विकासन्युज

जग्गा वर्गिकरणमा चित्त नबुझे उजुरी दिन सकिने, अदालतले गर्छ अन्तिम निर्णय

काठमाडौं । स्थानीय तहले गरेको जग्गाको वर्गिकरणमा तपाईँलाई चित्त नबुझ्न सक्छ । यदी तपाईँलाई चित्त बुझ्दैन भने ३५ दिनभित्र जिल्ला अदालतमा उजुरी गर्न सकिन्छ । जग्गा व्यवस्थापनको लागि सरकारले ल्याएको भू–उपयोग ऐन २०७५ मा जग्गा वर्गिकरण गर्ने जिम्मा स्थानीय तहलाई प्रदान गरिएको छ । ऐनमा जग्गालाई कृषि क्षेत्र, आवासीय क्षेत्र, व्यवसायिक क्षेत्र, औद्योगिक क्षेत्र, खानी तथा खनिज क्षेत्र, वन क्षेत्र, नदी खोला ताल क्षेत्र, सांस्कृतिक तथा पुरातात्विक क्षेत्र र अन्य क्षेत्र गरी १० क्षेत्रमा विभाजन गरिएको छ । स्थानीय तहले जग्गा हेरी १० क्षेत्रमा विभाजन गर्नेछ, यसरी विभाजन गरिएको क्षेत्रमा जग्गा धनीलाई चित्त नबुझे जिल्ला अदालतमा मुद्दा हाल्नु पर्नेछ । ऐनको परिच्छेद ३ दफा ७ उपदफा १ मा जग्गाधनी स्रेस्ता र प्रमाण पूर्जा अद्यावधिक गर्नु पर्ने महल अन्तर्गत स्थानीय तहले भूउपयोग क्षेत्र वर्गिकरण बमोजिम आफ्नो क्षेत्रभित्रको जग्गाको प्रमाणपत्रको क्षेत्र देखिने गरी अद्यावधिक गर्नु पर्नेछ भनी उल्लेख गरिएको छ । उपदफा २ मा अद्यावधिक गरिएको कार्यमा चित्त नबुझ्ने जग्गाधनीहरुले जिल्ला अदालत समक्ष त्यस्तो कार्य भएको ३५ दिनभित्र उजुरी दिन सक्नेछ भनी उल्लेख गरिएको छ । यस्तै उपदफा ३ मा उजुरी उपर जिल्ला अदालतले गरेको निर्णय अन्तिम हुनेछ भनी उल्लेख गरिएको छ । यसैगरी, उपदफा ८ मा भू–उपयोग परिवर्तन गर्न नहुने अन्तरगत एउटा प्रयोजनको लागि वर्गिकरण गरिएको जग्गा अर्को प्रयोजनमा प्रयोग गर्ने गरी भूउपयोग परिवर्तन गर्न पाइने छैन भनी उल्लेख गरिएको छ । यदि एउटा प्रयोजनको लागि प्रयोग भैरहेको जग्गा अर्को प्रयोजनको लागि प्रयोग गर्नु पर्ने भएमा आधार र कारण खुलाई प्रादेशिक भू–उपयोग परिषद् समक्ष निवेदन गर्नु पर्नेछ । यसरी आएको निवेदन उपर परिषद्ले सो प्रयोजनको लागि प्रविधिक प्रतिवेदन पेश गर्न माटो, भूगर्भ, कानून, भू–उपयोग योजना, कृषि, वन तथा वातावरण, भूमि नापी तथा शहरी योजना क्षेत्रका विशेषज्ञ सम्बन्धित, स्थानीय तहको प्रमुख वा अध्यक्ष रहेको एक समिति गठन गर्न सक्नेछ । जग्गाको सरकारी मूल्याङ्कन गर्न पनि स्थानीय तहलाई दिइएको छ । ऐन कार्यान्वयनमा आएपछि स्थानीय तहले जगाको मूल्य तोक्नेछ । भौतिक पूर्वाधार र क्षेत्र हेरी जग्गाको मूल्य तोकिने छ । यसै मूल्यको आधारमा नै स्थानीय तहले कर उठाउने छ । याे पनि हेर्नुहाेस् सबै जग्गाधनीले लालपूर्जा अद्यावधिक गर्नुपर्ने, नयाँ ऐनमा आउँदैछ यस्तो व्यवस्था भू उपयोग ऐन २०७५ मा घडेरी केन्द्रमा, औद्योगिक क्षेत्र कर्नरमा भूउपयोग ऐन २०७५ जग्गालाई ७ भागमा विभाजन, स्थानीय तहले नै कित्ताकाट अघि जग्गाको पहिचान गर्ने

