विकासन्युज

‘हिमाल मेरो देश’ कविता संङ्ग्रह लिएर आए युवाकवि दिनेश घिमिरे

काठमाडौं । युवा साहित्यकार दिनेश घिमिरेको तेस्रो कविता कविता संङ्ग्रह ‘हिमाल मेरो देश’ को विमोचन गरिएको छ । बहुभाषिक कविगोष्ठी, रक्तदान कार्यक्रम, वातावरण तथा विज्ञान प्रदर्शनी एवम् साँस्कृतिक कार्यक्रममा उक्त कविता संङ्ग्रहको पूर्वमन्त्री कृपासुर शेर्पा र प्रदेशसभा– ३ का सांसद् रामेश्वर फुयाँल र साहित्यकार जगन्नथा देवकोटाले संयुक्त रूपमा गरेका हुन् । उक्त संङ्ग्रहमा ४८ वटा कविताहरू छन् । संङ्ग्रहको समीक्षा गर्दे साहित्यकार प्रयागराज भट्टराई ‘वाशिष्ठ’ ले संङ्ग्रहको शीर्षकले, साजसज्जाले कविताहरूको गाम्भीर्यतालाई प्रस्ट्याएको बताए । संङ्ग्रहभित्र शिक्षा, समाज सेवा, समाजका विभिन्न अङ्गहरूको वर्णन, विश्लेषण र राजनीतिका सकारात्मक र नकारात्मक पक्षप्रति व्यङ्ग्य गरिएका कविताहरू रहेको उनले बताए । उनले भने, ‘कृतिभित्र शिक्षा छ । राजनीतिको सकारात्मक पक्ष र नकारात्मक पक्षप्रति व्यङ्य छ । समाज सेवा र समाजका विभिन्न अङ्गहरूको पनि यसमा वर्णन, विश्लेषण रहेको छ ।’ कविताहरू शास्त्रीय छन्दमा रहेको बताउँदै भट्टराईले नेपाली साहित्यमा लोकप्रिय गजलको लयमा पनि कविता आधारित रहेको बताए । उनले भने, ‘संङ्ग्रहमा शास्त्रीय छन्दमा कविताहरू रहेका छन् । नेपाली साहित्यमा लोकप्रिय बनेको गजलका जुन लय छ, त्यसमा आधारित पनि छ ।’ कवितामार्फत् कविले असल बनेर देशको सेवा गर्न उत्प्रेरित गरेको उनको भनाई छ । ‘शिक्षा लिनका लागि जो लालाहित छन्, देश निर्माणका लागि अगाडि जुटेका छन्, समाजसेवामा जुटेका छन्, धर्मसंस्कृतिको सेवामा जुटेका छन्, यि सबैलाई लेखकले असल बनेर नेपाल देशको सेवा गर्न उत्प्रेरित गर्नुभएको छ ।’ साहित्यकार भट्टराईले भने । कविताहरूमा भावनाको निखार छ । भावनाको तिखार छ । भावनाको मश्रिल अनुभूति भएको बताउँदै भट्टराईले कविको कलमले, अनुभूतिले देशलाई, उँचो बनाउन मद्दत पुगेको बताए । त्यस्तै अर्का समीक्षक रमेश शुभेच्छुले फरक शैलीका कविताहरूले कविले क्षमता प्रदर्शन गरेको बताए । उनले भने, १४ वटा बाल कविताहरू छन् । ४ वटा प्रौढ कविताहरू छन् । २८ वटा गीति कविताहरू छन् । यि तिनवटै शैलीका कवितामा कविले क्षमता प्रदर्शन गर्नुभएको छ ।’ कवि प्राध्यापक भएकाले बालकविताहरूमा बालकालिकाहरूलाई नैतिक उपदेशको पक्षलाई बढी महत्त्व दिएको समीक्षक शुभेच्छुले बताए । घिमिरेका भोजपरे खिचडी (कवितासंङ्ग्रह) २०६७, मेरा जीवनका चरणहरू, भाग–१ (खण्डकाव्य) २०७०, फूल र म (कवितासंङ्ग्रह) २०७०, शालीकराम (शोककाव्य) २०७० प्रकाशित भएका छन् । उनका कृतिमा हिमाल मेरो देश (कवितासंङ्ग्रह) २०७६ पनि थपिएको छ । उक्त कविता संङ्ग्रहलाई उर्वर साहित्य समाजले प्रकाशनमा ल्याएको हो ।

