विकासन्युज

खानेपानी मन्त्रीले गरिन् मन्त्रालयमा स्यानिटरी प्याड भेन्डिङ मेसिनको सुरुवात

काठमाडौं । खानेपानी मन्त्रालयले छैटौं अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसको अवसरमा महिलाहरुले प्रयोग गर्ने स्यानिटरी प्याड भेन्डिङ मेसिनको सुरुवात मन्त्रालयको भवनबाटै सुरु गरेको छ। खानेपानी मन्त्री बिना मगरले महिलाहरुलाई महिनावारीको समयमा समस्या नपरोस् भन्ने उद्देश्यले मन्त्रालयको भवनमा स्यानिटरी प्याड भेन्डिङ मेसिनको सुरुवात गरेकी हुन्। दुई रुपैंयाको सिक्का हालेपछि उक्त मेसिनबाट प्याड आफैं निस्कने गर्दछ । मन्त्रालयमा कार्यरत महिला कर्मचारीहरु र काम विशेषले आउने जो कोही महिलाहरुले समेत उक्त प्याड प्रयोग गर्न सक्नेछन् । मन्त्रालयको महिला शौचालयमा प्याड मेसिन जडान गरिएको छ । मेसिनको शुरुवात गर्दै मन्त्री मगरले यस्तो प्रविधिको मेसिन विभिन्न सार्वजनिक महिला शौचालयहरुमा राख्दै लगिने बताईन्। उनले भनिन्, ‘यो त हामीले सुरुवात मात्र गरेका हौं । महिनावारी हुने समयमा महिलाहरुलाई समस्या पर्ने गर्दछ । अझ सार्वजनिक महिला शौचालयहरुमा यस्तो मेसिन राख्न पाइयो भने महिलाहरुलाई धेरै सहज हुने गर्छ । हामी विस्तारै अन्य ठाउँहरुमा राख्दै जानेछौं ।’ मन्त्रालयले महिला तथा बालबालिका मन्त्रालयको भवनमा समेत स्यानिटरी प्याड भेन्डिङ मेसिन जडान गरेको छ । त्यस्तै खानेपानी तथा ढल व्यवस्थापन विभागले पहिलो चरणमा सातै प्रदेशको नौ वटा ठाउँहरुमा महिला तथा अपाङ मैत्री स्मार्ट शौचालय बनाउने तयारी समेत गरेको छ । यी स्मार्ट शौचालयहरुमा स्यानिटरी प्याड भेन्डिङ मेसिन समेत जडान गरिने विभागकी उपमहानिर्देशक मीना श्रेष्ठले जानकारी दिईन्। महिलालाई गरिने विभेद घरबाटै अन्त्य गर्नुपर्छ : खानेपानी मन्त्री मगर यसैबीच खानेपानी मन्त्री बिना मगरले महिनावारी हुँदा महिलाहरुमाथि गरिने धार्मिक तथा सामाजिक विभेदको अन्त्य घरबाटै सुरु गर्नुपर्ने बताएकी छिन्। छैटौं अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसको उपलक्ष्यमा राष्ट्रिय महिनावारी सञ्जाल र राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिले राजधानीमा गरेको कार्यक्रममा बोल्दै मन्त्री मगरले महिलाहरुमाथि हुने उत्पीडन र विभेदको अन्त्य गर्न सबै मिलेर अभियान नै चलाउनुपर्ने बताएकी हुन्। महिनावारी प्राकृतिक नियमित प्रक्रिया भएको बताउँदै उनले महिलाहरुमाथि गरिएको व्यवहार अपमानजनक रहेको र यसले महिलालाई चोट पु-याउने गरेको बताईन्। मन्त्री मगरले भनिन्, ‘ महिनावारी त मानव सृष्टिको लागि हुने नियमित प्रक्रिया हो । तर हामीले यसलाई धर्म, संस्कृति र परम्परासँग जोडेका छौं । महिनावारीप्रति रहेको हाम्रो गलत धारणा तुरुन्त परिवर्तन गर्नुपर्छ । यस्तो विभेद घर, गाउँ र समाजबाटै अन्त्य गर्ने अभियान चलाउनुपर्छ ।’

बजेटकाे पूर्वसन्ध्यासम्म ५७ प्रतिशत बजेट खर्च, एक सातामै २० अर्ब, टर्ला तरलता संकट ?