आइएमई र कैलाश विकास बैंकबीच बैंकास्योरेन्स

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स र कैलाश विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त बैंकास्योरेन्स सम्झौतापत्रमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र कैलाश विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले हस्ताक्षर गरेका हुन् । बैंकास्योरेन्स सम्झौता पश्चात् सर्वसाधारण तथा बैंकका ग्राहकहरुले कैलाश विकास बैंकका शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफ इन्स्योरेन्सको जीवनबीमा सम्बन्धी जानकारी प्राप्त गर्न सकिने छ । आइएमई लाइफ इन्स्योरेन्सको हाल ६७ भन्दा बढी शाखा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ भने विभिन्न १० वटा योजनाहरु बजारमा सार्वजनिक गरेको छ । कम्पनीले सरल सावधिक, बालशिक्षा, आजिवन, नगदफिर्ता, साढे तीन गुणा रक्षावरण, नगद फिर्ता तथा आजिवन लगायतका बीमा योजनाहरू ल्याएको छ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको मुख्य उद्देश्य न्यूनभन्दा न्यूनआय भएका शहरी तथा ग्रामिण भेगका व्यक्तिहरुको समेत जीवन बीमामा पहुँच पु¥याई नेपालमा जीवनबीमा बिस्तार गर्ने रहेको बीमा कम्पनीले जानकारी दिएको छ ।

कम्पनी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार र उप रजिष्ट्रारमाथि हातपात

काठमाडौँ । काठमाडौँ त्रिपुरेश्वरमा रहेको कम्पनी रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार भूवनहरि अर्याल र उपरजिष्ट्रार हरिनारायण बेल्वासे माथि आज हातपात भएको छ । सेवाग्रहीको रुपमा आएका कम्पनी दर्ता गर्न आएका गुणराज आचार्य र टीकाध्वज खड्काले रजिष्ट्रार र रजिष्ट्रार माथि कुटपीट गरेका हुन् । कम्पनी ऐन अनुसार कुनै देशको नाम राखेर कम्पनी दर्ता गर्न पाइदैन, तर आचार्य र खड्का चीनको नाम राखेर कम्पनी दर्ता गराउन आएका थिए । देशको नाम राखेर कम्पनी दर्ता गर्न नपाइने भन्दा रजिष्टार र उपरजिष्टार माथि हातपात भएको हो । अभियुक्त मध्येका आचार्यलाई प्रहरीले पक्राउ गरेको र अर्का अभियुक्त खड्का भने फरार भएका छन् । उनीहरुले कर्मचारीलाई हातपात गर्नुका साथै टेबुलका शिशा समेत फुटाएका छन् । कर्मचारीमाथि हातपात भएपछि कम्पनी रजिष्ट्रार कार्यालयको अवस्था अहिले तनाबपूर्ण बनेको छ ।

सामसुङ्ग ग्यालेक्सीको एम् टेन नेपाली बजारमा

काठमाडौं । काठमाडौं सामसुङ्गको एम् सिरिज एम् टेन लन्च भएको छ । नेपालको पहिलो र ठूलो मोबाइल वितरक कम्पनीको रुपमा रहेको, मोबाइल सेवाप्रदायक कम्पनी सामसुङ्गले आफ्नो नयाँ मोडल सामसुङ्ग ग्यालेक्सी एम् टेन नेपाली बजारमा लन्च गरेको छ । साथै सामसुङ्गले मोडेलको यो फोनस्मार्टडोकोबाट रु. १३ हजार ७ सय ९० माग्राहकले किन्न सक्ने जनाएको छ । साथै स्मार्टडोकोले रिङ्गरोड भित्र फ्रिडेलिभरीको व्यवस्था गरेको छ भने, दिउसो १ बजे अगाडी अर्डर गरेको सामान दिनमा ग्राहक सामू उपलब्ध गराउने जनाएको छ । सामसुङ्ग ग्यालेक्सी एम् टेनमा सस्तो मूल्यमै एड्भान्स फिचरहरु रहेको छ भने साथै यसमा ३४०० एमएएच क्षमताको ब्याट्रीको रहेको छ भने १६जि. वी रुम, २ जिबि र्यामको सुविधा रहेको छ । अत्याधुनिक रुपमा यस मोडेलको फोनमा ८.१ को अल्ट्रा वाइड डियुल क्यामेरा उपलब्ध छ भने साथमा एक्स्ट्रा आकर्षकको रुपमा यो सेटमा ५ एमपि रिएर क्यामेरा र ५ एम्पि फ्रन्ट क्यामेरा उपल्बध छ । स्मार्टडोकोमा अनलाइन प्ल्याटफर्म देशभरीका विभिन्न प्रमुख शहरहरु काठमाडाैं, पोखरा, विराटनगर, बिर्तामोड, धरान, नारायणगढ, इटहरी, विरगञ्ज र दाङ र नेपालगञ्जमा डेलिभरी सेवा उपलब्ध हुनेछ ।

