विकासन्युज

बीमा समितिले एक्चुरी नियुक्ति गर्न सकेन, ‘दुबै हातमा लड्डु खोजे’

काठमाडौ । पछिल्लो समय बीमा समितिलाई बीमाङ्कीय मूल्याङ्न गर्ने आफ्नै (एक्चुरी) बीमाङ्की नियुक्तीमा असहजता पैदा भएको छ । बीमा समितिले दिने भनेको सुविधा भन्दापनि अन्य जागिरतर्फ बढी आम्दानी हुने भएपछि एक्चुरी अन्यत्र आकर्षित हुने गरेका छन् । यसकारण एक्चुरी नियुक्तीमा सकस भएको हो । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले भने–‘हामीले नेपालको आफ्नै एक्चुरी राख्न हरसम्मत प्रयास गरिरेहका छौँ, तर एक्चुरीहरु भने अन्य जागिरपनि गरौँ भन्नुहुन्छ, यसरी दुवै हातमा लड्डु खोज्ने प्रवृत्तीका कारण सहमति जुटाउन गाह्रो भएको छ ।’ नेपालले हालसम्म भारतीय बीमाङ्की मार्फत जोखिम मुल्याङ्कन गराउँदै आएको छ । बीमा कम्पनीहरुले आफ्नो बीमाङ्कीय मुल्याङ्कन पश्चात बीमा समितिमा एक्चुरी भ्यालुएसन टेष्टको लागि पठाउने गर्छन् । तर, नियामक बीमा समितिमा समेत आफ्नो एक्चुरी नभएका कारण मूल्याङकनका लागि पुनः भारतमै पठाउनु पर्ने बाध्यता रहँदै आएको छ । एक्चुरीको लागि नेपाललाई भारत एक मात्र विकल्प रहेकाले बीमाङ्कीय मूल्याङ्कन गर्न लामो समय खर्चनु पर्छ । साथै, बीमाङ्कीय मूल्याङ्कनको शुल्क समेत महङ्गो छ । एक्चुरी भनेको के हो ? एक्चुरी भन्नाले बीमामा सम्पत्ति र दायित्वको मूल्याङ्कन गर्ने व्यक्ती हुन् । भविष्यमा आउने जोखिमको दायित्व निर्धारण गर्ने भएकाले एक्चुरीको छुट्टै महत्व छ । बीमा समितिले नेपालमै एक्चुरी पढ्ने वातावरण निर्माण गर्नु पर्ने बताउँदै आएको छ । हालसम्म सो विषय अध्ययनको लागि  भारत नै धाउनु पर्छ । एक्चुरी पढ्नको लागि करिब ४० लाख रुपैयाँ लाग्छ । ८ वर्षको अध्ययनपछि एक्चुरी बन्न सकिन्छ । ४ वर्ष डिप्लोमा र ४ वर्ष फेलोसिपको पढाई हुने गर्छ । एक्चुरीले जीवन बीमा क्षेत्रमा मात्र काम गर्छन् । तर, एक्चुरी अध्ययन गरेका व्यक्तीले बीमा क्षेत्रमा मात्र काम गर्नु पर्छ भन्ने छैन । एक्चुरीको अध्ययन पश्चात त्यस्ता व्यक्तीले विभिन्न कम्पनी, प्रोजेक्ट, कर्मचारी सञ्चय कोष लगायतका अन्य क्षेत्रमा समेत काम गर्न सक्छन् । यसरी बीमाको दायित्वका सवालमा एक्चुरी महत्वपूर्ण मानिन्छन् । जोखिमको बारेमा अग्रिम अध्ययन गर्ने तथा हिसाब किताबमा अब्बल हुने कारण एक्चुरीको माग अन्य संस्थामा पनि हुने गर्छ ।

