विकासन्युज

साेमबारकाे तुलनामा सुन प्रति तोला १ सयले वृद्धि

काठमाडौं । मङ्गलबार सुन मूल्य प्रति तोला १ सय रुपैयाँल वृद्धि भएको छ । सोमबार ६२ हजार ७ सयले कारोबार भएको सुन मङ्गलबार ६२ हजार ८ सयले बिक्री भईरहेको छ । त्यस्तै सोमबार तेजापी सुनमा प्रतितोला १ सय रुपैयाले वृद्धि भई ६२ हजार ४ सय रुपैयाँले कारोबार भएको सुन, मङ्गलबार ६२ हजार ५ सय विक्री भईरहेको छ । चाँदी भने सोमबार कै मूल्य ७८० कायम रहन सफल भएको छ ।

गेटा आँखा अस्पताल परिसरमा कृषि विकास बैंकको एक्सटेन्सन काउन्टर

काठमाडौँ । कैलाली जिल्लाको गेटा आँखा अस्पताल धनगढीमा कृषि विकास बैंक लि.को एक्सटेन्सन काउन्टरको शुरु भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय, अस्पतालका निर्देशक डा.सुरेशकुमार पन्त र नेपाल नेत्रज्योति संगका उपाध्यक्ष चक्रबहादुर सिंहद्धारा संयूक्त रुपमा औपचारिक उद्घाटन भएको हो । कृषि विकास बैंक लि. क्षेत्रीय कार्यालय, धनगढीका निर्देशक हरिश्चन्द्र यादवको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतालका निर्देशक डा.सुरेशकुमार पन्त र नेपाल नेत्रज्योतिसंगका उपाध्यक्ष चक्रबहादुर सिंहले अस्पतालमा आउने विरामी तथा कर्मचारीहरुका लागि वित्तिय कारोबार गर्न सहजता हुनुका साथै सुदुरपश्चिमका ९ जिल्लाबाट रकम प्राप्त गर्न र रकम पठाउनमा सहजता हुने बताए । उद्घाटन कार्यक्रममा कृषि विकास बैंक लि. कामु उप–महाप्रबन्धक चुडामणी तिम्सिना, सामान्य सेवा विभागका विभागीय प्रमुख दीर्घबहादुर अर्याल, क्षेत्रीय कार्यालय धनगढीमा कार्यरत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

एनआईसी एशियाको ८० लाख ३१ हजार कित्ता बोनस शेयर सूचिकृत

काठमाडौँ । एनआई सी एशिया बैंक लिमिटेडको पुस ४ गते बसेको २१औं साधारणसभाबाट पारित १० प्रतिशत बोनस शेयर संख्या ८० लाख ३१ हजार ११७ कित्ता शेयर फागुन ९ गते नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको छ । सो पश्चात् बैंकको जारी तथा चुक्तापूँजी ८ अर्ब ८३ करोड ४२ लखा २८ हजार ६९८ रहेको छ । बैंकको केही शेयर अझै अभौतिकरण भइनसकेको परिप्रेक्ष्यमा उक्त शेयरहरू अभौतिकीकरण गर्न बैंकले शेयरधनीहरूमा बिज्ञप्ति मार्फत आग्रह समेत गरेको छ । बैंकको वासलातको आकार २१५ अर्ब भन्दा बढी पुगेको छ भने कूल निक्षेप करिब १७१ अर्ब पुगेको छ । बैंकको कूल कर्जा करिब १४९ अर्ब रहेको छ । हाल ग्राहकको संख्या करिब १४ लाख ५० हजार रहेको बैंकले जनाएको छ ।

५२१ रोजगार संयोजकको छनोट, बाँकी २३२ जनाको छनौट कहिले ?

