विकासन्युज

काठमाडौंका स्कूलले ४ हजार ३७४ रुपैंया मात्र भर्ना शुल्क लिन पाउने, निजी स्कुलहरु लाखौं असुल्दै

काठमाडौं । संस्थागत विद्यालयले एकजना विद्यार्थीबाट भर्ना शुल्क अधिकतम ४ हजार ३७४ रुपैंया मात्र लिन पाउने भएका छन् । काठमाडौं महानगरपालिका शिक्षा विभागले निर्धारण गरेको शुल्कको संरचना अनुसार भर्नाको नाममा ‘क’ वर्गका विद्यालयहरुले कक्षा ९ र १० कक्षाका विद्यार्थीहरुलाई उक्त परिमाणमा शुल्क लिन पाउन भएका हुन् । ‘ख’, ‘ग’ र ‘घ’ वर्गका विद्यालय तथा सो तहभन्दा कम तहका विद्यार्थीहरुलाई तह र विद्यालयको स्तर अनुसार शुल्क निर्धारण गरिदिएको छ । निर्धारित शुल्क अनुसार ‘घ’ वर्गका विद्यालयले आधारभूत तह अन्तर्गत कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई भने १६३० रुपैंया सम्म मात्र भर्ना शुल्क लिन पाउँछन् । त्यस्तै, आधारभूत तह अन्तर्गत ६ देखि ८ कक्षाका विद्यार्थीलाई १९०१ रुपैंया र माध्यामिक तहअन्तर्गत कक्षा ९ र १० काम विद्यार्थीलाई २५३७ रुपैंया मात्र त्यस्तो शुल्क लिन पाउँछन् । त्यस्तै, ‘ग’ वर्गका विद्यालयहरुले कक्षा १ देखि ५ सम्मको लागि २०२४ रुपैंया, कक्षा ६ देखि ८ सम्मका लागि २३५१ रुपैंया र कक्षा ९ र १० का लागि ३१४९ रुपैंया लिन पाउनेगरी शुल्क निर्धारण गरिएको छ । ‘ख’ वर्गका विद्यालयहरुको शुल्क भने कक्षा १ देखि ५ सम्मको लागि २४१८ रुपैंया, कक्षा ६ देखि ८ सम्मका लागि २८०१ रुपैंया र कक्षा ९ र १० का लागि ३७६२ रुपैंया तोकिएको छ । सबैभन्दा उत्कृष्ठ शिक्षण गुणस्तर भएको मानिने ‘क’ वर्गका विद्यालयका विद्यार्थीका लागि भने भर्ना शुल्कबापत कक्षा १ देखि ५, कक्षा ६ देखि ८ र कक्षा ९ र १० का लागि क्रमशः २८१२, ३२५१ र ४३७४ रुपैंया अधिकतम शुल्क लिन पाउनेगरी शुल्क निर्धारण गरेको विभागले जनाएको छ । २०७४ सालको तुलनामा २०७५ सालमा ३८ प्रतिसत शुल्क बढाईएको पाईएको छ। विभागले कक्षाकोठा, डेक्स बेञ्च, शौचालय, खानेपानी, पुस्तकालय, खेलमैदान, कक्षा शिक्षक अनुपात, प्राथमिक उपचारसम्बन्धी व्यवस्था, छात्रवृत्ति, प्रयोगशाला कम्युटर ल्याव, सभाहल, सेवा कक्ष, अतिरिक्त क्रियाकलाप, शिक्षकहरुको तलब, आक्दानी खर्चको लेखाप्रणाली र पारदर्शिता जस्ता ५४ ओटा मापदण्ड निर्धारण गरी सोही मापदण्डको भारित औसत अंकका आधारमा विद्यालय वर्गीकरण गरिने प्रावधान राखेको छ। विद्यालयले तोकेको सेवा सुविधा उपलब्ध रहेको वा नरहेको उल्लेख गरेको आधारमा शुल्क अनुगमन तथा विद्यालय वर्गीकरण समितिले छानविन वा अनुगमन गरी अंक निर्धारणका लागि सिफारिस गर्ने व्यवस्था गरिएको छ । भर्ना शुल्क १ महिनाको मासिक शुल्क विभागले विद्यालयले लिन पाउने भर्ना शुल्क, मासिक शुल्क र वार्षिक शुल्क तोकेको भएता पनि पुस्तकालय शुल्क, प्रयोगशाला शुल्क, त्रैमासिक परीक्षा शुल्क लगायतका नाममा विद्यालयहरुले अभिभावकमाथि लाखौं ठगी गर्दै आएका छन्। विद्यालयको मासिक शुल्क भने बढीमा भर्ना शुल्क बराबर नै लिन पाउने, परिक्षा शुल्क मासिक शुल्कको ५० प्रतिसत तोकिएको विभागले जनाएको छ । यद्यपि पाठ्यपुस्तक, विद्यालय पोसाक लगायतका विषयमा विभागले केही कडाई गर्दै मातहतका विद्यालयहरुलाई सर्कुलर गरे पनि त्यसको परिपालना भएको पाइएको छैन । विद्यालयको अनुगमन र कारबाहीको अवस्थाको बारेमा भने काठमाडौं विभागले कुनै जानकारी दिएन ।