१५ महिनामा ६० अर्ब रुपैयाँको सेयर थपिदै, कस्तो असर पर्ला बजारमा ?

काठमाडौं । सेयरमा लगानी गर्न बीमा समितिले खुकुलो नीति बनाएपछि बीमा कम्पनीहरुले वाणिज्य बैंकहरुको सेयर भटाभट किनिरहेका छन् । एक महिना अघिसम्म दैनिक कारोबार २०/२५ करोड हुने बजारमा हाल दैनिक ५०/५५ करोड हुन थालेको छ । करिब १ महिनामा नेप्से परिसूचक ११०० बाट ११८२ अंकमा चढेको छ । बैंकहरुले निक्षेपको व्याज घटाउन थालेका छन् । बैशाख १५ पछि कर्जाको व्याज पनि घट्ने अपेक्षा गरिएको छ । आर्थिक वर्षको अन्त्यमा सरकारी खर्च बढ्ने र बैकिङ बजारमा लगानी योग्यपुँजी पनि बृद्धि हुने अपेक्षा यो क्षेत्रमा गरिएको छ । गत एक वर्ष नेप्से परिसूचक ११०० देखि १४०० को बीचमा रह्यो । अधिकांश समय ११०० देखि १२०० बीचमा रह्यो । अब बजार घट्दैन, बढ्ने नै हो । सरकारले नयाँ बजेट ल्याउने समय भएको छ । लगत्तै राष्ट्र बैंकले नयाँ मौद्रिक नीति जारी गर्छ । केही न केही नयाँ काम हुन्छन् । सेयर बजार बढ्छ । आशावादी लगानीकर्ताको यहि छ मूल्याङकन । आपूर्तिको दवाव जारी गत वर्ष आर्थिक वृद्धि राम्रो भयो । बैंक तथा वित्तीय संस्थाको नाफा पनि बढेकै हो । राम्रा कम्पनीले लगानीकर्तालाई लोभ्याउने लाभांश पनि बाढेकै हुन् । तर समग्रमा सेयर बजारका लगानीकर्ताको लागि गत वर्ष निराशाजनक नै रह्यो । धितोपत्र बोर्डका अनुसार गत वर्ष २५ अर्ब ७० करोड रुपैयाँ बराबरको हकप्रद सेयर थपिएको थियो भने ३३ अर्ब ८ करोड बोनस सेयर थपिएको थियो । केही नयाँ साधारण सेयर पनि निष्काशन भए । सामान्यतया सेयरको आपूर्ति वृद्धिले मूल्य घटाउन दवाव दिन्छ । गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा यस्तै भयो । र, आगामी आर्थिक वर्ष २०७६/७७ मा पनि सेयर आपूर्ति उल्लेख्य रुपमा हुने देखिएको छ । आगामी १५ महिना अर्थात आर्थिक वर्ष २०७६÷७७ को अन्त्यसम्म ६० अर्ब रुपैयाँ भन्दा बढी धितोपत्रहरु (सेयर, बैंकहरुको ऋणपत्र तथा म्यूचल फण्डहरु) निष्काशन हुने देखिन्छ, सरकारी ऋणपत्र बाहेक । चालु आर्थिक वर्षको स्थिति आर्थिक वर्ष २०७५/७६ को पहिलो ९ महिनामा १६ अर्ब २७ करोड रुपैयाँ बराबरको साधारण सेयर थपिएको छ । यस अवधिमा २० वटा कम्पनीले धितोपत्र बोर्डबाट स्वीकृति लिई ६ अर्ब ३० करोडको साधारण सेयर निष्काशन गरेका छन् । अझै २ अर्ब २९ करोडको साधारण सेयर निष्काशनको प्रक्रियामा छन् । साधारण सेयर निष्काशनको लागि धितोपत्र बोर्डबाट स्वीकृतिको प्रतिक्षमा १७ कम्पनी मध्ये अधिकांश लघुवित्त र जलविद्युत कम्पनीहरु रहेका छन् । त्यस्तै, ३ अर्ब ११ करोड रुपैयाँको हकप्रद सेयर निष्काशन हुँदैछ । यसै वर्ष ५ अर्ब ४९ करोड ६८ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन भईसके । चालु आर्थिक वर्षमा १५ अर्ब ५८ करोड रुपैयाँको ऋणपत्र निष्काशन भईसकेका छन् । नेपाल इन्भेष्टमेन्ट बैंक र नेपाल बंगलादेश बैंकले अझै ४ अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्दैछन् । चालु आर्थिक वर्षमा ७ अर्ब ५० करोड रुपैयाँको म्यूचल फण्ड थपिएका छन् । त्यसमा ग्लोबल आईएमईले १ अर्ब २० करोड र