विकासन्युज

मालपोत कार्यालयका सुब्बा बिरुद्ध घुस लिएको आरोपमा मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय सप्तरीका नायब सुब्बा वासुदेव मण्डलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । मोही जग्गाको बाँडफाँट गरी लगत कट्टा गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजुरीका आधारमा आयोगले मण्डललाई रु ४० हजार घुससहित पक्राउ गरेको थियो । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार आरोपी मण्डललाई बिगो असुल गरी कैद सजायको माग गर्दै मुद्दा दायर गरिएको छ । यस्तै आयोगले आजै सव डिभिजन वन कार्यालय, लाटीझोडा, मोरङका सहायक वन अधिकृत सल्लाउद्दिन अन्सारीविरुद्ध पनि आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ । रुख कटान सहमतिको सिफारिश गरिदिएबापत सेवाग्राहीसँग सहायक वन अधिकृत अन्सारीले रु ३५ हजार घुस लिएको आरोप लागेको छ । आयोगले बिगो असुल गरी कैद सजायको माग गरी विशेष अदालतमा मुद्दा दायर गरिएको जनाएको छ । यस्तै आयोगले मालपोत कार्यालय भैरहवाको तामेली शाखामा कार्यरत कार्यालय सहयोगी जोगेन्द्रप्रसाद चौधरीलाई घुस लिएको आरोपमा आज पक्राउ गरेको छ । एक सेवाग्राहीले निवेदनमार्फत सुकुम्बासी समस्या समाधान आयोगको निर्णय प्रतिलिपि माग गरेकामा सो सम्बन्धी मिसिल खोजी प्रतिलिपि उपलब्ध गराउने प्रयोजनका लागि चौधरीले रु २० हजार घुस मागेको आरोप लागेको छ । आरोपी चौधरीको थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ । यस्तै आयोगले यातायात व्यवस्था कार्यालय, महेन्द्रनगरका तत्कालीन निमित्त कार्यालय प्रमुख एवं परीक्षा समितिका अध्यक्ष सीताराम खनाल, मेकानिकल इञ्जिनीयर एवं परीक्षा समितिका सदस्य योगेन्द्रप्रसाद गुप्ता र जिल्ला ट्राफिक प्रहरी कार्यालयका तत्कालीन प्रहरी निरीक्षक एवं परीक्षा समितिका सदस्य बाबुकाजी गिरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । मोटरसाइकल र स्कुटरको सवारीचालक अनुमतिपत्रको लिखित परीक्षामा तीन हजार २११ सम्मिलित भएको र प्रयोगात्मक परीक्षामा तीन हजार २६५ जना सहभागी भएकामा प्रयोगात्मक परीक्षामा असफल भएका परीक्षार्थीबाट रु पाँच हजारदेखि रु १५ हजार रकम असुल गरी चालक अनुमतिपत्र दिइ भ्रष्टाचार गरेको आरोप लागेको छ । प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण र अनुपस्थित भएका आठ परीक्षार्थीलाई उत्तीर्ण गराई सवारी चालक अनुमतिपत्र दिइ गैरकानूनी लाभ पु¥याउने नियत राखेको पुष्टि भएकाले आज विशेष अदालतमा मुद्दा दायर गरिएको आयोग प्रवक्ता कोइरालले जानकारी दिए । रासस

रसुवागढी, साञ्जेन र गणपतिको आईपीओ भर्ने समय सकियो, कतिले भरे सेयर ?

