो । द्धिपक्षीय सम्बन्ध प्राचिन सम्बन्ध हो ।’ शुक्रबार रिपोर्टर्स क्लब नेपालले भारतको ७० औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको विशेष अन्तरक्रिया कार्यक्रममा बोल्दै राजदुत पुरीले भने,‘भारत र नेपालबीच रहेको सम्बन्ध विश्वमै अरु कुनैपनि दुई देशबीच यस्तो सम्बन्ध छैन, जुन हामीबीच प्रगाढ छ ।’ यस्तै, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपाल–भारत द्धिपक्षीय सम्बन्ध ईतिहासकै राम्रो मध्येको कालखण्ड अहिले रहेको दाबी गरेका छन् । उनले भने,‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो कार्यकालको यो कालखण्डको सम्बन्ध ईतिहाँसकै राम्रो मध्येको एउटा हो ।’ नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले नेपाल–भारत सम्बन्ध बहुआयामिक भएको बताएका छन् । डा. महतले नेपाल र भारतबीचको युगौँ युगदेखिको सम्बन्ध प्रगाढ रहेको बताएका हुन् । एकीृकत राप्रपा (राष्ट्रवादी) का अध्यक्ष एवम् पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनीले भारत विश्वमै उदयीमान अर्थतन्त्रको रुपमा उदाएको बताउँदै आगामी २५ देखि ३० वर्षभित्र संसारकै ठूलो अर्थतन्त्र बन्ने बताए । उनले भने,‘२१ औं शताब्दी एशियाको हो भनिएको छ, आगामी २५ देखि ३० वर्षभित्र भारत यसको प्रमुख अंग बन्छ ।’ राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले मधेशले ईपिजीको प्रतिवेदनलाई सिधै खारेज वा ईन्कार गर्ने चेतावनी दिए । उनले भने,‘ईपिजीमा एकजना पनि बोर्डरमा बस्ने मधेशी समूदायको मान्छे सहभागी थिएनन् । बोर्डरमा के समस्या छ ? हाम्रो रोजीबेटीको सम्बन्ध भनेपछि त्यो कुन प्रकारले अघि बढ्ने हो र कुन प्रकारले बढिरहेको थियो ? र कुन प्रकारले बढ्नुपर्छ भनेर निर्णय गर्दा हाम्रो कुनै पनि सहभागिता नभएकोले त्यो प्रतिवेदन हामी कुनैपनि हालतमा स्विकार्दैनौं ।’
सुजुकी हायातको प्रत्येक मोटरसाइकल खरिदमा टिभी उपहार, ५ वर्षको वारेन्टी
काठमाडौं । नेपालका लागि सुजुकी २ पांग्रेको अधिकृत बिक्रेता भीजी अटोमोबाइलस प्रा. लि ले प्रत्येक सुजिकी हायात मोटरसाइकलको खरिदमा टिभी उपहार दिने भएको छ । कम्पनीले आफ्ना ग्राहकहरुलाई मध्यनजर गर्दै उक्त योजना बजारमा ल्याएको हो । सुजुकी हायात बाईक माइलेज धेरै दिने र कम लागतमा चढ्न सकिने बाइक हो । बाइकसँगै परिवारका सदस्यहरु पनि खुसी मनाउन सकुन् भनेर कम्पनीले सुजुकी हायात किन्दा आफ्ना ग्राहकका लागि एउटा टिभी उपहार दिने भएको छ । यस योजना माघ १ गतेदेखि माघ ३० गतेसम्म नेपाल अधिराज्यभरिका सुजुकी बाइक तथा स्कुटर शोरुमबाट सजिलै पाउन सक्नेछन् । साथै, यस योजनाले ग्राहकको मन जित्ने साथै सुजुकी जापानिज कम्पनी भएकोले ५ वर्षको वारेन्टी दिएको कुरा सुजुकी कम्पनीका मार्केटिंग म्यानेजर नवराज कोइरालाले बताए ।
ई-सेवा १० औँ वर्षमा प्रवेश, ७५ लाख सेवाग्राही