क्यान्सर जनचेतनाको लागि ‘ज्योति लाईफ द एमेजिङ मोटर र्याली’

काठमाडौं। काठमाडौँ ग्रुप अफ होटल्स द्वारा आयोजित नेपाल अर्बुदरोग निवारण संस्थाको सहयोगार्थ र ज्योति लाईफ इन्स्योरेन्स कम्पनि द्वारा प्रायोजित “ज्योति लाईफ द एमेजिङ मोटर र्याली ” माघ १८ गते सम्पन्न भएको छ। विश्व क्यान्सर दिवसको अवसरमा “क्यान्सर छिटो उपचार गरे निको हुने रोग हो ” भन्ने नाराका साथ आयोजित उक्त कार्यक्रम मार्फत भिजिट नेपाल २०२० को प्रर्वद्धन पनि गरिएको थियो । नेपाल टुरिजम बार्डको प्रांगणवाट क्यान्सर जनचेतना सम्वन्धि स्टिकरहरु द्वारा सुसजित गाडीहरुलाई काठमाडौँ ग्रुप अफ होटल्सका अध्यक्ष दिवाकार राज कर्णिकार तथा यस ¥यालीका अध्यक्ष सुनिल शाक्य ज्यूद्वारा झण्डा तोलन गरि कार्यक्रमको उद्घाटन गरिएको थियो । गाडीहरु नेपाल टुरिजम बार्डबाट निस्किएका करिब १० घण्टाको यात्रापछि सारङ्गकोटस्थित हिमालय फ्रन्ट होटलमा गएर समापन भएको थियो। प्रदेश नं ४ का उद्योग, पर्यटन तथा वातावरण मन्त्री विकास लम्साल लगायत गायक धिरज राई, पुर्व तथा हालका मिस नेपालहरु निकिता चन्दक, रोजिना श्रेष्ठ, सहारा बस्नेत, सृखला खतिवडा, रोलनली अमात्य, प्रिया सिग्डेल तथा विभिन्न संघ संस्थाहरुको प्रतिनिधिहरु उपस्थित उक्त औपचारिक कार्यक्रममा विशिष्त मन्तव्यको साथै र्याली विजेताहरुलाई पुरस्कार प्रदान गरिएको थियो । काठमाडौँ ग्रुप अफ होटल्सका अध्यक्ष दिवाकार राज कर्णिकारको सम्पुर्ण प्रायोजकहरुलाई कृतज्ञता ज्ञापन गर्दै गायक धिरज राईको प्रस्तुति संगै कार्यक्रम समापन गरिएको थियो ।  

चन्द्रागिरि नगरपालिकामा लागुऔषध नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिकामा लागुऔषध नियन्त्रणसम्बन्धी सचेतना अभियान शुरु भएको छ । चन्द्रागिरि नगरपालिका र जागरण महिला विकास समाज नेपाललगायत विभिन्न सङ्घसंस्थाले लागुऔषध दुरुपयोग नियन्त्रणका लागि उक्त अभियान थालेको हो । दिनप्रतिदिन प्रयोगकर्ताको सङ्ख्या बढ्दो क्रममा रहेकाले यसलाई न्यूनीकरण गर्न सचेतनामूलक कार्यक्रम थालिएको चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले जानकारी दिएका छन् । सोही अभियान अन्तर्गत मङ्गलबार विद्यार्थीलाई सचेतना दिने उद्देश्यले लागुऔषध नियन्त्रणसम्बन्धी अन्तर माध्यामिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता भएको थियो । सोह्र विद्यालय सहभागी सो प्रतियोगितामा ज्ञानसुधा एकेडेमी, रिम्स स्कूल, न्यू होराइजन स्कूल र मातृ अरविन्द स्कूलका विद्यार्थी क्रमशः प्रथम, द्धितीय र तृतीय हुन सफल भएका र उनीहरुलाई नगद रु सात हजार, पाँच हजार र रु तीन हजार पुरस्कार प्रदान गरिएको जागरण महिला विकास समाज नेपालकी अध्यक्ष सुगन्धा सुवेदीको भनाई रहेको छ । सो क्रममा विभिन्न सचेतनामूलक कार्यक्रम सहित गृहमन्त्रालयबाट प्राप्त चेतनामूलक सामाग्रीसमेत वितरण गरिएको थियो । विसं २०६९ को अध्ययनमा नेपालमा लागुऔषध प्रयोगकर्ताको सङ्ख्या ९१ हजार ५३४ रहेको छ । अहिले अध्ययनको क्रममा रहेकाले नयाँ तथ्याङ्क नआए पनि झण्डै रु एक लाख ५६ हजार नाघेको अनुमान गरिएको छ । वार्षिक ११ दशमलव ३६ प्रतिशतले सङ्ख्या वृद्धि भएको अध्ययनमा पाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका कर्मचारी खड्ग श्रेष्ठले बताएक छन् । रासस