नेपाल इन्भेष्टमेन्ट बैंकले ५० करोडको म्यूचल फण्ड धितोपत्र बोर्डबाट स्वीकृत हुन बाँकी छ । नेप्सेमा सूचिकृत २२१ वटा कम्पनी मध्ये यस वर्ष ७१ वटा कम्पनीले मात्र वार्षिक साधारणसभा गरेका छन् । अहिलेसम्म ५७ वटा कम्पनीले १७ अर्ब ३५ करोडको बोनस सेयर दिएका छन् । केही कम्पनीहरुले नगद लाभांश दिएका छन् भने केही कम्पनीले आफ्ना लगानीकर्तालाई रित्तो घर फर्काए । म्यूचल फण्डतर्फ पनि १ अर्ब २० करोड थपिएको छ । ७ अर्ब ७५ करोड रुपैयाँको म्यूचल फण्ड थपिने क्रममा रहेको छ । यसै आर्थिक वर्षमा यी फण्डहरु निष्काशन हुँदैछन् । नयाँ सेयर आपूर्ति अरु पनि हुँदैछन् । अझै आधाभन्दा बढी कम्पनीहरुको वार्षिक साधारणसभा हुन सकेको छैन । नेप्सेमा सूचिकृत कुनै पनि बीमा कम्पनीले यस वर्ष वार्षिक साधारणसभा गर्न सकेका छैनन् । अधिकांश बीमा कम्पनीहरुले बोनस सेयर दिने निश्चित छ । साथै, तोकिएको न्यूनतम चुक्ता पुँजी पुर्याउन उनीहरुले हकप्रद सेयर जारी गर्नुपर्ने बाध्यता । निर्जीवन बीमा कम्पनीहरुले २०७६ असार मसान्तसम्ममा १०० करोड चुक्ता पुँजी पुर्याउनु पर्ने बाध्यता छ । १५ वटा कम्पनीले करिव ६ अर्ब रुपैयाँ बराबरको हकप्रद तथा बोनस सेयर निष्काशन गर्दैछन् । पुराना ९ वटा जीवनबीमा कम्पनी मध्ये नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ वाहेक सबैले पुँजी वृद्धिको लागि हकप्रद सेयर निष्काशन गर्दैछन् । हकप्रद सेयर निष्काशन नगर्नेले पनि बोनस सेयर निष्काशन गर्दैछन् । पुराना ९ वटा जीवन बीमा कम्पनीबाट करिव ४ अर्ब ३५ करोड रुपैयाँ बराबरको बोनस र हकप्रद सेयर निष्काशन हुँदैछ । आगामी आर्थिक वर्ष अबको १५ महिनामा ९ वटा जीवन बीमा कम्पनीले साधारण सेयर निष्काशन गर्छन । प्रत्येक नयाँ जीवन बीमा कम्पनीले कम्तिमा ६० करोड रुपैयाँका दरले साधारण सेयर निष्काशन गर्नुपर्छ । यस आधारमा साढे पाँच अर्ब रुपैयाँ बराबरको सेयर थपिन्छ । पूर्वाधार विकास बैंकले ८ अर्बको साधारण सेयर निष्काशन गर्दैछ भने नेपाल पुर्नबीमा कम्पनीले १ अर्ब ६० करोडको साधारण सेयर निष्काशन गर्दैछन् । दुबै सेयर २०७६ सालभित्रै निश्काशन हुनेछन् । चालु आर्थिक वर्षमा अझै धेरै बैंक तथा वित्तीय संस्थाको साधारणसभा हुन बाँकी छ । एनसीसी, सिभिल, सेन्चुरी लगायतका वाणिज्य बैंकहरुले समेत साधारसभा गरेका छैनन् । २०७६ आसर मासन्तसम्ममा अझै धेरै बैंक तथा वित्तीय संस्थाले बोनस सेयर जारी गर्नेछन् । आक्रामक बजार विस्तार गरिरहेका बैंकहरुको क्यापिटल एडेक्वसी टाईट हुँदै गएकोले फेरि पनि नविल, इन्भेष्टमेन्ट, एनआईसी एशिया, ग्लोवल आईएमई, प्रभु बैंक लगायतले सेयरधनीलाई बोनस सेयर दिनेछन् । बजारमा सेयरको आपूतिलाई चाप पारिराख्नेछ । र, अबको १५ महिना भित्र कम्तिमा ६० अर्ब रुपैयाँ अंकित मूल्यको धितोपत्र बजारमा आउने छ । यसैबीचमा नेपाल टेलिकमको सेयर डाईल्युट गर्ने सरकारी निर्णय कार्यान्वयनमा आयो, साधारण सेयर निष्काशन गर्ने निर्णय गरिसकेका डिस होम, चन्द्रगिरी हिल्स लगायत १०० करोड भन्दा बढी पुँजी भएका कम्पनीहरु पुँजी बजारमा आएभने सेयरको आपूर्ति अझै बढ्नेछ ।

