विकासन्युज

ब्राजिलका छुट्टाछुट्टै जेलमा ४२ जना कैदी मृत फेला

काठमाडौँ । उत्तरी ब्राजिलस्थित छुट्टाछुट्टै जेलमा ४२ जना कैदी मृत फेला परेका छन् । समूहबीचको झडपमा १५ जना कैदी मारिएको एक दिनपछि यो घटनाबारे विवरण सार्वजनिक भएको हो । एमेजन राज्यको राजधानी मेनोसमा राज्यमा पछिल्लो घटना भएको अधिकारीहरूले बताएका छन् । उनीहरूका अनुसार अक्सिजनको अभावमा श्वासप्रश्वासमा अवरोध भई कैदीहरूको ज्यान गएको हो । निरीक्षणका क्रममा चारवटा कारागारमा कैदीहरू मृत फेला परेको अधिकारीहरूको भनाइ छ । ब्राजिलको ग्लोबो समाचार वेबसाइटका अनुसार सोमवारको घटनामा अन्य कैयौँ कैदी घाइते भएका छन् । सो क्षेत्रमा पर्ने एनिसो जोबिन पेनिटेन्शियरी कम्पलेक्समा आइतवार कैदीहरूसँग भेटघाट गर्ने समयमा झडप भएको थियो । अधिकारीहरूका अनुसार कैदीहरूलाई तीखा ब्रशले घोचिएको थियो भने घाँटी थिचिएको थियो । कैदीका आफन्तहरूले समेत देखेको सप्ताहन्तमा भएका घटनाबारे छानबिन भइरहेको बताइएको छ । नाम उल्लेख नगर्ने शर्तमा एक कैदीकी आमाले द रियो टाइम्सलाई भनिन्, ‘एकदम भद्रगोल थियो। सबैजना भाग्न थाले ।’ दुई वर्षअघि सोही कारागारमा ५६ जना मारिनेगरी कैदीहरूबीच झगडा भएको थियो। त्यसलाई ब्राजिलका जेल भएका नराम्रामध्येको एक घटनाको रूपमा लिइन्छ । कोचाकोच ब्राजिलमा कैदीहरूको सङ्ख्या विश्वमै तेस्रो स्थानमा आउँछ। आधिकारिक तथ्याङ्क अनुसार यो वर्षको एप्रिलसम्म त्यहाँ सात लाख १२ हजार ३०५ जना कैदी थिए । उक्त सङ्ख्या ब्राजिलका कारागारहरूले थेग्न सक्नेभन्दा तीन गुणाले बढी हो । जसका कारण कारागारहरू कोचाकोच हुन्छन् भने कैदीहरूबीच झगडा हुनुका साथै कहिलेकाहीँ जेल तोडेर भाग्ने प्रयास पनि हुने गर्छन् । –बीबीसीबाट

कुलमान घिसिङ र सुगतरत्न कंसारकार नेपालका सपुत हुनः उपाध्याय

काठमाडौं । नेपालको वर्तमान ईतिहासमा सरकारी संस्थानको दुईजना ब्यवस्थापक सिइओले आआफ्ना डुबेका सरकारी संस्थानलाई उकासेर नाफामा पुर्याई कायापलट गरेको देखिन्छ। र ती दुबै ईन्जिनीयर हुन् नेपाल टेलिकमका तत्कालीन ईलेक्ट्रोनिक ईन्जिनियर सुगतरत्न कंसाकार र बिद्युत प्राधिकरणका ईलेक्ट्रीकल ईन्जिनियर कुलमान घिसिंग । कुलमान बिजुली म्यान बने, अध्यारो प्रेतहरूको सातो लिए, पहिलो पटक प्राधिरणलाई मुनाफामा पुर्याए । सुगतले नेपाल टेलिकमको मसिहा बनेर उद्धार गरी नाफामा ल्याए, नेपाललाई विश्व टेलिकम नक्सामा हैसियत दिलाए  । सुगतले देश डुबाउने लक्ष्यका साथ राष्ट्रीय ध्वजाबाहक वायुसेवा निगमलाई हात धोएर ध्वस्त गर्न लागेका र विगत २२ वर्ष देखि हल्ला मात्रै गरेर निगम लुट्न पल्केकाहरूका बिरूद्ध सतिसाल बनेर पहिलो ६।६ वर्ष बिलम्ब गराउने सारा तत्वसंग जुध्दै , एयरबसका बिरूद्ध बोईंगले हावा भरेका तत्वहरूको पर्दाफास गरे । अन्ततः पहिलो पटक २ वाईडबडी एयरबस जम्बो जहाज खरिद गराई छाडेर नेपाललाई पनि विश्वस्तरीय एयरलाईन्सको हैसियत दिलाई छाडेका छन् । बोईंग किनाउन दलाली गर्नेहरूको हार र अहिले बोईंग जहाज विश्वभरि ग्राउण्डेड भएको अवस्था हेर्दा बोईंग वाईडबडी जहाज किनिएको भए नेपाल कसरी डुब्थ्यो होला ? जे भयो भगवानको कृपाले बडो ठिक भएछ, एयरबस किनिएछ बा भनेर हंस उडेको हुनुपर्छ । यी दुई नेपाल आमाका सपुतप्रति नमन । यी दुईका यी दुई कामका लागि मात्र पनि नेपाली जनता सदा ऋणि हुनुपर्छ। आमाको भार चुक्ता गर्नु हरेक सन्तानको धर्म र कर्म हो । यी दुई सिइओघहरूले नेपाल आमाको भार तिर्ने काम ईमानदारीपूर्वक गरेका छन् । हल्लाखोर मनभ्रष्ट नेताहरू, तिनका पछि हावामा दगुर्ने मनुवाहरू र तिनका पनि पछि हावामा कुद्ने पत्रकारहरूले पनि यी दुई सिइओबाट केही सिकुन् । नेपाल आमालाई ठेस नपुर्याउन् , बरू आआफूलाई ठोस योगदान गर्न प्रेरित होउन् ।

