राजश्व सचिव घिमिरे भन्छन्-आर्थिक गतिबिधि अत्याधिक रुपमा बढ्नु पर्यो
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले अन्तर्राष्ट्रिय भन्सार दिवस–२०१९ को अवसरमा एक कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै राजश्व सचिव लालशंकर घिमिरेले आर्थिक गतिबिधि अत्याधिक रुपमा बढ्नुपर्ने, ब्यापारको सहजीकरण सहज ढंगले हुनुपर्ने तथा उपभोक्ताहरुको संरक्षण हुनुपर्ने कुरा बताए । यी तिन कुराको सुदृढिकरण हुन बित्तिकै राजश्व संकलन स्वतः हुने कुरामा समेत उनले जोड दिए । नेपालको कूल ग्राहस्थ उत्पादन ३४ खर्ब जति रहेको र २३ खर्ब भन्दा बढीको उपभोग नेपालमा हुने कुरा समेत उनले बताए । नेपाल चेम्बर अफ कमर्स जस्ता नीजि व्यवसायीहरुको छाता संगठनलाई मानार्थ भन्सार अधिकृत बनाउन आफुहरु तयार रहेको र उक्त संस्थाहरुले त्यसको मर्यादा जोगाउन आफ्नो तर्फबाट पुरा शक्ति लगाउनुपर्ने कुरामा समेत उनले जोड दिए । भंसार बिभागका महानिर्देशक तोयम रायाले अबको भंसार ज्ञानमा आधारित, नवीनतम, प्रविधिमा आधारित र व्यवस्थित हुनुपर्ने कुरामा जोड दिए । सरकारी निकायबीच तथा सरकारी र नीजि संस्थाबिचको समन्वयले मात्रै नेपालको भंसारलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन सकिने कुरामा उनले जोड दिए । जति मुल्यमा र जुन ठाउंबाट सामान ल्याएको हो, त्यसलाई पुष्टि गर्ने दस्ताबेजहरु भएमा कारोबार मुल्यले सजिलै मान्यता पाउने कुरा समेत उनले उल्लेख गरे । कार्यक्रममा स्वागत मन्तब्य व्यक्त गर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले भने–सरकारी तहमा हुने अन्तर निकायको समन्वयको अभावमा व्यवसायीहरुले दुख पाएकोले यसतर्फ सरकारले ध्यान दिन आवश्यक छ ।
देशको पूँजी बाहिरिए आर्थिक समृद्धि सम्भव छैनः गभर्नर नेपाल
रुपन्देही । आम नागरिकलाई बैंकिङ सूचना प्रवाह गर्ने उद्देश्यले ‘बैंकिङ, बीमा, पूँजीबजार’ प्रदर्शनी आजदेखि बुटवलमा शुरु भएको छ । “वित्तिय जागरणः राष्ट्रिय अभियान’ कार्यक्रमअन्तर्गत मिडिया इन्टरनेशनलको आयोजना तया नेपाल राष्ट्र बैंकको प्रवद्र्धनमा प्रदर्शनी आयोजना गरिएको हो । प्रदर्शनीको एक समारोहका बीच उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका गर्भनर डा चिरञ्जीबी नेपालले मुलुकको अर्थतन्त्र बलियो बनाउन उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनु पर्ने बताए । उनले खाद्यान्न आयातमा देशको ठूलो पूँजी बाहिरिएकाले यसलाई रोक्न स्वदेशमै लगानी गरी उत्पादन बढाउनु पर्ने धारणा राखे । “पछिल्लो पाँच महिनाको अवधिमा पाँच अर्बको तरकारी र नौ अर्ब बराबरको चामल आयात गरिएको छ ।”