ट्यांकरको लकिङ प्रणाली अलपत्र, प्राविधिक कारणले रोकियोः निगम प्रवक्ता
काठमाडौं । ट्यांकरबाट इन्धन चोरी नियन्त्रण गर्न सुरु गरिएको लकिङ प्रविधि जडान प्रक्रिया अलपत्र परेको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी) को रिफाइनरी केन्द्रबाट नेपाल आयल निगमको डिपोसम्म आउने ट्यांकरमा लकिङ प्रविधि जडान भए पनि डिपोबाट विक्रेता (पेट्रोल पम्प) सम्म पुग्ने ट्यांकरमा दोस्रो र तेस्रो चरणको लकिङ प्रविधि जडान कार्यलाई अलपत्र पारिएको हो । ट्यांकर चालकले विभिन्न प्राविधिक विषयमा रहेका स–साना छिद्रलाई मौकामा परिणत गरी नाजायक रूपमा ट्यांकरबाट आफूखुसी गर्दै आएको चोरी नियन्त्रण गर्न यो प्रविधि जडान गर्ने योजना अघि सारिएको थियो। निगमले पहिलो चरणको योजना सम्पन्न गरे पनि दोस्रो र तेस्रो चरणको योजना कार्यान्वयनमा ढिलाइ गरेको हो । निगमले दोस्रो र तेस्रो चरणमा देशभरका दुई हजार पाँच सय विक्रेतासम्म पुग्ने ट्यांकरमा यही आर्थिक वर्षभित्र ताल्चा र ट्र्याकिङ जडान गर्ने योजना बनाएको थियो । चालु आर्थिक वर्षको १० महिना बितिसक्दा पनि निगमले दोस्रो र तेस्रो चरणको योजना कार्यान्वयनमा ल्याउन चासो दिएको छैन। दोस्रो चरणमा यसअघि लकिङ प्रविधि जडान भएका ट्यांकरमै पुनः दोस्रो थरीको ताल्चा जडान गर्ने योजना थियो । दोस्रो प्रकारको ताल्चा जडान गरी दुई हजार पाँच सय विक्रेतालाई डिजेल, पेट्रोल र मट्टितेलको गरी छुट्टा छुट्टै तीन प्रकारका साँचो उपलब्ध गराउने योजना थियो । निगमका अनुसार विक्रेताले आवश्यकताको आधारमा डिजेल, पेट्रोल र मट्टितेलका लागि उपलब्ध गराइने साँचो प्रयोग गरी च्याम्बरबाट इन्धन अनलोड गर्न पाउने व्यवस्था गरिएको छ । यस्तै तीनै प्रकारको साँचो निगमको डिपोसँग पनि एक प्रति रहने व्यवस्था गरिएको छ। निगमका प्रवक्ता वीरेन्द्र गोइतले केही प्राविधिक कारणले दोस्रो र तेस्रो चरणको लकिङ प्रणाली जडान कार्य प्रभावित भए पनि सुरु गर्न लागिएको जानकारी दिए। गोइतले भने, ‘जडान कार्य केही समयका लागि रोकिए पनि सुरु गर्न लागेका छौं । यसै आर्थिक वर्षमा दोस्रो र तेस्रो चरणको योजना सम्पन्न हुन्छ।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
सचिवहरू सारिएका सारियै, बेरुजु बढेको बढ्यै
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वर्ष दिनमा ६ सचिव परिवर्तन भए । मन्त्रालयको २३ करोड ५९ लाख ५८ हजार बेरुजु छ । यामकुमारी खतिवडाले डेढ महिना पनि सचिवको जिम्मेवारी निर्वाह गर्न पाइनन् । मन्त्रालयमा शंकरप्रसाद कोइराला, प्रेमकुमार राई, कृष्णप्रसाद देवकोटा, अनिलकुमार ठाकुर र चन्द्रकुमार घिमिरे सचिव जिम्मेवारीमा रहे । खानेपानी मन्त्रालयमा एक वर्षमा ५ सचिव आए । सचिव फेरिँदा बेरुजुको मात्रा बढिरह्यो । मन्त्रालयको बेरुजु ६ अर्ब ४ करोड ४० लाख छ । भीमप्रसाद उपाध्याय, कृष्णराज बीसी (दुई पटक) तथा गजेन्द्रकुमार ठाकुर दोहोरिएर मन्त्रालयको सचिव भए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा वर्ष दिनमा ५ सचिव फेरिए । मन्त्रालयको बेरुजु ७ अर्ब १४ करोड २७ लाख छ । मन्त्रालयमा शान्तबहादुर श्रेष्ठ, सञ्जय शर्मा, मधुप्रसाद रेग्मी, गजेन्द्रकुमार ठाकुर र खगराज बराल सचिव भएर आए । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको अवस्था पनि उस्तै छ । मन्त्रालयमा पाँचजना सचिव परिवर्तन भए । मन्त्रालयको १ अर्ब २६ करोड २४ लाख ३३ हजार बेरुजु छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको बेरुजु अत्यधिक छ । महालेखाको प्रतिवेदनअनुसार मन्त्रालयको बेरुजु २ अर्ब ३२ करोड ७१ लाख ९५ हजार छ । मन्त्रालयमा वर्ष दिनमा कृष्णप्रसाद देवकोटा, सुरेश प्रधान, शम्भु कोइराला र गोपीनाथ मैनाली सचिव भए । यस्तै सुरोज पोखरेल, युवकध्वज जिसी दुईपटक सचिव भएर आए । विश्वनाथ ओली, प्रकाश माथेमाले पनि सचिवको जिम्मेवारी पाए । रक्षा मन्त्रालयले पनि वर्ष दिनमा तीनजना सचिव पायो । रक्षाको बेरुजु ११ अर्ब २३ करोड ७३ लाख ७७ हजार छ । श्रीधर सापकोटा, विनोद केसी, विष्णुप्रसाद लम्साल सचिव भएका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमा एक वर्षमा तीन सचिव हेरफेर भए । शंकरप्रसाद अधिकारी, महेश्वर न्यौपाने, कृष्णप्रसाद देवकोटा मन्त्रालयमा बसे । पर्यटन मन्त्रालयको बेरुजु ३२ करोड ७३ लाख २९ हजार छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा वैकुण्ठ अर्यालले २०७४ साउन १ देखि २०७५ असार ३२ सम्म काम गर्ने मौका पाए । उनले लगातार काम गर्दा अघिल्लो वर्ष वित्त आयोगमा बेरुजु शून्य देखियो । त्यस्तै महालेखा परीक्षक कार्यालयमा लेखाको अख्तियार पाएका उपमहालेखा परीक्षक ईश्वर नेपालले एक वर्षसम्म काम गर्न पाए । नेतृत्व परिवर्तन नभएकै कारण महालेखामा बेरुजु छैन । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
कम्पनी टाट पल्टँदा साउदीमा ३ हजार नेपाली अलपत्र
काठमाडौँ । साउदी अरबस्थित तीन कम्पनी टाट पल्टँदा झन्डै १५ हजार नेपालीको रोजगारी गुमेको छ । कम्तीमा तीन हजार नेपाली स्वदेश फर्कन नपाएर अलपत्र छन् । उनीहरूको समस्या दिन प्रतिदिन चुलिँदै छ । ठूलो संख्यामा नेपाली कार्यरत साउदी मार्बल एन्ड ग्रिनाइटेड कम्पनी ९माथि० र अलपत्र परेपछि प्रदर्शनमा उत्रिएका कामदार । साउदीको अजमिल कन्स्ट्रक्टिङ कम्पनी, अजमिलको भगेनी कम्पनी अर्कद, जे एन्ड पी र साउदी मार्बल एन्ड ग्रिनाइटेडमा कार्यरत नेपाली कामदारको रोजगारी गुमेको हो । अजमिलमा मात्रै १० हजार नेपालीको रोजगारी गुमेको छ । अर्कदमा तीन हजार, जे एन्ड पी र साउदी मार्बलमा कम्तीमा २ हजार नेपालीले रोजगार गुमाउनुपरेको छ । ‘अजमिलले एक वर्षमा झन्डै ७ हजार नेपालीलाई फिर्ता पठाइसकेको छ,’ साउदीको दमामस्थित नेपाली दूतावासका प्रतिनिधि हरि घिमिरले फोनमा भने । अजमिलले कामविहीन भएर लामो समयदेखि बसिरहेका ३ हजारलाई स्वदेश पठाएको छैन । आजको कान्तिपुर दैनिकमा समाचार छ ।
सात दिनभित्र ३९ अर्ब कर तिर्न एनसेललाई ठूला करदाता कार्यालयको निर्देशन, के गर्ला एनसेल ?
