विकासन्युज

प्रभु बैंकको सीईओमा अशोक शेरचन पुनः नियुक्त

काठमाडौं । प्रभु बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा अशोक शेरचन पुनः नियुक्त भएका छन् । बैंकको माघ १० गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको सीईओ पदमा शेरचनलाई पुन: नियुक्त गरेको हो । सीईओ शेरचनले आगामी माघ १८ गतेदेखि आफ्नो दोश्रो कार्यकाल सम्हाल्नेछन् । उनले आगामी ४ वर्षसम्म बैंकको सीईओ पदको जिम्मेवारी सम्हाल्ने बैंकका कम्पनी सचिव अमित भण्डारीले बताएका छन् । प्रभु विकास बैंककाे सीईओ हुँदै प्रभु बैंककाे सीईओ भएका शेरचनकाे पहिलाे कार्यकालमा बैंकका सबै परिसूचक राम्राे भएकाे छ । उनी प्रभु बैंककाे सीईओ भन्दा बैंककाे खराव कर्जा अधिक थियाे । उनकाे कार्यकालमा खराव कर्जाकाे असुलीमा उल्लेख्य प्रगति भएकाे छ ।  बैंककाे निक्षेप, कर्जा लगायत व्यवसाय विस्तार राम्राे छ । बैंकले नाफा पनि राम्राे गरिरहेकाे छ ।

दक्षिण एसियाली महिला सम्मेलन उद्घाटन

काठमाडौं । दक्षिण एसियाली महिलाहरुको क्षेत्रीय सम्मेलनको कार्यवाहक प्रधानमन्त्री इश्वर पोख्रेलले उद्घाटन गरेका छन् ।  दक्षिण एसियाका आठै देशका महिला अधिकारकर्मीहरुको सहभागिता रहेको दुईदिने कार्यशाला गोष्ठीको उद्घाटन गर्दै कार्यवाहक प्रधाानमन्त्री पोखरेलले नेपालको संबिधान र कानूनले गरेको व्यवस्थाको कारणले पछिल्लो समय महिलाको राजनीतिक र नीतिनिर्माणको क्षेत्रमा उपस्थिति गौरव गर्न लायक रहेको बताए । यसैबर्ष नेपालमा सम्पन्न भएका निर्बाचनहरु समावेशी र लैंगिक समानताका हिसाबले इतिहास कै ठूलो राजनीतिक सफलता भएको भन्दै उनले नेपालमा महिलाहरुको समग्र क्षेत्रमा प्रतिनिधित्व बड्दै गएको र महिलाका मुद्दाहरु पनि शसक्त बनिरहेको अवस्थामा यस्ता खाले सम्मेलनले अझ उल्लेख्य रुपमा कार्य गर्न महिलाहरुलाई सहयोग पुग्ने बताए । कार्यक्रममा बोल्दै राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारीले सार्क क्षेत्रका धेरै मिल्दाजुल्दा समस्या रहेको र त्यसका निम्ती साझा समाधान खोज्न यो कार्यशालाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बिश्वास व्यक्त गरिन् । कार्यक्रममा बोल्दै अर्का अतिथि सार्कका महासचिव अहमद हुसैनले महिला शसक्तिकरण सार्कको एजेण्डाको प्राथमिकतामा रहेको बताए । युनिफिम साउथ एसियाकी पूर्वप्रमुख चाँदनी जोशीले यो सम्मेलन लैंगिकताको यात्राको पुनर्मिलन रहेको र दक्षिण एसियाली महिलाहरुले महिला हिंसा बिरुद्ध ठूलो आवाज निकाल्न एकबद्ध हुनुको बिकल्प नरहेको बताइन् ।

