सनराइज बैंकले एकैसाथ खोल्यो ४ शाखारहित बैंकिङ्ग सेवा, हेरौँ कहाँ कहाँ ?
काठमाडौं । सनराइज बैंक लिमिटेडले एकैसाथ ४ वटा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ । बैंकले रुपन्देहीको पर्साहवा र मझौली, महोत्तरीको खयरमारा र सिराहाको रामपुर बजारमा शाखारहित बैंकिङ्ग सेवा विस्तार गरी शुरू गरेको हो । बैंकले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्धेश्यका साथ उक्त शाखा विस्तार गरेको हो । त्यस्तै, पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । यससँगै बैंकको कुल शाखारहित बैंकिङ्ग सेवा संख्या ३३ पुगेको छ । साथै, बैंकिङ्ग सेवा नपुगेका ग्रामीण क्षेत्रका जनतालाई शाखारहित बैंकिङ्ग सेवामार्फत बैंकिङ्ग सेवा उपलब्ध गराउँदै जाने लक्ष्य बैंकले लिएको छ ।
सुनसरीको पानवारीमा राष्ट्रिय बाणिज्य बैंकको शाखा बिस्तार
काठमाडौँ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले सुनसरी जिल्लाको धरान उपमहानगरपालिका वडा न. ६ स्थित राष्ट्रिय वाणिज्य बैक लिमिटेडको शाखा कार्यालय उद्घाटन गरेका छन् । यो समेत बैंकको शाखा कार्यालयको संख्या २१९ पुगेको छ । उक्त शाखाको कारोबार भने गत बैशाख ३० गतेबाट संचालन भएको थियो । सो समारोहमा प्रमुख अतिथि राईले प्रदेश नम्बर १ का दूरदराजमा राष्ट्रिय वाणिज्य बैंकले शाखा खोलेर जनतालाई बैंकिङ्ग सेवा दिन सबैभन्दा अगाडि हुनुपर्ने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले रावा बैंकले संघीय एवं प्रदेश सरकार संग समन्वयन गरी दिगो आर्थिक विकासको लागि शहरी तथा ग्रामिण क्षेत्रमा प्राथमिकताका साथ शाखा खोली वित्तीय पहुँच विस्तार गरिने वताए । बैंकका प्रदेश नम्बर १ का प्रमुख ऋषब भट्टराईको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्की, प्रदेश नम्बर १ सभाका प्रमुख प्रतिपक्ष दलका नेता माननीय राजिब कोइराला, धरान उपमहानगरपालिकाका कार्यबाहक प्रमुख मन्जु भण्डारी सुवेदी, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र साहले शुभकामना ब्यक्त गरेका थिए । उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंक संचालक समितिका सदस्यहरु जनककुमार बराल, विद्यावारिधि सिग्देल, अर्जुनबहादुर अधिकारी, विभागीय प्रमुख राज्य लक्ष्मी श्रेष्ठ लगायत स्थानीय राजनीतिक दलका प्रतिनिधि, उद्यमी व्यवसायीहरु लगायत कर्मचारीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा विभागीय प्रमुख राज्य लक्ष्मी श्रेष्ठले स्वागत मन्तब्य र उप प्रबन्धक जितेन्द्रसिंह थापाले कार्यक्रम संचालन गरेका थिए ।
ज्योति विकास बैंकबाट सानिमाको बीमा सेवा पाइने
काठमाडौँ । ज्योति विकास बैंक लिमिटेड र सानिमा जेनरल इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । बैंकको केन्द्रीय कार्यालय तथा देशभर रहेका शाखा कार्यालयहरु मार्फत उक्त इन्स्योरेन्स कम्पनी लिमिटेडको निर्जीवन बीमा योजनाहरु विक्री गर्ने एवम् अभिकर्ता तथा बीमीतहरुलाई छिटो, छरितो एवम् भरपर्दो सेवा पुर्याउने उद्देश्येले दुई संस्थाका बीच बैंकास्योरेन्स सम्झौता भएको बताइएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र इन्स्योरेन्स कम्पनीको तर्फबाट कम्पनीका नायव महाप्रबन्धक सुबोधलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
