दुई कम्पनीको एक अर्ब ५७ करोडको आईपीओ आउँदै, हेरौँ क-कसको कति ?
काठमाडौं । साञ्जेन जलविद्युत कम्पनी र रसुवागढी हाइड्रोपावर कम्पनीले कूल एक अर्ब ५७ करोड ३८ लाख १५ हजार रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ) निष्कासन गर्ने भएका छन् । नेपाल धितोपत्र बोर्डले आइतबार मात्रै यी दुई कम्पनीलाई साे मात्रा अर्थात एक कराेड ५७ लाख ३८ हजार १५० कित्ताको सेयर जारी गर्न अुनमति दिएको हो । बोर्डको अनुमति पाएसँगै साञ्जेन लघुवित्तले ५४ करोड ७५ लाख रुपैयाँ बराबरको सेयर बिक्री गर्ने छ । कम्पनीले बिक्री प्रबन्धक नागरिक लगानी कोष मार्फत अंकित मूल्य १०० रुपैयाँ दरको ५४ लाख ७५ हजार कित्ता सेयर जारी गर्ने छ । त्यसैगरी, रसुवागढी हाइड्रोले अंकित मूल्य १०० रुपैयाँ दरले एक करोड २ लाख ६३ हजार १५० कित्ता साधारण सेयर बिक्री गर्न बोर्डको अनुमति पाएको हो । कम्पनीले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल मार्फत एक अर्ब २ करोड ६३ लाख १५ हजार रुपैयाँ बराबरको आईपीओ बिक्री गर्ने भएको छ ।
धादिङवेसीमा नेपाल बैंक लिमिटेडको नयाँ शाखा
काठमाडौँ । धादिङ जिल्लाको धादिङवेसीमा नेपाल बैङ्क लिमिटेडको नयाँ शाखा उद्घाटन भएको छ । धादिङ्गवेसीमा स्थापित शाखाको नेपाल बैक लिमिटेड संचालक समितिका अध्यक्ष वासुदेव अधिकारी र नेपाल बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाहले संयुक्त रुपमा उद्घाटन गरे । सो अवसरमा बैंकका अध्यक्ष अधिकारीले बैंकले धनी र गरीव दुवैलाई समान दृष्टिले हेरि बैकिङ सेवामार्फत आर्थिक उन्नतीमा सघाउने वताए । त्यसैगरी बैकका प्रमुख कार्यकारी अधिकृत शाहले नेपाल बैंक लिमिटेड हाल वित्तीय आधारमा सवल बैकको रुपमा विकसित भएकोमा प्रशन्नता व्यक्त गर्दै यस शाखाबाट यस क्षेत्रको आर्थिक सामाजिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास प्रकट गरे । बैंकको १६० औँ शाखाको रुपमा स्थापित उक्त शाखाको समुद्घाटन समारोहमा विशिष्ट अतिथिहरु पूर्व सांसद रामनाथ अधिकारी, प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे, जिल्ला समन्वय समितिका अध्यक्ष जगन्नाथ नेपाल, अतिथिहरु नीलकण्ठ नगरपालिकाका प्रवक्ता गौतमहरि अधिकारी, वडा नं ३ का अध्यक्ष होमनाथ रिजाल, नेउवासंघ धादिंगका पूर्व अध्यक्ष तथा व्यवसायी ध्रुव थापा लगायतका वक्ताहरुले शुभकामना मन्तव्य गरेका थिए । नेपाल बैंक लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेकोका कार्य बैंकका शाखा प्रवन्धक गुणनिधि श्रेष्ठ, नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुंगाना, प्रहरी प्रमुख राजकुमार वैदवार, नेपाली सेनाका गणपति, सशस्त्र प्रहरी प्रमुखको आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा जिल्लाका विभिन्न कार्यालय तथा वित्तीय संस्थाका प्रमुखहरु, उद्यमी व्यापारी तथा स्थानीय सर्वसाधारणको उपस्थिति थियो ।