वितरणमुखी बजेट ल्याउने तयारी, ‘कर्मचारीको आधारभूत तलब २५ हजार पुर्‍याइने’

काठमाडौं । चालू आर्थिक वर्षको बजेटमा कर्मचारीको तलबभत्ता, सामाजिक सुरक्षा भत्ता तथा संसद् विकास कोषजस्ता वितरणमुखी कार्यक्रममा बजेट बढाउन नमानेका अर्थमन्त्री डा। युवराज खतिवडा यसपटक भने गलेका छन् । सत्तारूढ दलको घोषणापत्रमा उल्लेख भएअनुसार वृद्धभत्तालगायत विषय सम्बोधन नभएपछि उनको प्रतिपक्षले मात्रै होइन, सत्तारूढ दलकै सांसद र शीर्ष नेतृत्वले समेत आलोचना गरेका थिए । यसपटक भने पार्टीले भनेअनुसार यी सबै विषयलाई सम्बोधन गर्ने गरी बजेट निर्माण गरिरहेका छन् । स्रोतले धानेसम्म राजनीतिक कार्यक्रमलाई स्थान दिने भनेर उनले सार्वजनिक रूपमा बोलेका मात्रै छैनन्, सत्तारूढ दलका अधिकांश सांसदलाई अर्थ मन्त्रालयमै बोलाई बजेटमा के–के गरौँ भनी रायसमेत मागेका छन् । हाल ७० वर्ष उमेर कटेका वृद्धवृद्धाले एक हजार भत्ता र एक हजार औषधोपचार खर्च गरी मासिक दुई हजार भत्ता पाउँदै आएका छन् । त्यसभन्दा कम उमेरका, तर भत्ता पाउने व्यक्तिहरूले सामान्यतः मासिक एक हजार भत्ता पाउँदै आएका छन् । आगामी आर्थिक वर्षको बजेटबाट ७० वर्ष उमेर कटेकालाई भत्ता र औषधोपचार खर्चमा पाँच–पाँच सय वृद्धि गरी एक हजार बढाउने तयारीमा अर्थमन्त्री छन् । यता, विगतमा निर्वाचन क्षेत्र विकास कार्यक्रम भन्ने गरिएको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत प्रतिनिर्वाचन क्षेत्र पाँचदेखि ६ करोड रुपैयाँ विनियोजन गर्ने तयारीमा अर्थमन्त्री छन् । यसैबीच, यसपटकको बजेटमार्फत सरकारी कर्मचारीको तलब बढाउनैपर्ने कानुनी बाध्यतामा अर्थमन्त्री डा. खतिवडा छन् । निजामती सेवा ऐनको दफा २७ मा सरकारी कर्मचारीको तलब दुई वर्षमा समायोजन गर्नुपर्ने व्यवस्थाका कारण यसपटक कर्मचारीको तलब बढ्नेछ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

