विकासन्युज

वाईसीओ कम्पनीलाई नेप्सेको निर्देशन- प्राविधिक समस्या छिटो हल गर्नुस्

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले हाल अनलाइन प्रणालीमा आइरहेको प्राविधिक समस्यालाई निराकरण गर्न वाईसीओ प्रा. लि. लाई निर्देशन दिएको छ । भर्खरै सञ्चालनमा आएको उक्त प्रणालीमा बेला बेलामा देखिने समस्याहरुलाई छिटो भन्दा छिटो हटाउन नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले शुक्रबार एक विज्ञप्तिमार्फत वाईसीओ कम्पनी तथा नेप्सेको आइटी शाखालाई साे निर्देशन दिएका हुन् । साथै, सीईओ साउदले पुँजी बजारमा देखिएका समस्याहरु सिष्टम वा नेटवर्क जससँग सम्बन्धित भएपनि त्यसलाई हटाई सेयर कारोबार प्रभावकारी बनाउन आग्रह गरेका छन् । शुक्रबार नेप्से पदाधिकारी, ब्रोकर कम्पनीहरु तथा वाईसीओ बीच समस्याको समाधान गर्ने छलफल भएको थियो । उक्त छलफल कार्यक्रममा भेन्डर कम्पनी वाईसीओले हाल देखिएका प्रमुख समस्याहरुका विषयमा ब्रोकरहरुसँग जानकारी लिई उक्त समस्याहरु के कसरी कहिलेसम्म समाधान हुन्छ तथा उक्त समस्याहरु पुनः दोहोरिन नदिने प्रतिवद्धता गरेको छ ।

सिन्धु विकास बैंकको शाखा काभ्रेको पनौती बजारमा

काठमाडौँ । सिन्धु विकास बैंक लिमिटेडले काभ्रे जिल्लाको पनौतीबजारमा बैंकको १४ औं शाखा स्थापना गरेको छ । पनौती शाखा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले उद्घाटन गरेका हुन् । बैंकका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत रमेशप्रसाद जोशीले बैंकको हालसम्मको प्रगती तथा भावी कार्यक्रमको बारेमा आफ्नो मन्तव्य राखेका थिए । सो अवसरमा पनौती नगरपालिकाका नगर प्रमुख भीम न्यौपाने, पनौती उद्योग बाणिज्य संघका अध्यक्ष भोला थापाले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । बैंकले निकट भविष्यमा नै चितवन तथा मकवानपुर जिल्लाको विभिन्न स्थानहरुमा बैंकको शाखा कार्यालय स्थापना गर्ने जनाएको छ । ०६७ साल भाद्र २२ गतेबाट सिन्धुपाल्चोक जिल्लाको बाह्रविसेमा प्रधान कार्यालय र बनेपामा कर्पोरेट तथा शाखा कार्यालय सहित मेलम्ची, खाँडीचौर, दोलालघाट, मुडे, भकुण्डे, पाँचखाल, चरिकोट, चौतारा, सिपाघाट, सिङ्गटी, जलबिरे र पनौतीगरी कुल १४ शाखा तथा सुकेटे तथा सिलढुङ्गामा सिमित बैंकिङ्ग ईकाई कार्यालय सहित गरी हाल १६ स्थानबाट वित्तिय सेवा प्रदान गरिरहेको बैंकले जनाएको छ ।