काठमाडौं । बिहीबार विभिन्न तीन कम्पनीको साधारण सेयर(आईपीओ)मा आवेदन दिने म्याद सकिएको छ । एकैदिन रसुवागढी जलविद्युत कम्पनी, साञ्जेन जलविद्युत कम्पनी र गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको साधारण सेयर भर्ने समय सकिएको हो । सो मध्ये रसुवागढी जलविद्युत कम्पनी लिमिटेडको आईपीओमा एक अर्ब ७१ करोड ४३ लाख २६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार बिहीबार साँझ ५ बजेसम्म तीन लाख दुई हजार ६२९ जनाले कुल एक करोड ७१ लाख ४३ हजार २६० कित्ता सेयरको लागि माग गरेका हुन् । रसुवागढीले कुल १ करोड २ लाख ६३ हजार १५० कित्ता साधारण सेयर मध्ये ९३ लाख ३९ हजार ४६७ कित्ता सेयर सर्वसाधारमा बिक्री गरेको थियो । त्यस्तै, साञ्जेन जलविद्युत कम्पनीको आईपीओमा एक अर्ब ४१ करोड ३२ लाख ८४ हजार रुपैयाँ बराबरको सेयर माग गरेका छन् । उक्त आईपीओमा कुल ३ लाख ४ हजार ६९ जनाले एक करोड ४१ लाख ३२ हजार ८४० कित्ता सेयर माग गरेका बिक्री प्रबन्धक लगानीकोषले जनाएको छ । साञ्जेनको ५४ लाख ७५ हजार कित्तामध्ये ४९ लाख ८२ हजार २५० कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरेको थियो । बाँकी रहेको २ लाख ७३ हजार ७५० कित्ता म्युचुअल फण्ड र २ लाख १९ हजार कित्ता सेयर कर्मचारीलाई छुट्याएको थियो । जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत समावेश भएका यी दुबै जलविद्युत् आयोजनाहरुले गत वैशाख ६ गतेदेखि साधारण सेयर बिक्री गरेका थिए । मागभन्दा बढी आवेदन परेपछि छिटोमा मंगलबार बन्द हुनुपर्ने यी दुबै कम्पनीको सेयर भर्ने समय थप दुई दिन थपिएको थियो । मेरो सेयरबाट आवेदन दिँदा सीडीएससीको सफ्टवेयरमा समस्या आएका कारण नेपाल धितोपत्र बोर्डले उक्त कम्पनीको सेयरमा आवेदन दिने म्याद थप गर्न निर्देशन दिएको थियो । सोही अनुसार यी दुई कम्पनीको बिहीबारसम्म सेयर बिक्री खुला भएको हो । त्यस्तै, गणपति माइक्रोफाइनान्सको आईपीओमा कूल ६७ करोड ४७ लाख ९३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । आइपीओ निश्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलका अनुसार लघुवित्तको आईपीओमा ३ लाख २८ हजार ९६५ जनाले ६७ लाख ४७ हजार ९३० कित्ताको सेयर माग गरेका हुन् । संस्थाले बैशाख ९ गतेदेखि अंकित मूल्य १०० रुपैयाँको दरले ३ लाख १३ हजार ७५ कित्ता सेयर सर्वसाधारणमा बिक्री गरेको थियो । कम्पनीले कूल ३ लाख ३५ हजार साधारण सेयर निष्काशन गरेको थियो । त्यसमा कर्मचारीलाई ५ हजार १७५ कित्ता र म्युचुअल फण्डलाई १६ हजार ७५० कित्ता छुट्याइ बाँकी रहेको सेयर सर्वसाधारणमा बिक्री गरेको हो ।

एनआईसी एशियाको शाखा संख्या २८१ पुग्यो, ३ नयाँ शाखा थपिए

काठमाडौँ । एनआईसी एशिया बैंकले काठमाडौं उपत्यका भित्र दुई र पर्सा जिल्लाको जगरनाथपुुुरमा १ गरी ३ नयाँ शाखा कार्यालय बिस्तार गरेको छ । मध्यपुर ठिमी नगरपालिका वडा नं. ५ भक्तपुर स्थित राधेराधे शाखा कार्यालयको सोहि वडाका वडाअध्यक्ष अमृतमान श्रेष्ठबाट, चाँगुनारायण नगरपालिका वडा नं २ दुवाकोट, भक्तपुर स्थित दुवाकोट शाखाको सोहि वडाका वडा अध्यक्ष शिवहरि केसीबाट तथा पर्सा जिल्लाको जगरनाथपुुुर गाउँपालिका वडा नं.४ पर्सा स्थित जगरनाथपुुुर शाखाको जगरनाथपुुुर गाउँपालिका अध्यक्ष जालिम मियाँले विहीबार उद्घाटन गरे । यी नयाँ शाखा बिस्तारसँगै एनआइसीको शाखा संख्या २८१ पुगेको छ ।

विश्व मलेरिया दिवस : डडेल्धुरामा औलोको जोखिम, भारतबाट फर्कने मानिसहरुमा औलोको सङ्क्रमण बढी