काठमाडौं । ठूला करदता कार्यालयले एनसेल प्रालिलाई सात दिनभित्र ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रुपैयाँ ७१ पैसा बुझाउनु निर्देशन दिएको छ । सर्बोच्च अदालतको पूर्ण फैसला आएपछि ठूला करदाता कार्यालयले एनसेलको सेयर कारोबारमा पुँजीगत लाभकर ६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार ५६६ रुपैयाँ ७१ पैसा लाग्ने जनाएको छ । उक्त शिर्षकमा एनसेलले अहिलेसम्म २३ अर्ब ५७ करोड ४२ लाख ९० हजार ७५१ रुपैयाँ कर बुझाइसकेकोले बाँकी कर सातदिन भित्र बुझाउन निर्देशन दिएको ठूला करदाता कार्यलयले मंगलबार जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । कार्यालयले मंगलबार विगतमा तिरिसकेको करलाई मिलान गरी नयाँ कर निर्धारण गरेको कार्यालय प्रमुख धनीराम शर्माले बताए । बाँकी बक्यौता ७ दिन भित्र भुक्तानी गर्न कार्यालयले पठाएको पत्र एनसेलले मंगलबार नै बुझिसकेको उनले बताए । एनसेलको ८० प्रतिशत सेयर स्वीडेनको टेलिया सोनेरा कम्पनीले मलेसियाको एक्जिएटालाई एक खर्ब ४३ अर्ब ६५ करोड ३७ लाखमा बेचेको थियो । त्यसमा ६० ७१ करोड २४ लाख ९६ हजार ९७ रुपैयाँ कर लाग्ने ठूला करदाता कार्यलयले २०७४ असार १३ गते निर्णय गरेको थियो । तर उक्त पुँजीगत लाभ कर कसले तिर्ने भन्ने विवाद सर्वोच्च अदालतमा पुगको थियो । सर्बोच्च अदालतले गत माघ २३ गते परमादेश जारी गर्दै उक्त कर एनसेलबाट नै असुल गर्न आदेश दिएको थियो । कर तिर्ला कि अदालत जाला एनसेल ? सर्वाेच्च अदालतकाे पूर्ण इजलासले गरेकाे फैसला नै अन्तिम हुने भएकाेले एनसेलले कर नै नतिर्ने दाबी गर्दै अदालत जाने बाटाे अव बन्द भएकाे छ । ठूला करदाता कार्यालयले निर्धारण गरेकाे करकाे सम्बन्धमा चित्न नबुझेकाे खण्डमा मात्र कम कर निर्धारण गर्न एनसेल अदालत जान सक्छ । एनसेलले पनि यसअघिकाे विज्ञप्तीमा कानूनी उपचार खोज्न अदालत जानसक्ने बाटो खुला रहेकाे दाबी गरेकाेले एनसेल फेरि अदालत जाने सम्भावना समेत छ । यद्यपि कर दायित्व नै सिर्जना नहुने गरी अदालतमा बहस हुन नसक्ने अवस्था रहेकाे र सर्वाेच्चले दिएकाे आदेशकाे फ्रेमवर्कमै रहेर ठूला करदाता कार्यालयले कर निर्धारण गरेकाेले एनसेलकाे अदालतकाे प्रवेश उसैका लागि हानीकारक हुन सक्छ । अदालती प्रक्रिया सकिन लामाे समय लाग्दा एनसेलकाे शुल्क तथा ब्याज थप बढ्दै जाने सम्भावना हुन्छ । तर अहिलेसम्म एनसेलकाे तर्फबाट कुनै पनि आधिकारिक सूचना प्राप्त भएकाे छैन ।
