विकासन्युज

हाथवे फाइनान्स वार्षिक साधारणसभामा जाँदै, १८० प्रतिशत हकप्रद प्रस्ताव रद्ध गर्ने

काठमाडौं । हाथवे फाइनान्स लिमिटेड आगामी चैत २६ गते आफ्नो २२औँ वार्षिक साधारणसभामा जाँदै छ । उक्त सभाले हाल कायम रहेको चुक्ता पुँजीको १८० प्रतिशत हकप्रद सेयर दिने प्रस्तावलाई रद्ध गर्ने भएको छ । संस्थाले २१औँ वार्षिक साधारणसभाको विशेष प्रस्ताव अनुसार सो मात्रा अर्थात ५४ करोड रुपैयाँ बराबर हकप्रद सेयर जारी लागेको थियो । ग्लोबल आईएमई बैंक लिमिटेडसँग एक्वाएर हुने भएपछि उक्त प्रस्ताव रद्द गर्न लागेको कम्पनीले जनाएको छ । उक्त सभामा जाने प्रयोजनको लागि संस्थाको आगामी चैत १३ गतेदेखि १५ गतेसम्म बुक क्लोज हुने भएको छ । हाल संस्थाको चुक्ता पुँजी ३० करोड रुपैयाँ रहेको छ । संस्थाकाे गत चैत १ गतेदेखि सेयर काराेबार राेक्का भइरहेकाे छ । संस्थाको सभा चैत २६ गते बिहान ११ बजे सुन्सरीस्थित धरानको होटल द रत्न इनमा बस्दै छ ।

नागरिक लगानी कोषको १३ प्रतिशत शेयर बेच्दै राष्ट्र बैंक, नियामकीय अधिकारमा अर्थमन्त्री सकारात्मक

