कैलालीको अत्तरियामा ग्लोबल आइएमई बैंकको नयाँ शाखा
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले शुक्रबार कैलाली जिल्लाको अत्तरियामा नयाँ शाखा कार्यालय उद्घाटन गरेको छ । अत्तरिया र त्यस वरपरका बासिन्दालाई सेवा पुर्याउने उद्देश्यले खोलिएको शाखाको पूर्व मन्त्री एवम् प्रतिनिधि सभा सदस्य लेखराज भट्टले औपचारिक रुपमा उद्घाटन गरेका हुन् । सो अवसरमा सांसद भट्टले अत्तरिया लगायत देशका अन्य स्थानहरुमा ग्लोबल आइएमई बैंकले बिस्तार गरेको सेवा सञ्जालले देशको समग्र आर्थिक वृद्धिमा उल्लेखनीय टेवा पुगेको बताए । उक्त कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल लगायत स्थानीय जनप्रतिनिधि, उद्योग बाणिज्य संघका पदाधिकारी, बुद्घिजीवि तथा स्थानीयवासीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । शाखा उद्घाटन समारोहमा बैंकका अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंक लि.ले सुविधा सम्पन्न स्थानमा मात्र नभएर विकट क्षेत्रमा समेत पुगेर आफ्नो सेवा प्रदान गरिरहेको जानकारी गराउँदै सबै वर्ग र क्षेत्रलाई बैंकिङ्ग पहुँचमा ल्याउने बैंकको प्राथमिक उद्देश्य रहेको बताए ।
रासायनिक मल उद्योगमा विस्फोट, ४४ जनाको मृत्यु
नानजिङ्, चीन । पूर्वी चीनको जिआङसु प्रान्तको याङचेङ जिल्लामा रहेको एउटा रासायनिक मल उद्योगमा ठूलो विस्फोट हुँदा ४४ जनाको मृत्यु हुनको साथै अन्य ९० घाइते भएका छन् । उद्धारकार्यको प्रमुख कार्यालयले शुक्रबार सो जानकारी दिएको छ । यद्यपीमा यस विस्फोटमा परी घाइते भएका करिब ६ सय ४० व्यक्ति उपचारार्थ अस्पताल पुगेका थिए । ती मध्य ३२ जनाको स्थिति गम्भीर रहेको र ५८ जनाको नराम्ररी घाइते भएका बताइएको छ । पाँच सय भन्दा बढी व्यक्ति उपचारपछि घर फर्किसकेका छन् । चीनमा केही वर्षमा यता भएका घातक औद्योगिक दुर्घटना मध्येको यो पनि एक भएको बताइएको छ । आगलागी भएपछि भएको विस्फोटको समयमा भूकम्प मापन केन्द्रले २.२ म्याग्निच्युडको कम्पन मापन गरेको भूकम्प मापन निकायले जानकारी दिएको छ । स्थानीय समयानुसार बिहीवार अपराह्न २ः५० बजे याङ्चेङमा अवस्थित सो उद्योगमा विस्फोट भएको थियो । स्थानीय पत्रपत्रिकाका अनुसार विस्फोटको यति शक्तिशाली थियो कि कारखानाको भवनहरूको भग्नावशेषहरू परसम्म लागेर कामदारहरू घाइते भएका थिए । विस्फोट निकै शक्तिशाली भएको र आगलागी शुरू भएको १२ घण्टापछि मात्र आगो नियन्त्रणमा लिइएको चिनियाँ सरकारी टेलिभिजनले जनाएको छ । चीनमा यस्ता उद्योगहरुमा सुरक्षा व्यवस्थामा कमजोर भएको कारण औद्योगिक दुर्घटनाहरू भइरहने पाइन्छ । गत वर्ष नोभेम्बरमा उत्तरी चीनमा रसायन पदार्थ बोकेको एक गाडी दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको थियो । गत वर्ष नै जुलाइमा दक्षिणपश्चिमी चीनको एउटा रसायन उद्योगमा विस्फोट हुँदा १३ जनाको ज्यान गएको थियो। हालैको वर्षको सबैभन्दा ठूलो दुर्घटना भने सन् २०१५ को अगस्टमा भएको थियो जसमा १६० जनाको मृत्यु हुनुका साथै १,००० घाइते भएका थिए। बिहीवारको दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । रासस/सिन्ह्वा