१० प्रतिशत बोनसपछि मिथिला लघुवित्तको सेयर मूल्य समायोजन
काठमाडौं । सोमबार मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले संस्थाको १०.४५ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन गरेको हो । मूल्य समायोजन पछि संस्थाको सेयर मूल्य प्रतिकित्ता ५५१.५८ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ७२४.७९ रुपैयाँ तोकिएको छ ।
सुनको मुल्य बढ्दो क्रममा, सोमबार प्रतितोला ६० हजार ६ सयमा कारोबार
काठमाडौं । आइबारको तुलनामा सुन प्रतितोला २ सय रुपैयाँले बढेको छ । आइतबार प्रतितोला ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार ६० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । आइतबारको तुलनामा तेजावी सुन प्रतितोला २ सय रुपैयाँ बढेर सोमबार प्रतितोला ६० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै आइतबार चाँदी भने लामो समयदेखि (प्रतितोला ७४० रुपैयाँमा) सोही मूल्य कारोबार भएको भईरहेको छ ।
अत्याधुनिक सुविधा र मूल्यमा आधारित शिक्षामा काठमाडौं वर्ल्ड स्कूल
काठमाडौं । शिक्षा पाठ्यक्रमको रटान मात्रै होइन, जीवन र व्यवहारको मार्गनिर्देशक हो । तर आजकलको शिक्षा व्यवहार होइन सिद्धान्तमा आधारित हुन्छ जुन बुझ्न विद्यार्थीलाई गाह्रो मात्रै हुँदैन, सैद्धान्तिक ज्ञानलाई व्यबहारसँग जोड्ने क्षमता जोकोहीमा हुँदैन त्यसैले नै कुनै व्यक्ति समाजसँग अलगिन्छ, पछि पर्छ । पूर्वीय दर्शन र मूल्य र मान्यतामा आधारित शिक्षालाई यस्तै पढ्ने र पढाउने प्रक्रियाका रुपमा लिइयो तर यसलाई व्यवहारमा कहिल्यै उतारिएन । बेदमा उल्लेखित वाक्यबाट न्यूटनले गुरुत्वाकर्षण र पृथ्वीको भूगोलबारे पत्ता लगाउँदा हामीले हामीले त्यसका श्लोकहरु मात्रै पढिरह्यौं । वास्तवमा पूर्वीय सभ्यता र दर्शनको आयाम फराकिलो थियो, छ र रहनेछ पनि । तर यीनै पक्षहरुलाई जोड्ने प्रणाली कमजोर हुँदा हामी पछाडि पर्यौं । अहिले हाम्रो सम्भतालाई चाहिएको विषय पनि त्यही हो । त्यही मान्यता अहिले नेपालमा स्थापित भएको छ । त्यसैले नेपालमा पनि विगत, वर्तमान र भविष्यलाई जोड्नसक्ने बहुआयामिक शिक्षाप्रणालीको विकास सुरु भएको छ, यसलाई होलिष्टक विकासको रुपमा समेत परिभाषित गरिन्छ । मूल्य, मान्यता र व्यवहारमा आधारित