अण्डर थर्टी स्ट्रगलः पढाई र कमाई सँगसँगै

काठमाडौ । समान्यतया नेपालमा ३० बर्षसम्मको उमेर पढाईका लागि नै छुट्याउने गरिन्छ । अण्डर थर्टीका युवाहरु सुन्दर भविश्य निर्माणका लागि पढाईमा जुट्ने गर्छन् । बाबु-आमाकै खर्चमा मास्टर्ससम्मको अध्ययन गर्ने युवाहरु धेरै छन् । तर, बुटवल वेलवासमा एक युवा समूहले अण्डर थर्टीमा नै आफ्नो पढाई र कमाई सँगसँगै अघि बढाईरहेका छन् । वेलवासका ती १३ जना युवाले रोयल छोप नामक सुख्खा अचार बेचेर नै उद्यमी बन्ने बाटो समातेका छन् । तिनै मध्यका एक हुन् प्रकाश ज्ञवाली । उनै अण्डर थर्टी युवा ज्ञवालीको पढाई र कमाई सँगसँगैको यात्राका बारेमा केही जान्ने प्रयास गरेका छौँ । यसरी शुरु भयो प्रकाश ज्ञवालीको यात्रा प्रकाश बाग्लुङ्गबाट पढ्न भनेर बुटवल आएका थिए । उनले पहिला सिस्नो कुटेर त्यसको धुलो बेच्ने गरे । त्यसबाट नाफा आर्जन गर्न नसकेपछिसमूहगत रुपमा अचार बेच्न थाले । यसबाट भने राम्रै सफलता मिलेको उनले बताए । अचारको व्यापरसँगै पढाईलाई पनि निरन्तरता दिए, अहिले बिबिएको अध्ययन गरिरहेका छन् । २०५२ सालमा जन्मिएका प्रकाशले अहिलेसम्म ५ बर्षको व्यापारिक अनुभव हासिल गरिसकेका छन् । उनले अचार उत्पादन गरी बेच्न थालेकोपनि ३ बर्ष पूरा भयो । एउटा कोठा भाडामा लिएर व्यवसाय थालेपनि हाल सिङ्गै घर लिएका छन् । बजारमा पाईने अन्य अचार स्वादिलो हुने भएपनि स्वस्थ्यकालागि खासै हितकारी नहुने प्रकाशको संलग्न युवा समूहको बुझाई छ । स्वास्थ्यलाई समेत हानी नहोस् भनेर उनीहरुले बजारमा सुख्खा अचार बनाएर बेच्ने काम शुरु गरेको बताए । अण्डर थर्टी उमेरका युवाले कस्तो अचार बनाउँछन् ? रोयल टिमुरको छोप नामक अचार हाल बजारमा पाइने अर्गानिक अचार मध्ये एक हो । सो अचारमा हर्रो, बर्रो, अमला, तिल , टिमुर, पुदिना, ज्वानो, मटौरी, नुन, खुर्सानी, ल्वाङ्, सुकमेल, तुलसी, जिम्बु आदिको समिश्रण रहेको छ । यो अचारलाई युवाहरुले आफ्नो कमाई खाने भाँडो मात्र नभई स्वास्थ्यको हितकालागि समेत कार्य गरेको बताए । प्रकाश भन्छन्–व्यवसायले पढाईमा असर पारेको छैन, बरु सहयोग गरेको छ । आफ्नै कमाई पढाईमा खर्च गर्न पाइएकोमा उनले खुशी व्यक्त गरे । यसरी नै उनकै समूहका अन्य साथीले पनि पढाई र व्यवसाय दुवै सम्हाल्दै आएका छन् ।  नेपालको विभिन्न स्थानमा हुने मेला तथा महोत्सवमा रोयल छोपले स्टल राख्ने गरेको छ । बुटवलमा साधना नेपाल इन्डस्ट्रिजबाट अचारको उत्पादन हुँदै आएको छ । काठमाडौको कोटेश्वरमा रहेको एक गोदाम मार्फत विभिन्न पसल तथा बिग मार्टमा अचारको माग पूर्ति गरिंदै आएको छ । कहाँबाट ल्याइन्छ सरसामाग्री ? अचार निमार्णको लागि तील, तुल्सी, ल्वाङ, जिम्मु, ज्वानो जस्ता आवश्यक सामाग्री नेपालको हुम्ला, जुम्ला, मुगु, अघाखाँची, मुस्ताङ लगायतका ठाउँबाट ल्याउने गरेका छन् । पढाईबाट बचेको समयमा विद्यार्थी जीवनमा प्रायः फेसबुक चलाउने, सुत्ने, फिल्म हेर्ने जस्ता काम गरिन्छ । तर, यी युवाहरुले क्षणिक मनोरञ्जन त्यागेर आफ्नो सुन्दर भविष्यको बाटो तय गर्दै छन् । स्वदेशमा काम छैन भने धेरै युवा विदेशिएका छन्, तर प्रकाश र उनको समूहमा रहेका युवाले जस्तै स्वरोजगारको बाटो अपनाए जागिर पाइएन भनेर भौतारिने अवस्था रहँदैन ।