काठमाडौं । नेपाल राष्ट्र बैंकको १३ प्रतिशत स्वामित्व रहेको नागरिक लगानी कोषको स्वामित्वबाट नेपाल राष्ट्र बैंक बाहिरिने भएको छ । बैंकले कोषको स्वामित्वबाट बाहिरिने तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । सोमबार अर्थमन्त्री युवराज खतिवडाले नागरिक लगानी कोषबाट राष्ट्र बैंक बाहिरिएको बताउँदा नेपाल राष्ट्र बैंकका कामु गभर्नर चिन्तामणि शिवाकोटीले नेपाल राष्ट्र बैंक बाहिरिने प्रक्रिया अन्तिम चरणमा पुगेको भन्दै त्यो अवस्थाका लाथि तयार रहन कोषलाई सुझाव दिएका छन् । शेयर स्वामित्वबाट बाहिरिए पनि कोषको नियामकीय अधिकार राष्ट्र बैंकलाई दिन भने अर्थमन्त्री सकारात्मक देखिएका छन् । कर्मचारी सञ्जय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष जस्ता गैरबैंकिङ वित्तीय संस्थाको नियमन गर्ने अधिकार माग गरेको नेपाल राष्ट्र बैंकको प्रस्तावप्रति अर्थमन्त्री सकारात्मक देखिएका हुन् । अर्थमन्त्री खतिवडाले ती कोषहरुको प्रभावकारी नियमनका लागि राष्ट्र बैंकलाई जिम्मा दिने सम्बन्धमा छलफल भइरहेको र यसमा मन्त्रालय सकारात्मक रहेको जानकारी दिएका हुन् । ‘तपाईँहरु हाम्रो नियामक नै छैन भन्ने नसोच्नुस्, तपाईँका गतिविधिहरुलाई हामीले नजिकबाट नियालिरहेका छौं, नागरिक लगानी कोष र यस्तै अन्य गैरबैंकिङ संस्थालाई नियमन गर्न पनि राष्ट्र बैंकलाई जिम्मा दिने कि भन्ने छलफल भइरहेको छ ।’ नागरिक लगानी कोषको २९ औं वार्षिकोत्सव तथा भवन शिलान्यास समारोहलाई सम्बोधन गर्दै अर्थत्रन्ी युवराज खतिवडाले भने । उनले नागरिक लगानी कोषको स्वामित्वबाट नेपाल राष्ट्र बैंक बाहिरिएसँगै आउने नयाँ र जागरुक लगानीकर्ताहरुसँग नयाँ ढंगले काम गर्न समेत निर्देशन दिए । कार्यक्रममा नेपाल राष्ट्र बैंकका कामु गभर्नर चिन्तामणि शिवाकोटीले नेपाल राष्ट्र बैंक ऐन संशोधनको क्रममा रहेको भन्दै उक्त संशोधनमार्फत् नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष लगायतका गैरबैंकिङ संस्थाहरुको नियमन गर्ने प्रस्ताव गरेको भन्दै त्यो ऐन संशोधन भएपछि नागरिक लगानी कोषको नियामक समेत नेपाल राष्ट्र बैंक हुने बताए । उनले नियामक निकायको रुपमा रहेको नेपाल राष्ट्र बैंकसँग रहेको शेयर राखिनरहने भन्दै राष्ट्र बैंक स्वामित्व फिर्ताको अन्तिम चरणमा रहेको जानकारी दिए । ‘नागरिक लगानी कोषबाट नेपाल राष्ट्र बैंकले शेयर झिक्छ, शेयर स्वामित्व परिवर्तन हुँदा कोषमा समस्या नआओस्, त्यसको लागि तयारी गर्नुस् ।’– कामु गभर्नर शिवाकोटीले भने । उनले सामाजिक सुरक्षा कोषले नागरिक लगानी कोषको क्षेत्रधिकारमा पार्नसक्ने प्रभावलाई पनि विचार गर्दै त्यसको पूर्वतयारी गर्न समेत कोषलाई सुझाव दिए । हाल १ अर्ब १० करोड रुपैंया चुक्ता पुँजी रहेको नागरिक लगानी कोषमा नेपाल राष्ट्र बैंकको १३ प्रतिशत शेयर स्वामित्व छ । यसबाहेक नेपाल सरकारको १० प्रतिशत, नेपाल स्टक एक्सचेञ्जको १० प्रतिशत, राष्ट्रिय बीमा संस्थानको २७ प्रतिशत, बैंक तथा वित्तीय संस्थाको २० प्रतिशत र सर्वसाधारणको १० प्रतिशत शेयर हिस्सा नागरिक लगानी कोषमा छ । नेपाल राष्ट्र बैंकसँग त्यसबाहेक नेपाल स्टक एक्सचेञ्ज, राष्ट्रिय बीमा संस्थान लगायतका कम्पनीहरुको समेत शेयर स्वामित्व छ । नियामकका रुपमा कुनै पनि संस्थाको स्वामित्व लिँदा स्वार्थ बाझिने भन्दै राष्ट्र बैंकलाई त्यस्ता संस्थाहरुको स्वामित्वबाट बाहिरिन दबाब पर्दै आएको थियो । हाल त्यसका लागि प्रक्रिया निकै अघि बढिसकेको र चरणबद्ध रुपमा स्वामित्व हस्तान्तरण गर्दै जाने योजना रहेको राष्ट्र बैंक स्रोतले जानकारी दियो ।

इन्डोनेसियामा बाढी पहिरो, ७७ जनाको मृत्यु

जाकार्ता । इन्डोनेसियाको पपुआ प्रान्तमा पर्ने जयपुरा जिल्लामा गत शनिबार साँझ आएको बाढी र पहिरोमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ७७ पुगेको छ । यस घटनामा १ सय १६ जना घाइते भएका र उद्धारको प्रयास जारी रहेको एक स्थानीय अधिकारीहले सिन्ह्वा समाचार समितिलाई बताएका छन् । खोजी र उद्धार कार्य जारी रहेका युदी यान्टो जिल्लामा रहेको उद्धार कार्यलयका प्रवक्ता जानकारी दिए । स्थानीय समयानुसार साँझ शनिबार छ बजे आएको यस बाढी परी अझै पनि कैयौ व्यक्ति बेपत्ता रहेका छन् । बाढीबाट प्रभावित भएकाहरुमध्ये हजारौं व्यक्तिलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको बताइएको छ । बाढीले दर्जनौ घर, पुल र सडकलगायतका भौतिक संरचनामा पनि क्षति पुर्याएको बताइएको छ । घटनाबाट प्रभावितलाई खोजी तथा उद्धार र राहत वितरण भइरहेको सरकारी अधिकारीले जनाएका छन् । रासस/सिन्ह्वा