चैत २७ गतेदेखि ललित अन्तर्राष्ट्रिय ब्यापार मेला हुने, ‘लगानी भित्र्याउन केन्द्रित’

काठमाडौं । ललितपुर उद्योग वाणिज्य संघको आयोजनामा चैत्र २७ गते देखि बैशाख १ गतसम्म ललित अन्तर्राष्ट्रिय व्यापार मेला हुने भएको छ । मेलाको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने छन् । ललितपुरमा उत्पादित सामग्रीको अन्तर्राष्ट्रिय स्तरमा बजार विस्तार गर्न र विभिन्न देशमा उत्पादित सामग्रीको बजारको रुपमा ललितपुरलाई विकसित गर्न मेला आयोजना गरेको संघले जानकारी दिएको छ । संघका अध्यक्ष कृष्णलाल महर्जनले राजधानीसँगै जोडिएको जिल्ला भएपनि ललितपुरको विकासमा राज्यको ध्यान अपेक्षाकृत रुपले परेको छैन । ललितपुरको आफ्नै सामथ्र्य र सम्भावना छन् । तिनै सम्भावनालाई मूर्तरुप दिने सम्बन्धमा ध्यानाकर्षण गर्न पनि यस मेला आयोजना गरेको बताए । ललितपुरमा लगानी भित्र्याउने र लगानीका सम्भावना पहिल्याउन दिशामा मेला केन्द्रित हुने महर्जनले बताए । मेलामा करिब १ सय वटा स्टलहरु रहने छ । भारत, पाकिस्तान, बंगलादेश, चीन लगायत विभिन्न देशको ३० वटा स्टल रहने छ । नेपालमा उत्पादन हुने हस्तकलाका विविध सामग्रीको स्टल रहने छ । विभिन्न सांस्कृतिक झाँक्रीसहित संस्कृतिको आनन्द र मनोरम वातावरणमा क्रेता र बिक्रेता प्रत्यक्ष भेटघाट हुने अवसर पनि मेलाले सिर्जना गर्नेछ । मेलामा दर्शकहरुले अत्याधिक रुचाएको बुकिबुकीको विशेष प्रस्तुती रहने छ । मेलाले सरकारले सन् २०२० सम्ममा २० लाख पर्यटन भित्र्याउने लक्ष्यलाई पनि टेवा पुर्याउने संघले जनाएको छ । मेलामा करिब ५ करोड रुपैयाको कारोबार हुने अनुमान आयोजकले गरेका छ । करिब ५ लाखले मेलाको अवलोकन गर्ने अनुमान गरिएको छ ।