अजोड इन्स्योरेन्सले बनेपामा खोल्यो नयाँ शाखा
काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले बनेपामा नयाँ शाखा कार्यालय विस्तार गरी उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरन्जिवी चापागाईले गरेका हुन् । कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले संस्थाको परिचय, समग्र अवस्था, गतिविधि, भावी कार्य योजना तथा कम्पनीको समग्र अवस्थाका बारेमा जानकारी दिएका छन् । प्रधान कार्यालय सहित कम्पनीको हाल ३० वटा शाखा सञ्चालनमा रहेको छ । उक्त शाखा मार्फत कम्पनीले निर्जीवन बीमाका सम्पूर्ण सेवा सुबिधाहरु तथा दावी भुक्तानी प्रदान गरिरहेको छ ।
महोत्तरीमा एनआईसी एशिया बैंककोे शाखारहित बैंकिङ सेवा, प्रतिनिधिको रुपमा यादव नियुक्त
काठमाडौं । एनआईसी एशिया बैंकले जेठ १० गतेबाट महोत्तरी जिल्लाको रघुनाथपुरमा २८औं शाखारहित बैंकिङ सेवा संचालनमा ल्याइएको छ । यस शाखारहित बैंकिङ सेवाको उद्घाटन बर्दिबास उप–प्रादेशिक कार्यालयका प्रमुख विवेक बन्धु न्यौपानेले गरेका छन् । बैंकले उक्त शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा उमेशकुमार यादवलाई नियुक्त गरिएको छ । शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीयबासीले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत् बैंकिङ सेवा लिन सक्नेछन् । साथै, सो सेवाबाट बैंकिङ कारोबारको लागि स्थानीयबासीहरुलाई लामो दूरीसम्म हिंड्नुपर्ने बाध्यताको अन्त्य भई ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ कारोबारको विकास हुने विश्वास बैंकले लिएको छ । यस्तो सेवाबाट स्थानीयबासीहरुले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाइल, एडिएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने, स्वीकृत सिमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्नसक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सकिनेछ । बैंकले हाल २८३ शाखा कार्यालयहरु, २८९ एटिएम, ४१ वटा एक्स्टेन्सन काउण्टर एवं २८ वटा शाखारहित बैंकिङ ईकाईमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
काठमाडौँ विस्फोट अपडेट: दुईको मृत्यु, ६ घाइते
काठमाडौँ । काठमाडौँको दुई स्थानमा भएको विस्फोटमा परी आज दुई जनाको मृत्यु भएको छ । उक्त विफोटमा अन्य छ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए । “दुई ठाउँमा एक-एक जनाको मृत्यु भएको पुष्टि भएको छ, अन्य छ जना घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ, अहिले उद्धारमै खटिएकाले घटनाको कारण यकिन भइसकेको छैन”, प्रवक्ता पोखरेलले भने, “मृतकको पहिचान खुलेको छैन ।” सुकेधारा विस्फोटमा घाइते भएका पाँच जनालाई उपचारका लागि ओम अस्पतालमा लगिएको र घट्टेकुलोमा घाइते भएका एक जनालाई उपचारका लागि वीर अस्पताल लगिएको छ । साँझ करीब ५ बजेको आसपासमा काठमाडौँको सुकेधारास्थित ढलानी पुल र घट्टेकुलो नजीकै विस्फोट भएको महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख शैलेश थापा क्षेत्रीले जानकारी दिए । सुकेधारामा एक सैलुन पछाडि विस्फोट भएको र घट्टेकुलोमा भने घरमा विस्फोट भएको प्रहरीले जनाएको छ । “विस्फोट भएको छ, के विस्फोट भनेर यकिन भएको छैन”, थापाले भने । अहिले घटनास्थलमा प्रहरी परिचालन गरिएको छ । सुकेधारमा भने सिलिण्डर पड्किएको जानकारी आएकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ । रासस