शिक्षण प्रणालीको सुरुवात गर्ने एउटा विद्यालय हो काठमाडौं वल्र्ड स्कुल । उक्त विद्यालयमा विश्वस्तरको सुविधा र र पौराणिक दर्शनमा आधारित शिक्षा पाइन्छ, त्यस्तो सुविधा पाइने विद्यालयहरु नेपालमा विरलै मात्र छन् । यस विद्यालयले त्यस्तै शिक्षण प्रणालीमार्फत् विद्यार्थी र अभिभावकको मन जित्दै पहिलो शैक्षिक सत्र सफलतापूर्वक सम्पन्न गरेको छ । भौतिक सुविधा सम्पन्न काठमाडौं वर्ल्ड स्कूल चौधरी ग्रुपको २७५ करोड लगानीमा भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ७ गुन्डुमा करिब ४६ रोपनी क्षेत्रफल स्थापना गरिएको काठमाडौं वल्र्ड स्कुल आधारभूत सुविधाभित्रको उत्कृष्ठता र अतिरिक्त सुविधामा व्यापकता रहेको विद्यालय हो । शान्त वातावरण सुविधा सम्पन्न शिक्षण वातावरण, अनुभवि शिक्षक, तल्लो र उपल्लो तहका लागि छुट्टाछुट्टै लाइब्रेरीको व्यवस्था, अत्याधुनिक कम्युटर सहितको कम्युटर ल्याब, अत्याधुनिक प्रविधिसहितको साइन्स ल्याब, अनुभवी सेफ सहितको क्यानटिन, उपत्यकाभर कभरेज गर्ने यातायात सुविधा र दिवा आवासीय व्यवस्था लगायतका सुविधाहरु छन् । त्यतिमात्रै विद्यालयमा आफ्नै नभएर स्विमिङ पुल, नृत्य, संगीत, मार्सल आर्ट, लाउन टेनिस, नाटक, फाइन आर्ट, इन्डोर मल्टिप्रोपोज कोर्ट, फुटसल लगायतका अतिरिक्त क्रियाकलापका लागि भौतिक सुविधा समेत उपलब्ध रहेको विद्यालयले जनाएको छ । हाल १३९० जना विद्यार्थी क्षमता भएको विद्यालयमा ४०० विद्यार्थीका लागि पूर्ण आवासीय व्यवस्था समेत रहेको विद्यालयले जनाएको छ । पाठ्यक्रम र शिक्षण प्रणाली पहिलो वर्ष आधारभूत तहमा कक्षा १ देखि ५ सम्म र माध्यामिक तहमा कक्षा ११ सम्म अध्यापन गराएको उक्त्र विद्यालयले अब भने कक्षा ८ सम्म अध्यापन सुरु गर्ने भएको छ । त्यस्तै माध्यामिक तहमा कक्षा ११ र १२ को पठनपाठन सुरु गर्न लागिएको विद्यालयका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र घिसिङले जानकारी दिए । पहिलो वर्षमा अभिभावक र विद्यार्थीलाई पूर्ण रुपमा सन्तुष्ट पार्न सफल रहेको दाबी गर्दै आएको विद्यालयले हाल २५८ जना रहेको विद्यार्थी संख्या अबको वर्ष ६०० सम्म पुग्नसक्ने प्रक्षेपण गरेको छ । विद्यालयको सवल पक्ष भौतिक सुविधा, मूल्यमा आधारित शिक्षा, अनुभवजन्य सिकाई, सामाजिक सेवाबारे सिकाई, अभिभावकीय सहभागिताका सहितको शिक्षा, लक्ष्य र पेशागत विकासमा उत्कृष्ठता र अनुभवसहितको नेतृत्व विकासलाई नै विद्यालयले आफ्नो प्रमुख सवल रुपमा लिएको छ । विद्यालयले शिक्षण पद्दतीमा होलिस्टिक डेभलपमेन्टको विधिलाई भित्र्याएको छ, यो विधि समग्र