काठमाडौं। चालू आर्थिक वर्षको हालसम्म डडेल्धुरामा औलोका आठ बिरामी भेटिएको छ। डडेल्धुरासँगै पहाडी जिल्ला डोटी अछाम, दार्चुला, बैतडी, बझाङसमेत औलोको जोखिममा रहेको बिहीबार जिल्ला जनस्वास्थ्य कार्यालयले आयोजना गरेको पत्रकारसँगको अन्तर्क्रियामा सराेकारवालाले यस्ताे बताएका हुन्। २५ तारिख अर्थात् विश्व औलो दिवसकाे अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालयले कार्यक्रममा भारतबाट मौसमी कामको लागि ओहरदोहर गर्ने मानिसहरु सबैभन्दा बढी औलोको सङ्क्रमण भेटिएको बताएका छन्। खुला बोर्डर, सजिलो सवारीसाधनको कारण पनि औलो बिरामीको संख्यामा कमि नआएको तथ्याङकले देखाएको छ। त्यस्तै सुदूरपश्चिम प्रदेशका ३१ वटा वडा औलोको उच्च जोखिमा छन् भने ९१ वडा मध्यम जोखिममा रहेको तथ्याङ्कले देखाएको छ। लामखुट्टेको टोकाइबाट लाग्ने रोग औलो अथवा मलेरिया मानिस तथा जनवारमा प्लाज्मोडियम समूहका प्रोटोजोआ परजीवीका कारण लाग्ने गर्दछ। लामखुट्टेले टोकेर परजीवी शरीरमा प्रवेश गर्यो भने त्यसको १० देखि १५ दिनमा यसको लक्षणहरू देखिन सुरु हुन्छ। प्लाज्मोडियम भाइभ्याक्स, प्लाज्मोडियम ओभल र प्लाज्मोडियम मलेरिआईले साधारणतया मन्द खालको औलोको सक्रमण गराउँछन्। त्यस्तै, अर्को प्रजाति प्लाज्मोडियम नोलेसीले मानिसमा रोगको सक्रमण बिरलै गराउने गरेको पाइन्छ। समयमा उपचार गरे औलो रोगबाट बच्न तथा बचाउन सकिने चिकित्सक बताउँछन्।

एनसेल र ठूला करदाता कार्यालयलाई सर्वोच्चको आदेश, ‘बैशाख २४ गते छलफलमा आउनूँ’

काठमाडौँ । सर्वोच्च अदालतले ठूला करदाता कार्यालयसँग एनसेलको पूँजीगत लाभकर बारे लिखित जवाफ माग्दै बैशाख २४ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ । ७ दिनभित्र लाभकर बुझाउन ठूला करदाता कार्यालयले एनसेललाई पत्र काटेपछि समय सकिन १ दिन अघि सोमबार एनसेलले सर्वोच्चमा रिट दायर गरेको थियो । सो रिटमा विहीबार सर्वोच्चले करदाता कार्यालयले काटेको पत्र तत्काल कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको हो । ठूला करदाता कार्यालयले ६२ अर्ब ३६ करोड ४९ लाख ७५ हजार ५६६ रुपैयाँ लाभकर निर्धारण गर्दै बाँकी ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रुपैयाँ सात दिन भित्र तिर्न बैशाख ३ गत पत्र काटेको थियो । एनसेलले १४ अर्ब ३६ करोड ५३ लाख ७० हजार ६०० मात्र लाभकर तिर्न बाँकी रहेको दाबी सहित सर्वोच्चमा रिट दायर गरेको थियो ।

सिटिजन्स बैंकले वार्षिकोत्सवको अवसरमा ओपन टेनिस टुर्नामेन्ट आयोजना गर्ने

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बाह्र वर्ष पूरा गरी तेह्रौँ वर्षमा प्रवेश गरेको अवसरमा सातौँ सिटिजन्स बैंक ओपन टेनिस टुर्नामेन्ट आयोजना गर्ने भएको छ । बैंकले काठमाडौँ जिल्ला लन टेनिस संघको सहकार्यमा बैशाख १६ गते देखि २१ गतेसम्म दशरथ रंगशाला तथा आर्मी अफिसर्स क्लबमा उक्त खेल संचालन गर्न लागेको हो । विभिन्न सात विधामा खेल सञ्चालन गर्न लागिएको कुरा काठमाडौँ जिल्ला टेनिस संघका अध्यक्ष मनोहरदास मुलले जानकारी दिए । खेलका विजेताहरूलाई कुल पाँच लाख तेह्र हजार पाँच सय बराबरको पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको छ । यस टुर्नामेन्टमा करिव १५० जना खेलाडीहरूको सहभागिता हुने संघले अपेक्षा लिएको छ ।

सेञ्चुरीको वार्षिक साधारणः ४.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठको अध्यक्षतामा बिहीबार आर्मी अफिसर्स क्लब, भद्रकालीमा साधारण सभा सम्पन्न भएको हो । साधारण सभाबाट सर्वसाधारण शेयरधनीहरुको तर्फबाट राजेशकुमार श्रेष्ठ, सुनिलकुमार न्यौपाने र अभिषेक बज्राचार्य तीन जना सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका छन् । साधारण सभाले शेयरधनीहरलाई हाल कायम रहेको चुक्ता पूंजीको २५ बराबरको बोनस शेयर र ४.५०५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यो बोनस शेयर जारी पश्चात बैंकको चुक्ता पूंजी ८ अर्ब ४१ करोड ५५ लाख पुगेको छ ।

