चौधरी फाउण्डेसनले बाँड्यो पाँच सयभन्दा बढिलाई कृतिम हात खुट्टा
काठमाडौं । चौधरी फाउण्डेसनले संचालन गरेको कृतिम हात खुट्टा जडान शिविरबाट ५ सय आठ जना व्यक्तिहरु लाभान्वित भएका छन् । हात खुट्टा गुमाउनु परेका व्यक्तिका लागि यो शिविर निकै महत्वपूर्ण अवसर सावित भएको छ । काठमाडौंको नर्भिक इन्टरनेशनल हस्पिटल र नवलपुरको सहज सामुदायिक अस्पतालमा शिविरको आयोजना गरिएको थियो । गत पुस २७ गते शुरू भएको शिविर फागुन ८ गतेसम्म संचालन गरिएको थियो । चौधरी फाउण्डेसनका अध्यक्ष विनोद चौधरीले हात खुट्टा जस्ता संवेदनशिल अंगको अभावमा जीवन विताई रहेका सहयोग गर्न पाउ“दा खुसी रहेको बताएका छन् । चौधरी फाउण्डेसनले भगवान महाविर विकलाङ्ग सहायता समिति र भारतीय दुतावाससँगको सहकार्यमा नेपालमा कृतिम खुट्टा वितरण गर्ने कार्यक्रम संचालनमा आएको हो । पहिलो चरणमा काठमाडौंको नर्भिक अस्पतालमा पुस २७ देखी ३० गतेसम्म ५९ जना लाभान्वित भएका थिए । दोस्रो चरणमा नवलपुरको गैंडाकोटस्थित सहज सामुदायिक अस्पतालमा माघ ३ गतेदेखि संचालनमा आएको शिविरबाट थप ४६१ जना लाभान्वित भएका छन् । जसमध्ये ४ सय ३५ जनाले कृतिम खुट्टा, ५२ जनाले कृतिम हात र २१ जनाले क्यालिपरको सेवा लिएका थिए । नेपालमा करिव एक लाख मानिसका लागि कृतिम हात खुट्टाको आवश्यकता रहेको अनुमान छ । यो समस्यालाई दिगो रुपमा समाधान गर्न चौधरी फाउण्डेसनले भगवान महाविर विकलाङ्ग सहायता समिति र सहज सामुदायिक अस्पतालसँगको सहकार्यमा स्थाई रुपमा नै यो सेवा शुरू गर्ने योजना बनाएको छ ।
गतवर्षको तुलनामा उद्योगको सङ्ख्या वृद्धि, पर्यटन क्षेत्रमा सबैभन्दा बढी लगानी
काठमाडौँ । मुलुकको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको उद्योगको सङ्ख्यामा वृद्धि भएको छ । सरकारले तय गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई पूरा गर्नका लागि पनि पछिल्लो समय उद्योगमा लगानी गर्नेको सङ्ख्यामा वृद्धि भएको हो । विसं २०७४ मा सङ्घीय तथा प्रदेशसभाको निर्वाचन भएसँगै भएको स्थायी सरकारका कारण पनि गत वर्षको तुलनामा यस वर्ष ठूला, मझौला तथा विदेशी लगानीका साना उद्योगको सङ्ख्यामा वृद्धि भएको हो । गत आर्थिक वर्षको ६ महिनामा विदेशी लगानीका २६६ उद्योगले नेपालमा कामका लागि स्वीकृति लिएकामा यस वर्षको ६ महिनामा भने २९३ उद्योगले उद्योग सञ्चालनका लागि निवेदन दिएका छन् । उद्योग दर्ताका लागि अनुमति माग्नेमा पर्यटन क्षेत्रका उद्योग बढी छन् । पर्यटन क्षेत्रमा मात्र ८६ उद्योग छन् । गत वर्षको ६ महिनामा पर्यटन क्षेत्रमा ७७ उद्योगले सञ्चालनका लागि अनुमति लिएका थिए । यस्तै, कृषि तथा वन क्षेत्रमा १४, निर्माण तीन, उर्जामूलक १९, सूचना, प्रसारण तथा सञ्चार प्रविधिमा ११, उत्पादनमुलक ७८, खनिज एक, र सेवामूलक ८१ उद्योग रहेका छन् । सबै उद्योग सञ्चालन भएमा १५ हजार २७० जनाले रोजगार पाउनेछन् । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेण्ट (नाट्टा)का महासचिव रमेश थापा स्थिर सरकारका कारण मुलुकको पर्यटन क्षेत्रमा लगानी भित्रिँदै गएको बताउँछन् । “नेपाल प्राकृतिक दृष्टिकोण र पर्यटकीय महत्वका केन्द्र बढी भएको कारण पनि पर्यटन क्षेत्रमा उद्योगको सङ्ख्यामा वृद्धि भएको हो”, उनले भने । नेपालको पर्यटन व्यवसाय पहिलेको तुलनामा क्रमिक रुपमा बढ्दै गएको र सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई पूरा गर्न पनि होटल तथा रेष्टुरेन्टमा विदेशी लगानी भित्रिएको उनको भनाइ छ । पर्यटन क्षेत्रमा चालू आर्थिक वर्षमा ६८ करोड ७७ लाख ३६ हजारको ८६ उद्योगका लागि लगानी भित्रिएको हो । उक्त रकम गत वर्षको लगानीभन्दा धेरै कम हो । गत वर्ष एक अर्ब १८ करोड ७४ लाख ४५ हजार बराबरको लगानी भित्रिएको थियो । गत वर्षको छ महिनामा पर्यटन उद्योगबाट तीन हजार २५ ले प्रतक्ष्य रोजगारी पाएका थिए भने चालू आर्थिक वर्षमा उद्योगको सङ्ख्यामा वृद्धि भए पनि कम लगानीका उद्योग भएकाले दुई हजार ५०२ जनाले प्रत्यक्ष रोजगार पाउने उद्योग विभागले जनाएको छ । उद्योग विभागका सूचना अधिकारी जीवनराज सेढाईं उद्योग क्षेत्र बढ्नु मुलुकको विकासका लागि सकारात्मक कुरा भएको बताउँछन् । “उद्योग बढेसँगै मुलुकमा रोजगारीको वातावरण सिर्जना हुनुका साथै अधिकांश सामान मुलुकमा नै बन्ने भएकाले मुलुकलाई फाइदा पुग्छ”, उनले बताए । ऐन, नीति, नियम परिमार्जन, विशेष आर्थिक क्षेत्र (सेज) ऐन, खनिज नीति, विदेशी लगानीसम्बन्धी विधेयक, लगानी सम्मेलन, अनलाइनमार्फत उद्योग दर्ता, उद्योग विभागभित्र विद्युतीय हस्ताक्षरका साथै संस्थागत सुधारका कारण उद्योग क्षेत्रमा लगानीको वातावरण बन्दै गएको विभागले जनाएको छ । विभागले १० करोडभन्दा कम विदेशी लगानीका उद्योगलाई साना उद्योग, १० करोडदेखि २५ करोडसम्म लगानी भएका उद्योगलाई मझौला उद्योग र २५ करोडभन्दा बढी लगानी भएका उद्योगलाई ठूला उद्योगका रुपमा दर्ता गर्दै आइरहेको छ । स्वदेशी लगानीका साना उद्योग भने घरेलु तथा साना उद्योग विकास समिति र साना तथा घरेलु उद्योग विभागबाट दर्ता हुँदै आएका छन् । रासस
शुरू भयाे ‘स्मार्ट छोरी’ अभियान, देशभरका १० हजार किशोरी र महिला सहभागी
काठमाडौं । १० हजार किशोरी र महिलाहरुलाई डिजिटल तथा वित्तिय साक्षरता प्रदान गर्ने उद्धेश्यका साथ खल्ती डिजिटल वालेटले स्मार्ट छोरी अभियान सुरु गरेको छ । देशव्यापी रुपमा संचालित यस अभियानले किशोरी र महिलामाझ पुगेर उनीहरूको जीवन र समुदायमा परिवर्तन ल्याउने लक्ष्य राखेको छ । डिजिटल शीपको अभावले भविष्य अगाडि नबढ्नुको एउटा अड्चनको रुपमा देखिएको छ । स्मार्ट छोरी अभियानले उनीहरुलाई विभिन्न जीवन उपयोगी सीप प्रदान गरी क्षमता अभिबृद्धि गर्ने र सशक्तीकरणमा टेवा पुर्याउने लक्ष्य लिएको छ । स्मार्ट छोरी खल्तीएपभित्र संचालित एउटा ई–लर्निङ प्लाटफर्म हो जहाँ सहभागीहरुले सुचना तथा सञ्चार प्रविधीको सहि सदुपयोग गर्न सिक्नुका साथै डिजिटल भुक्तानी, अन्लाईन सुरक्षा र वित्त व्यवस्थापन लगायतका कुराहरु सिक्नेछन् । स्मार्टफोन बोक्ने र इन्टरनेटको पहुँचमा रहेका १५देखि३५ वर्ष उमेर समूहका नेपाली किशोरी तथा महिलाहरु यो अभियानमा सामेल हुन सक्नेछन् । यस अभियानले किशोरी र महिलाहरुमा ज्ञान र शीप प्रदान गर्नेछ जसले गर्दा आँफैमा स्वरोजगार भई आत्मनिर्भर बन्न, बचत गर्ने