अध्ययनको त्यस्तो व्यवहारिक सिकाई प्रणाली हो जसले भौतिक, सामाजिक भावनात्मक तथा आध्यात्मिक विकासको माध्यमद्वारा सिकाउने काम गर्छ जुन सिक्न मात्रै नभई व्यबहारमा लागु गर्न सिकाउने किसिमको शिक्षा प्रणाली हो । त्यस्तै, विद्यालयले मूल्यमा आधारित शिक्षा प्रणाली लागु गर्दै व्यक्तिवाद र मस्तिस्क स्वतन्त्रतामार्फत् पूर्वीय मूल्य र मान्यताहरुलाई स्थापित गर्ने प्रयास समेत गर्ने लक्ष्य लिएको छ । यसले समाजमा घुलमिल हुने, आफ्नो भूमिकाबारे बुझ्ने र समाजका सदस्यहरुसँग गर्ने व्यवहारबारे व्यवहारिक सिकाई गराउँछ । कामको अनुभवबाट व्यवहारिक सिकाईमा सहयोग गर्ने, सहभागितामूलक ज्ञान आदानप्रदान गर्ने, त्यसैको माध्यमद्वारा प्रश्न र प्रसंगहरु उठान, त्यसको खोज, समाधान गर्न सिकाउँदै उच्च तहको शिक्षाका लागि विद्यार्थीलाई पहिले नै तयार गर्न समेत विद्यालय सक्षम रहेको दाबी गरिएको छ । त्यसका लागि अनुभवी शिक्षण सदस्यहरु र अभिभावक समेतको सहभागितामा त्यस्ता सिकाई विधि प्रयोगमा ल्याएको जनाएको छ । जसका लागि शिक्षकहरुले नियमति रुपमा अभिभावकलाई इमेलमार्फत् विद्यार्थीको फिडब्याक पठाउने, नियमित रुपमा शिक्षक र अभिभावक छलफल गर्ने र शिक्षक अभिभावक संघमार्फत् विद्यालयको सिकाईको दायरा फराकिलो बनाउने काम गर्न सक्षम रहेको बताइएको छ । त्यस्तै व्यवस्थापकीय नेतृत्वलाई कुशलता र सक्षमतालाई पनि विद्यालयले आफ्नो सबल पक्षको रुपमा व्याख्या गरेको छ । लक्षित वर्ग र शुल्क संरचना विद्यालय पूर्ण रुपमा सुविधासम्पन्न हुँदैगर्दा विद्यालय धेरै महँगो होलाजस्तो लागे पनि त्यसो नभएको विद्यालयले जनाएको छ । यद्यपि विद्यालयको लक्षित वर्ग मध्यम र उच्च आय भएका व्यक्तिहरुका छोराछोरी नै रहेको काठमाडौं वल्र्ड स्कुलका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार घिसिङ बताउँछन् । ‘हाम्रो गुणस्तर र सुविधाका आधारमा हाम्रो लक्षित वर्ग न्यून आय भएका परिवार नभए पनि हामी शुल्कमा महँगो छैनौं, यो स्तरका गुणस्तर भएका विद्यालयहरुमध्ये हामी तुलनात्मक रुपमा सस्तो नै छौं ’ –घिसिङले विकासन्यूजसँग भने ।
मोट्रेक्सले अटोमोवाईल बजारमा ७ वर्ष एकाधिकार माग्यो, गाडीकाे मूल्य ४० प्रतिशत घटाउने दावी