चितवनमा मापदण्ड विपरितका क्रसर उद्योग सञ्चालनमा रोक

काठमाडौं । मापदण्ड विपरीत सञ्चालित चितवनका चार क्रसर उद्योगलाई भरतपुर महानगरपालिकाले सञ्चालनमा रोक लगाएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदी र भरतपुर महानगरको राजश्व विभागको संयुक्त टोलीले त्रिशूली किनारका तीन र भरतपुर–२१ कोे एउटा क्रसर उद्योगलाई सञ्चालनमा रोक लगाएको हो । बन्द भएका उद्योगमा मकवानपुर इञ्जिनीयरिङ तथा म्यानुफ्याक्चरिङ कम्पनी प्रालिले भरतपुर महानगरपालिका–२९ को जुगेडी बजारमा सञ्चालन गरेको क्रसर उद्योग, २९ नं वडाकै भोर्लेस्थित महानगर बालुवा तथा क्रसर उद्योग रहेका छन् । त्यसैगरी कविलासको अस्फाल्ट उद्योग र भरतपुर महानगरपालिका २१ पार्वतीपुरमा रहेको भवानी विल्डर्स कन्ट्रक्सनमार्फत सञ्चालित अस्फाल्ट उद्योग सञ्चालनमा रोक लगाइएको छ । अस्फाल्ट उद्योगले गिटी र बालुवाको प्रशोधन गर्ने गरेको थियो । मापदण्डविपरीत सञ्चालित क्रसर उद्योगलाई बन्द गराइएको प्रमुख प्रशासकीय अधिकृतसुवेदीले जानकारी दिएका छन् । नारायणगढ मुग्लिन सडक निर्माणको नाममा दर्ता नगरी र कार्यविधि विपरीत चलेको सुवेदीको भनाई छ । महानगरले स्थानीय प्रहरी प्रशासनको सहयोगमा ती उद्योग बन्द गराएको हो । क्रसर सञ्चालनसम्बन्धी हालै तयार भएको प्रदेश कानुन अनुसार स्थानीय तहमा इजाजत नलिई, कर नतिरी उद्योग चलाउन नपाउने व्यवस्था छ। नदीनालाबाट वर्षायामको समयमा भारतीय सिमानाबाट तराईमा ५०० मिटर, पहाडी क्षेत्रमा ३०० मिटर, हाइटेन्सन लाइनबाट १०० मिटर, घना वन निकुञ्ज र धार्मिक क्षेत्रबाट दुई किमी टाढादेखि नदीजन्य उत्खनन गर्न पाइने कानूनमा उल्लेख छ । रासस

सार्वजनिक यातयातमा यौन हिंसा भोग्नु वा देख्नु भयो ? ११४५ मा डायल गर्नुहोस्

काठमाडौं। सार्वजनिक यातयातमा यौन हिसां भएमा र देखेमा अब ११४५ मा तुरुन्त सम्पर्क गर्नुहोला। यौन हिसां हामीहरुले सुन्दै, देख्दै र भोग्दै आईरहेका कुरा हो। हरेक दिन सार्वजनिक यातयातमा यात्रा गर्दा कोही न कोही यौन हिंसाको शिकार बनिरहेका हुन्छन्। यौन हिंसाको शिकार महिला, पुरुष दुवै हुनेगर्छन् तर तुलनात्मक महिलाहरु बढी यसको शिकार हुने गरेको देखिन्छ।

एनआईसी एशियाद्वारा प्रहरी कार्यालय सुनसरीलाई सहयाेग

काठमाडौं । एनआईसी एशियाद्वारा प्रहरी कार्यालय सुनसरीलाई व्यारीकेड चेकिङ्ग बोर्ड हस्तान्तरण गरेको छ  । उक्त कार्यक्रममा एनआईसी एशिया बैंकका उप प्रादेशिक कार्यालय कोशीका प्रमुख लक्ष्मण चालिसेले जिल्ला प्रहरी कार्यालय सुनसरीलाई हस्तान्तरण गरेका थिए । एनआईसी एशिया बैंकले जिल्ला प्रहरी कार्यालय सुनसरीलाई सचेतनात्मक सुचनाहरु सहितका १४ थान रोड व्यारीकेडहरु एवंम १४ थान प्रहरी चेकिङ्ग बोर्ड हस्तान्तरण गरेको हो । मुलुकभर २७५ वटा शाखा कार्यालयहरु मार्फत देशका विभिन्न स्थानहरु सहयोग गर्दै आईरहेको एनआईसी एशिया बैंकका २८९ एटिएम, ३९ वटा एक्स्टेन्सन काउण्टर एवंम २३ वटा शाखारहित बैंकिङ्गमार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