कोशी करिडोर प्रसारण लाइनमा धरान उपमहानगरको अवरोध हट्यो, निर्माण सुचारु

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाले कोशी करिडोर २२० केभी प्रसारण लाइन आयोजना निर्माणमा गर्दै आएको अवरोध हटेको छ । उपमहानगरपालिकाले गत मंसिरबाट गर्दै आएको अवरोध हटेपछि बिहीबारबाट विष्णुपादुका क्षेत्रमा प्रसारण लाइन निर्माणको काम सुचारु भएको छ । आयोजनाको प्रस्तावित रुटबाटै प्रसारण लाइन निर्माण गर्न उपमहानगरपालिका सहमत भएपछि काम सुरु गरिएको आयोजना प्रमुख राजन ढकालले जानकारी दिए । ‘१७ वटा टावर निर्माणमा अवरोध थियो, पटकपटक भएको छलफलबाट वडाध्यक्ष लगायत प्रस्तावित रुटबाटै प्रसारण लाइन लैजान दिन तयार भएपछि निर्माण शुरु गरिएको छ, प्रभावलाई न्यूनिकरण गर्न आयोजनाले स्थानीय रुपमा गर्न सक्ने सामुदायिक विकासका कार्यक्रमहरु संचालन गरिने छ’,उनले भने । समस्या समाधानका लागि १ नम्बर प्रदेशका मुख्य मन्त्री शेरधन राईले पहल गरेका थिए । उनले उपमहानगरपालिका प्रमुख, वडाध्यक्ष, त्यस क्षेत्रका संघ तथा प्रदेशका सांसद लगायतसँग पटकपटक छलफल गरेका थिए । उनले प्रसारण लाइन रहने क्षेत्रको स्थलगत निरीक्षणसमेत गरेका थिए । धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले गत मंसिर २८ गते प्रस्तावित रुटबाट प्रसारण लाइनको निर्माण गरिएमा उपमहानगरपालिका–२० को विष्णुपादुका क्षेत्रमा स्थापित, निर्माणाधीन र पहिचान भएका पर्यटकीय स्थलहरुलाई प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा नकारात्मक असर पर्ने भन्दै त्यसलाई करिब २ सय मिटर पश्चिमबाट लैजान नेपाल विद्युत प्राधिकरणलाई लिखित रुपमै आग्रह गरेकी थिइन् । त्यसपछि आयोजनाको निर्माण रोकिएको थियो । प्राधिकरणले उपमहानगरपालिकाले भनेजस्तो कुनै प्रसारण लाइनल असर कुनै असर नपर्ने, निर्माण ढिलाइ भएमा प्रसारण लाईनको निर्माणमा ढिलाई भएमा हाल निर्माणाधीन अवस्थामा रहेका जलविद्युत आयोजनाहरु वाट उत्पादन हुने अनुमानित ५५० मेगावाट विद्युत खेर जाने अवस्था आउने, यसबाट राष्ट्रलाई क्षति पुग्ने, प्रवद्र्वकहरुलाई क्षतिपुर्ति लगायतको अवस्था रहेको भन्दै रुट परिवर्तन गर्न अस्विकार गर्दै आएको थियो । उपमहानगरपालिकाले उठाएका विषयलाई प्रसारण लाइनले कुनै असर नगर्ने, असर पर्ने केही क्षेत्रहरुलाई लाईनको चेक सर्भे गर्ने क्रममा संबोधन गरिसकिएको र सम्पूर्ण प्रकृया पूरा गरी निर्माण भइरहेको आयोजनाको रुट सार्न नसकिने अडान प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले राख्दै आएका थिए । गत पुसमा १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा धरानमा भएको सरोकारवालाको भेलाले समस्या पहिचान गरी र समाधानका उपाय खोज्न कार्यदल गठन गरिएको थियो । सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीको संयोजकत्वमा गठित कार्यदलमा कार्यदलमा वडाध्यक्ष, आयोजना प्रमुख, उपमहानगरपालिका इन्जिनियर, सरोकार समिति,ठेकेदार तथा परामर्शदाता कम्पनी, स्थानीय राजनीतिक दलबाट एक÷एक जना प्रतिनिधि थिए । कार्यदलले रुट परिवर्तन गर्न नसकिने प्रतिवेदन दिएको थियो । तर, यसमा राजनीतिक दल र सरोकार समितिका प्रतिनिधिले हस्ताक्षर गरेका थिएनन् । प्राधिकरणले अहिले प्रसारण लाइनको रुट भेडेटार–छोटी, मोरङ–सर्दू जलाधार क्षेत्र–तमाखाम–सालबोटे–चिण्डे डाँडा–भञ्ज्याङ–गोर्खा मेमोरियल पार्क–जलकन्या सामुदायिक वन हुँदै लैजाने प्रस्ताव गरिएको छ । अब सोही रुट हुँदै प्रसारण लाइनको निर्माण हुनेछ । नेपाल सरकार, प्राधिकरण र भारतीय एक्जिम बैंकको सहुलियतपूर्ण ऋणमा एक नम्बर प्रदेशमा भोजपुर, संखुवासभा, तेह्रथुम र ताप्लेजुङमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्न कोसी करिडोरको निर्माण गर्न लागिएको हो । प्राधिकरणले निजी क्षेत्रका २८ आयोजनाको ५१६ मेगावाट विद्युत यही प्रसारण लाइनमा जोड्ने गरी विद्युत खरिद सम्झौता (पीपीए) गरिसकेको छ । ती आयोजना निर्माणको विभिन्न चरणमा छन् । प्राधिकरणले प्रसारण लाइन निर्माण गर्न नसकेमा ती आयोजनाबाट उत्पादित विद्युत खेर जाने अवस्था छ । करिडोरको पहिलो प्याकेजमा इनरुवा–वसन्तपुर–वानेश्वर–तुम्लिङटार १०५ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण जुन २०१९मा सक्ने लक्ष्यका साथ काम भइरहेको छ । ३२० वटा टावरमध्ये २१० वटाको जग हालिएको र ९० वटा खडा गरिसकिएको आयोजना प्रमुख ढकालले जानकारी दिए । अब केही दिनमै टार तान्न पनि सुरु हुने उनले बताए । यसको अनुमानित लागत ३ करोड ७५ लाख अमेरिकी डलर छ । दोस्रो प्याकेजको इनरुवा, वसन्तपुर, वानेश्वर र तुम्लिङटारमा २२० केभीको सब स्टेसन निर्माण फेबु्रअरी २०२०मा सक्ने लक्ष्यका साथ काम भइरहेको छ । यो प्याकेजको अनुमानित लागत २ करोड ५३ लाख डलर छ । तेस्रो प्याकेजमा वसन्तपुर–ढुंगेसाँघु (ताप्लेजुङ) ३३ किलोमिटर प्रसारण लाइन निर्माणका लागि ठेक्का सम्झौता भई काम सुरु भइसकेको छ । २ करोड २० लाख डलर अनुमानित लागत रहेको आयोजनाको काम डिसेम्बर २०२० मा सक्ने लक्ष्य राखिएको छ ।

