विकासन्युज

३ अर्ब भन्दा बढी लगानीका भएका कम्पनी ५० वटा, कसको कति ?

काठमाडौं । नेपालमा सञ्चालित ५० ठूला कम्पनीहरुको चुक्ता पुँजी सवा ५ खर्ब भन्दा बढी रहेको देखिएको छ । पछिल्लो तथ्याङ्क अनुसार ३ अर्ब भन्दा धेरै चुक्ता पुँजी कायम गरी दर्ता भएका कम्पनीहरुको जम्मा संख्या ५० रहेकोमा उक्त कम्पनीहरुको चुक्ता पुँजी ५ खर्ब रुपैयाँ छ । ३ अर्ब रुपैयाँ भन्दा बढी लगानी भएका ५० कम्पनीमध्ये २९ वटा बैंक छन् । १५ वटा जलविद्युत कम्पनी रहेका छन् । २ वटा बीमा कम्पनी, २ वटा सिमेन्ट र दूरसञ्चार र पेट्रोलियमसँग सम्बन्धित १/१ वटा कम्पनी रहेको कम्पनी रजिष्ट्रार कार्यालयले जनाएको छ । २९ बैंकहरुमध्ये एउटा पूर्वाधार विकास बैंक र २८ वटा वाणिज्य बैंक छन् । त्यस्तै बीमा कम्पनीमा एउटा पुनर्बीमा कम्पनी र एउटा लाइफ इन्स्योरेन्स कम्पनी छ । दूरसञ्चार कम्पनीमा नेपाल टेलिकम र पेट्रोलियमसँग सम्बन्धित कम्पनीमा बी बी पेट्रोलियम ३ अर्ब माथि चुक्ता पुँजी भएको कम्पनीको रुपमा रहेको छ । त्यस्तै, शिवम् सिमेन्ट र सौर्य सिमेन्ट इन्डष्ट्रिज पनि सो क्षेत्रमा समेटिएका छन् । सर्वाधिक चुक्ता पुँजी भएको कम्पनीहरुको संख्या र कुल चुक्ता पुँजीका आधारमा बैंकिङ क्षेत्रकै वर्चस्व देखिए पनि सबैभन्दा ठूला ५ कम्पनीहरुमा भने बैंकिङ क्षेत्रको नेपाल इन्फास्ट्रक्चर बैंक मात्रै परेको छ । त्यो पनि पूर्वाधार क्षेत्रमै लगानी गर्ने उद्देश्यले यसै वर्ष खुलेको बैंक हो । यस बैंकले २० अर्ब चुक्ता पुँजी पुर्याउने उद्देश्य भए पनि हाल यसको चुक्ता पुँजी १४ अर्ब मात्रै छ, बाँकी ६ अर्ब बराबरको साधारण शेयर जारी गर्दैछ । ५० वटा कम्पनीको ५ खर्ब २५ अर्ब बराबरको चुक्ता पुँजीमध्ये ३ खर्ब ८९ अर्ब रुपैंया बैंक तथा वित्तीय संस्थाको तथा १ खर्ब ३५ अर्ब रुपैंया अन्य क्षेत्रको रहेको छ । कम्पनी रजिष्ट्रार कार्यालयबाट प्राप्त विवरण अनुसार चुक्ता पुँजीका आधारमा सबैभन्दा ठूलो कम्पनी अरुण ३ पावर डेभलमेन्ट कम्पनी हो । ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गर्ने उद्देश्यले स्थापित कम्पनीको चुक्ता पुँजी २४ अर्ब ७५ करोड रहेको कार्यालयले जनाएको छ । यसमा भारतीय सरकारी लगानीको एसजेवीएनले लगानी गरेको छ । देशकै सबैभन्दा ठूलो कम्पनीको रुपमा सञ्चालित छ । नेपाल सरकार र सर्वसाधारण समेतको लगानी भएको हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (साविकको जलविद्युत् लगानी तथा विकास कम्पनी) २२ अर्ब चुक्ता पुँजीसहित देशकै दोस्रो ठूलो कम्पनीको रुपमा कायम भएको छ । यसमा सबैभन्दा बढी लगानी नेपाल सरकारको छ । यस कम्पनीले सर्वसाधारणको लागि पनि सेयर निष्काशन गरेको थियो । दोस्रो बजारमा शेयर कारोबार हुने कम्पनीमध्ये सबैभन्दा धेरै बजार पुँजीकरण भएको कम्पनीको रुपमा रहेको सरकारी लगानीको दूरसञ्चार कम्पनी नेपाल टेलिकम भने चुक्ता पुँजीका आधारमा तेस्रो ठूलो कम्पनीको रुपमा रहेको छ । टेलिकमको चुक्ता पुँजी १५ अर्ब छ । बैंकिङ क्षेत्रमा सर्वाधिक चुक्ता पुँजी भएको बैंक भने कृषि विकास बैंक हो । कुल १४ अर्ब ५० करोड चुक्ता पुँजी भए पनि ६ अर्ब पुँजी भने फिर्ता नहुने प्रकृतिको ६ प्रतिशत लाभांश दरको अग्राधिकार शेयरको हिस्सासहित उक्त परिमाणमा चुक्ता पुँजी कायम भएको हो । त्यसबाहेक नेपाल इन्भेष्टमेन्ट बैंक (१२ अर्ब ६२ करोड) र मेगा बैंक १० अर्ब ४८ करोड रुपैंया चुक्ता पुँजीसहित दश अर्ब भन्दा माथि चुक्ता पुँजी भएको कम्पनीको रुपमा रहेका छन् । अन्य बैंकहरुको चुक्ता पुँजी ८ अर्बदेखि १० अर्ब छन् । एनसीसी बैंक, कुमारी बैंक र बैंक अफ काठमाण्डूको चुक्ता पुँजी अघिल्लो वर्ष ८ अर्ब नपुगेको भए पनि यो वर्ष हकप्रद र बोनस शेयरमार्फत् ती बैंकहरुले पनि ८ अर्ब चुक्ता पुँजी पुर्याइसकेका छन् । पूर्वाधार क्षेत्रतर्फ भने १५ अर्बको नेपाल टेलिकम पछि ७ अर्ब ९४ करोडको अपर तामाकोशी बढी चुक्ता पुँजी भएको कम्पनी हो । ९८ प्रतिशत भौतिक प्रगति सकेको उक्त कम्पनीले निर्माण गरेको ४५६ मेगावाटको माथिल्लो तामाकोशीको विद्युत् उत्पादन मंसिरदेखि सुरु हुने बताइएको छ भने सर्वसाधारणलाई आईपीओ जारी समेत गरिसकेको छ । यो कम्पनी देशकै सबैभन्दा बढी शेयरधनी भएको कम्पनी समेत हो । त्यसबाहेक बीबी पेट्रोलियमको ५ अर्ब १० करोड, तनहुँ हाइड्रोपावर, पुनर्बीमा कम्पनी र सिचुवान वाङ्गपिङग ईनर्जी साईन्स एण्ड टेक्लोजीको ५/५ अर्ब चुक्ता पुँजी छ । यी बाहेक बाँकी १३ वटा कम्पनीको भने ३ अर्ब देखि ५ अर्बसम्म चुक्ता पुँजी छ ।

माछापुच्छ्रे बैंकको ‘एक व्यक्ति एक खाता योजना’

काठमाडौँ । माछापुच्छ्रे बैंकले नेपाल सरकारको ‘खोलौ बैंक खाताअभियान, २०७६’ अन्तर्गत ‘एक व्यक्ति एक खाता योजना’ ल्याएको छ । कुनैपनि बैंक वा वित्तीय संस्थामा खाता नभएका व्यक्तिको हकमाउक्त योजना बैंकले सुचारु गरेको जनाएको छ । उक्त खाता खोले बापत बैंक स्वयंले रु. १०० खातामा जम्मा समेत गरिदिने जानकारी दिएको छ । ५% आकर्षक वार्षिक ब्याजदर प्रदानगरिने भनिएको यस खाताखोल्न निकै सहज छ । नेपाल सरकारले जारी गरेको कुनैपनि फोटो सहितको परिचयपत्र देखाएर उक्त खाता खोल्न सकिने बैंकले जनाएको छ । बैंकको देशभर रहेका जुनसुकै शाखा वा ग्राहक सेवा केन्द्र मार्फत उक्त खाता खोल्न सकिने व्यस्था रहेको बैंकले जानकारी दिएको छ ।

प्रभु बैंकको चेतना बचत खाता सञ्चालनमा, वार्षिक ५ प्रतिशत व्याज पाइने

काठमाडौं । प्रभु बैंकले “प्रभु चेतना बचत खाता” नामको नयाँ बैंक खाता सञ्चालनमा ल्याएको छ । नेपाल सरकारको “खोलौं बैंक खाता अभियान, २०७६” भन्ने नेपाल सरकारको अभियानलाई सफल रुपमा कार्यान्वयन गर्न प्रभु बैंकले उक्त खाता सञ्चालनमा ल्याएको हो । “प्रभु चेतना बचत खाता” खोलिने प्रत्येक खातामा बैंकको तर्फबाट एक सय रुपैयाँ जम्मा गरिदिने व्यवस्था रहेको छ । यस खातामा जम्मा हुने रकममा वार्षिक ५ प्रतिशतका दरले ब्याज प्राप्त हुनेछ । “प्रभु चेतना बचत खाता” अन्तर्गत खोलिने हरेक खातामा १ वर्षको लागि निशुल्क भिसा कार्ड तथा एसएमएस सेवा शुल्कमा ५० प्रतिशत छुट सुविधाको व्यवस्था रहेको छ । प्रभु बैंकले सञ्चालनमा ल्याएको प्रभु चेताना बचत खाताबाट नेपाल सरकारको यो अभियानको सफल कार्यान्वयन हुने तथा ग्राहकहरुले प्रभु चेतना बचत खाता खोली लाभ प्राप्त गर्न बैंकले विश्वास लिएको छ ।

सिराहाको मिर्चैयामा कामना सेवाकोे ८३औं शाखा

काठमाडौँ । कामना सेवाविकास बैंक लिमिटेडले सिराहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं.६ स्थित थानाचोकमा बुधबार आफ्नो ८३औँ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ । बैंकका संचालक देवकृष्ण काफ्ले तथा बैंकका प्रदेश नं. १ प्रमुख सुजन राई र प्रदेश नं.२ प्रमुख राकेश सिंहले नयाँवर्षको शुभकामना प्रदान गर्दै संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका थिए । उक्त कार्यक्रममा संचालक काफ्लेले बैंकको संक्षिप्त जानकारी गराउँदै नेपालमा व्यापार प्रवद्र्धनलाई अझ तीव्रताका साथ अघि बढाउन शाखा विस्तार गरेको जानकारी दिए ।

नबिलले बिहीबारदेखि १ अर्ब २० करोडको म्युचुअल फण्ड बिक्री गर्दै, एक हजारमै लगानी गर्न सकिने

काठमाडौं । नबिल बैंकको सहायक कम्पनी नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेड-नबिल इन्भेष्टले आगामी बिहीबार अर्थात बैशाख ५ गतेदेखि नबिल ब्यालेन्स फण्ड २ को इकाई बिक्री गर्ने भएको छ । नबिल इन्भेष्टले आफ्नो तेश्रो योजना नबिल ब्यालेन्स फण्ड २ को १० रुपैयाँ दरका १२ करोड इकाई सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो । इच्छुक लगानीकर्ता(व्यक्ति तथा संस्था)ले यस योजनामा न्युनतम एक हजारदेखि १२ करोड रुपैयाँसम्म लगानी गर्न सक्नेछन् । लगानीकर्ताले वैशाख ५ गतेदेखि छिटोमा वैशाख ९ गते भित्र आवेदन दिन सक्नेछन् । लगानीकर्ताहरुले अन्य धितोपत्र बिक्री गरेजस्तै गरी आफ्नो सी आश्वा खाता रहेको बैंक वा मेरो सेयरमा लगइन गरी अनलाईन आवेदन गर्न सक्ने छन् । यो एक बन्दमुखी योजना हो जसको आकार एक अर्ब २० करोड रुपैयाँ रहेको छ । जसको अवधि १० वर्षको रहेको छ । नबिल इन्भेष्टमेण्ट बैंकिंगले यस अघि नबिल ब्यालेन्स फण्ड १ र नबिल इक्विटी फण्ड सञ्चालनमा ल्याइसकेको छ । नबिल ब्यालेन्स फण्ड २को मूख्य उद्देश्य प्रचलित सामूहिक लगानी कोष नियमावली एवं निर्देशिकाको अधिनमा रही इकाई बिक्रीबाट उठेको वा संकलन भएको रकमलाई विविध क्षेत्र र उपकरणहरुमा जोखिम न्युनीकरण गर्दै लगानी गरी सोबाट आर्जन भएको मुनाफा इकाई धनीहरुलाई वितरण गर्नु रहेको संस्थाले जनाएको छ । त्यस्तै, योजनाको इकाईहरु नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत गरी कारोबार र तरलताको व्यवस्था मिलाईने छ । जस अनुरुप अन्य प्रकारका धितोपत्र सरह योजनाको अवधिसम्म इकाईहरु दोश्रो बजारमा खरिद बिक्री गर्न सकिने छ । साथै, नबिल बैंक तथा नबिल इन्भेष्टले बीज पुँजीको रुपमा योजनाको १५ प्रतिशत रकम लगानी गर्ने निर्णय गरिसकेको छ ।

सुजुकी फोर व्हीलरको तेश्रो पुस्ताको नयाँ वागेन आर सार्वजनिक

काठमाडौँ । नारायणी अटो बिजिनेस बालकुमारीमा सुजुकी फोर व्हीलरको तेश्रो पुस्ताको नयाँ वागेन आर सार्वजनिक गरिएको छ ।  नयाँ ठूलो वागन आरको बोल्ड डिजाइनले ग्राहकलाई सहजै प्रभावित पार्नेछ । नयाँ वागन आरमा बलियो, आकर्षक वस्नको लागि धेरै ठाउँ, स्मार्ट प्ले स्टुडियो र प्लाट फर्म जस्ता विशेषताहरु भएको नारायणी अटो बिजिनेस बालकुमारीका प्रबन्ध निर्देशक अनुप बरालले बताए । १.० एल तथा नयाँ ठूलो वागन आरमा शक्तिशाली १.२ एलको इञ्जिन रहेको छ । यसले २१.५ किमि प्रतिलिटर तथा २२.५ किमि प्रतिलिटर यात्रा गर्न सकिन्छ । नेपाली बजारमा १.२ भीएक्सआई को २४ लाख ९९ हजार, १.२ भीएक्सआईको २६ लाख ९९ हजार र १.२ जेडएक्सआई २७ लाख ९९ हजार रहेको छ । नारायणी अटो बिजिनेश सीजी मोटोकर्प ललितपुरको आधिकारिक बिक्रेता हो ।

मेलम्चीको हाकिमलाई एक करोड पुरस्कार दिनुपर्छ

काठमाडौं । खानेपानी मन्त्रालयका पूर्व सचिव भिम प्रसाद उपाध्यायले मेलम्चीको पानी एक बर्षभित्र काठमाडौं ल्याउनेलाई एक करोड पुरस्कार दिनुपर्ने प्रस्ताव गरेका छन् । ‘अब समय खेर नफाली मेलम्चीको पानी आगामी १ वर्षमा काठमाण्डौमा खसाल्न सक्ने बाचाका साथ जिम्मा लिनसक्ने व्यक्तिलाई मेलम्ची परियोजना प्रमूखको जिम्मा दिने र त्यसबापत उसलाई महिनाको रू ५ लाख तलब र १ वर्षमा पानी खसालेमा रू १ करोड एकमुष्ठ पुरस्कार दिने सरकारले घोषणा गरेर काम थाल्नु पर्छ ।’ उनले भने । त्यसो गर्न नसकिए मेलम्ची एकादेशको कथा बन्न सक्ने आंशका पनि उनले व्यक्त गरे । खानेपानी मन्त्रालयको सचिवको जिम्मेवारी सम्हाल्दा देखि नै मेलम्ची खानेपानी आयोजनालाई नजिकबाट नियालेका सचिव उपाध्यायले मेलम्ची बिकास समिति गठन आदेश तुरून्त संसोधन गरेर मन्त्रीलाई नै त्यसको अध्यक्षता गराएर प्रशासनिक मात्र हैन राजनीतिक नेतृत्व तहमा पनि यो परियोजनाको जिम्मेवार हुने व्यवस्था गर्नुपर्ने आवश्यकता पनि औल्याएका छन् । सबै कामको जवाफदेहीता कर्मचारीले मात्रै लिनुपर्ने हालको कानुनले मेलम्चीमा कर्मचारीले मात्र जोखिम नलिने, कुनै जिम्मा लिनु नपर्ने मन्त्री वा प्रमले यो गर र उ गर भन्दै निर्देशन गर्दैमा आफूमात्र फसिने भयले कर्मचारीको नेतृत्वले नयॉ पहल वा साहस गरेर मेलम्ची आयोजना पूरा हुने कुनै संभावना नरहेको पनि उनले ठोकुवा गरेका छन् । उनले अघि भनेका छन्मे-‘लम्चीको नेतृत्व र जिम्मा अब कानुनन् प्रम वा मन्त्रीले कुनै न कुनै ढंगमा लिनैपर्छ। मेलम्चीलाई गन्तव्यमा पुर्याउन कर्मचारीमा जोखिम लिएर अख्तियार धाउदै जिवन बिताउने त्यो दम हुदैन, छैन र देखिदैन ।’

कैलालीको बलियामा जनता बैंकको नयाँ शाखा

काठमाडौँ । जनता बैंक नेपाल लिमिटेडको कारोवार विस्तारको क्रममा कैलालीको लम्कीचुहा नगरपालिका वडा नं. ४, बलिया शाखाबाट कारोवार शुभारम्भ गरिएको छ । बुधबार आज एक समारोहका बीच सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहोराले बलिया शाखाको उद्घाटन गरे । उद्घाटन कार्यक्रमलाई सम्बोधनगर्दै सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बोहोराले जनता बैंकको स्थापनाले यस क्षेत्रका जनताको जीवनस्तर उठाउन महत्वपूर्ण भूमिका रहने चर्चा गरे । बैंकका संचालक रामबहादुर भण्डारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री, लम्कीचुहा नगरपालिकाको उपप्रमुख टिका थापा, लम्कीचुहा उद्योग बाणिज्य संघका अध्यक्ष पदम चौलागाईंले सम्बोधन गरेका थिए । कार्यक्रममा लम्कीचुहा नपा वडा नं. ४ का वडा अध्यक्ष लालबहादुर बोगटी, वडा नं. ८ का अध्यक्ष पूर्ण विष्ट, लम्की बहुमुखी क्याम्पसका क्याम्पस प्रमुखसरोज शाह, बैंकका नेपालगञ्ज क्षेत्रीय प्रमुख ध्रुबकुमार पौडेल, उपप्रमुख मुकुन्दप्रसाद भट्ट र बलिया शाखाका प्रबन्धक चिरन्जिबी रावलको पनि उपस्थिति रहेको थियो । बलिया स्थित शाखा र एटिएम समेतबाट एकै साथ कारोबार संचालनमा आएको छ । शाखा उद्घाटनको अबसरमा सोही स्थानमा बैंकको आयोजना र धनगढी नेत्रालय आँखा अस्पतालको प्राविधिक सहकार्यमा निःशुल्क आँखा शिविर पनि आयोजना गरिएको थियो । १ हजार जनाभन्दा बढीको आँखा परिक्षण गरिएको बैंकले जनाएको छ ।