विकासन्युज

सुन एक्कासी ६सयले घट्यो, प्रतितोला ५९ हजार ७ सयमा हुँदैछ कारोबार

काठमाडौं । साताको अन्तिम दिन सुन एक्कासी ६ सय रुपैयाँले घटेको छ । विहिबार प्रतितोला ६० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने शुक्रबार ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । विहिबारको तुलनामा शुक्रबार तेजापी प्रतितोला ६ सय रुपैयाँ घटेर ५९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै प्रतितोला ५ रुपैयाँ घटेर ७३० रुपैयाँ कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यूनिभर्सल पावरको वार्षिक साधारणसभा जेठ २० गते, कम्पनी सचिवमा श्रेष्ठ नियुक्त हुँदै

काठमाडौं । यूनिभर्सल पावर कम्पनीले आगामी २०७६ जेठ २० गते वार्षिक साधारणसभा गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७४/७५ को वार्षिक साधारणसभा उक्त दिन गर्न लागेको हो । उक्त सभाले कम्पनीको कम्पनी सचिव परिवर्तन गरी देबबहादुर श्रेष्ठलाई नियुक्त गर्दै छ । साथै, कम्पनीका संचालक पुष्पेन्द्र भट्टराईले दिएका राजीनामालाई जेठ २० गतेदेखि लागू हुने गरी स्वीकृत गर्ने कम्पनीले जनाएको छ । उक्त निर्णय कम्पनीको २०७५ चैत १४ गते बसेको सञ्चालक समितिको बैठकले गरेको हो ।

एचएच बजाजको नयाँ शोरुम तनहुँमा, ग्राहकलाई गुणस्तरीय र छिटो सुविधा पुर्याउने प्रयास

तनहुँ । एचएच बजाजको नयाँ शोरुम तनहुँमा सञ्चालन भएको छ । कम्पनीले आफ्नो कार्यलाई थप अघि बढाउँदै पूर्ण सुविधा सहितको नयाँ शोरुम शुभेक्छा अटो वक्र्स तनहुँको दुलेगौँडामा संचालनमा ल्याएको हो । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउने कम्पनीले जनाएको छ । एचएच बजाजले देशभरका ग्राहकहरुलाई गुणस्तरीय र छिटो सुविधा पुर्याउने प्रयास गरिरहेको बताएको छ । नयाँ शोरुम शुभारम्भ गर्दै एचएच बजाजका एक्जुकेटिभ डाइरेक्टर आयुषमान गोल्छाले भने, ‘हामी तनहुँमा नयाँ शोरुम संचालन भएको घोषणा गर्दा निकै खुशी छौं ।’ ग्राहकहरुको बढ्दो मागका कारण हामीलाई तनहुँमा नयाँ शोरुम संचालन गर्न उत्साहित बनाएको हो, यो विस्तारसँगै तनहुँका ग्राहकहरु विभिन्न माध्यमबाट लाभान्वित हुनेछन्–उनले भने ।

नेशनल माइक्रो फाइनान्सले सिरहामा गर्यो वित्तीय साक्षरता कार्यक्रम

काठमाडौँ । नेशनल माइक्रो फाइनान्स वित्तीय संस्था लि.ले सिराहा जिल्लाको मिर्चैया नगरपालिकामा समूह अध्यक्षहरुको वार्षिक कार्यशाला तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । फुलवरिया शाखाले गरेको कार्यक्रमको अध्यक्षता समुह न.४७ की अध्यक्ष श्रीमति रतनदेवी साहुले गरेकी थिइन भने प्रमुख अतिथिको रुपमा नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लि.केन्द्रीय कार्यालयको संचालन विभागका विभागीय प्रमुख सिताराम पंडित रहेका थिए । कार्यक्रममा समाजसेवी, अभिभावक, धारापानी शाखाका शाखा प्रमुख र समुह अध्यक्षहरु गरी कुल १२० जनाको उपस्थिति रहेको थियो । संस्थाले प्रदान गर्दै आएका सेवाहरु, संस्थागत प्रगति, गोष्ठीको महत्व, समुह अध्यक्षको भुमिका जिम्मेवारी, कर्जा सदुपयोगिताको महत्व, बचतको महत्व, लघुबीमाको महत्व, असल समूहका बिशेषताहरु र वित्तीय साक्षरताको बारेमा कार्यक्रममा छलफल भएको थियो । समापनका अवसरमा प्रथम, द्धितीय, तृतीय र चौथो हुनेसमुह अध्यक्षहरुलाई सम्मान र पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिएको थियो ।

मुथुट ग्रुपका अध्यक्षले भने-‘लगानी मैत्री छन् नेपालका प्रधानमन्त्री’

