विकासन्युज

कल डिपोजिटको व्यवस्था तत्काल कार्यान्वयन हुन्नः डेपुटी गभर्नर शिवाकोटी

काठमाडौ । वाणिज्य बैकहरुले कल डिपोजिटको मात्रा १० प्रतिशतमा झार्न १ बर्षको समय पाउने भएका छन् । मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामा कल डिपोजिट १० प्रतिशत भन्दा कम हुनुपर्ने व्यवस्था अघि सारिएको छ । तर डेपुटी गर्भनर चिन्तामणी शिवाकोटीले भने त्यसका लागि बैंकहरुले एक वर्षको समय पाउने स्पष्ट पारेका हुन् । डेपुटी गर्भनर  शिवाकोटीले बैकहरुले आगामी आसार मसान्तसम्म कल डिपोजीट १५ प्रतिशतमा मात्र झार्नुपर्ने र अर्को पुष मसान्तसम्ममा भने १० प्रतिशतमा झार्नुपर्ने बताएका हुन् । राजधानीमा आयोजीत फाईनान्सीयल टेक्नोलोजी सम्बन्धी एक कार्यक्रममा बोल्दै डेपुटी गभर्नर शिवाकोटीले मौद्रीक नीतिको समिक्षा मार्फत नेपाल राष्ट्र बैकले वित्तीय साक्षरता हटाउने प्रयास गरेको दावी गरे । उनले छोटो समयको डिपोजीट लिने तर लामो समयकालागि कर्जा प्रवाह गर्ने बैकको प्रवृतीका कारण कल डिपोजिटको हिस्सा घटाउनु परेको बताए । यस्तै, बैकहरुले ऋणपत्र जारी गर्नुपर्ने प्रावधानपनि त्यसैको निमित्त रहेको जानकारी दिए । हाल बैकिङ क्षेत्रको औसत कल डिपोजीट १० प्रतिशत भन्दा केही मात्र बढी भएपनि कुनै बैकको त्यो हिस्सा २५ प्रतिशतसम्म रहेको बताए । छोटो अवधिको निक्षेपले वित्तीय क्षेत्रमा बारम्बार समस्या दोहोरीरहेकोमा उनले प्रकाश पारे । मिडिया इन्टरनेशनलद्धारा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैकका कार्यकारी निर्देशक नर बहादुर थापाले बैकिङ क्षेत्रमा टेक्नोलेजि आवश्यक रहेको बताए । थापाले संयुक्त राष्ट्र संघले सन २०२० मा नेपालमा गरिबी लगाएतका १७ वटा समस्या हटाउने लक्ष्य राखेको र सो कुरामा प्रविधिले महत्वपूर्ण भुमीका खेल्ने जानकारी दिए । उनले हरेकको बैकमा खाता रहनु पर्ने तथा प्रविधि मैत्री वातावरणमा सबै रम्न सकेमा मात्र विकास सम्भव हुने बताए । साथै आर्टिफिसियल ईन्टलिजेन्स, फिंगर प्रीन्ट तथा क्लाउड सिस्टम विश्वमा चलिरहेकाले नेपाललेपनि त्यस्ता कुरामा सक्रियता जनाउनु पर्ने उनको तर्क रहेको छ । साथै, यस्ता कुरामा राष्ट्र बैकको भुमिका सहयोगी रहने उनले बताएका छन् । कार्यक्रममा बीमा टेक्नोलोजी विज्ञ कुसल रेग्मीले बीमामा प्रविधि प्रयोगको बारेमा प्रस्तुती लिएका थिए । रेग्मीले वर्तमान अवस्थामा नेपालको बीमा क्षेत्रमा आधुनीक देखी पुराना दुवै प्रकारका प्रविधिको प्रयोग भई रहेको जानकारी दिएका थिए । साथै, सफ्टवेर मार्फत बीमितका रेकर्ड राख्दा सहज, विश्वासिलो तथा काम गर्न छिटो हुने उनले बताए । यसरी नै आगामी दिनमा पहिलेका प्रविधिलाई हटाउदै नयाँ सफ्वेर प्रयोगको सुरुवात बीमा क्षेत्रमा गर्न आवश्यक रहेको उनको तर्क छ ।

