राजश्व परामर्श समितिले थाल्यो आर्थिक ऐन तथा बजेट तर्जुमाको तयारी, माग्यो सुझाव
काठमाडौँ । अर्थमन्त्रालय अन्तरगतको राजश्व परामर्श समितिले आर्थिक वर्ष २०७६/०७७ को लागि आर्थिक ऐन तथा बजेट तर्जुमाको लागि तयारी थालेको छ । समितिले सूचना प्रकाशित गर्दै विद्यमान राजश्व नीति, भन्सार महसुल, मूल्य अभिबृद्धि कर, आयकर, अन्तःशुल्क, गैरकर तथा राजश्ज चुहावट नियन्त्रणका साथै समग्र राजश्व प्रशासन सुधारका लागि सुझाव माग गरेको हो । समितिले २०७६ बैशाख १५ गतेसम्म सम्बन्धित संघसंस्था, सरकारी निकाय, बुद्धिजीवीहरु र सरोकार राख्ने सबैलाई सुझाव पेश गर्न अनुरोध गरेको छ । सुझावहरु नेपाल सरकार अर्थमन्त्रालय, राजश्व परामर्श समितिको कार्यालय सिंहदरबारमा पठाउन सकिनेछ । साथै अर्थमन्त्रालय अन्तरगतका सम्बन्धित विभाग र कार्यालयमा समेत सुझाव पठाउन सकिने समितिले जनाएको छ । विषयगत सुझावहरु आन्तरिक राजश्व उपसमिति, उद्योग वाणिज्य तथा निर्यात प्रवद्र्धन उपसमिति, भन्सार उपसमिति, राजश्व चुहावट तथा सम्पत्ति शुद्धिकरण अनुसन्धान उपसमिति, पूर्वाधार सूचना प्रविधि तथा आर्थिक उपसमिति, कृषि, उर्जा तथा पर्यटन उपसमिति, बैंक, वित्तीय संस्था, बीमा, सहकारी तथा पूँजी बजार उपसमिति, गैरकर उपसमिति, अन्तर सरकारी वित्त व्यवस्थापन उपसमिति, लगानी प्रबद्र्धन उपसमिति र राजश्ज ऐन, नियम तथा प्रशासनिक सुधार उपसमितिमा पठाउन सकिने राजश्व परामर्श समितिले जनाएको छ ।
१५ बुँदे सुझाव बुझाएर नेपाल बैंकबाट बाहिरिए देवेन्द्रप्रताप शाह, ४ वर्षे कार्यकालमा के के गरे ?
काठमाडौं । नेपाल बैंक लिमिटेडबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाह बाहिरिएका छन् । आफ्नो ४ वर्षे कार्यकाल सोमबार पूरा भएसँगै शाहले बैंकबाट नियमित अवकाश पाएका हुन् । उनको अवकाशसँगै नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत पद रिक्त भएको छ । शाहले नेपाल बैंकमा प्रमुख कार्यकारीको हैसियतमा रहँदा वित्तीय रुपमा बिरामी रहेको बैंकलाई उद्धार गर्न सफल भएको दाबी गरेका छन् । उनले बैंकलाई प्रविधि, जनशक्ति र वित्तीय सूचकका हिसाबले देशकै प्रतिस्पर्धी बैंक बनाउन सफल भएको दाबी गरेका हुन् । ‘म आउँदा नेपाल बैंकको प्रविधि म्यानुअल ढंगले चलेको थियो, मैले अत्याधुनिक कम्युटराइज सिस्टम बैंकमा भित्र्याएँ, त्यसैअनुसार कर्मचारीहरुलाई पनि नयाँ प्रविधिसँग काम गर्न सक्षम बनाएँ । त्यससँगै भिसा कार्ड पनि लन्च गर्न सफल भयौं’ – शाहले विकासन्यूजसँग भने । उनले वित्तीय सूचकहरुमा समेत ठूलो उपलब्धि हासिल गर्न सफल भएको बताए । ‘म आउँदा बैंक वित्तीय रुपमा बिरामी थियो, ननफण्ड बिजिनेस थोरै थियो, त्यसमा सुधार भएको छ । ४ प्रतिशतमा सीमित रहेको पुँजी पर्याप्तता अनुपात बढाएर लगानीका लागि ठूलो फण्डको सिर्जना गरेको तथा नकारात्मक रहेको रिजर्भको आकारलाई सकारात्मक बनाउन पहल गरेको दाबी गरेका छन् । नेपाल बैंकबाट बाहिरिनुअघि आफूले गर्न बाँकी रहेका कामहरुको १५ बुँदे सूचि तयार गरेर सञ्चालक समितिलाई बुझाएको भन्दै आफ्ना उत्तराधिकारीहरुले त्यसलाई निरन्तरता दिने विश्वास समेत उनले व्यक्त गरे । २०७१ साल चैत १३ गते नेपाल बैंकमा शाह प्रमुख कार्यकारी अधिकृत नियुक्त भएसँगै चैत मसान्तमा प्रकाशित वित्तीय विवरणमा बैंकको रिजर्भ २ अर्ब ७५ करोड रुपैंया घाटामा देखिएको थियो । गत पुस मसान्तमा १ अर्ब ९६ करोड सकारात्मक देखिएको छ । त्यो बेला बैंकको निष्क्रिय कर्जा अनुपात नै १०.