विकासन्युज

पञ्चकन्याद्धारा डिलरहरुको लागि अष्ट्रेलिया भ्रमण आयोजना

काठमाडौं । पञ्चकन्याद्धारा डिलरहरुको लागि अष्ट्रेलिया भ्रमणआयोजना गरेको हाे । पञ्चकन्या गु्रपद्धारा माघ २१ गतेदेखि फागुन १ गतेसम्म आफ्ना आधिकारिक विक्रेताहरु र तिनका परिवारहरुलाई १० दिनको अष्ट्रेलियाको हौसला भ्रमणको आयोजना गरेको थियो । अष्ट्रेलियाको मेलबर्न, गोल्डकोइष्ट, ब्रिशवेन, सिड्नी जस्ता प्रमुख शहरहरुको भ्रमण गराइएको थियो । भ्रमणमा डिलर र तिनका परिवारहरु गरी जम्मा ६५ जनाको सहभागिता थियो भने यात्रा अवधिभरको खानेबस्ने व्यवस्था, हवाई टिकट, स्थानीय यातायात तथा अन्य सम्पूर्ण खर्च पञ्चकन्या गु्रपले व्यहोरेको थियो । डिलरहरुलाई नजिकका छिमेकी राष्ट्र तथा एशियाका पर्यटकीय देशको भ्रमण गराउनु जति सजिलो छ अष्ट्रेलिया भ्रमणको चाँजोपाजो मिलाउन ठूलै परिश्रम र विभिन्न चुनौतिको सामना गर्नु परेको ग्रुपले जनाएको छ । साथै गु्रपले आफ्ना डिलरहरुको लागि यस्ता प्रकारका हौसला अभिवृद्धि गर्ने कार्यक्रमहरु प्रत्येक वर्ष नियमित रुपमा आयोजना गर्ने गरेको छ ।

सीएफएहरुको नयाँ संस्था जन्मियो, पहिलो सम्मेलन शुक्रबार

काठमाडौं । चार्टर फाइनान्सियल एनालिष्ट (सीएफए)हरुको नयाँ संस्था जन्मिएको छ । नेपालका समग्र वित्तीय विश्लेषकहरुको समूहले एसोसियसन अफ इन्भेष्टमेन्ट प्रोफेसनल नामक संस्था स्थापना गरिएको हो । नेपालमा समग्र सामाजिक हितको लगानी र पुँजी बजारमा नैतिक व्यावसायिकताको अध्ययन तथा अनुसन्धान गर्ने उद्देश्यले संस्था स्थापना गरिएको बताइएको छ । नवगठित संस्थाले फागुन ३ गते शुक्रबारका दिन गर्भनर डा. चिरञ्जीवी नेपालको प्रमुख आतिथ्य र धितोपत्र बोर्डका अध्यक्ष तथा लगानी बोर्डका अध्यक्षको समेत सहभागितामा सम्मेलन गर्ने र सोही सम्मेलनमार्फत् संस्थाको औपचारिक उद्घाटन गरिने बताइएको छ । यो सम्मेलन सीएफए क्षेत्रका सक्रिय स्वदेशी तथा विदेशी विज्ञहरु र विद्यार्थीहरु, धितोपत्र बोर्डका प्रतिनिधिहरुका साथै बीमा, बैकिङ, मर्चेण्ट बैकिङ लगायतका क्षेत्रका प्रतिनिधिहरु समेत गरी करिब १३० जनाको सहभागिता रहने एशोसियसनका अध्यक्ष डा. मनोज शाहीले बताए । अध्यक्ष डा. शाहीले सानातिना लगानीकर्ताको हितका लागि र समग्र वित्तिय विश्लेषणका लागि संस्थाले आफ्ना गतिविधिहरु बढाउने बताए । हाल संस्थामा सीएफए पूरा गरेका एनालिष्टहरु १२ जना मात्र छन् भने ३१७ विद्यार्थी अध्ययरत छन् । अन्र्तराष्ट्रिय क्षेत्रसँग सम्बन्ध राखेर वित्तिय विश्लेषण र यससँग सम्बन्धित विभिन्न कामहरु अघि बढाउन लागेको अध्यक्ष शाहीले जानकारी दिए । एशोसियसनअन्तर्गत एडभोकेसी कमिटी, युनिभर्सिटी आउटरिच कमिटी, मेम्बर भ्यालु कमिटी र सञ्चालन तथा बजेट कमिटी गरी ४ ओटा समितिहरु छन् । एडभोकेसी कमिटि हो जसले कानुन नीति नियम तर्जुमा गर्न सरोकारवालासँग छलफल गरेर नीति निर्माणकर्तालाई सुझाव दिनेछ । युनिभर्सिटी आउटरिच कमिटीले सीएफए कार्यक्रम तथा विश्वविद्यालयको पाठ्यक्रमको समय सापेक्ष सुधार गर्दै अन्तर्राष्ट्रिय स्तरको बनाउने र स्थानीय वित्त व्यवस्थापनको अध्ययन अध्यापनको गुणस्तर बढाउन नीतिगत वकालत तथा प्राविधिक सहायता हस्तान्तरण गर्न सघाउने, मेम्बर भ्यालु कमिटीले सदस्यमा व्यावसायिक नैतिक आचरणको विकास गर्न र करियर काउन्सिलिङ र रोजगारदातामा व्यवसायिक महत्वको जानकारी अभिबृद्धि गराउन सघाउनेछ भने सञ्चालन तथा बजेट समितिले बार्षिक सञ्चालन र योजना निर्माण गरी संस्थाको नियमित सञ्चालनमा सघाउने एशोसियसनले जनाएको छ ।