काठमाडौं । सरकारले मोटर उत्पादन र व्यापार गर्न लाईसेन्स दिएको मोट्रेक्स कम्पनी लिमिटेडले नेपालको अटोमोवाइल्स बजारमा एकाधिकार मागेको छ । उसले ७ वर्षसम्म कुनै पनि कम्पनीलाई लाईसेन्स दिन नहुने र ७ वर्षपछि पनि १० करोड अमेरिकी डलर भन्दा कम लगानी गर्ने कम्पनीलाई अनुमति नदिन माग गरेको छ । यस्तो माग गरेको कम्पनीलाई गत फागुन २९ गते प्रधानमन्त्रीको अध्यक्षतामा बसेको लगानी बोर्डको बैंठक विदेशी लगानी अनुमति स्वीकृति दिएको छ । लगानी बोर्डको पैतिसौ बैठकको माइन्यूटको अनूसूचि २ मा लेखिएको छ–‘सो कम्पनीको उल्लेखित परियोजना प्रस्तावमा भेइकल म्यानुफ्याक्चरिङ एसेम्ब्ली प्लान्ट निर्माण सम्पन्न भएको ७ वर्षसम्म यस्तै प्रकृतिका अन्य भेइकल म्यानुफ्याक्चरिङ एसेम्ब्ली प्लान्टलाई अनुमति नदिने तथा ७ वर्षपछि पनि यस्तै प्रकृतिका यूएस डलर १०० मिलियन भन्दा ठूला परियोजनालाई मात्र अनुमति दिनुपर्ने शर्त छ ।’ मोट्रेक्सले मोतिपुर औद्योगिक क्षेत्रमा एसेम्ब्ली प्लान्ट लगाउने र ९/१० महिनाभित्र उत्पादन शुरु गर्ने जनाएको छ । परियोजनामा १० अर्ब ५४ करोड रुपैयाँ लगानी गर्ने उसको प्रस्तावलाई लगानी बोर्डले स्वीकृत दिएको छ । यस कम्पनीले वार्षिक ५० हजार निजी तथा व्यवसायिक सवारी उत्पादन गर्ने लक्ष्य राखेको छ । कम्पनीले पहिलो वर्षमा ५ हजार ८२०, दोस्रो वर्षमा ९ हजार ५३०, तेस्रो वर्षमा १५ हजार ८० र चौथो वर्षमा २० हजार मोटर उत्पादन गर्ने लक्ष्य लिएको छ । सवारी उत्पादनमा अनुभव शुन्य भएको यस कम्पनीले सरकारी अधिकारीहरुलाई प्रभाव पार्न विदेशमा किनेर ल्याउने सवारी साधानभन्दा ४० प्रतिशत सस्तो मोटर उत्पादन गर्ने जनाएको छ । कम्पनीले गाडी आयात र बिक्री वितरण पनि गर्न पाउनुपर्ने माग राखेको छ । उसले एसेम्ब्ली प्लान्ट राख्द, एसेम्ब्ली पार्टस् आयात गर्दा लाग्ने सबै भन्सार छुट दिनु पर्ने र आयकरमा छुट दिनुपर्ने प्रस्ताव गरेको छ । माेट्रेक्सले उत्पादन गर्ने सवारीमा प्रयाेग हुने इन्टरटेन्टमेन्टका सामाग्री सवारी आयात तथा बिक्री वितरणमा नेपाली व्यवसायीहरु अब्बल देखिएकोले सरकारले मोट्रेक्सलाई गाडी आयात र बिक्री वितरणमा पूर्णत रोक लगाउनु पर्ने व्यवसायीहरुले बताएका छन् । तर सरकारलाई कुनै आर्थिक भार मोट्रेक्सको प्रस्ताव कार्यान्वयनमा लैजान लागिएको लगानी बोर्डका अधिकारीहरुको दावी छ । विवादका विषय टुङ्गाउन लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत संयोजक रहेको वार्ता टोली पनि गठन गरिएको छ । उक्त टोलीमा अर्थमन्त्रालय, उद्योग, वाणिज्य आपूर्ति मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, लगानी बोर्डका सहसचिवहरु र लगानी बोर्डको उपसचिव सदस्य रहेका छन् । अनुभव छैन, वित्तीय अवस्था खस्कदाे कोरियामा मोटरको स्पेयर पार्टस उत्पादन गर्दै आएको कम्पनी ‘मोट्रेक्स’ सँग सवारी उत्पादन गरेको अनुभाव छैन । यो कम्पनीले प्रविधिमा आधाररित पार्टस्हरु अडियो भिज्युअल नेभिगेशन र अडियो