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विद्युतीय भर्ना प्रणालीमार्फत आज ५२१ रोजगार संयोजकको छनोट गरेको छ । योग्य र सीपयुक्त कर्मचारीलाई शतप्रतिशत निश्पक्ष र पारदर्शी ढङ्गबाट भर्ना गर्नका लागि नेपालमै पहिलो पटक पूर्णतः विद्युतीय भर्ना प्रणाली अवलम्बन गरिएको मन्त्रालयले जनाएको छ । कूल ७५३ स्थानीय तहका लागि भनेर रोजगार संयोजक छनोट गर्ने गरी प्रक्रिया अघि बढाइए पनि २३२ उम्मेदवारले तोकिएको अङ्क ल्याउन भने सकेन् । सो परीक्षामा उतीर्ण हुन ५० पूर्णाङ्कमा कम्तीमा २५ अङ्क प्राप्त गर्नुपर्ने व्यवस्था गरिएको थियो । पदपूर्ति हुन बाँकी रहेका रोजगार संयोजकका हकमा केही दिनभित्र निर्णय लिइने प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक एवं श्रम मन्त्रालयका सहसचिव प्रकाश दाहाले जानकारी दिए । उनले भने, “फाजिलमा रहेका नेपाल सरकारका कर्मचारीलाई नै जिम्मेवारी दिने की स्थानीय तहमा रहेका कर्मचारीबाट तत्कालका लागि काम गर्ने भन्ने बारेमा केही दिनभित्रै मन्त्रालयले निर्णय लिन्छ ।” विद्युतीय भर्ना प्रणालीबाट छनोट भएका तथा अन्य प्रतिस्पर्धी उम्मेदवारले प्राप्त गरेको अङ्क देखिने गरी विस्तृत विवरण प्रधानमन्त्री रोजगार कार्यक्रमको वेवसाइटमा राखिएको मन्त्रालयले जनाएको छ । रोजगार संयोजकको छनोटका लागि श्रम मन्त्रालयका सविचको संयोजकत्वमा लोक सेवा आयोग र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव संलग्न पदपूर्ति निर्देशक समितिको गठन गरिएको थियो । अन्तिम छनोटमा परेका उम्मेदवारलाई योग्यताक्रम अनुरुप आफूले रोजेको स्थानीय तहमा काम गर्न छनोटको अवसर दिई सात दिनभित्र करार सम्झौता गरी खटाइने कार्यक्रममा संयोजक दाहाल बताए । रोजगार कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सरकारले यसअघि नै प्रत्येक स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरिसकेको छ । छनोट भएका रोजगार संयोजकले प्रत्येक स्थानीय तहमा रहेका बेरोजगारको सङ्ख्या, रोजगारी उपलब्धताको अवस्थाका बारेमा अध्ययन गरेर बेरोजगारलाई रोजगारीको अवसर उपलब्ध गराउन सहजीकरण गर्नेछन् । रोजगार संयोजक पदपूर्तिका लागि गत माघ ४ देखि १८ गतेसम्म अनलाइनमार्फत आवेदन माग गरिएको थियो । सो अवधिमा प्राप्त भएका २३ हजार ९८६ आवेदनमध्ये दुई हजार २६५ उम्मेदवार प्रारम्भिक योग्यता क्रममा छानिएका थिए । प्रारम्भिक योग्यता क्रममा छानिएका उम्मेदवारबीच अन्तिम छनोटका लागि शनिबार र आइतबार अनलाइन प्रणालीमा आधारित कम्प्युटर सीप परीक्षणको परीक्षा लिइएको संयोजक दाहालले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले यही फागनु १ गते बेरोजगार युवालाई आन्तरिक श्रम बजारमा एक आर्थिक वर्षमा कम्तिमा १०० दिनको रोजगारी उपलब्ध गराउने उद्देश्यले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’को घोषणा गरे । सरकारले १०० दिनकोे रोजगार प्राप्त गर्न नसक्ने बेरोजगार युवालाई रोजगारी पाउन नसकेको दिनको पारिश्रमिक बराबरको ५० प्रतिशत रकम निर्वाह भत्ता उपलब्ध गराउने घोषणा गरिसकेको छ । रासस

चैत पहिलो साताबाट प्याराग्लाइडिङको परीक्षण उडान, सूर्यविनायकलाई पर्यटकीय गन्तव्य बनाइने