काठमाडौं । नेपालको भुक्तानी सेवा प्रदायक ‘ई-सेवा फोन पे प्रा.लि.’ दशौँ वर्षमा प्रवेश गरेको छ । २००९ को अन्त्यमा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको ई-सेवा हाल सबै ठाँउमा पुग्न सफल भएको छ । मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने ई-सेवाले यो एक दशकको अवधिमा ठुलो फड्को मारेको छ । दश वर्षको अवधिमा ई-सेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा करिब ७५ लाख बढिले सेवा लिइरहेका छन् । हाल ई-सेवाका देशभर ४५ हजार भन्दा बढि एजेन्ट (ई-सेवा जोन तथा पोइन्ट) रहेका छन् । ई-सेवाको मोबाईल एप्स् डाउनलोड गर्नेको संख्या पनि करिब १० लाख पुगिसकेको छ । यस्तै देशैभर रहेका जोन, पोइन्ट तथा मोबाईल बैंकिङ मार्फत ७५ लाख बढिले इ इसेवाका सेवा लिइरहेका छन् । ई-सेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट ई-सेवामा सहजै रकम जम्मा गर्न तथा ई-सेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ । ई-सेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट ई-सेवामा सहजै रकम जम्मा गर्न तथा बैंक खातामा रकम पठाउन सकिन्छ । मोबाईल वित्तिय सेवालाई नेपालका दुर्गम क्षेत्रसम्म पुर्याएर आम मानिसको दैनिक जनजीवन सहज भएको छ । आगामी दिनमा हरेक नेपालीको पहुँचमा पुर्याउने गरी अगाडि बढ्ने र थप सेवाहरु विस्तार गर्दै लगिने कम्पनीको भनाई छ ।
चिकित्सा शिक्षा विधेयक पारित, काँग्रेस सभापति देउवाको प्रतिक्रिया-‘अब सदन र सडकमा संघर्ष गर्छौँ’
काठमाडौँ । संसद बैठकबाट चिकित्सा शिक्षा विधेयक पारित भएको छ । कांग्रेस सांसदहरुको अवरोध कै बीच सभामुख कृष्णबहादुर महराले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई विधेयक टेबल गर्न अनुमति दिएका थिए । कांग्रेस सांसदहरुले मन्त्री पोखरेललाई रोक्न खोजे पनि मर्यादापालकले रोष्टममा पुर्याएका थिए । मन्त्री पोखरलले विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरे । लगतै शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनलाई विधेयकको अंग बनाइयोस् भन्ने प्रस्ताव पास भएको हो । सभामुख महराले समय दिएपछि विधेयक पास होस् भन्ने प्रस्ताव पेश गरे । त्यसबेला कांग्रेस सांसदहरुले नाराबाजीका गरेका थिए । तर, सत्तारुढ नेकपाको बहुमत रहेको संसदले चिकित्सा शिक्षा विधेयक पारित गरेको हो । चिकित्सा शिक्षा क्षेत्रमा सुधार ल्याउन माग गर्दै पटक पटक अनशन गर्दै आएका प्रा डा गोविन्द केसी र सरकारबीच भएको सहमतिको भावनानुसार सरकारले चिकित्सा शिक्षासम्बन्धी विधेयक संसद्मा ल्याएको हो । यसअघि बैठकमा सभामुख कृष्णबहादुर महराले राज्यको लगानी अभिवृद्धि गर्न तथा चिकित्सा शिक्षालाई गुणस्तरीय, भौगोलिक सन्तुलन र सर्वसुलभ तुल्याउने उद्देश्यले संसद्ले राष्ट्रिय चिकित्सा शिक्षासम्बन्धी ऐन ल्याएको जानकारी दिए । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिमा लामो छलफल, रस्साकस्सी र बहसपछि बहुमतका आधारमा अघि बढाइएको उक्त विधेयकलाई निकै चासोका साथ हेरिएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले सरकार र प्रा डा केसीबीच गत साउनमा भएको सहमतिको पूर्णरुपमा पालना हुनुपर्ने माग गर्दै सहमतिविपरीत विधेयक अघि बढाइएमा विरोध गर्ने चेतावनी दिँदै आएको थियो । सरकारले भने उक्त विधेयकमा प्रा डा केसीले उठाउनुभएका ९५ प्रतिशत माग सम्बोधन गरिएको जिकिर गर्दै आएको छ । पन्ध्रौँ पटकको अनशनका क्रममा सरकार र आफूबीच भएको सहमतिको पूर्ण कार्यान्वयन गर्न दवाव दिन प्रा डा केसी अहिले १६औँ पटकको अनशनमा छन् । चिकित्सा शिक्षा विधेयकको विषयलाई लिएर हुन सक्ने तनावलाई दृष्टिगत गरी सरकारले नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन वरपर सुरक्षा व्यवस्था कडा तुल्याएको थियो । उक्त विधेयक अघि बढाउन बढाउने सन्दर्भमा सहमति खोज्ने क्रममा निर्धारित समयभन्दा करीब एक घण्टा ढिलो अर्थात् अपराह्न २ बजे मात्र बैठक शुरु भएको थियो । यसअघि सभामुखले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्षका सांसद आआफ्ना स्थानबाट उठेर विरोध जनाएपछि सभामुख महराले काङ्ग्रेसका सचेतक पुष्पा भुसाललाई बोल्न समय दिएका थिए । सांसद भुसालले अलगअलग रोगसम्बन्धी मुलुकका विभिन्न भागमा स्थापना भएका ११ अस्पतालमध्ये जिपी कोइराला श्वासप्रश्वास अस्पताल, तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँकेलाई कसरी सञ्चालन गर्ने भन्नेबारे स्पष्ट पार्न माग गरिन् । उनले भनिन्, “नेपाली काङ्ग्रेस र नेताको अवमूल्यन गर्ने प्रयास भएकामा आपत्ति प्रकट गर्छौं, स्व गणेशमानसिंहलगायतका नेताको योगदानको अवमूल्यन गरेर नेपालको संवैधानिक इतिहास पूरा होला ?” सरकार दुई तिहाइको बलमा चलाउन सकिए पनि सदन दुई तिहाइका बलमा चलाउन सकिन्न भन्ने सरकार र सत्तापक्षले बुझ्न आवश्यक भएको उनले स्पष्ट गरिन् । भुसालको मन्तव्यपछि प्रतिपक्षी सांसदले उठेर रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेका थिए । बैठकमा सभामुख महराले भने, “प्रतिपक्ष दलका उठाएको विषयवस्तुमाथि सरकारलाई जवाफ दिन पहिले नै रुलिङ गरिसकेको हुँदा अवरोध नगर्नुस्, आआफ्नो स्थान ग्रहण गर्नुस्, सदनको कारवाही नियमित गर्न सहयोग गर्नुस् ।” उनले पटक पटक प्रतिपक्षसँग संसद् सञ्चालन गर्न आग्रह गरेका थिए । “यहाँहरुको विरोध पर्याप्त भएको छ, संसदीय सर्वोच्चता कायम गर्नुस्”, उनले यसरी नै आग्रह गरिरहेका थिए । उक्त विधेयक अघि बढाउन बढाउन बैठकअघि सरकार र प्रतिपक्षबीच सहमति खोज्ने प्रयास गरिएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही माघ १७ गते अपराह्न १ बजे बस्नेछ । यता, संसद बैठकपछि कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार अधिनायजादी भएको प्रतिक्रिया दिएका छन् । सभामुख महराले आफ्नो पदीय गरिमा कायम राख्न नसकेको उनले आरोप लगाए । उनले भने-‘अब सदन र सडकमा संघर्ष गर्छौँ ।’
लगानी सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओलीको आह्वान- ‘नेपालप्रति पूर्वाग्रही नबनौँ’