बानी विकास गर्न सकिनेछ । अभियानको घोषणा गर्दै ‘खल्ती’का निर्देशक तथा ’स्मार्ट छोरी’का संयोजक अमित अग्रवाल ले भने, पछिल्लो समयमा डिजिटल नेपाल र स्मार्ट सिटीका बारेमा धेरै चर्चा हुन थालेको छ । सबै इच्छुक दिदीबहिनीहरुलाई यस अभियानमा सामेल भई आफ्नो डिजिटल र वित्तीय क्षमता अभिवृद्धि गर्न र समुदायमा रोल मोडेल भई मानिसहरुको दैनिक जीवनमा सकारात्मक परिवर्तन ल्याउन आह्वान गरिएको छ । स्मार्ट छोरी अभियानमा कसरी सहभागी हुने ? १५ देखि ३५ वर्षसम्मकाकिशोरी तथामहिलाहरुले ‘खल्ती डिजिटल वालेट’ एप डाउनलोड गरी उक्तएपको गृह पृष्ठमा दिइएको ‘स्मार्ट छोरी’ ब्यानरमाक्लिक गरी यो अभियानमाजोडिन सक्नेछन् । यो इ(लर्निङ प्लाटफर्म महिलाप्रयोगकर्ताहरुलाई मात्रै उपलब्ध छ ।
बङ्गलादेशमा २० हजार वेबसाइट बन्द, पोर्नसाईटले अश्लीलता बढाएको सरकारको निश्कर्ष
काठमाडौं। बङ्गलादेश सरकारले २० हजार अश्लील वेबसाइटहरू बन्द गरेको छ। मुस्लिम बहुमत भएको उक्त राष्ट्रमा इन्टरनेट प्रदायकहरूले गत हप्ता दूरसंचार नियामकका आदेश अन्तर्गत पोर्नोग्राफी र जुवाका वेबसाईटहरू बन्द गरेको हो। ‘म बालबालिकाको साथै सबै बङ्गलादेशीहरूको लागि सुरक्षित इन्टरनेटको सिर्जना गर्न चाहन्छु र यो मेरी अश्लील पोर्नोग्राफीको विरुद्धको युद्ध हो र र यो युद्ध निरन्तर हुनेछ, हुलाक तथा दूरसंचार मन्त्री मुस्ताफा जब्बरले एफपीलाई भने। अधिकारीहरुको अनुसार लोकप्रिय एप्स टिकटक र बिगोको दुरप्रयोग भएको कारणले दक्षिण एशियाली राष्ट्रहरुमा पनि यो ब्लक गरिएको जबबारले बताए। बङ्गलादेशको उच्च न्यायालयले नोभेम्बरमा सरकारलाई पोर्नोग्राफी वेबसाइटहरू रोक्न र छानबिनका गर्न आग्रह गरेपछि अश्लील वेबसाइटहरू बन्द गरिएको हो। अदालतले एक संगठनले ठूलो संख्यामा वयस्क वेबसाइटहरू बिना सेंसर अश्लील सामग्री समावेश गरेको भनेर रिपोर्ट गरिसकेपछी त्यस्तो आदेश दिएको हो। १६५ लाख जनसंख्या भएको बङ्गलादेशमा ९० लाख भन्दा धेरै इन्टरनेट प्रयोगकर्ताहरू रहेका छन्। ईन्टरनेटमा खोजिएको नामहरूको सूचीमा पोर्न स्टारहरु शीर्ष स्थानमा पर्दछन्। एपिएफको सहयोगमा
इमान्दार चालक, जसले फिर्ता गरे ट्याक्सीमा छुटेको लाखौँ मूल्यको गरगहना
काठमाडौँ । ट्याक्सीमा छुटेको सामग्री सम्बन्धित धनीलाई फिर्ता गरिएको छ । आज बिहान ५ बजे काठमाडौँको अनामनगरदेखि नैकापसम्म जाँदा बा २ ज २२७९ नम्बरको ट्याक्सीमा गुल्मीकी वसन्ता भुसालको छुटेको गरगहनासहितको सामान ट्याक्सीचालक सुनसरीका सिमल राईले फिर्ता गरेका हुन् । चालक राईले ट्याक्सीमा छोडिएको ठूलो मङ्गलसूत्र एक थान, सानो मङ्गलसूत्र एक थान, चन्द्रमा एक थान, तिलहरी एक थान, घाँटीको हार एक थान, पिजडा टप एक जोडी, वेरुवा रिङ एक जोडी, औँठी तीन थान, लेडिज पर्स एक थान र नगद छ हजार १२३ फेला पारेका थिए । चालक राईले फेला पारेको उक्त गरगहना र नगद महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायब उपरीक्षक कृष्णदत्त भट्टले सम्बन्धित धनीकी बहिनी सोनिया भुसाललाई जिम्मा लगाएको महाशाखाले जनाएको छ । पछिल्लो समय काठमाडौँ उपत्यकाभित्रका ट्याक्सीमा हराएका सामग्री फेला नपर्ने गरेकामा राईले उदाहरणीय काम गरेको प्रनाउ भट्टले बताए ।