काठमाडौं । मुथुट ग्रुपका अध्यक्ष एमजी मुथुटले नेपालमा दुई तिहाईको स्थिर सरकार निर्माण भएकाले नेपाल लगानीको उत्कृष्ठ गन्तव्य भएको बताएका छन् । शुक्रबारदेखि काठमाडौँमा शुरु भएको लगानी सम्मेलनलाई सम्बोधन गर्दैै उनले भने–नेपालमा कानून संसोधन भएका छन्, लगानीको बाताबरण बनेको छ । नेपालका प्रधानमन्त्री लगानी मैत्री छन्, यस्तो अनुकुल बाताबरण नेपालमा कहिलेपनि थिएन, उनले भने–‘अब यहाँ लगानी गरेर नाफा कमाउन कुनै समस्या छैन ।’ नेपालमा युनाइटेड फाइनान्सले रणनीतिक साझेदारको रुपमा यही ग्रुपको मुथुट फाइनान्सलाई भित्राएको छ ।

विदेशी लगानीकर्तालाई प्रधानमन्त्रीको सम्बोधन, ‘भारत र चीन नजिकै छन्, बजारको चिन्ता नगर्नोस्’

काठमाडौँ । राजधानीको होटल सोल्टीमा लगानी सम्मेलन शुरु भएको छ । सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले लगानीको लागि नेपाल उत्कृष्ठ गन्तव्य भएको बताए । विदेशी लगानीकर्ता माझ उनले भने–‘चाइना र इण्डियाको बजार खुला रहेकाले यहाँका उत्पादनललाई बजारको समस्या हुँदैन ।’ लगानीको बाताबरण बनाउन कानून निर्माण गरेका छौँ, कर पनि लगानी मैत्री भएको उनले बताए । यहाँ लगानी गर्दा नाफाको हुने ग्यारेन्टी छ, नाफा लैजानपनि पाइन्छ । त्यसका लागि सरकार जुनसुकै सहयोग गर्न तयार छ । प्रधानमन्त्री ओलीले यहाँ उत्पादित समान चीनसम्म पुर्याउनका लागि बाटो बनाइरहेको बताए । त्यसैगरी भारतमा सामान पुर्याउन पानी जहाज चलाउने तयारी गरिरहेकाे समेत ओलीले विदेशी लगानीकर्ता माझ प्रष्ट पारे । एयरपोर्टहरु पनि बन्दैछन् । प्रधानमन्त्री ओलीले भने–हवाई जहाजबाट पनि सामान निर्यात गर्न कुनै समस्या छैन । नेपालमा पूर्वाधार निर्माण भइसकेको छ, लगानीका संभावना अथाह रहेका छन्, त्यसकारण विदेशी लगानीकर्ताहरुले नेपालमा लगानी गर्न हिच्किचाउनु पर्दैन–प्रधानमन्त्री ओलीले भने । त्यसैगरी सम्मेलनमा सहभागी विदेशी लगानीकर्ताहरुलाई स्वागत गर्दे अर्थमन्त्री डा. युवराज खतिवडाले  समेत नेपाल लगानीको उत्कृष्ठ गन्तव्य भएको बताए । शनिबार सम्पन्न हुने लगानी सम्मेलनमा विभिन्न ४० देशबाट ६०० भन्दा बढी लगानीकर्ता सहभागी भएका छन् । सभाहलको क्षमता कम भएको र उपस्थित व्यक्तिहरुको संख्या अधिक हुँदा सम्मेलन हल भने अव्यवस्थित देखिएको छ । उपस्थित व्यक्तिहरु उभिएर समेत कार्यक्रममा सहभागी भएका छन् । लगानी सम्मेलनमा नेपाल सरकार लगानी बोर्डले कृषि, जलविद्युत, उद्योग, पर्यटन , यातायात, सहरी पूर्वाधार एवं शिक्षा तथा स्वास्थ्य क्षेत्र सम्बन्धी ५० सरकारी र निजी क्षेत्रका २७ गरी ७७ वटा परियोजनाहरु प्रस्तुत गर्नेछ ।