वार्षिक रुपमा करिब ४५ हजार क्षयरोग रोगी थपिने

काठमाडौं । नेपालमा प्रत्येक वर्ष ४५ हजार नयाँ क्षयरोग विरामी थपिने गर्दछन्र । विश्व स्वास्थ्य संघका अनुसार नेपालमा हरेक वर्ष ४५ संख्यामा रोगीको मात्रा बढ्दै गएको हुदाँ वार्षिक ६० हजार रहेको क्षयरोग केन्द्रले पत्रकार सम्मेलन मार्फत बताएकाे छ। विश्व क्षयरोग दिवसलाई मध्यनजर गर्दै राष्ट्रिय क्षयरोग केन्द्रको आयोजनाले गरेको कार्यक्रममा सो केन्द्रका निर्देशक डा.भिमसिहं टिन्कारीले ‘समय अवको, क्षयरोग अन्त्यको’ भन्ने नारा सहित जनचेतना कार्यक्रम गर्दै आएको बताए । डा. टिन्कारीले कार्यक्रममा बोल्दै ‘सरकारले क्षयरोगको उपचार पुन रुपले निः शुल्क गरेता पनि सर्वसाधारण नीजि क्षेत्रका अस्पताल जानेर रोगको अन्तिम अवस्थामा मात्र सरकारी अस्पताल आउनेको संख्या तिव्र रहेको छ ’ उनले भने । धुम्रपान तथा मद्यपान सेवनको कारण लाग्ने क्षयरोग, नेपालमा महिलाको तुलनामा पुरुषमा बढी देखा परेको तथ्याङ्गले रहेको छ । आर्थिक वर्षमा राष्ट्रिय क्षयरोग केन्द्रलाई ७० करोड रुपैयाँ बजेट विनियोजन भएको छ । उक्त संस्थामा १० करोड वाहिरी अनुदान छ भने ६० करोड नेपाल सरकारको रहेको छ । विनियोजित रकम क्षयरोग केन्द्रले करिव १३ करोड औषधीमा, ७ करोड भवन निर्माणमा अर्थ गरेको निर्देशक डा. टिन्कारीले जानकारी दिए ।

कर अधिकृत विक विरुद्ध अख्तियारले दायर गर्यो मुद्दा, गैरकानूनी रुपमा १ करोड ८२ लाख आर्जन गरेको अभियोग

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक करोड ८२ लाखभन्दा बढी रकम गैरकानुनी रुपमा आर्जन गरेको अभियोगमा करअधिकृत मानप्रसाद विकविरुद्ध शुक्रबार मुद्दा दायर गरेको छ । भैरहवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत विकले पदीय दुरुपयोग गरी गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको भन्दै आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो । विक हाल करदाता सेवा कार्यालय पाँचथर फिदिममा कार्यरत कर अधिकृत पदमा कार्यरत छन् । २०६८ असोज २२ गतेदेखि राजपत्रांकित तृतीय श्रेणीको अधिकृत पदमा नियुक्त भएको र २०६६ चैत १० गतेदेखि राहत शिक्षकका रुपमा कार्यरत रहँदा विकले वैध रुपमा आर्जन गरेको भन्दा बढी रकम देखिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । हालसम्म सरकारी सेवामा रहँदा विकले तीन करोड दश लाख चौंतीस हजार सात सय चौबिस रुपैयाँ खर्च तथा लगानी गरेको देखिएको र उनको वैध आय एक करोड २७ लाख ६६ हजार नौ सय ४५ मात्र रहेको देखिएको छ। आयोगले आम्दानीको तुलनामा विकले एक करोड बयासी लाख ६७ हजार सातसय उनासी रुपैयाँको स्रोत नखुलेको पाइएको जनाएको छ । मुद्दामा अख्तियारले स्रोत नखुलेको सम्पत्ति जफत गर्न माग गरेको छ । मुद्दा दायर भएसँगै विक निलम्बनमा परेका छन् ।

नेप्से २८ अंकले घट्दा ८ वाणिज्य बैंकको सेयर मूल्यमा वृद्धि, एनआईसी एशियाको सबैभन्दा बढी