असन्तुलित बन्दै बाह्य क्षेत्र : एकै महिनामा साढे ९ अर्बको भुक्तानी असन्तुलन
काठमाडौं । नेपालको बाह्य क्षेत्र थप असन्तुलित बन्दै गएको छ । घट्दो रेमिट्यान्स आप्रवाह र बढ्दो व्यापार घाटाका कारण भुक्तानी असन्तुलनको अवस्था नाजुक बन्दै गएको हो । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार फागुन महिनाको अवधिमा मात्रै देशले ९ अर्ब ३१ करोडको भुक्तानी असन्तुलन व्यहोरेको छ । माघ महिनामा ४९ अर्ब ३२ करोडले घाटामा रहेको बाह्य क्षेत्र फागुन मसान्तमा ५८ अर्ब ९९ करोड रुपैंया पुगेको हो । उक्त अवधिमा ६१ अर्ब २२ करोड निर्यात गरी ९४९ अर्ब ११ करोड रुपैंयाको आयात गर्दा व्यापार घाटा करिब ८८८ अर्ब पुगेको छ ।
एक महिनामा बैंक तथा वित्तीय संस्थाकाे ३२४ नयाँ शाखा, कृषिमा १४ हजारलाई सस्तो ब्याजको ऋण
काठमाडौं । एक महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाका ३२४ ओटा शाखाहरु विस्तार भएका छन् । फागुन महिनाभरिमा उक्त संख्यामा शाखा विस्तार भएको राष्ट्र बैंकले जनाएको छ । आर्थिव वर्षको पहिलो ८ महिनामा भने जम्मा १४३७ ओटा शाखाहरु विस्तार भएका छन् । विस्तार भएका शाखामध्ये ३९ ओटा वाणिज्य बैंक, १५ ओटा विकास बैंक, ३ ओटा फाइनान्स कम्पनी र बाँकी २६७ ओटा लघुवित्त संस्थाहरु रहेको राष्ट्र बै्रकले जनाएको छ । उक्त संख्यामा शाखा विस्तार गरेसँगै फागुन महिनासम्ममा बैंक तथा वित्तीय संस्थाको कुल शाखा संख्या ८ हजार ५५ पुगेको छ । उक्त संख्यामध्ये ३३०५ वाणिज्य बैंक, ११९६ ओटा विकास बैंक, २०० ओटा फाइनान्स कम्पनी र ३३५४ ओटा लघुवित्त कम्पनी छन् । फागुन महिनामा वाणिज्य बैंकहरुको शाखा संख्यालाई लघुवित्तको संख्याले उछिनेको छ । वाणिज्य बैंकहरुले भने हालसम्म देशरका ७११ ओटा स्थानीय तहमा शाखा विस्तार गरेका छन् भने बाँकी ४२ ओटामा विस्तार हुन बाँकी छ । शाखा विस्तारसँगै बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप र कर्जाको आकार समेत बढेको छ । फागुन मसान्तसम्म ३१११ अर्ब ४८ कराेड निक्षेप संकलन गरी बैंकहरुले २७८६ अर्ब ६६ कराेड कर्जा प्रवाह गरेका छन् । यो अघिल्लो आर्थिक वर्षको क्रमशः ८.७ प्रतिशत र ९.