सहकारीले रकम फर्काउने, २६ करोड फिर्ता गर्न १ वर्ष लाग्ने

नेपालगञ्ज । नेपालगञ्जको सहकारी वित्तीय विकास संस्था लिमिटेड सञ्चालक समितिले एक वर्षभित्र सबै बचतकर्ताको रकम फिर्ता गर्ने निर्णय गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेमा सोमबार बसेको वित्तीय संस्थाको सञ्चालक समितिको बैठकले मंगलबार संस्थामा लागेको ताला खोलेर एक लाख रुपैयाँभन्दा थोरै बचतकर्ताको रकम फिर्ता सुरु गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चालक समितिका अध्यक्ष हरदेवबक्स चौधरीले भने, ‘हामी एक लाख रुपैयाँभन्दा कम रकम भएका बचतकर्ताबाट फिर्ता दिन सुरु गर्छौं। सबैको फिर्ता हुँदा एक वर्ष लाग्न सक्छ। रकम दिँदा इमरजेन्सी परेकालाई पनि प्राथमिकतामा राख्छौं।’ वित्तीय संस्थाका ४ कर्मचारीले झन्डै २६ करोड रुपैयाँ अपचलन गरेपछि आइतबारदेखि १५ दिनका लागि संस्था बन्द गरिएको थियो। बचतकर्ताले आइतबार जिल्ला प्रशासन र सोमबार दिनभरि जिल्ला प्रहरी कार्यालयमा धर्ना दिएर बचत रकम निकासा र अनियमितता गर्ने कर्मचारीलाई कारबाही गर्न दबाब सिर्जना गरेका छन्। आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

धुपको धुवाँ चुरोट भन्दा पनि खतरनाक

भारत। धुप हाम्रो घरमा प्रयोग हुने एकदमै महत्वोपूर्ण वस्तु हो। शान्ती र समृद्धिको प्रतिकको रुपमा पनि लिईने धुपको सुगन्धले भित्रैबाट आनन्द महशुस गराउँदछ। तर एक अध्यनबाट वैज्ञानिकहरुले धुपले स्वास्थ्यलाई धेरै नै असार गर्ने बताएका छन्। २०१५ मा स्प्रिङरको जर्नल पर्यावरणीय रसायनशास्त्र पत्रमा प्रकाशित भएको चिनको अध्ययनले धुप र चुरोटको धुवाँको दाँजोमा धुपमा बढी खतरनाक रसायनहरु भएको बताएको थियो। अध्ययनले धुपमा पाइने केही रसायनहरु चुरोटमा पनि पाईने बताएको छ। अध्ययनले धुपको नजिक लामो समय सम्म रहँदा शरीरको डिएनएमा नै परिवर्तन ल्याउने र यसमा विभिन्न प्रकारका विषाक्त पदार्थहरू जस्तै मुटाजेनिक, जेनोटोक्सिक र साइटोटोक्सिक हुने र यसले क्यान्सर र फोक्सोको रोगहरु लाग्ने अनुसन्धानकर्ताहरु बताउँछन्। यस्तै धुपको धुवाँ श्वासप्रश्वास नलीमा जम्मा भई त्यसभागमा जलन हुने अध्यनले बताउँदछ। यसमा साना-साना ६४ भन्दा बढी कणहरु भएको कारण यो स्वास्थ्यको लागि हानिकारक भएको अनुसन्धानकर्ताहरुको भनाई रहेको छ। टाईम्स अफ ईण्डियाको सहयोगमा