तारागाउँ रिजेन्सी होटलमा एडीबीको लगानी शंकाष्पद

काठमाडौं । तारा गाउँ रिजेन्सी होटलमा एसियाली विकास बैंक(एडीबी)ले गरेको लगानी संकास्पद देखिएको छ । प्रतिनिधी सभाको अन्तराष्ट्रिय सम्बन्ध समितिले गठन गरेको उप समितिले तारा गाउँ रिजेन्सी होटलमा एडीबीले गरेको लगानी संकास्पद देखिएकाले थप छानविन गर्न आवश्यक रहेको प्रतिवेदन तयार पारेको हो । पूर्व मन्त्री तथा सांसद अग्ति प्रसाद सापकोटाको नेतृत्वमा गठित उप समितिले एसियाली विकास बैंकले तारा गाउँ रिजेन्सी होटलमा लगानी गरेका प्रमाणहरु फेला नपरेको निष्कर्ष निकालेको हो । आइतबार समितिमा प्रतिवेदन बुझाउँदै उप समितिका संयोजक सापकोटाले भने–‘एडिबीले लगानी गरेको भनियो, तर कुन माध्यमबाट त्यस्तो पैसा नेपाल भित्रियो भन्ने केहि पनि देखिएन, त्यसकारण एडिबीको लगानी संकास्पद देखिएकाले थप छानविन गर्नुपर्ने आवश्यकता औँल्याएका हौं ।’ एसियाली विकास बैंकले प्रति कित्ता एक सय रुपैंयाँ दरको सेयरलाई प्रति कित्ता ६१ रुपैंयाँमा बेचेको थियो । तारागाउँ रिजेन्सी होटलमा सन १९९३ सालमा एडिबीले ७ करोड ५० लाख रुपैंयाँ लगानी गरेको थियो एडीबीले तारा गाउँ रिजेन्सीमा लगानीका लागि वित्तिय च्यानल मार्फत पैसा ल्याएको नदेखिएको, अर्थमन्त्रालयबाट स्वीकृति समेत नलिएको उप समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । उप समिति सदस्यहरुले नेपालमा सुशासनको प्रवचन दिने एसियाली विकास बैंकल आफ्नै लगानीको श्रोत र पैसा ल्याएको माध्यम देखाउन नसकेको आरोप पनि लगाए ।