५५ करोडको खानेपानी आयोजना उद्घाटन, ५५ हजार स्थानीयवासीको समस्या टर्यो

टीकापुर (कैलाली) । खानेपानी मन्त्री बिना मगरले कैलाली जिल्ला स्थित टीकापुर खानेपानी आयोजनाको आइतबार उद्घाटन गरेकी छिन् । एसियाली विकास बैंकको ऋण सहयोगमा संचालित कूल ५५ करोड ९२ हजार लागतको उक्त आयोजनाको खानेपानी मन्त्री मगरले उद्घाटन गरेकी हुन् । खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत तेस्रो साना सहरी खानेपानी तथा सरसफाइ आयोजना कार्यालयले सो आयोजना अगाडि बढाएको हो । टीकापुर खानेपानी आयोजनाबाट ५५ हजार ७ सय ५० जनसंख्या लाभान्वित हुनेछन् भने ८ हजार ४ सय १३ घरधुरीले खानेपानी प्रयोग गर्नेछन् । उक्त आयोजनाको काम निर्धारित समय २ वर्ष भित्रै सम्पन्न भएको हो । आयोजनाको उद्घाटन गर्दै खानेपानी मन्त्री मगरले टीकपुरजस्तै देश भरका अन्य नगरपालिका र गाउँपालिकाहरुमा समेत खानेपानी आपूर्ति गर्न मन्त्रालयले गुरुयोजना बनाउन लागेको बताइन् । उनले शतप्रतिशत जनसंख्यालाई आधारभूत स्तरको खानेपानी सेवा पुर्याउन सरकार गम्भीर रहेकोे स्पष्ट पारिन् । जनतालाई प्रशोधित स्वच्छ खानेपानीको सेवा पुर्याउने र ढल व्यवस्थापन गर्ने योजनामा मन्त्रालय प्रतिबद्ध रहेको मन्त्री मगरको भनार्इ छ । विभागका महानिर्देशक सुनिलकुमार दासले आधारभूत खानेपानीको पहुँच पुर्याउने कार्यमा उपभोक्ता समितिहरुसंग सधैं सहकार्य गर्न विभाग तयार रहेको बताइन् ।