काठमाडौं । सरकारले एक साताको अवधिमा २० अर्ब रुपैंया खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार हाल दैनिक औसत साढे ३ अर्बको दरमा खर्च गर्दै गएको हो । हाल सरकारले दैनिक ३.५ अर्बको दरले खर्च गर्दै गएको छ । सोमबार २ अर्ब ७५ भुक्तानी दिएको सरकारले आइतबार ३ अर्ब ९७ करोड रुपैंया खर्च गरेको थियो । त्यस्तै, शुक्रबार १ अर्ब ९४ करोड, बिहीबार अर्ब ६१ करोड, बुधबार ३ अर्ब ७९ करोड तथा अघिल्लो मंगलबार ३ अर्ब ६८ करोड रुपैंया सरकारी खर्च भएको कार्यालयले जनाएको छ । सरकारले खर्चको दर बढाउँदै लगेपनि बैंकिङ क्षेत्रमा भने तरलताको चरम अभावको अवस्थामा छ । तरलता अभावकै कारण बैंक तथा वित्तीय संस्थाहरुले एकआपसमा कर्जा आदानप्रदन गर्दा लिने ब्याजदर (अन्तरबैंक ब्याजदर) को भारित औसत ब्याजदर ७.८७ प्रतिशतसम्म पुगेको छ । आइतबार सो दरले ऐतिहासिक रेकर्ड बनाउँदै सो विन्दु छुँदा सोमबार भने सो दर ७.३० प्रतिशतमा झरेको हो । तर, नेपाल राष्ट्र बैंकले मंगलबार मात्रै थप ८ अर्बको विकास ऋणपत्र जारी गर्दै सो परिमाणको तरलता बजारबाट खिचेको छ । वित्तीय क्षेत्रमा आन्तरिक स्रोतबाट निक्षेप बढ्न नसकेको र बाह्य स्रोतबाट समेत बैंकहरुले ऋण लिन कठिनाई भइरहेको समयमा तरलता ब्यवस्थापनको मुख्य स्रोतको रुपमा रहेको सरकारी खर्च पनि हालैका दिनमा बढ्न थालेको छ । आर्थिक वर्षको अन्त्य आउँदै गर्दा त्यस्तो खर्च बढ्न थालेको हो । यद्यपि हालको खर्चपनि सरकारी लक्ष्यका लागि पर्याप्त भने होइन । सोमबारसम्म कुल ५६.८३ प्रतिशतमात्रै सरकारी खर्च भएको छ, जसमध्ये चालुतर्फ ६५.६७ प्रतिशत , पुँजीगततर्फ ४३.५६ प्रतिशत र वित्तीय ब्यवस्थातर्फ ३५.११ प्रतिशत खर्च भएको तथ्याङ्क छ । खर्च बढ्न थालेसँगै सरकारी आम्दानीलाई खर्चले जितेको छ । सरकारी खर्च र आम्दानीको ०.७८ प्रतिशतमा झरेको छ । खर्च उच्च रुपमा बढेपनि त्यसमा चालु खर्चकै हिस्सा बढी छ । सोमबार २७५ करोड खर्चमध्ये १९८ अर्ब खर्च चालुतर्फको थियो । आइतबार ३९१ अर्बमध्ये २९१ अर्ब चालुतर्फको खर्च भएको तथ्याङ्क महालेखा नियन्त्रकको कार्यालयको छ । यद्यपि खर्च बढ्दै जाँदा बै‌ंकिङ क्षेत्रकाे तरलता भने सहज बन्दै जाने सम्भावना बढेकाे छ ।