बन्चरे डाँडामा ल्याण्डफिल निर्माण शुरु, २० वर्षसम्म फोहोर व्यवस्थापन गर्न सकिने

काठमाडौं । नुवाकोट र धादिङ्गको सिमाना पर्ने बन्चरे डाडामा ल्याण्डफिल साइट निर्माण शुरु भएको छ । बिहिबार शहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले साइटको शुभारम्भ गरे । हाल डम्पिङ साइट बनिरहेको सिस्डोल आलेटारमा फोहोर नअट्ने भएपछि बन्चरे डाँडामा ल्याण्डफिल निर्माणको काम सुरु गरेको हो । डम्पिङ साइट निर्माणका लागि सरकारले १७ सय रोपनी जग्गा व्यवस्थापन गरिसकेको छ । ल्याण्डफिल निर्माणको लागि कोसी न्यौपाने एण्ड लुम्बिनी जेभीलाई जिम्मा दिइएको छ । भ्याट बाहेक ३४ करोड रुपैंयाको लागतमा ल्यान्डफिल १ वर्षभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । ल्याण्डफिलमा उपत्यकाका तीन जिल्लाको फोहोरो २० वर्ष सम्म व्यवस्थापन गर्न सकिने शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले बताए । गेलालका अनुसार अबको केहि महिनाबाटै बन्चेरे डाडामा फोहोर व्यवस्थापनको कार्य सुरु हुनेछ । सिस्डोड आलेटारदेखि बन्चरे डाँडासम्म ३ किलोमिटर सडक निर्माण सडक विभागले गरेको हो । उपत्यकाको फोहोर व्यवस्थापनका लागि नेपवेस्ट कम्पनीसँग लगानी बोर्डको सम्झौता हुन नसक्दा तत्कालै फोहोर व्यवस्थापनको लागि बन्चरे डाँडा आवश्यक भएको हो । ल्याण्डफिलको उद्घाटन गर्दै मन्त्री राईले बन्चरे डाँडामा विगतमा जस्तो डम्पिङ साइट नबन्ने दाबी गरे । उनले यो वातावरणमैत्री ल्याण्फिल साइट बन्ने बताए । ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन सुरु भएपछि दैनिक बेलुका माटो हालेर पुर्ने र विभिन्न केमिकलहरुको प्रयोग गरिनेछ, मन्त्री राईले भने-हामी ल्याण्डफिल साइटलाई सकेसम्म वातावरण मैत्री बनाउने छौं । उपत्यकाको फोहोर व्यवस्थापनको लागि हाल लगानी बोर्ड र नेपवेस्ट कम्पनीबीच छलफल भैरहेको छ । प्रारम्भिक चरणमा छलफल भैसकेके पनि अन्तिम सम्झौता हुन बाँकी रहेको छ । यदि नेपवेस्ट कम्पनीले आलेटारमा प्लान्ट राखेर फोहोर व्यवस्थापन सुरु गर्यो भने ८० प्रतिशत फोहोर खपत प्लान्टले गर्नेछ । प्लान्टका लागि ७४ रोपनी जग्गा सरकारले कम्पनीलाई उपलब्ध गराउने छ । स्थानीय वासिन्दाले भने ल्याण्डफिल साइट बन्नेमामा आशंका व्यक्त गरेका छन् । आलेटार र सिस्डोलमा पनि पहिले प्रशोधन केन्द्र स्थापना गर्ने भनेर हालसम्म सरकारले फोहोर थुपारेको आरोप लगाए । स्थानीयवासी भिमसेन न्यौपानेले ल्याण्डफिल साइट वातावरणमैत्री नबन्दा जनमानसमा यसको ठूलो असर पर्ने बताए । न्यौपानेले विगतदेखि नै फोहोर प्रभावित क्षेत्रको वासिन्दाले विभन्न समस्या झेल्दै आएकोले अब बन्ने ल्याण्डफिल साइट प्रदुषण मैत्री हुनुपर्नेमा जोड दिए । नेपवेस्ट कम्पनीले यसरी गर्नेछ फोहोर व्यवस्थापन कम्पनीले कुल ६ अर्बको लगानीमा पहिलो चरणमा फोहोर संकलन प्रणालीमा सुधार, फोहोरमा काम गर्ने कामदारको व्यवस्थापन र प्राकृतिक ग्याँस उत्पादन गर्नेछ । दोस्रो चरणमा कम्पनीले फोहोर मैलाको प्रयोग गरी प्राङगारीक मल, बायोग्याँस र विद्युत उत्पादन गर्नेछ । कम्पनीले उपत्यकाको घर, उद्योगबाट निस्कने फोहोर संकलन  र मेडिकलबाट  निस्कने फोहोर छुट्याई उपयोग गर्नेछ । यसरी बचेको अन्तिम फोहोरलाई ल्याण्डफिल साइटमा बिर्सजन गर्नेछ ।