धनगढी-अछाम पहिलोपटक हवाई सेवा शुरु, भाडादर ३ हजार ३ सय ५० रुपैयाँ
अछाम । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीदेखि अछामको साँफेबगरसम्म पहिलोपटक हवाई सेवा शुरु भएको छ । निजी हवाई कम्पनी समिट एयरले पहिलोपटक धनगढीदेखि साँफेबगरसम्मको उडान सञ्चालनमा ल्याएको हो । यस क्षेत्रका यात्रुको सहजताका लागि आजदेखि धनगढीदेखि साँफेबगरका लागि नियमित उडान भर्न शुरु गरिएको समिट एयरका अछाम प्रतिनिधि दीपक दुवालले जानकारी दिए । समिट एयरमा धनगढी–साँफेबगरसम्म १७ मिनेटमै यात्रा गर्न सकिने भन्दै उनले यात्रुको चाप र मागलाई मध्यनजर गरी हप्तामा सातै दिन उडान भर्न सकिने बताए । धनगढीदेखि साँफेबगरसम्मका लागि तीन हजार ३५० भाडादर कायम गरिएको छ । धनगढी–साँफेबगर नियमित हवाई सेवा सञ्चालन हुँदा अछामसहित बाजुरा र डोटी जिल्लाका यात्रुलाई पनि सहज हुने भएको छ । यसअघि नेपाल एयरलाइन्सले नेपालगञ्जदेखि साँफेसम्म निरन्तर दोहोरो उडान सञ्चालन गरिरहेकामा फागुन २२ गतेदेखि समिट एयरले पनि नेपालगञ्जदेखि साँफेबगर उडान शुरु गरेको थियो । नेपाल एयरलाइन्सले हरेक आइतबार र बिहीबार उडान भर्दै आएको छ ।
विप्लव समूहलाई संवैधानिक दायरामा आउन प्रधामन्त्री ओलीले गरे आग्रह
भैरहवा । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा विप्लव समूह आपराधिक गतिविधि छाडेर संवैधानिक दायराभित्र रही सार्वभौमसत्ता रक्षा र स्वाधीनताको पक्षमा लाग्नुपर्ने बताएका छन् । उनले सो समूहलाई आपराधिक गतिविधि नगर्न आग्रह गर्दा विरोध गरिनु आश्चर्यको विषय हो भने । उनले सिके राउत समूह विखण्डनको राजनीति छाडेर मूलधारको राजनीतिमा आएकैले उक्त समूहसँग सरकारले सम्झौता गरेको पनि स्मरण गराए । उनी पत्रकारसँग गौतमबुद्ध विमानस्थलमा कुरा गर्दै थिए । पत्रकारले सोधेको प्रश्नका जवाफमा उनले लुम्बिनी विकास कोषमा अब छिट्टै पदाधिकारी नियुक्त गरी गुरुयोजना पूरा गर्न जिम्मा दिइने जानकारी दिए । उनले भने, “लुम्बिनीमा गुरुयोजनाभन्दा बाहिर हुने गतिविधि र प्रदूषण रोकिने छ, गौतम बुद्धको जन्मस्थान स्वच्छ र धार्मिक थलोका रुपमा विकास गरिने छ ।” नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्षसमेत रहेका ओलीले आकस्मिक रुपमा पार्टी एकीकरण भएकाले पनि अब केही दिनमै तल्लो तहसम्म आकस्मिक रुपमै एकीकरण हुने जानकारी दिए । उनी आज बुटवल मेडिकल कलेज र बुटवल नारायणगढ चार लेन सडक उद्घाटन गर्न रुपन्देही पुगेका हुन् ।
वैदेशिक रोजगार विभागका नासु ६० हजार घुससहित पक्राउ