भक्तपुर । सूर्यविनायक नगरपालिकाको पर्यटकीय क्षेत्र रानीकोटबाट प्याराग्लाइडिङको परीक्षण उडान सफल भएसँगै अब भक्तपुरमा व्यावसायिक रूपमा प्याराग्लाइडिङको उडान हुने भएको छ । आगामी चैत पहिलो साताबाट आन्तरिक र बाह्य पर्यटकलाई लक्ष्य गरी प्याराग्लाइडिङको उडान भर्ने गरी पर्यटन मन्त्रालयसँग स्वीकृति लिई उडान भर्ने तयारी गरेको गुण्डु इन्टरनेसनल प्याराग्लाइडिङका अध्यक्ष निर्भयबाबु प्रसाईंले जानकारी दिए । सूर्यविनायकलाई पर्यटकीय क्षेत्रको रुपमा विस्तार गर्दै पर्यटक भित्र्याउने लक्ष्यका साथ प्रतिनिधिसभा सदस्य महेश बस्नेतको पहलमा प्याराग्लाइडिङको उडान सञ्चालन हुने भएको हो । अध्यक्ष प्रसाईले भने, “भक्तपुरमा आन्तरिक र बाह्य पर्यटक भित्र्याउने लक्ष्यका साथ प्याराग्लाइडिङ शुरु गर्न सांसद बस्नेतले हामीलाई आग्रह गरे, उनले रानीकोटबाट उडाएर गुण्डुमा अवतरण गर्ने गरी प्याराग्लाइडिङको उडान भर्न सक्ने सुझाव दिएपछि हामीले लगानी ग¥यौँ, कानूनी प्रक्रिया पूरा गरेर चैत पहिलो सातासम्म प्याराग्लाइडिङको उडान शुरु गर्नेछौँ ।” प्याराग्लाइडिङ सञ्चालनका लागि करीब रु तीन करोडको लगानी रहेको बताउँदै उनले गत शनिबार रानीकोटबाट परीक्षणका रुपमा आठ प्याराग्लाइडिङको उडान सफलतापूर्वक गुण्डुमा अवतरण गरिएकाले अब चैतदेखि नै उडान शुरु गर्ने गरी तयारी गरेको उनको भनाइ छ । सूर्यविनायक–८ को पर्यटकीयस्थल रानीकोटबाट उडाएर वडा नं ७ गुण्डु वडाकार्यालय नजिकै अवतरण गर्ने गरी प्याराग्लाइडिङ सञ्चालनको तयारी गरिएको छ । यसका लागि गुण्डुमा १५ रोपनी जग्गा भाडामा लिएको प्रसाईंले बताए । “सात प्याराग्लाइडिङबाट दैनिक ४० उडान भर्ने गरी तयारी गरिएको छ”, उनले भन्नुभयो । उनले भने, “रानीकोटबाट उडेको प्याराग्लाइडिङ गुण्डुमा अवतरण गराउनेछौँ, आकाशमा ३० देखि ५० मिनेटसम्म उड्ने गरी व्यवस्थापन गरेका छौँ, यसको माग बढेमा थप गर्दै लैजाने छौँ ।” प्याराग्लाइडिङबाट काठमाडौँ उपत्यकाको मनोरम दृश्य, काँठक्षेत्रका मनोरम दृश्य, हिमालका दृश्यावलोकन गर्न सकिन्छ भने पाइलटबाबा आश्रम, डोलेश्वर, अनन्तलिङ्गेश्वर मन्दिर, निर्माण हुँदै गरेको अन्तर्राष्ट्रिय चिडियाखानालगायतलाई नजिकबाट नियाल्न सकिन्छ । प्याराग्लाइडिङको सफल उडानसँगै घोडा दौड, साइकलिङमार्फत पर्यटकलाई आकर्षित पार्ने विभिन्न मनोरञ्जनात्मक खेल सञ्चालनमा ल्याउने तयारी छ । सांसद बस्नेतले भक्तपुरमा पर्यटनको विकास गर्न र सरकारले ल्याएको पर्यटन वर्ष २०२० सफल पार्न प्याराग्लाइडिङ सञ्चालनमा ल्याउन आफूले पहल गरेको बताए । उनले सूर्यविनायक नगरपालिका क्षेत्रमा प्रशस्त पर्यटकीय आकर्षणका गन्तव्य रहेकाले ती क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बनाउन प्याराग्लाइडिङले महत्वपूर्ण सहयोग पुर्याउने बतात । “रानीकोट र अनन्तलिङ्गेश्वर मन्दिरको डाँडामा भ्यूटावर बन्दैछ, यहाँ घरबासदेखि धार्मिक पर्यटकीय क्षेत्रको रुपमा समेत विकास गर्ने गरी अवधारणा र योजना अगाडि बढाएका छौँ, सूर्यविनायकलाई पर्यटकको आकर्षक गन्तव्यको केन्द्र बनाउँदैछौँ ।” सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले नगरक्षेत्रलाई पूर्वाधार विकास र पर्यटन विकासको वर्षको रुपमा अगाडि बढाइएको बताए । उनले नागरिकको आर्थिक अवस्था उकास्ने गरी पर्यटकीय गन्तव्य बनाउन नगरपालिकाले काम थालेको बताए । रासस