मालिका बचतको नयाँ सेवा केन्द्र सुन्धारा स्थित जेडिए कम्प्लेक्समा

काठमाडौँ । कुलेश्वर काठमाण्डौमा प्रधान तथा बैंकिङ्ग कार्यालय रहेको मालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडको प्रथम बिस्तारित सेवा केन्द्र थप गरको छ । बिस्तारित सेवाकार्यालय काठमाण्डौं सुन्धारा स्थित जे.डि.ए. कम्प्लेक्समा आज एक समारोहका बीच संस्थाका अध्यक्ष जनकबहादुर धामीको सभापतित्व एवम् प्रमुख अतिथि काठमाण्डौ महानगरपालिका सहकारी संस्था विभागका निर्देशक नवराज ढकालले संयुक्त रुपमा समुद्घाटन गरियो ।

ज्योति विकास बैंकले एकैदिन खोल्यो ५ नयाँ शाखा, हेराैँ कहाँ कहाँ ?

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले बुधबार ५ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले भक्तपुर जिल्लाको बोडेमा, काभ्रेको बनेपामा तथा काठमाडौं जिल्लाका साखुँ, बलम्बु र कीर्तिपुरमा गरि एकैदिन पाँच नयाँ शाखा औपचौरिक रुपमा सञ्चालनमा ल्याएको हो । बोडे शाखाको उद्घाटन मध्यपुर थिमी नगरपालिका वडा नं ८ का वडा अध्यक्ष देवकृष्णमोय श्रेष्ठ तथा बैंकका संचालक जगदिश्वरप्रसाद अधिकारीले संयुक्त रुपमा गरेका छन् । साथै, बनेपा शाखाको बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरसिँह बादे श्रेष्ठ तथा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले संयुक्त रुपमा उद्घाटन गरेका छन् । त्यसैगरि, साखुँ बजारमा रहेको नयाँ शाखा शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठ तथा बैंकका सञ्चालक छत्रमान श्रेष्ठले र कीर्तिपुर शाखाको उद्घाटन कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन र बैंकका अध्यक्ष हरिचन्द्र खड्काले गरेका हुन् । साथै, चन्द्रागिरी नगरपालिका वडा नं १२, बलम्बुमा रहेको नयाँ शाखाको उद्घाटन राष्ट्र बैंकका डेपुटी गर्भनर शिबराज श्रेष्ठले गरेका छन् । सो अबसरमा डेपुटी गर्भनर श्रेष्ठले सरकारले लिएको निती अनुसार सहुलियतपुर्ण कर्जामा बैंकले ध्यान दिँदै डिजिटल भुक्तानी तिर अग्रसर हुँदै वित्तीय साक्षरतामा समन्वय गर्न आग्रह गरेका छन् । साथै, स्थानीय जनप्रतिनिधीहरुलाई पनि बैकहरुसँग सहकार्य गर्दै देश समृद्व बनाउने अभियानमा लाग्न अनुरोध गरेका छन् । हाल बैंकले ८५ वटा शाखा कार्यालय तथा २२ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ । यसै आर्थिक वर्ष भित्र थप ५ वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटिएम संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । हाल बैंकको चुक्तापुँजी २ अर्ब ५९ करोड रुपैयाँ रहेको छ । यस बैकले हाम्रो बिकास बैंकलाई प्राप्ति गरी एकिकृत कारोबार चाँडै नै सुरुवात गर्ने तयारीमा रहेको छ । त्यसपछि बैंकको चुक्तापुँजी ३ अर्ब १० करोड रुपैयाँ पुग्ने बैंकद्धारा जारी विज्ञप्तिमा जारी छ ।