सहकारी संस्थामै २५ करोड अपचलन, बैंकिङ कार्यालय बन्द, बचतकर्ताको बिचल्ली

बाँके । नेपालगञ्जस्थित सहकारी वित्तीय संस्था लिमिटेडमा रु २५ करोडभन्दा बढी अपचलन भएको छ । सहकारी वित्तीय संस्थामा कार्यरत केही कर्मचारीबाट ठूलो परिमाणमा रकम अपचलन भएको संस्थाको सञ्चालक समितिले जनाएको छ । ग्राहकको करीब रु ५२ करोड मौज्दात जम्मा गरेको संस्थामा रु २५ करोड अपचलन हुँदा बचतकर्ताले जम्मा गरेको रकम निकाल्न पाएका छैनन् । बचतकर्तालाई दिने रकम नभएपछि आइतबारदेखि संस्थाको बोर्ड बैठकले बैंकिङ कार्यालय नै बन्द गरेको छ । बचत रकम झिक्न नपाएपछि ग्राहकले आइतबार जिल्ला प्रशासन कार्यालयमा पुगेर आफ्नो बचत फिर्ता गराइदिन जिल्ला प्रशासन कार्यालय बाँकेमा निवेदन दिएका छन् । सहकारी वित्तीय संस्था लिमिटेडमा एउटै व्यक्तिको रु ३० लाखसम्म बचत रहेको छ । बचतकर्ता अशोककुमार ठटेरले आफूले मेहनत गरेर दुई वर्ष लगाएर बचत गरेको रु दुई लाख झिक्न नपाएको गुनासो गरे । ठटेरले भने, “शुक्रबार जाँदा आइतबार आउन भने, आइतबार जाँदा बैंकमै ताला लागेको थियो । अब हाम्रो पैसा दिने ग्यारेन्टी कसले गर्छ ?” त्यस्तै १५ वर्षदेखि रकम जम्मा गर्दै आएकी चाँदआरा दर्जीले पनि आफ्नो करीब रु १४ लाख बचत रहेको बताइन् । उनले भनिन्, “हामी त आफ्नै घरजस्तो मान्थ्यौँ । पैसा झिक्न आएको त बैंकमा पैसा नै छैन । जहिले आए पनि आज आउ, भोलि आउ मात्र भन्थे । अहिले त सबै कर्मचारी नै भागेको भन्ने सुनेँ । हामी समस्यामा परेका छौँ ।” सहकारी वित्तीय संस्था लिमिटेड सञ्चालक समितिका अध्यक्ष हरदेव बक्स चौधरीले चाँडै नै ग्राहकलाई आंशिक भुक्तानी भए पनि दिने तयारी भइरहेको बताइन् । अपचलन गर्ने कर्मचारीको पहिचान भइसकेको र उनीहरुले रकम तिर्ने कबुलियत गरेको पनि सञ्चालक समिति अध्यक्ष चौधरीको भनाइ छ । उनले अपचलनमा संलग्नता स्वीकारेका कर्मचारीविरुद्ध प्रहरीमा जाहेरी दिइएको पनि बताउनुभयो तर कुन, कुन कर्मचारीले रकम अपचलन गरेका हुन् भन्नेबारे भने अध्यक्ष चौधरीले खुलाउनुभएन । को–को संलग्न छन् भन्ने थप अनुसन्धान गरेपछि स्पष्ट हुने उनको भनाइ थियो । कर्मचारीबाट अपचलन भएको संस्थाको रकम र सोसम्बन्धी पूर्ण अध्ययन गर्न अझै कम्तीमा १५ दिन लाग्ने भन्दै सञ्चालक समितिको शनिबारको बोर्ड बैठकले २६ गतेसम्म बैंकिङ कारोवार स्थगन गर्ने निर्णय गरेको छ । संस्थाले ग्राहकको रकम संस्थामा सुनिश्चित रहेको र संस्थाको आन्तरिक हिसाब छिट्टै मिलान गरी संस्था नियमित सञ्चालन गर्ने प्रतिबद्धता पनि जनाएको छ । सञ्चालक समितिका अध्यक्ष चौधरीलाई बचतकर्ताको उजुरीपछि प्रहरीले नियन्त्रणमा लिएको छ । अपचलनमा संलग्न भनिएका कर्मचारीको खोजी भइरहेको र सञ्चालक समितिका सदस्यलाई बोलाएर घटनाबारे बुझ्ने तयारी भइरहेको पनि बाँकेका प्रहरी प्रमुख अरुण पौडेलले जानकारी दिए । २०५१ सालमा स्थापना भएको यो सहकारी वित्तीय संस्था लिमिटेडका तीन हजारभन्दा बढी ग्राहक छन् । रासस

नयाँ सहर बसाउनेमा अधिकारक्षेत्र विवाद, बैठकमा जनप्रतिनिधि सहभागी भएनन् 

काठमाडौँ । उपत्यका विकास प्राधिकरण र स्थानीय तहको विवादले नयाँ सहर बसाउने योजना अनिश्चित बनेको छ । नयाँ सहरले काठमाडौं र भक्तपुरका ५ नगरपालिका समेट्छ । जग्गा एकीकरणको मोडेलमा नयाँ सहर निर्माण हुन थालेको हो तर प्राधिकरण र स्थानीय तहका बीच बढ्दो विवादले यो अनिश्चित बनेको हो । प्रत्येक स्थानीय तहमा रहने व्यवस्थापन समितिको गठनसमेत हुन सकेको छैन । ती दुई जिल्लाका गरी कम जनसंख्या र तुलनात्मक रूपले कम बस्ती रहेको क्षेत्र यसमा समावेश हुनेछ । यसमा भक्तपुरका मध्यपुर ठिमी, चाँगुनारायण र भक्तपुर नगरपालिका पर्छन् । काठमाडौं जिल्लाको शंखरापुर र कागेश्वरी मनोहरा नगरपालिका यसभित्र पर्छन् तर अधिकारक्षेत्र विवादले निर्माण अन्योलमा परेको छ । यस सम्बन्धमा छलफल गर्न बोलाइएको बैठकमा समेत जनप्रतिनिधि सहभागी भएनन् । उनीहरूले प्राधिकरणअन्तर्गतको कुनै पनि बैठकमा सहभागी नहुने र बहिष्कार गर्ने नीति लिएको जनाएका छन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