भिडियो लगायतका इन्टरटेन्टमेन्टका सामाग्री उत्पादन गर्दै आएको छ । तर पछिल्लो समय यस कम्पनीको वित्तीय अवस्था खस्कदै गएको छ । अन्तराष्ट्रिय बजारमा यस कम्पनीको सेयर मूल्यमा उच्च गिरावट आएको छ । एक वर्षमा यस कम्पनीको सेयर मूल्य ४६ प्रतिशतले घटेको छ । सन् २०१८ जुनमा प्रतिकित्ता ७ हजार ५६० कोरियन वन रहेकोमा २०१९ मार्चमा ४ हजार ७० कोरियन वनमा झरेको छ । ‘वित्तीय अवस्था खस्कदै गएको कम्पनीलाई लाईसेन्स दिनु लाईसेन्सको व्यापार गर्न अनुमति दिनु हो’ एक जना अनुभवी व्यवसायीले भने–‘उत्पादनमा अनुभव नभएको कम्पनीलाई उत्पादन र बिक्री वितरण दुबै कामको लागि अनुमति दिनु भनेको सवारी व्यापारमा विदेशी लगानी भित्र्याउनु हो ।’
उदयपुर सिमेन्टले शुरु गर्यो दैनिक ३ करोडको उत्पादन, विद्युत् आपूर्ति सहज
गाईघाट । डेढ वर्षदेखि सिमेन्ट उत्पादनमा फड्को मार्दै आएको देशकै सबैभन्दा ठूलो सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगले सिमेन्ट उत्पादनको क्षमता वृद्धि गर्दै लगे पनि विद्युत् आपूर्तिको कारण समय–समयमा सिमेन्ट उत्पादनमा समस्या झेल्दै आएको छ । एक महिनासम्म धनुषा ढल्केबर क्षेत्रबाट सिमेन्ट उद्योगमा आपूर्ति हुने विद्युत् आपूर्तिमा समस्या आएको कारण सिमेन्ट उत्पादनमा ह्रास आउन थालेको बेला अहिले एक हप्तादेखि विद्युत् आपूर्ति पुनः सहज भएपछि उद्योगले दैनिक १८ हजार बोरा सिमेन्ट उत्पादन गर्न थालेको छ । सिमेन्ट उद्योगका निमित्त महाप्रबन्धक नवलकिशोर साहका अनुसार तीव्र गतिमा उद्योगले सिमेन्ट उत्पादन गरिरहेको बेला गत माघको पहिलो हप्तादेखि फागुनभर धनुषा, ढल्केबर विद्युत् आपूर्ति केन्द्रबाट नियमित विद्युत् आपूर्ति नहुँदा उद्योगमा सिमेन्ट उत्पादन कार्य ह्वात्तै घटेको थियो, तर अहिले सम्बन्धित निकायमा ध्यानाकर्षण गराएर विद्युत् आपूर्ति सहज भएपछि एक हप्तादेखि उद्योगले दैनिक १८ हजार बोरासम्मअर्थात् ८०० मेट्रिक टनभन्दा बढी गैँडाछाप सिमेन्ट उत्पादन गर्न थालेको छ । उद्योगको सिमेन्ट उत्पादन गर्ने पूर्ण क्षमता दैनिक ८०० मेट्रिक टन हो । डेढ वर्ष अघिसम्म विद्युत् आपूर्तिकै कारण घाटामा रहेको उदयपुर सिमेन्ट उद्योगले विद्युत् आपूर्ति सहज भएपछि वार्षिक अर्बौं रुपैयाँको आम्दानी गर्न थालेको छ । तर पटक–पटक हुने विद्युत् अवरोधको कारण उद्योगले सोचेजस्तो सिमेन्ट उत्पादन गर्न नसक्दा घाटा ब्यहोर्नुपरेको उद्योग प्रशासन बताउँछन् । अहिले विद्युत् आपूर्ति सहज भएपछि सिमेन्ट उद्योगले प्रत्येक दिन रु तीन करोड मूल्य बराबरको सिमेन्ट उत्पादन गर्न शुरु गरेको उद्योग प्रशासनले बताएको छ । उद्योगमा अहिले ४३९ मजदूर तथा कर्मचारी रहेका छन् भने कर्मचारीको लागि मासिक रु एक करोड ३२ लाख र विद्युत्मा अढाइ करोड खर्च हुने गरेको बताइएको छ । रासस
अघिल्लो लगानी सम्मेलनः १३ खर्बको आशय, २९७ अर्ब प्रक्रियामा
काठमाडौं । अघिल्लो लगानी सम्मेलनमा १३ खर्ब भन्दा बढीको लगानी गर्ने आसय व्यक्त भएको थियो । आसय व्यक्त गरिएकामध्ये हाल २ खर्ब ९७ अर्ब रुपैंयाँका चार वटा आयोजनाहरु विभिन्न चरणमा अघि बढेका छन् । आसय व्यक्त गरिएकोमध्ये २५ प्रतिशत लगानी प्रक्रियामा आएको हो । लगानी बोर्डका प्रवक्ता बलराम रिजालले आसयको २५ प्रतिशत लगानी प्रक्रियामा आउनु सकारात्मक भएको बताए । यसरी लगानीको प्रक्रिया अघि बढेका आयोजना भने चार वटै उर्जासँग सम्बन्धीत छन् । लगानी बोर्डका अनुसार सबैभन्दा धेरै लगानी गर्न गेजहोउवा ग्रुप पावर इन्भेष्टमेन्ट नेपाल प्रालीले डाडागाँउ खलङगा भेरी हाइड्रो २२६ मेगावट र भेरी १ मा ४०० मेगावटका लागी पावरका लागि १ खर्ब ५० अर्ब रुपैंया लगानी तयारी गरेको छ । यसका लागि सो कम्पनीले सर्भे लाइसेन्स् लिइसकेको छ । यसैगरी हुम्ला कर्णाली १ मा २३५ मेगावाट र हुम्ला कर्णाली २ मा ३३५ मेगावाट पावर हाउसका लागि सिचुवान वाङपिङ इनर्जी साइन्स एण्ड टेक्नोलोजीको लिमिटेडले १ खर्ब १० अर्ब रुपैंयाको सर्भे लाइसेन्स् लिइसकेको छ । चाइना हारबोर इएनजी कर्पाेरेशनले १५ अर्ब रुपैंयामा सानजेन खोला हाइड्रो पावर ७८ मेगावट २०७४ भदौ ५ गते सम्झौता गरेको छ । यस्तै, डोल्मा फण्डले १७० मेगावाट सोलार प्लान्टका लागि २२ अर्बको लगानी स्वीकृति गरिसकेको छ । अघिल्लो लगानी सम्मेलनको अगुवाई गरेका तत्कालिन उद्योग मन्त्री नविन्द्र राज जोशीले भने कुल आसय व्यक्त गरिएकोमध्ये २५ प्रतिशत मात्रै प्रक्रियामा आउनु सकारात्मक नभएको बताए । उनले सम्मेलनपछि गठन भएका सरकारहरुले लगानी भित्र्याउन ताकेता नगरेकाले थोरैमात्रै प्रक्रियामा आएको बताए । ‘हामीले लगानी सम्मेलन भव्य बनायौं तर त्यसपछिका सरकारले ताकेता गरेनन्, त्यसैले आसय व्यक्त गरेका लगानीकर्ता पनि आएनन्’, जोशीले भने । पूर्व मन्त्री जोशीले सरकारले हतार हतारमा लगानी सम्मेलन गरेकाले सफल हुनेमा आंशका व्यक्त गरे । ‘सरकारले हतारमा सम्मेलन गरेको छ, देशभित्र पर्याप्त छलफल भएको गरेको छैन्, सम्मेलनको सफलतामा शंका छ’, पूर्वमन्त्री जोशीले पत्रकार सम्मेलन गरेरै भने । यद्यपी लगानी बोर्डले भने पर्याप्त तयारी गरेर लगानी सम्मेलन आयोजना गरिएको र तयार पारिएका परियोजनाहरुको विस्तृत अध्ययन रिपोर्ट पनि पेश गरिएको बताउँदै आएको छ ।