हिमालय उर्जाको सेयर तेश्रो दिनमै झण्डै ३ गुणा आवेदन

काठमाडौँ । हिमालय उर्जा विकास कम्पनी लिमिटेडले जारी गरेको १३ लाख ६६ हजार २०० कित्ता साधारण सेयर सर्बसाधारणको लागि निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा तेश्रो दिन आइतबार साँझ ५ बजेसम्ममा ५१ हजार ३१६ जना आवेदकहरुले ३७ लाख ३५ हजार २९० कित्ता सेयरको लागि ३७ करोड ३५ लाख २९ हजार रकम आवेदन गरेका छन । बजारमा आएका जलविद्युत् कम्पनीको शेयर मध्ये प्रतिमेगावाट लागत कम भएका कारण लगानीकर्ताहरुको उत्साहजनक सहभागीताले सेयर निष्काशन भएको तेश्रो दिनमै माग भए भन्दा ३ गुण बढी शेयर आवेदन भएको कम्पनीका प्रबन्धक प्रकाश दुलालले बताए । १४ लाख ८५ हजार कित्ता साधारण सेयर मध्ये कर्मचारीहरुलाई छुट्याइएको ३ % अर्थात ४४,५५० र सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको ५% अर्थात ७४,२५० कित्ताबाहेक बाँकी रहेको १३,६६,२०० कित्ता साधारण सेयर यहि चैत्र २० गते बाट सर्बसाधारणको लागि निष्काशन तथा बिक्री खुल्ला गरिएको छ । कम्पनीले रामेछाप र दोलखा जिल्लाको सिमा भएर बहने खिम्ति खोलामा कम्पनीले १२ मेवाको उपल्लो खिम्ति र ७ मेवाको अपर खिम्ति–दोश्रो गरी कुल १९ मेवाका आयोजनाहरु निर्माण गरिरहेको छ । विवरण पत्रमा उल्लेख भए अनुसार १९ मेवा निर्माण गर्नको लागि लागत करिव ३ अर्व १५ करोड रहेको छ । यसरी हेर्दा प्रति मेवा लागत करिव १६ करोड ५६ लाख मात्र रहेको छ भने दुवै आयोजना यहि २०७६ आषाढ मसान्तमा सम्पन्न हुने जनाइएको छ ।