लोकसेवाले माग्दैछ १५ हजार कर्मचारी, बुधबार विज्ञापन खुल्ने

काठमाडौँ । लोकसेवा आयोगले यसै साता स्थानीय तहका लागि आवश्यक करिब १५ हजार कर्मचारी भर्ना गर्न आवेदन खुलाउने भएको छ । ५५५ स्थानीय तहमा रिक्त रहेका १४ हजार ६६२ पदका लागि जेठ १५ गते बुधबार खुला प्रतिस्पर्धाबाट पूर्ति गर्ने गरी विज्ञापन गर्ने लागिएको हो । आयोगले एकैपटक यति धेरै पदमा पदपूर्ति गर्न लागेको यो पहिलो पटक हो । यस अघि भने यत्तिका पदमा आयोगले पदपूर्ति गर्दा न्यूनतम पनि एक वर्ष लाग्ने गरेको थियो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका लागि ती पदको पूर्तिका लागि यसअघि नै आयोगलाई सिफारिस गरिसकेको छ । आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले सरकारले गरेको सिफारिस अनुसार प्रशासन र प्राविधिक पदका चौथो, पाँचौ, छैटौँ र नवौं तहमा विज्ञापन गर्न लागिएको बताए । आयोगले एक पेपर मात्र परीक्षा दिनुपर्ने पदका लागि तीन महिनामा र चार पेपर परीक्षा दिनुपर्ने पदका लागि पाँच महिनामा उम्मेदवार छनोट गरी मन्त्रालयलाई सिफारिस गर्ने गरी काम भइरहेको छ । उनले भने, “सरकारको आग्रहलाई स्वीकार गर्दै छोटो समयमा आयोगले पदपूर्ति गर्न लागिए पनि ‘मेरिट’ र गुणस्तरमा कुनै सम्झौता हुँदैन ।” आयोगले स्थानीय तहका लागि उक्त पदपूर्ति गर्न जोडतोडले काम गरिरहेको छ । जति पे्रसर परे पनि आयोगले उक्त काम पूरा गर्ने गरी काम गरिरहेको उनले बताए । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उक्त पदपूर्तिका लागि शुक्रवार लोक सेवा आयोगलाई सिफारिस गरेको थियो । स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहका कर्मचारीको पदपूर्ति प्रदेश लोकसेवा आयोगबाट गरिने उल्लेख भएपनि अहिले प्रदेश लोकसेवा आयोग गठन नभइसकेकाले मन्त्रालयले उक्त पदमा विज्ञान गर्न लोक सेवा आयोग केन्द्रीय कार्यालयलाई आग्रह गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले दुई महिनाअघिदेखि ७५३ वटै स्थानीय तहसँग रिक्त रहेको पद सङ्ख्या माग गरे पनि ५५५ स्थानीय तहले मात्र पद पूर्तिका लागि मन्त्रालयलाई पत्र पठाएका थिए । उक्त सबै पद स्थानीय तहका नै भएकाले लोकसेवा आयोगबाट सिफारिस भएका सबै उम्मेदवारले स्थानीय तहमा नै गएर काम गर्नुपर्नेछ । कर्मचारी समायोजन पश्चात स्थानीय तहमा ठूलो सङ्ख्यामा दरबन्दी रिक्त रहेकाले उक्त दरबन्दी यसै वर्ष पूर्ति गर्न मन्त्रालयले विज्ञापनका लागि लोकसेवा आयोगलाई आग्रह गरेको मन्त्रालयका प्रवक्ता भूपाल बरालले बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