नेपाल आउने पानी जहाजको डीपीआर तयार, ओलीले गर्दैछन् कार्यालय उद्घाटन

काठमाडौं । बिहिबार प्रधानमन्त्री केपी ओलीले एकान्तकुनामा पानी जहाज कार्यालयको उद्घाटन गर्दैछन् । यता पानी जहाज कार्यालय उद्घाटनकै संघारमा भारतले नेपाल आउने पानी जहाज रुटको डीपीआर तयार पारेको छ । मिनिष्ट्री अफ सिपिङ इण्डियाले नेपालको गण्डक नदि(नारायणी)सम्म आउने पानी जहाजको डीपीआर तयार पारेको हो । भारतले सिमा भन्दा ४० किलोमिटर तल बाघासम्मको डीपीआर तयार पारेको हो । गंगा नदि बेसिनबाट कार्गाे र पेसेन्जर बोक्ने जहाज नारायणी नदि हुँदै नेपालसम्म आईपुग्ने छ । नेपालमा पानी जहाजको सम्भावना खोज्न गठित समितिका संयोजक माधव बेलबासेले दासढुंगासम्म पानी जहाज ल्याउन सकिने तथ्य फेला परेको बताए । ‘हामीले दासढुंगासम्म पानी जहाज ल्याउन सकिने तथ्य फेला पारेका थियौं, भारतले बाघासम्मको डीपीआर नै बनाईसकेको छ’, बेलबासेले भने । पानी जहाज सञ्चालनका लागि भारतले तयार पारेको रुट यो अध्ययनले नेपाललाई गंगा नदि हुँदै बंगलादेशसम्म पानी जहाज सञ्चालनका लागि बाटो खुल्ला गर्नेछ । दासढुंगाबाट नेपाल भारत सिमा हुँदै बेथिया, धुमरिया घाट, कल्याणपुर, वैशाली हुँदै गंगा नदिसम्म पानी जहाज कुद्नेछ । गंगा नदिबाट कोलकत्ता तथा हल्दियासम्म पुग्नेछ । यसरी पानी जहाज सञ्चालनमा आएपछि नेपाललेको आयात तथा निर्यातमा ढुवानी लागत स्वात्तै घट्ने बताइन्छ । यस अघि नेपाल भारत सिमाको बाल्मिकी नगरसम्म अध्ययन गर्ने भनिएको थियो । पानी जहाज सञ्चालनबारे थप छलफल गर्न भारतीय टोली मार्च ३ देखि ९ तारिखमा नेपालमा आउँदैछ । सोही छलफलबाट पानी जहाज सञ्चालन बारे ठोस सहमति हुन सक्ने पनि बेलबासेले बताए । प्रधानमन्त्री केपी ओलीले २०७४ चैत २३ गते गरेको भारतको भ्रमणका क्रममा इनल्याण्ड वाटर वे सम्बन्धी सहमति गरेका थिए । सरकारले पानी जहाजको सम्भाव्यता अध्ययनका लागि ३० लाख रुपैंयाँ बजेट विनियोजन गरेको छ । नेपाली भूभागमा पानीको गहिराई र नदिको चौँडाई पानी जहाज सञ्चालनका लागि उपयुक्त हुन सक्ने अवस्थामा छ । तर भारतले बिभिन्न ठाउँमा नदि तथा बाँध बाधेकाले पानीको सतह र नदिको चौँडाई कम भएकाले सिमा पारी भने केहि समस्या हुनसक्ने बेलबासेले बताए । ३ मिटर गहिराई र ६० मिटर चौडाईको नदिमा १५ सय मेट्रिक टन भारवहन क्षमताका पानी जहाज सञ्चालन गर्न सकिने बेलबासेले जानकारी दिए ।