२०७४ चैत १२ देखि २०७५ चैत ७ गतेसम्मको नेप्से चार्ट काठमाडौं । गत वर्षको तुलनामा नेप्से परिसूचक २८ अंकले घटेको छ । २०७४ चैत १२ गते ११६८.६२ अंकमा रहेको नेप्से २०७५ चैत ७ गते ११४०.६० अंकमा अडिएको हो । एक वर्षको अवधिमा नेप्सेको उच्चतम बिन्दु १४३८ र न्युनतम बिन्दु ११०० अंक रहेको छ । गत वैशाख ९ गते नेप्से परिसूचक बढेर उच्चतम १४३८ अंकमा पुगेको थियो । त्यसपछि सामान्य उतारचढाव भई ओरालो लागेको नेप्से गत फागुन १९ गते ११०० अंकमा झरेको हो । जुन एक वर्षयताको न्युनतम बिन्दु हो । दोहोरो अंकको गिरावट देखिएको सेयर बजारमा विभिन्न ८ वटा वाणिज्य बैंकको सेयर मूल्यमा वृद्धि भएको छ । गत वर्षको तुलनामा कुल २८ वटा वाणिज्य बैंक मध्ये जम्मा ८ वटा बैंकको सेयर मूल्य बढेको छ भने बाँकी २० कम्पनीको सेयर मूल्यमा गिरावट देखिएको छ । बजारमा एनआईसी एशिया, प्राइम, सिद्धार्थ, कुमारी, माछापुच्छ्रे, प्रभु, जनता र सिभिल बैंकको २०७५ चैत ७ गतेको सेयर मूल्य २०७४ चैत १२ गतेको तुलनामा ३ रुपैयाँदेखि १०० रुपैयाँसम्मले बढेको छ । सो मध्ये एनआईसी एशिया बैंकको सेयर मूल्य सबैभन्दा बढी रुपैयाँले बढेको छ । गत वर्ष प्रतिकित्ता २९८ रुपैयाँ रहेको संस्थाको सेयर मूल्य बढेर प्रतिकित्ता ३९५ रुपैयाँ पुगेको छ । जुन एक वर्षको तुलनामा प्रतिकित्ता ९७ रुपैयाँ बढी हो । त्यस्तै, गत वर्ष प्राइम कमर्शियल बैंकको सेयर मूल्य २७५ रुपैयाँ रहेको थियो । जसको अहिले ४२ रुपैयाँले मूल्य बढेर प्रतिकित्ता ३१७ रुपैयाँ पुगेको छ । सो मध्ये सिद्धार्थ, कुमारी र माछापुच्छ्रे बैंकको सेयर मूल्यमा सामान्य वृद्धि भएको छ । प्रतिकित्ता २८१ रुपैयाँ रहेको सिद्धार्थ बैंकको सेयर मूल्य बढेर २८५ रुपैयाँ पुगेको छ । कुमारी बैंकको मूल्य २३३ रुपैयाँबाट प्रतिकित्ता २३५ रुपैयाँ पुगेको छ । साथै, माछापुच्छ्रे बैंकको सेयर मूल्य प्रतिकित्ता २१२ रुपैयाँबाट बढेर प्रतिकित्ता २१८ रुपैयाँ रहेको छ । त्यसैगरी, प्रभु, जनता र सिभिल बैंकको सेयर मूल्य क्रमशः प्रतिकित्ता २३१, १७० र १५५ रुपैयाँ रहेको छ । हाल यी तीन वटै बैंकको सेयर मूल्य गत वर्षको तुलनामा क्रमशः प्रतिकित्ता ३१, २१ र १५ रुपैयाँले बढी हो ।                                                     सेयर मूल्य वृद्धि भएको ८ वाणिज्य बैंक

एनएमबि बैंक सहित तीन कम्पनीको बोनस सेयर सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा एनएमबि बैंक, सिटिजन्स बैंक इन्टरनेशनल र बुटवल पावर कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । यी तीन कम्पनीको कूल एक करोड ३८ लाख ७७ हजार ०७५ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो । एनएमबि बैंकको ८७ लाख ४३ हजार ७८४ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । बुटवल पावर कम्पनीको २२ लाख १८ हजार ८३४ कित्ता बोनस नेप्सेमा थपिएको छ । त्यस्तै, सिटिजन्स बैंकको २९ लाख १४ हजार ४५७ कित्ता बोनस नेप्सेमा सूचिकृत भएको हो ।