चालु खर्च ५० प्रतिशत नाघ्यो; दैनिक ७ अर्ब खर्च गर्नुपर्ने बाध्यतामा सरकार

काठमाडौं । संघीय सरकारको बजेटअनुरुप चालु खर्च ५० प्रतिशत नाघेको छ । चालु आर्थिक वर्षको चैत १४ गतेसम्म आइपुग्दा चालु खर्चतर्फ विनियोजन गरिएको ८ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख रुपैंयामध्ये ४ खर्ब २७ अर्ब २१ करोड ८२ लाख रुपैंया खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । यो विनियोजित बजेटको ५०.५३ प्रतिशत हो । पुँजीगत र वित्तीय व्यवस्थातर्फको खर्चमा भने सरकारको प्रगति निराशाजनक देखिएको छ । उक्त अवधिमा पुँजीगत खर्च ३१.१८ प्रतिशत र वित्तीय व्यवस्थातर्फको खर्चको प्रगति २८.८८ प्रतिशतमा सीमित रहेको देखिएको हो । बिहीबारसम्म पुँजीगत खर्च ९८ अर्ब ३१ करोड ५८ लाख र वित्तीय खर्च ४४ अर्ब ९७ करोड ६८ लाख रुपैंया खर्च भएको हो । बजेटले पुँजीगततर्फ ३ खर्ब १३ अर्ब ९९ करोड ८२ लाख र वित्तीय व्यवस्थातर्फ १ खर्ब ५५ अर्ब ७१ करोड ६० लाख रुपैंया विनियोजन गरेको थियो । राजश्वतर्फ भने सरकारले हालसम्म ५४.९५ प्रतिशत लक्ष्य हासिल गरेको छ । जम्मा ८ खर्ब ३१ अर्ब ३१ करोड ८० लाख रुपैंया राजश्व लक्ष्य निर्धारण गरेको सरकारले बिहीबारसम्म ४ खर्ब ५६ अर्ब ८० करोड २१ लाख रुपैंया राजश्व संकलन गरेको हो । यसमध्ये ४ खर्ब १२ अर्ब १४ करोड ७३ लाख कर राजश्वबाट र बाँकी ४४ अर्ब ६५ करोड ४९ लाख गैरकरतर्फको राजश्व प्राप्त भएको कार्यालयले जनाएको हो । उक्त आम्दानीमा अनुदान र अन्य अनियमित आम्दानीहरु समावेश नगरिएको समेत महालेखाले स्पष्ठ पारेको छ । अर्थ मन्त्रालयले चालु आर्थिक ६ महिनाको प्रगतिका आधारमा बजेटको ९१।२ प्रतिशत अर्थात् ११ खर्ब ९९ अर्ब १५ करोड खर्च हुने संशोधित अनुमान गरेको छ जसमध्ये चालु खर्चतर्फ ९४.४ प्रतिशतले हुने ७ खर्ब ९८ अर्ब ४४ करोड, पुँजीगततर्फ ८४।५ प्रतिशतले हुने २ खर्ब ६५ अर्ब २६ करोड र वित्तीय व्यवस्थातर्फ ८७ प्रतिशतले हुने १ खर्ब ३५ अर्ब ४४ करोड खर्च हुने अनुमान गरेको हो । सरकारको संशोधित अनुमान अनुसारकै खर्च हुन पनि अब ६ खर्ब २८ अर्ब ६३ करोड ९२ लाख रुपैंया खर्च गर्नुपर्ने भएको छ । आकस्मिक बिदा नभए असार मसान्तसम्म अब ९१ दिन सरकारी कार्यालयहरु खुल्नेछन् । यो अवधिमा सरकारी संशोधित लक्ष्य पुरा गर्न पनि दैनिक ६ अर्ब ९० करोड ८१ लाख खर्च गर्नुपर्नेछ तर बिहीबार भने १ अर्ब ६२ करोड ७१ लाख रुपैंया मात्र खर्च भएको थियो ।

निगमले एयरबस सञ्चालनमा ल्याएसँगै सकियो बोइङ युग

काठमाडौं । नेपाल वायुसेवा निगमले करिब ३० वर्षदेखि नियमित उडानमा प्रयोग गरिरहेको १९० सिट क्षमताको बोइङ बी ७५७ एसीबी सधैंका लागि ग्राउन्डेड भएको छ । मलेसियामा दुई महिना मर्मत गरेर गत माघ २ गते काठमाडौं आइपुगेको यो जहाज विमानस्थलमा थन्किएकै तीन महिना नाघेको छ । काठमाडौं आइपुगेकै दिन विन्ड सेन्सरले काम नगरेपछि थन्किएको जहाज फेरि बनाएर उडाउने हिम्मत नगरेकै कारण निगमका निम्ती उडान इतिहास बनेको बोइङ युग सकिएको छ । निगमले बोइङलाई विस्थापित गरेर चारवटा जहाजसँगै एयरबस युग सुरु गरिसकेको छ । यसअघि निगमले भएकै बोइङको बी ७५७ एसीए जहाज कवाडीमा बेचिसकेको छ । जहाज बीबी एयरवेजले किनेको भए पनि अझै विमानस्थलबाट नहटाएका कारण त्यसको पार्किङ शुल्क भने निगमकै जिम्मेवारीमा छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।