बजेट तयारीः वृद्धभत्ता पाँच सय र तलब २० प्रतिशतसम्म बढ्ने

काठमाडौंं । नेकपा नेतृत्वको सरकारले पार्टीको चुनावी घोषणापत्रमा गरेको वाचाअनुसार आगामी वर्षको बजेटमार्फत सामाजिक सुरक्षाभत्ता कम्तीमा पाँच सय रुपैयाँ बढाउने तयारी गरेको छ। नेकपाले प्रतिनिधिसभासहित तीन तहको निर्वाचनका बेला जनतामाझ लगेको घोषणापत्रमा सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्याउने भनेको थियो। यो घोषणाले चुनावमा बहुमत ल्याउन नेकपालाई सहयोग पुगेको चर्चा चले पनि गत वर्षको बजेटमा भत्ता नबढाउँदा सरकारको आलोचना भएको थियो । नेकपाका अध्यक्षद्वयमध्ये एक पुष्पकमल दाहाललेसमेत भत्ता नबढाएकोमा अर्थमन्त्री युवराज खतिवडाको आलोचना गरेका थिए । अर्थमन्त्री युवराज खतिवडा भत्ता र तलब दुवै बढाउन सहमत भए पनि स्रोतको उच्च दबाबका कारण कति र कुन विधिबाट बढाउने भन्ने अन्तिम निर्णय जेठ १४ भन्दा अघि हुने छैन । अर्थमन्त्री खतिवडाले यो वर्ष सुरक्षाभत्ता मात्र नभएर सरकारी कर्मचारीको तलबभत्ता पनि बढाउने तयारी गरेका छन्। पूर्वअर्थमन्त्री पौडलेले २०७३ सालमा तल्लो तहका कर्मचारीको तलब २५ प्रतिशतसम्म बढाएका थिए। त्यसपछिका तीन वर्षमा कर्मचारीको तलब बढेन। तर यसबीच महँगीभत्ता भने दुई हजार बढेको छ र लुगाभत्ता साढे सात हजारबाट १० हजार बनाइएको छ। केही समयदेखि कर्मचारी संगठनहरुले तलब र भत्ता बढाउन अर्थमन्त्री खतिवडालाई दबाब दिँदै आएका छन्। अर्थमन्त्रीसँगको छलफलमा उनीहरु २० प्रतिशतमा सहमत भएको बताइएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

बजेटभन्दा व्यापार घाटा बढी, १३ खर्ब १५ अर्बको बजेट, व्यापार घाटा १३ खर्ब १९ अर्ब पुग्दै

काठमाडौं । नेपालको वैदेशिक व्यापार घाटा वार्षिक बजेटभन्दा बढी हुने देखिएको छ । संघीय सरकारले चालू आर्थिक वर्षमा ल्याएको बजेटभन्दा चालू आवमा देशले व्यहोर्ने व्यापार घाटा बढी हुने देखिएको हो । सरकारले चालू आर्थिक वर्षका लागि १३ खर्ब १५ अर्ब १६ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । तर, चालू आवमा नेपालले कुल १३ खर्ब १९ अर्ब ५२ करोड रुपैयाँबराबरको व्यापार घाटा व्यहोर्ने देखिन्छ । चालू आर्थिक वर्षको १० महिनामा नेपालको व्यापार घाटा १० खर्ब ९९ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । अर्थात् नेपालले मासिक औसत १ खर्ब ९ अर्ब ९६ करोड रुपैयाँ व्यापार घाटा व्यहोरिरहेको छ । यसलाई आधार मान्दा आगामी दुई महिनामा नेपालले थप २ खर्ब १९ अर्ब ९२ करोड रुपैयाँ व्यापार घाटा व्यहोर्नेछ । समग्रमा चालू आर्थिक वर्षभित्र नेपालको व्यापार घाटा १३ खर्ब १९ अर्ब ५२ करोड रुपैयाँबराबरको हुने देखिन्छ । अर्थमन्त्री डा। युवराज खतिवडाले मध्यवधि समीक्षामार्फत चालू आर्थिक वर्षको बजेटलाई घटाएर ११ खर्ब ९९ अर्बमा झारेका छन् । राजस्व परिचालन र खर्च गर्ने क्षमता नबढ्दा बजेट घटाउने प्रवृत्ति छ । संशोधित बजेटको आकारलाई हेर्दा बजेटभन्दा व्यापार घाटा सवा खर्ब बढी हुने गरेको तथ्यांकले देखाउँछ । विगत पाँच वर्षको तथ्यांकलाई हेर्दा बजेटको आकार र व्यापार घाटाको आकार झन्डै बराबर देखिन्छ । आर्थिक वर्ष ०७०÷७१ र ०७१÷७२ मा बजेटको आकारभन्दा त्यस वर्ष नेपालले व्यहोरेको व्यापार घाटा ठूलो देखिन्छ । त्यस्तै, ०७३÷७४ र ०७४÷७५ मा बजेटको आकारभन्दा थोरै मात्र व्यापार घाटा कम देखिन्छ । चालू आर्थिक वर्षमा भने बजेटको आधारलाई व्यापार घाटाले उछिन्ने देखिन्छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

