विकासन्युज

एभरेष्ट इन्स्योरेन्सको १४ लाख कित्ता सेयर सूचिकृत

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको १४ लाख ३ हजार ३२५ कित्ता हकप्रद सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ । मंगलबार मात्रै कम्पनीको सो मात्राको सेयर नेप्सेमा थपिएको हो । हाल कम्पनीको चुक्ता पुँजी १३ करोड ३६ लाख ५० हजार रुपैयाँ रहेको छ । मंगलबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७६५ रुपैयाँ रहेको छ ।

एनआईसी एशियाका ग्राहकले अब घरैमा बसेर केवाइसी अपडेट गर्न सक्ने

काठमाडौँ । एनआई सी एशिया बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै ग्राहक पहिचान अद्यावधिक(केवाईसी अपडेट) गर्न बैंकको शाखा कार्यालयमा स्वयम् उपस्थित हुन पर्ने व्यवस्थालाई परिमार्जन गरेको छ । अब ग्राहकहरु घर तथा कार्यालयमा बसी झण्झट रहित तरिकाबाट ईन्टरनेटको माध्यमबाट आफ्नो ग्राहक पहिचान अद्यावधिक गर्न सकिने व्यवस्था मिलाएको बैंकले जनाएको छ । यस सुविधा अन्तर्गत ग्राहक महानुभावहरुले बैंकको आधिकारिक वेबसाइट www.nicasiabank.com मा लगइन गरी “update KYC Online” portal मा आफ्नो खाता नम्बर, मोवाईल नम्बर र ईमेल आइडी राखेर आफ्नो ग्राहक पहिचान विवरण अद्यावधिक गर्न सक्ने छन् ।

हनुमानढोकास्थित आगम्छे मन्दिरको पुनर्निर्माण स्थानीयले गर्ने, दीक्षितबाहेक अरू प्रवेश गर्न नमिल्ने

काठमाडौं । हनुमानढोका दरबार परिसरमा रहेको आगम्छे मन्दिरको पुनर्निर्माण स्थानीय समुदायमार्फत् गरिने भएको छ ।  राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पहलमा उपभोक्ता समितिमार्फत् मन्दिरको पुनर्निर्माण कार्य अघि बढाउन जनप्रतिनिधिहरु, स्थानीय समुदाय र जापान सरकार सहमत भएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले लामो पहलपछि सबैपक्षबीच सहमति जुटेको भन्दै अब मन्दिरको पुनर्निर्माण कार्य अघि बढ्ने विश्वास व्यक्त गरे । उनले निर्देशक समिति, प्राविधिक समिति र उपभोक्ता समिति गठन हुने जानकारी दिँदै धार्मिक मान्यताको सम्मान एवं परम्परागत शैली, प्रविधि र स्थानीय सामग्रीको प्रयोग गरि नेपाली कालिगढले नै मन्दिर पुनर्निर्माण गर्ने बताए । संघीय संसद्का सांसद कृष्णगोपाल श्रेष्ठले दीक्षित भएकाबाहेक मन्दिरमा कोही पनि प्रवेश गर्न नमिल्ने बताउँदै मन्दिरको पुनर्निर्माणमा आर्थिक पारदर्शिता कायम गर्नु पर्नेमा जोड दिए। प्रदेशसभाका सांसद राजेश शाक्यले स्थानीय समुदायलगायत सबैको साथ लिएर आगम्छे मन्दिरको पुनर्निर्माण कार्यलाई अघि बढाउने बताए । भूकम्पपछि क्षति भएका संरचनाहरु पुनर्निर्माण गर्ने क्रममा आगम्छे मन्दिरको पुनर्निर्माणको जिम्मा जापान सरकारलाई प्रदान गरिएको थियो । यसअघि, मन्दिरको पुनर्निर्माण जाइकामार्फत् गरिने भएपछि जनप्रतिनिधि, स्थानीय समुदाय लगायतले त्यसप्रति असहमति जनाएकाले पुनर्निर्माण कार्य अवरुद्ध भएको थियो ।