चालीस हजार भारतीय अण्डा नष्ट, बर्डफ्लु लागेको अण्डा किन भित्र्याउँछन ह्याचरी उद्योग ?

भरतपुर । भारतबाट अवैध रूपमा ल्याइएको ४० हजार अण्डा नष्ट गरिएको छ । चितवनको भरतपुरस्थित मिलन ह्याचरी र परासीको बर्दघाटमा रहेको त्रिवेणी सङ्गम ह्याचरीले भारतबाट अवैध रूपमा ल्याएको अण्डा नष्ट गरिएको हो । सोमबार भरतपुर–५ तोरीखेतस्थित मिलन ह्याचरीले ल्याएको १० हजार अण्डा र बर्दघाटमा रहेको त्रिवेणी सङ्गम ह्याचरीको ३० हजार अण्डा नष्ट गरिएको नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ऋषिराम पौडेलले जानकारी दिए । विशेष सूचनाका आधारमा अवैध अण्डा ल्याएको भेटेपछि अण्डा नष्ट गरिएको उनले बताए । दुवै ह्याचरीबाट अण्डा उत्पादनका लागि ह्याचरसेटमा राखिएकै अवस्थाबाट निकालेर अण्डा नष्ट गरिएको हो । ह्याचरी उद्योग सङ्घका केन्द्रीय र जिल्ला पदाधिकारीको टोली र क्वारेन्टाइनका चिकित्सकको टोलीले उद्योगमै पुगेर अण्डा नष्ट गरेका हुन् । आज मिलन ह्याचरीले अवैध रुपमा ल्याएको १० हजार अण्डा पशुविज्ञ केन्द्रमा नष्ट गर्ने तयारी गरिएको पौडेलले बताए । अण्डासहितको गाडी उद्योगीले नियन्त्रणमा लिई पशुविज्ञ केन्द्रमा बुझाएका हुन् । । यी ह्याचरीले यसअघि पनि पटक–पटक भारतबाट अवैध रुपमा अण्डा ल्याउने गरेका थिए । ह्याचरी उद्योगलाई धरासायी बनाउन भारतबाट बर्डफ्लु लागेको अण्डा अवैध रुपमा भित्र्याइएको पौडेलले बताए । रोगको प्रकोप फैलाउन अण्डाको अवैध कारोवार बढेको उनको भनाइ छ । नेपालमा २१५ ह्याचरी उद्योग छन् भने चितवनमा मात्रै सयभन्दा बढी उद्योग छन् । प्रतिहप्ता ३० हजार बोइलर चल्ला र तीन लाख लेयर्स चल्ला उत्पादन हुने गरेको नेपाल ह्याचरी उद्योग सङ्घले जनाएको छ । रासस

फागुन १६ गतेदेखि हेटौँडामा राष्ट्रिय औद्योगिक मेला, ७ करोड बराबरको आर्थिक कारोवार हुने