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग बुद्धनगरमा कार्यरत नायब सुब्बा रामकुमार फुयाँललाई ६० हजार घुस लिएको आरोपमा रकमसहित नियन्त्रणमा लिएको छ । वैदेशिक रोजगारको लेनदेनको कागजमा साक्षी बसेका सेवाग्राहीलाई निजविरुद्ध उजुरी परेको र निजको नाममा पक्राउ पूर्जी जारी गरिदिन्छु भन्दै पटकपटक कार्यालयमा बोलाएर डरधम्की देखाई सेवाग्राहीसँग घुस मागेको अख्तियारले आरोप लगाएको छ । नासु फुयाँलले सेवाग्राहीसँग ६० हजार घुस लिएर जोरपाटी चोकमा फलफूल पसल गर्ने ध्रुव खड्कालाई राख्न दिई केही समयपछि उनै खड्कासँग उक्त घुसबापतको रकम लिँदै गर्दा उनीहरु दुवै जनालाई गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी चोकस्थित सापकोटा मिठाइ भण्डारबाट बिहीबार साँझ नियन्त्रणमा लिइएको हो ।
दुई चिनियाँ फर्ममाथि प्रतिबन्ध लगाउने अमेरिकी घोषणा, उत्तर कोरियालाई सहयोग गरेको आरोप
सियोल । संयुक्तराज्य अमेरिकाले दुईवटा चिनियाँ सिपिङ कम्पनीमाथि राष्ट्रसङ्घीय प्रतिबन्धको बेवास्ता गरी उत्तर कोरियालाई सहयोग गरेको आरोपमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । उक्त कदमले अमेरिकाको उत्तर कोरियामाथि थप दबाब सिर्जना गर्ने उद्देश्य यथावत रहेको देखिएको छ । अमेरिकी अर्थ मन्त्रालयले चीनका दुई कम्पनीहरु डालियान हाइबो इन्टरनेसनल फ्राइट र लाओनिङ डानझिङ इन्टरनेसनल फर्वार्डिङमाथि प्रतिबन्ध लगाएको जनाएको छ । उत्तर कोरियाबाट उत्पादित कोइला एक जहाजबाट अर्को जहाजमा राखेर अन्तर्राष्ट्रिय बजारमा बिक्री गरेको अमेरिकी आरोप छ । यस्तो धन्धामा अरु एक दर्जन कम्पनी संलग्न रहेको भन्दै सूक्ष्म अनुसन्धान भइरहेको अमेरिकाको अर्थ मन्त्रालयले जनाएको छ । भियतनाममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ अनबीचको वार्ता विफल भएपछि पछिल्लो प्रतिबन्ध लगाइएको छ । अमेरिकाले उत्तर कोरियामाथि आणविक हातहतियारको उत्पादन र क्षेप्यास्त्र प्रणाली विकास कार्यक्रम स्थगित गर्न एवं आफूसँग रहेका सबै किसिमका आणविक अस्त्र नष्ट गर्न दबाब दिइरहेको छ । उत्तर कोरियाले भने राष्ट्रसङ्घीय प्रतिबन्धहरु तत्काल फुकुवा हुनुपर्ने शर्त राखेको छ । “संयुक्तराज्य अमेरिका र यसको दृष्टिकोणसँग मिल्दाजुल्दा साझेदारहरु उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम पूर्ण रुपमा त्यागोस् भन्ने चाहन्छन्,” अर्थ मन्त्री स्टिभेन मन्चिनले जारी गर्नुभएको वक्तव्यमा उल्लेख छ । सन् २०१७ मा उत्तर कोरियाले आणविक हातहतियार र ब्यालेस्टिक क्षेप्यास्त्रको परीक्षण गरेलगत्तै राष्ट्रसङ्घले उत्तर कोरिया विरुद्ध विभिन्न प्रतिबन्धहरु घोषणा गरिएको छ । उक्त प्रतिबन्धहरुमा उत्तर कोरियाले प्रशोधित पेट्रोलियम पदार्थ आयात गर्न र कोरियाबाट कोइला निर्यात गर्न नपाइने रहेका छन् । अमेरिकी अर्थ मन्त्रालयका अनुसार गत वर्ष कम्तीमा २६३ ट्याँकर प्रशोधित पेट्रोलियम गैरकानुनी किसिमबाट उत्तर कोरिया भित्रिएको थियो । यदि ती ट्याँकर पूरा भरिएको अवस्थामा रहेका भए कोरियाले करिब ३७ लाख ८० हजार ब्यारेल इन्धन आयात गरेको देखिन्छ । राष्ट्रसङ्घले तोकेको भन्दा यो झण्डै ८ गुणा बढी आयात हो । प्रति वर्ष पाँच लाख ब्यारेल तेल मात्र उत्तर कोरियाले आयात गर्न पाउने गरी राष्ट्रसङ्घले सीमा तोकेको छ । रासस/योनहाप