‘खल्ती डिजिटल वालेट’ले शुरु गर्यो क्यु–आर कोडमा आधारित इभेन्ट्स टिकेटिङ सेवा

काठमाडौँ । ‘खल्ती डिजिटल वालेट’ले आज चैत्र ४ गते सोमबारबाट क्यु–आर कोडमा आधारित डिजिटल टिकेटिङ सेवाको औपचारिक रुपमा सुरुवात गरेको छ । अब देशभरका सबै प्रकारका कार्यक्रम आयोजकहरुले आफ्नो कार्यक्रम तथा इभेन्ट्सको बारेमा खल्तीको टिकेटिङ प्रणालीमा जानकारी प्रकाशन गर्न सक्नुका साथै कार्यक्रमका दर्शक तथा सहभागिहरुले खल्ती एप तथा वेबसाइट प्रयोग गरी उक्त कार्यक्रमहरुको डिजिटल टिकट किन्न र अनलाईनबाटै पैसा भुक्तानी गर्न सक्ने छन् । डिजिटल प्रणालीमा आधारित यस टिकेटिङ र भुक्तानी सेवाले कार्यक्रम आयोजकका साथै उक्त कार्यक्रमका दर्शक तथा सहभागीहरुलाई सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ । खेलकुद प्रतियोगिता, म्युजिक कन्सर्टका साथै अन्य थुप्रै प्रकारका कार्यक्रमहरुको टिकट अब खल्तीको उक्त सिस्टममा उपलब्ध हुने जनाइएको छ । अनलाईन टिकेटिङ सेवाको औपचारिक सुरुवात गर्दै खल्तीका निर्देशक अमित अग्रवालले भने, ‘खल्तीले संचालनमा ल्याएको यस सेवाले कार्यक्रम आयोजकहरुको टिकट छपाई तथा वितरण गर्ने झन्झट केहि हदसम्म अन्त्य हुने अपेक्षा गरिएको छ ।’ साथै, उक्त कार्यक्रमका दर्शकहरुले पनि अन्लाईन मार्फत टिकट किन्दा पैसा बचत गर्न सक्नेछन् । खल्ती मार्फत टिकट किन्दा प्रत्येक टिकटमा टिकटको मूल्यको पचास प्रतिशतसम्म क्यासब्याकको व्यवस्था गरिएको छ । टिकट किनिसकेपछि प्रयोगकर्ताले हरेक टिकटको लागि एउटा क्यु–आर कोड प्राप्त गर्नेछन् जुन ‘पिडिएफ’ को फम्र्याटमा डाउनलोड गर्न पनि सकिन्छ ।

रुपन्देहीको मुर्गियामा नेपाल बैंक लिमिटेडको शाखा पुनस्र्थापना

काठमाडौँ । नेपाल बैंक लिमिटेडले प्रदेश नम्बर ५ अन्तर्गत रुपन्देही जिल्ला सैनामैना न.पा.वडा नम्बर ३ मुर्गियामा शाखा पुनस्र्थापना गरेको छ । उक्त शाखा सशस्त्र द्वन्द्वकालमा कमजोर शान्ति सुरक्षाको कारणले वि.सं. २०५६ चैत ८ गते स्थानान्तर गरिएको थियो । वि.सं.१९९४ सालमा देशको अग्रणी बैङ्कको रुपमा स्थापित नेपाल बैङ्क लिमिटेडले देशका ६१ जिल्लामा १६० शाखा १२ वटा एक्सटेन्सन काउन्टर ७९ वटा एटिएम आउटलेट् मार्फत १५ लाख बढी ग्राहकलाई प्रत्यक्ष बैङ्किङ्ग सेवा पु¥याईरहेको जनाएको छ ।