रिद्धिसिद्धि सिमेन्ट बजारमा, ल्याब टेस्ट र गुणस्तर मापन रोबोटबाट !

काठमाडौं । शंकर ग्रुप तथा अम्बे ग्रुप संयुक्त सहकार्यमा हेटौँडामा उत्पादित रिद्धिसिद्धि सिमेन्ट आइतबारदेखि बजारमा आएको छ । उद्योग व्यवस्थापनले राजधानीमा पत्रकार सम्मेलन गरी सिमेन्ट बजारमा ल्याइएको जानकारी गराएको हो । सो सिमेन्ट उत्पादनमा रोबोटले ल्याब टेस्ट र गुणस्तरको मापन गर्दछ । लेजर सिल प्याकेजिङ तथा रोबो ल्याव सिस्टमसहित उत्पादित ओपीसी सिमेन्ट सार्वजनिक गरिएको हो । शंकर ग्रुप अध्यक्ष शंकरलाल अग्रवाल तथा अम्बे ग्रुपका अध्यक्ष शोभाकरहरी न्यौपानेले उक्त सिमेन्ट सार्वजनिक गरेका हुन् । अन्य सिमेन्टको तुलनामा रिद्धिसिद्धि सिमेन्ट उत्कृष्ट र फरक भएको सिमेन्टका निर्देशक आनन्द नेपालले जानकारी दिए । अन्य सिमेन्टको जस्तै बजार सुहाँउदो मूल्य कायम गरिएको उनले बताए । हेटौँडामा प्लान्ट, दैनिक ३ सय टन उत्पादन हेटौँडा उपमहानगरपालिकाको रातामाटेमा ४० बिघा क्षेत्रफलमा कम्पनीले प्लान्ट स्थापना गरेको छ । निबुवाटार र राक्सीराङका खानीबाट चुनढुङ्गा ल्याउने जानकारी दिएको छ । कम्पनीले दैनिक ३ सय टन सिमेन्ट उत्पादन गर्ने छ । अम्बे ग्रुपका अध्यक्ष न्यौपानेले १० अर्ब स्वदेशी लगानीमा उक्त कम्पनी स्थापना गरिएको बताए ।

उचालिँदै बजार परिसूचक, शेयर बजारले गति लिन लागेकाे हो ?

काठमाडौं । मार्च २४ तारिख शेयर बजार परिसूचक नेप्से ११३४ विन्दुमा कायम थियो । त्यसपछिको १० दिनको कारोबारमा नेप्से परिसूचकले झिनो गिरावटको अवस्थाबाहेक पछाडि फर्केर हेर्नु परेको छैन । यो दश कारोबार दिनमा नेप्से परिसूचकले करिब ४८ अंकको वृद्धि हासिल गर्न सफल भएको छ । उक्त वृद्धिमा म‌ंगलबारकाे १४ अंक र आजकाे १७ अंककाे वृद्धि महत्वपूर्ण रहे पनि अन्य दिनहरुमा समेत आशलाग्दाे रुपमा बजार बढ्दै गएकाे छ । याे अवधिमा बजार ४८ अंकले बढेको मात्रै छैन, कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ । आइतबार पनि कुल कारोबार ५४ करोड नाघ्यो, गत हप्ता बिहीबार ४२ करोड, बुधबार ५४ करोड, मंगलबार ५० करोड कारोबार भएको थियो । अघिल्लो साता मात्रै कुल कारोबार मात्रै २ अर्ब ८ कराेड पुगेको थियो । शेयर बजारमा परिसूचकलाई मात्रै