विकासन्युज

पूर्वउपप्रधानमन्त्री श्रेष्ठ सर्लाही–३ बाट प्रतिस्पर्धा गर्दै

बरहथवा । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले सर्लाही क्षेत्र नम्बर–३ बाट उम्मेदवारी दर्ता गराएका छन् ।      उनको प्रस्तावकमा नेता सुरेन्द्र लामा र समर्थकमा विवेक मैनाली रहेको नेता श्रेष्ठका स्वकीय सचिव उपदेश यादवले जानकारी दिए ।      यस क्षेत्रबाट २०७९ को निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र साहलाई झिनो मतान्तरले पराजित गरी नेकपा एमालेका हरिप्रसाद उप्रेती निर्वाचित भएका थिए ।      यस पटक पनि यस क्षेत्रबाट नेकपा एमालेबाट पूर्वरक्षामन्त्री हरिप्रसाद उप्रेती, राष्ट्रिय स्वतन्त्र पार्टीबाट नरेन्द्र साहको उम्मेदवारी परेको छ ।    

राप्रपा अध्यक्ष लिङ्देन झापा–३ मा प्रतिस्पर्धा गर्दै

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिन झापा निर्वाचन क्षेत्र नं. ३ बाटे मनोनयन दर्ता गराएका छन् । यसअघि पनि उनी यही निर्वाचन क्षेत्रबाट विजयी भएका थिए ।  राप्रपा झापाका अध्यक्ष केशव ओझाका अनुसार राप्रपाले झापा–१ बाट हेमराज कार्की,२ बाट भद्रप्रसाद नेपाल, ४ बाट भक्ति सिटौला र झापा–५ बाट लक्ष्मी सङ्ग्रौलालाई उम्मेदवार बनाएको छ ।  

नेपाली कांग्रेसले माघ १६ मा निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो घोषणापत्र माघ १६ गतेसम्म सार्वजनिक गर्ने योजना बनाएको छ ।  पार्टीका प्रवक्ता देवराज चालिसेले घोषणापत्रमा देशको समग्र विकास, जनजीवन सुधार र सामाजिक न्याय सुनिश्चित गर्ने व्यापक योजना समेटिने जानकारी दिए । घोषणापत्रमा शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार विकास, कृषिमा आधुनिकीकरण, युवा तथा महिला सशक्तिकरण र सामाजिक समावेशीकरणजस्ता क्षेत्रलाई विशेष प्राथमिकता दिइने चालिसेले बताए । प्रवक्ता चालिसेका अनुसार पार्टीले आर्थिक सुधार, निजी क्षेत्रको प्रोत्साहन, गरिबी निवारण र दिगो विकासका कार्यक्रमसमेत समावेश गरिनेछ । पार्टीले आफ्नो घोषणापत्रमार्फत आगामी पाँच वर्षका लागि राष्ट्रिय विकास, सुशासन र जनअधिकार सुनिश्चित गर्ने प्रतिवद्धता जनाउने छ ।  चालिसेका अनुसार यस पटकको घोषणापत्र चुनावी नीतिलाई मात्र नभई आगामी सरकार सञ्चालनका रणनीतिलाई पनि स्पष्ट पार्ने उद्देश्यले तयार पारिँदैछ ।

निर्वाचनका लागि भारत सरकारले पहिलो चरणमा दियो ६१ वटा गाडी उपहार

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भारत सरकारले नेपाल सरकारलाई ६१ वटा गाडी उपहार दिएको छ ।  मंगलबार सिंहदरबारस्थित एक कार्यक्रमका बीच भारतीय दूतावासले ६१ वटा क्याबिन पिक भ्यान सकारलाई हस्तान्तरण गरेको हो । गृह मन्त्रालयले अर्थ मन्त्रालयमार्फत निर्वाचन प्रयोजनका लागि वस्तुगत सहायताअन्तर्गत भारत सरकारसँग गाडी माग गरेको थियो ।  उक्त प्रस्तावअन्तर्गत भारतले नेपाल सरकारलाई उपहार स्वरूप पहिलो चरणमा ६१ वटा गाडी उपलब्ध गराएको हो । यसपटकको निर्वाचनको लागि भारत सरकारले सानाठूला गरी ५३८ वटा गाडी उपलब्ध गराउने बताइएको छ । गाडीहरू नेपाल सरकारको नाममा आएकाले निर्वाचन सकिएपछि सरकारले आफ्नो आवश्यकताअनुसार प्रयोग गर्न पाउने छ । भारत सरकारले निर्वाचन सम्पन्न गर्नको लागि नेपाल सरकारलाई सवारी लगायतका निर्वाचन उपकरण सहयोग गर्दै आइरहेको छ ।  सन् २००८ यता मात्र भारत सरकारले नेपाल सरकारलाई २ हजार ४ सय बढी सवारी साधन हस्तान्तरण गरिसकेको छ । 

