माथिल्लो त्रिशूली थ्री ‘ए’को बाँधस्थलको परीक्षण सफल, वैशाख १७ गतेदेखि उत्पादन थाल्ने
नुवाकोट । रसुवामा बाँध र नुवाकोटमा विद्युत् उत्पादनगृह रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको संरचना निर्माण पूरा भएसँगै विद्युत् उत्पादनका लागि थालिएको परीक्षण सफल हुँदै गएको छ । आगामी वैशाख १७ गतेदेखि विद्युत् उत्पादन थाल्ने लक्ष्य लिएको आयोजनाले यही चैत १ गतेदेखि शुरु गरेको बाँधस्थलको परीक्षण बिहीबार सम्पन्न गरेको आयोजना प्रमुख फणिन्द्रराज जोशीले जानकारी दिए । बाँधस्थलका तीन वटा ढोकाबाट पानी थुनेर डि–सेन्टर (पानी जमाउने पोखरी)मा पठाउने कार्य सफल भएको हो । विसं २०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पका कारण सबैभन्दा बढी क्षति पुगेको उक्त आयोजनाको बाँधस्थल पुनःमर्मत गरेर सञ्चालनमा ल्याइएको थियो । आयोजनाको बाँधस्थलको परीक्षण सफल भएसगैँ तोकिएको समयमा विद्युत् उत्पादन हुने वातावरण निश्चिततातर्फ लम्किएको आयोजनाका उपप्रबन्धक ई सत्यराम ज्याख्वाले बताए । उनले भने, “भूकम्पले क्षति पु¥याएपछि मर्मत गरेर सञ्चालनमा ल्याइएकाले बाँधस्थलको परीक्षण चुनौती थियो, तीन वटा ढोकामार्फत थुनिएको पानीले सहजै डि–सेन्टरमा प्रवेश गरेको छ, यो सुखद पक्ष हो ।” बाँधस्थलको परीक्षण अन्तर्गत थुनिएको बाँध करीब ४८ घण्टासम्म परीक्षण गरिने आयोजनाको निर्माण गरिरहेको चाइना गेजुवा गु्रप अफ कम्पनी (सिजिजिसी)ले जनाएको छ । आयोजनाको सिभिल (भौतिक) संरचना निर्माणपश्चात् करीब ४५ दिनको परीक्षण अवधिको यस समयमा दोस्रो चरणअन्तर्गत अर्को सातादेखि डि–सेन्टर हुँदै सुरुङ मार्गको परीक्षण गर्ने योजना छ । असारसम्ममा निर्माण सम्पन्न गर्ने योजनाका साथ तीव्र गतिमा भइरहेको कार्यअन्तर्गत आयोजनाको समग्र काम हाल ९० प्रतिशतभन्दा बढी पूरा भएको छ ।
लगानी सम्मेलनमा म्यानमारका लगानीकर्ता गरे आफ्नै देशको प्रचार !
काठमाडौँ । राजधानीको होटल सोल्टीमा शुक्रबारदेखि २ दिने लगानी सम्मेलन भइरहेको छ । उक्त सम्मेलनमा विभिन्न विषयमा छलफल भइरहँदा म्यानमारका एक लगानीकर्ताले नेपालमा लगानी प्रतिबद्धता गर्नुको साटो आफ्नै प्रचार मात्र गरेका छन् । म्यानमारको योमा ग्रुप अफ कम्पनीका कार्यकारी अध्यक्ष सर्ज पुनले लगानी सम्मेलनका क्रममा नेपालमा भेला भएका लगानीकर्तालाई उनकै देश म्यानमारमा लगानी गर्न आग्रह गरेका थिए । विदेशी निम्तालुले आफ्नै देशको प्रचार गर्न थालेपछि छलफलका सहजकर्ता प्रदीपकुमार श्रेष्ठले म्यानमारको राम्रो पक्षको प्रचार भन्दा पनि नेपालमा लगानीको बाताबरण बारे धारणा राख्न अनुरोध गरेका थिए । उद्योगमन्त्री मातृका यादवले अध्यक्षता गरेको उद्योग सत्रको छलफल कार्यक्रममा सचिव यामकुमारी खतिवडाले कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।
संस्थापक सेयर किनबेच ह्वात्तै बढ्यो, बेच्नेलाई बाध्यता र कर छलि, किन्नेलाई अवसर
काठमाडौं । नेपालको सेयर बजारमा संस्थापक सेयर किनबेच ज्यादै कम हुने गरेको थियो । तर, पछिल्लो समय साधारण सेयरको तुलनामा संस्थापक सेयरको खरिद बिक्री उच्च छ । गत चैतको पहिलो दुई सातामा जम्मा १० दिन सेयर कारोबार भयो । त्यसमा ६ दिन सबैभन्दा बढी सेयर कारोबार ती संस्थाको भए जसको संस्थापक सेयर कारोबार बढी भए । दुई सातामा चार बैंक तथा वित्तीय संस्थाको मात्र कुल १९ करोड ४५ लाख रुपैयाँ बढीको संस्थापक सेयर किनबेच भएका छन् । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, ग्लोबल आईएमई बैंक, मुक्तिनाथ विकास बैंक र नेपाल बङ्गलादेश बैंकको गरी सो मात्राको संस्थापक सेयर दोस्रो बजारमा किनबेच भएको हो । चैत ३ गते आइतबार शाइन रेसुङ्गाको ४ करोड ४३ लाख रुपैयाँ बराबरको संस्थापक सेयर किनबेच भएको छ । त्यस्तै, चैत ४, ५ र ७ गते तीनै दिन ग्लोबल आईएमईको संस्थापक सेयर बढी कारोबार भएको थियो । बैंकको लगातार तीन दिनमा कुल ९ करोड ३६ लाख रुपैयाँ बढीको सेयर खरिद बिक्री भएको थियो । त्यसैगरी, चैत ११ र १२ गते क्रमशः मुक्तिनाथ विकास बैंक र नेपाल बङ्गलादेश बैंकको ठूलो मात्रामा संस्थापक सेयर खरिदबिक्री भएका थिए । त्यस्तै, सानिमा विकास बैंकको करिव ५० करोड रुपैयाँ मूल्य पर्ने सवा २७ लाख कित्ता सेयर बढाबढ मूल्यमा लिलामीमा राखिएको छ । आकर्षण कि बाध्यता सरकारी नीतिमा यस्तो छ कि संस्थापक सेयरलाई स्टक मार्केटमा सौताको छोराको रुपमा हेरिन्छ । साधारण सेयर धितो राखेर बजार मूल्यको ६० प्रतिशत कर्जा पाइन्छ भने संस्थापक सेयर धितो राखेर बजार मूल्यको बढीमा २५ प्रतिशत धितो पाइन्छ । धेरै बैंक तथा वित्तीय संस्थाले प्रमोटर सेयर धितोको रुपमा स्वीकार नै गर्दैनन् । संस्थापक सेयर सोही संस्थाका संस्थापकले नकिनेको अवस्थामा मात्र अरुलाई बेच्न पाईन्छ । संस्थापक सेयरको मूल्य सामान्यता साधारण सेयरको मूल्यभन्दा झण्डै आधा हुन्छ । यस्ता धेरै कारणले संस्थापक सेयरको किनबेच नै बढी कठिन हुन्छ । तर पछिल्लो समय किन संस्थापक सेयर कारोबार बढी भएको छ ? नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार भन्छन्- ‘एक व्यक्तिको स्वामित्वमा कुनै पनि बैंक तथा वित्तीय संस्थामा १ प्रतिशत वा सोभन्दा बढी सेयर छ भने अर्को संस्थामा प्रवद्धक सेयर लिन नपाईने राष्ट्र बैंकको नियमका कारण दुई वा दुई भन्दा बढी बैंक तथा वित्तीय संस्थामा संस्थापक सेयर धेरै भएका सेयरधनीले सेयर बेचेको हुन सक्छ ।’ बैंक अफ काठमाण्डूका संस्थापक डब्बर बहादुर मल्लले सिभिल बैंकको संस्थापक सेयरमा लगानी गरेको भेटिएपछि राष्ट्र बैंकले दुबैं बैंकलाई मल्लको लाभांश रोक्न निर्देशन दिएको छ । बैंक अफ काठमाण्डूबाट मात्र उनको ३ करोड रुपैयाँ बराबरको लाभांश रोकिएको छ । मल्लले पाउने लाभांश रोक्न राष्ट्र बैंकले निर्देशन दिएपछि बैंकिङ क्षेत्रमा क्रस होल्डिङ भएकाले सेयरधनीहरु आत्तिएर सेयर बेच्न थालेको बैंकिङ क्षेत्रमा चर्चा छ । यस्ता सेयरधनीले नयाँ बैंकको सेयर छोडेर पुरानो बैंकको सेयर होल्ड गरेका छन् । क्रस होल्डिङ हुनेहरुलाई सेयर बेच्नु पर्ने बाध्यता हुँदा नयाँ लगानीकर्ताको लागि भने यतिबेला प्रमोटर सेयर किन्नु लगानीको उचित अवसर पनि हो । राम्रो कम्पनीको साधारण सेयरको मूल्य पनि निकै कम भएको र त्यहि मूल्यलाई आधार मानेर प्रमोटर सेयर झन् सस्तोमा किन्न पाइने भएकाेले चलाख लगानीकर्ता यस्तो सेयरमा आकर्षित भएको पाइन्छ । पहिला अरुको नाममा संस्थापक सेयर लिएका तथा यसअघि नै कारोबार भएको तर नामसारी हुन बाँकी रहेका संस्थापकहरु पनि अहिले नामासारी गर्न आएको नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत(सीईओ) चन्द्रसिंह साउदले बताए । विश्वास पात्रहरुबीच सेयरको मूल्य उच्च भएको बेलामा कारोबार भएपनि पुँजीगत लाभकर छल्नको लागि बजार घटेको बेलामा नामसारी गर्ने गरेको समेत भेटिएको उनले बताए । ‘बढी मूल्य भएको बेलामा बढी पुँजीगत लाभकर लाग्छ, कम मूल्य भएको बेलामा कम कर लाग्छ । मूल्य घटेको बेलामा ठूला कारोबार हुनुको कारण त्यो पनि हुन सक्छ’ सीईओ साउदले विकासन्युजसँग भने ।
‘दोलखा फिल्म सिटी’ लाई पत्याउलान् त विदेशी लगानीकर्ताले ?