फागुन ३ गतेदेखि नेपाल काष्ठ अन्तर्राष्ट्रिय प्रदर्शनी शुरु हुँदै

काठमाडौं । पाचौँ नेपाल काष्ठ अन्तर्राष्ट्रिय प्रदर्शनी २०१९ फागुन ३ गते देखि शुरु हुने भएको छ । विश्वभरका विभिन्न देश सहभागि हुने प्रदर्शन भृकृटीमण्डपमा हुने भएको हो । मिडिया स्पेस सोलुसन्स र फ्यूचर्स टेड फिअर एण्ड इभेन्टले संयुक्त आयोजनामा विभिन्न देशका २०० भन्दा बढी ब्रान्डहरुका रहने छन्र भने १२० भन्दा बढी स्टल रहने छन् । उक्त प्रदर्शनीको उद्घाटन वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले फागुन ३ गते विहान ११ बजे गर्ने भएका छन् ।  तीन दिनसम्म हुने प्रदर्शनमा फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, डिलर, सब डिलर र बिक्रेताहरुले काठ व्यवसायसंग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराएका छन् । यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी गराउन को लागि यो प्रदर्शनी ४ वर्ष देखी कोसेढुङ्गा सावित हुदै आएको छ । नेपालमा हाल भइरहेको काठ र फनिर्चर क्षेत्रको विकास तथा आधुनिकीकरणमा टेवा पुर्याउने उद्देश्यले प्रदर्शनीमा घर बनाउन चाहने व्यक्ति,आम नागरीक बाहेक नेपालका दिग्गज आर्कीटेक्ट, इन्जीनीयरस् तथा इन्टीरीयर डिजाइनरहरुको सहभागिता रहने छ ।

निर्धन उत्थानको २० लाख कित्ता बोनस सेयर सूचिकृत

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको २० लाख कित्ता बोनस सेयर सूचिकृत भएको छ । संस्थाको मंगलबार मात्रै सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको हो । चुक्ता पुँजी एक अर्ब रुपैयाँ रहेको संस्थाको हालसम्म एक करोड कित्ता सेयर सूचिकृत रहेको छ ।

शंकरदेव क्याम्पसमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर

काठमाडौं । ग्लोबल आइएमई बैंकले राजधानीमा रहेको शंकरदेव क्याम्पसमा आफ्नो एक्सटेन्सन काउण्टर संचालनमा ल्याएको छ । शंकरदेव क्याम्पसमा अध्ययनरत बिद्यार्थीहरुले क्याम्पसलाई बुझाउनुपर्ने शुल्क संकलनको निमित्त बैंकले क्याम्पस परिसरमा उक्त एक्सटेन्सन काउण्टरको शुरुवात गरेको हो । यस संगै बैंकको एक्सटेन्सन काउण्टर संख्या ८ पुगेको छ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवामार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले १३३ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १४२ एटिएम, ८वटा एक्सटेन्सन काउण्टर तथा ११७ शाखा रहित बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