पुँजीगत खर्च बढाउन खानेपानी मन्त्री मगरको निर्देशन

काठमाडौं । खानेपानी मन्त्री बिना मगरले दीगो विकासका लक्ष्यहरु हासिल गर्ने उद्देश्यले आगामी योजनाहरु तयार गरी अघि बढ्न निर्देशन दिएकी छन् । खानेपानी मन्त्रालयको दोस्रो चौमासिक समीक्षा बैठकलाई सम्बोधन गर्दै मन्त्री मगरले सन् २०३० सम्ममा लक्ष्य हासिल गर्नुपर्ने भएकाले आगामी योजना र बजेट तर्जुमा गर्न विभागीय प्रमुखहरुलाई निर्देशन दिइन् । उनले खानेपानी र सरसफाई जस्तो कुरा जनताको मौलिक अधिकारको विषयसँग जोडिएकाले दीगो विकासका लक्ष्य हासिल गर्न धेरै मेहनत गर्नुपर्ने औंल्याइन् । मन्त्री मगरले भनिन्, ‘मन्त्रालयको यो दोस्रो चौमासिक समीक्षा अवधि सन्तोषजनक नै छ तर यतिले मात्रै पुग्दैन । हामीले लक्ष्य पुरा गर्न धेरै संघर्ष गर्नुपर्ने छ । सबै जनतालाई सुरक्षित खानेपानीको सर्व सुलभ पहुँच पुर्याउन स्थानीय, प्रदेश र केन्द्र सरकारबीच समन्वय गरी अगाडि बढ्नुको विकल्प छैन ।’ बजेटमा निर्धारित योजना तथा कार्यक्रमहरु कार्यान्वयन गर्ने गरी पूँजीगत खर्च बढाउन समेत मन्त्री मगरले मन्त्रालय मातहत रहेका निकायहरुलाई निर्देशन दिइन् । मन्त्रालयको अष्ठमासिक अवधिसम्मको भौतिक प्रगति करिब ६० प्रतिशत र वित्तीय प्रगति २९ प्रतिशत रहेको जानकारी गराईएको थियो । बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य डा. दिलबहादुर गुरुङले पुँजीगत खर्च बढाउने गरी कामहरु अघि बढाउन आग्रह गरिन् । सरकारको प्रमुख ध्यान दीगो विकासका लक्ष्यहरु पुरा गर्ने तर्फ रहेको बताउँदै आयोगका सदस्य डा. गुरुङले लक्ष्य हासिल गर्ने गरी योजनाहरु तर्जुमा गरी आयोजना बैंकमा समावेश गर्न मन्त्रालयका विभागीय प्रमुखहरुलाई निर्देशन दिए । मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले आगामी समीक्षा बैठकसम्ममा यस मन्त्रालयको भौतिक र वित्तीय प्रगति रफ्तारमा अघि बढाउन मातहतका कर्मचारीहरुलाई निर्देशन दिए । सचिव शर्माले सिंचाईमा जस्तै जनताको मौलिक अधिकारको विषयसँग जोडिएको पम्पिङ प्रणालीमा आधारित खानेपानी आयोजनाहरुमा लाग्ने विद्युत शुल्कमा सहुलियत दिनुपर्ने बताए । खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सुनिलकुमार दासले विभागको अष्ठमासिक अवधिसम्म भौतिक प्रगति ७४ र वित्तीय प्रगति २९ प्रतिशत रहेको जानकारी दिए । महानिर्देशक दासले ३ वर्षभित्र आधारभूतस्तरमा सुरक्षित खानेपानीको पहुँच पुर्याउन पर्याप्त बजेटको आवश्यकता रहेको औंल्याए । उनले खानेपानीसँगै ढल प्रशोधन र सरसफाईका कार्यक्रमहरुमा समेत उत्तिकै ध्यान दिनुपर्ने जरुरी रहेको बताए । खानेपानी मन्त्रालय अन्तर्गत ३ सय ९७ वटा र प्रदेश सरकार अन्तर्गत ४ हजार ५७ खानेपानीका आयोजनाहरु सञ्चालनको क्रममा छन् ।