१ हजार ४९५ दिनपछि तातोपानी नाका खुल्दै, ऊन ल्याउन गए चार कन्टेनर

काठमाडौँ । लामो प्रतीक्षापछि चीनसँगको व्यापार नाका बुधबारदेखि सञ्चालन हुने भएको हो । भूकम्पले भत्काएका भौतिक संरचनाको दुवै देशले निर्माण गरेपछि एक हजार ४९५ दिनपछि नाका सञ्चालनमा आउन लागेको हो । नाका सञ्चालनका लागि बुधबार नेपाल-चीन सीमाको मितेरी पुलमा विशेष कार्यक्रम आयोजना हुने छ । कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव, मन्त्रालयका वरिष्ठ अधिकारी, प्रतिनिधिसभाका सदस्य एवम् राजनीतिक दलका नेता सहभागी हुनेछन् । यस्तै चीन सरकारका तर्फबाट भाइस मिनिष्टर अफ जनरल एडमिनिष्ट्रेशन कस्टम अफ चाइना र चीनको स्वशासित क्षेत्र तिब्बतका वरिष्ठ अधिकारी तथा सम्बद्ध निकायका पदाधिकारी सहभागी हुने जानकारी प्राप्त भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताइन् । बुधबार गणतन्त्र दिवससमेत परेकाले महत्वपूर्ण कार्यक्रम तय गरिएको छ । प्रजिअ चेम्जोङका अनुसार बिहान ११ बजे नेपाल र चिनियाँ अधिकारीबीच द्विपक्षीय छलफल हुनेछ । त्यस्तै १२ बजे दुई देशका उच्च अधिकारीको उपस्थितिमा तातोपानी नाका पुनः सञ्चालनमा आएको घोषणा गरिनेछ । रिबन काटेर नाका सञ्चालनमा आएको घोषणा गरिने र तिब्बतबाट ऊन बोकेर आउने चार कण्टेनरको स्वागत गरिनेछ । नेपालका तर्फबाट पनि दुई कण्टेनर खासा पठाउने तयारी गरिएको छ । खासाबाट ऊन ल्याउन गए चार कन्टेनर खासाबाट ऊन ल्याउनका लागि आज बिहान मात्रै चार कण्टेनर त्यसतर्फ लागेका छन् । नाका पुनःसञ्चालनमा ल्याउने कार्यक्रम थप व्यवस्थित बनाउन सीमावर्ती भोटेकोशी गाउँपालिकाले समेत आवश्यक तयारी गरेको छ । सोही गाउँपालिका २ का वडाध्यक्ष दीपेन्द्र श्रेष्ठले कार्यक्रम थप भव्य र आकर्षक बनाउन आवश्यक तयारी गरिएको जानकारी दिनुभयो । उनले सोमबार दश नेपाली कामदारसमेत खासा गएको जानकारी दिए । मितेरी पुलको काम बुधबार सकिने भएकाले आज पुलमुनिको अस्थायी बाटो हुँदै कण्टेनर खासा प्रस्थान गरेको हो । नाका खुलाउने अन्तिम तयारीका लागि गृहमन्त्री रामबहादुर थापा, नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य एवम् सिन्धुपाल्चोकका प्रतिनिधिसभा सदस्य अग्निप्रसाद सापकोटालगायतको टोली यही शनिबार तातोपानी पुगेको थियो । नाकामा शान्ति सुरक्षाको अवस्था चुस्तदुरुस्त राख्न र कुनै पनि प्रकारको कमजोरी नगर्न गृहमन्त्री थापाले निर्देशन दिएका थिए । नाकालाई व्यवस्थित बनाउन अध्यागमन र भन्सार कार्यालय तथा व्यवसायीले समेत आवश्यक समन्वय गरेको सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष वेदबहादुर श्रेष्ठले जानकारी दिए । स्थानीयवासी उत्साहित नाका खुल्ने खबरसँगै नेपाल र चीन दुवैतर्फ व्यापारी तथा व्यवसायीको समेत चहलपहल बढेको छ । वार्षिक रु २० अर्बको आयात र रु तीन अर्ब बढीको निर्यात हुने सो नाका सञ्चालनमा आउने खबरपछि स्थानीय व्यवसायीसमेत उत्सााहित भएका छन् । भुइँचालोपछि खाली रहेको अध्यागमन र भन्सार कार्यालय सफासुग्घर बनाई सञ्चालनमा ल्याइएको तातोपानी भन्सार कार्यालयका प्रमुख कृष्ण बस्नेतको भनाइ छ । नेपाल हिमालयन सीमापार वाणिज्य सङ्घका अध्यक्ष बच्चु पौडेलले औपचारिक रुपमा नाका बुधबारदेखि खुल्ने भए पनि आजै चार कण्टेनर अनौपचारिक रुपमा प्रवेश गरी खुलेको छ । विगतको जस्तै बजार व्यस्त हुने, रोजगारीको अवसरमा वृद्धि हुने र मुलुकले समेत त्यसबाट फाइदा लिन सक्ने उनको भनाइ छ । रासस

