उत्कृष्ट म्यानेजर अवार्ड आइएमईका प्रमुख कार्यकारी अधिकृत पोखरेललाई
काठमाडौं । नेपाल व्यवस्थापन संघले आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेललाई वर्षकै उत्कृष्ट म्यानेजरबाट सम्मानित गरेको छ । प्रधानमन्त्री केपी. शर्मा ओलीले राजधानी काठमाडौंमा आयोजित नेपाल व्यवस्थापक संघको ३८औँ साधारण सभामा पोखरेललाई सम्मान गरेका हुन् । सम्मानपछि संक्षिप्त मन्तब्य दिँदै पोखरेलले आफुलाई प्राप्त भएको सम्मानले समस्त युवा पुस्तालाई प्रेरणा प्रदान गरेको बताउँदै सामाजिक र देश विकासको कार्यमा आफु र आफ्नो पुस्तालाई थप उत्प्रेरणा प्रदान गरेको जानकारी दिए। नेपाल रेमिटर्स एसोसिएसन (एनआरए) का अध्यक्ष समेत रहेका पोखरेल विगत आठ वर्षदेखि आइएमईको व्यवस्थापकीय जिम्मेवारी सम्हाल्दै आएका छन् । कम्पनीले सेवा शुभारम्भको १८औँ वर्षसम्ममा नेपालका सबै क्षेत्रलाई समेट्ने गरी १ सय ९२ आइएमई सेन्टरसहित ७७ जिल्लाका ८ हजार ४ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् सेवा प्रदान गर्दै आएको छ ।
सेयर बजार ओरालो लाग्ने क्रम जारी, परिसूचक साताकै न्युनतम बिन्दुमा
काठमाडौं । केही समययता सेयर बजार निरन्तर रुपमा ओरालो लागिरहेको छ । साताको शुरुदेखि ओरालो लागेको परिसूचक बुधबार पनि ७.११ अंकले घटेर ११२१.०८ अंकमा पुगेको छ । जुन यस साताकै न्युनतम बिन्दु हो । बजारमा परिसूचक सँगै समूह सूचक पनि राताम्मे देखिएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह ९५.७५ अंकले ओरालो लागेको छ । सो दिन उत्पादनमूलक समूह मात्रै ४७.३ अंकले उकालो लागेको छ । कुल १७४ कम्पनीको कारोबार भएको बजारमा सबैभन्दा बढी नागरिक लगानी कोषको सेयर कारोबार भएको छ । कोषको बुधबार एक करोड ३२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता २ हजार ६१० रुपैयाँ रहेको छ । त्यस्तै, नेपाल बैंकको एक करोड २४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बैंकको सेयर मूल्य प्रतिकित्ता २८५ रुपैयाँ रहेको छ । बजारमा सबैभन्दा बढी चौतारी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.८२ प्रतिशतले बढेको छ । त्यस्तै, यूनिलिभर नेपालका लगानीकर्ताले ५.९९ प्रतिशत कमाएका छन् । बुधबार नयाँ नेपाल लघुवित्त विकास बैंकको सेयर मूल्य १० प्रतिशतले घटेको छ । त्यस्तै, जेबिल्स फाइनान्सको सेयर मूल्य अघिल्लो दिनको तुलनामा प्रतिकित्ता ५.६७ प्रतिशतले घटेको छ ।
मार्चको पहिलो सातामा भी भोभी १५ प्रो ल्याउने तयारी, यस्ता छन् डिजाइनहरू
काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर भीभो आफ्नो भी सिरिजको नयाँ स्मार्टफोन ल्याउने तयारीमा रहेकाे छ । कम्पनीले फेब्रुअरीमा छिमेकी मुलुक भारतमा र मार्चको पहिलो साता नेपाली बजारमा भीभो भी १५ र भीभो भी १५ प्रो नामक स्मार्टफोन ल्याउँदैछ । जसमा पप–अप सेल्फी क्यामरा राखिएको देखाईएको छ । यस्तो डिजाइनमा भीभोले यसअघि भीभो नेक्स स्मार्टफोन ल्याएको थियो । सोहि थीमलाई भी १५ सिरिजमा पनि कायम राखिएको छ । यो स्मार्टफोनमा सूपर एमोलेड डिस्प्ले राखिनेछ भने फोनमा स्न्यापड्रागन ६७५ चीपसेट हुनेछ । यसबाहेक भी १५ स्मार्टफोन सिरिजमा इन डिस्प्ले फिंगरप्रिन्ट सेन्सर राखिएको छ भने फोटोग्राफीका लागि ४८ मेगापिक्सेल प्लस ८ मेगापिक्सेल प्लस ५ मेगापिक्सेलको ट्रिपल क्यामरा सेटअप हुनेछ । हालै अमेजन इण्डियाको आफिशियल ल्याण्डिंग पेजमा देखिए अनुसार भीभो भी १५ प्रो स्मार्टफोनको मुख्य क्यामरा ४८ मेगापिक्सेलको हुने प्रमाणित भएको छ । फेब्रुअरी २० तारिखमा लन्च हुने तयारीमा रहेको भीभो भी १५ प्रो स्मार्टफोनमा ६.३९ इन्चको सूपर एमोलेड फूल एचडी प्लस स्क्रीन छ । त्यसैगरि फोनमा स्न्यापड्रागन ६७५ चीपसेट हुनेछ भने ८ जीबी र्याम र १२८ जीबी स्टोरेज हुनेछ । यो स्मार्टफोनमा ३,७०० एमएएचको ब्याट्री प्याक हुनेछ । भीभो भी १५ प्रो स्मार्टफोनको मूल्य भारतमा करिब ३० हजार भारु अर्थात ४८ हजार रुपैयाँ हुने अनुमान छ । स्मार्टफोन भारतमा फेब्रुअरी २० मा लन्च हुनेछ जसको प्रि अर्डर ५ दिन अगाडि शुरु हुने बताईएको छ । नेपाली बजारमा भीभो भी १५ प्रो उपलब्ध हुनेछ, जून मार्चको पहिलो साता सार्वजनिक हुने अनुमान गरिएको छ । यो स्मार्टफोनको मूल्य नेपाली बजारमा ५० हजार रुपैयाँ माथि हुने अनुमान गरिएको छ ।
कामना सेवा विकास बैंकको सीईओमा प्रविण बस्नेत
काठमाडौं । कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा प्रविण बस्नेत नियुक्त भएका छन् । विकास बैंकको माघ २९ गते बसेको संचालक समितिको बैठकले बस्नेतलाई संस्थाको सीईओ पदमा नियुक्त गरेको हो । नवनियुक्त सीईओ बस्नेत यसअघि सोही बैंकको कायम मुकायम(कामु) सीईओ पदमा रहेको थिए । अब बस्नेतले फागुन १ गते(बुधबार)देखिनै आगामी ४ वर्षसम्म आफ्नो पद तथा कार्यभार सम्हाल्ने छन् ।
लुम्बिनी इन्स्योरेन्स र राष्ट्रिय सहकारी बैंकबीच बीमा सेवा सम्झौता
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र राष्ट्रिय सहकारी बैंकबीच बीमा सेवा सम्झौता भएको छ । सो सम्झौता अनुसार सहकारी बैंकका देशभर रहेका सहकारी संस्था, सदस्यहरु तथा बैंकका शाखाहरुलाई लुम्बिनी जनरल इन्स्योरेन्सले बीमा सेवा उपलव्ध गराउनेछ । सम्झौतामा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत एनपि. प्रधान र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रिकुमार गुरागाईंले उक्त सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