अर्थशास्त्री डा. मदनकुमार दाहालको निधन

काठमाडौं । अर्थशास्त्री डा. मदनकुमार दाहालको शुक्रबार निधन भएको छ । प्याङ्क्रियाजको रोगबाट पीडित उनको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा दिउँसो १ बजे निधन भएक हो । मेगा बैंकको सञ्चालक समिति अध्यक्षसमेत भइसकेका डा. दाहाल नेपाल आर्थिक संघको पूर्व अध्यक्षसमेत रहेका थिए । पारिवारिक श्रोतका अनुसार उनलाई उपचारका लागि एक हप्ताभन्दा अघिदेखि अस्पताल भर्ना गरिएको थियो । अर्थशास्त्री दाहाल लामो समय त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र विभाग प्रमुख थिए । उनी कर आयोगका अध्यक्ष समेत भएका थिए । स्वर्गीय दाहालको शुक्रबार नै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ ।

नेपालमा अब चलचित्रको पनि बीमा, एलजीआईको नयाँ प्रोडक्ट कस्तो ?

काठमाडौँ । चलचित्र निर्माण गर्दा आईपर्ने जोखिमको बहन गर्ने बीमा योजनामा लुम्बिनी जनरल ईन्स्योरेन्स(एलजीआई) ले सक्रियता देखाएको छ । चलचित्र निर्माण गर्न लामो समय लाग्ने तथा सो क्रममा निकै क्षती हुने भन्दै बीमा कम्पनीले यस्तो योजनाको सुरुवात गरेको हो । यस्तो बीमा पोलिसीबारे बीमा समितिले लुम्बिनी जनरललाई ३ महिना अघि नै स्विकृती दिईसकेको छ । लुम्बिनी जनरल ईन्स्योरेन्सका सहायक प्रमुख कार्यकारी अधिकृत डिके श्रेष्ठले भन्छन्-‘बीमाले जोखिम बहन गर्ने हो, चलचित्र निर्माण गर्दा समेत आफ्नै किसिमका जोखिम रहँदै आएका छन्, त्यसैले आगामी दिनमा त्यस्ता जोखिमको बहन बीमा मार्फत गरेमा निर्देशकहरुले ढुक्कसँग काम गर्न सक्छन् ।’ श्रेष्ठले बीमा बजारमा आधुनिकता ल्याउन यस्तो कदम चालेको समेत जानकारी दिएका छन् । चलचित्र बीमामा के के हुन्छ ? चलचित्रको बीमा गर्नु पूर्व निर्माताहरुले बीमा कम्पनीसँग एक किसिमको सम्झौता गर्न आवश्यक हुन्छ । यसरी सम्झौता गरे पश्चात ४ महिनाको अवधिसम्म बीमा सुविधा पाईन्छ । सोही बीमा मार्फत कलाकारहरुलाई चोटपटक लागेमा, कुनै किसिमका दुर्घटना भएमा, क्यामेरा लगायतका सामाग्री टुटफुट भएमा बीमा कम्पनीले जोखिम बहन गर्ने गर्छ । चलचित्र बीमाको प्याकेज निर्जीवन बीमा अन्र्तगतको हो । चलचित्र निर्माण गर्दा भैपरी आउने समस्यालाई बीमा गरिएपनि चलचित्रले बजार नलिएको खण्डमा भने बीमा योजनाले काम गर्दैन । सो बीमा योजना सार्वजनिक भए लगत्तै फिल्म नचलेको अवस्थामा पैसा पाईने हो की भन्ने विषय निकै चासोको विषय बनेको पाईन्छ । नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले चलचित्र क्षेत्रमा रहेको जोखिमका बारेमा लुम्बिनी जनरल ईन्स्योरेन्स कम्पनीलाई जानकारी गराएको बताए । अहिलेसम्म कुनैपनि चलचित्रको बीमा भइसकेको छैन । बीमा बजारमा प्रतिस्पर्धालाई स्वच्छ बनाउन नयाँ बीमा योजनाको आवश्यकता रहेकोमा लुम्बिनी जनरल ईन्स्योरेन्सले जोड दिएको छ ।