काठमाडौं । मकवानपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा फागुन १६ गतेदेखि राष्ट्रिय औद्योगिक मेला शुरु हुने भएको छ । सो मेला २५ गतेसम्म हेटौँडा उपमहानगरपालिका–५ क्याम्पाडाँडामा हुनेछ । राष्ट्रिय औद्योगिक मेला प्रदर्शनी आयोजना गर्न मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण कटुवालको संयोजकत्वमा ५०१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । सो राष्ट्रिय औद्योगिक मेला प्रदर्शनीमा अटो, कम्प्युटर सूचना प्रणाली, हस्तकलाका सामग्री, कृषि उत्पादन, फलफूल, तयारी पोशाक, जुत्ता, महिला उद्यमीद्वारा निर्मित हस्तकलाका सामग्री एवं सातै प्रदेशबाट उत्पादित औद्योगिक सामग्रीसहित जम्मा ४४० कक्ष राखिने मकवानपुर उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष अनिल अग्रवालले जानकारी दिए । मेला अवधिभर अवलोकन गर्न आउने सर्वसाधारणको रुचिअनुसार उचित मूल्यमा हेलिकोप्टरबाट हेटौँडा बजार लगायत प्राचीन स्थलको अवलोकन गराइने कार्यक्रम छ । प्रदेश नं ३ सरकारको तर्फबाट गरिन लागेको आर्थिक समृद्धिको कार्यक्रममाथि अन्तरक्रिया गरिनाका साथै सर्वसाधारणलाई निःशुल्क स्वास्थ्योपचार सेवाको व्यवस्था गरिएको छ । मेलाको अवधिमा करीब एक लाख सर्वसाधारणले अवलोकन गर्ने अनुमान गरिएको छ । करीब ७ करोड बराबरको आर्थिक कारोवार हुने कोषाध्यक्ष अग्रवालले बताए । रासस

बेरुजु फर्छ्यौट नगर्ने कर्मचारीको बढुवा रोकिने, व्यक्तिगत सम्पति बेचेर असुलिँदै

काठमाडौं । अब बेरुजु फर्छ्यौट नगर्ने कर्मचारीहरुको बढुवा रोकिने भएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा बेरुजु फर्छ्यौट नगर्ने कर्मचारीहरुको सरुवा र बढुवा दुबै रोक्न प्रस्ताव गरिएको हो । सो एनेमै नियमित प्रक्रियाबाट असुल उपर नभएको बेरुजुलाई सरकारी बाँकी सरह मानेर सम्बन्धीत अधिकारीको जायजेथा बेचेर असुल गर्न प्रस्ताव गरिएको छ । ऐन सम्बन्धी विधेयक हाल संसदमा दर्ता भएको छ । ऐनको परिच्छेद ७ को दफा ४ मा बेरुजु फछ्र्यौट नगरि सरुवा बढुवा हुन नपाउने व्यवस्था अघि सारिएको हो । त्यस्तै, परिच्छेद ८ को दफा ४६ मा नियमित प्रक्रियाबाट असुल उपर नभएको बेरुजु सरकारी बाँकीको रुपमा रहने र सम्बन्धीत कर्मचारीबाट असुल उपरि गरिने उल्लेख छ । त्यस्तो रकम सम्बन्धीत कर्मचारीको जायजेथा बेचेर असुल उपर हुनेछ । आर्थिक कार्यविधि ऐन, २०५५ लाई खारेज गरेर ल्याउन लागिएको नयाँ ऐनले वित्तिय उत्तरदायित्वलाई महत्व दिएको छ । यो ऐनले सार्वजनिक खर्च प्रणालीलाई व्यवस्थित बनाउनका लागि योजना आयोगले आवधिक योजनाको आधारमा आगामी ३ वर्ष अवधीको मध्यकालिन खर्च संरचना तयार गर्नुपर्नेछ । त्यसका लागि सबै मन्त्रालयहरुले ३ वर्षमा हुने खर्चको प्रक्षेपण पनि पठाउनुपर्नेछ । सोही खाकाका आधारमा विभिन्न मन्त्रालय र आयोजनाहरुका लागि बजेट विनियोजन गरिनेछ । योजना आयोगका उपाध्यक्षको नेतृत्वमा रहने राष्ट्रिय श्रोत अनुमान समितिले आगामी ३ वर्षको खर्च विवरणका पूर्व अनुमान रिपोर्ट चालु आर्थिक वर्षको माघ १५ गतेभित्र पेश गरिसक्नुपर्नेछ ।