निजगढ विमानस्थलको बाधक टाँगियावस्ती अन्यत्र सारिदै, ४ अर्ब लाग्ने अनुमान
वीरगञ्ज । बाराको निजगढस्थित निर्माण हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको बाधकका रुपमा रहेको टाङ्गियाबस्तीलाई अन्यत्र सारिने भएको छ । यसका लागि पिलुवा, हरैया र तामागढी गरी तीन ठाउँ चयन गरेको छ । विमानस्थल आयोजना कार्यालय सिमराका अनुसार विमानस्थल निर्माणको काम अगाडि बढाउन सो बस्ती चुनौतीको रुपमा रहेकाले यसलाई अन्यत्र सार्नका लागि बारा जिल्लाकै पिलुवा, हरैया र कोल्हवी नगरपालिकाको उत्तरपट्टि रहेको तामागढी क्षेत्रमध्ये एक ठाउँमा सारिने गरी ठाउँ हेरिएको छ । विमानस्थलको धावनमार्गको बीचमै सो टाङ्गियाबस्ती परेकाले यसलाई अन्यत्र सार्न करीब चार अर्ब लाग्ने अनुमान गरिएको छ । विमानस्थल निर्माण आयोजनाका प्रमुख इञ्जिनियर ओम शर्माले भने, “मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अघि नबढ्नुको मुख्य कारण टाङ्गियाबस्ती नै हो ।” सङ्घीय सरकारको प्राथमिकतामा रहेको सो विमानस्थलको निर्माण काम अगाडि बढाउन बस्ती अन्यत्र लग्नुपर्ने आवश्यकता रहेको छ । विसं २०३०–०३१ सालतिर तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाको कार्यकालमा फिनल्यान्ड सरकारको सहयोगमा अहिलेको टाङ्गियावस्ती भएको सो ठाउँमा पुरानो रुख कटान गरी पुनःवृक्षारोपण गर्ने भनेर पश्चिमी पहाडबाट करीब १५० घरधुरीलाई ल्याएका थिए । पछि २०४६ सालको राजनीतिक परिवर्तन र माओवादी जनयुद्धताका जङ्गल फँडानी गरी बसेको बस्ती हो टाङ्गियाबस्ती । तामाङ, मगर, कामी, दमाईं, बाहुन, क्षेत्री जातिको बाहुल्यता रहेको सो बस्तीमा हाल एक हजार ४७६ घरधुरीका करीब १० हजार मानिस बस्दै आएका छन् । त्यहाँ रहेका करीब दुई हजार ६०० मतदाता प्रत्येक निर्वाचनमा मत खसाल्दै आएको छ । टाङ्गियाबस्ती सरोकार समितिका अध्यक्ष रमेश सापकोटाले भने, “बस्तीलाई अन्यत्र व्यवस्थापन गरिँदा मुआब्जा स्वरुप लालपूर्जासहितको जग्गा उपलब्ध गराएमात्र बस्ती अन्यत्र लग्न सकिन्छ । जितपुर सिमरा उपमहानगरपालिका-१६ स्थित सो बस्तीका बासिन्दा विगत ४२ वर्षदेखि सुकुम्वासीनै रहेकाले बस्ती अन्यत्र सार्दा प्रतिपरिवार दुई बिघा पाँच कट्ठाका दरले जग्गा उपलब्ध गराउनुपर्ने, आयोजनास्थल बाहिर तीन किलोमिटर क्षेत्रभित्र मुआब्जाको जग्गा उपलब्ध गराउनु पर्ने, एकघर एक रोजगारीको ग्यारेन्टी दिनुपर्ने माग गरिंदै आएको छ । त्यसैगरी, बस्ती व्यवस्थापन गर्दा १८ महिनासम्म रासनपानीको व्यवस्था गर्नुपर्ने तथा अन्यत्र सारिएको ठाउँमा खानेपानी, बिजुली, सडक, विद्यालय, स्वास्थ्यचौकीलगायतका पूर्वाधार हुनुपर्ने माग राख्दै टाङ्गियाबस्ती सरोकार समितिले सङ्घर्ष गर्दै आइरहेको छ । जङ्गल फँडानी गरी ७३१ बिघा १४ कट्ठा ऐलानी जग्गामा बसेका टाङ्गियाबस्ती-पूर्व पश्चिमी राजमार्गको पथलैया निजगढ सडकखण्डअन्तर्गत १६ किलोमिटर भन्ने ठाउँबाट दक्षिणतर्फ रहेको छ । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्नेमा जोड दिँदै जितपुर सिमरा उपमहानगरपालिकाका प्रमुख डा कृष्ण पौडेलले भने, “टाङ्गियाबस्ती सार्नलाई नजिकै पसहा, हरैया र तामागढीजस्ता ठाउँ देखिएकाले यसबारेमा थप अध्ययन भइरहेको छ । बारा जिल्लाको निर्वाचन क्षेत्र नं ३ को जितपुर सिमरा उपमहानगरपालिका-१६ मा पर्ने टाङ्गियाबस्तीका बासिन्दा एकै स्वरमा भन्छन्, हामी त ४२ वर्षदेखि सुकुम्वासी भएर जीवन गुजार्यो तर बस्ती अन्यत्र गएपछि आउने भावी सन्ततिले भने सुकुम्वासी भएर बाँच्नु नपरोस् । रासस
तनहुँ र लमजुङमा पशुपालन सम्बन्धी तालिम
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाको अनुमति पाएको वोमी लघुवित्त वित्तीय संस्थाले विभिन्न स्थानहरुमा तालिम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका वडा नं ३ स्थित आबुखैरेनीमा ५७ जना र लमजुङ्ग जिल्लाको सुन्दरबजार नगरपालीका वडा नं ५ स्थित तार्कुमा ५५ जनालाई पशुपालन सम्बनधी तालिम प्रदान गरेको हो । २ दिनको अवधिमा ११२ जना सदस्य तथा स्थानीयलाई पशुपालन सम्बन्धी तालिम प्रदान गरेको छ । तालिममा उपस्थित सदस्य तथा स्थानीहरुले संस्थाको कार्यक्रम सम्बन्धमा राखेको जिज्ञासा तथा प्रतिउत्तर दिने अन्तरक्रियात्मक कार्यक्रम समेत गरिएको थियो । शाखा कार्यालय,देउराली अन्र्तगत आबुखैरेनीमा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा गोरखा नगरपालीकाको वडा नंं १३ का वडा अध्यक्ष हरिबहादुर खनालको उपस्थिती रहेको थियो । अन्तर्क्रिया कार्यक्रममा संस्थाका विभागिय प्रमुख हरिप्रसाद सिग्देल तथा एरीया प्रमुख बिमल कोइराला एवम् प्रमुख कार्यकारी अधिकृत प्रमेश आचार्यले सम्बोधन गरेका थिए । शाखा कार्यालय तार्कुमा भएको कार्यक्रममा सुन्दर बजार नगरपालिकाको वडा नंं ५ का अध्यक्ष ललित गुरुङको उपस्थिती रहेको थिए ।
यूनाइटेड इन्स्योरेन्सले एकाएक किन डाक्यो विशेष साधारणसभा ?
काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेडले आगामी फागुन १६ गते विशेष साधारणसभा डाकेको छ । कम्पनीले संचालक समितिको निर्णयअनुसार पुँजी वृद्धि गर्ने उद्देश्यले उक्त दिन विशेष साधारणसभा डाकेको हो । सो प्रयोजनको लागि कम्पनीले आगामी फागुन ७ र ८ गते दुई दिन बुक क्लोज गर्ने भएको छ । केन्द्रिय कार्यालय थापाथलीमा रहेको कम्पनीको हाल ३० करोड २४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ । बुधबार कम्पनीको सेयर प्रतिकित्ता ७७७ रुपैयाँ देखि ७९१ रुपैयाँसम्म किनबेच भइरहेको छ ।