, उनले भने, “देशको पूँजी बाहिरिएर आर्थिक समृद्धि सम्भव छैन ।” उनले आम नागरिकमा बैंकसँग कारोबार गर्ने बानीको विकास गरी वित्तीय पहुँच विस्तार गर्न जरुरी रहेको बताए । कार्यक्रममा नेपाल बैंकर्स सङ्घका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले वित्तीय साक्षरताले नै वित्तीय पहुँच बढ्ने धारणा राखे । डेभलपमेन्ट बैंकर्स एशोसिएशनका उपाध्यक्ष प्रकाश पौडेलले प्रदेशमा थप उद्यमीको सिर्जना गरी उत्पादनमा प्रदेश नं ५ अगाडि छ भन्ने सन्देश दिनु जरुरी रहेकोमा जोड दिए । वित्तीय जागरणः राष्ट्रिय अभियानका संयोजक माधव निर्दोषले बैंकिङ सूचना प्रवाह गर्ने तथा आम नागरिकको बैंकिङ पहुँच बढाउन प्रदर्शनी आयोजना गरिएको बताए । बैंकिङ सूचना प्रवाह गर्ने तथा आम नागरिकको बैंकिङ पहुँच बढाउने उद्देश्यले बुटवलको कालिका मानव ज्ञान माविको प्राङ्गणमा आयोजना गरिएको प्रदर्शनीमा बीमा र बैंकिङसम्बन्धी ४० वटा कक्ष रहेका संयोजक निर्दोषले जानकारी दिए । प्रदर्शनी शनिबार सम्पन्न हुनेछ ।
रसुवा भन्सार कार्यालयले उठायो १५ अर्ब राजश्व
काठमाडौं । रसुवा भन्सार कार्यालय टिमुरेले करीब १५ अर्ब राजश्व सार्वजनिक भएको छ । रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काका अनुसार २०७२ साल मङ्सिरदेखि चालू आर्थिक वर्षको पुस मसान्तसम्म भ्याटसमेत गरी कूल १५ अर्ब १२ करोड ६७ लाख राजश्व आर्जन भएकोे छ । ६७ औँ विश्व भन्सार दिवस कार्यक्रम तयारीबारे प्रमुख भन्सार अधिकृत खड्काले समय सापेक्ष भन्सारको काममा सुधार गर्न सिसी क्यामरा जडान गरी चुहावट रोक्न प्रयास गरिएको, जाँचकीलाई दिनैपिच्छे फरक फरक सामान परीक्षणमा खटाइएको, सुरक्षा अङ्ग अहोरात्र परिचालन भएका कारण चोरी निकासी अन्त्य भएकाले राजश्वमा वृद्धि भएको जानकारी दिएका छन् । गत आर्थिक वर्षको साउनदेखि पुससम्मको तुलनामा चालु आर्थिक वर्ष २०७५/७६ को अवधिमा २५० प्रतिशतले वृद्धि भएको भन्सार कार्यालय टिमुरेले बताएको छ । भन्सार हातामा सामान परीक्षणका लागि ३० जाँचकी नियमित परिचालन भरहेका र परीक्षण गर्दा कुहिने चिजलाई पहिलो प्राथमिकता दिई हेरिने गरेको बताइएको छ । विसं २०७२ वैशाख १२ को भूकम्पको असरले सिन्धुपाल्चोकको तातोपानी नाका पूर्णरूपमा बन्द भएपछि २०७२ साल मङ्सिर १५ गतेदेखि रसुवागढी नाका पूर्णरूपमा सञ्चालन हुँदा मानवचाप बढ्न गई टिमुरे क्षेत्रका होटल, लज र पसल सञ्चालनमा आएपछि यहाँका बासिन्दाको जीवनस्तरमा सुधार आएको टिमुरे घट्टेखोलाका समाजसेवी सोनावाङ्दी तामाङले बताएको छ । भन्सार कार्यालयले भन्सार दिवसअन्तर्गत शनिबार मनाइने कार्यक्रमको सम्पूर्ण तयारी पूरा गरेको छ । कार्यक्रममा शनिबार बिहान रसुवाबाट नेपाल पस्ने पहिलो पर्यटकलाई स्वागत गरिने, रसुवागढीबाट पदयात्रा गर्दै टिमुरे आउने, राजश्व चुहावट रोक्न चेतना जगाउने, भन्सारका विद्यमान ऐननियम दिशाबोध गराउने जस्ता रहेको प्रमुख भन्सार अधिकृत खड्काले जानकारी दिएका छन् । रासस
केएल दुगड समूहको ज्ञान मेज स्टार्च बजारमा