काठमाडौं । नेपालमा लगानी सम्मेलन चलिरहँदा चलचित्र क्षेत्रबाट एक मात्र परियोजना ‘दोलखा फिल्म सिटी’ लाई प्रस्तुत गरिंदैछ । भौगोलिक दृष्टी सुन्दर एवम् पर्यटकीय जिल्लाको रुपमा चिनिने दोलखा काठमाडौंबाट १ सय किमि दुरीमा रहेको छ । भीमेश्वर नगरपालिका ९ स्थित डाङडुङेडाँडाको कम्तीमा १८९ वर्गमिटरदेखि ३१४ वर्गमिटर क्षेत्रफलमा फिल्म सिटी बनाउने परियोजना प्रस्तावमा उल्लेख छ । लगानी सम्मेलनमा सरकारी स्तरबाट पारित ५० वटा परियोजनामा ‘दोलखा फिल्म सिटी’ पनि परेको हो । पर्यटकीय क्षेत्र बनाउन ८ वर्षयता ३५ करोड खर्च गरिसकेको सो क्षेत्रमा पर्यटन सँगसँगै फिल्म सिटीको रुपमा दोलखा जिल्लालाई स्थापित गराउन गरिएको छ । लगानी बोर्डले फिल्मसिटी परियोजना प्रस्तावमा दोलखा युनेस्कोको पुरानो सहरहरुको सूचीमा परेको, विभिन्न जातजाति बीचको फरक फरक संस्कृति, परम्पराका साथ भिन्न खालको गाँउ वस्ती रहेको कारण फिल्म सिटी बनाउन सकिने उल्लेख गरिएको छ । फिल्म सिटी क्षेत्रमा पाँचतारे होटेल, क्यासिनो, स्थानीय होटल, पार्क, क्याफे, बार, गिफ्ट सप र रंगमञ्च बनाउने कुरा लगानी बोर्डको प्रस्तावमा उल्लेख छ । प्रस्तावित स्थानमा फिल्म उत्पादन र प्रशोधनका लागि सुविधा सम्पन्न स्टुडियो बनाउन सकिने, सुटिङका लागि आवश्यक सामाग्री उपलब्ध गराउने देखि चलचित्र सम्बन्धी तथ्यांक केन्द्र निर्माण गर्ने कुरा समावेश छ । फिल्म सिटी परियोजनामा ७० लाख डलर बराबरको बैंकिङ्ग ग्यारेन्टी भएको र निजी क्षेत्रका लगानीकर्ताहरुमा अन्तर्राष्ट्रिय स्तरको पर्यटन विकास तथा पूर्वाधारको क्षेत्रबाट ५ वर्षमा काम सक्नेले मात्र आवेदन गर्न सक्ने उल्लेख गरिएको छ ।
अन्तर्राष्ट्रिय विमानस्थलमा गैरआवासीय नेपालीहरुका लागि विशेष अध्यागमन डेस्क स्थापना
काठमाडौं । गैरआवासीय नेपाली संघको निरन्तर अनुरोध पछि नेपाल सरकार अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गैरआवासीय नेपालीहरुका लागि विशेष अध्यागमन डेस्क स्थापना गरेको छ । गत साता मात्रै संघका अध्यक्ष भवन भट्टले गृहमन्त्री रामबहादुर थापालाई भेटी डेक्स स्थापना गर्ने काममा आवश्यक सहयोगका लागि अनुरोध गरेका थिए । यस अघि संघका उपाध्यक्ष कुल आचार्य र एनसिसि युकेले अध्यागमन विभागका प्रमुख ईश्वरराज पौडेललाई लण्डनमा यस बारे ध्यानाकर्षण गराउंदै एनआरएन डेस्क खोलि दिन आग्रह गरेका थिए। डेस्कको उद्घाटन कार्यक्रममा बोल्दै संघका अध्यक्ष भवन भट्टले लामो समयदेखिको प्रयासले सार्थकता पाएको बताए । सरकारले गैरआवासीय नेपालीहरुलाई मुलुकका महत्वपूर्ण एजेन्डामा समेत सहभागी गराएको बताउँदै आगामी दिनमा पनि सरकारसंग मिलेर काम गर्ने बताएका छन् । यसरी नै अध्यागमन विभागका महानिर्देशकले विभागले गैरआवासीय नेपालीहरुलाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरेका छन् । कार्यक्रममा अध्यक्ष भट्ट सहित उपाध्यक्ष कुमार पन्त, कूल आचार्य, महासचिव डा.बद्री केसी, प्रवक्ता भूषण घिमिरे लगायतको उपस्थिती रहेको थियो ।