बिहान ४ः१५ को टाइमर, बेलुकी ४ः१५ मै विस्फोट

घट्टेकुलो: ४ः१५ मा घरको कोठाभित्र विस्फोट हुँदा विप्लव समूहको विद्यार्थी संगठनका सिटिइभिटी कमिटीका अध्यक्ष प्रज्वल (विशाल) शाहीको मृत्यु भएको छ । शाही बझाङका हुन् । सो कोठामा सँगै रहेका पश्चिम रुकुमको सानीभेरीका रविन केसी घाइते भएका छन् । उनी सो संगठनको त्रिचन्द्र क्याम्पसका इकाइ अध्यक्ष हुन् । आइतबार साँझ गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा सुरक्षा बैठक बसेको थियो । बैठकमा विप्लव समूहप्रति थप कडा रूपमा प्रस्तुत हुन मन्त्रीले निर्देशन दिएका छन् । सुकेधाराः करिब ४ः१५ वरिपरि नै सुकेधारास्थित सैलुनभित्र विस्फोट हुँदा तीनजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । विस्फोटको समयमा सैलुनका सञ्चालक छोटेलाल ठाकुरबाहेक नेवाः मुक्तिमोर्चाका केन्द्रीय अध्यक्ष सुरेन्द्र महर्जन, ट्रेड युनियनका अध्यक्ष हरि खड्का, सैन्य विभागका मध्यकमान्ड इन्चार्ज महावीर र अर्का कार्यकर्ता दीपेनलगायत रहेको प्रहरीले जनाएको छ । घाइतेमा एकजना छोटेलाल छन्, मृत्यु क–कसको भयो भन्ने खुलेको छैन । ग्वार्कोः सोमबारको नेपाल बन्दलाई लक्षित गरी ग्वार्को, लगनखेल, सानेपा र कोटेश्वरमा प्रेसरकुकर बम राखिएको थियो । ती सबै ठाउँमा राखिएको बम सेनाको टोलीले डिस्पोज गरेको छ । तर, नागढुंगामा भने विप्लव समूहका कार्यकर्ताले लक्षित ठाउँमा नपु(याउँदै बम विस्फोट भएको छ । गुडिरहेको मोटरसाइकलमा विस्फोट हुँदा बुद्ध लामा र विक्रम लामा घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको छ, तर कुकरबम बोकेको आरोपमा प्रहरीले कोटेश्वरबाट सातजना पक्राउ गरेको छ । सोमबार बन्द सफल पार्न झिसमिसेमै विस्फोट गर्ने योजना बनाएका विप्लव समूहका कार्यकर्ताले टाइमर मिलाउन नजान्दा अघिल्लो बेलुकी नै विस्फोट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । सोमबार बिहान ४ः१५ मा विस्फोट गराउने गरी टाइम सेट गर्दा आइतबार बेलुका ४ः१५ मा विस्फोट भएको प्रहरीको भनाइ छ । सुकेधारा र घट्टेकुलोमा एकैपटक विस्फोट भएको थियो । राजधानीका थप चार ठाउँमा बम भेटियो । दुवैतिर एकै समयमा आकस्मिक रूपमा बम विस्फोट हुनुको कारणबारे अनुसन्धान केन्द्रित गरिएको काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले बताए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।