५ प्रतिशत पुगेको थियो । अहिले यो दर २.७४ प्रतिशतमा सीमित भएको छ जुन अन्य सरकारी लगानीका बैंकहरुको भन्दा राम्रो हो । यो अवधिमा आइपुग्दा बैंकले निक्षेप र कर्जाको आकार, कस्ट अफ फण्ड, आधार दर र नाफाका हिसाबले समेत उत्कृष्ठ बैंकहरुसँग प्रतिस्पर्धी हैसियत बनाउन सफल भएका छ । यद्यपि एफपीओ जारी गर्ने बेलामा प्रतिबद्धता गरिएको लाभांश वितरण गर्न भने शाह असफल भएका छन् । ३२ प्रतिशतसम्म बोनस शेयर दिनसक्ने घोषणा गरे पनि राष्ट्र बैंकले रिजर्भमा रहेको ठूलो रकम कर्मचारीको दायित्वमा समायोजन गरिदिएपछि शाहको कार्यकालमा नेपाल बैंकका शेयरधनीले लाभांश पाउने अवसरबाट वञ्चित भएका हुन् ।
लगानी सम्मेलन प्रभावित पार्नेगरी विप्लवको नेपाल बन्द घाेषणा
काठमाडौं । नेपालले तामझामका साथ लगानी सम्मेलन गर्ने तयारी गरिरहँदा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बन्दको आह्वान गरेको छ । उक्त समूहले १६ गतेका दिन नेपाल बन्दको आह्वान गरेको हो । पक्राउ परेका आफ्ना कार्यकर्ताहरुको रिहाइ र सरकारले लगाएको प्रतिबन्ध फुकुवाको माग गर्दै १३ गतेदेखि २४ गतेसम्म चरणवद्ध आन्दोलनको घोषणा गरेको विप्लव समूहले १६ गते बन्दको आह्वान गरेको हो । अघिल्लो बन्दको घोषणाको आंशिक प्रभाव परेकोमा अबको बन्द भने शनिबारका लागि घोषणा गरिएको छ । यसले गर्दा सवारी आवतजावतमा असर गरे पनि कार्यालय, प्रतिष्ठान र शिक्षण संस्थाका हकमा भने यसको प्रभाव हुनेछैन । यद्यपि लगानी सम्मेलनमा आएका पाहुनाहरुमा भने यसले लगानी प्रतिवद्धतामा मनोवैज्ञानिक असर गर्ने देखिएको छ ।
लगानी सम्मेलनमा १३ अर्ब लागतको आइएमई सिमेन्ट परियोजनापनि प्रस्तुत हुँदै
काठमाडौँ । चैत १५ र १६ मा हुने लगानी सम्मेलनमा निजी क्षेत्रको १८ वटा परियोजना प्रस्तुत हुने भएको छ । ती परियोजना मध्ये आइएमई सिमेन्ट पनि परेको छ । लगानी सम्मेलन मार्फत आईएमई प्रालिले पनि विदेशी लगानी खोजेको छ । प्रस्तावित सिमेन्ट कम्पनीले नवलपरासी जिल्लाको मध्याविन्दु नगरपालिका, गान्धीमा कम्पनी स्थापनाको प्रस्ताव गरिएको छ । यो सिमेन्ट कम्पनीको खनिज क्षेत्रका लागि पाल्पा जिल्लाको मदनपुर, निसीडी ग्रामीण नगरपालिलाई प्रस्ताव गरिएको छ । सिमेन्टको खनिज क्षेत्र १५ वर्ग किलोमिटर, कच्चा पद्धार्थ ०.२३७ वर्ग किलोमिटर, कोनेस्टोनको रिजर्व २००० टिपीडी, १८.७२ लाख टन उत्पादन गर्ने सो परियोजना प्रूतावमा उल्लेख छ । पूर्वपश्चिम राजमार्गबाट ५ किलोमिटर भित्र सो सिमेन्ट स्थापना गर्ने परियोजना प्रस्तावमा उल्लेख छ । परियोजना लागत नेपाली रुपैयाँ १३ अर्बको रहेको छ । प्रतिफलको आन्तरिक दर २० प्रतिशत रहेको छ । लगानी सम्मेलनमा १३ करोड डलरको गरुड सिमेन्टको परियोजना पनि प्रस्तुत हुँदैछ । चैत १५ र १६ मा हुने लगानी सम्मेलनका लागि सरकारी र निजी क्षेत्रबाट गरी कुल ७१ वटा परियोजना प्रस्ताव प्रस्तुत हुँदैछन् । लगानी बोर्डका अनुसार यस सम्मेलनमा सरकारका तर्फबाट ५३ र निजी क्षेत्रबाट १८ वटा गरी कुल ७१ वटा प्रस्ताव पेस हुनेछ ।