संखुवासभाको गुफापोखरी हिउँले ढाकेर सेताम्मे [फोटोफिचर]

काठमाडौं। तीन वटा जिल्ला संखुवासभा, तेह्रथुम र ताप्लेजुङको संगम स्थल गुफापोखरी हिउँले भरिएको छ। नेपालको स्विजरल्यान्डको रुपमा परिचित गुफापोखरीमा हिउँ परेपछी हिउँ खेल्न आउने मानिसहरुको संख्या बढ्दो छ। यहाँ शुक्रबार बिहान ११ बजेको तापक्रम ३ डिग्री सेल्सियस रहेको छ। गुफापोखरी नेपालको संखुवासभा जिल्ला, नुनढाकी गाविसमा अवस्थित पर्यटकीय महत्वको स्थान हो। लालीगुराँसको राजधानी भनेर चिनिने धनकुटा, तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सङ्गमस्थल तीनजुरे मिल्के जलजले (टीएमजे) क्षेत्रमा २९०० मिटरको उचाइमा गुफापोखरी रहेको छ। तस्विर – छिरिङ लामा भोटे   तस्विर – छिरिङ लामा भोटे   तस्विर – छिरिङ लामा भोटे   तस्विर – छिरिङ लामा भोटे   तस्विर – छिरिङ लामा भोटे   तस्विर – छिरिङ लामा भोटे   तस्विर – छिरिङ लामा भोटे   तस्विर – छिरिङ लामा भोटे  

अघि बढ्यो २ अर्ब ३ करोडको तराई मधेश समृद्धि कार्यक्रम, ६ महिनामै खर्चनुपर्ने

काठमाडौं । २ अर्ब ३ करोड ६ लाख रुपैंयाँको तराई मधेश समृद्धि कार्यक्रम अघि बढेको छ । अर्थमन्त्रालयले बजेट अख्तियारी दिएसँगै संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्यक्रम अघि बढाउन पत्रचार गरेको कार्यक्रमका प्रमुख रामहरी शर्माले बताए । सरकारले चालु आर्थिक बर्षको बजेट मार्फत तराई मधेश समृद्धि कार्यक्रम अघि सारेको थियो । तराई मधेशका २१ वटा जिल्लामा ४ सय वटा आयोजना तथा कार्यक्रम छनौट गरिएको छ । स्थानीय तहरुको न्युनतम १० प्रतिशत लागत सहभागीता अनिवार्य गरिएको कार्यक्रमले ८ वटा क्षेत्रलाई प्राथमिकतामा राखेको छ । तराई मधेश समृद्धि कार्यक्रम सञ्चालन कार्यबिधी, २०७५ अनुसार कार्यक्रम सञ्चालन हुनेछ । सामुहिक आवास भवन, सामुदायिक पूर्वाधार, सडक, कृषि विकास, खानेपानी तथा सरसफाई, सिँचाई तथा नदि नियन्त्रण, उर्जा र विपद न्युनीकरण पुर्वाधारका कार्यक्रम छानिएका छन् । अब सम्बन्धीत स्थानीय तहले न्युनतम १० प्रतिशत लागत सहभागीता गराएर कार्यक्रमको ठेक्का लगाउन सक्नेछन् । त्यसको भुक्तानी केन्द्र सरकारले गर्नेछ । चालु आर्थिक बर्षभित्रै आयोजना सम्पन्न गर्नुपर्ने व्यवस्था रहेको र कामका आधारमा भुक्तानी दिने कार्यक्रमका प्रमुख शर्माले जानकारी दिए । ‘बाँकी ६ महिनामा काम सम्पन्न गर्नुपर्ने व्यवस्था छ, जति काम हुने हो त्यति मात्रै भुक्तानी हुनेछ, काम गर्न नसकेमा पैसा केन्द्रम तानिनेछ’, शर्माले भने । न्युनतम २५ लाखदेखि २ करोडसम्मका आयोजना छानिएका छन् । स्थानीय तहरुको लागत सहभागीता सुनिश्चित गरिएकाले गुणस्तरमा समस्या नआउने शर्माले जानकारी दिए । तराई मधेशमा समानुपातिक विकास गराउने उदेश्यसहित सरकारले चालु आर्थिक बर्षको बजेटमा तराई मधेश समृद्धि कार्यक्रम अघि सारेको थियो ।