काठमाडौँ । ज्ञान ब्राण्डका विभिन्न खाद्यपदार्थहरु ज्ञान मैदा, ज्ञान आँटा, ज्ञान भोग चक्की आटा, ज्ञान रहर, मसुर, चना दाल तथा ज्ञान बासमती, ज्ञानसोल्टी चामल उत्पादन गर्दै आएको केएल दुगड समूहले ज्ञान मेज स्टार्च (कन फ्लोर) बजारमा ल्याएको छ । ग्राहकका मौलिक पौष्टिक खाद्य पदार्थका आवश्यकताहरु पूर्ति गर्ने क्रममा उक्त समूहले ज्ञान मल्टीग्रेन्स आटा, ज्ञान मकैको च्याँख्ला तथा ज्ञान मकैको पिठो १ वर्ष अगाडि नै बजारमा ल्याएको थियो । बजारको मागलाई ध्यानमा राख्दै यस समूहले मेज स्टार्च ८०० ग्राम, ५०० ग्राम र १०० ग्राम प्याकमा ल्याएको हो । ज्ञान मेज स्टार्च विभिन्न खाद्यपदार्थहरुलाई स्वादिस्ट बनाउन प्रयोग गरिन्छ । खासगरी सुप, सस, जुस जस्ता पदार्थहरुलाई बाक्लो बनाउन, फ्राई खाद्यपदार्थहरु, बेकरी उत्पादनहरुलाई स्वादिस्ट बनाउन यसको प्रयोग गर्न सकिन्छ । के एल दूगड गु्रप उच्च गुणस्तरको उत्पादनहरु उच्चस्तरीय प्रविधिबाट निकै स्वच्छ वातावरणमा उत्पादन गर्न प्रतिबद्ध रहेको जनाइएको छ ।
२१ वर्षसम्म विमानस्थल सञ्चालनमा आएन, सरोकारवाला निकायको बेवास्था
लम्की । बन्द भएको २१ वर्षसम्म पनि टीकापुर विमानस्थल सञ्चालनमा आउन सकेको छैन । सशस्त्र द्धन्द्धका कारण विसं २०५४ देखि उडान बन्द भएको उक्त विमानस्थल सञ्चालनका लागि स्थानीयवासीले प्रयास गरे पनि सरोकारवाला निकायको बेवास्थाका कारण सञ्चालनमा आउन नसकेको हो । उक्त विमानस्थल पुनः सञ्चालनका लागि स्थानीयवासीले विगत सात वर्षदेखि विभिन्न राजनीतिक दलका शीर्षनेतासँग आग्रह गर्नाका साथै सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएका छन् । विसं २०४२ देखि सञ्चालन हुँदै आएको उक्त विमानस्थल सशस्त्र द्वन्द्वका कारण २०५४ सालदेखि बन्द भएको थियो । लामो समयसम्म विमानस्थल सञ्चालनमा नआएपछि २०६१ सालमा चार सय घरधुरी मुक्त कमैयाले त्यहाँ अतिक्रमण गरे । वर्षौदेखि बन्द रहेको विमानस्थल सञ्चालनका लागि स्थानीयवासीले पहल गरेकाले नगर विकास टीकापुर समितिले विमानस्थलमा बसेका मुक्तकमैयालाई अन्यत्र स्थानमा स्थानान्तरण गर्ने सहमतिमा विसं २०६९ मा ती मुक्तकमैयाले विमानस्थलको जग्गा छोडेका थिए । सरकारले बन्द रहेका २२ वटा विमानस्थल सञ्चालनमा ल्याउने जनाएकाले टीकापुरमा पनि सो विमानस्थल सञ्चालनका लागि स्थानीय बासिन्दाले सञ्चालन समिति गठन गरेर पहल शुरु गरेको पनि सात वर्ष बितिसक्यो । स्थानीयवासीको पहलमा अतिक्रमित जग्गा खाली गरेर विमानस्थल सञ्चालनका लागि तारबार र रनवे बनाउने कार्यसमेत गरियो । करीब दुई करोड रुपैयाँको लागतमा विमानस्थल सञ्चालनका लागि तारबारसहित ६०० मिटरमा रोडा बिछ्याएर धावन मार्गसमेत निमार्ण गरिएको छ । उक्त विमानस्थल अध्ययन, निमार्ण तथा सञ्चालन समितिका संयोजक टीकाराम जोशीले स्थानीय सञ्चालन समितिले आफ्नै पहलमा टीकापुरमा विमान सेवा सञ्चालनका लागि २०७१सालमा ‘टेस्ट फ्लाइट’लाई सम्म पारिएको बताए । उनले भने, ‘‘तारा एयरको ट्वीनअटर विमानबाट ‘टेस्ट फ्लाइट’ तयार भएपछि टीकापुर विमानस्थल पुनःनिर्माण तथा सञ्चालन समितिले यति एयरलाइन्ससित टीकापुरबाट १६ सिट टिकट बेच्ने सम्झौता गरी साताको एक दिन उडान भर्ने सम्झौता पनि गरिएको थियो तर जहाज आएन ।’’ जोशीले बताए ‘‘ विमानस्थल सञ्चालनका लागि टीकापुरमा विभिन्न पक्षबाट सहयोग भयो । यहाँ आउने मन्त्री तथा शीर्ष नेतालाई ज्ञापनपत्र, मागपत्रदेखि लिएर ध्यानाकर्षणसम्मको काम अहिलेसम्म पनि जारी छ । हामी अहिले पनि प्रयासरत छौं ।’’ सञ्चालन समिति सदस्य मातृका तिमिल्सिनाले भने, ‘‘बन्द अवस्थामा गौचरणमा परिणत भएको विमानस्थल सञ्चालनार्थ टीकापुरमा नागरिकस्तरबाट टीकापुर विमानस्थल अध्ययन निमार्ण तथा सञ्चालन समिति गठन भएकै कारण आज विमानस्थलको जग्गा सुरक्षित छ । सरकारले चाहेमा उडान शुरु गर्न गाहे पनि छैन ।’’ विमानस्थल पुनःनिर्माण गर्नका लागि टीकापुर नगरपालिका बोर्डको निर्णयका आधारमा मालपोत कार्यालयले २०७० सालमा चार महीना घरजग्गा खरीद बिक्रीमा एक प्रतिशत अतिरिक्त कर लगाउँदा ३५ लाख रुपैयाँ सङ्कलन भएको थियो तर विमानस्थल सञ्चालनमा नआउँदा सो रकम अझै सञ्चालन समितिको खातामा थन्किएको छ । संयोजक जोशीले विमानस्थल कालोपत्रेका लागि २०७३ मा सर्भेक्षण भएर २१ करोड रुपैयाँको बराबरको लागत अनुमान गरे पनि काम हुन नसकेको जानकारी दिए । उनले भने, “हरेक नेताले आश्वासन मात्रै दिए, निर्देशन दिएर काम कसैले गरेनन् । फेरि तीन महीनाअघि सर्भेक्षण भएको छ । ३१ करोड रुपैयाँको लागत अनुमान गरेर संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्रप्रसाद अधिकारीलाई बुझाएका छौँं । “उहाँले आवश्यक बजेट उपलब्ध गराउने आश्वासन दिनुभएको छ । काम हुन्छ होला ।’’जोशीले भने, ‘‘मन्त्रीले टीकापुरबाट सुदूर र मध्यपश्चिममा हवाईसेवा सञ्चालन गरिने बताउनुभएको छ । कालोपत्रे भएमा टीकापुरबाट ४० देखि ४२ सिटसम्मको जहाज उडाउन सकिने भएकाले कालोपत्रेका लागि पहल जारी छ ।’’ टीकापुर विमानस्थल निमार्ण तथा सञ्चालनका लागि हरेक वर्ष यस क्षेत्रका जनप्रतिनिधि सहितको टोली राजधानी काठमाडौँमा गइरहेका छन्। ‘‘गतवर्ष पनि एक टोलीले प्रधानमन्त्रीको कार्यालय, शहरी विकास मन्त्रालय, पर्यटन मन्त्रालय, योजना आयोगमा विमानस्थल निमार्णका लागि पहल गर्न आग्रह गरेको थियो ।’’ टीकापुर विकास मञ्चका अध्यक्ष नवराज रावलले भने । विमानस्थल सञ्चालन हुनुपर्ने स्थानीयवासीको माग जारी छ । सुदूरपश्चिम प्रदेशका सांसद डा रणबहादुर रावलले भने, ‘‘टीकापुरबाट विमानस्थल सञ्चालन हुने सम्भावना छ प्रदेश सरकारले पनि यो सम्भावनालाई प्राथमिकता दिन आवश्यक छ ।’’ टीकापुरका आसपासका यात्रुले हवाई यातायातका लागि एक सय किलोमिटर भन्दाबढी दूरीमा रहेको नेपालगञ्ज या धनगढी जानुपर्ने बाध्यता छ । बजार क्षेत्रतर्फ एक हजार २५० मिटर लम्वाइ रहेको विमानस्थलका लागि आवश्यक परे थप तीन सय मिटर जग्गा सहजरूपमा उपलब्ध गराउन सकिने भएकाले टीकापुर विमानस्थल उपयुक्त रहेको स्थानीयवासीको भनाइ छ । रासस
खाली पेटमा औषधी खानु भनेको के हो ? औषधी कुन खानासँग नखाने ?