सङ्गठित संस्थालाई लेखा समितिको निर्देशन-तीन महिनाभित्र लेखा परीक्षण गराउनू
काठमाडौँ । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले लेखापरीक्षण हुन बाँकी रहेका सङ्गठित संस्थाको आगामी तीन महिनाभित्र लेखा परीक्षण गराउन निर्देशन दिएको छ । समितिका सभापति भरतकुमार शाहको अध्यक्षतामा आज बसेको बैठकले बेरुजु फछ्र्योटमा कार्ययोजना बनाई कार्य सम्पन्न गर्न र समयमै सम्परीक्षण गराई सोको प्रगति मासिकरुपमा समितिमा पेश गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो । समितिले सङ्गठित संस्थाको आर्थिक कारोवार, सार्वजनिक खरीद प्रक्रियामा देखिएका समस्या, विगतमा समितिबाट भएका निर्देशन कार्यान्वयन अवस्था, सार्वजनिक सेवा प्रवाहको स्थितिबारेमा छलफल गर्न आज विभिन्न ३१ संस्थालाई बोलाएको थियो । सभापति शाहले संस्थाका प्रतिनिधिलाई आर्थिक कारोवार गर्दा बेरुजु कायम नहुनेतर्फ ध्यान दिन आग्रह गर्दै बेरुजु न्यूनीकरणमा आवश्यक सहयोग गर्ने कर्मचारीको सेवा सुविधा तथा पुरस्कारको व्यवस्था गर्नका लागि आफूले भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । राष्ट्रिय समाचार समितिका महाप्रबन्धक ओपेन्द्र शर्माले आफ्नो संस्थामा बेरुजु नभएको बताउँदै कार्यालयको लेखा प्रणाली र खर्च व्यवस्थापनका बारेमा समितिलाई जानकारी गराएका थिए ।
राष्ट्र बैंकले रोक्यो स्वावलम्बनको एफपीओ, संस्थापक सेयर स्वामित्व पनि परिवर्तन नहुने
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले निष्कासन गर्न लागेको थप सार्वजनिक निष्कासन(एफपीओ) प्रक्रियालाई नेपाल राष्ट्र बैंकले रोकेको छ । संस्थाले तत्काल जारी गर्न लागेको १० करोड ४८ लाख १४ हजार ८०० रुपैयाँ बराबरको एफपीओको अनुमतिलाई बैंकले रोक्का गरेको हो । संस्थाको संस्थापक र सर्वसाधारणको पुँजी अनुपात ७०ः३० रहेको छ । उक्त पुँजी अनुपातलाई परिर्वतन गरेर ५१ः४९ कायम गर्ने संस्थाको प्रस्तावलाई राष्ट्र बैंकले अस्वीकृत गरेको छ । यी दुबै प्रस्तावलाई यस वित्तीय संस्थाको गत पुस २६ मा सम्पन्न साधारणसभाले अनुमोदन गरिसकेको थियो । त्यसपछि अनुमतिका लागि राष्ट्र बैंकमा पेश गरेको उक्त प्रस्ताव अस्वीकृत भएको वित्तीय संस्थाले बुधबार एक सूचनाद्धारा जानकारी गराएको छ ।
माछापुच्छ्रे बैंक र चिरायु नेशनल अस्पतालबीच सेवा सम्बन्धी सम्झौता
काठमाडौं । माछापुच्छ्रे बैंक र चिरायु नेशनल अस्पताल तथा मेडिकल इन्स्टिच्यूटबीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईराला तथा चिरायु नेशनल अस्पताल तथा मेडिकल इन्स्टिच्यूटको तर्फबाट सञ्चालन निर्देशक चण्डेश्वर वैद्यले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले चिरायू नेशनल अस्पतालका सेवाहरुमा १५% सम्मको छुट पाउने छन् । बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् । मलुकभर बैंकका ९३ वटा शाखाहरु लगायत ६२ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १५५ स्थानबाट ग्राहकलाई बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर ११५वटा एटीएमहरु सञ्चालनमा रहेका छन् ।