जुरिच (स्वीट्जरल्याण्ड) । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले नेपाल सकारात्मक बाटामा अगाडि बढेकाले प्रवासी नेपाली जनतालाई अलमलमा नपर्न र विदेशी मित्रलाई नेपालप्रति पूर्वाग्रही नहुन आग्रह गरेका छन् । जेनेभास्थित संयुक्त राष्ट्रसङ्घीय नियोगका लागि स्थायी प्रतिनिधि तथा स्वीट्जरल्याण्डका लागि नेपाली राजदूत दीपक धितालले आयोजना गरेको स्वागत समारोहमा सहभागी हुँदै प्रधानमन्त्री ओलीले आगामी चैत १५-१६ मा काठमाडौँमा हुने लगानी सम्मेलनमा सहभागी भई सफल पार्न विदेशी लगानीकर्तालाई आग्रह गरे । नेपालले हिंसा समाप्त गरेको, हतियार र लडाकू व्यवस्थापन गरेको, हिंसाको नीति परित्याग गरेको र गणतन्त्रतर्फ गई असाधारण उपलब्धि हासिल गरिसकेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘‘नेपाली जनताले राजनीतिक अधिकार मात्र नभई आर्थिक तथा सामाजिक अधिकार पनि पाएका छन्, नेपालको संविधान श्रेष्ठ छ, उत्कृष्ट छ र आवश्यकताअनुसार परिमार्जन हुनसक्छ ।’’ उनले मुलुकको आवश्यकता, गन्तव्य तथा नेपाली जनताको अठोटका विषयमा विश्व आर्थिक मञ्चमा जानकारी दिन आफू डाभोस आएको जानकारी पनि दिए । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई स्वागत गर्दै राजदूत दीपक धितालले गतिशील नेतृत्वमा नेपाल अगाडि बढिरहेको र डाभोसमा पनि नेपालले राजनीतिक समस्या समाधान गरी समृद्विको बाटामा हिँड्न चाहेको सन्देश दिएको बताए । एनआरएन स्वीट्जरल्याण्डका अध्यक्ष भूमि गुरुङले स्वीट्जरल्याण्डमा करीब चार सय नेपाली रहेको र तिनीहरु रेष्टुरेण्ट, पर्यटन व्यवसाय, चिकित्सा, इञ्जिनियरिङ तथा बैङ्किङ क्षेत्रमा कार्यरत रहेको जानकारी दिए । नेपाल स्वीट्जरल्याण्ड मैत्री सङ्घका अध्यक्ष मार्कस रुक्स्तुलले विद्यावारिधिको विद्यार्थीका रुपमा नब्बेको दशकमा नेपाल जाँदा तल्लो तहको पनि जानकारी पाएपछि नेपालीसंँग आफ्नो सम्बन्ध जोडिएको बताए । जेनेभास्थित नियोग उपस्थायी प्रतिनिधि तीर्थराज वाग्लेले नेपाल स्वीट्जरल्याण्ड सम्बन्धका विभिन्न पक्षबारे उल्लेख गरे । सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री डा युवराज खतिवडा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भटृराई, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, शिष्टाचार महापाल दीपक अधिकारीलगायत स्वीट्जरल्याण्डमा नेपाली प्रवासी विन्दु पाण्डेदेखि विभिन्न क्षेत्रमा काम गर्ने नेपाली समुदायको सहभागिता थियो । प्रधानमन्त्रीले जुरिचस्थित आधुनिक आधारभूत संरचना, विकास क्षेत्र तथा पर्यटन आकर्षणका विषयवस्तु पनि अवलोकन गरेका थिए । यसैबीच परराष्ट्रमन्त्री ज्ञवालीले इटीएच जुरिचको सुरक्षा अध्ययन केन्द्रमा प्राज्ञ तथा प्राध्यापकसँग छलफल गर्दै नेपालले शान्ति प्रक्रियामा देखाएको अग्रसरता मौलिक रहेको र यसलाई व्यापक रुपमा साझेदारी गर्न सकिने बताए । रासस