२ प्रतिशत हो । फागुन महिनामा भने निक्षेपको आकार ९ प्रतिशतले बढ्दा कर्जा १३ प्रतिशतले बढेको छ । व्यवसायकाे आकार बढ्दै जाँदा वाणिज्य बैंकहरुको औसत आधारदर तथा ऋणकाे औसत ब्याजदर घटेकाे छ । माघ महिनामा १०.३६ प्रतिशत रहेकाे आधारदर फागुनमा ९.६५ प्रतिशत र ऋणकाे भारित औसत ब्याजदर एक महिनामा १२.३३ बाट ११.९६ प्रतिशतमा झरेकाे हाे । कृषि व्यवसाय गर्ने १४ हजारलाई सस्तो ब्याजको ऋण सरकारको सहुलियतपूर्ण कर्जा कार्यक्रम अन्तर्गत कृषि व्यवसायमा लाग्ने १४११३ जना कृषकहरुलाई ५ प्रतिशत ब्याज अनुदानसहित सहुलियतपूर्ण कर्जा पाएका छन् । राष्ट्र बैंकका अनुसार उक्त संख्याका ऋणीहरुलाई जम्मा २३ अर्ब ४१ करोड रुपैंया ऋण दिएकोमा सरकारले ९८ करोड २२ लाख ब्याज अनुदान दिइएको हाे । अघिल्लो महिनामा यो संख्या १० हजार ४८७ जना थियो भने कुल कर्जा प्रवाह १८ अर्ब ६४ करोड रुपैंया वितरण भई व्याज अनुदान ८८ करोड ५५ लाख प्रदान गरिएको थियो । यी दुई आँकडा अनुसार एक महिनामो अवधिमा थप ३६२६ जनाले उक्त ऋण पाएकोमा थप ४ अर्ब ७७ करोड रुपैंया कर्जा प्रवाह भएको देखिएको छ । भुकम्पपीडितका लागि निजी आवास अनुदानका लागि भने हालसम्म १५७७ जनाले २ अर्ब ६८ करोड रुपैंया ऋण लिएका छन् । फागुन महिनामा उक्त संख्या १ जनामात्र थपिएको तथ्याङ्कमा उल्लेख छ ।
बल्की डिजाइनमा विल्कुलै नयाँ स्कुटर ‘बर्गम्यान स्ट्रीट’, यस्ता छन् विशेेषता (भिडियाे सहित)
काठमाडौं । १२५ सीसी सेग्मेन्टका स्कुटरहरुको राजा मानिएको सुजुकी एक्सेसले बजारमा आधिपत्य जमाइरहेका वेला यसलाई टक्कर दिनेगरी अन्य स्कुटरहरु पनि बजारमा आउन थाले । यस्तो अवस्थामा सुजुकीले पनि प्रतिक्रिया दिन आवश्यक थियो । फलस्वरुप यसले बल्की डिजाइनमा विल्कुलै नयाँ स्कुटर-बर्गम्यान स्ट्रीट नेपाली बजारमा ल्याएको हो । जिक्सर र इन्ट्रुडरलाई जसरी नै बर्गम्यान स्ट्रीटलाई पनि सुजुकीले अन्तर्राष्ट्रिय बजारमा पाइने मोडल भन्दा कमसीसीको इन्जिन लगाएर नेपाल र भारत लगायतका देशहरुमा लिएर आएको हो । सुजुकीले यस स्कुटरलाई म्याक्सी स्कुटरका रुपमा पहिलो पटक नेपाली बजारमा भित्र्याएको हो । म्याक्सी स्कुटर भन्नाले टुरिङ स्कुटरलाई जनाइन्छ । जसको आकार ठूलो हुनुका साथै पावरफुल इन्जिन समेत रहेको हुन्छ । म्याक्सी स्कुटरको मुख्य उद्देश्य भनेकै चालकलाई