विकासन्युज

नौ समूहलाई हिमाल आरोहणको अनुमति, चार दिनमै ४ करोड राजश्व सङ्कलन

काठमाडौँ । पर्यटन विभागले हिमाल आरोहण अनुमति ‘पर्मिट’ जारी गर्न शुरु गरेको चार दिनमै करीब चार करोड रुपैयाँ राजश्व सङ्कलन भएको छ । सर्वोच्च शिखर सगरमाथासहितका विभिन्न हिमालबाट रु तीन करोड ९० लाख नौ हजार २९७ राजश्व उठेको विभागको पर्वतरोहण शाखाका रामेश्वर निरौलाले जानकारी दिए । यीमध्ये सबैभन्दा बढी सगरमाथाबाट रु तीन करोड ५३ लाख राजश्व उठेको छ । विभागले यो सिजनको गत फेब्रुअरी २७ मा पहिलो आरोहण पर्मिट जारी गरेको थियो । पछिल्लो मार्च २३ देखि २५ सम्म तीन दिनमै रु तीन करोड ८७ लाख राजश्व उठेको छ । वसन्त ऋतुको यो याममा हिमाल आरोहणका लागि १५ भन्दा बढी आरोही दलले पर्मिटका लागि निवेदन दिएकामा विभागले सोमबारसम्म नौ समूहलाई आरोहण अनुमति दिएको छ । यीमध्ये तीन सगरमासहित ल्होत्से, अन्नपूर्ण, कुम्भकर्ण, पुमरी, थापा पिक र छोपबमरी रहेका छन् । वैशाख महिनासम्म आरोहण अनुमति लिने भएकाले आरोहीको सङ्ख्या बढ्ने विभागको अनुमान छ । सन् २०१८ को यही मौसम (वसन्त ऋतु) मा सगरमाथासहितका हिमाल आरोहणका लागि १०७ आरोही समूह गएका थिए । तीमध्ये सगरमाथा आरोहणका लागि ३४ समूह गएका थिए । सन् २०१७ को सोही याममा सगरमाथासहितका हिमाल आरोहणका लागि १०८ आरोही दल गएका थिए । सगरमाथा आरोहणको रोयल्टी ऋतुअनुसार फरक–फरक हुन्छ । विदेशी आरोहीले वसन्त ऋतुमा ११ हजार अमेरिकी डलर रोयल्टी तिर्नुपर्नेछ । विभागका अनुसार सन् २०१८ को वसन्त ऋतुमा ४१ करोड २८ लाख ८४ हजार ६३८ रोयल्टी जम्मा भएको छ । योमध्ये सबैभन्दा धेरै सगरमाथाबाट मात्रै रु ३५ करोड १४ लाख ९८ हजार ३१२ रोयल्टी उठेको छ । सरकारले आरोहणका लागि ४१४ हिमाल खुला गरेको छ, अझै आरोहणयोग्य १३ सयभन्दा बढी हिमाल रहेका छन् । रासस

प्रियंका र आयुषमानले फ्यानहरुसँग मोःमोःउत्सव मनाए

काठमाडौँ । कोका–कोला नेपालद्वारा आयोजित चौथो संस्करणको ‘कोक र मःमः पर्फेक्ट जोडी’ नारा सहितको मोःमोःउत्सवले कोक र मःम प्रेमीहरु माझ लोकप्रियता कमाएको छ । नायक÷नायिकाहरु प्रियंका कार्की र आयुषमान देशराज जोशीलले मोःमोः उत्सवको रौनक बढाउन काठमाडौंका विभिन्न आउटलेट र होटलहरुमा भ्रमण गर्दै फ्यानहरुसँग बसेर कोका–कोला र विभिन्न परिकारको मःमःको मज्जा लिइरहेका छन् । प्रियंका र आयुषमानले मंगलबार नयाँ बानेश्वरका मुड अन केफ, बर्गर हाउस, बर्गर क्लब, बिशाल मःमः र चिकेन स्टेशनका आउटलेटहरुमा भ्रमण गरेका छन् । प्रियंका र आयुषमानले विभिन्न आउटलेटका संचालक, स्टाफ् र फ्यानहरुसँग भेटघाट गरेर कोक र मःमःको अनुभव बढाउदै फोटो खिचेका छन् । आयुषमानले मोःमोःउत्सवको अनुभव साट्दै भने, ‘मलाई कोका–कोला मोःमोःउत्सवले विभिन्न परिकारको मःमः र चिसो कोका–कोलाको अनुभव बढाउन अवसर प्रदान गरेको छ ।’