काठमाडौं। के तपाईंलाई थाहा छ खाली पेटमा औषधी खानु भनेको के हो ? तपाईं पक्कैपनि सोच्नुहुन्छ होला कि खाली पेटमा औषधी खानु भनेको केही पनि नखाइ बिहान भोको पेटमा औषधी खानु हो । यो साँचो हो तर यो आधा साँचो हो। हामी धेरैले यस कुरालाई अहिलेसम्म आधा मात्र बुझीरहेका छौं। खाली पेटमा औषधी खानु भनेको : १. औषधी खाएपछि करिब दुई घण्टा केही पनि नखाने । २. पहिला खाना खाइसकेको भए दुई घण्टा कुरेर मात्र औषधी खाने । कुनै औषधी खाली पेटमा खानु भनिन्छ किन भने खाना र केहि पेयहरूले औषधिको काम गर्ने तरिकालाई असर गर्न सक्छ। उदाहरणका लागि, केहि औषधीहरु खाना खाए लगत्तै खाँदा अथवा पछि खाँदा उक्त औषधी र खाना मिसिन गई औषधीको प्रभावलाई कम गराउन सक्छ। कुनै खानेकुरा वा पेय पदार्थहरूले औषधिको प्रभावलाई कम गराउँदछ। जस्तै: – अंगुरको जुस – क्रेनबेरीको रस – भिटामिन ई बढी पाईने खाने कुरा जस्तै हरियो सब्जिहरु – नुनिलो खानेकुरा वा उच्च मात्रामा पोटासियम पाईने खानेकुरा जस्तै केरा । त्यसैले, जहिले पनि डाक्टरले दिएको सुझावलाई राम्रोसँग पालना गर्नुहोस्।
कार्गो ढुवानी लागत प्रतिकन्टेनर ४० हजारले घट्ने, सामान ल्याउन १ महिना कुर्नु नपर्ने
काठमाडौँ । विभिन्न मुलुकबाट आयात गरिएका उपभोग्य वस्तु तथा सामाग्रीलाई स्वदेश ल्याउन अब एक महिनासम्म कुर्न नपर्ने भएको छ । नेपाल र भारत सरकारबीचमा ‘अनलाइन क्लियरिङ सिस्टम’ मा केही दिनमा हस्ताक्षर गर्ने समझदारी कायम भएको नेपाल उद्योग वाणिज्य महासङ्घले जनाएको छ । उक्त अनलाइनअन्तर्गत इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम (इसिटिएस) लागू गरी एक साताभित्र मालसामान ढुवानी गर्न सकिनेछ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले विगतमा भारतको कोलकात्ताबाट वीरगञ्जसम्मको ढुवानी करीब एक महीना लाग्ने गरेकामा नयाँ प्रणालीका माध्यमबाट चार-पाँच दिनभित्र ढुवानी गर्न सकिने जानकारी दिए । नेपाल कार्गो व्यवसायी सङ्घका अध्यक्ष प्रकाशसिंह कार्कीले विगतमा सामग्री ढुवानी गर्दा आवश्यक पर्ने आठ प्रकारका कागजात तथा दुवै देशका अधिकारीको हस्ताक्षर गर्नुपर्ने समस्या अन्त्य हुने र प्रत्येक कन्टेनरमा करीब ४० हजारको दरले लागत घट्ने बताए । सोही सङ्घका कोषाध्यक्ष नरेशकुमार अग्रवालले आयातित वस्तुको लागतमा केही कमी आएपछि उपभोक्ता पनि लाभान्वित हुने बताउँदै स्वदेशी वस्तु विदेशमा निर्यात गर्दा पनि समय अवधि छिटोछरितो हुने हुँदा लागतमा कमी आउने विश्वास व्यक्त गरे । आयात र निर्यातसम्बन्धी खर्च पारदर्शीरुपमा राख्नका लागि सहयोग पुग्ने अपेक्षा गरिएको उक्त प्रणालीले वार्षिक तीन अर्बदेखि सात अर्बसम्म लागत घट्ने छ । गत बुधबार दुवै मुलुकका अधिकारीबीच मौखिक समझदारी कायम भएको महासङ्घले जनाएको छ ।