भूकम्प गएको ४ वर्षमा बल्ल ५० प्रतिशत निजी आवास पुनर्निर्माण

काठमाडौं । भूकम्पपछि ५० प्रतिशत निजी आवास पुनर्निर्माण भएका छन् । ८ लाख १८ हजार ८ सय ५१ जना भूकम्प पीडितहरुको पहिचान भई ९२ प्रतिशतसँग अनुदानको सम्झौता भएका२०७५ सालको फागुनसम्म ५० प्रतिशतको घर निर्माण सम्पन्न भएको जनाइएको छ । आज संघीय संसदमा पेश भएको आर्थिक सर्वेक्षण अनुसार ५६ प्रतिशत क्षतिग्रस्त सार्वजनिक विद्यालय निर्माण भएका छन् भने स्वास्थ्य संस्था ५४ प्रतिशत पुनर्निर्माण कार्य सम्पन्न भएको छ । २९ प्रतिशत पुरातात्विक सम्पदा निर्माण भए भने खानेपानी आयोजना मध्ये १८ प्रतिशतको पुनर्निर्माण कार्य सम्पन्न भएको छ । २०७५ को फागुनसम्म ४ हजार २ सय एक विद्यालयहरुको पुनर्निर्माण कार्य सम्पन्न भएको छ भने २ हजार ६ सय १९ विद्यालयमा कार्य जारी रहेको छ । २०७५/७६ सालमा मात्र ३ सय ८५ विद्यालय निर्माण भए भने २०७४÷७५ मा १ हजार ३ सय ६० विद्यालय निर्माण भएका थिए । २०७५÷७६ सालमा १४ सरकारी भवन पुनर्निर्माण पछि हाल २३२ सरकारी भवन पुनर्निर्माण भएका आर्थिक सर्वेक्षणमा उल्लेख छ । त्यस्तै, पुरातात्विक सम्पदामा ७ सय ५३ क्षति भएकोमा २२१ वटा निर्माण भएका छन् भने ३ सय ८३ वटा सुरक्षा निकायका भवनहरु क्षति भएकोमा हाल १२४ वटालाई पुनर्निर्माण गरिएको छ । २०७२ बैशाख १२ गते शनिबार गरेको भुकम्पले काठमाडौं उपत्यका लगायतका १ सय ३३ सम्पदा क्षेत्र पूर्ण क्षति गरेसँगै ६ सय २० आंशिक क्षति र ७ सय ५३ सांस्कृतिक एवंम पुरातात्विक सम्पदाहरुमा क्षति पुगेकोमा आर्थिक वर्ष २०७५÷ ७६ को फागुनसम्म २ सय २१ पुरातात्विक सम्पदा पुनर्निर्माण कार्य सम्पन्न भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

मागको ९० प्रतिशत सिमेण्ट नेपालमै उत्पादन

काठमाडौँ । सरकारले सोमबार संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/७६ को आर्थिक सर्वेक्षणमा मागको ९० प्रतिशत सिमेण्ट नेपालमा नै उत्पादन भइरहेको जनाइएको छ । सिमेण्ट उद्योगको विकास तथा सञ्चालनमा उल्लेखनीय सफलता प्राप्त भई वार्षिक ४५ लाख टन सिमेण्ट उत्पादन भई मागको ९० प्रतिशत सिमेण्ट स्वदेशमै उत्पादन भई सिमेण्टको आयातमा कमी आएको सर्वेक्षणमा उल्लेख गरिएको छ । सर्वेक्षणअनुसार हालसम्म २० हजार टन दैनिक सिमेण्ट उत्पादन गर्ने क्षमता भएका २६ सिमेण्ट उद्योग स्थापना भई सञ्चालन छन् । यस्तै छ सिमेण्ट उद्योग निर्माणाधीन अवस्थामा छन् । यस्तै सर्वेक्षणमा १०७ अर्ब टन चुनढुङ्गा अन्वेषण गरिएको उल्लेख छ । जम्मा ६४ करोड टन प्रमाणित, ११ करोड टन अर्ध–प्रमाणित र ३२ करोड टन सम्भाव्य गरी कूल १०७ अर्ब टन चुनढुङ्गा अन्वेषण गरिएको सर्वेक्षणमा उल्लेख गरिएको छ । सरकारले उदयपुर, धनकुटा, खोटाङ्, सिन्धुली, मकवानपुर, ललितपुर, धादिङ, स्याङ्जा, अर्घाखाँची, पाल्पा, दाङ, सल्यान, सुर्खेत, बैतडी लगायतका जिल्लामा चुनढुङ्गा अन्वेषण गरेको हो । यस्तै, शीघ्र आर्थिक तथा वित्तीय प्रतिफल प्राप्त हुने खनिज खरी, मार्बल, जेम्स स्टोन, कोइला, क्वार्जाइट, क्यालासाइट र रातोमाटोमा आधारित साना तथा मझौला स्तरका खनिज भण्डारको अन्वेषणदेखि उत्पादनसम्मको कार्यका लागि आव २०७४÷७५ सम्म १२९ उत्खनन र ३६२ खोजतलास कार्यको प्रमाणपत्र प्रदान गरिएको छ । यस्तै काठमाडौँ उपत्यका, पोखरा, बुटवल, भैरहवा, हेटौँडा, धरान, विराटनगर, सुर्खेत, नेपालगञ्ज, जनकपुर, धनगढी, महेन्द्रनगर, भरतपुर, विदुर, जलेश्वरलगायत शहरको व्यवस्थित शहरी विकास र फोहरमैला व्यवस्थापनका लागि भू–इञ्जिनीयरिङ तथा भू–वातावरणीय अन्वेषणको सर्वेक्षणको कार्य सम्पन्न भएको जनाइएको छ । यसैगरी, चुनढुङ्गा, पत्थर, कोइला, खरी टुर्मालिन, काइनाइटलगायत ११ खनिजमा आधारित जम्मा १३१ खानी सञ्चालनमा छन् । ती खानीमा छ हजार ५०० जनशक्तिले रोजगारी पाएका छन् । खनिजमा आधारित ६७ उद्योगमा करीब रु ४।५ अर्ब वैदेशिक लगानी स्वीकृत भई सोबाट थप करीब आठ हजार छ सय रोजगारी सिर्जना हुने अनुमान गरिएको सर्वेक्षणमा उल्लेख गरिएको छ ।