होली मिलन कार्यक्रममा खानेपानी मन्त्री बिना मगर रानाथारू पहिरनमा
कंचनपुर । कंचनपुरको लालझाडी गाउँपालिकाले आयोजना गरेको राना थारूहरुको होली मिलन कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी भएकी खानेपानी मन्त्री बिना मगरले लगाएको पहिरन देख्दा धेरै जना छ्क्क परे । खानेपानी मन्त्रीको यो पहिरनमा राना थारुहरुको संस्कृति र पहिचान झल्किएको देखिन्थ्यो । अल्पसंख्यक राना थारू समुदायको कला संस्कृति र भेषभुषाको जगेर्ना गर्न आफुले पहिरन लगाएको स्पष्ट पारिन् । देशभर रहेका यस्ता थुप्रै अल्पसंख्यक जातजातिको कला संस्कृति र पहिचानको संरक्षण गर्नु राज्यको दायित्व भएको उनको भनाइ थियोे ।
सुरुङमार्ग बनाउने कम्पनीको सञ्चालक समिति विघटन, पावर चाईनासँग ज्वाइन्ट भेञ्चर
काठमाडौं । काठमाडौं–कुलेखानी–हेटौँडा सुरुङमार्ग बनाउने नेपाल पूर्वाधार विकास कम्पनीको सञ्चालक समिति विघटन भएको छ । चैत ९ गते सम्पन्न कम्पनीको बिशेष साधारण सभाले ९ सदस्यीय सञ्चालका समिति गठन गरेर ३ सदस्यीय तदर्थ समिति गठन गरेको हो । बिशेष साधारण सभाले गैर आवासिय नेपाली संघका अध्यक्ष भवन भट्ट, सुभाषचन्द्र ठकुरी र नविल कँडेल सहभागी रहेको तदर्थ समिति गठन गरेको हो । भट्टलाई अध्यक्ष तोकेको बिशेष साधारण सभाले ठूला लगानीकर्ताका तर्फबाट अन्य २ जनालाई तदर्थ समितिमा नियुक्त गर्ने निर्णय पनि गरेको छ । ‘९ सदस्यीय सञ्चालक समिति विघटन गरेर ३ सदस्यीय तदर्थ समिति गठन गरेका छौं, ठुला लगानीकर्ताका तर्फबाट २ जना थप गरिनेछ’, तदर्थ समितिका सदस्य सुभाषचन्द्र ठकुरीले विकासन्युजसँग भने । काठमाडौं-कुलेखानी-हेटौँडा सुरुङ मार्गः पावर चाइनाको लगानी स्वीकृति गरेर निर्माण बिशेष साधारण सभाको निर्णयसँगै नेपाल पूर्वाधार विकास कम्पनीबाट संस्थापक अध्यक्ष कुश कुमार जोशी, पूर्व अध्यक्ष लाल कृष्ण केसी, नुगल आनन्द वैद्य, जयराम लामिछाने, सुकुन्तलाल हिराचन र भुवनलाल श्रेष्ठ बाहिरिएका छन् । बिशेष साधारण सभाले पावर चाइना कम्पनीसँग जोइन्ट भेञ्चर कम्पनी स्थापना गरेर सुरुङ मार्ग निर्माणको कामलाई अघि बढाउने निर्णय समेत गरेको छ । त्यसका लागि आगामी असार १४ गते साधारण सभा बोलाउने निर्णय पनि बिशेष साधारण सभाले गरेको छ । यस्ता छन् बिशेष साधारण सभाका अन्य निर्णय नेपाल पूर्वाधार विकास कम्पनीको बिशेष साधारण सभाले कम्पनीको लेखा परिक्षक नियुक्त गर्ने सञ्चालक समितिको निर्णय अनुमोदन गरेको छ । त्यस्तै, पावर चाइनासँग ज्वाइन्ट भेञ्चर कम्पनी स्थापनाका लागि सरकारसँग सहमति माग्ने, आन्तरिक र संस्थागत लगानी खोज्ने, जग्गा प्राप्तिका लागि आवश्यक प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ । निर्माणका लागि आवश्यक समिति र संरचनाहरु निर्माण गर्ने, ट्रयाक ओपन लगायतका निर्माण कार्य गर्न अघि पूर्व तयारीका काम सम्पन्न गर्ने लगायतका निर्णय गरेको ठकुरीले जानकारी दिए ।