कृषि उपजबाट एउटै वडामा भित्रियो तीन करोड, दूधमात्रै एक करोडको बिक्री
गलकोट । बागलुङ काँठेखोला गाउँपालिका-६ बिहुँका किसानले एक वर्षमा रु तीन करोड मूल्य बराबरका कृषि उपज बिक्री गरेका छन् । दूध, सुन्तला, तरकारी र अन्नलगायत कृषि उपज बिक्री गरेर त्यहाँका किसानले वार्षिक रु तीन करोड नौ लाख ५१ हजार ५०० आम्दानी गर्न सफल भएको वडा अध्यक्ष युक्तप्रसाद कँडेलले बताए । दूध तथा फलफूलजन्य उत्पादनका हिसाबले बिहुँ अत्यन्तै महत्वपूर्ण क्षेत्र हो । यस वर्ष मात्रै यहाँका कृषकले एक करोड ३५ लाख नौ हजार २०० मूल्य बराबरको दूध बेचेका छन् । त्यस्तै बिहुँमा सुन्तला र कागतीको बिक्रीबाट एक करोड ५० लाख ३० हजार २५०, केरा खेतीबाट आठ लाख ९५ हजार २००, अम्बा बेचेर ७५ हजार ३५०, कुखुरा पालनबाट पाँच लाख २० हजार १५० तथा अन्य अन्न बालीबाट रु तीन लाख ९० हजार भित्रिएको वडा कार्यालयले जनाएको छ । ब्राह्मण र दलित समुदायको बाहुल्य रहेको यस वडावासीको मुख्य आम्दानीको स्रोत कृषि पेशा नै रहेको छ । स्थानीय तहले पनि यस वडालाई कृषि क्षेत्रबाटै विकास गर्ने लक्ष्य लिएको छ । समुद्री सतहदेखि एक हजार २५ मिटरदेखि एक हजार ७९० मिटर उचाइमा खेतीयोग्य जमीन रहेको यस क्षेत्रमा दुई हजार १०० मिटर उचाइसम्म वन क्षेत्र फैलिएको छ । “कृषि पेशाकै माध्यमबाट यस वडालाई समुन्नत बनाउने योजना आगाडि बढाएका छौँ,” अध्यक्ष कँडेलले भने, “किसानलाई व्यावसायिक कृषिखेती गर्नका लागि विभिन्न अनुदानका कार्यक्रमसहित अगाडि बढेका छौं ।” वडा कार्यालयले कृषि प्रोफाइल तयार गरेर उचाइ तथा मोहोडा, माटो, भू–बनोट तथा हावापानीको हिसाबले कुन ठाउँमा कस्तो बाली लगाउँदा राम्रो हुन्छ भनेर किसानलाई मार्गदर्शन समेत गरेको छ । वडा कार्यालयले यस क्षेत्रका किसानलाई भूगोलका हिसाबले उपयुक्त मानिएको व्यावासायिक रुपमा सुन्तला, कागती, अम्बा, केरा, अलैँची, कफी र अम्रिसो लगाउन सिफारिस गरेको छ । परम्परागत तरिकाले खेती गर्दा जीविकोपार्जन गर्न मुस्किल भएको भन्दै वडाध्यक्ष कँडेलले युवाको बढ्दो विदेश पलाएन रोकी बाँझो जमीनलाई उर्वरभूमिमा रुपान्तरण गरेर सिङ्गो वडालाई नै समृद्ध बनाउने योजना रहेको बताए । वडा कार्यालयले कृषकलाई वर्गीकरण समेत गरेको छ । वडा कार्यालयमा सूचीकृत भएका ४७६ कृषकमध्ये २६८ सीमान्तकृत, १८१ निर्वाहमुखी, १९ साना कृषक, चार व्यवसायतर्फ उन्नमुख कृषक र चार सौखिन कृषक रहेको अध्यक्ष कँडेलले जानकारी दिए । रासस