विद्यार्थीलाई ५ लाखसम्म सहुलियतमा ऋण दिन सुरु: ६ प्रतिशत ब्याज, पढाई सकिएको ४ बर्षमा भुक्तानी
काठमाडौं । भक्तपुर नगरपालिकाले प्रति विद्यार्थी ५ लाखसम्म सहुलियत ब्याजदरमा ऋण दिन शुरु गरेको छ । आर्थिक कारणले कुनैपनि जेहेन्दार विद्यार्थीहरुले पढ्नबाट बन्चित हुनु नपरोस् भन्ने उद्देश्यले नगरपालिकाले यस्तो व्यवस्था शुरु गरेको नगरपालिकाका मेयर सुनिल प्रजापतिले बताए । नगरपालिकाले ऋण दिने सम्बन्धी ‘भक्तपुर नगरपालिका शैक्षिक ऋण निर्देशिका २०७५’ प्रकाशित गरेको छ। ६ प्रतिशत ब्याजमा भक्तपुर नगरपालिका भित्र स्थायी बस्ने गरीब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक ऋण दिइने छ। विद्यार्थीले आफु जेहेन्दार र गरीब भएको वडाबाट सिफारिस लिएर आउनुपर्ने र त्यसपछि नगरपालिकाले आफ्नो वार्षिक बजेटको सिमामा रहेर पहिलो आउनेलाई प्राथमिकता दिने बताएको छ। यसका लागि नगरपालिकाले ५ करोड बजेट छुट्याएको नगरपालिकाका सचिवालय प्रमुख दामोदर श्रीवास्तवले जानकारी दिए । ऋण माग गर्ने विद्यार्थीले कुन तहमा कुन बिषय लिएर अध्ययन गर्ने हो भन्ने कुरा प्रस्ट रुपमा खुलाउनु पर्नेछ । ऋण एसईई भन्दा माथि पिएचडीसम्म अध्ययन गर्ने विद्यार्थीले मात्र पाउने व्यवस्था रहेको छ । ऋण प्राप्त गरिसकेपछी विद्यार्थीले पढाई सिद्दद्धएको ४ बर्ष भित्रमा सबै पैसा फिर्ता गरिसक्नु पर्ने जसअन्तर्गत विद्यार्थीले पढाई सकिएको पहिलो बर्षमा २५ प्रतिशत, दोस्रो बर्षमा ५० प्रतिशत ऋण, तेस्रो बर्षमा ७५ प्रतिशत र चौथो बर्षमा सबै ऋण चुक्ता गरिसक्नु पर्नेछ। एक परिवारको एकजना सदस्यले मात्र ऋण पाउने छन् र ऋण एकमुस्ट तथा किस्ताबन्दीमा लिन सकिने छ । पढाई सकिएको ४ बर्षमा नबुझाए उनको सम्पत्तिहरु रोक्का गरिनुको साथै ५ प्रतिशत जरिवाना तिर्नुपर्नेछ । शैक्षिक ऋण प्रत्येक वडाको १० जनालाई मात्र दिईने छ । यसअनुसार १०० जना विद्यार्थीले पाँच-पाँच लाख ऋण पाउनेछन् ।
माथिल्लो तामाकोशीले डाक्यो ११औँ वार्षिक साधारणसभा, जेठ २१ गतेदेखि बुक क्लोज
काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले आगामी असार ११ गते आफ्नो ११औँ वार्षिक साधारणसभा डाकेको छ । उक्त सभा सो दिन बिहान ११ बजे कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्ने कम्पनीले जनाएको छ । सो प्रयोजनको लागि कम्पनीले आगामी जेठ २१ गतेदेखि असार ११ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । उक्त निर्णय जेठ ७ गते बसेको कम्पनीको संचालक समितिको बैठकले गरेको हो । साथै, आगामी जेठ २० गतेसम्म नेप्सेमा कारोबार गरी सेयर होल्डिङ गर्नेहरु साधारणसभामा सहभागि हुन पाउने छन् । यो वर्ष कम्पनीले आफ्ना सेयरधनीलाई बोनस वा नगद लाभांश केही पनि वितरण नगर्ने भएको छ । साथै, कम्पनीले आयोजना प्रभावित दोलखा जिल्ला स्थित विभिन्न सामाजिक संस्थाहरु लगायत अन्य संस्थाहरुलाई गत आवमा उपलब्ध गराइएको आर्थिक सहयोगको रकम अनुमोदन गर्ने विशेष प्रस्ताव गरेको छ ।