सजिलो अर्थात आरामदायी प्रदान गर्नु हो । नेपाली बजारमा पहिलो पल्ट आएको यस किसिमको स्कुटरले बजारमा फड्को मार्ने कम्पनीले दावी गरेको छ । यस स्कुटरको डिजाइन सामान्य स्कुटरको तुलनामा ठूलो देखिने र सडक उपस्थिति राम्रो रहेको छ । त्यस्तै, चौडा एप्रोन, ठूलो वाइन्डस्क्रिन, लामो र चौडा सीट जस्ता विशेषता रहेको छ । त्यसैगरी यसको आरामदायक राईडिङ स्थितीले यसलाई म्याक्सी स्कुटर बनाउनमा मद्दत पुर्याएको छ । यसमा जडान गरिएको फुल एलईडी हेडलाइटको चमक मोटरसाइकलको जस्तै रहेको छ । एलईडी टेल लाईट र दुबै साइडमा जडान गरिएको स्टाइलिस पोजिसन लाइटहरूले यस स्कुटरलाई अन्यको तुलनामा यूनिक बनाएको छ । त्यस्तै, एप्रोनको बीच भाग लगायत अन्य विभिन्न ठाउँहरुमा जडित क्रोमले यस स्कुटरलाई स्ट्याण्डर्ड लुक्स् दिएको छ । यसमा फुल्ली डिजिटल कन्सोल, स्पीडोमिटर, ओडोमिटर, ट्रीपमिटर, क्लक र त्यसैगरी फ्युलगेज लगायतका कुराहरु समावेस गरिएको छ । बल्की एक्जस्टका कारण स्पोर्टी लुक्स प्राप्त गरेको यो स्कुटरलाई यसको एल्युमिनियम फुटपेग्स्, रियर बडी ग्रयाब रेल र एलईडी डीआरएलले थप आकर्षक बनाएको छ । यस स्कुटरको अगाडिको भागमा २ ओटा स्टोरेज पकेटहरु रहेका छन् । दाहिने तर्फको पकेटमा १ लिटर सम्मको वाटर बोतल र त्यसैगरी देव्रेतर्फको पकेटमा पर्स, मोवाइल, पन्जा लगायतका सामाग्रीहरु राख्न सकिन्छ । यसै पकेट भित्र चार्जिङ सकेटको पनि व्यवस्था गरिएको हुनाले स्कुटर कुदाउँदै मोवाइल चार्ज समेत गर्न सकिन्छ । यस स्कुटरको अण्डर सीट क्यापासीटी २१.५ लिटर रहेको छ जसमा फुल साइज हेलमेट पनि सजिलै अट्न सक्छ । ठूलो स्पेस बनाइए तापनि यहाँ बुट लाइटको व्यवस्था भने गरिएको छैन । यस स्कुटरका टायरहरू ट्युवलेस रहेका छन् । जसले यात्रा गर्दा टायरको कारण पाइने झन्झटबाट भने मुक्त बनाउँछ । त्यसैगरी स्कुटरमा कम्बाइन्ड ब्रेकिङ सिस्टम रहेको छ जसले स्कुटरको ब्रेकिङलाई थप सुरक्षित बनाएकाे कम्पनीले जनाएको छ । स्कुटरमा १२४ सीसीको इन्जिन रहेको छ जसले ८.५ बीएचपीको पावर र त्यसैगरी १०.२ एनएमको टर्क प्रदान गर्दछ । तर बर्गम्यानको इन्जिन एक्सेसकोे तुलनामा अलि बढि रिफाइन्ड गरिएको हुन्छ । ५.