इन्धनकाे पैसा नतिरेपछि मयुरकाे बस समातियाे, किस्ता तिर्न बैंककाे ताकेता

काठमाडौं । यातायात समितिहरूकाे सिन्डिकेट अन्त्यका लागि महत्वपूर्ण भूमिका खेलेर चर्चामा आएको मयुर यातायातकाे व्यवस्थापनमा समस्या देखिएकाे छ । मयुर यातायात प्राइभेट लिमिटेडले बसहरू खरिदहरूकाे किस्ता र खर्चहरू समयमै तिर्न नसक्दा बसहरु धमाधम समातिन थालेका छन् । हामा आयल प्रा.लि.ले कब्जा गरेकाे बस इन्धन भरेको रकम समयमै तिर्न नसकेपछि स्वयम्भूस्थित हामा आयल प्राइभेट लिमिटेड (हामा पेट्राेल पम्प) ले मयुरकाे एउटा बस समातेर राखेकाे छ । उक्त पेट्राेल पम्पले मयुरको बा ५ ख १५३७ नम्बरको बस नियन्त्रणमा लिएकाे हाे । १६ लाख रुपैंया बक्यौता रकम नतिरेपछि बस पक्राउ गर्न परेको पम्पले जनाएको छ । पेट्राेल पम्पका अनुसार मयुर यातायातका ४४ वटा बसले हामामा नियमित इन्धन भर्दै आएको थियो, तर उधारोमा भरेकाे तेलकाे पैसा नतिरेपछि बस नै समात्नु परेको पेट्राेल पम्प स्राेतले जानकारी दिएकाे छ । मयुरले समयमै रकम नतिरे अन्य बसहरु पनि समात्ने पम्पले जनाएको छ । उता, सवारी बिक्रेता कम्पनी सिप्रदी ट्रेडिङ  प्रा.लि.ले कम्पनीका ९ वटा बस जफत गरेको छ । किस्ता समयमै नतिरेपछि कम्पनीले बस जफत गरेको हो । ट्रेडिङका सिनियर अफिसर कृष्ण चन्दले सवारी मर्मतको रकम रोकिएपछि बस कम्पनीले समातेको बताए । चन्दका अनुसार केहि बसहरु लगिसकेको छ भने केहि बस कम्पनीमै रहेको छ । प्रा.लि.ले विवाद मिलाएर बस निकाल्ने प्रयास गरिरहेको छ । पम्प र बिक्रेता कम्पनी मात्र नभएर मयुर बैंककाे समेत ताराे बनेकाे छ । मयुरले बैंकबाट लिएकाे ऋणकाे किस्ता समेत नियमित रूपमा तिर्न नसकेपछि बैंकले किस्ता तिर्न ताकेता गरेकाे हाे । कम्पनीले नयाँ बस किन्नका लागि माछापुच्छ्रे बैंकबाट ५ करोड भन्दा बढी रकम लिएको बताइएकाे छ । तर बैंकमा पनि निरन्तर किस्ता तिर्न नसकेको बैंक स्रोतले विकान्युजलाई जानकारी दियाे । किस्ता रकम समयमै नआए धितोमा रहेको बस नै कब्जा गर्ने रणनीति बैंकले लिएको छ । मयुर यातायातमा मोहन श्रेष्ठ, गोपाल कुमार थापा लगायत गैरआवासीय नेपालीहरुको लगानी रहेको छ । बलिया लगानीकर्ता र यात्रुकाे राेजाइमा पर्न सफल भए पनि यातायातमा खर्च प्रणालीमा व्यवस्थापन गर्न नसक्दा मयुरमा समस्या आएको बताइएको छ । केही शेयरधनीको खराब गतिविधिको कारण यातायात समस्यामा परेको बताइएको छ । यातायात क्षेत्रमा १ नम्बर कम्पनी बन्ने दाबी गर्दै आएको प्रा.लि.का अध्यक्ष मोहन श्रेष्ठ पछिल्लो समय सम्पर्कविहीन छन् । उपत्यका सहित देशभर यातायात सेवा विस्तार गर्ने रणनीति लिएको यातायात प्रा.लि.ले इलेक्ट्रिक बस समेत सञ्चालन गर्ने तयारी गरको थियो ।

सहयोगी विकास बैंक फागुन २५ गते साधारणसभा बस्दै, १३ गतेदेखि बुक क्लाेज

काठमाडौं । सहयोगी विकास बैंक लिमिटेडले आगामी फागुन २५ गते १५औँ वार्षिक साधारणसभा बोलाएको छ । उक्त सभा सो दिन दिउँसो एक बजे जनकपुरधामको मानकि होटलमा बस्दै छ । उक्त सभाले संचालक समितिको सेयरधनीलाई कर सहित १७ प्रतिशत नगद लाभांश दिने प्रस्तावलाई अनुमोदन गर्ने छ । सभाले अनुमोदन गरेपछि विकास बैंकका लगानीकर्ताले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको सो प्रतिशत अर्थात ८ करोड ६६ लाख रुपैयाँ नगद लाभांश पाउने छन् । उक्त सभामा जाने प्रयोजनको लागी फागुन १३ गतेदेखि २५ गतेसम्म कम्पनीको बुक क्लोज हुँदै छ ।

भुक्तानी तथा फछ्र्योट विधेयक सर्वसम्मतिले पारित

काठमाडौँ । राष्ट्रियसभाले प्रतिनिधिसभाको सन्देशसहित प्राप्त ‘भुक्तानी तथा फछ्र्योट विधेयक, २०७५ लाई सर्वसम्मतिले पारित गरेको छ । यसअघि राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘भुक्तानी तथा फछ्र्योट विधेयक, २०७५ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । बैठकमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले ‘सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५ माथि प्रतिनिधिसभाबाट भएको संशोधन उपर विचार गरियोस” भनी प्रस्तुत गरिएको प्रस्तावलाई सदनले सर्वसम्मतिले स्वीकृत गरेको थियो । राष्ट्रियसभाको अर्को बैठक फागुन २ गते ११ बजे बस्ने जानकारी दिएका छन्र  । रासस