ज्योति विकास बैंकको संस्थापक सेयर साधारणमा परिणत, सर्वसाधारणको हिस्सा ४५ प्रतिशत

काठमाडौं । ज्योति विकास बैंकको संस्थापक सेयर साधारणमा परिणत भएको छ । बैंकको कुल १३ लाख ४४ हजार ५३१ कित्ता प्रमोटर सेयर साधारण सेयरमा परिवर्तन भएको हो । उक्त सेयर संरचना परिवर्तन भएसँगै बैंकको संस्थापकको ५५ प्रतिशत र सर्वसाधारणको ४५ प्रतिशत स्वामित्व हुने छ ।

एनसीसी बैंकबाट अजोड इन्स्योरेन्सको बीमा सेवा पाइने

काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक(एनसीसी बैंक) लि. र अजोड इन्स्योरेन्स लि.बीच बीमा सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट बैंकका ग्राहकहरmले अजोड इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सेवा सुविधाहरm प्राप्त गर्न सक्ने छन् । सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले हस्ताक्षर गरेका छन् ।

चीनबाट गाई ल्याउनु जरुरी छैन: भगिरथ तिमल्सेना

काठमाडौँ । अन्नपूर्ण दुग्ध उत्पादन सहकारी संस्थाका अध्यक्ष हुन् भगिरथ तिमल्सेना । २०४३ सालदेखि उनी सो संस्थामा आवद्ध भए र ०४६ सालदेखि संचालक समितिको सदस्य काम गरे । उनले संस्थाका नेतृत्व लिएर काम गरेको १२ वर्ष भएको छ । भरतपुर नगरपालिकाको वडा नं ६ मा सञ्चालित सो सहकारीले दैनिक २५ हजार लिटर दूध संकलन गर्दै आएको छ । स्थानीय क्षेत्रमा दूध उत्पादन धेरै उत्पादन भएकाले चितवन जिल्लामा दुग्धजन्य पद्धार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्ने योजना रहेको अध्यक्ष तिमल्सेनाले विकासन्यूजलाई बताए । सो सहकारीले नेपाली युवाहरुलाई वैदेशिक रोजगारमा जानबाट निरुत्साहित गर्दै स्वदेश मै उद्यम गर्नु पर्नेमा उत्साहित बनाउने काम गरेको उनले बताए । चितवन गीतानगरमा उनले अन्नपूर्ण गाई श्रोत केन्द्र सञ्चालन गरेका छन् । २०६८ सालदेखि उनी यो उद्यममा संलग्न रहेको बताउँछन् । सो केन्द्रबाट नेपालका ४२ जिल्लामा २ हजार गाई र बाछी उत्पादन गरी बिक्री गरिसकेको उनले बताए । सेलेक्टेड गाईहरुलाई कृतिम गर्भाधान(एआई) गरेर बाच्छी उत्पादन गर्ने र स्थानीय कृषकहरुलाई बिक्री वितरण गर्ने गरेको उनले बताए । शुरुमा पन्जाबबाट उन्नत खालको जर्सी गाई र होलस्टेनको गाई ल्याएर स्थानीय गाईहरुमा क्रसविट गराई नेपालमा नै पहिलो पटक यस प्रक्रियाद्वारा गाई उत्पादन गरेको उनले बताए । राज्यले ठाउँठाउँमा गाई श्रोतकेन्द्र खोलेर किसानलाई उद्यम गर्न उत्साहित पार्नु पर्ने उनको धारणा रहेको छ । राज्यबाट पर्याप्त सहयोग छैन सामान्य किसानहरुलाई राज्यले जुन प्राथामिकता दिनु पर्ने हो, त्यो दिइरहेको छैन । कृषि र पशुपालन पेसामा आवद्ध मानिसलाई विपन्न तथा अशिक्षित उपमा दिने गरेको हुँदा यो दृष्टिकोण बदल्न राज्यबाट समेत पहल हुनु पर्ने अध्यक्ष तिमल्सेनाको भनाई छ । उनले भने-‘जबसम्म कृषि र पशुपालनलाई सरकारले मान्यता दिंदैन, तब युवा जनशक्ति यो पेशाप्रति आकर्षित हुँदैन । लाई यस पेशा प्रति सकारात्मक उर्जा आउँदैन । चीनबाट गाई ल्याउनु जरुरी छैन अध्यक्ष तिमल्सेनाका अनुसार अन्य राष्टबाट नयाँ उपकरण भित्राउनु राम्रो हो, चीनबाट गाई ल्याउने प्रदेश सरकारको निर्णय राम्रो होइन । स्वदेश मै उत्पादन भएका दूधालु गाईलाई व्यवसायीकरण गर्नु पर्छ । उनी भन्छन्–‘सरकारले हाल चीनबाट ३२ अर्बको गाई ल्याउने सम्झौता गरेको छ, यसप्रति हाम्रो संस्थाको विरोध रहेको छ ।’ चीनबाट गाई भित्र्याउने सरकारको निर्णयप्रति किसानहरु आन्दोलित हुने उनले बताए ।