एनएमबि बैंकले ल्यायो दुई नयाँ भिसा प्लाटिनम डेबिट कार्ड

काठमाडौं । एनएमबि बैंकले ग्राहकलाई थप सुविधा र अझ उत्कृष्ट बैंकिङ अनुभव प्रदान गर्ने उद्देश्यले दुईवटा नयाँ भिसा प्लाटिनम डेबिट कार्ड सार्वजनिक गरेको छ । बैंकले ग्राहकहरूको बदलिँदो जीवनशैली र आवश्यकता अनुसार ‘प्लाटिनम डेबिट डिलाइट’ र ‘प्लाटिनम डेबिट’ कार्ड बजारमा ल्याएको हो । बैंकका अनुसार यी कार्डहरूले ग्राहकको दैनिक बैंकिङ अनुभवलाई अझ सहज र प्रिमियम बनाउने अपेक्षा गरिएको छ । नयाँ प्लाटिनम कार्डधारकहरूले विभिन्न प्रिमियम आउटलेटहरूमा आकर्षक छुटका साथै विमानस्थल लाउन्जको सुविधा पनि प्राप्त गर्नेछन् (सर्तहरू लागू हुने) । विशेषगरी धेरै यात्रा गर्ने तथा बैंकिङ सेवामा लचकता खोज्ने ग्राहकहरूका लागि ‘प्लाटिनम डेबिट डिलाइट’ कार्ड उपयोगी हुने बैंकको विश्वास छ । यस कार्डमार्फत ग्राहकहरूले नेपालभरका जुनसुकै बैंकका एटिएमबाट निःशुल्क नगद झिक्न सक्नेछन् भने भारतमा नगद झिक्दा पनि विशेष सहुलियत पाउनेछन् । डिजिटल बैंकिङमा अग्रणी रहने लक्ष्यसहित एनएमबि बैंकले आफ्ना ग्राहकलाई विशेष अनुभव दिन यी अत्याधुनिक सुविधाहरू ल्याएको जनाएको छ । बैंकका अनुसार नयाँ कार्डका विशेषताहरूले ग्राहकलाई उत्कृष्ट डिजिटल बैंकिङ अनुभव र विशिष्ट पहिचान प्रदान गर्नेछन् । यी नयाँ कार्डबारे थप जानकारी लिन वा सेवा लिन चाहने ग्राहकहरूले नजिकको एनएमबि बैंक शाखामा सम्पर्क गर्न वा बैंकको कल सेन्टरमार्फत जानकारी लिन सक्नेछन् । हाल एनएमबि बैंकले देशभर २०२ शाखा, १८४ एटिएम र ९ वटा एक्सटेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ । 

कमल थापाका भाञ्जा प्रबल थापा कांग्रेसबाट काठमाडौं–१ मा उम्मेदवार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाका भाञ्जा प्रबल थापा नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नम्बर एकमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छन् ।  कांग्रेसले उनलाई उक्त निर्वाचन क्षेत्रबाट आधिकारिक उम्मेदवारका रूपमा अघि सारेको हो । प्रबल थापा नेपाली कांग्रेसको प्रदेश क्षेत्रीय समितिका सचिव हुन् । पार्टी संगठनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका थापालाई यसपटक केन्द्रीय नेतृत्वले काठमाडौं–१ को जिम्मेवारी दिएको हो । यस निर्वाचन क्षेत्रमा यसअघि पार्टीका वरिष्ठ नेता प्रकाशमान सिंह निरन्तर निर्वाचन लड्दै आएका थिए । तर यसपटक सिंहलाई टिकट नदिएर कांग्रेसले नयाँ अनुहारका रूपमा प्रबल थापालाई अघि सारेको हो ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सको साधारणसभा सम्पन्न, नगद लाभांश पारित

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३२ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा काठमाडौंको शंखमूलस्थित अनमोल व्याङक्वेटमा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित हाल कायम चुक्ता पुँजी २ अर्ब ५० करोड १ लाख ५७ हजार ४०० रुपैयाँको ८ प्रतिशतले हुन आउने २० करोड १२ हजार ९९२ रुपैयाँ नगद लाभांश (करसहित) पारित गरेको छ । सोही सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गरेको छ । सभाले चालु आर्थिक वर्ष २०८२/८३ का लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ ।  

पूर्व पर्यटनमन्त्री आलेद्वारा प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता गराएका छन् । उनले कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएपछि पूर्वमन्त्री आलेले सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै कैलाली जिल्लाको समग्र विकास आफ्नो प्रमुख प्राथमिकता हुने बताए । उनले विशेष गरी गेटामा रहेको धनगढी विमानस्थल, सेती प्रादेशिक अस्पताल लगायतका महत्वपूर्ण पूर्वाधार परियोजनाको विकास र स्तरोन्नतिमा आफू सक्रिय रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरे ।