सिद्धार्थ बैंकद्वारा बारा–पर्साका हावाहुरी प्रभावितहरुलाई सहयोग
काठमाडौँ । सिद्धार्थ बैंकले गत महिना गएको विनाशकारी हावाहुरीबाट प्रभावित बारा र पर्साका हावाहुरी पिडित जनताका लागि सहयोग स्वरुप विभिन्न सामाग्रीहरु प्रदान गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बारा जिल्लाको स्वर्न गाउँपालिका वडा नंं ४ स्थित हर्दिया क्षेत्रका प्रभावित वासिन्दाहरुलाई बैंकले बेडसिट, म्याट्रेस तथा सोलारद्वारा चार्ज गर्न मिल्ने टर्चलाइट जस्ता आवश्यक सामाग्रीहरु वितरण गरको छ । उक्त सामान जिल्ला समन्वय समितिका अध्यक्ष नवलकिशोरप्रसाद सिंह तथा सिद्धार्थ बैंकका प्रदेश नं २ का प्रमुख प्रविन ढुङ्गेलद्वारा संयुक्त रुपमा वितरण गरिएको हो ।
टिभीएस मोटरसाइकल तथा स्कूटरका डिलरहरुको भेला
काठमाडौं, नेपालका लागि टिभीएस मोटरसाइकल तथा स्कूटरको एकमात्र आधिकारिक वितरक जगदम्बामोटर्स प्रालिले हालै देशभरका डिलरहरुको भेला सम्पन्न भएको छ । १ घर १ टिभीएस नारा दिइएको उक्त भेलामा टिभीएस मोटरसाइकल तथा स्कूटरहरुको देशभरका ९८ डिलरहरुको सहभागीता रहेको थियो । यही वैशाख ४ देखि वैशाख ९ सम्म भैरहवा स्थित टाइगर रिसोर्टमा आयोजना गरिएको उक्त भेलाको एकमात्र उद्देश्य १ घर १ टिभीएसको लक्ष्य प्राप्तीका लागि ग्राहकहरुलाई स्थानीय रुपमा गाऊँमा नै सेल्स सर्भिस र स्पेयर पार्टसमा उत्कृष्ट सेवाप्रदानगर्ने तथा जस्तोसुकै समस्याको समाधान २४ घण्टा भित्रमा गर्ने सम्बन्धमा डिलरहरुलाई अझ बढी संवेदनशील ढंङ्गका साथ अघि बढाउनु रहेको थियो । नेपालमा टिभीएस बाइक तथा स्कूटरहरुको लोकप्रियता दिनप्रतिदिन बढ्दो रहेको कम्पनीले जनाएको छ । गतवर्ष यसको बिक्री परिमाण ४० प्रतिशतका दरले वृद्धि भएको पाइएको छ । मेचीदेखि महाकालीसम्म फैलिएको बिक्रीवितरण सञ्जाल र बिक्री पछिको सजिलो सेवाले गर्दा ग्राहकहरु टिभीएसको सर्भिसबाट प्रभावितहुने गरेका छन् । यसप्रकार सहज र स्तरीय सेवा पु¥याएर टिभीएससँग ग्राहकको सम्बन्ध प्रगाढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका विभिन्न क्षेत्रका डिलरहरुलाई उक्त भेलामा उत्कृष्ट डिलरको सम्मानबाट पुरस्कृत पनि गरिएको थियो । भेलामा जगदम्बा मोटर्स प्रालिका अन्य प्रतिनिधिहरु लगायत विभिन्न प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
भूकम्पमा मृत्यु भएकाहरुको सम्झनामा गोर्खा इको प्यानलद्धारा दीप प्रज्वलन
काठमाडौं । निर्माण सामाग्रीमा हरित क्रान्ति भन्ने नाराका साथ गोर्खा इको प्यानलले २०७२ साल वैशाख १२ गते गएको भूकम्पमा मृत्यु भएका व्यक्तिहरुको चीर शान्तिको कामनासहित बिहीबार कर्पाेरेट अफिस मध्यपुर थिमि भक्तपुरमा दीप प्रज्वलन गरेको छ । भूकम्पमा परी मृत्यु भएका दिवंगत आत्माको चीर शान्तिको कामना गरी भूकम्प आएकै समय अर्थात ११ बजेर ५५ मिनेटमा मैनबती बाली दीप प्रज्वलन गरेको हो । कम्पनीका बजार प्रमुख सुरेश कवाँंको नेतृत्वमा कम्पनीमा कार्यरत इन्जिनियरलगायतका कर्मचारीहरुले एकएक वटा मैनतवी बालेर दीप प्रज्वलन गरेका हुन् । निर्माण सामाग्री उत्पादन कम्पनी भई सरोकार राख्ने कम्पनी भएकोले कार्यक्रम गरेको कम्पनीले जनाएको छ । गोर्खा इको प्यानल इटाको विकल्पमा बाहिरी तथा भित्री वालको रुपमा प्रयोग हुने निर्माण सामाग्री हो ।
लक्ष्मी बैंकको ६९ लाख कित्ता बोनस सूचिकृत
काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको ६९ लाख ८८ हजार ४१६ कित्ता बोनस सेयर सूचिकृत भएको छ । बैंकको बिहीबार मात्रै सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको हो ।
रघुराम विष्ट कृषि विकास बैंक संचालक समिति सदस्यमा नियुक्त
काठमाडौँ । कृषि बिकास बैंक लि. बैंक संचालक समिति सदस्यमा नेपाल सरकार कृषि तथा पशुपछी विकास मन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्ने गरी नेपाल सरकार (विभागीय मन्त्रिस्तरीय)को निर्णय अनुसारसहसचिव रघुराम विष्ट नियुक्ति भएका छन् । नवनियूक्त संचालक सदस्यलाई कृषि विकास बैंक लि. संचालक समिति अध्यक्ष क्षेत्रबहादुर सेंजुवालले बैंकको केन्द्रीय कार्यालय, रामशाहपथ काठमाडौमा बुधबार पद तथा गोपनियताको सपथ ग्रहण गराए । उक्त अवसरमा कृषि विकास बैंक लि. संचालक सदस्यहरु विष्णुप्रसाद नेपाल, डा. इन्दिरा श्रेष्ठ (मास्के),संजिव पौडेल, हरिप्रसाद पराजुली, विनोदकुमार गुरागाईँ, बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय, कम्पनी सचिव निर्मलप्रसाद उपाध्याय र बैंकका प्रवक्ता हिमलाल पौडेलको समेत उपस्थित रहेको थियो ।
ओमको मेरो बचत खातामा स्मार्ट कार्ड सित्तैमा, बैंकले १०० रुपैयाँ जम्मा गरिदिने
काठमाडौँ । ओम डेभलपमेन्ट बैंक लिमिटेडले मेरो बचत खाता सञ्चालनमा ल्याएको छ । खोलौं खाता अभियान २०७६ अन्तर्गत बैंकले बैंक खाता नभएका ग्राहकहरुले खोलेको खातामा बैंकको तर्फबाट १०० रुपैंया जम्मा गरिदिनुका साथै पोखरा महानगरपालिका भित्र खाता खोल्ने ग्राहकहरुलाई महानगरपालिका भित्र चल्ने बस तथा अन्य सेवाहरुमा प्रयोग हुने स्मार्ट कार्ड समेत निशुल्क प्रदान गर्ने बैंकले जनाएको छ । बैंकले खातामा निशुल्क चेक बुक, निशुल्क अन्तर शाखा कारोवार, निशुल्क बैंक स्टेटमेन्ट, निशुल्क आश्वा सेवा तथा कर्जामा पनि सहुलियतहरु प्रदान गर्ने जनाएको छ । बैंकले केहि दिन अघि पोखरा महानगरपालिका, स्थानीय बस ब्यवसायी समिती र एन क्लाउड प्रालिसंग स्मार्ट सिटी पोखरा कार्यक्रम अन्तर्गत महानगरमा चल्ने बसहरुमा स्मार्ट कार्ड राख्ने बिषयमा चारपक्षिय सम्झौता गरेको थियो । सम्झौता अन्तर्गत बैंकले बसहरुमा प्वाईट अफ सेल मेसिन जडान गरिदिने र ग्राहकहरुलाई निशुल्क स्मार्ट कार्ड बितरण गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारीले बताए ।
गर्मी मौसममा सिजीले बजारमा ल्यायो विभिन्न प्रकारका फ्यान र कुलरहरु
काठमाडौँ । बढ्दो गर्मी मौसमलाई मध्यनजर गरी सिजीले विभिन्न प्रकारका फ्यान र कुलरहरु बजारमा ल्याएको छ । फ्यानहरुमा सिलिङ, टेबल, स्टाण्ड र अलपर्पोज फ्यानहरु रहेका छन्, सिलिङ फ्यान विभिन्न स्वरुप र रंगहरुमा उपलब्ध छन्, यसको गति अरु फ्यानको तुलनामा एकदमै धेरै भएको कम्पनीले जनाएको छ । यसमा प्रयोग गरिएको ब्लेडहरु एकदमै आकर्षक डिजाईन र रंगहरुमा रहेका छन् । यो फ्यान चलाउँदा आवाजपनि केही नआउने भएकोले यसको माग एकदमै धेरै छ । त्यस्तै स्टाण्ड फ्यानमा पनि विभिन्न आकर्षक रंगहरु र डिजाईनमा उपलब्ध छन् । रिमोट पनिभएकोले यसलाई सजिलै चलाउन सकिने सिजीले जनाएको छ । टेबल, वाल र अल पर्पोज फ्यानहरुको पनि माग बढेको छ । एसीको आनन्द सस्तो दाममा लिन सिजीले विभिन्न मोडलका कुलरहरु पनि बजारमा ल्याएको छ । कुलरमा आईस च्याम्बर, पावरफुल मोटर, बढी क्षमताको पानी ट्याङ्की जस्ता अरुपनि धेरै विशेषताहरु रहेको कम्पनीले जनाएको छ ।
६० अंकले बढ्यो नेप्से परिसूचक, ५ अर्बको सेयर कारोबार
साताभरको नेप्से चार्ट काठमाडौं । सातामा नेप्से परिसूचक ६० अंकले उकालो लागेको छ । यस साताको पहिलो दिन १२३२.२६ अंकदेखि कारोबार शुरु भएको नेप्से अन्तिम दिन अर्थात बिहीबार १२९२.१२ अंकमा पुगेको हो । जुन गत बिहीबारको तुलनामा ५९.८६ अंक बढी हो । गत साताको तुलनामा नेप्से परिसूचकसँगै कारोबार रकममा पनि उत्कृष्ट सुधार भएको छ । यस साता नेप्सेमा करिब ५ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएका छन् । कुल ५ दिन कारोबार भएको बजारमा बिहीबार सबैभन्दा बढी सेयर कारोबार भएको छ । बिहीबार मात्रै कूल १७६ कम्पनीको एक अर्ब ३५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो अवधिमा अधिकांश वाणिज्य बैंकहरुको बढी कारोबार भएको छ । बिहीबार पनि उत्कृष्ट कारोबार गर्ने १० कम्पनी मध्ये ९ वटा वाणिज्य बैंक रहेको छन् । सबैभन्दा बढी नेपाल बैंकको १८ करोड ४१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । पछिल्लो समय ठूला बैंकहरु बिग मर्जरमा जाने हल्लाले सेयर बजारमा वाणिज्य बैंकहरुको बढी कारोबार भएको देखिन्छ । साथै, बजारमा स्थापित बैंकहरुको सेयर मूल्य प्रतिकित्ता २०० रुपैयाँ सस्तो भएकाले लगानीकर्ताहरु ती कम्पनीको सेयरमा आकर्षित भएका हुन् । नयाँ वर्ष लागेयता सेयर बजारमा पनि नयाँ उमंग छाएको छ । नयाँ वर्ष २०७६ साल शुरु भएपछि हालसम्ममा नेप्से १०८ अंकले बढेको छ । यस साता ६० अंकले बढेको नेप्से गत साता मात्रै ४८ अंकले बढेको थियो । दुई सातामा कुल ९ दिन कारोबार भएको बजारमा जम्मा एकदिन मात्रै नेप्से सामान्य अंकले घटेको थियो भने बाँकी ८ दिन निरन्तर दोहोरो अंकले उकालो लागेको छ । सेयर दुई हप्तासम्म निरन्तर बढ्नुले २०७६ साल सेयर बजारलाई एकदमै राम्रो देखिएको छ । जसले गर्दा २०७५ को अन्त्य तिर नेप्से निरन्तर ओरालो लागेर निराश भएका लगानीकर्ताहरुमा खुसी छाएको छ ।