बीमाको पहुँच २० प्रतिशत पुग्ने, प्रदेश ३ मा बिमित आकर्षण बढी

काठमाडौ । चालु आर्थिक बर्षको फागुनसम्म बिमक कम्पनीको शाखा संख्या प्रदेश नं ३ मा सबैभन्दा धेरै र कर्णाली प्रदेशमा सबैभन्दा कम रहेको पाइएको छ । चालु आर्थिक वर्ष २०७५/०७६ को आर्थिक सर्वेक्षणमा बीमाको पहुँच करिब १८ प्रतिशत जनतामा पुगेको तथा चालु आर्थिक बर्षको अन्त्यसम्ममा २० प्रतिशत जनतामा पुग्ने उल्लेख गरिएको छ । आर्थिक बर्ष २०७५/७६ को फागुन महिनासम्म भने बीमा व्यवसायको कुल वित्तीय स्रोत तथा उपयोग ३ खर्ब १३ अर्ब ८९ करोड रुपैयाँ रहेको पाईन्छ । सो मध्ये जीवन बीमा व्यवसायतर्फ ३ खर्ब १३ अर्ब ८९ करोड रुपैयाँ रहेको छ । निर्जीवन बीमा व्यवसायतर्फ भने ८३ अर्ब २२ करोड रुपैयाँ रहेको छ । सोही वित्तीय स्रोत तथा उपयोग आर्थिक बर्ष ०७४/०७५ को अवधीको तुलनामा ३०.५ प्रतिशतले बढी हो । बीमा कम्पनीहरुको बीमा शुल्क आम्दानी वृद्धीको क्रममा रहेको छ । आर्थिक बर्ष २०७०/७१ मा बीमा शुल्क ३० अर्ब ४३ करोड रुपैयाँ रहेको थियो । यस्तै, आर्थिक बर्ष आर्थिक बर्ष २०७४/७५ मा ७७ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । यो कुल ग्रार्हस्थ्य उत्पादनको२.६ प्रतिशत हो । जीवन तथा निर्जीवन बीमा व्यावसाय गर्ने कम्पनीहरुको लगानीयोग्य रकममापनि क्रमशः वृद्धी हुँदै गएको पाईन्छ । आर्थिक बर्ष २०७५/७६ मा २ खर्ब ५८ अर्ब ८३ करोड रुपैयाँ पुग्ने अर्थमन्त्री युवराज खतिवडाद्वारा प्रस्तुत आर्थिक सर्वेक्षणमा उल्लेख छ । सो मध्ये जीवनतर्फ ८६.२ प्रतिशत र निर्जीवन तर्फ १३.८ प्रतिशत रहेको छ । जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुको शाखा १२ सय ९० रहेको छ । त्यस्तै, निर्जीवनतर्फ ७ सय १९ शाखा रहेका छन् । बीमा कम्पनीहरुकै कुल शाखा भने २ हजार ९ वटा रहेका छन् । कृषी तथा पशुपक्षी बीमा शुल्क सरकारले कृषी तथा पशुपक्षी बीमा शुल्कको ७५ प्रतिशत अनुदान दिने व्यवस्था अनुुसार आर्थिक बर्ष २०७४/७५ मा १३ खर्ब २२ अर्ब बिमाङ्कीको ५७ करोड ४३ लाख रुपैयाँ बीमा शुल्क रहेको थियो । सो मध्येमा अनुदान बापत ४३ करोड रुपैयाँ वितरण भएको छ । यस्तै, २०७५ फागुनसम्म भने ९ खर्ब ११ अर्ब रुपैयाँ बिमाङ्कीको ४२ करोड रुपैयाँ बीमा शुल्क रहेको थियो । सो मध्येमा ३१ करोड ८२ लाख रुपैयाँ अनुदान वितरण गरिएको छ ।