४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजना बन्दै, मंसिरदेखि निर्माण शुरु हुने
काठमाडौँ । अपी पावर कम्पनीले आफ्नो सहायक कम्पनी अपी चमेलिया पावर लिमिटेड मार्फत नयाँ आयाजनाको रुपमा माथिल्लो ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको निर्माण कार्य आगामी आर्थिक वर्षबाट शुरु गर्ने भएको छ । सुदूर पश्चिमाञ्चल क्षेत्रको दुर्गम जिल्लामा अवस्थित यो आयोजना कम्पनीले निर्माण गरेको तेस्रो आयोजना हो । ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजना आयोजना निर्माणको लागी ७४० करोड लगानी लाग्ने अनुमान गरिएको छ । यसको ३० प्रतिशतले हुने २२२ करोड शेयरधनीको लगानी र बाँकी ५१८ करोड बैंक तथा वित्तीय संस्थाहरुबाट सह वित्तीयकरण मार्फत ऋण लगानी गरिने कम्पनीले जनाएको छ । आयोजनाको निर्माण कार्य २०७६ मंसिरदेखि सुरु गरी ३६ महिनामा सम्पन्न गर्ने लक्ष्य रहेको छ । यो आयोजना सरकारले गर्ने लागेको लगानी सम्मेलनमा समेत नीजि क्षेत्रबाट विकास गरिएको आयोजनामा छनौट समेत भएको छ ।सरकारले लगानी मैत्रीवातावरण बनाउन सकेमा आगामी दिनहरुमा कम्पनीले लगानी योग्य आयोजनाहरु बनाउँदै जाने जनाएको छ ।कम्पनीले निर्माण गर्न लागेको चमेलिया जलविद्युत आयोजनाको शेयर सर्वसाधारण लगानीकर्ताको लागी आव्हान समेत गरेको छ । विद्युत खरिद सम्झौतामा प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङ र अपि पावर कम्पनीका तर्फबाट कार्यकारी सञ्चालन सञ्जिव न्यौपानेले हस्ताक्षर गरिसकेका छन् । यसअघि कम्पनीले ८.५ मेवा क्षमताको नौगाड साना जलविद्युत आयोजना निर्माण सम्पन्न गरी विगत २ बर्ष देखि निरन्तर रुपमा राष्ट्रिय प्रणाली विद्युत प्रवाह गर्दै आएको छ । साथै आगमी चैत मसान्तभित्र ८ मेवा क्षमताको माथिल्लो नौगाड साना जलविद्युत आयोजना निर्माण सम्पन्न हुने कम्पनीले जनाएको छ । आयोजना नेपाल सरकार नेपाल विद्युत प्राधिकरणले निर्माण सम्पन्न गरेको अत्तरिया बलाच १३२ के.भि.ट्रान्समिसन लाइनमा जडान गरिनेछ ।
एभरेष्ट बैंकको विशेष योजना, भिसा कार्ड मार्फत भुक्तानी गर्दा १० प्रतिशत नगद फिर्ता
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि विशेष योजना ल्याएको छ । विशेष योजना अन्तरगतबैंकका कार्ड होल्डरहरुले हरेक खरिदमा १० प्रतिशत नगद फिर्ता पाउने छन् । एभरेष्ट बैंकका ग्राहकहरुले रेष्टुरेन्ट, होटल, मल र सुपरमार्केटमा भिसा कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत रकम उनीहरुको खातामा फिर्ता हुन्छ । एभरेष्ट बैंकका ग्राहकहरुको संख्या १० लाख भन्दा बढि रहेको जनाइएको छ । एभरेष्ट बैंकले हाल आफ्ना ९२ वटा शाखाहरु, २८ राजश्व संकलन काउन्टर र ११६ एटिएम मार्फत सेवाहरु प्रदान गर्दै आएको छ ।