अर्थमन्त्रालयमा चौमासिक समीक्षा, यथाशीघ्र काम सम्पन्न गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । आर्थिक बर्ष २०७५/७६ को दोस्रो चौमासिक प्रगति समीक्षा एवं मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठक आइतबार अर्थमन्त्री डा. युवराज खतिवडाको अध्यक्षतामा बसेको छ । बैठकमा अर्थ मन्त्रालय र मातहतका निकायहरुबाट सम्पादन हुने कार्यहरुलाई यथाशीघ्र सम्पन्न गर्न अर्थमन्त्री डा. खतिवडाले निर्देशन दिए । बजेट कार्यान्वयनलाई उपलब्धीमूलक बनाउन तर्जुमा गर्नु पर्ने र संशोधन गर्नुपर्ने बाँकी कानूनहरुको शीघ्र तर्जुमा गर्ने, राजस्व परिचालनमा बिलिङ्ग कार्यान्वयन र बजार अनुगमनलाई थप तिव्रता दिने, नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन कार्ययोजना बमोजिमका कार्यहरुको समयमा कार्यान्वयन गर्न जिम्मेवार भई कार्यसम्पादन गर्न समेत निर्देशन दिए । अन्तर प्रदेश परिषद एवम् अन्तर सरकारी वित्त परिषदको निर्णय कार्यान्वयन गर्न र आगामी आर्थिक बर्षको बजेट तर्जुमामा वित्तीय संघीयता प्रभावकारी कार्यान्वयन गर्न समेत निर्देशन उनले निर्देशन दिए । उक्त बैठकमा राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष कँडेलले आर्थिक बर्षको बाँकी अवधिमा लक्ष्य अनुरुप कार्य सम्पादन गर्न जोड दिदै अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगको वीचमा आगामी बजेट तर्जुमामा प्रभावकारी सहकार्य गर्नुपर्ने बताए । अर्थ सचिव डा. राजन खनाल, सचिव (राजस्व) लालशंकर घिमिरे, गभर्नर डा निरञ्जीवी नेपाल र महालेखा नियन्त्रक सूर्यप्रसाद गौतम समेतको उपस्थिति रहेको सो कार्यक्रममा महाशाखा प्रमुख, विभागीय प्रमुख, नियामक निकायमका प्रमुख र आयोजना प्रमुखहरुले आ–आफ्नो निकायको प्रगति अवस्था र कार्यान्वयनको क्रममा देखा परेका समस्याको बारेमा संक्षिप्त प्रस्तुति गर्नुका साथै चालु आव २०७५/७६ को नीति तथा कार्यक्रम र बजेट बक्तब्यमा उल्लेखित कार्यक्रमहरुको बाँकी अवधिमा कार्यसम्पादन गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए । बैठकमा अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीले गत एक बर्षको अवधिमा अर्थ मन्त्रालय र अन्तर्गत भएका उपलब्धीका बारेमा प्रस्तुत गरे । अर्थ मन्त्रालयले विगत एक बर्षमा कानून निर्माण, वित्तीय संघीयता कार्यान्वयन, वित्तीय क्षेत्र ब्यवस्थापन र राजस्व प्रशासनमा सुधार लगायतमा ठोस प्रगति हासिल गरेको जानकारी दिए । बैठकमा समग्र बजेट खर्च स्थिति, अर्थ मन्त्रालयको खर्च स्थिति, बार्षिक लक्ष्य र प्रगति विवरण, आयोजना र कार्यक्रम कार्यान्वयनमा देखिएको केही तथ्य र प्रगति बारे संक्षिप्त प्रस्तुति भएको थियो । अर्थ मन्त्रालय र मातहतका निकायले चालु आर्थिक बर्ष २०७५/७६ को नीति तथा कार्यक्रम र बजेट बक्तब्यमा उल्लेखित कार्यक्रमहरुको कार्ययोजना बमोजिमको प्रथम आठ महिनामा प्रगति अवस्थाको विवरण समेत प्रस्तुत भएको थियो ।