प्रमुख मानिँदैन, कारोबारको आकार, माग र आपुर्तिको पक्षलाई अर्को प्रमुख सूचकको रुपमा लिइन्छ भलै सूचकको वृद्धि र गिरावटमा धेरैको ध्यान केन्द्रित किन नहोस् । त्यसो त परिसूचकको गिरावटसँग पोर्टफोलियोको आकारको प्रत्यक्ष सरोकार हुने भएकोले इन्डेक्स बढ्दा खुसी र घट्दा निराश हुनेको संख्या धेरै हुन्छ, तर एउटा विवेकशील लगानीकर्ता वा स्पेकुलेटरले कारोबारलाई पनि महत्वपूर्ण सूचकको रुपमा लिन्छ । बिक्रीको चापले सामान्यतया बजारलाई तलतिर झार्छ भने खरिदमा हुने चापले यसलाई माथितिर तान्छ । यसरी बजार बढ्दै गएको छ र कारोबार पनि बढ्दै गएको छ भने अझै बजार चलायमान छ वा बजारले त्यो गतिलाई अझै पछ्याउँछ भन्ने अर्थ लाग्छ । त्यसको ठीक उल्टो घट्दो बजारमा कारोबार कम छ, यसले थप गिरावटको संकेत गर्छ । अहिले बजारको अवस्थाले शेयर बजारले सुधारात्मक गति समातेको संकेत गरेको छ । किन बढ्यो शेयर बजार ? सरकारले शेयर बजारमा गरेको सुधारको प्रतिवद्धता र नियामकहरुले त्यसका लागि गरेको प्रयास, लगानी सम्मेलनसँगै राष्ट्रिय तथा अन्तराष्ट्रिय लगानीकर्ताको संरक्षणका लागि सरकारले गरेको प्रतिवद्धता, पुँजी बजारमा थपिँदै गरेको नयाँनयाँ आयामहरु जस्तै मार्जिन लेन्डिङ, ब्रोकरको शाखा विस्तारका लागि भएका प्रयास, शेयरको क्रसबोर्डर लिस्टिङ र ट्रेडिङका प्रयासहरु तथा अन्य आधारभूत प्रयासहरुको कारणले लगानीकर्ताहरुमा बजारको दीगोपनप्रति केही हदसम्म विश्वास जाग्दै गएको विश्लेषण बजारमा गर्न थालिएको छ । अर्को महत्वपूर्ण पक्ष के हो भने, बजारको पछिल्लो गिरावटमा तुलनात्मक रुपमा कम शेयरमूल्य भएका र धेरै शेयर हिस्सा भएका बैंक तथा वित्तीय संस्थाहरुका शेयरको उछालको हिस्सा महत्वपूर्ण छ । आइतबारको शेयर बजारमा पनि मुख्यतः वाणिज्य बैंक र विकास बैंक समूहकै प्रमुख योगदान छ । यसैल पनि बजारको पछिल्लो वृद्धिलाई सस्टेनेबल ग्रोथको रुपमा परिभाषित गर्न थालिएको हो । यद्यपि नेपाली शेयर बजारमा ठूला स्पेकुलेटरहरु हाबी भएको र प्रोफिट बुकिङमा हतारिने लगानीकर्ताको जमात पनि ठूलो भएकोले शेयर किन्ने वा बेच्ने निश्कर्षमा पुग्नु अघि बजारको अध्ययन र सम्बन्धित कम्पनीको आधारभूत पक्ष र प्राविधिक पक्षको विश्लेषण आवश्यक हुन्छ ।