कामना र प्रभु लाइफबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेड र प्रभु लाईफ इन्स्योरेन्स लिमिटेडबीच आज बैंकान्स्योरेन्स सम्बन्धी सेवा आदान प्रदान गर्ने गरि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ६४ वटै शाखाहरुबाट सहज रुपमा प्रभु लाईफ इन्स्योरेन्स लिमिटेडको जीबन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । सम्झौतासँगै बैंकको व्यावसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लावाविन्त हुने बैंकले जनाएको छ । सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत  प्रविण वस्नेत र प्रभु लाईफ इन्स्योरेन्स लिमिटेडको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले हस्ताक्षर गरेका छन् ।

बेष्ट फाइनान्स र नेपाल रेडक्रसबीच सम्झौता

काठमाडौँ । बेष्ट फाइनान्स कम्पनी लिमिटेड र नेपाल रेडक्रस सोसाईटी, कमलादी च्याप्टरबीच स्वास्थ्य सम्बन्धी जनचेतना अभिबृद्धिका कार्यक्रम गर्ने बिषयमा संझौता भएको छ । सो सम्बन्धी संझौतापत्रमा बेष्ट फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारी र नेपाल रेडक्रस सोसाईटी, कमलपोखरी च्याप्टरका तर्फबाट सचिव माधव अधिकारीले हस्ताक्षर गरेका छन् । फाइनान्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल रेडक्रस सोसाईटी, कमलादी च्याप्टरसंग स्वास्थ्य सम्बन्धी जनचेतना कार्यक्रम, रक्तदान कार्यक्रम, सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई सेनेटरी सामाग्री वितरण कार्यक्रम लगायत समाजमा स्वास्थ्य सम्बन्धी जनचेतना अभिबृद्धि गर्ने कार्यक्रमहरु गर्नका लागि यो सहकार्य गरिएको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए ।

समायोजन रोजेका ७७ हजार मध्ये सरकारले गर्यो २३ हजार कर्मचारी समायोजन

काठमाडौँ । सरकारले २२ हजार ९१६ कर्मचारीलाई सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन गरेको छ । समायोजन रोजेका करीब ७७ हजार कर्मचारीमध्ये २२ हजार ९१६ कर्मचारी समायोजन गरिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका समायोजन शाखाका प्रमुख केदारप्रसाद पनेरुले जानकारी दिए । उनका अनुसार सङ्घमा १७ हजार २७९, प्रदेशमा दुई हजार ४४८ र स्थानीय तहमा तीन हजार १९० कर्मचारी समायोजन भएका छन् । मन्त्रालयले सचिव, सहसचिवको समायोजन गरिसकेको छ भने उपसचिव, शाखा अधिकृत र अन्य कर्मचारीको समायोजन गरिरहेको छ । सरकारले तीनै तहमा समायोजनका लागि गत पुस ११ गतेदेखि यही माघ २ गतेसम्म अनलाइन फाराम भर्ने समयसीमा तोकेर सङ्घमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ कर्मचारी समायोजन गर्ने प्रक्रिया शुरु गरेको थियो । सहसचिव पनेरुले परराष्ट्र, संसद्, लेखा परीक्षण र न्याय सेवा समूहका सबैमा समायोजन गरिसकेको बताए । उनले वाँकी रहेका कर्मचारीको समायोजन दैनिकरुपमा भइरहेको जानकारी गराए । रासस

राष्ट्र बैंकले यसरी जलाउँछ हजार र पाँच सयका नोट, वार्षिक कति नष्ट हुन्छ ?