सप्तकोशी डेभलपमेन्ट बैंकले एकाएक किन बोलायो विशेष साधारणसभा ?

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकले आगामी चैत २७ गते आफ्नो विशेष साधारणसभा बोलाएको छ । संस्थाले सो दिन बिहान ११ बजे बिराटनगरको उद्योग संगठन मोरङमा उक्त सभा बोलाएको हो । यस विकास बैंकले कोबेली विकास बैंकसँग मर्जमा जाने प्रस्ताव सहित सो दिन विशेष साधारणसभा डाकेको हो । साथै, उक्त दुई विकास बैंक एक आपसमा गाभिने प्रयोजनका लागि नेप्सेमा माघ ४ गतेदेखि बुक क्लोज रहेको छ । दुई संस्थाबीच एकीकृत कारोबार नभएसम्मका लागि यस विकास बैंकको बुक क्लोज रहने संस्थाले जनाएको छ । हाल सप्तकोशी डेभलपमेन्ट बैंकको चुक्ता पुँजी ४८ करोड ५३ लाख रुपैयाँ रहेको छ । त्यस्तै, काबेली विकास बैंकका चुक्ता पुँजी २१ करोड ५ लाख ९० हजार रुपैयाँ रहेको छ ।

नेपाल स्टक एक्सचेञ्जमा धर्ना बस्न खोज्ने शेयर लगानीकर्ता पक्राउ

काठमाडौँ । पूँजी बजारको विकासका लागि आफ्ना विभिन्न माग सम्बोधन नभएको भन्दै नेपाल स्टक एक्सचेञ्जको भद्रकालीस्थित कार्यालयमा धर्नामा उत्रिएका शेयर लगानीकर्ता दवाब समूहका प्रतिनिधिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । समूहका प्रतिनिधिले भोक हडतालको ब्यानरसहित स्टकको प्रवेशद्वारमा धर्ना शुरु गर्न लाग्दा त्यहाँबाट हटाउँदै प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको हो । सिंहदरबार अगाडिको संवेदनशील र धर्नाका लागि निषेधित क्षेत्र परेको तथा युएन पार्क मार्गको बाटोसमेत अवरोध हुनसक्ने भएकाले उनीहरुलाई पक्राउ गरिएको सो स्थलमा खटिएका नेपाल प्रहरीका प्रहरी उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिए । समूहका प्रतिनिधि तिलक कोइरालाले पूँजी बजारलाई विशेष क्षेत्र तोकी प्राथमिकता दिनेलगायत विगतमा भएको सहमति अर्थ मन्त्रालयबाट कार्यान्वयन नभएको विषयमा ध्यानाकर्षण गराउन शान्तिपूर्ण धर्नामा बस्दा प्रहरीले बल प्रयोग गरेर नियन्त्रणमा लिएको बताए ।

साताको तेस्रो दिन सुनको मूल्य घट्यो, प्रतितोला ६० हजार ५ सयमा कारोबार

काठमाडौं । साताको तेस्रो दिन सुन प्रतितोला १ सय रुपैयाँ घटेको छ । सोमबार प्रतितोला ६० हजार ६ सय रुपैयाँमा बिक्री भएको सुन मंगलबार ६० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । सोमबारको तुलनामा मंगलबार तेजावी सुन पनि प्रतितोला १ सय रुपैयाँ घटेर ६० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै चाँदी प्रतितोला ७४० रुपैयाँमा कारोबार भईरहेको छ । चाँदी भने लामो समयदेखि सोही मुल्य कायम गर्दै आएको नेपाल सुनचाँदी संघले जनाएको छ ।