भारतले गंगा नदिको कालु घाटमा पानी जहाज सञ्चालनका लागि आवश्यक पूर्वाधारको निर्माण गरिरहेको छ र त्यहाँसम्म २ हजार मेट्रिक टनका जहाज ल्याउने योजना बनाएको छ । पाँच सय टन क्षमताका पानी जहाज नेपाल आउनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ र प्रदेश १ सरकारबीच विकास याेजना सम्बन्धि साझेदारी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ/कृषि उद्यम केन्द्र र नेपाल सरकार, प्रदेश नं. १ बीच विराटनगरमा  समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा प्रदेश १ सरकारका माननीय मुख्यमन्त्री शेरधन राईका उपस्थितिमा प्रदेश १ सरकारका आर्थिक, मामला तथा योजना मन्त्री इन्द्र बहादुर आङबो र महासंघका अध्यक्ष भवानी राणाले हस्ताक्षर गरेका हुन् । समारोहमा प्रदेश सरकारका उच्चस्तरीय अधिकारीहरू र नेउवामहासंघ प्रदेश नम्वर १ का अध्यक्ष नरेन्द्र खड्का सहित पदाधिकारीहरूको उपस्थिति रहेको थियो । सार्वजनिक निजी साझेदारी कार्यक्रमको प्रारूपमा आधारित भई राज्यले लिएको लक्ष्य प्राप्त गर्न निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकताका साथ सम्बोधन गरिएको हुँदा निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघले नेपाल सरकार प्रदेश नं. १ ले प्राथमिकताका साथ अघि बढाएका कार्यक्रमहरूमा बहुवर्षिय साझेदारी गर्ने उद्देश्यले यो सहमतिपत्रमा हस्ताक्षर गरिएको हो । सहमती अनुसार प्रदेश सरकारका तर्फबाट सार्वजनिक निजी साझेदारी कार्यक्रम कार्यान्वयन निर्देशिका, २०७५ र सोको आधारमा कार्यक्रमगत आवश्यक कार्यविधिहरू तयार गर्ने गराउने, अर्थ मन्त्रालयबाट स्वीकृत बजेट अनुसार समयमै ने.उ.वा. महासंघ/कृषि उद्यम केन्द्रलाई चाैंमासिक रूपमा बजेट निकासा गर्ने, कार्यक्रमको अनुगमन निरीक्षण र मुल्याङ्कन गर्ने र आवश्यक सुझाव तथा निर्देशन दिने र कार्यक्रम कार्यान्वयनलाई सहजीकरण गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्ने उल्लेख छ । त्यसैगरी महासंघ/कृषि उद्यम केन्द्रको तर्फबाट बार्षिक कार्यक्रम बजेट तर्जुमा गरी प्रदेश सरकार समक्ष स्वीकृतीको लागि पेश गर्ने,  स्वीकृती भैसकेका कार्यक्रमको हकमा आवश्यक कार्यविधि तयार गरी स्वीकृतिका लागि प्रदेश सरकारमा पेश गर्ने, प्रदेश सरकारबाट विनियोजित बजेट कार्यक्रम कार्यान्वयनको लागि सम्बन्धित निकायहरूमा समयमानै निकासा पठाउने, प्रदेश सरकारबाट स्वीकृत सार्वजनिक निजी साझेदारी कार्यक्रम कार्यान्वयन निर्देशिका, २०७५ अनुसार कार्यक्रम संचालन तथा अनुगमन गरी प्रगति विवरण प्रदेश सरकारको सम्बन्धित निकायमा पेश गर्ने लगायत रहेको छ । हस्ताक्षर भएको दिनदेखिनै प्रभावकारी हुने उक्त सहमतीपत्रमा हस्ताक्षर कार्यक्रममा प्रदेश सरकार र महासंघका तर्फबाट प्रदेशको आर्थिक विकासमा सरकार र निजी क्षेत्रलाई सार्वजनिक निजी साझेदारी अनुरुप अगाडी बढाउन यो सहमती कोशेढुंगा हुने विश्वास सहित सहमतीपत्रमा उल्लेख गरिएको छ ।