सिटिजन्स बैंकबाट प्राइम लाइफको बीमा सेवा पाइने

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र प्राइम लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैकास्योरेन्स सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापछि सिटिजन्स बैंकका ग्राहकहरुले बैंकको कुनैपनि शाखाबाट प्राइम लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा गर्न, सोको प्रिमियम रकम बुझाउन, बीमा लेख लिन, दाबी भुक्तानीलगायत सम्पूर्ण बीमा सेवाहरु लिनसक्ने छन् । उक्त सम्झौताबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै छिटो, छरितो र सहज रुपमा जीवन बीमा सम्बन्धी सेवाहरु प्राप्त गर्न सक्ने बैंकले विश्वास लिएको छ ।

एनआईसी एशियाका ग्राहकलाई ग्रिनसिटी, स्टार र कान्तिपुर डेन्टल अस्पतालमा विशेष छुट

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र ग्रिनसिटी हस्पिटल काठमाडौं, स्टार हस्पिटल ललितपुर तथा कान्तिपुर डेन्टल कलेज तथा टिचिङ हस्पिटलबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौतापछि बैंकका कर्मचारी र उनका परिवारका सदस्य, बैंकका डेबिट एवम् क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकले उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा छुट प्राप्त गर्नेछन् । ग्रिनसिटी हस्पिटलमा उपचार गराउँदा २०%, कान्तिपुर डेन्टल हस्पिटलमा १०%, र स्टार हस्पिटलमा १५% सम्म छुट प्राप्त गर्नेछन् । सम्झौता पत्रमा ग्रिनसिटी हस्पिटलको तर्फबाट हस्पिटलका वरिष्ठ प्रबन्धक मनिष दवाडीले, कान्तिपुर डेन्टल हस्पिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बुद्धिमान श्रेष्ठले तथा स्टार हस्पिटलको तर्फबाट प्रमुख परिचालन अधिकृत सन्देश जिसीले हस्ताक्षर गरेका छन् । छुट्टाछुटटै सम्झौता पत्रहरुमा बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोषकुमार राठीले हस्ताक्षर गरेका छन् ।

मुस्ताङको छोसेरमा टेलिकमको टावर, पहिलो पटक फोन र नेट चलाउन पाउने

काठमाडौँ । नेपाल टेलिकमले हिमाल पारीको जिल्ला भनिने मुस्ताङको पनि अति विकट क्षेत्र तथा नेपाल र चीन जोड्ने कोरला नाका नजिकै छोसेर भन्ने स्थानमा सोमबारदेखि जीएसएम मोबाइल बीटीएस सञ्चालनमा ल्याएको छ । मुस्ताङको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष सुवर्णकुमार विष्ट र अन्य स्थानीय जनप्रतिनिधिहरुका साथै नेपाल टेलिकमका कर्मचारीहरुको समेत उपस्थितिमा सो साइट सञ्चालनमा ल्याइएको हो । दुर्गम तथा विकट हुनुका साथै चीनको सीमानासम्म जोडिएका ती गाउँमा जीएसएम मोबाइल टावर स्थापनाको कार्य निकै कठिनाईका बाबजुद सफलतापूर्वक सम्पन्न गरी जीएसएम मोबाइलको पहुँच पुर्याएको जनाइएको छ । यसअघि सो स्थानमा कुनै पनि मोबाइल सेवाको पहुँच थिएन । अब उक्त भेगमा समेत टुजी तथा थ्रीजी मोबाइल सेवा सञ्चालनमा आएका छन् । उक्त मोबाइल सेवा सञ्चालन पश्चात समुद्र सतहदेखि करिब ४ हजार २ सय ७० मिटर उचाईमा अवस्थित सो क्षेत्रका ४ गाउँ गर्थु, न्याम्दो, चुङजुङ र कोरलाका १ सय ५० भन्दा बढी घरधुरी लाभान्वित हुने कम्पनीले जनाएको छ । अब सो क्षेत्रका वासिन्दाले जीएसएम मोबाइलबाट डाटा चलाउन र फोन गर्न सक्नेछन् । त्यसैगरी भ्रमणका लागि गएका आन्तरिक तथा बाह्य पर्यटकहरु समेत लाभान्वित हुनेछन् ।

६ करोडको लागतमा सडक विस्तार शुरु, लम्बाई कति ?

