विकासन्युज

नेपाल इन्भेष्टमेन्ट बैंकको १ करोड ९४ हजार कित्ता बोनस शेयर सूचिकृत

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा बुधबार नेपाल इन्भेष्टमेन्ट बैंकको बोनस शेयर सूचिकृत भएको छ । नेप्सेका अनुसार सो बैंकको १ करोड ९४ लाख ४३ हजार ८३ कित्ता शेयर सूचिकृत भएको हो ।

आइजीआई र भरपर्दो कृषक सहकारीबीच विधार्थी बीमा सम्बन्धी सम्झौता

काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड(आइजीआई) र भरपर्दो कृषक बचत तथा ऋण सहकारी संस्था लिमिटेडबीच संस्थाका सदस्य विद्यार्थीहरुको लागि आइजीआई विद्यार्थी बीमालेख मार्फत सेवा लिने दिने सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र भरपर्दो कृषक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रमेश तिमल्सिनाले हस्ताक्षर गरे । सम्झौता पश्चात सहकारी संस्थामा निश्चित रकम राखी खाता संचालन गर्ने सदस्य विद्यार्थीहरुलाई बीमा सेवा प्रदान गर्ने गरी यो संझौता भएको छ । उक्त अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सहकारी संस्थाले आफैले बीमा शुल्क भुक्तानी गरेर आफना विद्यार्थी ग्राहक महानुभावहरुको व्यक्तिगत दुर्घटना, औषधोपचार तथा मासिक शुल्क समेत साथै निज विद्यार्थीको आमा वा बुबाको हकमा दुर्घटना बीमा समेतको रक्षावरण गर्ने गरी नेपालमा नै पहिलो पटक जारी भएको बीमालेख मार्फत सेवा प्रदान गर्न इच्छुक भई संझौता गरेकोमा संस्थाका अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारीहरुलाई धन्यवाद दिए । उक्त कार्यक्रममा भरपर्दो कृषक सहकारी संस्था लि. का अध्यक्ष  तिमल्सिनाले आफ्नो संस्थासंग आवद्ध विद्यार्थीहरुलाई निशुल्क यो सेवा प्रदान गर्न पाउंदा खुशी लागेको र आइएमई जनरल इन्स्योरेनस लिमिटेडसंगको सहकार्यमा आफूले आफना ग्राहकहरुलाई निर्जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा प्रदान गर्न पाएकोमा आइजीआई परिवारलाई धन्यवाद दिए ।

वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको निधन

काठमाडौँ । वरिष्ठ पत्रकार तथा नेपाल समाचारपत्र दैनिकका प्रधान सम्पादन पुष्करलाल श्रेष्ठको ६० वर्षको उमेरमा निधन भएको छ । बुधबार बिहान ११ बजेर ४९ मिनेको समयमा उपचारको क्रममा नर्भिक अस्पतालमा उनको निधन भएको छोरा दिरेकलाल श्रेष्ठले जनाएका छन् । श्रेष्ठको पार्थिव शरीर बुधबार साढे १२ बजेदेखि श्रद्धाञ्जलीका लागि भूगोल पार्कस्थित निवासमा राखिने र दिउँसो ३ दिने पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ । नाकमा समस्या देखिएपछि ५ महिनाअघि उनको राजधानीको वयोधा अस्पतालमा नाकको शल्यक्रिया गरिएको थियो । त्यसपछि ब्लुक्रस अस्पतालमा मृगौलाको पत्थरीको शल्यक्रिया गरिएको थियो । नर्भिक अस्पताल र भारतको मेदान्त अस्पतालमा पनि उनको उपचार भएको थियो । मेदान्त अस्पतालमा दुई महिना उपचार गराएर फर्किएका उनको नर्भिक अस्पतालमा फिजोयोथेरापी लगायतका विधिबाट उपचार गर्न गरिँदै आएको थियो ।

कुलेखानी तेस्रो र माथिल्लो त्रिसूली ३ ए निर्माणको अन्तिम चरणमा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको ६० मेगावाटको माथिल्लो त्रिशूली थ्रि ए र १४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । कुलेखानी तेस्रोको ४.२ किलोमिटर मुख्य सुरुङमा पानी हालेर परीक्षण सकिएको र त्रिशूली थ्रि एको करिब ५ किलोमिटर मुख्य सुरुङमा बुधबारबाट पानी हाली परीक्षण सुरु गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । ‘विभिन्न समस्या झेल्दै रुग्ण बनेका दुई आयोजनाहरु निरन्तरको प्रयासपछि निर्माणको अन्तिम चरणमा पुगी विद्युत उत्पादन गर्ने अवस्थामा पुगेका छन्’,कार्यकारी निर्देशक घिसिङले भने । ‘कुलेखानी तेस्रोको मुख्य सुरुङको परीक्षण सम्पन्न गरी पानी भरेर राखेका छौं, यो आयोजनको महत्पूर्ण माइलस्टोन हो, विद्युत् गृहका टर्वाइन, जेनेरेटर लगायतका इलेक्ट्रोमेकानिकल उपकरणहरुको जडान सम्पन्न गरी परीक्षणको क्रममा रहेका छन्, असारभन्दा अगाडिनै विद्युत उत्पादनको लक्ष्यका साथ काम भइरहेको छ ।’ हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल कामको ठेक्का लिएको चिनियाँ कम्पनी झेजियाङ जिनलुन इलेक्ट्रोमेकानिकल लिमिटेडको लापरबाही र कमजोर कार्यसम्पादनका कारण कुलेखानी तेस्राको निर्माण ढिलाइ भएको हो । विद्युत गृह,सुरुङ लगातका सिभिल संरचना निर्माण गर्न ठेक्का लिएको चिनिया“ कम्पनी सिनो हाइड्रोले एकतर्फी ठेक्का तोडेको थियो । यसले गर्दा पनि आयोजनाको निर्माण प्रभावित भएको थियो । प्रसारण लाइनको तीनमध्ये दुई वटा टावरको निर्माण सकिएको आयोजना प्रमुख सुभासकुमार मिश्रले जानकारी दिए । ‘विद्युत् गृहका उपकरणको परीक्षणसँगै प्रसारण लाइनको बाँकी एउटा टावर खडा गरी करिब ५ सय मिटर तार तान्ने काम सकिन्छ, प्रसारण लाइनका कारणले विद्युत उत्पादन प्रभावित हुँदैन’,उनले भने । मकवानपुरमा निर्माण भइरहेको आयोजनाले कुलेखानी जलाशयको नियन्त्रित वहाव र खानी खोलाको थप पानी प्रयोग गर्ने छ । कुलेखानी तेस्रो कुलेखानी पहिलो र दोस्रो आयोजनाको क्यास्केड आयोजना हो । नेपाल सरकार र विद्युत प्राधिकरणको लगानीमा निर्माण भइरहेको आयोजनाको सुरुको लागत २ अर्ब ३३ करोड रुपैयाँ थियो । आयोजनाको निर्माण अवधि बढेसँगै आयोजनाको लागत ४ अर्ब ६३ करोड रुपैयाँ पुग्ने संसोधित अनुमान छ ।

नेपालका ३ विद्यार्थी क्याम्ब्रिज विश्वविद्यालयको शीर्ष स्थानमा

काठमाडौँ । नेपालका तीन विद्यार्थी क्याम्ब्रिज इन्टरनेसनल परीक्षा ‘ए’ लेभलमा शीर्ष स्थानमा आएका छन् । मल्पी इन्स्टिच्युटका साकृत कर्माचार्य, जेभियर इन्टनेसनल कलेजका रीतिक यादव र जेम्स इन्स्टिच्युट अफ हाइयर एजुकेसनकी प्रजिता बुढाथोकीले २०१८ को जुन र नोभेम्बरमा सञ्चालित क्याम्ब्रिज इन्टरनेशनल परीक्षामा अब्बल स्थान ल्याएका हुन् । यसैगरी, अन्य ५३ नेपाली विद्यार्थीले उत्कृष्ट क्याम्ब्रिज लर्नर अवार्ड जितेका छन् । हरेक वर्ष प्रदान गरिने अवार्डमा गतवर्ष भन्दा यसपालि नेपाली विद्यार्थीले विभिन्न विधामा गरी ४० प्रतिशत बढी सफलता प्राप्त गरेका हुन् । उत्कृष्ट विद्यार्थीलाई चैत २९ गते सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा क्याम्ब्रिज इन्टरनेसनलका दक्षिण एसिया क्षेत्र हेर्ने क्षेत्रीय निर्देशक रुचिरा घोसले नेपाली विद्यार्थीको उत्कृष्ट प्रदर्शन देखेर धेरै नै उत्साहित भएको बताइन् ।

लिटल थिएटर ग्यारेजको पाँचौ संस्करणमा रमाउँदै बालबालिका

काठमाडौं । लिटल थिएटर ग्यारेजको पाँचौ संस्करणमा बालबालिका अभिनय कार्यशालामा रमाइरहेका छन्र  । हामी बालबालिका हौं, देख्न, सुन्न, महसुस गर्न, सोच्न र कल्पना गर्न सक्छौ’ भन्ने मूल भावका साथ लिटल थिएटर ग्यारेजः बालबालिकाको लागि नाट्य तथा अभिनय कार्यशाला यस वर्ष पनि भइरहेको छ । थिएटर मल र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसीसी नेपाल) ले हरेक वर्ष गर्ने कार्यशालाको यस वर्ष पाँचौ संस्करण चलिरहेको हो । कीर्तिपुरस्थित राराहिल स्कुलको सहकार्यमा स्थापित थिएटर मलमा सञ्चालन भइरहेको लिटल थिएटर ग्यारेजका ३३ जना बालबालिका रमाइरहेका छन् । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ५ देखि १३ वर्ष उमेर समूहका बालबालिका कार्यशालामा सहभागी भएका हुन् । थिएटरका विभिन्न खेल तथा क्रियाकलापहरु मर्फत अभिनयको साथमा उनीहरुको व्यक्तित्व विकासका सघाउ पुर्याउने उद्धेश्य साथ कार्यशालाको ढाँचा तयार पारिएको छ । उनीहरुले कार्यशालामा कथावाचान, चित्रकला, नृत्य, वतृत्वकला, क्ले आर्ट तथा अभिनयका विभिन्न क्रियाकलापमा सहभागी भइसकेका छन् । कार्यशालाको अन्तिम दिन उनीहरुले अतिथि र अभिभावकका माझ ३ वटा नाट्य प्रस्तुति दिँदैछन् । साथमा कार्यशालामा सिकेका र अभ्यास गरेका अन्य प्रस्तुति पनि रहनेछन् । हरेक वर्ष चैत २० गतेबाट सुरु हुने १५ दिने कार्यशाला बैशाख ७ मा सम्पन्न हुनेछ । बालरंगमञ्च सम्बन्धी अन्तर्राष्ट्रिय संगठनको नेपाल सेन्टर आसितेज नेपालको सहकार्यमा कार्यशालालाई थिएटर मल र टिसीसी नेपालले २०७१ सालदेखि निरन्तरता दिँदै आएको छ । नेपालमा बाल रंगमञ्चलाई चेतनासहित स्थापना गर्न लागिरहेका युवा रंगकर्मी केदार श्रेष्ठको नेतृत्वमा कार्यशालाले सनरन्तरता पाइरहेको छ । उनी आयोजक संस्थाका कला निर्देशक पनि हुन् । साथमा युवा कलाकर्मीहरु इलिना नकर्मी, सञ्जिता पराजुली, सविर चुरौटै, अरुण पौडेल, सुजन महत, सुजिता महर्जन छन् । नेपालमा बाल रंगमञ्च स्थापना गर्दै यसको नियमितता र विकासका लागि खोलिएको थिएटर सेन्टर फर चिल्ड्रेनले आफ्ना नाट्य प्रस्तुतिहरु राष्ट्रियदेखि अन्तर्राष्ट्रिय स्तरसम्म मञ्चन गरिसकेको छ । गत फागुन नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवसहित कीर्तिपुरमा पुनःस्थापना भएको थिएटर मलले यही महिनाबाट नियमित नाटक मञ्चन थाल्दैछ ।

साताको चौथो दिन सुन प्रतितोला ५९ हजार ३ सयले कारोबार

काठमाडौं । बुधबार सुन प्रतितोला ५९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार प्रतितोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन ३ सय रुपैयाँ घटेर सो मुल्यमा कारोबार भईरहेको हो । त्यस्तै मंगलबार तेजावी सुन प्रतितोला ५९ हजार ३ सय रुपैयाँमा बिक्री भएको सुन बुधबार प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै चाँदी मंगलबारको तुलनामा ५ रुपैयाँ बढेर ७२५ रुपैयाँमा बिक्री भईरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ ।

सम्झौता भन्दा १५ फिट अग्लो भवन बन्ने भएपछि विमानस्थलको अन्डर पार्किङ असुरक्षित

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्डर पार्किङ असुरक्षित देखिएको छ । निर्माण जिम्मा लिएको रसुवा केडी जेभीले सम्झौता विपरित पार्किङ निर्माण गरेपछि अन्डर पार्किङ असुरक्षित देखिएको हो । जेभीले नागरिक उड्ययन प्राधिकरणसँग गरेको सम्झौता अनुसार ३७ फिट अग्लो व्यापारिक भवन निर्माण गर्ने उल्लेख गरिएको थियो । तर, अन्डर ग्राउण्ड पार्किङ सहित १५ फिट बढाएर ५२ फिटको भवन निर्माण गरेको हो । महालेखा परीक्षकको प्रतिवेदन अनुसार रिभाइज ड्रइङ कार्यालयबाट स्वीकृत नभई निर्माण कार्य थालेकोले गुणस्तरको पार्किङ बन्न नसकेको हो । ठेक्का शर्तमा रहेको संरचना अनुसारको भवन निर्माण नगरी पृथक शैलीमा निर्माण गर्दा प्राधिकरणलाई आर्थिक तथा गुणस्तरमा गम्भीर असर पर्नेमा कार्यालयले सजग गराएको छ । कम्पनीले सो भवन काठमाडौं महानगरपालिकाबाट नक्सा पास नगरी बनाएको छ । ३० वर्षपछि प्राधिकरणको स्वामित्वमा आउने सो जग्गाको भाडा वार्षिक ७८ लाख रुपैंया तोकिएको छ । तर, समयमै निर्माण कार्य सम्पन्न नहुँदा प्राधिकरणले हालसम्म भाडा वापतको रकम प्राप्त गर्न सकेको छैन् । ५० रोपनी १५ आना ३ दाम क्षेत्रमा फैलिएको यो भवन वरपर सवारी पार्किङ, बाहिरिने मार्ग, यात्रु प्रतिक्षालय, चमेनागृह, बनाउने सम्झौता भएपनि नबन्ने पक्का भएको छ । यस्तै, सहमति अवधिबाटै वार्षिक भाडा बुझाउने सम्झौता भएपनि ७ वर्षसम्म कम्पनीले भाडा तिरेको छैन । सम्झौताको बुदाँ ३ मा सवारी बाहिरिने मार्ग व्यवसायीले निर्माण गर्नुपर्ने उल्लेख गरिएको छ । तर, प्राधिकरणले नै अर्को ठेक्काको वन्दोबस्त गरी ३ करोडमा बाहिरिने बाटो निर्माण गराएको छ । हाल पार्किङमा रहेको सवारी मार्गबाट चक्रपथ निक्कने गरेका छन् । विमानस्थलमा संरचना निर्माण गर्न कम्पनीले २०६७ भदौ १७ गते सहमति लिएको थियो । सहमतिमा २१ महिनामै निर्माण कार्य सम्पन्न उल्लेख गरेतापनि कम्पनीले हालसम्म निर्माण कार्य सम्पन्न गरेको छैन ।