नेपाल आईडलका विजेता ओडको पहिलो गीत ‘मिठो बोली’ सार्वजनिक

काठमाडौं । नेपाल आईडल सिजन २ का विजेता सुदुरपश्चिमका रवि ओडको पहिलो गीत ‘मिठो बोली’ बजार आएको छ । सांगीतिक जीवन औपचारिक शुरुवात भएसँगै अभिनयमा रवि ओडलाई एलिशा राईसँग देख्न सकिन्छ । कृष्ण के.सीको शब्दमा रहेको उक्त गीतमा संगीतकार हरी लम्सालले संगीत गरेका हुन् ।  शिव विकेको कोरियोग्राफी तथा निर्देशनमा उक्त म्युजिक भिडियो तयार भएको हो । नेपाल आईडलका विजेता ओडको यो पहिलो गीतका साथै अभिनय रहेको नयाँ गीत ‘मिठो बोली’ सार्वजनिक भएको छ । भिडियाे हेर्नका लागि तल क्लिक गर्नुहोस् ।  

१७.१६ अंकले बढ्यो नेप्से, एनआईसी एशियाका लगानीकर्तालाई सबैभन्दा बढी नाफा

काठमाडौ । साताको पहिलो दिन आईतबार नेप्से परिसूचक १७.१६ अंकले बढेको छ । १.४७ प्रतिशतले बढ्दा नेप्से परिसूचक ११८२.३६ बिन्दुमा पुगेको हो । आईतबार सेयर बजारमा १६८ कम्पनीले सेयर कारोबार गरेका छन् । १८ लाख ८७ हजार ३ सय ७३ कित्ता सेयर खरिद बिक्री हुँदा ५४ करोड ३९ लाख ५५ हजार ६ सय ४२ रुपैयाँको कारोबार भएको छ । बजार बढेको दिन नेप्सको ५ समूह हरिया भए भने बाँकी राताम्मे भएका छन् । बैंक समूह २८.१९, होटल समूह १३, विकास बैंक समूह १४.९९, वित्त समूह १.७८, जीवन बीमा समूह ०.१२, अंकले बढेका छन् । यता, जलविद्युत समूह २.७५, निर्जीवन बीमा समूह १९.२१, उत्पादन मूलक ५.८२ र लघुवित्त समूह ०.९५ अंकले घटेका छन् । एनआईसी एशिया बैंकका लगानीकर्ताले ६.३६ प्रतिशतले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् । यस्तै, यूनिर्भसल पावर कम्पनी लिमिटेडका लगानीकर्ताले ९.२५ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।

गुणस्तर चिन्ह लिने बढ्दै, ११ थरी वस्तुको आयात र बिक्री वितरणमा अनिवार्य

काठमाडौँ । आफ्ना उत्पादन गुणस्तरीय छ भनेर आम उपभोक्तालाई विश्वास दिलाउन नेपाल गुणस्तर चिन्ह लिन आउने बढ्दै छन् । सरकारले ११ थरी वस्तुको आयात र बिक्री वितरण गर्दा चिन्ह लिन अनिवार्य(बाध्यकारी) गरेको छ । यी बाहेक अरु उत्पादनका स्वेच्छिक रुपमा समेत व्यवसायीले चिन्ह लिने गरेको नापतौल तथा गुणस्तर नियन्त्रण विभागले जनाएको छ । गतवर्ष बाध्यकारी वस्तुमा बाहेक झण्डै दुई सयले चिन्ह लिएका छन् । यी उद्योगले ६० थरी उत्पादनमा चिन्ह लिएको विभागका निर्देशक दिपक ज्ञवालीले बताए । उनका अनुसार बाध्यकारी ११ सामग्रीबाहेक अरु उत्पादनमा व्यवसायीले चाहेको अवस्थामा गुणस्तर चिन्ह लिन सक्छन् । कुनै पनि उद्योगले गुणस्तर चिन्हको माग गर्दै दिएको निवेदनका आधारमा उद्योग र उत्पादनको निरीक्षण तथा परीक्षण पश्चात चिन्ह दिने गरिएको उनले बताए । उनले भने, “चिन्ह दिनु पहिले र पछि पनि उद्योग तथा बजारबाट ती सामग्रीको गुणस्तर परीक्षण भइरहन्छ ।” विगतका केही वर्षयता गुणस्तर चिन्ह लिने उद्योगमा खाद्यान्न उत्पादन गर्ने उद्योग बढिरहेका विभागले जनाएको छ । बजारमा प्रतिष्पर्धा बढिरहँदा आफ्ना उत्पादन गुणस्तरीय भएकाले गुणस्तर चिन्ह पाएको हो भन्ने देखाउन चाहने उद्योग क्रमिक रुपमा बढिरहेका निर्देशक ज्ञवालीले बताए । चिन्ह लिनका लागि उद्योगमा नै परीक्षण गर्ने प्रविधि र दक्षजनशक्ति दुबै चाहिने उनले बताए । गुणस्तर चिन्ह लिइसकेपछि पनि विभागले वर्षेनी बजारबाट र उद्योगमै पुगेर उत्पादनको गुणस्तर हेर्ने गरेको छ । उनले भने, “गुणस्तर चिन्ह लिएका उद्योगलाई पटक-पटक छड्के जाँच गर्ने र गल्ती पाइएमा कारवाही हुने गरेको छ ।” विभागले देशभरमा नापतौल र गुणस्तर कार्यान्वयन गराउँदै आएको छ । रासस