नेपाल बङ्गलादेश बैंक र एनबीआईबीच वित्तीय साक्षरता सम्बन्धी सम्झौता
काठमाडौँ । नेपाल बङ्गलादेश बैंक र नेशनल बैंकिग ईन्स्टिच्यूट(एनबीआई) बीच वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढङ्गले विस्तार गर्नको लागि सम्झौता पत्रमा शुक्रबार हस्ताक्षर भएको छ । उक्त सम्झौतामा नेपाल बङ्गलादेश बैंकको तर्फबाट सहायक महाप्रबन्धक सलोनिका सिंह र एनबीआईको तर्फबाट सहायक महाप्रबन्धक धन थापाले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार एनबीआईले बनाएको वित्तीय साक्षरता सम्बन्धी मोबाईल एपको संरचना र सुविधाहरु बारे नेपाल बङ्गलादेश बैंकका कर्मचारीहरुलाई विस्तृत जानकारी गराईने छ । बैंकले आफ्ना सञ्जालमा रहेका सबै शाखाका कर्मचारीहरुलाई एनबीआई मोबाइल एपबारे ज्ञान दिलाई ग्राहक माँझ वित्तीय साक्षरता कार्यक्रमलाई सहजताका साथ विस्तार गर्नको लागिको प्रेरित गर्ने जनाइएको छ । साथै बैंकले एप मार्फत समाजका विभिन्न वर्गहरु जस्तै महिला समुह, किसान, रेमिट्यान्समा आश्रित परिवारहरु, शिक्षक शिक्षिकाहरु तथा विद्याथीहरुलाई वित्तीय साक्षरता बारे जानकारी गराउन जनाएको छ ।
कृषि विकास बैंकको २१ प्रतिशत लाभांश पारित, संचालकमा तीन जना निर्वाचित
काठमाडौं । कृषि विकास बैंक लिमिटेडको प्रस्तावित २१.०५३ प्रतिशत लाभांश पारित भएको छ । शुक्रबार सम्पन्न बैंकको १२औँ वार्षिक साधारणसभाले सेयरधनीलाई चुक्ता पुँजीको ६ प्रतिशत बोनस र १५.०५३ प्रतिशत नगद गरी सो मात्राको लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गरेको हो । साथै, सभाले बैंकको संचालक समितिमा समूह (ख) सर्वसाधरण सेयरधनीहरुको तर्फबाट तीन जना संचालक सदस्य निर्वाचित गरेको छ । संचालक सदस्यमा संजिव पौडेल, हरिप्रसाद पराजुली र विनोदकुमार गुरागाई आगामी ४ वर्षे कार्यकालका लागि निर्विरोध निर्वाचित भएका हुन् । उक्त सभा बैंक संचालक समितिका अध्यक्ष क्षेत्रबहादुर सेंजुवालको अध्यक्षतामा भक्तपुरको बोडेस्थित बैंकको केन्द्रिय तालिम प्रतिष्ठानमा सम्पन्न भएको थियो । नेपालका बाणिज्य बैंकहरु मध्ये सबैभन्दा बढी अधिकृत पूँजी भएको बैंकले हाल २७१ वटा शाखाहरुबाट आधुनिक बैकिङ्ग सेवा दिँदै आएको छ ।
सनराइज बैंक र लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौँ । सनराइज बैंक लिमिटेड र लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लि. बीच बैंकास्योरेन्स सम्बन्धि सम्झौता भएको छ । बैंकास्योरेन्स सम्झौता अनुसार सनराइज बैंकले देश भर रहेका १०३ वटै शाखाहरmबाट एल.आइ.सी, नेपालको जीवन बीमा योजनाहरु बिक्री गर्न सक्ने छ । सन्राइज बैंक लिमिटेडको प्रधान कार्यालयमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लि. का प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद दासबीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।