राष्ट्रिय बाणिज्य बैंक र एनबीआईबीच वित्तीय साक्षरता सम्बन्धी संझौता
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेशनल बैंकिग ईन्स्टिच्यूट(एनबीआई) बीच वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढङ्गले द्रुतगतिमा विस्तार गर्नको लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र एनबीआईको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्जीव सुब्बाले हस्ताक्षर गरेका छन् । यस सम्झौतापत्र अनुसार एनबीआईले बनाएको वित्तीय साक्षरता सम्बन्धी मोबाईल एप्को संरचना र सुविधाहरु राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुलाई विस्तृत जानकारी गराईने छ । बैंकले आफ्ना सञ्जालमा रहेका सबै शाखाका कर्मचारीहरुलाई एनबीआई मोबाईल एप्का बारे ज्ञान दिलाई ग्राहकमाझ वित्तीय साक्षरता कार्यक्रमलाई सहजताका साथ विस्तार गर्नको लागि प्रेरित गर्ने जनाइएको छ । साथै बैंकले एनबीआई एप् मार्फत समाजका विभिन्न वर्गहरु महिला समुह, किसान, रेमिट्यान्समा आश्रित परिवारहरु, शिक्षकशिक्षिकाहरु तथा विद्यार्थीहरुलाई वित्तीय साक्षरताबारे जानकारी गराउनेछ ।
गृह मन्त्रालयको सहसचिव भन्दै साढे पाँच करोड ठगी गर्ने यादव पक्राउ
काठमाडौँ । गृह मन्त्रालयको बहालवाला सहसचिव बताउँदै साढे पाँच करोड रुपैयाँ ठगी गर्ने रौतहट गौर–१ का ५७ वर्षीय सत्येन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनलाई तारकेश्वर नगरपालिका पाँचपानेस्थित एक रिसोर्टबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले क्यानाडा लैजाने भन्दै ७० जनाभन्दा धेरै युवासँग रकम असुलेका थिए । परिसरमा ६ जनाले जाहेरी दिएपछि यादवलाई पक्राउ गरिएको प्रवक्ता डिएसपी होवीन्द्र बोगटीले बताए । बोगटीका अनुसार यादवले ६ जनाबाट मात्रै एक करोड ८४ लाख रुपैयाँ असुल गरेका थिए । बोगटीले भने, ‘क्यानाडा लैजाने भन्दै थुप्रै युवासँग रकम असुलेको देखियो । प्रतिव्यक्ति पाँच लाख देखि १५ लाख रुपैयाँसम्म असुल गरेको जाहेरी परेको छ । सोही जाहेरीपछि उनलाई पक्राउ गरिएको हो । पीडितको बयानअनुसार यादवले साँढे पाँच करोड रुपैयाँ ठगी गरेका छन् ।’ प्रहरीका अनुसार सत्येन्द्र यादव उर्फ वीरेन्द्र अधिकारी वीर अस्पतालको सातौँ तहका डार्करुम टेक्निसियन हुन् । १७ लाख ६८ हजार ८ सय एक रुपैयाँ मूल्यबराबरको एक्सरेप्लेट खरिदमा हिनामिना गरेको प्रमाणित भएपछि काठमाडौं जिल्ला अदालतले उनलाई ८१ लाख ८४ हजार ८ सय एक रुपैयाँ जरिवानासहित चार वर्ष कैद सजाय सुनाएको थियो । लगत्तै फरार भएका उनी परिचय बदलेर वीरेन्द्र अधिकारी बनेका थिए । उनले अधिकारीकै आवरणबाट ठगी धन्दा चलाएको प्रहरीको भनाइ छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।