म पसेपछि खाल्टो माथि उठ्नुपर्छ, अपवाद नबन्नुस्ः अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले आफुले शिलान्यास गर्ने हरेक भवनको निर्माण तीव्र गतिमा हुनै पर्ने बताएका छन् । काठमाडौँ नयाँबानेश्वर स्थित तरकारी बजारमा नागरिक लगानी कोषको भवन शिलान्यास कार्याक्रममा सोमबार अर्थमन्त्री खतिवडाले यस्तो कुरा बताएका हुन् । सो कार्यक्रममा अर्थमन्त्री खतिवडाले भने–म पसेपछि खाल्टो माथि उठ्नुपर्छ, त्यसमा नागरिक लगानी कोष अपवाद नबनोस् । कोषले २९ औं वार्षिकोत्सवका अवसरमा भवन शिलन्यास कार्यक्रम गरेको हो । सो कार्यक्रममा नेपाल राष्ट्र बैंकका कामु गर्भनर चिन्तामणि शिवाकोटी लगायतको उपस्थिति रहेको थियो । नागरिक लगानी कोषले विभिन्न ११ वटा बचत योजनामा देशभरका ४ सय संघसंस्थाका ६ लाख ३१ हजार कर्मचारीको बचत संकलन गर्दै आएको छ । आगामी दिनमा बचतका नयाँ नयाँ योजना ल्याउने नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपालले बताए ।

महासंघका वरिष्ठ उपाध्यक्ष गोल्छा भन्छन्-‘बैंकको चर्को ब्याज दरले व्यवसायी समस्यामा’

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बैंकहरुले निक्षेपमा थोरै र ऋण लिंदा धेरै ब्याज लिने गरेकोले व्यवसायीहरुलाई समस्या परेको बताएका छन् । ललितपुर उद्योग बाणिज्य संघको ५२ औं स्थापना दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । सोही अवसरमा निजी क्षेत्रसँगको सहकार्य बिना सरकारले राखेको समृद्ध नेपाल, सुखी नेपालीको सपना पूरा हुन नसक्ने बताए । केही दिन यता भएका विस्फोटका घटनाले व्यवसायीहरुले असुरक्षित महसुस गरिरहेकाले सरकारले शान्ति सुरक्षाको ग्यारेन्टी गर्नु पर्ने बताए । सरकारले ल्याउन लागेको विदेशी लगानी तथा प्रविधि हस्तान्तर ऐनमा उल्लेख भएका प्रावधान नेपाली उद्योगी/व्यवसायीहरुलाई प्रोत्साहित गर्ने खालको नभएको उनले प्रतिक्रिया दिए । कार्यक्रममा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल श्रेष्ठले सरकारले लगानी सम्मेलनका लागि छनौट गरेका ६६ योजनामा ललितपुरको एउटापनि योजना नपरेको भन्दै गुनासो गरे । उनले भने– निकट भविश्यमा ललितपुरमा छुट्टै लगानी सम्मेलन गर्ने र त्यसमा जिल्लाको योजना र लगानीबारे छलफल गरिने बताए । निजी क्षेत्र उच्च प्राथमिकतामाः महरा सोही कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले राज्यले निजी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्ने बताए । निजी क्षेत्रको सहकार्य आवश्यक छ–उनले भने । सरकारले ल्याएका ऐन कानून संसोधन हुने भएकाले नआत्तिन व्यवसायीहरुलाई आग्रह गरे । छिमेकी देश चीनमा त समाजवाद आउन अझै धेरै वर्ष लाग्छ, हाम्रो देश पनि बिस्तारै समृद्धीको यात्रामा अघि बढेको उनले बताए । कार्यक्रममा सांसद पम्फा भुसालले लगानी सम्मेलनमा प्रस्तुत गरिने योजनामा ललितपुरको योजनापनि पार्न पहल गर्ने बताइन् ।

काठमाडौंमा भूकम्पको धक्का महसुस, केन्द्रबिन्दु ‘चित्लाङ’

काठमाडौँ । सोमबार बिहान काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ९ बजेर १ मिनेटमा मकवानपुर चित्लाङ केन्द्रबिन्दु बनाई ४.१ म्याग्निच्यूडको भूकम्प गएको हो । यो २०७२ बैशाख १२ गतेको महाभूकम्पको पराकम्प बताइएको छ । भूकम्पको धक्का काठमाडौँ उपत्यकासहित आसपासका जिल्लामा पनि महसुस गरिएको थियो ।