मध्यमर्स्याङदी-दमौली-मर्स्याङदी प्रसारण लाइन संचालनमा, अब चुहावट घट्ने

काठमाडौं । मध्यमर्स्याङदी-दमौली-मर्स्याङदी १३२ केभी डबल सर्किट प्रसारण लाइन संचालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणले २२ किलोमिटर प्रसारण लाइनको निर्माण सम्पन्न गरी सोमबारबाट संचालन (चार्ज)मा ल्याएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो प्रसारण लाइन संचालनमा आएपछि समग्र प्रसारण प्रणालीको चुहावट घट्ने र प्रणालीको विश्वसनीयता बढ्ने बताए । ‘मध्यमर्स्याङदी-मर्स्याङदी प्रसारण लाइन ओभरलोड हुँदा लमजुङस्थित निजी क्षेत्रका जलविद्युत आयोजनाबाट वर्खामा उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न नसकी खेर जाने सम्भावना थियो अब मध्यमर्स्याङदी-दमौली-मर्स्याङदी लाइन संचालनमा आएपछि विद्युत खेर जाने सम्भावनाको अन्त्य भएको छ’उनले भने । ‘मर्स्याङदी-काठमाडौं र मर्स्याङदी-भरतपुर प्रसारण लाइनमा फल्ट आउँदा प्राधिकरणका मध्यमस्र्याङदी, मस्र्याङदी सहित निजी क्षेत्रका आयोजनाको विद्युत प्रवाह गर्न नसक्ने अवस्था थियो, अव यसको पनि अन्त्य भएको छ, अब ती आयोजनाको विद्युत दमौली सबस्टेसनमार्फत भरतपुर र पोखरातर्फ पठाउन सकिने भएको छ ।’ निजी क्षेत्रले लमजुङमा निर्माण गरेका आयोजनाको करिब ६६ मेगावाट विद्युत र प्राधिकरणको स्वामित्वमा रहेका मध्यमस्र्याङदी ७० मेगावाट तथा तल्लो मस्र्याङदी ६९ मेगावाट गरी २०५ मेगावाट विद्युत् मध्यमर्स्याङदी-मर्स्याङदी प्रसारण लाइन हुँदै काठमाडौं र चितवको भरतपुरतर्फ प्रवाह हुँदै आएको छ । मध्यमर्स्याङदी-दमौली-मर्स्याङदी लाइन संचालनमा आएपछि ती केन्द्रबाट उत्पादित विद्युत्लाई पोखरा र भारतपुर तर्फ पठाउन सकिने आयोजना प्रमुख शुभारम्भ विक्रम शाहले बताए । उनले दमौली सबस्टेसनबाट दमौली-लेखनाथ र दमौली-भरतपुर प्रसारण लाइनमार्फत क्रमश: पोखरा र दमौली-भरतपुरतर्फ विद्युत् पठाउन सकिने बताए । ‘यही आयोजना अन्तर्गत तनहुँको मार्कीचोकमा निर्माण भइरहेको १३२/३३ केभी सब स्टेसन केही दिनमै संचालनमा ल्याउँदैछौ’, उनले भने । ‘मस्र्याङदी, दमौली र मध्यमर्स्याङदी सबस्टेसनमा बे पनि थपेका छौं, मध्यमर्स्याङदीमा थपिएको यसबाट लमजुङको दोर्दी करिडोरमा निजी क्षेत्रले निर्माण गरिरहेका आयोजनाको विद्युत पनि राष्ट्रिय प्रणालीमा जोड्न सकिने छ ।’

टोयोटा रश रोड शो सफलतापूर्वक सम्पन्न, अनस्पट १० वटा टोयोटा बुकिङ

काठमाडौँ । मोटर उत्पादक टोयोटाको नेपालभरिकै एकमात्र अधिकृत बिक्रेता युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रालि(युटिएस)ले “टोयोटा रश रोड शो” को आयोजना गरेको छ । काठमाडौ–चितवन–बुटवल हुँदै काठमाडौँ आएर शो सम्पन्न भएको हो । फागुन ८ गतेदेखि सुरुवात गरिएको सो कार्यक्रम, करिब १७० किमिको यात्रा गरी सयौं ग्राहकहरुलाई सक्रियतापुर्वक सहभागि गराई फागुन १४ गते काठमाडौमा फर्की टुंगिएको कम्पनीले जनाएको छ । चितवन र बुटवलका उपभोक्तालाई लक्षित गरी आयोजना गरिएको कार्यक्रम दुवै शहरहरुमा २ दिन संंचालन भएको छ । चितवनमा ३ वटा रोड शो र बुटवलमा १ वटा रोड शो साथै दुवै शहरहरुमा अवस्थित अटो वेज प्रालिमा शोरुम इण्टर्याक्सन पनि गरिएको कम्पनीले जनाएको छ । यस रोड शो ले दुवै शहरहरुमा ८० जनाग्राहकहरुलाई शो रुम इण्टर्याक्सन गराई अनस्पट १० वटा टोयोटा बुकिङ लिन सफल भएको जनाएको छ । सो कार्यक्रममा न्युनतम डाउन पेमेन्ट, नगद छुट, एक्सचेन्ज बोनस, १ वर्षको इन्सुरेन्स, १ वर्षको सडक कर र टेस्ट ड्राइभमा उपहारहरुले यस रोड शोलाई तुलनात्मक रुपमा प्रतिष्पर्धी भन्दानिकै अगाडी रहेको र सोहि गतिमा बढ्ने कुरा साबित गरेको कम्पनीले जनाएको छ ।