६ लिटर पेट्रोल अटाउने क्षमता भएको यस स्कुटरले प्रतिलिटर ५५ किलोमिटरको माइलेज दिने कम्पनीको दावी रहेको छ । अगाडिको भागमा १२ इन्चको र त्यसैगरी पछाडिको भागमा १० इन्चको एलाेए व्हील लगाइएको यस स्कुटरको सीट हाइट ७८० मिलिमिटर रहेको छ । त्यसैगरी, ग्राउन्ड क्लियरेन्स भने १६० मिलिमिटर रहेको छ । नेपाली बजारमा हाल यो स्कुटर दुई लाख २९ हजार ९०० रुपैयाँमा विभिन्न तीन रङ (ब्ल्याक, ह्वाइट र ग्रे) मा उपलब्ध छ । आकर्षक विशेषता रहेको यस स्कुटरमा पार्किङ ब्रेक, पास बाइ स्वीच र इन्जिन किल स्वीच चाहिँ समावेस गरिएको छैन । यदि यी कुराहरु पनि समावेस गरिएको थियो भने अझ सुनमा सुगन्ध थपिने थियो । भिडियो हेर्न तलको फोटोमो क्लिक गर्नुहोस्ः
‘स्प्राईट डबल डोज रिफ्रेसपनि रिचार्जपनि’ अफरमा ४ बढी पुरस्कृत
काठमाडौ । स्प्राईटको समर क्याम्पेन, स्प्राईट डबल डोज रिफ्रेस पनि रिचार्ज पनि उपभोक्ता माँझ उत्साहपूर्ण ढङ्गले अगाडि बढिरहेको छ । फेब्रुअरी १ देखि शुरु भएको यो रिफ्रेसिङ्ग रिचार्ज क्याम्पेनबाट हालसम्म ४.५ लाख भन्दा बढि विजेताहरुले टक टाइम जितिसकेका छन् र उपभोक्ताबाट पनि उत्साहपूर्ण प्रतिक्रियाहरु प्राप्त भइरहेको कम्पनीले जनाएको छ । उपभोक्ताहरुले २५० एमएलको शिशाको बोतलको कोका–कोला, स्प्राईट, फान्टा ओरेन्ज, फान्टा लेमन र किन्ले सोडा किनेर रु १० देखि १० हजारसम्मको टक टाईम जित्नुका साथै सामसङ्ग ग्यालेक्सी नोट ९ पनि जित्न सक्नेछन् । गोरखाका प्रकाश गुरुङ, बनस्थलीका भुवन सिंह तामाङ, बनस्थलीका राज किशोर सिंह, अनामनगरका कुमार गिरी, सिनामङ्गलका प्रदीप गैरी, चाबहिलका राज कुमार लिम्बु, माच्छापोखरीका बिनोद नेपाल, झापाकी एलिना सुवेदी ललितपुरका प्रेम शोभा तन्दुकरले सामसङ्ग ग्यालेक्सी नोट ९ जितेका छन् । विजेताहरु सामसङ्ग ग्यालेक्सी नोट ९ प्राप्त गर्दा खुसी भएका थिए र यस्तो अद्भूत योजना ल्याएकोमा कोका–कोला कम्पनीलाई धन्यवाद प्रकट गरेका छन् । सहभागीहरुको उत्साहपूर्ण प्रतिक्रियासँगै, कम्पनीले यस योजना अवधिलाई थप गरेर महिनाको अन्त्यसम्म अर्थात ३० अप्रिलसम्म पुर्याएको छ । यस योजनामा सहभागी हुन, बिर्कोको तल्लो भागमा रहेको ८ अंकको यूनिक कोर्ड ३६७६८ मा एसएमएस गर्नुहोस् । यस अफर समावेश नभएका बोतलहरु पनि बजारमा उपलब्ध छ । नियम र शर्तहरुका बारेमा राष्ट्रिय दैनिक पत्रिका, अनलाइन र कोका–कोला नेपालको फेसबुक पेजबाट जानकारी लिन सकिने जनाइएको छ ।