काठमाडौँ । सर्वसाधारण, बैंक तथा वित्तीय संस्थाहरूबाट सङ्कलित विभिन्न दरका नोटहरू अन्ततः नेपाल राष्ट्र बैकको ढुकुटीमा पुग्छन् ।त्यहाँ तिनको स्थिति खुट्याएर झुत्रा, मैला एवम् खण्डित नोटलाई छुट्याइन्छ। प्रयोग गर्न नसकिने अवस्थाका तर नम्बर देखिने नोटलाई प्रचलनबाट हटाउन नेपाल राष्ट्र बैंकले सटहीको सुविधा पनि दिएको छ। राष्ट्र बैंको मुद्रा व्यवस्थापन विभागका अनुसार त्यसरी सङ्कलित नोट फेरि चलनचल्तीमा नजाऊन् भन्ने हेतुले लेखाजोखा गरेपछि थापाथलीस्थित भट्टीमा जलाउने गरिएको छ । राष्ट्र ब्याङ्क मुद्रा व्यवस्थापन विभागका प्रमुख लक्ष्मीप्रपन्न निरौलाले भने, विभिन्न ब्याङ्क तथा वित्तीय संस्थाबाट पुराना तथा झुत्रा नोटहरू केन्द्रीय ब्याङ्कमा जम्मा भएपछि ती नोटहरू फेरि चलनचल्तीमा ल्याइँदैन, कानुनी प्रक्रिया पुर्‍याएर जलाइन्छ। विभागका अनुसार गत आर्थिक वर्षमा ५६ अर्ब रुपैयाँ बराबरका नोट नष्ट गरियो । यसै हप्ता मात्रै झन्डै १२ करोड रुपैयाँ बराबरका झुत्रा नोट जलाइयो । तर केही वर्षयता चलनचल्तीमा जान अयोग्य नोटको परिमाण बढेको राष्ट्र ब्याङ्कके जनाएको छ । राष्ट्र ब्याङ्कले नोट नष्ट पार्ने कामलाई धुल्याउनु भन्छ । आर्थिक वर्ष २०७२/७३ मा ३८६ अर्ब रुपैयाँ, २०७३/७४ मा ४३१ अर्ब रुपैयाँ र २०७४/७५ मा ४९४ अर्ब रुपैयाँ चलनचल्तीमा रहेको नेपाल राष्ट्र ब्याङ्कले जनाएको छ । नोटको आयु कति ? आर्थिक वर्ष २०७०र७१मा १९ अर्ब रुपैयाँ, २०७१/७२ मा ४० अर्ब रुपैयाँ, २०७२/७३ मा २६ अर्ब रुपैयाँ र २०७३/७४ मा २५ अर्ब रुपैयाँ बराबरका नोट प्रचलनबाट खिचिएको राष्ट्र ब्याङ्कको तथ्याङ्कले देखाउँछ । सामान्यतया नेपाली नोटहरूको आयु दुई किसिमको हुने राष्ट्र ब्याङ्कका अधिकारीहरूको भनाइ छ । पहिलो, ५०० र १००० रुपैयाँ दरका नोटको आयु सरदर साढे तीन वर्ष हाराहारीको हुन्छ भने पाँचदेखि १०० रुपैयाँ दरका नोटको आयु सरदर साढे दुई वर्षको हुने उनीहरू बताउँछन् । तर, यसबारेमा कुनै स्वतन्त्र अध्ययन भने भएको देखिँदैन । राष्ट्र बैंकले पाँच देखि १०० रुपैयाँ दरका नोट छपाउँदा प्रतिनोट झन्डै एक रुपैयाँ ६५ पैसा खर्च हुने जनाएको छ। पाँच सय तथा १००० दरको नोट छपाउँदा भने प्रति नोट झन्डै दुई रुपैयाँ ६४ पैसा खर्च हुन्छ । पाँच सय र १००० रुपैयाँ दरका नोटमा प्रयोग हुने कागजको गुणस्तर राम्रो हुने भएकोले सानो दरका नोटको तुलनामा तिनको आयु लामो हुन्छ। कसरी छानिन्छ नोट ? निरौलाका अनुसार झुत्रा, मैला, च्यातिएका, लेखिएका तथा अङ्गभङ्ग भएका नोटहरू केन्द्रीय ब्याङ्कको मुद्रा व्यवस्थापन विभाग र उपत्यका बाहिरका सातवटा स्थानमा जम्मा गरिँदै आएको छ। राष्ट्र बैंकको ढुकुटीमा पुगेका नोटबाट सफा नोट अर्थात् चलनचल्तीमा आउन सक्ने नोटलाई सेतो ट्याग लगाएर पुनः भुक्तानी दिइन्छ वा बजारमा पठाइन्छ। तर म्याद गुज्रिएका वा झुत्रा नोटमा भने रातो ट्याग लगाएर जलाउन सञ्चित गरिन्छ। राष्ट्र ब्याङ्कले जलाउनका लागि नोटहरू छुट्याएपछि ५०० र १००० दरको नोटको गड्डीमा चारैतिर प्वाल पारिन्छ। तर साना दरका नोटमा भने प्वाल पारिँदैन। प्वाल पार्नुअघि दुई पटकसम्म नोटहरूको गणना हुने अधिकारीहरूको भनाइ छ । नेपाली सेनाको सुरक्षामा ती नोटहरू थापाथलीस्थित भट्टीसम्म पुर्‍याइन्छ। जलाउनुअघि र्‍यान्डम स्याम्प्लिङु विधिबाट पाँच प्रतिशत नोटमा नमुना परीक्षण गरेर जलाउने प्रक्रिया सुरु हुन्छ। कसले गर्छ निगरानी ? मुद्रा व्यवस्थापन विभागको प्रमुख संयोजक रहने एउटा समितिको रोहबरमा ती नोटहरू नष्ट पारिन्छ । सो समितिमा सरकार र आन्तरिक लेखा परीक्षण विभागलगायत विभिन्न निकायका प्रतिनिधिहरू हुन्छन् । नोटका बिटालाई भट्टीमा राखेर मट्टीतेल खन्याई आगो सल्काएपछि उपस्थित निकायका प्रतिनिधिले भट्टीमा ताला लगाउँछन् । त्यसको केही घण्टापछि सबै नोट जलेको निर्क्योल भएपछि भट्टी पखाल्ने काम गरिन्छ । यो कामको सीसीटीभीबाट निगरानी पनि गर्ने गरिएको उक्त विभाग मातहतका नोट कोष तथा नगद फाँटका कायममुकायम सहायक निर्देशक शङ्करप्रसाद बजगाईँले बताए। विकल्प के छ ? राष्ट्र बैंकले झु्त्रा नोट नष्ट गर्ने परम्परागत शैली अन्त्य गर्ने भएको छ । नोट जलाउने विद्यमान तरिका वातावरणका लागि उपयुक्त नभएको र प्रक्रिया पनि अत्यन्त झन्झटिलो भएको राष्ट्र बैंकको ठहर छ। मुद्रा व्यवस्थापन विभागका प्रमुख निरौलाले भने, त्यसैले आगामी एक वर्षभित्र नोट नष्ट गर्ने र त्यसबाट ब्रिकेट बनाउने आधुनिक प्रविधि भित्र्याउन हाल टेन्डरको प्रक्रिया जारी रहेको छ। तर, नोटको आयु लम्ब्याउन सके झुत्रा नोट नष्ट गर्न लाग्ने खर्च घटाउन सकिने अधिकारीहरूको सुझाव छ। प्रयोगकर्ताले नोटमा केरमेट गरे वा नष्ट गर्न खोजेमा कम्तीमा तीन महिनासम्म जेल सजाय वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने मुलुकी अपराध संहिता ऐन २०७४ मा व्यवस्था छ। राष्ट्र ब्याङ्कका अनुसार झुत्रा नोट विस्थापित गर्न मात्र नभई चलन चल्तीमा रहेका एक, दुई, १०, २५, र २५० दरका पोलिमर नोट हटाउँदै लैजान पनि नोट धुल्याउने कार्य गरिँदै आएको हो । (बीबीसीबाट)

सन नेपाल लाईफ इन्स्योरेन्स र कामना विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक र सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृक राजकुमार अर्यालले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ६४ वटै शाखाहरुबाट सहज रुपमा सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीबन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । सम्झौतासँगै बैंकको व्यावसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लावाविन्त हुने बैंकले जनाएको छ । काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशभरका ६४ वटा शाखा तथा १७ वटा एटिएम मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एविविएस, एसएमएस व्याकिङ्ग, मोबाइल व्याकिङ्ग, सि एएसबिए लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको छ ।