यातायात व्यवसायीको बैंक खाता खुला, राज्यकोषमा आउने रकम मन्त्रीले व्यवसायीलाई नै जिम्मा लगाए

काठमाडौं । यातायात व्यवसायीको बैंक खाता खुला भएको छ । बैशाख २४ गते बन्द भएको देशभरका २४५ यातायात व्यवसायीको बैंक खाता १० महिनापछि खुला भएको हो । सरकारले यातायात क्षेत्रको सिण्डिकेट तोड्ने निर्णय गरेसँगै आन्दोलनमा होमिएका व्यवसायीहरुलाई पक्राउ गरी बैंक खाता रोक्का गरिएको थियो । व्यवसायीहरुको बैंक खाता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको पहलमा खुलेको हो । व्यवसायीको खाता खोल्न राष्ट्र बैंकले स्वीकृति दिएको प्रवक्ता नारायणप्रसाद पौडेलले स्वीकार गरे । पौडेलले केहि व्यवसायीको खाता खोल्नको लागि प्रस्ताव आएको र सोहि बमोजिमको खुला गर्न निर्देशन दिएको बताए । मैले आफ्नो समितिमा रहेको २ लाख रुपैंया झिकिसकेको छु नाम नबताउने शर्तमा एक व्यवसायीले भने–लगभग सबै व्यवसायीले बैंकबाट रकम झिकिसेका छन् । बैंकबाट रकम झिक्नका लागि मन्त्रालयले जिल्ला प्रशासन मार्फत व्यवस्था गरेको थियो । तर, सो प्रणालीबाट धेरै रकम भिक्न नमिल्ने भएपछि व्यवसायीहरु हच्किएका थिए । बैंक खाता खोल्न व्यवसायीले यातायात मन्त्री रघुवीर महासेठसँग निरन्तर दबाब दिएका र सो कार्य सफल भएको बताइएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले खाताबाट रकम झिक्न सहज भएको स्वीकार गरे । कर्मचारी, घरभाडा, घाइते उपचारको लागि बैंक खाता बन्द हुँदा समस्या भएको उनले बताए । देशभर २४५ भन्दा बढी व्यवसायीहरु रहेका छन् । मन्त्रालयले समितीहरुलाई कम्पनी मोडेलमा आउन दोस्रो पटक समय थपेको छ । रोक्का गरिएको रकम राज्य कोषमा आउने सक्थ्यो ! नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ अन्तर्गत रहेका २४५ वटा यातायात व्यवसायीको रकम सरकारले सरकारले आफ्नो राज्यकोषमा जम्मा गर्न सक्ने थियो । सरकारले संस्था दर्ता ऐन २०३४ अनुसार व्यवसायीहरुको बैंक खातामा रहेको रकम राज्य कोषमा ल्याउन सक्थ्यो । ऐनको दफा १४ मा संस्थाको विधान बमोजिम कार्य सञ्चालन गर्न नसकी वा अन्य कुनै कारणवश संस्था विघटन भएमा त्यस्तो संस्थाको सम्पूर्ण जायजेथा नेपाल सरकारमा सर्नेछ भनी उल्लेख गरिएको छ । यस दफा अनुसार यातायात व्यवसायीको नविकरण नहुँदा सिधै विघटन हुने थियो। व्यवसायीले गरेको बन्दलाई सरकारले विधान विपरितको कार्य भनी प्रमाणित गर्ने आधार थियो । कम्पनी मार्फत व्यवसायीहरु कम्पनीको रुपमा दर्ता हुँदा त्यो व्यक्तिको नाममा दर्ता हुने भएकोले व्यक्तिको नाममा दर्ता भएको कम्पनीलाई खातामा रहेको रकम दिन मिल्दैन । यसैका व्यवसायीले कम्पनी मोडेलमा नगई खाता खुलाउन निरन्तर प्रयास गरेका थिए ।