सिद्धार्थ बैंकको दमौली शाखा औपचारिक स्थानान्तरण उद्घाटन

काठमाडौं । सिद्धार्थ बैंकले दमौली शाखाको औपचारिक स्थानान्तरण उद्घाटन भएको छ । बैंकको दमौली शाखाको उद्घाटन व्यास नगरपालिकाका मेयर बैकुण्ठनाथ न्यौपाने र उद्योग वाणिज्य महासंघ नेपालका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठबाट संयुक्त रूपमा भएका हुन्र । बैंकले सो शाखा दमौली वडा नं २ सफा सडकबाट हालै दमौली व्यास नगरपालिका वडा नं ३ मा स्थानान्तरण गरेको हो । ग्राहकवर्ग र सरोकार वालाहरुको मन जित्न र थप सुविधा पुर्याउन बैंकले विभिन्न बचत खाता सञ्चालनमा ल्याउनुका साथसाथै विभिन्न सहुलियतपूर्ण कर्जाप्रदान गर्दै आइरहेको छ । यसैगरी बैंकिङ्ग प्रणालीलाई थप प्रविधि मैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाताखोल्न सकिने सुविधा ल्याएको छ जसले गर्दा ग्राहकहरुलाई थप सुविधा पुग्ने बैंकले जनाएको छ । बैंकले देशभर १४९ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १सय शाखारहित बैंकिङ्ग सेवा, १६० एटिएम र १२ सयभन्दा बढी पिओएस् मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

नेशनल माइक्रोफाइनान्स वित्तिय संस्थाद्धारा हावाहुरी प्रभावितलाई राहत प्रदान

काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तिय संस्था शाखाकार्यालय मोतिसरले विनाशकारी हावाहुरीबाट प्रभावित संस्थामा आवद्ध सदस्यहरुलाई रहत प्रदान गरेको छ । कलैया उमनपा वडा नं १८ मोतिसर स्थित नेशनल माइक्रोफाइनान्स वित्तिय संस्था शाखाकार्यालय मोतिसरमा आवद्ध सदस्यहरुलाई राहतवितरण गरेका हुन् । संस्थाको प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादव र सभापतिमा वडा नं १८ का वडाध्यक्ष अम्बिकाप्रसाद यादव,अतिथीहरुमा समाजसेवी, विभिन्न पार्टी प्रतिनिधी, बुद्धिजीवी नेशनल माइक्रोफाइनान्सको शाखाकार्यालय सिम्रौनगढको शाखा प्रमुख जयप्रकाश मंडल, शाखाकार्यालय पोखरीयाको शाखा प्रमुख अजयशंकर साह, पत्रकारहरु, सुरक्षाकर्मीहरु र ग्राहक सदस्य तथा अभिभावक गरि करीब ४०० जनाको उपस्थिती रहेको थियो । राहतवितरण कार्यक्रमको प्रमुख अतिथि रामबहादुर यादवले संस्थाले आफ्नो समाजिक उत्तरदायित्व अन्तर्गत संस्थामा आवद्ध भएका ग्राहक सदस्यहरुलाई हवाहुरीबाट भएको पिडामा मलम लगाउने काम गरेको साथै संस्थाले आफ्नाग्राहक सदस्यहरुलाई कर्जा बचत मात्रनभई समाजिक उत्तरदायित्व अन्तर्गत ग्राहकको हकहितमा पहिचान बनाएको जानकारी दिए । राहतवितरण कार्यक्रमको सभापति वडाध्यक्ष अम्बिकाप्रसाद यादवले संस्थाले पिडामा भएका सदस्यहरुलाई यस्तो सहयोगले संस्थाप्रति सर्वसधारणको भरोसा तथाविश्वाश बढने भनेर मन्तव्य राखे । राहत वितरण कार्यक्रमको सुरुवात प्रमुख अतिथि यादवले शुरु गरेका हुन् । कार्यक्रममा कुल १८० जना ग्राहक सदस्यहरुलाई जनही चामल १ बोरा, चिउरा २ किलो, दाल १ किलो, चिनी १ किलो, नुन १ किलो, तेल १ लिटर, मशाला १प्याकेट, झुल १ थान र तन्ना १ थान समाग्रीहरु वितरण गरिएको थियो ।