भक्तपुर । सङ्घीय सरकारको रु छ करोडको लागतमा सूर्यविनायक नगरपालिका–२ बालकोट हुँदै वडा नं १ सिरुटारबाट बिरुवासम्मको सडक विस्तारकार्य शुरु भएको छ । उक्त सडक करीब छ किलोमिटर लम्बाइ र फुटपाथसहित ३६ फिट चौडाइ रहने गरी सडक विस्तारसँगै कालोपत्र गर्ने कार्य आजबाट शुरु भएको हो । सडक विस्तारको कार्यको शिलान्यास कार्यक्रममा सोमबार साँझ भक्तपुर क्षेत्र नं २ का सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले विकासमा पछाडि परेको भक्तपुरमा विकासको मूल फुटेको र सिङ्गो भक्तपुर मानसरोवर रहेको बताए । बस्नेतले भने, “भक्तपुरको विकासले मुहार फेर्न शुरु गरेको छ, अरनिको राजमार्गसँग जोड्ने १३ भित्री सडक विस्तार भइरहेको छ, काठमाडौँको बालकुमारीदेखि रानीकोट, साँगासम्मको भित्री सडक निर्माण हुँदैछ, बालकोटदेखि ललितपुरको लुभु सडक, ठिमीबाट दधिकोट बिरुवा जाने सडक विस्तार हुँदैछ, पछाडि परेको भक्तपुरले अब विकासको मुहार फेर्छ ।” उनले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रु दुई करोड ५० लाखको कार्यक्रम भक्तपुरमा शुरु हुनलागेको बताउँदै खानेपानीको अभावसमेत मेट्ने गरी विकासका लागि आफू लागिपरेको बताए । कार्यक्रममा प्रदेशसभा सदस्य शशीजङ्ग थापाले भक्तपुरमा पनि विकासमा पछाडि परेको सूर्यविनायकमा जनप्रतिनिधि आएसँगै विकासको लहर आएको बताए ।

९३.६ किमी विद्युतीय रेलमार्ग निर्माण, एक हजार ५६ किमीको अध्ययन

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेची–महाकाली विद्युतीय रेल मार्गको ९३ दशमलव ६ किमी निर्माण सम्पन्न भएको छ । आर्थिक वर्ष २०७५/७६ को आर्थिक सर्वेक्षणमा बर्दिवास–निजगढ रेलमार्गको ७० किमीमध्ये बर्दिबास–लालबन्दी खण्डको ३० किमी क्षेत्रको ट्रयाक बेडमध्ये २५ दशमलव ६ र जोगवनी–विराटनगर १६ किमी मार्ग निर्माण सम्पन्न भएको उल्लेख छ । यसैगरी जयनगर-कुर्था ३५ र कुर्था-बिजुलपुरा १७ किमीको ट्रयाक बेडको निर्माण सम्पन्न भएको छ । काठमाडौँ उपत्यका मेट्रोरेलअन्तर्गत सातदोबाटो-नारायणगोपालचोक २० किमीको विस्तृत अध्ययन प्रतिवेदन तयार भएको छ । खोकना-सातदोबाटो र नारायणगोपाल चोक बूढानीलकण्ठसम्मको १० किमीको सम्भाव्यता अध्ययन प्रक्रिया अघि बढेको छ । बिजुलपुरा बर्दिवास खण्डको मुआब्जा वितरण शुरु भएको जनाइएको छ । चीन सरकारको सहयोगमा केरुङ-काठमाडौँ रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन सम्पन्न भएको छ । पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनका आधारमा विस्तृत अध्ययनको प्रक्रिया अघि बढेको सर्वेक्षणमा उल्लेख छ । भारत सरकारको सहयोगमा वीरगञ्ज-काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन शुरु भएको छ । मेची-महाकाली रेलमार्गको लम्बाइ ९४५ किमी छ । लिङ्क मार्गसहित एक हजार ५६ किमी रेलमार्गको विस्तृत अध्ययन सम्पन्न भएको जनाइएको छ ।