लगानी कोषको आधिकारीक ट्रेड यूनियनमा चालिसे, यस्तो छ नयाँ कार्यसमिति

काठमाडौं । नागरिक लगानी कोषको आधिकारीक ट्रेड युनियनको नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको छ । उक्त कार्यसमितिको अध्यक्षमा सुरेश चालिसे निर्वाचित भएका हुन् । त्यस्तै, उपाध्यक्ष प्रदिप अधिकारी, सचिव नेत्र बिक्रम थापा, सहसचिव अवधेश मण्डल, कोषाध्यक्षमा शर्मिला श्रेष्ठ चयन भएका छन् भने सदस्यहरुमा अर्चना घिमिरे, जयकिशोर यादव, मौसमी राई, दुर्गानन्द यादव, श्यामलाल श्रेष्ठ र रवि खनाल रहेका छन् । नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई कोषका कार्यकारी निर्देशक रमण नेपालले बधाई ज्ञापन गरे । कार्यक्रममा अध्यक्ष चालिसेले नव गठित कर्मचारी युनियनसँग कोषको समग्र हितका लागी मिलेर काम गर्ने उनले बताए । कोषमा आवद्ध नागरिक लगानी कोष कर्मचारी यूनियन र नेपाल वित्तीय संस्था कर्मचारी संघ बीच आधिकारीक ट्रेड युयिन गठनको लािग निर्वाचन हुने प्रक्रिया अन्तर्गत सहमती भएपछि कर्मचारी युनियनले नेतृत्व लिएको हो । कोषमा आबद्ध प्रतिष्ठान स्तरका ट्रेडयुनियनहरु १० फागुनमा निर्वाचन गर्ने गरी कार्यक्रम सार्वजनिक गरिएकोमा २ फागुनमा निर्धारित समयभित्रै कर्मचारी युनियन र कर्मचारी संघ बीच सहमति भई नेपाल वित्तीय संस्था कर्मचारी संघ, नागरिक लगानी कोषले नाम फिर्ता लिई नागरिक लगानी कोष कर्मचारी युनियनलाई सहमति प्रदान गरेको थियो । सोही अनुसार नागरिक लगानीकोष कर्मचारी यूनियन एकमात्र प्रतिष्ठानस्तरको ट्रेड युनियनको उम्मेदवार कायम रहेकोले आधिकारिक ट्रेड युनियन निर्वाचन निर्देशिका, २०५२ को दफा १४ (०२) बमोजिम नागरिक लगानी कोष कर्मचारी यूनियन निर्विरोध रुपमा निर्वाचित भएको श्रम तथा रोजगार कार्यालय वागमतीले जनाएको छ ।

बाग्लुङ, डोटी र रोल्पामा ग्लोबल आइएमईको थप ३ शाखारहित बैंकिङ्ग सेवा बिस्तार

काठमाडौँ । ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लाहरुमा थप ३ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले फागुन १३ गतेदेखि बाग्लुङ्ग जिल्लाको बाग्लुङ्ग नगरपालिका–१२, अमलाचौरमा ११८औँ, डोटी जिल्लाको के.आई.सिहं गाउँपालिका– २, तिखातरमा ११९औँ र रोल्पा जिल्लाकोलुंग्री गाउँपालिका–१२, सिर्पमा १२०औँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको हो । यी तीनै शाखारहित बैंकिङ्ग सेवाहरु स्थानीय जनप्रतिनिधि, बुद्घिजिवी तथा स्थानीयवासीहरुको रोहवरमा शुरुवात भएको हो । शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्पmत बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डीसहोम, सीडीएमए, यूटीएलको महसुल भुक्तानी गर्ने, मोबाइल रिर्चाज गर्ने लगायतका सेवा लिन सक्ने बैंकले जनाएको छ । कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नु पर्ने बाध्यतालाई मध्यनजर गरी ग्लोबल आइएमई बैंकले ती स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको जनाएको छ ।